पोखरा: कास्कीको सराङकोटमा स्थापना भएको ५१ फिट अग्लो पन्चमुखि गणेशको पुजा आराधनाको लागि केवलकारबाट आउन जान नेपाली तथा भारतीय पर्यटकहरुलाई साविक भाडा दरमा ५० प्रतिशत छुट कायम गरिएको छ । बुधबार गणेश चतुर्थीको अवसरमा पन्चमुखि गणेशको पुजा आराधनाको लागि अन्नपूर्ण केवलकारबाट दर्शनको लागि आउन जान पर्यटकहरुलाई साविकको भाडामा ५० प्रतिशत छुट कायम गरिएको हो । यस्तै केवलकार बिहान ७ बजे देखि सञ्चालनमा ल्याउने भएको छ । साविक नेपाली नागरिकको हकमा सात सयको छुटपछि ३५० तथा भारतीय पर्यटकको एक हजारको छुटमा पाँच सय कायम गरिएको कम्पनीले जनाएको छ । साथै प्रत्येक हप्ताको सोमबार सराङकोटमा साँझ ६ बजे हुने सन्ध्या आरतिको लागि नेपाली भक्तजनहरुलाई साँझ ४ बजेपछि सात सयको टिकट दरलाई २५० रुपैयाँमा आउन जानको लागि सुविधा उपलव्ध गराइएको कम्पनीले जनाएको छ । सन्ध्या आरति नसकिएसम्म केवलकार बन्द रहने छैन । त्यसैगरी प्रत्येक हप्ताको मंगलबार पन्चमुखि गणेशको दर्शन गर्न जाने भक्तजनलाई सात सयको टिकट दरमा २० प्रतिशतका दरले छुट उपलव्ध गराउँदै आएको छ । केवलकारको यात्राको अवधि केवल नौ मिनेटमा लेकसाइडको सेदीबगरदेखि सराङकोटसम्म पुग्न सकिनेछ । केवलकारले लेकसाइडको क्षेत्रबाट केवलकारमा आउन जानको लागि सबै पर्यटकहरुलाई निःशुल्क यातायातको सुविधा उपलव्ध गराउँदै आएको विज्ञप्तिमा जनाइएको छ ।
तनहुँः देवघाट गाउँपालिका-५ बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् । उनीसँगै पौडी खेल्न गएका एक बालकको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार साँझ नदीले बगाएर बेपत्ता हुनेमा भरतपुर महानगरपालिका–१६ मङ्गलपुरका १७ वर्षीय कृष्ण लामिछाने छन् भने भरतपुर–१५ फूलबारीका १३ वर्षीय कुशल ढकालको सकुशल उद्धार गरिएको हो । प्रहरी नायब उपरीक्षक अशोक थापाले बालक लामिछानेसँगै पौडी खेल्न गएका भरतपुर-१५ फूलबारीका १३ वर्षीय ढकालको सकुशल उद्धार गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय सोमबहादुर बोटेले बालक ढकालको उद्धार गरेका थिए । प्रहरी नायब उपरीक्षक थापाले भन्नुभयो, “इलाका प्रहरी कार्यालय देवघाट, प्रहरी चौकी जुगेडी र १७ नम्बर गण आँपटारी चितवनबाट गोताखोरसहितको सशस्त्र प्रहरी टोलीले बेपत्ता बालकको खोजतलास भइरहेको छ, फेला पार्न सकिएको छैन ।”
काठमाडौं: हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान र तराईका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशीलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा अन्य प्रदेशका भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।
काठमाडौं: हरितालिका (तीज) पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि मूल मन्दिरका चार ढोका बिहान ३ः०० बजेदेखि खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । तीजका अवसरमा भगवान् श्रीपशुपतिनाथको दर्शनार्थी पाल्नुहुने भक्तजन एवं विशेषगरी हिन्दू नारीहरुलाई सहज रुपमा दर्शन गर्न पाउने व्यवस्थाका लागि पशुपतिनाथका चार ढोका बिहान ३ः०० बजेदेखि नै चार ढोका खुला भएको कोषका निमित्त सदस्य सचिव सुभासचन्द्र जोशीले जानकारी दिनुभयो । चार ढोका खुलेपछि सेवासुविधाका लागि आवश्यकपर्ने सुरक्षा, स्वयंसेवा, चन्दनप्रसादको व्यवस्था, दर्शनमार्गको व्यवस्था एवं सुधार, जुत्ताचप्पल राख्ने ठाउँको व्यवस्था, आकस्मिक स्वास्थ्य सेवा, उपासनासहितको मनोरञ्जनात्मक गीत, भजन कीर्तन, दिपावली, व्रतालुहरुको गौदान गर्ने स्थानको व्यवस्थालगायतका लागि पनि काम भएको उहाँले बताउनुभयो । पशुपति क्षेत्रको बाहिरी भागबाट पशुपतिनाथ मन्दिर छिर्ने चार वटा लामको व्यवस्था गरिएको छ । पहिलो लाम गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोकाबाट बाहिर निस्किएर कैलाश दक्षिण जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ । दोस्रो लाम मित्रपार्क–जयबागेश्वरी–पाँचागणेश–भीमसेनस्थान–भूवनेश्वरी–शङ्कराचार्य मठ दक्षिण हुँदै फलामे पुल पश्चिम सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोका हुँदै बाहिरिने र शङ्कराचार्य मठ दक्षिण जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ । तेस्रो लाम पिङ्गलास्थान–चारशिवालय–पञ्चदेवल–बज्रघर–दक्षिण ढोकासम्मको लाइनलाई कोटीलिटेश्वर मन्दिर छेउको सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी दक्षिण ढोका हुँदै बाहिरिने र पञ्चदेवल पूर्व अस्थायी रुपमा निर्माण गरिएको जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ । चौथो लाम तिलगङ्गा–राम मन्दिर हुँदै वागमती नदी पूर्व किनार हुँदै आर्यघाट नजिकको पुल तरेर श्रीपशुपतिनाथ मन्दिरको पूर्व ढोकाबाट प्रवेश गरी पूर्व ढोकाबाटै बाहिरिने र आर्यघाट नजिकको पुलसँगैको अस्थायी जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिइ फर्कने व्यवस्था मिलाइएको छ । मूल मन्दिरभित्र भने आठ वटा लामको व्यवस्था गरिएको कोषका निमित्त सदस्य सचिव जोशीले जानकारी दिनुभयो । दर्शनार्थीहरुले छिटो दर्शन गरी फर्कन सक्नेगरी बिहान ३ः०० बजेदेखि नै मन्दिरका चारवटै ढोका खोल्ने व्यवस्था मिलाइएको उहाँले सुनाउनुभयो । श्रीपशुपतिनाथको मन्दिरमा गरिने श्रीयन्त्र पूजाको समयमा समेत जाली राखी बाहिरबाटै दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाइएको छ । श्रीपशुपतिनाथको दर्शन गरी फर्कंदा पशुपतिनाथ मन्दिर प्राङ्गणभित्र दर्शनार्थी र अन्य भक्तजनको सुविधाका लागि मन्दिरको चन्दन पश्चिम ढोका बाहिर सानोसदावर्त सत्तल, पञ्चदेवल पूर्वदक्षिण, उमाकुण्ड, दक्षिणामूर्ति, तिलगङ्गा वनकाली, गौशाला, जयवागेश्वरीमासमेत वितरणको व्यवस्था मिलाइएको छ । पर्यटक प्रवेश शुल्क तिरी टिकट लिएका तेस्रो मुलुकका पर्यटकलाई मेला क्षेत्रमा ९मन्दिर प्राङ्गणबाहेक० अवलोकन भ्रमण गर्न दिइने कोषका सूचना अधिकारी अनिता भट्टले बताउनुभयो । भक्तजनबाट गौदान, पूर्णपात्रोजस्ता ब्राह्मण प्रयोग गरी गरिने धार्मिक कार्यका लागि भकुण्टोल–वनकाली मार्गको दायाँबायाँ क्षेत्रमा व्यवस्था मिलाइएको पनि उहाँले सुनाउनुभयो । बहुमूल्य गरगहना लगाएर र बालबालिकालाई साथमा लिएर पशुपतिनाथको दर्शनमा नआउन कोषले भक्तजनमा अनुरोध गरेको छ । भगवान् श्रीपशुपतिनाथका नित्य दर्शनार्थीहरु बिहान ५ः३० बजेसम्मका लागि मात्र उपर्युक्तानुसारका चार ढोकामध्ये जुनसुकै ढोकाबाट प्रवेश गरी दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको छ । मन्दिर दर्शनका लागि कुनै पनि किसिमको पासको व्यवस्था नगरिएको कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
कास्की: पोखरा महानगरपालिका–११ मणिपाल कालिखोलादेखि काँहुको धुरीसम्मको ‘पोखरा ग्रेट ट्रेल’ निर्माण अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिकाका अनुसार आगामी माघ महिनाभित्रमा यस पदमार्गको निर्माण पूरा हुनेछ । उक्त ट्रेलमा करिव चार हजार ५०० सिँढीमध्येमा अब केही मात्र निर्माण बाँकी छ । कालिखोलादेखि काँहुकोटसम्म एक किमी ८०० मिटरको पदमार्ग निर्माण २०८० साल वैशाखदेखि सुरु गरिएको थियो । यसका लागि महानगरले पहिलो चरणमा ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । पोखरा महानगर प्रमुख धनराज आचार्यले मुख्य बजार क्षेत्रबाट नजिकको ट्रेलको रूपमा रहेको यस ट्रेल पर्यटकीय दृष्टिले महत्त्वपूर्ण र आकर्षक रहेको बताए । उनका अनुसार फुट ट्रयाकका लागि चालू आवमा ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । निर्माण समितिका अध्यक्ष तीर्थबहादुर बस्नेतका अनुसार पदमार्गमा ढुङ्गा काटेर विच्छ्याइएको छ । पदमार्गका विभिन्न चार स्थानमा विश्राम स्थल हुनेछन् भने १० स्थानमा ‘भ्यूपोइन्ट’ निर्माण हुनेछ । पदमार्ग १० फिट चौडाइको हुने र बिचमा रेलिङ र दायाँबायाँ तारबारले घेरिने बस्नेतले बताए । पोखराको प्राकृतिक ‘भ्यूपोइन्ट’का रूपमा रहेको काँहुकोटको पर्यटन विकास र प्रवर्द्धनमा पदमार्ग निर्माणले सहयोग पुग्ने आशा गरिएको छ । ‘क्लिन पोखरा, ग्रीन पोखरा’ अभियान अन्तर्गत आइतबार सो ट्रेलको दायाँबायाँ करिव ४०० फलफूलका बिरुवासमेत रोपिएको छ । पोखरा महानगरको दुई लाख २६ हजार विरुवा लगाउने ‘मेगा’ अभियान अन्तर्गत सो क्षेत्रमा आरु, आरुवखडा, एभोकाडो, आँप, अम्बा, लिची, कोइरालो, काइँयो, असारे, पलाँसलगायतका विरुवा रापिएका हुन् ।
काठमाडौं: हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको देखिन्छ । महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा कोशी, बागमतीर सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू कर्णाली प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । सोमबार देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका धेरै स्थानहरू तथा लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरू र तराईको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा हावाहुरीको पनि सम्भावना रहेको छ ।
काठमाडौं: नेपालको संविधान घोषणा भएको एक दशक पुगेको अवसरमा यस वर्ष भव्यताका साथ उत्सव मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मूल समारोह समिति गठन भएको छ । नेपाली जनताको बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धिस्वरुप जनताबाट निर्वाचित संविधानसभाबाट २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थासहितको संविधान जारी भएको दिनलाई राष्ट्रिय दिवस मानिन्छ । यस वर्ष संविधान जारी भएको १० वर्ष पुगेकाले दिवसलाई थप हर्षोल्लासपूर्ण र भव्य बनाउन नेपाल सरकारले तयारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको बैठकले आगामी असोज २, ३ र ४ गते नेपालभित्र र विदेशस्थित नेपाली दूतावास तथा नियोग र जनस्तरमा समेत दीपावलीलगायत विभिन्न कार्यक्रम गरी दिवस मनाउन मूल समारोह समिति गठन गरिएको हो । मूल समारोह समितिमा उपप्रधानमन्त्रीहरू, मन्त्री र राज्यमन्त्रीहरू, नेपाल सरकारका मुख्यसचिव, नेपाली सेनाका प्रधानसेनापति, नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरू, काठमाडौँ उपत्यकाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू, सुरक्षा निकायका प्रमुखहरू सदस्य र गृह मन्त्रालयका सचिव सदस्यसचिव रहनुहुनेछ । बैठकले विषयगत उपसमिति पनि गठन गरेको छ । दिवसका अवसरमा असोज ३ गते काठमाडौँको सैनिक मञ्च, टुँडिखेलमा आमनागरिकको उपस्थितिमा मूल समारोह हुनेछभने प्रदेश र स्थानीय तहमा विभिन्न कार्यक्रम प्रस्ताव गरिएका छन् । यसैगरी, दिवसका अवसरमा राष्ट्रिय गान र राष्ट्रभक्तिको साङ्गीतिक महोत्वस ९नेसनल डे कन्सर्ट० आयोजना, झाँकी प्रदर्शनीलगायत कार्यक्रम प्रस्ताव गरिएको छ । दिवसका अवसरमा वर्तमान संविधान निर्माणको ऐतिहासिक पृष्ठभूमि, संविधानको महत्त्व, संविधानमा अन्तरनिहित पक्षमा केन्द्रित विशेष संवाद, परिसंवाद तथा सन्देशमूलक नाटकजस्ता सृजनात्मक र रचनात्मक कार्यक्रम निर्माण तथा सञ्चालन गरी रेडियो नेपाल, नेपाल टेलिभिजन, सामुदायिक वा निजी क्षेत्रसमेतका विद्युतीय तथा छापा माध्यम एवं सामाजिक सञ्जालमा प्रसारण र प्रकाशनको व्यवस्था मिलाउने प्रस्ताव गरिएको छ । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान घोषणाको १० वर्ष पुगेको अवसरलाई राष्ट्रिय र जनस्तरमा विशेष रूपमा मनाउन आग्रह गर्नुभयो । उहाँले संविधानसँग विकास, राष्ट्रियता, आधुनिकता, मौलिक हक, महिला सशक्तीकरण, समावेशिताका चरित्र, लोककल्णयकारी राज्य, संस्कृति आदि पक्षसँग जोड्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले वडा र विद्यालय तहसम्म कार्यक्रम आयोजना गर्ने र अधिक रूपमा जनतालाई संविधानको उपलब्धि र महत्त्वसँग एकाकार गराउन आग्रह गर्नुभयो ।
काठमाडौं: पशुपति क्षेत्र विकास कोषले हरितालिका (तीज) का व्रतालुका लागि पशुपतिनाथ मन्दिर बाहिरी क्षेत्रमा चार लाइन तथा भित्री क्षेत्रमा आठ लाइनमा बस्ने गरी व्यवस्था मिलाउने भएको छ। पशुपति क्षेत्रमा तीजको तयारीका बारेमा जानकारी दिन कोषले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले चर्को घाममा लामो समय लाइनमा बस्न असहज हुने भएकाले एकदेखि डेढ घण्टाभित्र दर्शन गरेर फर्की सक्नेगरी व्यवस्था मिलाइएको जानकारी दिनुभयो। पशुपति क्षेत्रमा तीजको तयारी लगभग सकिएको जानकारी दिँदै उहाँले तीजमा पशुपतिको बाहिरी भागमा मात्र स्वयंसेवक खटाइने बताउनुभयो। कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले लाइनमा बस्न उचित व्यवस्था मिलाइएको उल्लेख गर्दै मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि नै खुला गरिने बताउनुभयो। कोषका संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख अरुणकुमार श्रेष्ठले तीजका अवसरमा पशुपति क्षेत्रमा समाचार सङ्कलन गर्न आउने पत्रकारका लागि सूचना विभाग र सम्बन्धित सञ्चारगृहकै परिचयपत्रले मन्दिरको मुख्य क्षेत्रसम्म जान दिइने बताउनुभयो। तीजका लागि पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था, स्वयंसेवक परिचालन, ट्राफिक एवं पार्किङ व्यवस्था, स्वास्थ्य सेवा, सरसफाइ तथा जुत्ता–चप्पल कक्षको व्यवस्थापन एवं सञ्चालन गरिने कोषका सूचना अधिकारी अनिता भट्टले बताउनुभयो। यस वर्ष तीज सोमबारदेखि सुरु हुँदैछ। पहिलो दिन सोमबार व्रतालु महिलाले दर खान्छन्। दोस्रो दिन मङ्गलबार तीजको मुख्य दिन हो। यस दिन व्रतालुले निराहार व्रत बसेर भगवान् शिवको पूजाआराधना गर्छन्। बुधबार गणेश चौथी पर्व मनाइन्छ। अन्तिम दिन बिहीबार अरुन्धतीसहित सप्तऋषिको पूजाआराधना गरेपछि चारदिने तीज पर्व समापन हुन्छ।
रौतहट: रौतहटमा शनिबार राति फेला परेको शङ्कास्पद सुटकेसभित्र महिलाको शव भेटिएको छ । रौतहटको गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवलबा मोड नजिक शनिबार राति शङ्कास्पद सुटकेस फेला परेको थियो । डोरीले बेरिएको सुटकेस वेवारिसे अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट गएका टोलीले सुटकेसभित्र शव रहेको थाहा पुष्टि भएको थियो । प्रहरीका अनुसार डोरीले बाँधिएको अवस्थामा फेला परेको शङ्कास्पद सुटकेस खोलेपछि त्यसभित्र महिलाको शव रहेको पाइएको हो । उक्त शव कसको हो भन्ने बारेमा केही खुलेको छैन । महिलाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा लगिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

