गलकोट: बागलुङको काठेखोला गाउँपालिका–७ रेश गाउँका गुमबहादुर घर्ती र उहाँकी श्रीमती देवी तथा अमरबहादुर थापाले गाउँका खेत बाँझिन थालेपछि ठेक्कामा रोपाइँ गर्न थाल्नुभएको छ । गाउँको एक हजार ५०० रोपनी रोपाइँयोग्य खेत बाँझिने क्रम बढेपछि प्रतिरोपनी रु तीन हजार २६६ मा ठेक्का लिएर उहाँहरूले रोपाइँको चाजोपाजो मिलाउनुभएको हो । खेतालो खोज्नेदेखि ब्याडबाट बिउ ल्याउनेलगायत सबै कामको व्यवस्था उहाँहरूले गरिदिनुहुन्छ, तर त्यसबापत अग्रिम रुपमा रकम उपब्ध गराउनुपर्छ । घर्ती दम्पतीले गत असारमा १८९ रोपनीमा रोपाइँ गरेर रु छ लाख १७ हजार ४०० आर्जन मात्र गर्नुभएन १० जनालाई रोजगारी पनि दिनुभयो । किसान अमरबहादुरले पनि सोही महिना १८६ रोपनी खेत रोपेर रु छ लाख सात हजार ६०० कमाउनुभयो । उहाँले पनि १० जना खेतालालाई एक महिना रोजगारीको व्यवस्था गर्नुभयो । नयाँ अवधारणाका साथ बाझा खेत हरियालीमा परिणत भएपछि वडा कार्यालयले उहाँहरूलाई सम्मान गरेको छ । साथै खनजोत गर्न उहाँहरूलाई वडाले एउटा मिनी टिलर उपहार दिने घोषणा गरेको छ । बुधबार वडा कार्यालयमा पौरखी किसानलाई सम्मान गर्दै वडाध्यक्ष प्रेम लामिछानेले भन्नुभयो, “प्याकेजमा खेत रोप्ने योजना अनुकरणीय छ । जग्गाधनीले खेताला खोज्ने, उनीहरूलाई खाना, पानी, गोरु, ट्याक्टरको व्यवस्थाको झन्झट परेन । रकम भुक्तानी भए खेत रोपियो ।”
नुवाकोट: त्रिशूली नदीले पक्कि सडक कटान गरेपछि त्रिदेशिय सडक मार्ग अवरुद्ध भएको छ । कपितपय स्थानमा वस्ती नै जोखिममा परेका छन् । त्रिदेशिय सडक मार्ग अन्तर्गत विदुर–वेत्रावति–किस्पाङ–मैलुङ–रसुवागढी सडकको बीचमा त्रिशूली नदीले पक्कि सडक नै कटान गरेपछि बुधवारदेखि आवतजावत नै ठप्प भएको छ । उक्त सडकमार्गको विदुर–वेत्रावति–किस्पाङको वचिमा त्रिशूली नदीले एकसय मिटर पक्कि सडक नै कटान गरेको छ । उक्त स्थानमा सडक कटान भएपछि त्रिदेशीय सडकमार्ग अवरुद्ध हुँदा रसुवा तथा नुवाकोटको किस्पाङ, शान्तिबजार जाने बाटो ठप्प भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । त्रिशूली नदीले कटान गर्दा उक्त स्थान आसपासका वस्ती तथा उत्तरगया गाउँपालिका कार्यालयसमेत प्रभावित हुन पुगेको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, रसुवाका प्रजिअ अर्जुन पौडेललगायका सुरक्षाकर्मीसहित उत्तरगया गापाका अध्यक्ष माधव अर्यालको अध्यक्षतामा बुधवार बसेको आकस्मिक वैठकले तत्काल सडकको मर्मत तथा पुर्ननिर्माण गरि यातायात सुचारु गर्नुपर्ने र नदीबाट थप कटान हुनवाट रोक्नुपर्ने निर्णय गरेको छ । कटान र जोखिम नियन्त्रण गर्न जाली भरेर तटवन्ध निर्माण गरिने निर्णय भएको छ । छिमेकी चीनको तिव्वतस्थित लेन्देखोला हुँदै त्रिशूली नदीमा आएको अकल्पनिय बाढीले गत असार २४ र यहि साउन १४ गते नुवाकोट र रसुवाका विभिन्न स्थानमा क्षति गरेको थियो । उत्तरगया गापा(५ नौबिसेमा बस्तीनै जोखिम परेको छ । बेत्रावती