रसुवा: गोसाईंकुण्ड गाउँपालिका–२, रसुवागढीस्थित निर्माणाधीन भन्सार क्षेत्रमा आइतबार बिहान सुख्खा पहिरो खसेको छ। स्थानीय बासिन्दाका अनुसार भदौ १५ गते बिहान गएको पहिरोले आसपासको क्षेत्र प्रभावित बनेको छ। पहिरोबाट खसेको ढुङ्गा लाग्दा पर्सा जिल्ला, विश्रामपुर–४ निवासी १९ वर्षीय विनय दास थारु घाइते भएका छन्। रोजगारीका सिलसिलामा टिमुरे बस्दै आएका थारु पहिरोको समयमा रसुवागढी पैदल यात्रा गरिरहेका थिए। उनको टाउको, कान र काँधमा चोट लागेको टिमुरे स्वास्थ्य चौकीमा प्रारम्भिक उपचारपछि उनलाई आइतबार बिहान ९ः४० बजे बा १४ च १६६१ नम्बरको स्कर्पियो गाडीमार्फत थप उपचारका लागि काठमाडौँ पठाइएको छ। पहिरोका कारण भन्सार निर्माण कार्य अवरुद्ध भएको र आसपासमा थप क्षतिको जोखिम रहेको जनाएको छ ।
बैतडी: बैतडीसहित सुदूरपश्चिम प्रदेशमा मनाइने गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ । शनिबार साँझ गौराघरमा भित्र्याइएकी गौरालाई आज व्रतालु महिलाले गौरा मन्दिरको गौराखला (आँगन)मा लगेर पूजा गर्दछन् । व्रतालु महिलाले बिरुडाले दिनभरि फाग गाएर बिरुडा (विभिन्न पाँच थरिका अन्न)ले गौरादेवीको पूजा गर्ने गरेका छन् । शनिबार गौरादेवीमा चढाएको दुबधागो (मन्त्रिएको एक किसिमको धागो) पनि आजै महिलाहरूले धारण गर्ने गर्दछन् । तागाधारी पुरुषहरूले जनै धारण गरेजस्तै यहाँका महिलाले अभिमन्त्रित दुबधागो धारण गर्ने गर्दछन् । गौराघरबाट गौरालाई सिङ्गारेर गौराखलामा लग्ने गरिन्छ । सोही खलामा महिलाले सामूहिक अठ्यावाली गाउँदै पूजा गर्ने चलन छ । गौराको उत्पत्ति, महेश्वरसँगको विवाहलगायत प्रसङ्ग बर्तालु महिलाले फागमार्फत नै भन्ने गरेका छन् । व्रतालुले गौराको पूजन गरिसकेपछि मुख्य प्रसादका रूपमा रहेको बिरुडाले आफ्ना श्रीमान्, छोराछोरी र आफन्तजनको चिरायु दीर्घायुको कामना गर्दै टाउको पुज्ने गर्दछन् । पुरुषहरूले ठाडोखेल, ढुस्को धमारीलगायत ऐतिहासिक संस्कृतिमा आधारित खेलहरू खेल्ने गर्दछन् । महिलाले आफ्नो अटल सौभाग्य, समृद्धि, सन्तान र परिवारमा सुख, शान्तिका लागि व्रत बसी पूजाआजा गर्ने मान्यता रहेको संस्कृतिका जानकार आचार्य विष्णुदत्त भट्टले बताए । सुदूरपश्चिमेलीहरूले दसैँभन्दा पनि बढी महत्वका साथ यस पर्वलाई मनाउने गरेका छन् । त्यसैले गौरामा परदेशिएकाहरू पनि घर फर्किने गरेका छन् । गौरामा विवाहित चेलीहरू पनि माइत आउने चलन छ । यसैबीच गौरापर्वकै अवसरमा सुदूरपश्चिम प्रदेशमा आइतबार र सोमबार सार्वजनिक बिदा दिइएको छ । सरकारले आइतबार भदौ १५ र प्रदेश सरकारले भदौ १६ गते सोमबार गौरापर्वको बिदा दिएपछि सुदूरपश्चिममा दुई दिन सार्वजनिक बिदा कायम भएको हो ।
