पोखरा: १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा दिनप्रतिदिन आलुको कारोबार बढ्दै गएको छ । महोत्सव मध्येतिर आइरहँदा दर्शक सहभागिताको साथमा आलुको कारोबार बढ्दै गएको हो । महोत्सवको सातौँ दिन बुधबारसम्म २२ लाख आलुको कारोबार भएको छ । २ हजार ११९ घरपरिवार मानिसले आलु किनी लगेको कृषि उपज व्यवस्थापन समितिका संयोजक जयराम तिम्सिनाले जानकारी दिनुभयो। बागलुङ, स्याङजा, चितवन, तनहुँ लगायतका जिल्लाबाट समेत मानिस महोत्सवमा आई आलु किनी लगेको र हालसम्म न्यूनत्तम १० तथा अधिकत्तम ३ सय केजीसम्म प्रति परिवारले आलु खरिद गरेको संयोजक तिम्सिनाले बताउनुभयो । प्रतिकेजी रु।४० मा आलु बिक्री गरिएको छ । हालसम्म ४० हजार बढी दर्शकले महोत्सव अवलोकन गरिसकेको मूल आयोजक समितिका कोषाध्यक्ष राम सापकोटाले जानकारी दिनुभयो । महोत्सव प्रवेशका लागि साधारण ८० तथा विद्यार्थीका लागि ५० रुपैयाँमा टिकट व्यवस्था गरिएको छ । कृषि उपजका नाममा भएको महोत्सव आफैमा महत्वपूर्ण भएकाले परिवार सहित अवलोकन गर्न आउने गरेको महोत्सव अवलोकन गर्न आउने दर्शकको भनाइ छ । त्यसका साथै आलु लगायत अन्य स्टलवाट सामग्रीको बिक्रीवितरण हुने क्रम समेत ह्वातै बढेको छ । महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यङग्य एवम् लाइभ पप कन्सर्ट लगायत छन्।
पोखरा: हेमजामा चैत २९ गते बिहान बस दुर्घटना हुँदा गम्भिर घाइते भएका नरबहादुर पुनको उपचारको क्रममा मृत्यु भएको छ । काठमाडौंबाट म्याग्दी जाँदै गरेको बस चैत २९ गते दुर्घटना हुँदा घाइते भएका ८ जना मध्ये नरबहादुरको आज उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । काठमाडौंबाट म्याग्दीका लागि छुटेको ग १ ख १६३० नम्बरको बस चैत २९ गते बिहान सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा ८ जना घाइतेका थिए । यो पनि पढ्नुहोस काठमाडौंबाट बेनी जाँदै गरेको बस पोखरामा दुर्घटना, ७ जना घाइते घाइते भएका ८ जना मध्य ७ जना सोही दिन उपचार पछि डिस्चार्ज भएको कास्की प्रहरीले जनाएको छ । घाइते मध्य म्याग्दीको मालिका गाउँपालिका–१ दरवाङ घर भएका ७२ वर्षीय नरबहादुर पुनको उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार काठमाडौंबाट म्याग्दी जाँदै गरेको बस सह–चालक चलाएको खुल्न आएको बताएको छ । बस दुर्घटनापछि प्रहरीले बस चालक र सह–चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
पोखरा: हिमाली सांस्कृतिक परिवारले संस्कृतिविद् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति, नेपाल ऋषि प्राज्ञ डा. जगमान गुरुङलाई संरक्षकत्व अर्पण गरेको छ । हिमाली सांस्कृतिक परिवारले आज (शनिबार) प्राज्ञ डा. गुरुङको जन्मथलो याङ्जाकोट पुगेर संरक्षकत्व अर्पण गरेको हो । हिमाली सांस्कृतिक परिवारका संस्थापक संरक्षक नरबहादुर शेरचनले संस्कृतिविद् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति, नेपाल ऋषि प्राज्ञ डा। जगमान गुरुङलाई जन्मथलो याङ्जाकोट पुगेर एक कार्यक्रमकाबीच संरक्षकत्व अर्पण