कर्णाली:   नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्‍याइएका उनको  मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...

इलाम:   जिल्लाको पयर्टन र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको इलामको फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल सुनसान बनेको छ ।  आर्थिक वर्ष २०८१/८२ मा ३३ उडान भरेको यो विमानस्थल अहिले जहाज उडानको पर्खाइमा छ । इलाम नगरपालिका–९ स्थित यो विमानस्थलमा उडान नियमित रुपमा गर्न जिल्लावासीले माग गरेका छन् । विसं २०७५ जेठ २१ गते तारा एयरको ट्वीनअटर जाहाजले पहिलो परीक्षण उडान सफल गरेको थियो । यहाँका जनताले नियमित रुपमा जहाड उडानको आश गरेका थिए । त्यसपछि नेपाल एयरलाइन्सले पनि २०७८ माघ २६ गते सफल परीक्षण उडान गरेको थियो । नियमित उडान नुहँदा इलामसहित पूर्वी पहाडी क्षेत्रका नागरिक अझै पनि झापा वा विराटनगर धाउन बाध्य छन् ।  यस विमानस्थलबाट गत जेठयता कुनै पनि उडान हुन सकेको छैन । सुरुआतमा तारा एयरको जहाजले बुधबार र शनिबार गरी सातामा दुईपटक उडान भरेको थियो ।  नगरपालिकाले इलामबाट काठमाडौँ फर्कँदा जहाजको सिट खाली भए त्यसको भाडा पुर्ताल गर्ने सम्झौता गरेको थियो । सो सम्झौता सकिएपछि पुनः नगरपालिकाले नेपाल एयरलायन्ससँग सम्झौता गरी २०७९ साल माघ १ गतेदेखि सोही तालिकामा इलाम–काठमाडौँ उडान गरेको थियो । तर त्यसपछिका वर्षमा नगरपालिकाले कुनै एयरलाइन्ससँग सम्झौता नगरेको प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्काले बताउनुभयो ।  “पहिला केही वर्ष नगरपालिकाले केही रकम व्यहोर्नेगरी तारा एयर र नेपाल एयलायन्ससँग सम्झौता गरी उडान हुँदै आएको रहेछ”, प्रमुख प्रशासकीय अधिकृत खड्काले भन्नुभयो, “अहिले त्यस्तो कुनै सम्झौता छैन, हामीले कुनै दायित्व व्यहोर्नुपर्ने छैन ।”  नगरपालिकासँगको सम्झौता सकिएपछि पनि नेपाल एयरलाइन्सले सातामा शनिबार एक दिन उडान भर्दै आएको थियो । तर एयरलायन्सले मौसमका कारण २०८२ जेठ १४ गतेदेखि उडान भर्न नसकेको विमानस्थल इलामका स्टेशन इन्चार्ज दिनेश सुन्दासले बताउनुभयो । तीन महिनायता सो विमानस्थल सुनसान बनेको छ । इलाम नगरपालिका–९ का वडाध्यक्ष गोपाल चौहानले विमानस्थल नियमित सञ्चालन गर्नुपर्नेमा आफूहरू लागिपरेको बताउनुभयो । “नगर कार्यपालिकाको बैठकमा पटकपटक कुरा उठाएर विमानस्थल सञ्चालनका लागि पहल भइरहेको छ”, उहाँले भन्नुभयो, “तर कहिले विमान बिग्रिएको त कहिले मौसमको कारण देखाउँदै विमानस्थल नियमित सञ्चालनको दीर्घकालीन समाधान हुनसकिरहेको छैन ।”  तीन सय २८ रोपनी क्षेत्रमा निर्माण भएको विमानस्थलका लागि २०५८ सालमा प्रक्रिया सुरु भएको थियो । विमानस्थलको छ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्र भएको छ । तर स्थायी टर्मिनल भवन, पक्की पहुँचमार्ग, सुरक्षित तारबारलगायत संरचना अझै अधुरै छन् ।  स्थानीयबाट करिब रु चार करोडसहित अहिलेसम्म विमानस्थलका लागि रु २८ करोड बढी खर्च भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानस्थल निर्माण हुने भएपछि स्थानीयले प्रतिव्यक्ति एकदेखि ४२ रोपनीसम्म जग्गा दिएका थिए ।  विसं २०६७ चैत १३ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गर्नुभएको विमानस्थलको २०७८ साल फागुन १ गते खनालले नै उद्घाटन गर्नुभएको थियो ।