पेट्रोल पम्प नजिकै त्रिशूल नदीले कटान गर्दै गरेको ठूलो क्षतिको सम्वन्धमा सरोकारवाला पक्षबीच पुर्ननिर्माण गर्ने निर्णय भएको छ । गल्छी–विदुर–बेत्रावती–मैलुङ सडक खण्डमा कटान हुदा स्थानीय नौबिसे तथा खाल्टे क्षेत्र उच्च जोखिममा परेको स्थानीयवासी दिलकृष्ण श्रेष्ठको भनाई छ । यसैवीच, जिल्ला प्रशासन कार्यालय नुवाकोटले भारी मात्रामा बर्षा भइरहेको कारण सचेत हुन सर्वसाधारणमा अपिल जारी रहेको छ । जल तथा मौसम पूर्वानुमान विभागले बुधबारदेखि शुक्रबारसम्म तीन दिनसम्मा वर्षाको सम्भावना रहेको जनाएको छ । नुवाकोटको सदरमुकाम विदुरलगायत विभिन्न स्थानमा बुधवार बिहानैदेखि पानी परिरहेको छ ।
पोखरा: पोखरा महानगरपालिका वडा नम्बर १३ का युवाहरूद्वारा आयोजित भलिबल प्रतियोगिताबाट बचत रकम ३ विद्यालयलाई सहयोग गरिएको छ । वडा नम्बर १३ का युवाहरूको समन्वयमा गत चैतमा सम्पन्न प्रथम अमलाचौर चापडाँडा भेन्ट्रान्स भलिबल प्रतियोगिताबाट बचेको रकम स्वास्थ्य र शिक्षामा लगानी गर्ने निर्णयबोजिम वडा नम्बर १३ का विद्यालयहरूलाई हस्तान्तरण गरिएको कार्यक्रम संयोजक देवेन्द्र परियारले जानकारी दिए । उनका अनुसार आर्वाविजय मावि, ढाँडबेँसीलाई १५ हजार, अमरज्योति आवि, अमलाचौरलाई २२ हजार ५०० र सिमला आवि, आर्वालाई १० हजार रुपियाँ सहयोग गरिएको थियो । सङ्कलन भएको जम्मा रकम २ लाख ७७ हजार ५९१ रुपियाँमध्ये खर्च कटाएर बचत रहेको ६१ हजार ३३६ रुपियाँबाट उक्त सहयोग गरिएको आर्थिक संयोजक रामप्रसाद बरालले जानकारी दिए । बुधवार ३ ओटै विद्यालयमा आयोजित कार्यक्रममा खेल संयोजक अमृत परियार, श्री अधिकारी, आर्थिक संयोजक रामप्रसाद बराल, लक्ष्मणप्रसाद बराल, उपसंयोजक सुरज अधिकारी, शम्भु सिग्देललगायतको सहभागिता रहेको थियो ।
पोखरा: पौडेल बंश महासंघ केन्द्रीय समितिको पोखरामा आयोजित तेस्रो पूर्ण बैठकका अवसरमा समाजका विभिन्न क्षेत्रमा योगदान पुु¥याउनुभएको पाँच जना ज्येष्ठ नागरिकलाई आज सम्मान गरिएको छ । महासंघका तर्फबाट पोखराको न्युरोडस्थित होटेल दिपसागरको सभाकक्षमा ८९ वर्षीय तुलसी पौडेल, ८५ वर्षीय प्रा.पवित्रमणि पौडेल र ज्यो पं लिलाधर पौडेल एवम् ८३ वर्षीय प्रा.चतुर्भुज शर्मा पौडेल र निलकण्ठ शर्मा पौडेललाई सम्मान गरिएको हो । उहाँहरूलाई गण्डकी प्रदेशका बन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल र महासंघका केन्द्रीय अध्यक्ष हरिराम पौडेलले संयुक्त रुपमा सम्मान गर्नुभएको हो । कार्यक्रममा मन्त्री पौडेलले हामीहरू एक आपसमा घमण्ड र अहंकार भन्दा पनि समाज र राष्ट्रले गर्व गर्नसक्ने हुनुपर्नेमा जोड दिनुुभयो । परिवारसँगै समाज र राष्ट्र निर्माणमा अभिभावकीय भूमिका निर्वाह गर्दै हाम्रा सन्ततीले पनि गर्व गर्ने किसिमको बन्नुपर्ने उहाँले बताउनुुभयो । