पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

म्याग्दी:   म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नम्बर १ (मुख्य सुरुङमा छिर्ने पहुँचमार्ग) मा पहिरो जाँदा आज दुई मजदुरको मृत्यु भएको छ । उक्त घटनामा परी पाँच जना घाइते भएका छन् ।  रघुगङ्गा–५ दग्नामको फेदीमा निर्माणाधीन आयोजनाको अडिट माथिबाट खसेको पहिरोमा दुई मजदुर पुरिएका हुन् । उक्त घटनामा घाइते भएका पाँच जनालाई उपचारका लागि अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए।  ‘घटनास्थलमा प्रहरीको टोली पुग्दैछ, त्यहाँ काम गर्ने नेपाली कामदारले एक नेपाली, एक विदेशी नागरिकको शव भेटिएको जानकारी दिएका छन्’, उनले भने, ‘मृतक र घाइतेको पहिचान खुलिसकेको छैन ।’

पोखरा:   सहदेव अधिकारी नेपाल लाइफको उत्कृष्ट प्रदेश प्रमुखको अवार्डबाट सम्मानित भएका छन् ।  उनी लगातार तेस्रोपटक उत्कृष्ट प्रदेश प्रमुखको अवार्डबाट सम्मानित भएका हुन् । भने, गण्डकी प्रदेश लगातार दुईपटक उत्कृष्ट अवार्डबाट सम्मानीत भएको छ ।   तीन वर्ष अगाडि मात्रै प्रदेश प्रमुखको जिम्मेवारी पाएका  अधिकारीको नेतृत्वमा  कर्णाली प्रदेश तथा लगातार दुईपटक गण्डकी प्रदेशले उत्कृष्ट प्रदेशको उपाधि हासिल गरेको हो ।  नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१÷८२ को समीक्षा गर्दै काठमाडौँको द सोल्टी होटलमा बिजनेस एक्सिलेन्स कन्फ्रेन्स २०८२ सम्पन्न गरेको छ । सबै जीवन बीमा कम्पनीहरूलाई पछि पार्दै गण्डकी प्रदेशमा नेपाल लाइफ इन्स्योरेन्स  कम्पनी लिमिटेडले गत वर्षभन्दा करिब ४९५ व्यवसाय वृद्धि गरी ८३ करोडभन्दा बढी प्रथम बीमा शुल्क संकलन गर्न सफल भएको छ ।  उक्त कार्यक्रममा गत आर्थिक वर्षको समीक्षा गर्दै आगामी आर्थिक वर्षको रणनीति समेत  तय भएको छ । नेपाली बीमा बजारको हालसम्मकै ऐतिहासिक १० अर्ब भन्दा बढी प्रथम बीमा शुल्क संकलन गर्न सफल भएको यस जीवन बीमा कम्पनीले उत्कृष्ट व्यवसाय गर्न सफल भएका प्रदेश प्रमुख, शाखा प्रमुख र अन्य कर्मचारीहरूलाई सम्मान गरेको हो ।  

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार इजरायलमा हमास समूहले बन्धक बनाएका विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइको लागि हर सम्भव पहलमा जुटिरहेको बताउनुभएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत जोशीको शीघ्र रिहाइको पहल गर्नु सरकारको जिम्मेवारी रहेकोले हर सम्भव पहलमा जुटिरहेको जानकारी दिनुभएको हो । “सरकार बिपिनको सुरक्षालाई प्राथमिकता दिँदै हर सम्भव पहलमा जुटिरहेको छ । विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका दूतावासमार्फत निरन्तर संवाद गरिरहेको छ,” प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले विपिनका परिवारको साथमा नेपाल सरकार रहेको समेत बताउनु भएको छ । “इजरायलस्थित हाम्रो दूतावासको समन्वयमा बिपिनकी आमा पद्मा र बहिनी पुष्पाले महामहिम राष्ट्रपति आइज्याक हर्जोग र संसद् अध्यक्ष अमिर ओहानासँग भेटेर विपिनको रिहाइको लागि पहल गर्न आग्रह गर्नुभएको छ,” प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ, “यसअघि मध्यपूर्वको शान्तिका लागि पहल गरिरहेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग गत चैत ७ गते र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिलसँग गत फागुन २८ गते मैले यस विषयमा ध्यानाकर्षण गर्दै फोन संवाद गरेको थिएँ, ।” प्रधानमन्त्री ओलीले इजरायलमा सहयोग गरिरहेका नेपाली र स्थानीय नागरिक, पत्रकार, सुरक्षाकर्मी र सामाजिक अभियन्ता सबैप्रति विशेष धन्यवादसमेत दिनुभएको छ ।