काठमाडौं:  हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदरभन्दा दक्षिणतिर अवस्थित रहेको छ ।  सिक्किम आसपासको निम्नचापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भूभागमा पर्ने देखिएको जल तथा मौसम विज्ञान विभाग पूर्वानमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतबार दिउँसो देशका पहाडी भागमा साधारणतया बदली तगा बाँकी भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भागका केही स्थान र बाँकी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । त्यसैगरी, आज राति कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली र बाँकी भागमा आंशिक बदली रहनेछ । कोशीलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान र बाँकी पहाड र तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका तराई भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । महाशाखाले वर्षाका पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठसुला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

काठमाडौं: दोस्रो संस्करणको नेपाल पियिमर लिग (एनपिएल) को ट्रफी टुर पूर्वको विराटनगर शहरबाट सुरु हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले शनिबारदेखि ट्रफी टुर औपचारिक रूपमा सुरु हुने जानकारी दिएको हो । क्यानका सचिव पारस खड्काले ट्रफी टुर मेचीदेखि महाकालीसम्म पुग्ने बताए ।  ट्रफीलाई एनपिएलको आठवटै फ्रेन्चाइज टोलीले प्रतिनिधित्व गर्ने सहरमा लगिने छ । जसको सुरुवात शनिबार कोशी प्रदेशको विराटनगर किङ्ग्सबाट हुँदैछ । त्यसपछि साविक विजेता जनकपुर बोल्ट्सको प्रदेश मधेश प्रदेश, चितवन राइनोजको चितवन, काठमाडौं, पोखरा, लुम्बिनी, कर्णाली हुँदै अन्तिममा सुदूरपश्चिम पुगेर ट्रफी टुर सकिने छ । क्यानले देशभर क्रिकेटको माहोल बनाउन ट्रफी टुर आयोजना गरेको हो । शुक्रबार आयोजित कार्यक्रमबिच ट्रफीको कीर्तिमानी पर्वतारोहीहरू फुन्जु जाङ्मी, मिङ्गमा ग्याल्जे शेर्पा र मिङ्गमा डेबिट शेर्पाले सार्वजनिक गरे । यसपटकको ट्रफी टुरलाई क्यानले ग्लोबल वार्मिङ र वतावरण संरक्षणको जनचेतनासँग जोडेको छ । एनपिएल मङ्सिर १ गतेदेति त्रिवि मैदान कीर्तिपुरमा सुरु हुनेछ । 

पोखरा:  गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले अपांगता भएका व्यक्तिहरुलाई सक्षम बनाउन जरुरी रहेको बताउनुभएको छ ।  उनीहरुलाई रोजगारी प्रदान गरी सहज जीवनयापनका लागि सक्षम बनाउनु आजको मुख्य दायित्व रहेको उहाँको भनाई छ ।   नेपाल दृष्टिविहीन कल्याण संघको पोखरामा शनिबार भएको ३८ औं केन्द्रीय वार्षिक साधारणसभाको उद्घाटन गर्नुहुँदै प्रदेश प्रमुख भट्टले अपाङ्गता भएका व्यक्तिहरू समाजका अभिसाप नभई समतामूलक समाजको हिस्सेदार रहेको उल्लेख गर्नुभयो ।   ‘समाजमा अपांगता भएका व्यक्तिहरुप्रति गरिने व्यवहार अझै सम्मानजनक नभएको तीतो यथार्थ हामीसामु छ । मुलुकमा दशकौँदेखि व्याप्त रुढीवादी, अन्धविश्वास र भेदभावलगायतका कारण दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूले न्यूनतम मानवअधिकारको उपभोग गर्न पाइरहेका छैनन् ।’ उहाँले भन्नुभयो । रोजगारीको व्यवस्थापन, सीप विकासका साथै अपाङ्गता भएका व्यक्तिको हित प्रवद्र्धन गर्न जरुरी रहेकोमा उहाँले जोड दिनुभयो । ‘अपाङ्गतामैत्री संरचना र सेवा अपरिहार्य आवश्यकता हो । अपाङ्गता भएकाहरुको समानुपातिक समावेशी सहभागिता अनिवार्य छ ।’ उहाँले भन्नुभयो ‘उनीहरूको सहजताका लागि आवश्यक ऐन, कानुन निर्माणमा राज्यसहित सबै क्षेत्र जिम्मेवार तथा जबाफदेही बन्नैपर्ने हुन्छ ।’   अपाङ्गता भएका व्यक्तिभित्रको विविधताको सम्मान गर्दै नीति तथा योजना निर्माणमा उनीहरुको सार्थक सहभागिताको सुनिश्चितता गर्न आवश्यक रहेकोमा भट्टले जोड दिनुभयो । संघको साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्दै उहाँले दृष्टिविहीन समुदायको कल्याण र उनीहरुको हक अधिकार स्थापित गर्न उल्लेखनीय कार्य गर्ने मार्गचित्र छलफलबाट तयार हुनेमा आशावादी रहेको उल्लेख गर्नुभयो ।   २०३८ सालमा नेपाल अन्धा कल्याण केन्द्र स्थापना भएकोमा नाम परिवर्तनसँगै २०४२ सालदेखि दृष्टिविहीन कल्याण संघ गैरनाफामुखी संस्थाका रुपमा अघि बढेको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, नेपाल नेत्रहीन संघ, दृष्टिविहीन अभिभावक संघ नेपाल जस्ता एकै उद्देश्यका साथ स्थापित संस्थाहरू एक आपसमा सहकार्य गरी अघि बढ्न पनि प्रदेश प्रमुख भट्टले सुझाव दिनुभयो ।    संघले कास्कीसँगै विभिन्न जिल्लामा शाखा स्थापना गरेको जनाएको छ । नेत्र परीक्षण, आँखा शल्यक्रिया, वृक्षारोपण, सरसफाई, छात्रवृत्ति तथा शैक्षिक सामाग्री प्रदान, ब्रेललिपी तालिम, सदस्यहरुलाई लघुवित्त व्यावसायिक योजना सम्बन्धी क्षमता अभिवृद्धि एवं सीपमूलक तालिमको आयोजना, ब्रेललिपी पाठ्यपुस्तक उत्पादन तथा वितरण, दृष्टिविहीन विद्यार्थीको प्रतिभा प्रस्फुटन, पुरस्कार स्थापना र वितरण लगायतका कार्यक्रमहरु संस्थाले गर्दै आएको संघ कास्कीका अध्यक्ष टेकमान प्रधानाङ्गले जानकारी दिनुभयो । 

काठमाडौं:  हालसम्म ६१ स्थानीय तहले चालु आर्थिक वर्षका बजेट सार्वजनिक गर्न सकेका छन् । नियमानुसार, गत असार १० गते स्थानीय तहको बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार कूल ७५३ स्थानीय तहमध्ये ६९२ स्थानीय तहले हालसम्म बजेट सार्वजनिक गरी कार्यान्वयन गरेका छन् । बजेट पेश नभएका स्थानीय तहको सङ्ख्या ६१ वटा छन् ।  सो मन्त्रालयका अनुसार कोशी प्रदेशका पाँच, मधेस प्रदेशका ४०, वाग्मती प्रदेशका पाँच स्थानीय तहले हालसम्म बजेट प्रस्तुत गरेका छैनन । राजनीतिक विवाद र स्थानीय समस्याका कारण ती स्थानीय तहले बजेट प्रस्तुत गर्न नसकेको पाइएको छ । गण्डकी प्रदेशका सबै स्थानीय तहले बजेट ल्याउँदा, लुम्बिनी प्रदेशका सात, कर्णाली प्रदेशका तीन र सुदूरपश्चिम प्रदेशको एक स्थानीय तहले बजेट ल्याएका छैनन् । भोजपुरको साल्पासिलिछो