पोखरा:   थारू आयोग, नेपालले गण्डकी प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगकी सदस्य शान्ति मोदीले बिहीबार एक कार्यक्रमबीच प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो । ...

तनहुँ:     तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए राति भीषण आगलागी भएको छ । व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा रहेका सटरमा गए राति १२ः४५ बजेदेखि आगलागी सुरु भएको थियो । आगलागीका कारण यहाँका करिब २० वटा सटर पूर्णरुपमा जलेका छन् । आगलागीबाट लाखौँको क्षति भएको अनुमान गरिएको छ । तीन घण्टाको प्रयासपछि आगलागी पूर्णरुपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो । तनहुँ जलविद्युत् आयोजना, मुग्लिन पोखरा सडक योजना, व्यास नगरपालिकाको गरी चार वटा दमकलको सहायताले बिहान ३ः४५ बजे आसपास आगलागी निभाइएको प्रहरीको भनाइ छ । आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले सहयोग गरेका थिए । आगलागीको केही समयमै व्यास नगरपालिकाको दमकल आइपुगेको थियो । नगरपालिकाको दमकल सानो र कम क्षमताको भएका कारण सुरुमा आगलागी निभाउन कठिन भएको थियो । केही समयपश्चात् मुग्लिन पोखरा सडक योजना र तनहुँ जलविद्युत आयोजनाका दमकल आएपछि आगलागी नियन्त्रणमा सहज भएको थियो । विद्युत् चुहावट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीका कारण भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । जिल्ला समन्वय समितिको स्वामित्वमा रहेका सटर भाडामा लगाइएको थियो । यहाँ विभिन्न पसल सञ्चालनमा थिए ।

काठमाडौं:     प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि स्थगित भएको छ। आइबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ।  आइतबारको बैठक अवरुद्ध नहुनेगरी शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सहमति जुटेको थियो।    यद्यपि कांग्रेसले माग गर्दै आएको संसदीय दलको समितिको टीओआरमा सहमति जुट्न नसक्दा पुनः संसद् बैठक अन्योलमा परेको हो।  टीओआरमा सहमति जुटाउनेगरी अहिले पनि सिंहदरबारमा कार्यदलका सदस्यहरू छलफलमा छन्। कार्यदलको बैठकमा सहभागी हुन नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि पुगेका छन्।

काठमाडौं:    प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा छ जनालाई पक्राउ गरिएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरले अभियुक्तहरूलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बताएको छ । जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार खोटाङको मजुवागढी गाउँपालिका–१ का स्थायी बासिन्दा प्रहरी जवान घिमिरेको शव शङ्कास्पद अवस्थामा गत शुक्रबार काठमाडौँको तार्केश्वर–९ मनमैजुस्थित निर्माणाधीन घरमा फेला परेको थियो । उहाँ ट्राफिक प्रहरी प्रभाव दरबारमार्गमा खटिनुभएको थियो ।

काठमाडौं:    सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार त्यहाँ भएको हिंसात्मक आक्रमणको सन्दर्भमा सरकारले त्यस्तो आग्रह गरेको हो । पाकिस्तानस्थित नेपाली राजदूतावासका अनुसार त्यहाँ रहेका सबै नेपाली सकुशल छन् । उक्त राजदूतावासले शनिबार एक सूचना जारी गरी “किर्गीस्तानको बिस्केकमा पछिल्ला केही दिनमा भएका घटनाका सन्दर्भमा करिब दुई सय ८० को सङ्ख्यामा खासगरी बिस्केक र वरपर रहनुभएका नेपाली हाल सकुशल रहनुभएको र स्थिति सामान्य नहुञ्जेलसम्म निवास÷घर बाहिर ननिस्कन आग्रह छ”, भनेको छ । दूतावासले कुनै किसिमको समस्या परेमा उक्त देशमा रहेका स्थानीय नेपालीसँग वा इस्लामावादस्थित दूतावासको प्रत्यक्ष सम्पर्कमा रहन अनुरोध पनि गरेको छ । साथै दूतावासले कुनै जानकारी, सल्लाह वा सहयोग आवश्यक परेमा राजदूतावासको फोन नं +92512610321 (ह्वाट्सयाप समेत) र इमेल [email protected] मा सम्पर्क गर्न सकिने जनाएको छ । बिस्केकमा चिकित्साशास्त्र अध्ययन गरिरहेका भारत, बङ्गलादेश, पाकिस्तानलगायत मुलुकका विद्यार्थी रहेका छात्राबासमा आक्रमण भएपछि दूतावासले उक्त आग्रह गरेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार हाल बिस्केकको अवस्था सामान्य छ । त्यहाँको परराष्ट्र मन्त्रालयले बिस्केकको स्थिति नियन्त्रणमा रहेको जनाउँदै झुटा समाचार सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न सम्बद्ध सबैमा आग्रह गरेको छ । छात्राबासमा भएको आक्रमणमा १५ जना विद्यार्थीलाई चोट लागेको र उनीहरूको उपचार भएको जनाएको छ ।