काठमाडौं:   काठमाडौंको बूढानीलकण्ठमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  गोल्फुटारदेखि बूढानीलकण्ठ नारायणस्थानतर्फ आउँदै गरेको स्कुटर र बूढानीलकण्ठबाट गोल्फुटारतर्फ जाँदै गरेको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो । बूढानीलकण्ठ ७ मा राति १ बजे बागमती प्रदेश ०२–०४१ प ६८१९ नम्बरको स्कुटर र प्रदेश ३–०२–००२ प ५७२ मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको हो । दुर्घटनामा सिराहा जन्दहका २९ वर्षीय भोला थापाको मृत्यु र अर्का करिब ३५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । मृतकको आफन्तको खोजी भइरहेको प्रहरीको भनाइ छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।

गलकोट:  नौ वर्षदेखि कालोपत्र नहुँदा मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा सवारी साधनले सास्ती व्यहोर्दै आउनु परेको छ ।  बिहुँ–घोडाबाधे खण्डको १३ किलोमिटरमध्ये ६ किलोमिटर सडकको दुराअवस्थाका कारण सवारी फसेर यात्रुहरुले सास्ती खेप्ने गरेका छन् । हिउँदमा धुलाम्मे र वर्खा लागेपछि हिलाम्मे सडकमा सवारीसाधन वारपार गर्नै समस्या हुने गरेको छ । बागलङ बजारदेखि घोडाबाधेसम्मको २५ किलोमिटर सडक कालोपत्रका लागि दुई खण्डमा विभाजन गरेर नौ वर्षअघि ठेक्का लगाइएको थियो  । जसमध्ये बिहुँ घोडाबाँधेको १३ किमिमध्ये ६ किलोमिटर सडक अझै कालोपत्र भएको छैन । आठ वर्षमा कालोपत्र नभएपछि ठेक्का तोडिएको थियो । ठेक्का तोडेर पुनः ठेक्का लगाएको काम एक वर्षमा जम्मा १० प्रतिशत मात्रै प्रगति भएको छ । चितवनबाट सामग्री ढुवानीका लागि गलकोटतर्फ आएको मिनि ट्रक बिहुँमा फसेर समस्या भएको चालक रमण शर्माले दुःखेसो गर्नुभयो । ट्रक मात्रै हैन दर्जनाँै कार तथा जिप सडकमा फस्ने गरेका छन् । लोकमार्गको १४० किमिमध्ये अन्यत्र कालोपत्र भइसकेको छ । बिहुँ खण्डको समस्या समाधान नहुँदा पनि सरोकारवाला निकाय मौन रहेको गुनासो स्थानीयवासीको छ ।  नयाँ ठेक्का लागेपछि सडक चौडा पारेकाले यसपटक सडक बढी हिलाम्मे भएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका इञ्जिनियर कल्पना मिश्रले बताउनुभयो ।  “पुन ठेक्का लगाएको एक वर्ष भयो, रु २१ करोडको ठेक्कामा जम्मा १० प्रतिशत काम सम्पन्न भएको छ, अहिले पूर्वाधारको काम गरिरहेको र वर्खा लागेकाले सडक हिलाम्मे छ”, मिश्रले भन्नुभयो, “निर्माण व्यवसायीलाई वर्खामा सवारीसाधन फस्न सक्ने पहिरो पन्छाउन पर्ने भएकाले डोजरसहित तयारी अवस्थामा राखिएको छ ।” बिहुँ–घोडाबाधे खण्डको अघिल्लो ठेक्का तोडेर २०८१ सालको असार २१ गते दुई वर्षमा बाँकी पूर्वाधार र कालोपत्र सम्पन्न गर्ने गरी तामाङ÷रिजाल भगवती जेभीसँग रु २१ करोड ४९ लाखमा पुन ठेक्का सम्झौता गरिएको थियो ।