गाउँपालिका, इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, मोरङको सुनबर्षी नगरपालिका र ओखलढुंगाको सुनकोशी गाउँपालिकाले हालसम्म बजेट सार्वजनिक गर्न सकेका छैन । मधेस प्रदेश अन्तर्गत सप्तरीका मात्रै पाँच स्थानीय तहले बजेट ल्याएका छैनन् । सिरहाका तीन, धनुषाको १०, महोत्तरी एक, सर्लाहीको पाँच, रौतहटको पाँच, बाराको पाँच र पर्साका पाँच स्थानीय तहले बजेट ल्याएका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा सम्बन्धित स्थानीय तहले प्रविष्ट गरेको विवरणअनुसार वाग्मती प्रदेश अन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका, दोलखाको बिगु, धादिङको खनियाबास र गल्छी गाउँपालिकाले बजेट ल्याएका छैनन् । काठमाडौँ महानगरपालिकाले यसअघि नै बजेट प्रस्तुत गरिसकेको भएपनि मन्त्रालयको विवरणमा उल्लेख नभएको देखिन्छ । लुम्बिनी प्रदेशको नवलपरासीको पाल्हीनन्दन गाउँपालिका र प्रतापपुर गाउँपालिका, रुपन्देहीको कोटहीमाई गाउँपालिका र सम्मरीमाई गाउँपालिका, कपिलवस्तुको शुद्धोधन गाउँपालिका, दाङको तुल्सीपुर उपमहानगरपालिका र लहमी नगरपालिकाको बजेट सार्वजनिक भएको छैन । कर्णाली प्रदेशको सल्यान जिल्लाको कुमाख, छत्रेश्वरी र दार्मा गाउँपालिकाले बजेट प्रस्तुत नगरेको मन्त्रालयको विवरणमा उल्लेख छ । यस्तै, सुदूरुपश्चिम प्रदेशको टिकापुर नगरपालिकाले बजेट प्रस्तुत नगरेको मन्त्रालयको विवरणमा उल्लेख छ । संवैधानिक व्यवस्थाअनुसार हरेक बर्षको जेठ १५ गते संघीय सरकारले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत हुन्छ । यस्तै, असार १ गते प्रदेश सरकारको र असार १० गते स्थानीय तहले बजेट प्रस्तुत गर्ने व्यवस्था छ ।

काठमाडौं:   हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो देशभर साधारणतया बदली रहनेछ ।  कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।  देशका पहाडी भू–भागका केही स्थानहरूमा र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

म्याग्दी:  म्याग्दीको सदरमुकाम बेनीबाट गत शनिबार रातिदेखि सम्पर्कविहीन भएका दुई युवामध्ये एक जनाको शव फेला परेको छ ।  जिल्ला सदरमुकाम बेनीस्थित कालीगण्डकी किनारमा निर्माण भएको चक्रपथमा दुर्घटनामा परेर बेपत्ता भएका बेनी नगरपालिका–६ जामुना खर्कका हरिप्रसाद शर्मा रिजालको शव फेला परेको हो । बागलुङ नगरपालिका–१ मालढुङ्गास्थित कालीगण्डकीको किनारमा आज बिहान रिजालको शव फेला परेको र हुलियाका आधारमा घरपरिवारले सनाखत गरेपछि शव परीक्षण गरेर अन्तिम संस्कारका लागि जिम्मा लगाइएको बागलुङ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुनिल शर्मा सिलवालले जानकारी दिए । उनका अनुसार आज बिहान नदी किनारमा वेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेपछि स्थानीयले बागलुङ प्रहरीलाई खबर गरेका थिए । बागलुङ प्रहरीले माग्दी जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरी बेपत्ता भएका युवाका आफन्तबाट सनाखत गराइएको थियो । रिजालसँगै बेपत्ता भएका म्याग्दीको रघुगङङ्गा गाउँपालिका–२ भगवतीका कुमार रिजालको अवस्था भने अझै अज्ञात छ । बेनीको बैंकरोडस्थित