बुटवल:      पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अर्घाखाँचीबाट बुटवलतर्फ बिरामी लिएर आउँदै गरेको लु१ज ५३१ नम्बरको एम्बुलेन्सले बुटवल–१३ झोलुङ्गे पुल नजिकै ठक्कर दिँदा आज बिहान बुटवल–११ देवीनगरकी ५६ वर्षीया कमला नेपालीको मृत्यु भएको हो । एम्बुलेन्सको ठक्करबाट अन्य दुईजना महिला घाइते भएका छन् । एम्बुलेसको ठक्करबाट घाइते कमलालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । देवीनगरकै ५५ वर्षीया हरिकला नेपाली र ३५ वर्षीया झुपा ठटराई घाइते भएका छन् । उनीहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । एम्बुलेन्स चालक अर्घाखाँचीको पाणिनी गाउँपालिका–७ का नारायणबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं:     नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले प्रभावकारी भूमिका खेले नेपाली सुनचाँदी क्षेत्रमा विदेशी हस्तक्षेप रोकिने विज्ञहरुले बताएका छन् ।  महासंघको आज शुक्रबार काठमाडौंमा बसेको विज्ञ परिषद्को बैठकले सुनचाँदी हस्तकला क्षेत्रमा विदेशी हस्तक्षेप रोक्न आभूषण महासंघको भूमिका नै निर्णायक हुने भन्दै बाह्य हस्तक्षेप विरुद्ध प्रभावकारी कदम चाल्न महासंघलाई सुझाव दिएको हो ।  विदेशी हस्तकलाको बढ्दो प्रभावले नेपाली मौलिक कालिगढी लोप हुने अवस्थामा पुगेको विज्ञहरुको बुझाइ छ । यसले नेपाली मौलिक हस्तकलाको पहिचान नै धरापमा परेकोले यसलाई जोगाउनु पर्नेमा विज्ञहरुको जोड थियो ।  यता, महासंघका अध्यक्ष किसान सुनुवारले मुलुकमा सुनचाँदी क्षेत्रका व्यवसायीका लागि सुहाउँदो ऐन कानुनको अभावले व्यवसाय गर्न कठिन भएको गुनासो गनुभएको छ । ऐन कानुन नभएकाले बैध र अबैध व्यपार गर्ने दुवैलाई सरकारले एउटै नजरले हेर्ने गरेको गुनासो गर्दै अबैध व्यपारलाई राज्यले निरुत्साहित गर्नुपर्ने अध्यक्ष सुनारले बताउनुभयो । मुलुकभर २३ हजार भन्दा बढी परिवार सुनचाँदी व्यवसायमा निर्भर भएको जिकिर गर्दै उहाँले राज्यले यसलाई विलाशिताको क्षेत्रमा राखेकोमा आपत्ति समेत व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘राज्यले सुनलाई विलाशिताको क्षेत्रमा राखेको छ, यो त हाम्रो संस्कार हो यसलाई सबैको पहुँचमा ल्याउन आवश्यक छ ।’   त्यस्तै, नेपालमा १० हजार भन्दा बढी दक्ष कालिगढ रहेको भन्दै उनीहरुलाई आफ्नो क्षमता दर्शाउने प्रमाणपत्र लगायतका कागजात दिलाउनु अहिलेको आवश्यकता भएको बैठकमा उपस्थित विज्ञहरुले औल्याएका छन् ।   

काठमाडौं:    गृह मन्त्रालयले नेपाल प्रहरीका चार  एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको छ ।  शुक्रवार बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई डीआईजीमा बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिस हुने एसएसपीहरूमा कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, मनोज केसी र राजन अधिकारी रहेका छन् । बढुवा भएकामध्ये पोखरेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत् छन् भने कार्की, केसी र अधिकारी प्रहरी प्रधान कार्यालयमा कार्यरत् छन् ।  