पोखरा:  पोखरा र बागलुङबाट एक थास प्रकाशित हुँदै आएको ढोरपाटन दैनिक २३ औं वर्षमा प्रवेश गरेको छ ।  आफ्नो २३ औं वार्षिकोत्सव आइतबार एक समारोहका बिच पोखरामा मनाइएको छ । सोही क्रममा कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बागलुङमा जन्मिएर पनि पर्यटकीय राजधानी पोखरा हुँदै गण्डकीको यात्रा तय गर्नु खुसीको कुरा रहेको बताए ।  ‘बागलुङमा जन्मेर पोखरा हुँदै गण्डकीको यात्रा तय गर्ने हिम्मत राखेको ढोरपाटन अझै स्थापित हुनेछ’ उनले भने ।   आचार्यले प्रविधि फेरिए पनि संचारमाध्यम र पत्रपत्रिकाको महत्व बढ्ने क्रम नेपालमा मात्र नभइ संसारभर रहेको दृष्टान्त सुनाए । अमेरिकामा पुग्दा पनि उनले पत्रपत्रिकाको महत्व बढी देखिएको बताए । डिजिटल फड्कोसँगै दस्तावेजीकरणका लागि पत्रपत्रिकाको महत्व जहिले पनि रहने बताए ।  कार्यक्रममा गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारीले पत्रपत्रिका नविकरणको काम अब पोखराबाटै हुने बताए । उनले संघियताको सच्चा अभ्यास अब प्रेस रजिष्ट्रार कार्यालयले थाल्ने भन्दै संचारकर्मीहरुले अब काठमाण्डौं धाउने समस्या भोग्न नपर्ने बताइन् । उनले संचार उद्यममा सहकार्य र एक अर्काको सम्मान गर्ने भावनाको आवस्यकता रहेको पनि बताइन् । उनले संचारमाध्यम र संचारकर्मीहरु सहकार्य गरेर हिंड्दा मात्रै गन्तव्यमा पुगिने बताइन् । प्रेस स्वतन्त्रताका लागि संचारमाध्यमको एकताको आवस्यकतामा उनले जोड दिइन् ।  ढोरपाटन दैनिकका प्रधान सम्पादक हरिनारायण गौतमको अध्यक्षता, पोखरा व्युरो प्रमुख बासुदेव मिश्रको संचालन र कार्यकारी सम्पादक रामकृष्ण बोहोराको धन्यवाद मन्तव्यमा सम्पन्न कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछाने, नेपाल पत्रकार महासंघ गण्डकीकी महासचिव जमुना वर्षा शर्मा, नेकपा एमालेका केन्द्रीय सदस्य इन्द्रलाल सापकोटा, गलकोट नगरपालिकाका उपप्रमुख फमलाल निउरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।  वार्षिकोत्सवको अवसरमा उत्कृष्ट संवाददाताको रुपमा स्याङजा संवाददाता अर्जुन काफ्ले र व्यवस्थापक राजेन्द्र नेपालीलाई सम्मान तथा पुरस्कृत गरियो । महानगरप्रमुख आचार्यले दुवैजनालाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरे । ढोरपाटनले हरेक वर्ष उत्कृष्ट पत्रकार र कर्मचारी पुरस्कार तथा सम्मान गर्दै आएको छ भने दुइ वर्षमा सामाजिक क्षेत्रका अगुवालाई पनि सम्मान गर्दै आएको छ ।  २०५९ साल भदौ १ गते ढोरपाटन दैनिक स्थापना भएको हो । राजाको निरंकुश शासन व्यवस्थाको समयमा पत्रिकाले बागलुङको ग्रामीण क्षेत्रको सूचना प्रवाह गथ्र्यो । संघियता कार्यान्वयन पछि ढोरपाटनले बागलुङबाट पोखराको यात्रा तय गर्दै गण्डकी प्रदेश स्तरीय बनाएको प्रधान सम्पादक गौतमले जानकारी दिए । आगामी दिनमा पनि ढोरपाटनलाई अब्बल  बनाउन पहल गर्ने उनले बताए ।  गण्डकीका नविनतम् प्रयास, पोखरा पर्यटन वर्ष २०२५ समेतलाई ध्यान दिएर विशेषांक प्रकाशित गरिनुको साथै आगामी दिनमा पनि सोही प्रकृतिका सामाग्री पस्कने गौतमले प्रतिबद्दता समेत जनाए ।