एक होटलमा सँगै खाना खाएर एउटै मोटरसाइकलमा सवार रिजालद्धय कालीगण्डकी नदीको चक्रपथतर्फ मोडिएको र उक्त समयमा चक्रपथबाट मोटरसाइकल कालीगण्डकी नदीमा खसेको दृश्य सिसीटिभीमा कैद भएको थियो । दुर्घटना भएको भएको सडक छेउमा एउटा जुत्ता र हेलमेटको भाइजर फेलापरेको थियो भने बेनीनगरपालिका–१ थाङ्नेबगरस्थित कालीगण्डकी नदी किनारमा उनीहरू सवार पल्सर १५० सिसी मोटरसाइकलको फ्युलट्याङ्की फेला परेको थियो । बेपत्ता भएकाहरूको नेपाल प्रहरी र आफन्तजनसँगै सशस्त्र प्रहरी बलको गोताखोर टोलीले लगातार खोजी गरेका थिए । यसैबीच एउटै मोटरसाइकलमा सवार भई कालीगण्डकीमा दुर्घटनामा परेर बेपत्ता भएका कुमार रिजालका आफन्तले शुक्रबार कुशको शव बनाएर अन्तिम संस्कार गरेका छन् ।  कुमारको अवस्था पत्ता लाग्न नसके पनि घटना घटेको तत्कालीन समयमा उपलब्ध सिसीक्यामेराका दृश्यमा उनीहरू एउटै मोटरसाइकलमा सवार रहेको देखिएको र अर्का युवाको शव भेटिएपछि काजकिरीयाजन्य धार्मिक संस्कारका लागि कुशको शव बनाएर अन्तिम संस्कार गरिएको परिवारजनले जनाएका छन् ।

पोखरा:  गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले जीवन व्यवहारमा नैतिक मूल्यहरूको स्थापना र सदाचारलाई प्रमुख प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभएको छ । समाजले नैतिक मूल्यमान्यता र सदाचारको खोजी गरेको उहाँको भनाई छ । पोखरामा शुक्रबार मानव मिलन संस्थाको ३१ औं अन्तर्राष्ट्रिय सम्मेलनको समुद्घाटन गर्नुहुँदै प्रदेश प्रमुख भट्टले यस्तो बताउनुभएको हो । ‘समाज असामाजिक क्रियाकलापले आक्रान्त छ । मानव खुसी र समृद्ध बनाउन हाम्रो व्यवहार परिवर्तन प्रमुख कुरा हो ।’ उहाँले भन्नुभयो । समानता र सहअस्तित्वमा आधारित मानवताको सम्वर्द्धन  र मानव कल्याणको लागि शिक्षा, स्वास्थ्य जस्ता आधारभूत मानवीय सेवाका क्षेत्रमा समर्पित हुने गरी मणिभद्र मुनिजी महाराजबाट ३१ वर्ष अघि यो संस्थाको परिकल्पना र स्थापना गरिएकोमा उहाँले आभार व्यक्त गर्नुभयो । ‘मानिसको धर्म नै मानवता हो । सबै धर्मको मूल लक्ष्य भनेको मानव जातिको कल्याण नै हो । हाम्रोजस्तो विभिन्न जातजाति, भाषाभाषी, धर्म र संस्कृति भएको देशमा सबै नेपालीहरूबीच रहेको धार्मिक सहिष्णुता, मेलमिलाप र सद्भाव नेपालीको विशिष्ट पहिचान हो ।’ उहाँले भन्नुभयो – ‘विश्वमा अहिंसा तथा शान्तिको वातावरण सिर्जनामा हामीले भूमिका खेल्न सक्नु पर्दछ । मानव सेवाको पक्षमा सञ्चालित अभियानहरूमा सरकारसहित सबैले सहयोग र सहकार्य गर्नुपर्ने हुन्छ ।’ हरेक मानिसमा परोपकारको भावना हुनुपर्नेमा जोड दिनुहुँदै उहाँले गरिब, असहाय, दीनदुःखीको सेवा हामी सबैको चित्तमा रहनुपर्ने बताउनुभयो । मानव मिलन संस्थाले विगत लामो समयदेखि शिक्षा र स्वास्थ्य जस्ता आधारभूत मानवीय सेवाका क्षेत्रमा आफूलाई समर्पण गरिरहेकोमा उहाँले खुशी प्रकट गर्नुभयो । तीन ‘स’ समानता, सहिष्णुता र सहअस्तित्व नै वर्तमान समयको माग हो भन्ने विषय आत्मसात् गर्दै वर्गीय, क्षेत्रीय सीमालाई अतिक्रमण गरी मानवता र मानवीयताको पहिचान दिन र दिलाउन संस्था अनवरत क्रियाशील रहेको पाएको उहाँको भनाई छ । ‘मानव मिलन संस्थाले जाती, धर्म, सम्प्रदाय, रंग र लिंगभेद जस्ता संकीर्णताहरु भन्दा माथि उठेर शिक्षा, स्वास्थ्य र सेवाको माध्यमबाट आपसमा सहयोग, सद्भाव, ज्ञान, ध्यान, अहिंसा एवं मानवको सुखशान्तिमा समर्पित रही आदर्श समाज स्थापनामा सहयोग पुगेको विश्वास लिएको छु ।’ उहाँले भन्नुभयो ।