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले हामीहरू सिर्जनात्मक बन्दै हाम्रा हराउँदै गएका मौलिकतालाई जगेर्ना गर्नु जरुरी भएको बताउनुभयो । हाम्रा सन्ततीले पनि हाामीबाट धेरै कुरा सिक्न सक्ने वातावरण तयार र्गुपर्नेमा उहाँले जोड दिनुुभयो । महासंघका केन्द्रीय अध्यक्ष हरिराम पौडेलले ‘पौडेल थर, हाम्रो साझा घर’ भन्ने मूल आदर्श वाक्यका साथ महासंघ अघि बढीरहेको बताउँदै सबैलाई समेटेर बन्धुत्वको भावना अभिबृद्धि गराउँदै अघि बढ्ने बताउनुुभयो । पौडेलहरूको थातथलो खोजीका क्रममा बझाङस्थित पैडीकोटमा गरिएको अध्ययन तथा भेटघाटको जानकारी दिदै उहाँले उक्त स्थलको संरक्षणसँगै पौडेलहरूका ऐतिहासिक दस्तावेजलाई संकलन एवम् व्यवस्थित गर्ने लक्ष्यका साथ महासंघ अघि बढीरहेको बताउनुुभयो । महासंघले निकट भविष्यमा स्वास्थ्य सचेतना र बुढ्यौली व्यवस्थापन सम्बन्धी कार्यक्रम अभियानका रुपमा सञ्चालन गर्ने उहाँले जानकारी दिनुुभयो । महासंघका अध्यक्ष पौडेलको सभापतित्व एवम् महासचिव उद्धवप्रसाद पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत महासंघका उपाध्यक्ष(गण्डकी) शारदा पौडेलले गर्नुभएको थियो । बैठकमा अध्यक्ष पौडेल सहित बरिष्ठ उपाध्यक्ष शालिग्राम पौडेल, महासचिव उद्धव पौडेल, कोषाध्यक्ष युवराज पौडेलले आ आफ्ना तर्फबाट प्रतिवेदनहरू प्रस्तुत गर्नुभएको थियो । बैठकमा प्रतिवेदनहरू सहित अन्य विभिन्न समसामयिक विषयमा पनि छलफल गर्दै महत्वपूर्ण निर्णयहरू लिइने महासंघले जनाएको छ । महासंघको बैठकमा सहभागी बन्न पूर्वमा ताप्लेजुङदेखि पश्चिम बझाङ लगायत स्थानबाट पदाधिकारी तथा सदस्यहरू सहभागी बन्नुुभएको छ भने भारतबाट कुलबहादुर पौडेल र भुटानबाट बलराम पौडेलले समेत प्रतिनिधित्व गर्नुभएको छ ।
पोखरा: पोखरा महानगरपालिका र युङजिन विश्वविद्यालय गणतन्त्र कोरिया बिच प्राविधिक शिक्षाको अध्ययनका लागि छात्रवृत्ति आदानप्रदान सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । पारस्परिक लाभ, समानता, पारदर्शिता र साझा विकासको सिद्धान्तमा आधारित समझदारीमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र युङजिन विश्वविद्यालयको तर्फबाट प्रोफेसर चोइ जेइयोङले हस्ताक्षर गर्नुभएको छ । समझदारी अनुसार शैक्षिक विकासका सन्दर्भमा पोखरा महानगरपालिका क्षेत्रको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्दै प्राज्ञिक, सांस्कृतिक र प्राविधिक सहयोगमार्फत दुई देशबिच अन्तर्राष्ट्रिय सम्बन्ध र पारस्परिक विकासमा जोड दिइनेछ । शिक्षा, पर्यटन र प्रविधिको क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगलाई समर्थन गर्न मानव संसाधन तथा सूचना आदानप्रदान, महानगरपालिका र युङजिन बिच अनुकूल शैक्षिक कार्यक्रमहरू, भ्रमण र भर्चुअल शिक्षामा साझेदारी गरिनेछ । सहरी विकास, पर्यटन र दिगो अभ्यास लगायत पारस्परिक हितका क्षेत्रमा संयुक्त अनुसन्धान र नवप्रवर्तन परियोजनाहरूमा सहकार्य गरिनेछ । नगर प्रमुख आचार्यले दुई पक्षीय समझदारीले पोखराबाट वैदेशिक अध्ययनका लागि