तनहुँ:  मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ ।  दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

काभ्रेपलाञ्चोक:   गत साताको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक बनाइ शनिबार बिहानदेखि सवारी सञ्चालनको तयारी गरिएको छ । हाल राजमार्गको काभ्रेपलाञ्चोकको सडकखण्डमा खोला फर्काएर ‘डाइभर्सन’ निर्माण भइरहेको छ । आज बिहानसम्मा राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ स्थित चौकीडाँडादेखि रोशी गाउँपालिकाको चिउरीबाससम्म ‘ट्रयाक’ खोली सकिएको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इान्जिनियर सुमान योगेशले बताउनुभयो । उहाँका अनुसार आज दिउँसोसम्म क्षतिग्रस्त राजमार्गको सम्पूर्ण खण्डमा ट्र्याक खोल्ने योजना छ । “ट्र्याक खोलिसकेपछि पुनः एकपटक सडकको अवस्था हेरेर केही गाडीद्वारा परीक्षण गर्नेछौँ, शनिबार बिहानदेखि पूर्णरुपमा राजमार्ग सञ्चालनमा ल्याइनेछ”, उहाँले भन्नुभयो । रोशी खोलाको बाढीले रोशी क्षेत्रमा करिब चार किलोमिटर सडक कटान गरेको थियो । मङ्गलबारदेखि औपचारिक रुपमा डाइभर्सन निर्माण थालिएको हो । योगेशले बिहीबार दिउँसोदेखि रातको समयमा करिब दुई दर्जन मेसिनद्वारा अस्थायी सडक निर्माण गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सबै ट्र्याक खोलिसकेपछि बनेको सडकका घुम्ती र साँघुरा स्थानमा थप मर्मत गर्नुपर्ने देखिन्छ, आज साँझसम्ममा सडक खोल्ने काम पूरा भइसक्छ ।” उहाँका अनुसार अहिले रोशी गाउँपालिकाको माम्ती क्षेत्रमा डाइभर्सन निर्माण भइरहेको छ । बाढीपहिरोले राजमार्गको १७ स्थानमा क्षति पु¥याएको थियो । सोही क्षेत्रमा गत वर्षको बाढीपहिरोले सडक क्षतिग्रस्त बनाएपछि डाइभर्सन बनाएर अस्थायी रुपमा सडक सञ्चालन हुँदै आएको थियो । बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले क्षतिग्रस्त उक्त राजमार्गको विभिन्न खण्डको अवलोकन गरी छिटोभन्दा छिटो राजमार्ग सञ्चालन गर्नेगरी बनाइरहेको ‘डाइभर्सन’ निर्माण कार्यलाई तीव्र बनाउन सडक विभागका अधिकारीलाई निर्देशन दिनुभएको थियो । घिसिङले रातको समयमा काम गरेर भए पनि आज बेलुकासम्ममा यातायात सञ्चालन हुनेगरी कामलाई तीव्रता दिन भन्नुभएको थियो । कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा अघि बढाइरहेको थियो । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रुपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छन् ।

काठमाडौं:   जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट यस वर्ष नेपालमा ३१ जनाको मृत्यु भएको छ। नेपालमा १० वर्षको तुलनामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट यस वर्ष मृत्यु हुनेको सङ्ख्या सबैभन्दा धेरै रहेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा।अभियान गौतमले जानकारी दिए।  जापानिज इन्सेफ्लाइटिसबाट सन् २०२४ मा २५, सन् २०२३ मा सात र सन् २०१७ मा एक जनाको मात्र निधन भएको थियो। सन् २०१८ देखि २०२२ सम्म जापानिज इन्सेफ्लाइटिसबाट कसैको पनि मृत्यु भएको थिएन। ‘विगत १० वर्षको तुलनामा अहिले मृत्यु हुनेको सङ्ख्या धेरै हो’, उनले भने, ‘मृत्यु हुनेमा खोप नलगाएका ४० वर्षभन्दा माथिका रहेका छन्।’ उनका अनुसार यस वर्ष जापानिज इन्सेफ्लाइटिस सङ्क्रमण १६४ र गत वर्ष ८६ जनामा देखिएको थियो। खोप शाखा प्रमुख डा गौतमले खोप लगाएकामा विस्तारै खोपले काम गर्न छाडेपछि पनि सङ्क्रमणले गर्दा मृत्यु भइरहेको बताए। जापानिज इन्सेफ्लाइटिस अहिले ४२ जिल्लाका ११० पालिकामा फैलिएको छ। ‘विगतको तथ्यांक हेर्दा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दै गइरहेको छ’, उनले भने,’लामखुट्टे सक्रिय भएर हो कि, सुँगुर वा हाँसको पालनले गर्दा हो त्यसको अध्ययन हामीले गरिरहेका छौँ।’  उनका अनुसार यस वर्ष कोशी प्रदेशमा चार, मधेस प्रदेशमा तीन, बागमती प्रदेशमा पाँच, गण्डकी प्रदेशमा पाँच, लुम्बिनी प्रदेशमा ११, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा दुई गरी ३१ जनाको मृत्यु भएको छ।  इन्सेफ्लाइटिसबाट २८ जिल्ला उच्च जोखिमका रहेका छन्। यो रोग विशेषगरी साउनदेखि कात्तिकसम्म बढी देखिन्छ। नेपालमा ८२ प्रतिशत बालबालिकालाई जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप लगाइएको छ।  नेपालमा सन् १९९८ देखि वर्ष मुनिका बालबालिकालाई नियमित जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप लगाइँदै आइएको छ। नेपालमा सन् १९७८ मा पहिलो पटक रूपन्देहीमा जापानिज इन्सेफ्लाइटिस रोग देखिएको हो । जापानमा भने सन् १८६१ मा देखिएको थियो।  खोपशाखा प्रमुख डा गौतमले जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण सन् १९९० देखि धेरै नै देखिने थालेको बताए। त्यसपछि सरकारले राष्ट्रिय खोपमा इन्सेफ्लाइटिसविरुद्धको खोप पाँच वर्ष मुनिका बालबालिकालाई प्रत्येक वर्ष नियमित दिँदै आएको हो।