पोखराः   नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की शाखाको आयोजनामा शुक्रबारदेखि पोखरामा ‘आठौं इक्यान एजुकेसन फेयर’ सुरु भएको छ ।  टाइम्स एजुकेसनल कन्सल्टेन्सीको मुख्य प्रायोजनमा पोखराको न्यूरोडस्थित सिटी स्क्वायर बैंक्वेटमो बृहत् शैक्षिक मेला सुरु भएको हो । मेलाको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले इक्यानले विद्यार्थीलाई विश्वका प्रतिष्ठित शैक्षिक संस्थाहरूसँग जोड्ने महत्त्वपूर्ण कार्य गरेको बताए । उनले भने, ‘मेलाले हजारौं विद्यार्थी तथा अभिभावकलाई सही जानकारी, अवसर र सम्भावनासँग प्रत्यक्ष परिचित गराउनेछ ।’ उनले नेपालको शिक्षा क्षेत्र राष्ट्रिय विकासको मेरुदण्ड भएको बताउँदै विश्वव्यापी रूपमा बदलिँदै गएको ज्ञान र सीपसँग कदम मिलाउन गुणस्तरीय शिक्षा अपरिहार्य रहेकोमा जोड दिए ।  प्रदेश सरकारको नीतिबारे प्रकाश पार्दै उनले भने, ‘सरकारको प्राथमिकता देशमै उच्चस्तरीय शैक्षिक अवसर विस्तार गर्नु, प्रविधि र सीपमूलक शिक्षालाई प्रोत्साहन गर्नु र विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई सहज, पारदर्शी र सुरक्षित वातावरण सुनिश्चित गर्नु हो ।’  उनले शैक्षिक परामर्शसम्बन्धी कार्यविधि कार्यान्वयनमा ल्याइएको र यसले दर्ता, नवीकरण र खारेजीसम्बन्धी प्रक्रियालाई व्यवस्थित गरेको पनि जानकारी दिए । उनले विद्यार्थीलाई भाषा र व्यावसायिक सीप मजबुत बनाएर विदेश जान पनि सुझाव दिए । इक्यान कास्कीका अध्यक्ष ओमप्रकाश गैह्रेले कोभिड महामारीका कारण केही वर्षदेखि स्थगित भएको मेलालाई निरन्तरता दिन सफल भएकोमा खुसी व्यक्त गरे । उनले इक्यानका सदस्य संस्था र केन्द्रको सहयोगप्रति आभार व्यक्त गर्दै भने, ‘हाम्रो चाहना नेपाली विद्यार्थीले स्वदेशमै उच्च शिक्षा अध्ययन गरोस् भन्ने नै हो । तर, धेरै विद्यार्थीहरू विदेशमा गएर आफ्नो भविष्य सुरक्षित गर्ने सोचमा छन् ।’  उनले विदेश जाने विद्यार्थीलाई सत्य, तथ्य परामर्श र अभिभावकीय भूमिका आवश्यक रहेकोमा जोड दिए । उनले थपे, ‘विदेश जानुअघि त्यहाँको नीति नियम, भिसा प्रक्रिया र कलेजबारे पूर्ण जानकारी हुनुपर्छ । हामी यही आवश्यकता पूरा गर्न लागिपरेका छौं ।’ नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बरालले हिजोका दिनमा काठमाडौँमा मात्र सुरु भएका यस्ता गतिविधिहरू अहिले विभिन्न प्रदेश र जिल्लाहरूमा पनि भइरहेको बताए । गण्डकी प्रदेश सरकारले बनाएको निर्देशिकाका सम्बन्धमा बोल्दै उनले नीतिनियम बनाउने क्रममा सरोकारवालालाई राखेर छलफल गराए मात्रै कानुन बलियो हुने धारणा राखे । इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराईले काठमाडौंमा २९औं स्थापना दिवस मनाइरहँदा इक्यानले विद्यार्थीलाई