पोखरा: गण्डकी प्रदेशका सांसद सरस्वती गुरुङले गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा कार्यान्वयन गर्नका लागि सबैभन्दा पहिला गुरुङ एकता अनिवार्य रहेको बताएकी छिन् । तमु धिं नेपाल ताङतिङ दुधपोखरी तमु समाजको ४० औं वार्षिकोत्सव साधारण सभा, सम्मान एवं गुरुङ भाषा कार्यान्वयन र चुनौती विषयक कार्यक्रममा बोल्दै सांसद गुरुङले यस्तो बताएकी हुन् । ‘गण्डकी प्रदेशमा मगर गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न विद्येयक पास भएर प्रदेश प्रमुखले प्रमाणिकरण गर्नु भएको छ, सांसद गुरुङले भने, ‘हाम्रो मातृभाषालाई सरकारी कामकाजको भाषाको रुपमा कार्यान्वयनका लागि सर्वप्रथम हामीमा एकता हुनु आवश्यक छ, सबैभन्दा बढी बोलिने भाषालाई कामकाजको भाषाको रुपमा कार्यान्वयनका लागि लैजान आवश्यक छ र त्यसमा त्यसमा एकता अनिवार्य छ ।’ गण्डकी प्रदेश सरकारले भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न विद्येयक प्रमाणिकरण भइसकेकाले यसमा छिटो कार्यान्वयन लैजाने दायित्व समुदायमा आएको सांसद गुरुङले बताईन् । उनले कास्कीको पर्यटकीय गाउँ ताङतिङ शान्ति, संस्कृतिको सुगन्ध र मानवीय प्रेमको असली स्वाद अनुभव गर्न पाउने भएकाले यसको विकास र प्रवद्र्धनमा सबै एकजुट हुन आवश्यक रहेको समेत बताईन् । यस्तै कार्यक्रममा तमु धिं नेपालका केन्द्रिय सदस्य कृष्ण कुमार गुरुङले गण्डकी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा मादी क्षेत्रमा बोलिने भाषा बढी जनसंख्याले बोल्ने भएकाले उक्त भाषालाई नै लैजानु पर्ने तर्क राखे । ‘गुरुङ भाषालाई सरकारी कामकाजको भाषालाई कार्यान्वयनमा लैजाने दायित्व हाम्रो काँधमा आएको छ, यसमा केही समस्या हाम्रो समुदायमा देखिन्छ, उनले भने, कास्कीको मादी, घान्द्रुक, लमजुङ, मनाङ, मुस्ताङ क्षेत्रका गुरुङ समुदायले बोल्ने भाषामा लवजमा केही भिन्नता देखिन्छ तर मादी क्षेत्रमा बोल्ने भाषा बढी जनसंख्याले प्रयोग गर्ने भएकाले उक्त भाषालाई नै हामीले अगाडि सार्नुपर्छ भन्ने मेरो तर्क हो, हामीले यो अवसरमा कार्यान्वयन लैजान सकेनौ भने पछिल्लो पुस्ताले हामीलाई के भन्छ होला ?’ उनले आफ्नो जन्मभुमी गाउँमा आफुपछिको पुस्ता गुरुङ भाषा बोल्न छाडेकाले गण्डकी प्रदेश सरकारले कामकाजको भाषाको रुपमा गुरुङ भाषालाई मान्यता दिएपछि भाषाको संरक्षण हुनेमा आशावादी रहेको बताए । उनले गुरुङ समुदायमा तीन वटा लिपी प्रयोग गर्दै आएकाले सबैको सहमतिमा एक लिपीलाई कार्यान्वयनमा लैजान आवश्यक रहेको बताए । भाषाको साहित्यिक विकास भइरहेकाले यसमा सबैको एकमत आवश्यक रहेको उनको भनाई छ । गण्डकी प्रदेश सरकारले गुरुङ भाषालाई सरकारी भाषाको रुपमा कार्यान्वयन गर्दै गर्दा अवसर पनि रहेकाले गुरुङ भाषा जानेका स्थानीयलाई नै त्यो अवसर दिन पर्ने बताए । ताङतिङ दुधपोखरी तमु समाजको ४० औं वार्षिकोत्सव साधारण सभा तथा सम्मान कार्यक्रममा तमु धिं नेपालका केन्द्रिय सदस्य कृष्ण कुमार गुरुङले गण्डकी प्रदेशमा गुरुङ भाषा कार्यान्वयन र चुनौतीको विषयमा बोलेका थिए । ताङतिङ दुधपोखरी तमु समाजको ४० औं वार्षिकोत्सव साधारण सभामा एसइई, कक्षा १२ मा उत्तिर्ण विद्यार्थी, खेलाडी, विभिन्न सामाजिक क्षेत्रमा क्रियाशिल सदस्यहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा मादी गाउँपालिका–२ का वडाध्यक्ष भोजबहादुर गुरुङ, तमु प्ले