कोरिया जाने विद्यार्थीहरूलाई उनीहरूको अध्ययन, सामाजिक सुरक्षा र न्यूनतम रोजगारीमा विश्वविद्यालयले आवश्यक सहजीकरण गर्ने विश्वास व्यक्त गर्नुभयो । प्राविधिक शिक्षाको सन्दर्भमा विश्वविद्यालयसँगको समझदारीले विद्यार्थीहरूको अन्तर्राष्ट्रिय छात्रवृत्तिमा पहुँच स्थापित गर्ने भएकाले यसका लागि पोखरा महानगरपालिकाले आवश्यक सहजीकरण गर्ने उहाँले बताउनुभयो । उच्चशिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थी तथा अध्ययताहरुलाई समेत यसले महत्त्वपूर्ण सहयोग पुग्ने उहाँले बताउनुभयो । पोखरा महानगरपालिकासँगको सहकार्यमा आफूहरू यहाँको शैक्षिक विकासका लागि हातेमालो गर्न तत्पर रहेको विश्वविद्यालयका प्रोफेसर चोइ जेइयोङले बताउनुभयो । विशेष गरी प्राविधिक शिक्षा, मानव संसाधन र पारस्परिक लाभका विषयहरूमा पोखरा महानगरसँग आफूहरू नजिकबाट काम गर्न चाहिरहेको उहाँले बताउनुभयो । यसअघि पनि कोरियन सरकार र एजेन्सीजहरुको सहयोगमा पोखरामा थुप्रै परियोजनाहरू सञ्चालनमा रहेका छन् ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) को उपाधि जितेका रविन्द्र ढाँटलाई प्रोत्साहनस्वरुप सरकारले पाँच लाख रुपैयाँ दिने जानकारी दिनुभएको छ । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ढाँटलाई पाँच लाख र प्रशिक्षकलाई दुई लाख रुपैयाँ दिने निर्णय गरेको जानकारी दिनुभएको हो । प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘पहिलो पटक नेपाललाई उपाधि दिलाउन सफल रवीन्द्रलाई फेरि पनि बधाई १’ एमएमए फाइटर रविन्द्रले भारतको नोएडामा गत शनिबार राति सम्पन्न म्याट्रिक्स फाइट नाइट ९एमएफएन० मा टाइटल विजेता चोंगरेंग कोरेनलाई पराजित गर्दै उपाधि जितेका हुन् । उनले कोरेनलाई तेस्रो राउन्डमा भारतीय प्रतिद्वन्द्वीलाई नकआउट गरेका थिए । यो उनको प्रोफेसनल फाइटमा नवौं जित हो । यो जितले ढाँटलाई एमएफएनको बान्टमवेट श्रेणीको बेल्ट दिलाएको छ ।
काठमाडौं: मनसुनको न्यून चापीय रेखा तराई आसपास रहेकाले आगामी २४ घण्टा मनसुन सक्रिय रहने जनाउँदै जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले बुधबार दिउँसो देशभर पूर्णतया बदली हुने बताएको छ । देशका अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना रहेको तथा मधेश प्रदेशलगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा र एकदुई स्थानमा मुसलधारे वर्षाको पनि सम्भावना छ । कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुसार आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा पूर्णतया बदली रही बाँकी भागमा साधारणतया बदली रहने छ । गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका केही स्थानमा अत्यधिक वर्षा हुने सम्भावना छ । लुम्बिनी प्रदेशका तराईका केही स्थान, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाले वर्षाका कारण देशका पहाडी भागमा पहिरो तथा गेग्रान बहाव ९डेब्रिज फ्लो० को जोखिम रहेको, ठुला तथा साना नदीनाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्कत रहन तथा पूर्वतयारी गर्न अनुरोध पनि गरेको छ ।