काठमाडौं:  भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको नेतृत्वमा उक्त मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीसहितको टोलीले हालैको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गका विभिन्न खण्डको आज अनुगमन गरेको छ । बाढीले क्षतिग्रस्त उक्त राजमार्गको करिब चार किलोमिटर खण्डमा अस्थायी ‘डाइभर्सन’ बनाएर सडक सञ्चालनको तयारीका क्रममा मन्त्री घिसिङ नेतृत्वको टोली अनुगमनमा निस्केको हो ।  मन्त्री घिसिङले कार्यक्षेत्रमा खटिका सडक विभागका इञ्जिनियर र निर्माण व्यवसायीलाई सङ्घीय राजधानी काठमाडौँसँग वाग्मती, मधेस र कोशी प्रदेशका जिल्लाहरुलाई जोड्ने ‘लाइफ लाइन’ का रुपमा रहेको यो सडकलाई जतिसक्दो चाँडो सञ्चालन हुनेगरी काम गर्न आग्रह गर्नुभएको छ । गत वर्षको बाढीले उक्त राजमार्गको भकुण्डे(नेपालथोक खण्डमा क्षति भएको थियो । उक्त खण्डमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालन गरिएकामा हालैको बाढीले करिब चार किलोमिटर पुनः बगाएको छ । गत वर्षको बाढीबाट क्षतिग्रस्त सडक स्थायी रुपमा निर्माण गर्न केही खण्डको ठेक्का लागिसकेको छभने कही खण्डको ठेक्का प्रक्रिया अन्तिम चरणमा रहेको मन्त्री घिसिङको निजी सचिवालयले जनाएको छ 

तनहुँ: तनहुँका स्थानीय तहले एक वर्षमा १५ किलोमिटर सडक कालोपत्र गरेका छन् । गत आर्थिक वर्षमा जिल्लाका छ गाउँपालिकाले १५ दशमलव ६२ किलोमिटर सडक कालोपत्र गरेका हुन् । त्यस्तै ती पालिकाले ३८ दशमलव ५५ किलोमिटर सडकको नयाँ ट्रयाक खोलेका छन् । म्याग्दे गाउँपालिकाले एक वर्षको अवधिमा एक दशमलव पाँच किलोमिटर सडक कालोपत्र गरेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।  त्यस्तै दुई दशमलव ५५ किलोमिटर सडकको नयाँ ट्रयाक खोलिएको छ भने तीन दशमलव एक किलोमिटर ग्राभेल गरिएको छ । सोही अवधिमा चार पक्की पुल निर्माण गरिएको अधिकारीले बताउनुभयो । व्यास नगरपालिकामा नौ किलोमिटर सडकको ट्रयाक खोलिएको छ । प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार पाँच दशमलव दुई किलोमिटर ग्राभेल, तीन दशमलव ९४ किलोमिटर कालोपत्र गरिएको छ एउटा पक्की पुल निर्माण गरिएको छ । ऋषिङ गाउँपालिकामा पाँच किलोमिटर सडकको ट्रयाक खोल्ने काम गरिएको प्रमुख प्रशासकीय अधिकृत अनिल अम्गाईले जानकारी दिए । उनका अनुसार १२ किलोमिटर सडक ग्राभेल गरिएको छ भने एक किलोमिटर कालोपत्र गरिएको छ । त्यस्तै एउटा पक्की पुल निर्माण भएको उनले बताए । बन्दीपुर गाउँपालिकामा १८ किलोमिटर सडकको ट्रयाक खोलिएको प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर केसीले जानकारी दिए । तेह्र किलोमिटर सडक ‘ग्राभेल’ गरिएको बन्दीपुरमा चार किलोमिटर सडक कालोपत्र गरिएको उनले बताए । घिरिङ गाउँपालिकामा एक दशमलव दुई किलोमिटर सडकको ट्रयाक खोलिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार दुई दशमलव पाँच किलोमिटर सडकको ग्राभेल गरिएको छ भने एक किलोमिटर सडक कालापत्रे गरिएको छ । आँबुखैरेनी गाउँपालिकामा चार दशमलव ६३ किलोमिटर सडक कालोपत्र गरिएको छ भने दुई दशमलव आठ किलोमिटर ट्रयाक खोलिएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त तिमिल्सिनाले जानकारी दिए ।