काठमाडौं:     सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले डिजिटल रुपान्तरणका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ भन्नेमा सरकार विश्वस्त रहेको बताउनुभएको छ । विश्व दूरसञ्चार तथा सूचना समाज दिवसका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री शर्माले डिजिटल रुपान्तरणका माध्यमबाट समृद्धि हासिल गरेका आधारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवश्यक नीति, कानुन र संरचनात्मक विकासमा ध्यान दिएको उल्लेख गर्नुभयो । दूरसञ्चार क्षेत्रमा सुशासन स्थापित गर्दै पूर्वाधार विकासलाई मुख्य ध्यान दिएर दूरसञ्चार ऐन संशोधनको काम भइरहेको उल्लेख गर्दै मन्त्री शर्माले दूरसञ्चार पूर्वाधारमा देखिएको दोहोरो तेहरो लगानीको अवस्थालाई अन्त्य गरी पूर्वाधार प्रयोगको नीति अघि सार्ने तयारी गरिएको जानकारी दिनुभयो । “यसबाट दूरसञ्चार पूर्वाधारमा लागत घट्ने र सेवालाई थप प्रभावकारी बनाउँदै उपभोक्ताबाट लिने शुल्क घटाउन सकिन्छ भन्ने विश्वास लिएका छौँ, त्यस्तै सेवा प्रदायकबाट पनि कूल आम्दानीका हिसाबले वार्षिक दस्तुर लिने गरी समान व्यवहारको नीति लागू गर्नेगरी ऐन संशोधनको काम भइरहेको छ”, उहाँले भन्नुभयो । ‘साइबर स्पेस’लाई सुरक्षित र व्यवस्थित गर्ने उद्देश्यले पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरिएको मन्त्री शर्माले बताउनुभयो । राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्नुका साथै सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक तर्जुमाको काम भइरहेको उहाँले जानकारी दिनुभयो । मन्त्री शर्माले दूरसञ्चार क्षेत्रको विकासका लागि संयुक्त राष्ट्रसङ्घले निर्धारण गरेका लक्ष्यलाई ध्यान दिएर नेपालले आफ्नोतर्फबाट पनि काम गरिरहेको बताउनुभयो ।  सामाजिक र आर्थिक विकास प्रवद्र्धन गर्न सूचना तथा सञ्चार प्रविधिको महत्वबारे चेतना जगाउने, डिजिटल डिभाइडलाई कम गर्न र सबैलाई आइसिटीको पहुँच सुनिश्चित गर्ने, शिक्षा, स्वास्थ्य सेवा र अन्य सामाजिक विकास लक्ष्यका लागि आइसिटीको प्रयोग वृद्धि गर्ने, समावेशी र मानव अधिकारको सम्मान गर्ने तरिकामा आइसिटीको प्रयोग सुनिश्चित गर्ने तथा दिगो विकासका लागि आइसिटीको प्रयोग बढाउनेलगायत राष्ट्रसङ्घले अघि सारेका लक्ष्यहरु पूरा गर्न नेपालले मुख्यतः डिजिटल पूर्वाधार निर्माणमा ध्यान दिएको मन्त्री शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “देशका अधिकांश भू–भागमा दूरसञ्चार र अधिकांश वडा केन्द्रमा ब्रोडव्याण्ड इन्टरनेट पुगेको छ, नेपाल टेलिकमले ७५ जिल्लामा फाइबरमार्फत इन्टरनेट सेवा विस्तार गरेको छ । हालसम्म २५ हजार किलोमिटरभन्दा बढी अप्टिकल फाइबर विस्तार गरिएको छ । पछिल्लो समय सूचना प्रविधि आर्थिक समृद्धिका लागि नवीनतम एवं उदीयमान क्षेत्रकारुपमा स्थापित हुँदै गएको छ ।” नेपालको दूरसञ्चार क्षेत्रको विकासमा आइटियुले गर्दै आएको सहयोगका लागि हार्दिक आभार व्यक्त गर्दै मन्त्री शर्माले आइटियुले विश्वभर दूरसञ्चार विकासका लागि आवश्यक रणनीति, फ्रिक्वेन्सी व्यवस्थापनजस्ता विषयमा सदस्य राष्ट्रलाई सहयोग गर्दै आएको उल्लेख गर्नुभयो । विश्व परिवेशमा इन्टरनेट र टेलिफोनको पहुँचमा देखिएको डिजिटल डिभाइडलाई कम गर्न आइटियुले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै उहाँले सदस्य राष्ट्रका हैसियतले नेपालकोतर्फबाट आइटियुलगायत विभिन्न सङ्घसंस्थासँगको सहकार्य अघि बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नेभयो । ‘दिगो विकासका लागि डिजिटल नवप्रवर्तन’ नाराका साथ आज विश्वभरि विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाइँदैछ ।

काठमाडौं:    राष्ट्रपति रामचन्द्र पौडेलले १६औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुभएको छ ।  ‘सक्षम कानुन व्यवसायी, मर्यादित बारस् न्यायपालिकाको पुनः संरचना लोकतन्त्र सुदृढीकरणको आधार’ भन्ने नाराका साथ नेपाल प्रज्ञा९प्रतिष्ठान काठमाडौँमा आजदेखि सुरु भएको तीनदिने सम्मेलनको राष्ट्रपति पौडेलले उद्घाटन गर्नुभएको हो ।  उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू, वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूको उपस्थिति रहेको छ ।  नेपाल बार एसोसिएसनका अनुसार जेठ ४ देखि ६ गतेसम्म चल्ने सम्मेलनमा देशभरका करिब सात हजार कानुन व्यवसायीको सहभागिता रहने छ ।