काठमाडौंः   नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ ।  पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज भक्तपुरस्थित नेपाल–कोरियामैत्री ...

बारा:    दुई साताअघि यहाँको कलैया उपमहानरपालिका–१ बैंक रोडस्थित नवजन्म पुनःस्थापना (सुधार) केन्द्रमा भर्ना गरिएका प्रदीपप्रसाद मण्डललाई निर्घात कुटपिट गरी हत्या गरी फरार अभियुक्तहरुलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ ।       कलैयास्थित बारा उद्योग वाणिज्य सङ्घको सभाहलमा परिवारजनद्वारा आइतबार गरिएको पत्रकार सम्मेलनमा कुटपिट गरी भाईको हत्या अभियुक्तमध्येका फरार दुई जनालाई चाँडोभन्दा चाँडो पक्राउ गर्न मृतकका दाजु श्यामप्रसाद धानुकले माग गर्नुभयो ।  “दोषी नउम्कियोस र निर्दोष नफसोस् भन्ने हाम्रो माग छ । माघ १७ गते नवजन्म पुनःस्थापना (सुधार) केन्द्रमा भाइलाई राखेका थियौँ”,  श्यामप्रसाद धानुकले भन्नुभयो ।        घटनासँग जोेडिएका दुई फरार अभियुक्तलाई पक्राउ गर्न नदिन राजनीतिक चलखेल भइरहेको बताउँदै धानुकले भाइको हत्यामा संलग्न आरोपितलाई चाँडोभन्दा चाँडो पक्राउ गर्न माग गर्नुभयो । पुनःस्थापना केन्द्रका सञ्चालक कलैया–३ का साहेबबाबु मन्सुरसहित दुई जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।       अनुशासन भङ्ग गरेको आरोपमा शारीरिक सजाय स्वीकार नगर्दा केन्द्रका परामर्शदातासहितले सामूहिक कुटपिट गर्दा कलैया उपमहानगरपालिका–९ का ३२ वर्षीय प्रदीप मण्डलको यही फागुन १ गते राति मृत्यु भएको प्रहरीले जनाएको छ ।      “मुक्काले अनुहारमा कुटपिट गरिएको सङ्कलित प्रमाणले प्रष्ट भएको छ”, बाराका प्रहरी प्रमुख सन्तोष तामाङले भन्नुभयो, “मध्यरातमा कोठाभित्र कुटपिट गरिएको रहेछ । मुर्गा बनाउन खोजिएको रहेछ, मुर्गा बन्न नमानेपछि कुटपिट गरिएको देखिन्छ ।”  मण्डललाई दुई साताअघि परिवारले पुनःस्थापना केन्द्रमा राखेका थिए । पक्राउ परेका सात जनामाथि कर्तव्य ज्यान कसुरअन्तर्गत अदालतबाट सात दिनको म्याद थपको अनुमति लिइ हिरासतमा राखी थप अनुसन्धान भइरहेको बाराका प्रहरी प्रमुख तामाङले बताउनुभयो ।       कुटपिट गरिरहेको सिसीटिभीको फुटेज प्रहरीले सुरक्षित राखेको छ । भिडियो फुटेजमा शारीरिक यातना दिन खोजिएको र मृतक ओछ्यानको झुलमा लुक्न खोज्दा तानेर कुटपिट गरिएको दृश्य देखिएको छ ।       पक्राउपर्नेमा कलैया उपमहानगरपालिका–१ का २४ वर्षीय अरूण सर्राफ, १९ वर्षीय सागर गुप्ता, वडा नं २ का २१ वर्षीय परमेश्वर साह, कलैया–३ का १९ वर्षीय सरफराज मन्सुरी, वडा नं ४ का २२ वर्षीय निरज सर्राफ र वडा नं ६ का २० वर्षीय महम्मद आँसु मियाँ वडा नं ३ का २९ वर्षीय तमन्ना मन्सुरल छन् । पुनःस्थापना केन्द्रमा सञ्चालककोतर्फबाट रेखदेख गर्ने र परामर्शदाताबाहेक मण्डलसहित १४ जना बस्दै आएका थिए ।        यसैबीच मृतकका परिवारजन र आफन्तले फरार अभियुक्तलाई चाँडोभन्दा चाँडो पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गर्दै कलैयामा प्रदर्शन गरेका थिए । मृतकलाई महिनाको रु १० हजार दिने सर्तमा सो सुधार केन्द्रमा पठाइएको थियो । मृतकको दुई छोरी र एक छोरा छन् ।