विदेशका उत्कृष्ट कलेजमा भर्ना प्रक्रियामा मात्रै नभई, उनीहरूलाई नेपालको विकासक्रममा फर्काउने प्रयास पनि गरेको बताए । उनले शैक्षिक परामर्श क्षेत्रका लागि छुट्टै ऐन बनाउनुपर्ने र नीति निर्माण गर्दा सरोकारवालासँग छलफल गर्नुपर्ने सुझाव दिए । उनले पोखरालाई शिक्षाको ‘हब’ बनाउन निजी क्षेत्र र परामर्श केन्द्रले सहयोग गर्न सक्ने पनि बताए । इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले करियर काउन्सिलिङ, भर्ना र भिसा प्रक्रियाबारे सम्पूर्ण जानकारी दिने एउटा प्रमुख गन्तव्यका रूपमा पोखराको इक्यान मेला स्थापित भएको उल्लेख गरे ।  उनले भने, ‘फरक–फरक परामर्श केन्द्रमा धाउनुपर्ने परिस्थितिलाई दुई दिनको मेलाले सहयोग पु¥याउँछ ।’ व्यवसायीलाई प्रोत्साहन र गल्ती गर्नेलाई कारबाहीको व्यवस्था निर्देशिकामा समेटिनुपर्ने उनको भनाइ थियो । इक्यानका पूर्व केन्द्रीय अध्यक्ष दीपक गुरुङले इक्यानका सदस्य रहेका परामर्श केन्द्रबाट मात्र आवेदन दिन विद्यार्थीलाई आग्रह गर्दै कुनै समस्या परे इक्यान सहयोगी बन्ने बताए । इक्यानका केन्द्रीय उपाध्यक्ष भुवनबहादुर क्षेत्रीले नेपालभर हाल ७ सय २० परामर्श केन्द्र शिक्षा मन्त्रालयमा सूचीकृत भएको जानकारी दिँदै ती संस्थाबाट विश्वसनीय सेवा लिन सकिने बताए । ‘इक्यानका सदस्यले विद्यार्थीलाई विदेश पठाउने मात्र नभई अध्ययनपछि नेपाल फर्काउने अभियान पनि सञ्चालन गरिरहेका छन्,’ उनले भने, ‘अवसरको खोजी गर्ने मानवीय स्वभाव नै हो, यद्यपि इक्यानले नेपाल फर्काउने अभियान पनि चलाइरहेको छ ।’ टाइम्स एजुकेसनल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक प्रेम सुवेदीले मेलालाई भव्य बनाउन सदैव साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । उनले उत्कृष्ट परामर्शदाताको उपस्थितिमा हुन लागेको मेलाबाट लाभ लिन विद्यार्थी, अभिभावक एवं अन्य सरोकारवालालाई आग्रह गरे । इक्यानले नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाबाट अनुमति लिएर मेला आयोजना गरेको हो । यो गण्डकी प्रदेशकै सबैभन्दा ठूलो शैक्षिक मेला भएको आयोजकको भनाइ छ । मेला शनिबारसम्म चल्नेछ । मेलामा अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायत लगायतका कलेज एवं विश्वविद्यालयका प्रतिनिधि, इक्यानका सदस्य संस्था र ब्रिटिस काउन्सिलसहित ६५ वटा स्टल छन् । मेलामा सहभागी विद्यार्थीलाई लक्की ड्र मार्फत ल्यापटप, ट्याब, मोबाइल, मुभी टिकट लगायत आकर्षक उपहार प्रदान गरिनेछ । मेलामा ब्रिटिस काउन्सिल नेपालको सहकार्य रहेको छ । मेलाको ‘पावर्ड बाइ’ मा बेलायतस्थित युनिभर्सिटी अफ वर्केस्टर र योर्क सेन्ट जोन युनिभर्सिटी रहेका छन् । यसको प्लाटिनम प्रायोजकमा ग्रेस इन्टरनेसनल, गोल्ड प्रायोजकमा चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेसन÷आईआईई र बैंकिङ पार्टनरमा एनएमबी बैंक रहेका छन् । उद्घाटन समारोहमा मेलाका संयोजक तथा इक्यान कास्कीका उपाध्यक्ष सन्तोष शाहीले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन इक्यान कास्कीका सचिव सुरेन्द्र बरालले गरेका थिए ।