गरे । सो अवसरमा बोल्दै प्राज्ञ डा। गुरुङले साँस्कृतिक परिवारप्रती आभार प्रकट गरे । उनले याङ्जाकोटमा आफ्नै कारणले साहित्यिक र सांस्कृतिक गतिविधि बढेको बताए । ‘मैले आफ्नो विज्ञापन गरेको होइन, म गाउँमै बस्न मन पराउँछु । गाउँकै अर्गानिक खाना खान्छु मलाई प्राय सबैले भेट्न गाउँमै आउँछन्’, प्राज्ञ गुरुङले भने, ‘मलाई कवि, लेखक, साहित्यकारहरुले गाउँमै भेट्न आउँदा गाउँमा साहित्यिक र सांस्कृतिक गतिविधि बढेको छ ।’ उनले अबका दिनमा हिमाली सांस्कृतिक परिवारले याङ्जाकोटमा प्रत्येक वर्ष सांस्कृतिक कार्यक्रम गर्नुपर्ने आशय व्यक्त गरेका थिए । यस्तै मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले गाउँपालिकामा साहित्यिक र सांस्कृति गतिविधि बढाउन हिमाली सांस्कृतिक परिवारसँग सहकार्य गर्ने तयार रहेको बताए । उनले स्थानीय तहमा प्रज्ञा प्रतिष्ठान गठन गर्न गाउँपालिकाको कार्यपालिकाको बैठकमा छलफल भइरहेको समेत बताए । कार्यक्रमकै अवसरमा हिमाली सांस्कृतिक परिवारले प्रमुख सल्लाहकारमा कवि, लेखक तथा साहित्यकार प्रकाश शायमीलाई मनोनित गरेको छ । यस्तै पृथ्वीमान गुरुङ, हरीचन्द्र रञ्जित, सोभित बुद्धचार्य र सुशान ताङ्वेलाई आजीवन सदस्य प्रदान गरेको छ । संरक्षक अर्पण तथा नयाँ वर्ष शुभकामना साँझमा हिमाली साँस्कृतिक परिवारका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम हिमाली सांस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मानार्थ सदस्य टिकाबहादुर कार्कीले स्वागत मन्तव्य र संस्थाका सल्लाहकार एवम् पत्रकार दिपेन्द्र श्रेष्ठको कार्यक्रम सञ्चालन गरेका थिए ।
काठमाडौं: लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रको योगदानलाई स्मरण गर्दै ‘स्रष्टा चैत्र ३०’ अभियानले २०८० सालको सम्मान साहित्यकारद्वय ज्ञानुवाकर पौडेल र लक्ष्मी मालीलाई प्रदान गरेको छ । उहाँहरुले रचनाका माध्यमबाट लोकतान्त्रिक गणतन्त्रको स्थापना र त्यसलाई संस्थागत गर्न निर्वाह गर्नुभएको भूमिकाको कदर गर्दै सो सम्मान दिइएको हो । शुक्रबार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले उहाँहरूलाई सम्मान गर्नुभयो । उहाँले स्रष्टाहरु सधैँ प्रतिपक्षी रही रचनात्मक भूमिका खेल्न तयार हुनुपर्ने बताउँदै आन्दोलनको मर्म र भावनालाई राजनीतिक नेताहरुले आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो । प्रतिष्ठानका सदस्यसचिव डा धनप्रसाद सुवेदीले परिवर्तनलाई संस्थागत गर्ने सन्दर्भमा स्रष्टाहरुको भावनाअनुसार प्रतिष्ठान सञ्चालन भएको बताउनुभयो । साहित्यकार कोषराज न्यौपानेले स्रष्टा पौडेल गजल विधाका सिद्धहस्त व्यक्ति भएको टिप्पणी गर्नुभयोभने प्राज्ञ बाबा बस्नेतले स्रष्टा माली सशक्त नारी हस्ताक्षरका साथै आन्दोलनमा निरन्तर क्रियाशील व्यक्तित्व भएको बताउनुभयो । जनआन्दोलन–२ मा विसं २०६२ चैत ३० गते आरोहण ९गुरूकुल० नाट्यघरमा जनआन्दोनप्रति ऐक्यबद्धता भेलापश्चात् पुरानो बानेश्वरको चोकमा कफ्र्यु तोडेर कविता वाचन गर्दा सुरक्षाकर्मीले