खोटाङ:  खोटाङको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टापछि निभाइएको छ ।  हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदम राईको भान्छा कोठाको ग्यास सिलिन्डरबाट साँझ ६ बजेतिर सुरु भएको आगो स्थानीयवासी र सुरक्षा निकायको संयुक्त प्रयासमा  राति करिब ११ः०० बजे निभाइएको हो ।   आगलागीबाट स्थानीय पदम राईको घर तथा घरमा सञ्चालित हार्डवेयर पसल, निर्धन उत्थान लघुवित्तको कार्यालय, आइराज राई र प्रकाशचन्द्र गिरीको घरमा क्षति पुगेको छ । आगलागीका घटनामा मानवीय क्षति नभए पनि ठूलो मात्रामा धनमाल जलेर नष्ट भएको स्थानीयवासीले बताएका छन् ।   सुक्खाग्रस्त क्षेत्र हलेसीमा भएको आगो निभाउन पानी अभाव भएकाले समस्या भएको इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक हेमन्त राईले जानकारी दिनुभयो ।  “आगलागीबाट दुईवटा घर पूर्ण तथा एउटामा आंशिक क्षति भएको छ । आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ”, उहाँले भन्नुभयो, “आगलागीबाट तीनवटा घर, एउटा लघुवित्तको कार्यालय, हार्डवेयर तथा ग्यास पसलमा क्षति भएको छ । सबैमा भएको क्षतिको विवरण हेर्दा करिब रु एक करोड बढीको क्षति भएको अनुमान गरिएको छ ।”       आगो निभाउन जिल्लाबाट तीनवटै सुरक्षा निकायका टोली हलेसी पुगेको थियो । पदम राईको घरमा बेलुकाको खाना पकाउने क्रममा ग्यास सिलिण्डर लिक भएर  सुरु भएको आगो दमकल अभावमा तत्कालै निभाउन नसक्दा ठूलो क्षति भएको स्थानीय सयन्द्र राईले जानकारी दिनुभयो । 

काठमाडौं: गृहमन्त्री रमेश लेखकले जातीय विभेद र छुवाछूतका विषय हेर्न विशेष प्रहरी डेस्क बनाउने बताउनुभएको छ ।  संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले जातीय विभेदलगायत विषयमा बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उहाँले प्रहरी प्रधान कार्यालय र ७७ जिल्लामै यस्तो डेस्क बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।        आज गृह मन्त्रालय पुगेर समितिका संयोजक लोकबहादुर विश्वकर्मासहितको टोलीले गृहमन्त्री लेखकलाई ज्ञापनपत्र बुझाएको थियो गृहमन्त्री लेखकले जातीय विभेद निर्मुल हुनुपर्छ भनेर सरकार पनि लागिपरेको बताउनुभयो ।  “संविधान निर्माणका क्रममा सबै समुदायका मौलिक हकलाई सुनिश्चित हुनेगरी राख्नुपर्छ भन्ने मान्छे हुँ । त्यहीअनुसार सबै राजनीतिक दलबीच सहमति भएको हो । जातीय विभेदलाई निर्मुल हुनुपर्छ भनेर म सधैँ लागिपरेको छु”, लेखकले भन्नुभयो ।      उहाँले निर्वाचनसम्बन्धी ऐनमा महिला र दलितको विषय ज्यादा महत्वका साथ आफूले उठाएको पनि उल्लेख गर्नुभयो । 