लु संघका केन्द्रिय सदस्य ओमबहादुर गुरुङ, तमु धिं नेपालका केन्द्रिय उपाध्यक्ष श्रीप्रसाद गुरुङ, लगायतले गुरुङ समुदायको संस्कार सस्कृति भाषा संरक्षणमा जोड दिएका थिए । कार्यक्रम ताङतिङ दुधपोखरी तमु समाजका अध्यक्ष अनेरा सुवदार मेजर बिरधोज गुरुङको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष चन्द्रमाया गुरुङको स्वागत र सचिव क्याप्टेन मन्त्री जङ गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा सचिव क्याप्टेन मन्त्री जङ गुरुङले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष डम्मर जङ गुरुङले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । २०४२ सालमा स्थापना भएको ताङतिङ दुधपोखरी तुम समाजमा १ सय ७६घरधुरी आवद्ध छन् ।
पोखरा: संविधानसभाबाट प्राप्त संघीयताको अभ्यास एक दशक पुगेको सन्दर्भमा समाज विज्ञान केन्द्र, पोखराले आयोजना गरेको कचहरीमा वक्ताहरूले संघीयता अपरिहार्य भए पनि यसको कार्यान्वयनमा राजनीतिक अस्थिरता, कानुनी अस्पष्टता र नेतृत्वको कार्यशैली प्रमुख अवरोधक बनेको निष्कर्ष प्रस्तुत गरे । परामर्शदाता रमेश अधिकारीले आधारपत्र प्रस्तुत गर्दै संघीयता समावेशिता, शक्ति विकेन्द्रीकरण र नागरिक अधिकार सुनिश्चितताका लागि ल्याइए पनि अझै ४० भन्दा बढी कानुन निर्माण हुन बाँकी रहेको, अधिकार टकराव, कर संकलनमा अस्पष्टता र प्रदेश–नगरपालिका संघीय हस्तान्तरणमै निर्भर रहेको बताए । उनले २०६३ यता १३ जना प्रधानमन्त्री फेरिनु, कोशी प्रदेशमा ९ पटक र गण्डकीमा २०७४ यता ७ पटक नेतृत्व परिवर्तन हुनु राजनीतिक अस्थिरताको प्रमाण भएको उल्लेख गरे । अनुसन्धानकर्ता शेखर पराजुलीले संघीयता खर्चिलो मात्र हो भन्ने धारणा हावी भए पनि स्थानीय तहले सेवा प्रवाह र भौतिक निर्माणमा उल्लेखनीय काम गरेको बताए । उपमेयर स्वस्थानी रिजालले दशकभरिको अभ्यास समीक्षा आवश्यक रहेको भन्दै कानुनी, कार्यान्वयन र कर्मचारी क्षमतामा कमी रहेको धारणा राखिन् । प्रदेश सभा सदस्य भक्तबहादुर कुँवरले संघले अधिकार दिन कञ्जुस्याइँ गरेको र जिल्ला समन्वय समिति अनावश्यक भएको बताए । गाउँपालिका महासंघ गण्डकी अध्यक्ष नवराज ओझाले संघीयताको मोडल स्पष्ट नभएकाले प्रदेश कमजोर बनेको बताए । पूर्व प्रमुख गेहेन्द्रश्वर कोइरालाले वित्तीय संघीयता सबल नभएसम्म संघमाथि निर्भरता रहने उल्लेख गरे । अधिवक्ता डा। विष्णुहरि तिमिल्सिनाले समस्या आयो भने समाधान खोज्नुपर्नेमा जोड दिए भने प्रा।डा। लेखनाथ भट्टराईले “स्थानीय तह प्रभावकारी भए पनि प्रदेश तह नागरिकसँग जोडिन नसकेको” बताए । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका निर्देशक सुरेन्द्रबाबु तिवारीले योजना छनोटदेखि कार्यान्वयनसम्म पुरानै शैली प्रयोग भएको सुनाए । पूर्व वडाध्यक्ष खगराज आचार्यले महँगो र त्रुटिपूर्ण चुनाव प्रणालीप्रति आक्रोश पोखे । डा। कृष्ण अधिकारीले संघीयता अपरिहार्य भए पनि राजनीतिक दल र शासकको कार्यशैली सुधार आवश्यक रहेको धारणा राखे । कार्यक्रममा बाबुराम पौडेल, सुरेन्द्र परियार, अर्जुन पोखरेल, डा। रामचन्द्र बराल, रोशन भट्टराई, ईश्वरी पौडेल, भानु पराजुली, सन्देश शर्मा, उपेन्द्रप्रसाद पौडेल, भरत कोइरालालगायतले पनि संघीयता कार्यान्वयनका विषयमा जिज्ञासा र धारणा राखे । कार्यक्रमको अध्यक्षता गरेका नेत्रनारायण पौडेलले लोकतन्त्र अभ्याससँग जोडिएको प्रणाली भएको भन्दै अहिलेसम्म बनेका आयोगका प्रतिवेदन किन कार्यान्वयन नभएका विषयमा सरकार संवेदनशील हुनुपर्ने निष्कर्ष प्रस्तुत गरे । लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर अन्तर्गतको समाज विज्ञान केन्द्रले मासिक रुपमा कचहरी सञ्चालन गर्दै आएको छ । कलेजका अध्यक्ष प्राडा विश्वकल्याण पराजुलीले कचहरीसँगै अनुसन्धान र प्रकाशनका काम पनि गरिरहेको जानकारी दिए ।
पोखरा: पोखरा साङ्गीतिक कलाकार सङ्घ नेपालको आयोजनामा भएको तेस्रो संस्करणको इन्टर स्कुल व्याण्ड कम्पिटिसनको उपाधि गण्डकी बोर्डिङ स्कुलले जितेको छ । पोखरा सभागृह हलमा भदौ १३ र १४ गते दुई दिनसम्म भएको प्रतियोगितामा अब्बल बन्दै उपाधि चुमेको गण्डकीले नगद एक लाख सहित ट्रफी र प्रमाणपत्र हात पार्न सफल भयो । उत्कृष्ट भएको गण्डकीले वेस्ट भोकल, वेस्ट ड्रमर र बेस गिटारवादकको विधागत पुरस्कार समेत हात पार्न सफल भयो । प्रतियोगितामा प्रतिभा मावि ‘ए’ द्वितीय र डाइमन्ड बोर्डिङ स्कुल तृतीय बने । द्वितीय स्थान प्राप्त गरेको प्रतिभाले नगद ५० हजार र तृतीय हुने डायमन्डले नगद २५ हजारसहित ट्रफी र प्रमाणपत्र हात पारे । लिड गिटारवादक तर्फ कास्की मोडर्नाइज्ड विजेता बन्यो । उत्कृष्ट गायन गर्ने विद्यार्थीलाई पाँच हजार रुपैयाँ, ट्रफी, प्रमाणपत्र र एक वर्षको निःशुल्क इन्टरनेट सेवा प्रदान गरियो भने अन्य विधाका उत्कृष्टलाई जनही पाँच हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको सङ्घका सचिव अमित गुरुङले बताए। ‘शिक्षासँगै सङ्गीत’ भन्ने मूल नाराका साथ आयोजित प्रतियोगितामा कुल १७ टिमको सहभागिता रहेको थियो । सहभागी बन्ने टिममा डायमन्ड बोर्डिङ स्कुल, कास्की मोर्डनाइज्ड स्कुलका दुई टिम, मदरल्याण्ड सेकेन्डरी स्कुल, ग्लोबल कलिजियट स्कुल, पोखरा एकेडेमी, गण्डकी बोर्डिङ स्कुल, प्रतिभा माविका दुई टिम, हिमालयन बोर्डिङ स्कुल, लाभिन्स रेसिडेन्सियल स्कुल, सगरमाथा मावि, न्यु ग्यालेक्सी मावि, कालिका मावि, गुरुकुल विद्यासदन, पश्चिमाञ्चल मावि र फिस्टेल आइबी वल्ड स्कुल रहेका थिए । यि १७ टिमबाट १३ गते राखेको प्रस्तुतीको आधारमा फाइनल चरणको लागि १० टिम छानिएका थिए । तिनै १० टिमबीच शनिबार भएको प्रतिष्पर्धामा आफ्नो प्रस्तुती मार्फत गण्डकीले उपाधि जितेको हो । प्रतियोगिताको निर्णायकमा असिम शेरचन, विनोद बानियाँ र अमित गुरुङ रहेका थिए । बिजेताहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, सङ्घका अध्यक्ष हर्कराज गुरुङ (भाइ), कार्यक्रम संयोजक तेज केसी, पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति पदमराज ढकाल, गण्डकीका पर्यटनमन्त्रीका स्वकिय सचिव