पोखरा:   थारू आयोग, नेपालले गण्डकी प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगकी सदस्य शान्ति मोदीले बिहीबार एक कार्यक्रमबीच प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो । ...

काठमाडौं:     मुगु जिल्लाको दार्मा आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको दार्मा आसपास केन्द्रविन्दू भएर आज बिहान ४ बजेर ४० मिनेटमा तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत असार २६ गते नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङको तापेथोक केन्द्रविन्दू भएर भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ ।

काठमाडौं:    महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले राजीनामा दिनुभएको छ । मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता डा। दीनमणि पोखरेलले महान्यायाधिवक्ताको पदबाट दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले राष्ट्रपति पौडेलसमक्ष प्रधानमन्त्रीमार्फत महान्यायाधिवक्ता डा। पोखरेलले महान्यायाधिवक्ताको पदबाट दिनुभएको राजीनामा स्वीकृत भएको जानकारी दिनुभयो । महान्यायाधिवक्ता डा. पोखरेलले प्रधानमन्त्रीमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नियुक्त हुनुभएपछि पदबाट राजीनामा दिनुभएको हो । महान्यायाधिवक्ता प्रधानमन्त्रीको कानुनी सल्लाहकार पद हो । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त भएपछि उहाँले  पोखरेललाई महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको थियो ।  

काठमाडौं:    राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनका बैठकबाट पारित तीन विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपतिले आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुल विधेयक, २०८१ आज प्रमाणीकरण गर्नुभएको हो । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम ती विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सङ्खुवासभा:     सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।  पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेहवाहाङले  जानकारी दिए । पहिरोसँगै खसेको विशाल ढुङ्गाले किचेर ५५ वर्षीया मोतिमाया र उनकी बुहारी समीक्षाको मृत्यु भएको गाउँपालिका अध्यक्ष मेवाहाङले बताए । ढुङ्गाले किचेर २९ वर्षीया रविना राई गम्भीर घाइते भएकी छिन् ।  उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ लैजाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए । 

काठमाडौं:     उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्री सिंहको कार्यकक्षमा भएको उक्त भेटमा उहाँहरुबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको थियो ।   उक्त मन्त्रालयका अनुसार राजदूत श्रीवास्तवले मन्त्री सिंहलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पारस्परिक सहयोग अभिवृद्धिका निम्ति भारत सरकार तयार रहेको बताउनुभयो ।   मन्त्री सिंह र राजदूत श्रीवास्तवबीच सहरी विकास, नदी प्रदूषण नियन्त्रण र फोहरमैला व्यवस्थापनमा भारतले गर्न सक्ने सहयोग बारेमा पनि छलफल भएको उक्त मन्त्रालयका सचिव मणिराम गेलालले राससलाई बताउनुभयो ।  भारत सरकारको सहयोगमा नेपालमा निर्माणाधीन आयोजनाको समीक्षा भएको थियो । दुई देशका सीमा क्षेत्रमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकीका बारेमा छलफल भएको सचिव गेलालले जानकारी दिनुभयो । 

काठमाडौं:    नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा नेपालको परराष्ट्रमन्त्रीमा नियुक्त हुनुभएकामा भारतका बाह्य मामिलामन्त्री डा।सुव्रमन्यम जयशङ्करले हार्दिक बधाई ज्ञापन गर्नुहुँदै उहाँको कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ । परराष्ट्र मन्त्रालयका अनुसार ‘भारतका बाह्य मामिलामन्त्रीले बहुआयामिक साझेदारीयुक्त नेपाल–भारत सम्बन्धलाई अझ सुमुधर तुल्याउनका खातिर मन्त्री राणासँग सहकार्य गर्न प्रतीक्षारत छु’ भन्नुभएको छ । यसैगरी, पाकिस्तानका विदेशमन्त्री इशाक दारले पनि आफ्ना नेपाली समकक्षी डा. राणालाई मङ्गलबार एक शुभकामना सन्देश पठाउँदै आपसी हित र चासोका मामिलामा निकट सम्पर्कमा रहेर उहाँसँग काम गर्न आफू तयार रहेको बताउनुभएको यहाँस्थित पाकिस्तानी राजदूतावासले जनाएको छ । 

चितवन:    गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये १५ जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये ८ जनाको परिचय खुलेको  सशस्त्र प्रहरीले जानकारी दिएको छ ।  अन्य शव र बसको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।  खोजी कार्यमा सबै सुरक्षा संयन्त्र र प्रविधिको प्रयोग गरिए पनि दुई बस अझै फेला पर्न सकेका छैनन् ।  काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगन्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा शनिबार बिहान दुवै बस त्रिशूलीमा बगेका थिए ।  गौरतर्फ गइरहेको बसमा ३८ जना र काठामाडौँतर्फ गइरहेको बसमा सवार २७ जना बेपत्ता भएका थिए ।        

काठमाडौंः     प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुशासन कायम गराउनुका साथै शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रलाई प्राथमिकतामा राख्ने बताउनुभएको छ । नवनियुक्त प्रधानमन्त्री ओलालाई बधाई तथा शुभकामना दिन नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौँ जिल्ला कमिटिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सबै पक्षको साथ लिएर मुलुकको सुशासन र विकासलाई प्राथमिकता दिन सरकार कटिवद्ध रहेको बताउनुभयो । उहाँले दुवै छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्ध सुमधुर बनाउन पनि लाग्ने उल्लेख गर्नुभयो । त्यसअवसरमा जिल्ला कमिटिका अध्यक्ष दीपक निरौलाले प्रधानमन्त्री ओलीलाई कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।

झापा:     झापाको कनकाई नगरपालिका–२ स्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।  मृत्यु हुनेमा कमल गाउँपालिका वडा नम्बर ५ का ४१ वर्षीय लक्ष्मीप्रसाद सुब्बा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।  सोमबार बेलुका कनकाई–२ पवित्रा पेट्रोलपम्प नजिक पूर्वपश्चिम राजमार्गमा विराटनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३४२३ नम्बरको बसले बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको को १९प ६२८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। कण्डक्टरले बस चलाउँदा दुर्घटना भएको बसका चालक र सहचालकले प्रहरी समक्ष बयान दिएका छन् । उक्त दुर्घटनामा सुब्बाको दाहिने खुट्टा भाचिएको थियो भने टाउको र छातीमा चोट गम्भीर चोट लागेको थियो। घाइते उनको उपचारका क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा राति ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।  प्रहरीले बस चालक इलाम माई नगरपालिका वडा नम्बर ८ का २२ वर्षीय सागर थुलुङ राई र सहचालक विराटनगर महानगरपालिका वडा नम्बर २ का १९ वर्षीय दिपेश दर्जीलाई नियन्त्रणमा लिएको छ। बेलबारीबाट उक्त बस शिवसताक्षी नगरपालिका–६ का २७ वर्षीय बसका कण्डक्टर पुण्य सिटौलाले चलाई ल्याउने क्रममा दुर्घटना भएको जनाइएको छ।