दमन र गिरफ्तार गरेको दिनलाई स्मरण गरिँदै आएको अभियानका अध्यक्ष मनोज न्यौपानेले बताउनुभयो । यसअघि आनन्ददेव भट्ट, साहित्यकार काइँला, डा। तुल्सीप्रसाद भट्टराई, निनु चापागाईं, किरण मानन्धर, देशभक्त खनाल, डा बेञ्जु शर्मा, मञ्जु काँचुली, पूर्ण विराम, डा अमर गिरी, हरिगोविन्द लुईटेल, उत्तमकृष्ण मजगैँया, किसान प्रेमी, अशेष मल्ल, विमल निभा, राम विनय, विजय बजियम, सुलोचना मानन्धर, मातृका पोखरेल, वियोगी बुढाथोकी, डा दुवसु क्षेत्री, पुरूषोत्तम दाहाल, पुरूषोत्तम सुवेदी, शार्दूल भट्टराई, कृष्ण धरावासी, वासुदेव अधिकारी, विवश पोखरेल, हरिहर अधिकारी ’ र तीर्थ श्रेष्ठले उक्त सम्मान प्राप्त गर्नुभएको छ ।
डोल्पा: हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ४ मा पर्ने सुँ सामुदायिक बनमा आगलागीमा परेका तीनै जना बालबालिकाको मृत्यु भएको छ । गत बिहिवार आगलागि घटनामा परेका तीनैजना बालबालिकाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताउनुभयो । उपचारको क्रममा जिल्ला अस्पताल डोल्पामा १० वर्षीय सुलस बुढाको र १२ वर्षीय विवस बुढा र १३ वर्षीय समन्त बुढाको काठमाण्डौमा उचारकाको क्रममा मृत्यु भएको हो । गाउँ नजिकै रहेको बनमा गुच्ची च्याउ टिप्न गएको बेला तीनै बालबालिका आगलागिमा परेर गम्भीर घाइते भएको थिए । आगलागिबाट बचाउन धेरै प्रयास गरिएकोमा तीनै बालबालिकाको मृत्यु भएपछि सिंगो गाउँनै शोकमा डुबेको वडा नं ४ का वडाध्यक्ष रञ्जित बुढाले बताउनुभयो । मृत्यु हुनेमा एकै घरका दुइ बालबालिकाको रहेका छन् । त्रिपुरासुन्दरी नगरपालिकाले घाइते बालबालिकाको उपचारकोलागि हेलिकप्टरको व्यवस्था गरेर काठमाण्डौ पुर्याइएको थियो । डोल्पामै गत मंगलबार ठुलिभेरी नगरपालिका ४ मा पर्ने मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार सैनिकमध्ये तीन जनाको मृत्यु भएको थियो ।
काठमाडौं: आज नयाँ वर्ष मनाइँदैछ। हरेक बर्ष वैशाख १ गतेलाई नयाँ वर्षको रुपमा नेपाली संस्कृतिमा विशेष दिनका रुपमा मनाइन्छ । विक्रम संवतको पात्रोअनुसार आजबाट नयाँ वर्ष सुरु भएको हो। विसं पात्रोअनुसार सौर्यमानक हिसाबले वैशाख १ गते नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मनाइन्छ । विसं हिन्दू पञ्चाङ्गमा आधारित भएर निर्माण गरिएको पात्रो मानिन्छ । हरेक वैशाख १ गते हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रुपमा मनाइन्छ । विसं पात्रोअनुसार सौर्यमानक हिसाबले वैशाख १ गते नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मनाइन्छ । विसं हिन्दू पञ्चाङ्गमा आधारित भएर निर्माण गरिएको पात्रो मानिन्छ । नयाँ वर्ष एक आपसमा सद्भाव तथा खुशियाली आदानप्रदान गर्दै मनाईन्छ । नयाँ वर्षको अघिल्लो साँझ साथीभाइ, इष्टमित्र भेटघाटसहित रमाइलो गरी वर्षान्त पनि मनाइन्छ । नयाँ वर्षमा धार्मिक आस्था राख्नेहरुले मठमन्दिरमा गई पूजाआजा गर्ने पनि गर्दछन् । विगतका कामको समीक्षा गर्दै कमजोरी सुधारेर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लाग्न नयाँ वर्षका अवसरमा प्रण पनि गर्ने गरिन्छ ।