जीवन उच्चै ठकुरी, गण्डकी प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव मनकुमार श्रेष्ठ लगायतले पुरस्कार वितरण गरे । कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यो कार्यक्रमको आयोजनाले नयाँ पुस्तालाई साङ्गीतिक क्षेत्रमा अगाडि बढ्न उत्पेरित गरेको बताए । प्रतियोगिताले पोखराको कला र सङ्गीतको विकासमा सघाउ पुग्ने विश्वास समेत उनको थियो । यसअगाडि शुक्रबार गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले यस प्रतियोगिताको उद्घाटन गरेका थिए । यस्ता कार्यक्रमको आयोजनाले लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउने उनले बताए । पर्यटनको राजधानी पोखरामा आयोजना गरिएको यस कार्यक्रमले पर्यटन प्रवद्र्धनमा समेत सघाउने बताए ।
पोखरा: नेपाल भारत मैत्री संघ कास्की शाखाको मैत्री सभा तथा पाँचौं अधिवेशनले जयराम पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिका सदस्यहरूमा धर्मराज आचार्य, मनिका थापा, प्रेमप्रसाद बराल, हरिप्रसाद खनाल, प्रा.डा.अर्जुन आचार्य, उदयकान्त तिवारी, खेमबहादुर गुुरुङ, बसन्तराज आचार्य, सुमन गुप्ता, मीरा आचार्य, कृष्णप्रसाद पौडेल र गिरीराज गौतम रहनुभएको छ । निवर्तमान अध्यक्ष सह प्रा.डा.बीरबहादुर कार्की रहनुभएको छ । यस अघि अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका समाजिक विकास मन्त्री विन्दुुकुमार थापाले नेपाल र भारतबीचको सम्बन्धलाई प्रगाढ बनाउन संघको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । भारतसँगको सम्बन्ध धार्मिक, सामाजिक आदि रुपबाट धेरै महत्वपूर्ण रहेको उहाँको भनाइ छ । नेपाल भारत मैत्री संघ केन्द्रीय समितिका सह अध्यक्ष बोधकृष्ण सुवेदीले दुई देशबीचका नागरि नागरिक बीचको सम्बनधलाई बलियो बनाउने कुरामा संघले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो । संविधानसभा सदस्य शारदा पौडेलले दुई देशबीचका नागरिकलाई सद्भाव र सत्प्रेमले सबैलाई जोड्नुपर्ने आवश्यकता औंल्याउनुभयो । नेपाल भारत मैत्री संघका केन्द्रीय उपाध्यक्ष हरिराम पौडेलले मित्रलाई चिढाउने भन्दा पनि कुटनीतिक सम्बन्धलाई बलियो बनाउँदै देखिएका समस्याको समाधान गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । नेपाल भारत मैत्री संघ कास्कीका अध्यक्ष सह प्रा.डा.बीरबहादुर कार्कीको सभापतित्व एवम् सचिव गिरिराज गौतमले सञ्चालन गर्नुुभएको कार्यक्रममा निवर्तमान केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेशका पूर्व अध्यक्ष ऋषि सापकोटा, केन्द्रीय सदस्य सागर खरेल, निवर्तमान अध्यक्ष जगनबहादुर गुरुङ लगायतले बोल्नुभएको थियो ।
काठमाडौं: कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने चीन भ्रमणका लागि प्रस्थान गरेकोपछि सिंहलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो । सिंह ओली नेतृत्वको सरकारमा दोस्रो वरियतामा हुनुहुन्छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिसमा सिंहलाई कार्यवाहक प्रधानमन्त्री तोक्नुभएको हो ।