पोखरा: कञ्चन पत्रकारिता पुरस्कार २०८२ बाट कास्कीका फोटो पत्रकार राम गुरुङ र गोरखाका पत्रकार कैलाशबाबु श्रेष्ठ (सुशिल) सम्मानित भएका छन् । पोखराका व्यवसायी बिमलमान गुभाजू तथा उनको परिवारद्धारा आमा स्व.नेत्रकुमारी गुभाजू तथा बाबा स्व.वेदमान गुभाजूको स्मृतिमा स्थापना गरिएको उक्त पुरस्कार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले मंगलबार पत्रकार गुरुङ र श्रेष्ठलाई प्रदान गरेको हो । पुरस्कृत पत्रकारहरुलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पुरस्कार दाता बिमलमान गुभाजु र उनको परिवार, फोनिज गण्डकी अध्यक्ष खिमा कुमारी गुरुङ लगायतले दोसल्ला, सम्मान पत्र र नगद २५ हजार रुपैयाँसहित सम्मान गरेका हुन् । फोनिज स्थापना दिवसका अवसरमा पत्रकारितामा क्रियाशील रहेर काम गरिरहेका २ जनालाई हरेक यो पुरस्कार प्रदान गर्दै आइरहेको छ । सोही अनुसार २६ औं स्थापना दिवसका अवसरमा यो वर्ष पोखराका फोटोपत्रकार गुरुङ र गोरखाका पत्रकार श्रेष्ठ सम्मानित भएका हुन् । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख आचार्यले २६ वर्ष अगाडि स्थापना भएको संस्थाले आदिवासी जनजाति पत्रकारहरुलाई उत्प्रेरणा प्रदान गर्ने काम गरिरहेका बताए । फोनिजमा आवद्ध पत्रकारहरुले पत्रकारिता क्षेत्रको विकास गर्दै आदिवासी जनजाति समुदायका लागि सकारात्मक परिवर्तनको सन्देश दिने सामाचार सामाग्री तयार गर्नुपर्ने उनको सुझाव थियो । प्रमुख आचार्यले पुरस्कृत पत्रकारहरुलाई बधाई दिदै पुरस्कार प्राप्त गर्नु कुनै एकदिनको कर्मको फल नभएको बताए । निरन्तरको मेहनतले मात्र पुरस्कार र सम्मान प्राप्त गर्न सकिने उनको भनाई थियो । ‘पुरस्कार प्राप्त गर्नु चुनौती हो, फोनिजले यसलाई निरन्तरता प्रदान गरेको छ र पुरस्कृत व्यक्तिलाई प्रोत्साहन हो,’ उनले भने, ‘यस्ता पुरस्कारले पत्रकारिता क्षेत्रमा निरन्तरता दिन अझै हौसला मिल्छ ।’ सम्मानित पत्रकार श्रेष्ठले कार्यक्रममा आफ्नो भनाई व्यक्त गर्दै पहिले र अहिलेको पत्रकारिता पेसामा धेरै परिर्वतन आइसकेको बताए । आफूहरुको पुरानो अनुभव हालका नयाँ पुस्तालाई कथा जस्तो लाग्न सक्ने समेत उनको भनाई छ । अर्का सम्मानित फोटो पत्रकार गुरुङले पुरस्कारले पत्रकारिता क्षेत्रमा निरन्तर लाग्न प्रोत्साहन मिलेको बताए । गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारीले पत्रकारिता क्षेत्रमा रहेर पत्रकारले निष्पक्ष ढंगले पारदर्शितापूर्ण काम गर्नुपर्ने बताइन् । प्रेस रजिष्ट्रार कार्यालयले संविधानको मर्म अनुसार केन्द्रमा गए मात्रै हुने काम गण्डकी प्रदेशबाटै हुने गरेर अगाडि बढिरहेको उनले जानकारी दिएकी छिन् । पत्रकारिता क्षेत्रको सृवृद्धिका लागि गण्डकी प्रदेशमा प्रेस रजिष्ट्रार कार्यालयको स्थापना भएको भण्डारीको भनाई थियो । फोनिजभित्रको एकताबाट सबैले सिक्नुपर्ने भण्डारीले बताइन् । ‘विभिन्न आस्था र विचार भएपछि फोनिजभित्र प्रवेश गरेपछि एकरुप देख्छु,’ उनले भनीन्, ‘यसबाट गैर फेनिजकर्मीले समेत सिक्नुपर्छ ।’ प्रेस रजिष्टार कार्यालय फोनिज गण्डकी प्रदेशसंग मिलेर पत्रकारिता क्षेत्रमा काम गर्न तयार रहेको उनले बताएकी छिन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, पोखरा महानगरपालिका वडा नम्बर २५ का अध्यक्ष तथा पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिमिल्सिना, नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश परिषदका उपाध्यक्ष खीम छन्त्याल आदिवासी जनजातिको मुद्दा उठानमा फोनिजमा आवद्ध पत्रकारहरुले ख्याल राख्नुपर्ने बताएका थिए । कार्यक्रममा पुरस्कारदाता बिमलमान गुभाजू र प्रेस रजिष्ट्रार बिमला भण्डारीलाई समेत दोसल्लाले सम्मान गरिएको थियो । फोनिज गण्डकीका इन्चार्ज तथा छनौट समितिका सदस्य रुद्र श्रीष मगरले पुरस्कृत व्यक्तित्वको परिचय दिएको कार्यक्रम फोनिज गण्डकी प्रदेशका अध्यक्ष खीमा गुरुङको अध्यक्षतामा भएको थियो । कार्यक्रममा फोनिज गण्डकीका उपाध्यक्ष धनबहादुर गुरुङ (सुमन) ले स्वागत मन्तव्य र सञ्चालन फोनिज गण्डकीका महासचिव सुरज थापा मगरले गरेका थिए । २०७७ सालबाट स्थापित कञ्चन पत्रकारिता पुरस्कारबाट योभन्दा अगाडि रुद्र हितान मगर, राजेशचन्द्र राजभण्डारी, शान्ति गुरुङ, केबी रानामगर, उदयबहादुर अमात्य, आश गुरुङ, हुमबहादुर गुरुङ, सुन्दरकुमार थकाली, दीपेन्द्र श्रेष्ठ र कमला राना सम्मानित भइसकेका छन् । फोनिज स्थापना दिवसका अवसरमा फोनिज गण्डकी र फोनिज कास्कीले ३ दिवसीय कार्यक्रम गरी भव्यताका साथ मनाएको छ । यस अन्तर्गत साउन २५ गते मिडियामा आदिवासी जनजाति समावेशिताको सवाल विषयक फोनिज संवाद, २६ गते पत्रकार महिला, पुरुष र भेट्रान्स फुटसलसँगै रस्साकस्सी प्रतियोगिता आयोजना गरिएको थियो ।
काठमाडौं: मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक अवस्थित रहेको छ । जसको प्रभावले मङ्गलबार देशभर पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा कोशी, मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बदली रहने छ । देशका पहाडी भूभागका धेरै स्थानहरूमा र मधेश प्रदेशलगायत देशका बाँकी तराई भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राति देशभर पूर्णतया बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका धेरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेश लगायत कोशी र बागमती प्रदेशको पहाडी र तराई भूभागको थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको तथा गण्डकी प्रदेशको पहाडी र तराई साथै लुम्बिनी प्रदेशको तराईको भूभागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