पोखरा:   पोखरामा पहिलो पटक मगर प्रसारण दिवस मनाइएको छ । नेपाल मगर पत्रकार संघ कास्कीको आयोजना र नेपाल मगर संघ सराङकोट इकाई समितिको व्यवस्थापनमा पोखरामा पहिलो पटक मगर प्रसारण दिवस मनाइएको हो ।  रेडियो नेपालमा २०५१ साल भदौं १ गते पहिलो पटक मगर भाषामा समाचार प्रसारण भएको दिनलाई स्मरण गर्दै नेपाल मगर पत्रकार संघ कास्कीको आयोजनामा पोखरामा पहिलो पटक मगर प्रसारण दिवस मनाइएको हो ।  मगर पत्रकार संघ कास्कीले ३१ औं मगर प्रसारण दिवसको अवसरमा पोखरामा अग्रज सञ्चारकर्मी हर्क आलेमगर र खेम सारुमगरलाई सम्मान समेत गरेको छ ।  सञ्चारकर्मी आले र सारुमगरलाई गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन गाहामगर, मगर संघ गण्डकी प्रदेश अध्यक्ष तारामाया थापा मगर, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मी र मगर पत्रकार संघ कास्कीका अध्यक्ष सुरज थापामगरले सम्मानपत्र, फेटासहित सम्मान गरे ।  रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र पोखरामा हर्क आलेमगर २०५१ साल र खेम सारुमगर २०५३ सालदेखि कार्यरत हुनुहुन्छ । उहाँहरुले मगर भाषामा समाचार तथा कार्यक्रमहरु सञ्चालन गर्दै आउनुभएको छ ।   रेडियो नेपालमा २०५१ साल भदौं १ गते देखि मगर भाषासहित ९ वटा मातृभाषामा समाचार प्रसारण भएको थियो । मगर प्रसारण दिवसको अवसरमा आयोजित कार्यक्रमको उद्घाटनपछि बौल्दै गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन गाहामगरले मगर समुदायले शिक्षालाई प्राथमिकतामा राख्न नसक्दा पछाडि परिरहेको बताउनुभयो ।   ‘हामी शिक्षा र चेतनाको अभावले पछाडि परिरहेका छौं, शिक्षालाई प्राथमिकतामा राख्न नसक्दा नै हामी पछि परिरहेका छौं, सांसद गाहामगरले भन्नुभयो, ‘समुदायमा जनचेतना वृद्धि गर्न हरेक क्षेत्रमा अगाडि बढ्न मगर समुदायले अब शिक्षालाई प्राथमिकतामा दिन आवश्यक छ ।’ सांसद गाहामगरले सामाजिक क्षेत्रमा सक्रियता बढाउन नसक्दा सरकारले गरिरहेको कामको बारेमा समुदायले त्यसको बारेमा जानकारी लिन नसकेको समेत बताउनुभयो ।  ‘अहिले सरकारले हरेक क्षेत्रमा काम गरिरहेको छ, तर हाम्रो हाम्रो समुदायबाट सामाजिक क्षेत्रमा चासो र सक्रियता हुन नसक्दा भइरहेको काम बारे जानकारी लिन सकिरहेका छैनौं, उनले भने, ‘समाजको विकासका निम्ति सबैले सामाजिक क्षेत्रमा चासो राख्न जरुरी छ ।’ उनले गण्डकी प्रदेशमा सरकारी कामकाजको लागि मगर र गुरुङ भाषासम्बन्धी बनेको विद्येयक प्रमाणिकरण भइसकेकाले कार्यान्वयनका लागि सबैको साथसहयोग रहेको बताउनुभयो ।  ३१ औं मगर प्रसारण दिवसको अवसरमा सम्मानित भएका आले र सारुमगरले मगर समुदायको भाषा, कला र संस्कृतिको संरक्षणको लागि यस कार्यक्रमले महत्वपूर्ण भुमिका खेलेको बताए ।  ‘५१ साल ९ वटा मातृभाषामा एकैपटक समाचार प्रसारण भएको थियो, उहाँहरुले भन्नुभयो, ‘नेपाल बहुभाषिक र बहुजाति भएको देशमा सरकारको यो निर्णय भाषा,कला र संस्कृति संरक्षणको लागि महत्वपूर्ण भुमिका खेलेको छ, यसमा हामीले सबैले चासो देखाउन आवश्यक छ ।’ कार्यक्रममा नेपाल मगर संघ गण्डकी प्रदेशका अध्यक्ष तारामाया थापामगरले गण्डकी प्रदेश सरकारले कामकाज भाषाको रुपमा मगर र गुरुङ भाषालाई प्रयोग गर्न बनेको विद्येयक प्रमाणिकरण भइसकेको भन्दै कार्यान्वयनका लागि सबै एकजुट हुन आवश्यक रहेको बताईन् ।  नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मीले आदिवासी समुदायको संस्कृति संरक्षणसँगै हरेक क्षेत्रमा पत्रकारहरुले कलम चलाउँदै आएको बताए ।  कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीका इन्चार्ज रुद्र श्रीस मगर, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मी, मगर संघ सराङकोट इकाई समितिका अध्यक्ष सञ्जिव थापा मगर लगायतले बोलेका थिए ।  कार्यक्रम नेपाल मगर पत्रकार संघ कास्कीका अध्यक्ष सुरज थापा मगरको अध्यक्षता, उपाध्यक्ष प्रविण थापा मगरको स्वागत र कार्यवाहक सचिव बलबहादुर रोकामगरको सञ्चालनमा सम्पन्न भएको थियो । 