काठमाडौं:  जल तथा मौसम विज्ञान विभागले बिहीबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पश्चिमी भागका धेरै र गण्डकी प्रदेशका पश्चिमी भेगका केही स्थानमा पश्चिमी वायुको प्रभाव रहेको तथा बाँकी भूभागमा मनसुनी एवम् स्थानीय वायुको प्रभाव कमजोर रहेको जनाएको छ । आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । देशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । विभागका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । साथै यी प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । 

नेपाल प्रहरीका १८ जना प्रहरी कर्मचारी असारयता आफूखुशी गैरहाजिर रहेका छन्।   प्रहरी प्रधान कार्यालयले मंगलबार सूचना जारी गर्दै आफूखुशी गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।   आफूखुशी गैरहाजिर हुने प्रहरी कर्मचारीहरूमा २ जना प्रहरी सहायक हवलदार, १५ जना प्रहरी जवान र एक जना प्रहरी कार्यालय सहयोगी रहेका छन्।   मधेस प्रदेश प्रहरी गण जनकपुरधाममा कार्यरत प्रहरी सहायक हवलदार निजामुद्दिन पठान साउन १ गतेदेखि गैरहाजिर छन्।   अर्का सहायक हवलदार देवराम लावड साउन ११ गतेदेखि गैरहाजिर छन्। उनी इलाका प्रहरी कार्यालय चिसापानी कैलालीमा कार्यरत थिए।   इलाका प्रहरी कार्यालय यदुकुवा, धनुषामा कार्यरत प्रहरी जवान रोहल्ला राय भाट असार २ गतेदेखि सम्पर्कविहीन छन्।   अरू प्रहरी जवानहरू साउनको विभिन्न मितियता गैरहाजिर छन्।   प्रहरी प्रधान कार्यालयले उनीहरुको खोजतलास गर्दा र प्रक्रियाअनुसार सूचना टाँस गराउँदा पनि सम्पर्कमा नआएको जनाएको छ।   उनीहरूलाई गैरहाजिर हुनुको कारण खुल्नेगरी स्पष्टिकरण जबाफसहित बाटोको म्यादबाहेक सात दिन भित्र सम्पर्कमा आउन निर्देशन दिइएको छ।   अन्यथा प्रहरी नियमावालीअनुसार सेवाबाट हटाउने चेतावनी कार्यालयले दिएको छ।

काठमाडौँ:    निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ ।    स्वीकृत कार्यतालिकाअनुसार आगामी मङ्सिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम तय गरिएको आयोगले जनाएको छ ।   आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा आज जारी प्रेस विज्ञप्तिमा पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि आगामी माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने जनाइएको छ ।   यस्तै, फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार हुने र तत्पश्चात् प्रचारप्रसार निषेधको अवधि रहने छ ।   फागुन २१ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुने र दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका सङ्कलन भएपछि मतगणना प्रारम्भ गरिने छ ।   समानुपातिक निर्वाचन प्रणालीका लागि मङ्सिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने, पुस १८ र १९ गते बन्दसूची पेस गर्ने कार्यक्रम रहेको रहेको आयोगका विज्ञप्तिमा उल्लेख छ ।    निर्वाचनमा राजनीतिक दल एवं सरोकार भएकाहरूसँगको समन्वय र सहकार्यका लागि स्वीकृत निर्वाचन कार्यतालिकाअनुसार आयोगले समय समयमा परामर्श तथा छलफल गर्ने जनाइएको छ ।    आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले मात्र निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न पाउने कानूनी व्यवस्था रहेको हुँदा निर्वाचनमा भाग लिन चाहने सरोकारवालाले आगामी कात्तिक ३० गतेभित्र राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नु पर्ने आयोगले जनाएको छ । रासस 

काठमाडौँ:  नेपाल प्रहरीका दुईजना एआईजीको विभाग हेरफेर भएको छ ।   अपराध अनुसन्धान विभागमा कार्यरत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारीलाई मानवश्रोत विकास विभागमा सरुवा गरिएको छ ।   कार्य विभागका प्रमुखको रूपमा कार्यरत अर्का एआईजी सिद्धी विक्रम शाहलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको हाे ।     जेनजी प्रदर्शन नियन्त्रण बाहिर जानसक्ने आकलन गरेर मानवश्रोत विकास विभागका तत्कालीन एआईजी दान बहादुर कार्कीलाई उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको थियो ।   भदौ २४ मा कार्की रानपोखरीस्थित उपत्यका प्रहरी कार्यालयमा हाजिर भएका थिए ।