काठमाडौं: हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको तराई र पहाडी भू–भागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ । सबै प्रदेशका पहाडी भू–भागका केही स्थानहरू र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज चीनको तियान्जिनतर्फ प्रस्थान गर्नुभएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा तथा मुख्यसचिव एकनारायण अर्यालले बिदाइ गर्नुभयो । प्रधानमन्त्रीको बिदाइका लागि नेपाल सरकारका उच्चपदस्थ अधिकृत, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधि विमानस्थल पुग्नुभएको थियो । त्यसअघि नेपाली सेनाको एक टुकडीले उहाँको सम्मानमा सम्मान गारत अर्पण गरेको थियो । प्रधानमन्त्री ओलीले सेप्टेम्बर ३ मा बेइजिङमा आयोजना हुने ८०औँ वार्षिकोत्सवका स्मृति कार्यक्रममा सहभागिता जनाउनुहुने भ्रमणको कार्यतालिकामा उल्लेख छ । प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियान्जिनमा भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँले सेप्टेम्बर १ मा तियान्जिनमा आयोजना हुने शिखर सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ । नेपाल सन् २०१६ देखि सो सङ्गठनको संवाद साझेदार रहँदै आएको छ । सन् २००१ मा स्थापना गरिएको एससिओ सङ्गठन विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय सङ्गठनमध्ये एकका रूपमा विकसित भइसकेको छ । चीन, रूस, भारत, पाकिस्तान, काजकिस्तान, कीर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस यसका पूर्ण सदस्य राष्ट्रहरू हुन् । अफगानिस्तान र मङ्गोलिया पर्यवेक्षक राष्ट्रहरू हुन् । नेपालसहित टर्की, श्रीलङ्का, अजरवैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स सङ्गठनका संवाद साझेदारहरू (डायलग पार्टनर) हुन् । सो अवसरमा प्रधानमन्त्री ओलीले शिखर सम्मेलनमा सहभागी केही विश्व नेताहरूसँग समेत भेटवार्ता गर्नुहुनेछ । त्यसैगरी, प्रधानमन्त्री ओलीले सेप्टेम्बर २ मा बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्नुहुनेछ । शिखर सम्मेलनका क्रममा विभिन्न मित्रराष्ट्रहरूका राष्ट्र तथा सरकार प्रमुखहरूसँग प्रधानमन्त्री ओलीले द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । ती भेटघाटमा नेपाल र ती मुलुकबीचका द्विपक्षीय एवं अन्य प्राथमिकताका विषयमा छलफल हुनेछ । हालसम्म रूसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जु, कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोन तथा समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता तय भएको प्रधानमन्त्री ओलीले हिजै सदनलाई जानकारी गराई सक्नुभएको छ । प्रधानमन्त्री ओलीसँग उहाँका धर्मपत्नी श्रीमती राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, नेकपा (एमाले) का सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय सरकारी अधिकारीहरू रहने मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश फर्कनुहुनेछ ।