काभ्रेपलाञ्चोक:   बिपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको छ । जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकोमा भदौ १५ गतेसम्म १२ घण्टा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । जिल्ला सुरक्षा समितिको शुक्रबार सम्पन्न बैठकले उक्त राजमार्गमा साँझ ५ देखि बिहान ५ बजेसम्म राजमार्गमा यात्रुवाहक तथा निजी सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । कार्यालयले उक्त राजमार्गअन्तर्गत जिल्लाको काभ्रेभञ्ज्याङदेखि सिन्धुली–सीमा नेपालथोकसम्म थप १५ दिन रोक लगाइएको जनाएको छ । कार्यालयले उक्त निर्णय गर्दै सूचनामार्फत मनसुन सक्रिय रहेको अवस्थामा बिपी राजमार्गमा बाढीपहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटना हुनसक्ने भएकाले जोखिम न्यूनीकरणका लागि राजमार्गको उल्लेखित क्षेत्रमा सवारी सञ्चालनमा रोक लगाइएकाले सतर्कता अपनाउन सार्वजनिक अनुरोधसमेत गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले मनसुनको समयमा बिपी राजमार्गमा उच्च जोखिमका कारण रातको समयमा निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइएको जानकारी दिनुभयो ।  उहाँका अनुसार काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट खण्डका विभिन्न स्थानमा जोखिम भएकाले यातायात सञ्चालनमा रोक लगाइएको हो । काठमाडौँबाट जाने सवारीलाई जिल्लाको काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपालथोकमै रोकिने छ । मनसुनजन्य विपद्बाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै यसअघि काभे्रपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको बैठकले गत असार ७ गतेदेखि बिपी राजमार्गमा साँझ ६ः३० बजेदेखि बिहान ५ बजेसम्म करिब दश घण्टा १५ दिन तथा थप असार मसान्तसम्म र साउन महिनाभर साँझ ५ देखि बिहान ५ बजेसम्म सडक सञ्चालनमा रोक लगाइएको थियो । गतसाल असोजको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको वर्षेखोलासम्मको आठ किलोमिटर सडकखण्डमा सडकनै बगाएका कारण खोलामा कतै एकतर्फ, कतै दुईतर्फी यातायात सञ्चालन हुनेगरी अस्थायी सडक सञ्चालनमा ल्याइएको छ ।  बाढीपहिरोले राजमार्गको कूल १६० किमीमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्‍याएको थियो । कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा समेत अघि बढाइरहेको छ । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छ ।

सर्लाही:   सर्लाहीको हरिपुर्वा नगरपालिकामा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । हरिपुर्वा नगरपालिका–६, का ४५ वर्षीय रामपुकार राय यादवको अज्ञात व्यक्तिले गोली प्रहार गर्दा मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो । यादवलाई शुक्रबार साँझ आफ्नै घरको आँगनमा बसेर छरछिमेकीसँग गफ गरेर बसिरहेका बेला अज्ञात व्यक्ति आएर गोली प्रहार गरेका थिए । मोटरसाइकल चढेर आएका मानिसले पेस्तोल निकालेर यादवको टाउकोमा गोली प्रहार गरेका प्रत्यक्षदर्शीले बताएका छन् । गोली प्रहारबाट गम्भीर घाइते यादवको महोत्तरीको सोनामा गाउँपालिकास्थित पर्सा गाउँमा रहेको एक स्वास्थ्य संस्थामा मृत्यु भएको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिनुभयो । छरछिमेकीसहित समूहमा बसेर कुराकानी गरिरहेका बेला दुई जना अपरिचित मानिस आएर रामपुकार भनेको को भनी सोधेर नै गोली प्रकार गरेका एक स्थानीयले बताए । गोली प्रहार गर्ने व्यक्ति भाग्दै गर्दा हरिपुर्वा नगरपालिकाअन्तर्गत पर्ने बसन्तपुरमा दुर्घटनामा परेको थियो । जसमा एक जना फरार भएको छ भने अर्का घाईतेलाई प्रहरी निगरानीमा जनकपुरमा उपचार भइरहेको प्रहरी सर्लाहीका प्रहरी प्रवक्ता राईले जानकारी दिनुभयो । घटनामा संलग्नहरूको पहिचान भइसकेको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिनुभयो । मृतक यादव यसअघि सर्लाही सदरमुकाम मलङ्गवाको निजी विद्यालयमा शिक्षण पेसामा आबद्ध भए पनि अहिले खेती किसानी गर्नुहुन्थ्यो । उहाँले गाउँघरमा केही रकम ऋण लगानीसमेत गरेको स्थानीयहरूले जनाएको छ ।