पोखरा:  नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेशको अध्यक्ष दिलिप राना मगर सर्वसम्मत चयन भएका छन् ।  तनहुँको दमौलीमा शनिबार सम्पन्न भएको नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेश समितिको तेस्रो अधिवेशनले राना मगरको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।  समितिको वरिष्ठ उपाध्यक्षमा प्रेम बुढा मगर, महिला उपाध्यक्षमा अस्मिता थापा मगर, बाह्र भाषिक उपाध्यक्षमा अर्जुन सोती मगर, अठार मगरात भाषिक उपाध्यक्षमा मोहन बुढा मगर, सचिवमा बिजय थापा मगर, सहसचिवमा समिक्षा थापा मगर र कोषाध्यक्षमा कृष्ण अठारे मगर सर्वसम्मत चयन भए ।  यस्तै सदस्यहरुमा गीता बुढाथोकी मगर, बल बहादुर रोका मगर, चन्द्र बहादुर रोका मगर र साजन गर्जा मगर चयन भए । बाँकी सदस्यीय समितिको पहिलो बैठकले मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष दिलिप राना मगरले बताए ।   

काठमाडौं:  परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग कतारका विदेशराज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुराइखीले आज ओमनको राजधानी मस्कटमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।       आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहनुभएका उहाँहरुबीच आज साइडलाइन भेट भएको हो ।  सो भेटका क्रममा उहाँहरुबीच नेपाल कतारबीचको सम्बन्ध, द्विपक्षीय हित र पारस्पारिक लाभका विविध विषयका साथै कतारमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति तथा दक्ष प्राविधिक जनशक्तिलगायतका विषयमा कुराकानी भएको थियो ।       त्यसअवसरमा मन्त्री डा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि सहयोग गरिदिन मन्त्री मुराइखीसँग आग्रह गर्नुभएको थियो ।  मन्त्री डा देउवाले इजरायल सरकार र हमासका बीचमा मध्यस्थता गरी युद्धविराम र शान्ति वार्ताका लागि कतार सरकारले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै हमासको नियन्त्रणमा रहेका विपिनको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गर्नुभएको थियो ।       केही समय अघि पनि मन्त्री डा देउवाले कतारका विदेश राज्यमन्त्री डा मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनवार्ता गरी सोही आग्रह गर्नुभएको थियो । खुलाइफी इजरायल सरकार र हमासबीचको शान्तिवार्ताका प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता हुनुहुन्छ ।       विपिनको रिहाइका लागि नेपाल सरकारले गत वर्षदेखि नै कूटनीतिक प्रयास जारी राखेको छ । मन्त्री डा देउवाले संयुक्त राष्ट्रसङ्घ, अन्तरराष्ट्रिय एवं क्षेत्रीय मञ्चहरु र बैठकमार्फत विपिनको रिहाइका लागि आग्रह गर्दै आउनुभएको छ । सन् २०२३ को अक्टोबरमा इजरायली भूमिमा आक्रमण गरी हमास समूहले विपिनलाई अपहरण गरी लगेका थिए ।

काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास र स्थायित्वका लागि दुई ठूला राजनीतिक दलको सरकार गठन भएको बताउनुभएको छ । साथै उहाँले वर्तमान सत्ता साझेदार दलबीच कुनै शङ्का–उपशङ्का गर्न जरुरी नभएको बताउनुभयो ।       प्रतिनिभिसभाको आजको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले विकास, समृद्धि र स्थायित्वका लागि नै नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका रहेका दुई ठूला राजनीतिक दलसहित अन्य दलहरू मिलेर वर्तमान सरकारको गठन गरिएको बताउनुभयो । गठबन्धनमा रहेका दलहरूबीच मुलुकको विकास र समृद्धिलाई निरन्तरता दिई राजनैतिक स्थिरता कायम गर्दै अगाडि बढ्ने विषयमा उच्च विश्वास र समझदारी रहेको उहाँको भनाइ थियो ।       प्रधानमन्त्रीले सरकारले केही समय अघि जारी गरेका अध्यादेशमार्फत नीतिगत र कानुनी सुधारले व्यावसायिक वातावरणमा सुधार आउने तथा लगानी अभिवृद्धि भई आर्थिक गतिविधि बढ्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले विगतमा दल विभाजनका लागि २० प्रतिशतको आधारसहित अध्यादेश ल्याउने पक्षहरुले अहिले नीतिगत र कानुनी सुधारको लक्ष्यले जारी गरिएको अध्यादेशको विरोध गर्न नसुहाउने स्पष्ट गर्नुभयो ।      नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद वर्षमान पुनको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले सरकारले विनियोजित बजेटलाई प्राथमिकतामा आधारित र परिणाममुखी बनाउन तथा आर्थिक सुधारका कार्यक्रमहरू सञ्चालन गरी अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्न, विकास निर्माणका गतिविधिलाई तीव्रता दिन, सेवा प्रवाहमा सुधार तथा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।      चालु खर्चमा मितव्ययिता कायम गर्दै पुँजीगत खर्च वृद्धि तथा आयोजना कार्यान्वयनमा सुधार गर्न बजेट तर्जुमा गर्दा एवं आयोजना छनोट तथा प्राथमिकीकरण गर्दा आयोजना बैङ्कमा प्रविष्ट भएको, क्षेत्रगत प्राथमिकतामा परेको, लगानीको स्रोत सुनिश्चितता भएको, छोटो समयमा प्रतिफल दिने, आयोजना वर्गीकरण मापदण्डबमोजिम आयोजनाको सम्पूर्ण पूर्वतयारीका काम सम्पन्न भएका आयोजना मात्र छनोट गर्ने व्यवस्था मिलाइएको जानकारी प्रधानमन्त्री ओलीले दिनुभयो ।      प्रधानमन्त्री ओलीले आयोजना कार्यान्वयनमा शीघ्रता ल्याउन, ठेक्का व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न, सार्वजनिक खरिद कानुनमा सामयिक संशोधन गर्न र अन्तर तह तथा अन्तर निकाय समन्वय कायम गर्न संयन्त्रहरूलाई क्रियाशील बनाइने बताउनुभयो ।

बाजुरा:  साँफे–मार्तडी राजमार्ग खण्डमा पर्ने अम्कोटमा आज बिहान बसको ठक्करबाट घाइते भएकी महिलाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।       बूढीगङ्गा नगरपालिका–१ अम्कोट घर भएकी ५० वर्षीया विस्ना पाध्यायको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३६८८ नम्बरको बसले सडक नजिकै रहेको पसलमा घाम तापेर बसेको बेला पछाडिबाट ठक्कर दिएको थियो ।      घाइते पाध्यायको जिल्ला अस्पताल बाजुरामा उपचार भए पनि गम्भीर चोट लागेकाले थप उपचारका नेपाली सेनाको हेलिकप्टरमार्फत प्रादेशिक अस्पताल सुर्खेत लगिएको जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी सन्तोष रायले जानकारी दिनुभयो ।        उहाँका अनुसार घाइते महिला गर्भवती भएकाले पाठेघरमा रगत जमेको हुनसक्ने आशङ्कामा प्रादेशिक अस्पताल पठाइएको हो । “बसको ठक्करबाट आज बिहान आमा छोरा घाइते भएका थिए । उहाँका आठ वर्षीय छोरा नयन पाध्यायको उपचारका क्रममा मृत्यु भइसकेको छ”, उहाँले भन्नुभयो ।      बस चालक ४० वर्षीय उपेन्द्र मडैसहित बसलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

काठमाडौं:  कमलपोखरीस्थित एक खाजाघरमा गत माघ २३ गते आगलागी हुँदा  घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।      आगलागीमा परी घाइते भइ कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारत काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका धुनखर्क घर भइ हाल काठमाडौँ कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामाको मृत्यु भएको जिल्ला परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक अपिलराज बोहोराले राससलाई जानकारी दिनुभयो ।       उहाँले भन्नुभयो, “आगलागीमा परी घाइते भएका लामाको गएराति मृत्यु भएको छ । हाल सात जनाको उपचार भइरहेको छ ।” यसअघि उदयपुरको उदयपुरगढी–७ घर भइ हाल काठमाडौँ बस्ने २२ वर्षीय प्रदीप तामाङ, मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरका १८ वर्षीय रबिन राई र उदयपुरको कटारी नगरपालिका–८ गालटारका २५ वर्षीय भीमबहादुर घले मगरको उपचारका क्रममा मृत्यु भइसकेको छ । 