गोरखाः उत्तरी गोरखाको धार्चे गाउँपालिका–२ मा पर्ने रुन्चेतगाउँ सडक सञ्जालबाट जोडिएको छैन । गाउँपालिकाको ३ नं वडामा पर्ने लुसीकाङगाउँबाट रुन्चेतगाउँ नजिक भए पनि त्यहाँ पुग्न घण्टौँ हिँड्नुपर्ने बाध्यता छ । ुबुढीगण्डकी नदीका कारण रुन्चेत र लुसीकाङ विकट भएका हुन् तर अब घण्टौँ हिँड्नुपर्ने बाध्यताबाट स्थानीय मुक्त हुँदैछन् । रुन्चेत र लुसीकाङवासीको वर्षौँदेखिको समस्या समाधानका निम्ति भीर खोपेर कादुरी नेपाल संस्थाको सहयोगमा आगामी पाँच महिनाभित्रमा झोलुङ्गे पुल निर्माण पूरा गर्नेगरी काम सुरु भएको छ, धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले भन्नुभयो, “करिब १ करोड ३३ लाखको लागतमा झोलुङ्गे पुल निर्माण थालिएको हो ।” झोलुङ्गे पुल सञ्चालन भएपछि रुन्चेतवासी तीनघण्टाभन्दा समय हिँड्नुपर्ने बाध्यताबाट नहुने र एक घण्टामै गाउँ पुग्न सकिने अध्यक्ष गुरुङले बताउनुभयोे । पुल नहुँदा अहिले त्यस क्षेत्रका बासिन्दाले माछीखोला पारि भिरको बाटो प्रयोग गर्दै आएका छन् । गत फागुन १५ गतेदेखि तीव्ररूपमा निर्माणको काम अगाडि बढेको कादुरी नेपालका प्रजेक्टका प्रबन्धक प्रदीपकुमार सिलवालले बताउनुभयो । “प्राविधिक तथा स्थानीयवासी अहिले भिरको ढुङ्गा फोर्न तल्लीन छन्, आगामी असार १ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको छ”, उहाँले भन्नुभयो । निर्धारित समयमा निर्माण सम्पन्न गर्न छजना विज्ञसहितको टोली निर्माणस्थलमा खटिएको उहाँले बताउनुभयो । पुल निर्माण गर्न स्थानीवासीले रु एक लाख ७६ हजार बराबरको श्रमदान गर्नेछन् । पुल निर्माण भएपछि त्यस क्षेत्रका करिब तीन सयभन्दा बढी परिवार लाभान्वित हुनेछन् ।
इलामः अन्तुलाई पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्ने उद्देश्यले सूर्योदय नगरपालिका–४ स्थित अन्तुमा आजदेखि‘‘अन्तु पर्यटन महोत्सव’ आयोजना हुँदैछ । सूर्योदय नगरपालिकाको आयोजनामा दुई दिने पर्यटन महोत्सव आयोजना गर्न लागिएको आयोजक समिति संयोजक तथा नगरका उपप्रमुख दुर्गाकुमार बरालले बताउनुभयो । उपप्रमुख बरालका अनुसार महोत्सवको पहिलो दिन ‘सूर्योदय आइडल’ को ‘ग्रान्ड फिना’, विभिन्न खाद्य परिकारका स्टल, दीपावली र साङ्गीतिक कार्यक्रम राखिएको छ । महोत्सवको दोस्रो दिन भोलि अन्तुडाँडाबाट सूर्योदय अवलोकन, शुभकामना आदानप्रदान, लोपोन्मुख लाप्चा जातिको भेषभूषा प्रदर्शन, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शन, खाद्य परिकारका स्टल, ‘सूर्योदय आइडल’को विजेता घोषणा, पुरस्कार वितरण र साङ्गीतिक कार्यक्रमलगायत राखिएको बरालले जानकारी दिनुभयो । ‘सूर्योदय आइडल’को ग्रान्ड फिनालेमा आठ जना प्रतिस्पर्धीबाट विजेता छनोट गरिनेछ । महोत्सवमा कलाकार याम बराल, भूपेन्द्र राई, पुजन प्रधान, गणेश पराजुली, शोभा पराजुली, फुटी शेर्पालगायतको प्रस्तुति रहनेछ । महोत्सवका अवसरमा नगरपालिकाले लागूपदार्थ दुव्र्यसनी, मदिरा तथा सुर्तीजन्य वस्तुको नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी सन्देशमूलक कार्यक्रम राखेको बरालले जानकारी दिनुभयो । “पर्यटकीय नगरी सूर्योदयलाई सर्वकालीन पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको छ”, उपप्रमुख बरालले भन्नुभयो, “यसले अन्तुको मात्र नभई समग्र जिल्लाको पर्यटन विकासमा टेवा पुर्याउने अपेक्षा छ ।” महोत्सवमा आउने पर्यटकका लागि अन्तुमा रहेका ६६ वटा घरबास (होमस्टे), निजी ढङ्गले चलेका होटल र कटेजमा गरी पाँच हजार जनाले रात बिताउन सक्नेगरी व्यवस्थापन गरिएको संयोजक बरालले बताउनुभयो । महोत्सव अवधिभर १० हजार पर्यटक भित्रिने अपेक्षा गरिएको उहाँको भनाइ छ । महोत्सव आयोजना गर्न १० लाख खर्च हुने आयोजकको अनुमान छ । अन्तु पुग्ने पर्यटकले अन्तुडाँडाबाट सूर्योदयको दृश्यावलोकन, विभिन्न हिमशृङ्खलाको दृश्यावलोकन, अन्तुपोखरीमा डुङ्गा सयर, हरियाली चियाबारी र सल्लाघारीको आनन्द लिएर फर्कने गरेका छन् । यसका साथै चियाबगान बीचमा बनाइएका कटेज तथा होमस्टे, स्थानीय स्रोत साधनको प्रयोग गरी थुम्काथुम्कामा बनाइएका घर, विभिन्न जातजातिको कला–संस्कृतिसमेत पर्यटकका रोजाइ बन्ने गरेका छन् ।
मकवानपुरः चिउरी र चमेरो संरक्षण कार्यक्रम कार्यान्वयनका लागि प्रदेश सरकार र स्थानीय सरकारबीच सम्झौता भएको छ । सामाजिक विकास मन्त्रालयमा आयोजित कार्यक्रमकाबीच प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, सामाजिक विकासमन्त्री कुमारी मोक्तान र प्रदेशका छ स्थानीय तहका प्रमुख-उपप्रमुखबिच सहमति भएको हो । चेपाङ समुदायको बाहुल्यता रहेको प्रदेशका तीन जिल्ला मकवानपुर, धादिङ र चितवनका गरी छ वटा पालिकासँग सम्झौता भएको हो । जसअनुसार मकवानपुरको राक्सिराङ, धादिङको गजुरी र बेनिघाट रोराङ तथा चितवनको राप्ती, कालिका र इच्छाकामना गाउँपालिकासँग प्रदेश सरकारले सम्झौता गरेको हो । प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट कार्यक्रममा नै समावेश गरी सिमान्तकृत जातिको उत्थानका लागि चिउरी र चमेरो संरक्षणको कार्यक्रम अघि सारेको थियो । उक्त कार्यक्रम कार्यान्वयनका लागि प्रदेश सरकारले गत ११ माघमा बसेको प्रदेशको मन्त्रिपरिषद बैठकले ‘चिउरी र चमेरो संरक्षण कार्यक्रम सञ्चालन निर्देशिका, २०८० स्वीकृत गरेको थियो । यस्तै प्रदेश सरकारले उक्त कार्यक्रम कार्यान्वयनका लागि चालु आर्थिक वर्ष २०८०/८१ मा ५० लाख बजेटसमेत विनियोजन गरेको छ । कार्यक्रम स्थानीय तहको २० प्रतिशत र प्रदेश सरकारको ८० प्रतिशत साझेदारीमा कार्यान्वयन हुनेछ । कार्यक्रममा स्थानीय सरकारले सात लाख ७५ हजार लगानी गर्नुपर्नेछ । सम्झौता कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेलले चेपाङ समुदायको आर्थिक तथा सामाजिक क्षेत्रको उत्थानका लागि उनीहरुको परम्परादेखि जोडिएको चेपाङ चिउरी र चमेरो संरक्षणले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । सरकारले कार्यविधि नै बनाएर काम सुरु गरेकाले यसमा पालिकाहरुले पनि अपनत्व लिनुपर्ने उहाँको भनाइ छ ।