काठमाडौं:   कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थलको रोकिएको निर्माण कार्य तत्काल अघि बढाउने सहमति भएको छ ।      गृहमन्त्री रमेश लेखकको पहलमा आज गृहमन्त्रालयमा भएको सम्वद्ध निकायका मन्त्री, सचिव, नेपाली सेनाका प्रधानसेनापतिसहितको उच्च स्तरीय बैठकबाट मझगाउँ विमानस्थलको निर्माण कार्य अघि बढाउने सहमति भएको हो ।  बैठकमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको नाममा रहेको ६ बिघा जग्गा विमानस्थल निर्माणका लागि उपयोग गर्न दिने, सेनाको फुटबल मैदान र सो स्थानमा रहेका सैनिक आवासीय भवन निकुञ्ज क्षेत्रमै बनाउने विषयमा सहमति भएपछि लामो समयदेखि रोकिएको विमानस्थल निर्माणको काम अघि बढाउने विषयमा सहमति जुटेको हो ।       गृहमन्त्री लेखकले लामो समयदेखि विमानस्थल निर्माणको विषय थाँती रहेकाले त्यसलाई सुल्झाउन आग्रह गर्नुभयो ।  सो अवसरमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, रक्षामन्त्री मानवीर राई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, नेपाली सेनाका प्रधानसेनापति  अशोकराज सिग्देल, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलगायत मन्त्रालयका सचिवहरुले आ–आफ्नो धारणा राख्नुभएको थियो ।      विसं २०७८ माघमा विमानस्थल पुर्ननिर्माणका लागि ठेक्का भएको थियो । हाल विमानस्थलको एक हजार तीन सय मिटर रन्वे कालोपत्र गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।  विस्तारका क्रममा विमानस्थलको दक्षिणतर्फ सेनाको ६ बिघा जग्गा विमानस्थलले लिने विषयमा यसअघि सहमति हुन नसक्दा निर्माण कार्य प्रभावित हुँदैआएको थियो ।       आजको बैठकमा सहभागी सबै निकाय सम्मिलित टोली महेन्द्रनगर पठाउने तथा रन्वे निर्माणको काम तत्काल सुरु गर्ने सहमती भएको गृहमन्त्री लेखकले जानकारी दिनुभयो ।  “यसअघि पनि वेग्लावेग्लै चरणमा सहमति र निकासका लागि छलफल भएको थियो”, उहाँले भन्नुभयो– “आजको सहमतिले विमानस्थल निर्माणको काम अघि बढ्ने निश्चित भएको छ ।”      विमानस्थल निर्माणका क्रममा वन क्षेत्रमा पर्ने जग्गाको वातावरणीय प्रभाव मूल्याङ्कन पनि गर्दै जाने विषयमा सहमती भएको छ । “विमानस्थलका लागि आवश्यक सेनाको जग्गा ९फुटबल मैदान र आवास भएको स्थान० मा सेनाले सहमति जनाएकाले तत्काल काम अघि बढ्ने भएको छ”, गृहमन्त्री लेखकले भन्नुभयो ।       बैठकमा प्रधानसेनापति सिग्देलले सेनाको जग्गा विमानस्थल निर्माणमा पर्दा कुनै असहमति नरहेको, सो क्रममा मिचिने फुटबल मैदान निकुञ्ज क्षेत्रकै खाली जमिनमा बनाउन पाउनुपर्ने तथा आवास निर्माणमा जोड दिनुभएको थियो । सेनाको मागका विषयमा सम्वद्ध मन्त्रालयका मन्त्री र पदाधिकारी सैनिक संरचना र फुटबल मैदानका विषयमा सकरात्मक रहेका  बताएका थिए ।       मझगाउँ विमानस्थल निर्माणबारे गृहमन्त्री लेखकले लामो समयदेखि सहजीकरण गर्दैआउनुभएको थियो । भीमदत्त नगरपालिकाको १५, दोधारा–चाँदनी नगरपालिकाको १०, सुदूरपश्चिम प्रदेश सरकारको २५ र नागरिक उड्डयन प्राधिकरणको ५० प्रतिशत लगानीमा उक्त विमानस्थल तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण कार्य अघि बढाइएको हो ।