भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।   सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

पोखरा : नेपालसहित विभिन्न चार देशका कलाकारको सहभागितामा पोखरा र आसपासका क्षेत्रमा शनिबारदेखि बृहत् आर्ट क्याम्प हुन लागेको छ ।    गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा आगामी असोज १ देखि ४ गतेसम्म हुने ‘पोखरा आर्ट क्याम्प’मा नेपालसहित भारत, बङ्गलादेश र इरानका एक सय १८ कलाकारको सहभागिता रहने आयोजक अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालले जनाएको छ ।    नेपालका ९० सहित भारतका आठ, बङ्गलादेशका १७ र इरानका छ जना कलाकारको सहभागिता रहने कार्यक्रमको सबै तयारी पूरा भएको छ । आर्ट क्याम्पअन्तर्गत असोज १ गते भारत, बङ्गलादेश र नेपाललका १२ जना प्रसिद्ध कलाकारले प्रत्यक्ष कला ‘डेमोष्ट्रेसन’मा सहभागी हुनेछन् । दोस्रो दिन घाचोकका दृश्य क्यान्भासमा उतार्ने गरी कार्यशाला सञ्चालन हुनेछ भने तेस्रो दिन विश्वशान्ति स्तुपामा कला कार्यशाला तथा प्रदर्शनी गरिनेछ ।    विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणका कारण ललितकलाका गतिविधि भर्चुअलमा सीमित भइरहेको सन्दर्भमा सङ्क्रमण न्यून भएसँगै उक्त कार्यक्रम भौतिक उपस्थिति गर्न लागिएको हो । अब भने विस्तारै कला पर्यटन प्रवद्र्धन गर्दै कलामार्फत नेपालको पहिचान विश्वव्यापी पु¥याउने प्रयास थालिएको कार्यक्रम संयोजक आइडब्लुएस नेपालका अध्यक्ष एनबी गुरुङले जानकारी दिनुभयो ।   ‘पोखरा घुमौँ र पोखराको प्राकृतिक सौन्दर्यलाई चित्रण गरौँ’ भन्ने नाराका साथ आयोजना हुने कार्यक्रममा कला कार्यशालाका साथै कला सेमिनार, कला पर्यटन भ्रमण तथा कला प्रदर्शनी हुनेछ ।    गण्डकी प्रदेश कला, साहित्य, सङ्गीत र संस्कृतिको उर्बरभूमि र हरेक जातिको आफ्नै गौरवपूर्ण भाषा र संस्कृतिको रमणीय स्थान हो । उक्त कार्यक्रमले आर्ट क्याम्पमार्फÞत गण्डकीको सुन्दरता विश्वभर पुग्ने विश्वास कलाकारको छ ।    ललितकलाको क्षेत्रमा महत्वपूर्ण कार्यक्रम गर्दै आएको आइडब्लुएस नेपालले यसअघि काठमाडौँ, घान्द्रुक र लुम्बिनीमा अन्तर्राष्ट्रिय जलरङ महोत्सव सम्पन्न गरिसकेको छ ।    पछिल्लो कला महोत्सव भने कोरोनाका कारण प्रभावित भएको र उपयुक्त समयमा आयोजना गर्नै जनाइएको छ । कार्यक्रमको स्थानीय संयोजकमा मनोज तामाङ हुनुहुन्छ । कार्यक्रममा अग्रज कलाकारलाई सम्मानसमेत गरिने छ । कार्यक्रममा सहभागी हुने विदेशी कलाकार नेपाल आइसकेका छन् । कार्यक्रमका लागि विदेशीसहित उपत्यकामा रहेका कलाकार आजै पोखरा जाँदै छन् ।

पोखरा  ः  न्यूनचापीय क्षेत्र र मनसुनी रेखा नेपालतर्फ रहेकाले केही दिन देशभर पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभाव बिहीबार रातिदेखि नै देखिएको छ र केही दिनसम्म कायम रहने छ ।   महाशाखाका मौसमविद हिरा भट्टराईका अनुसार हाल भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय क्षेत्र नेपालको पश्चिम भूभागको नजिक आइपुगेको छ । यसैगरी मनसुनी रेखा पनि नेपालको तराई भूभाग नजिक आइपुगेकाले केही दिन मनसुन थप सक्रिय हुने छ ।   आइतबारदेखि भने यसको प्रभाव कम हुने तर पानी पर्ने क्रम नरोकिने मौसमविद भट्टराईले बताए । ‘आइतबारदेखि यसको प्रभाव घट्दो क्रममा रहन्छ तर पानी पर्ने क्रम भने रोकिंदैन,’ मौसमविद भट्टराईले भने, ‘हल्कादेखि मध्यम वर्षा हुन्छ, भारी वर्षाको संख्या र स्थान कभरेज कम हुन्छ ।’ काठमाडौं उपत्यकामा मध्यम खालको वर्षा हुने तर भारी वर्षाको सम्भावना नरहने उनले बताए ।   महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरुका धेरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशहरुका थोरै स्थानहरुमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम सम्बन्धी विशेष बुलेटिनमा उल्लेख छ ।   पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले भनेको छ । ‘ठूला तथा साना नदी नाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरुमा अनुरोध छ,’ महाशाखाले जारी गरेको विशेष बुलेटिनमा लेखिएको छ ।

  काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप एक सय २६ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।      पछिल्लो २४ घण्टामा तीन हजार सात सय ९० जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार छ सय ७४ जनाको पिसिआर र दुई हजार एक सय १६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो चौबिस घण्टामा एक सय ३७ जना कोरोनाबाट मुक्त भएका छन् । योसँगै कोरोनाबाट मुक्त हुनेको सङ्ख्या नौ लाख ८४ हजार नौ सय ७७ पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव छ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।    हाल सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार एक सय २९ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १५ पुगेको छ । हाल होम आइसोलेशनमा दुई हजार ६२, संस्थागत आइसोलेशनमा ६७ र आइसियुमा १८ सङ्क्रमित रहेका छन् ।    हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा ललितपुर रहेको छ । शून्य सङ्क्रमित रहेका जिल्लामा ताप्लेजुङ, मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, मुग, जुम्ला, बझाङ र दार्चुला छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा आठ सय ३१, ललितपुरमा तीन सय ५७ र भक्तपुरमा ३१ सक्रिय सङ्क्रमित छन् । कूल सङ्क्रमण दर १६ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।  

  काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाहमा २० दशमलव तीन प्रतिशतले वृद्धि भएको छ ।    नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको पहिलो महिनामा रु ९२ अर्ब २१ करोड बराबरको विप्रेषण आप्रवाह भएको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७ दशमलव चार प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२ दशमलव पाँच प्रतिशतले वृद्धि भई रु ७२ करोड ४० लाख पुगेको छ ।    अघिल्लो वर्ष यस्तो आप्रवाह १६ दशमलव आठ प्रतिशतले घटेको थियो । केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई सय २२ दशमलव ८ प्रतिशतले वृद्धि भई ४४ हजार पाँच सय ४० पुगेको छ ।    त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ७५ दशमलव चार प्रतिशतले वृद्धि भई २० हजार तीन सय ९० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या दुई सय ८६ प्रतिशतले बढेको थियो ।   समीक्षा अवधिमा खुद ट्रान्सफर १८ दशमलव चार प्रतिशतले वृद्धि भई रु एक खर्ब एक अर्ब ६९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १५ दशमलव सात प्रतिशतले घटेको थियो । 

  काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५७ अङ्कले ओरालो लागेर एक हजार नौ सय २४ दशमलव ४८ मा ओर्लेको छ ।   यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११ दशमलव २३ अङ्कले ओरालो लागेर तीन सय ७४ दशमलव १३ मा सीमित भएको छ । कूल दुई सय ३२ कम्पनीका ६९ लाख ४० हजार पाँच सय ९६ कित्ता शेयर रु दुई अर्ब १२ करोड ५६ लाख ५५ हजार सात सय ८७ मूल्यमा खरिद बिक्री भए ।   नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । बैंकिङ २४ दशमलव ३२, व्यापार ७८ दशमलव २४, होटल तथा पर्यटन ९१ दशमलव ७३, विकास बैंक एक सय ६९ दशमलव ३८, जलविद्युत् एक सय दशमलव चार, वित्त ९० दशमलव ९१, निर्जीवन बीमा एक सय ९६ दशमलव ६८, उत्पादन एक सय ५९ दशमलव शून्य सात, अन्य ५६ दशमलव ५७, लघुवित्त एक सय ७७ दशमलव १२, सामूहिक लगानी कोष शून्य दशमलव २८ र लगानी दुई दशमलव शून्य सात अङ्कले ओरालो लागेको छ ।   नेप्सेका अनुसार आजको कारोबारका आधारमा लक्ष्मी बैंक शीर्षस्थानमा छ । सो बैंकको रु २१ करोड ५० लाख ३३ हजार एक सय ९० बराबरको कारोबार भयो ।   रिडी हाइड्रोपावर रु ११ करोड ६४ लाख ८९ हजार छ सय ५४, अपिपावर कम्पनी रु सात करोड ३५ लाख १६ हजार तीन सय २६, नेपाल दूरसञ्चार कम्पनी रु छ करोड ६८ लाख ७७ हजार पाँच सय ८७ र हिमालयन डिस्टिलरी रु पाँच करोड ७७ लाख ८४ हजार पाँच सय एक बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।    नेप्सेका अनुसार सिटिजन म्युचुअल फण्ड दोस्रो चार दशमलव १२, मिर्मिरे माइक्रोफाइनान्स तीन दशमलव ८०, सिद्धार्थ बैंकको ऋणपत्र एक दशमलव ९२, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रो एक दशमलव ६९ र सनराइज ब्ल्यूचिप फण्डका लगानीकर्ताले एक दशमलव ३० प्रतिशतले कमाएका छन् ।    त्यस्तै एनआइसी एसिया फ्लेक्सी क्याप फण्ड आठ, सिद्धार्थ फाइनान्स कम्पनी सात दशमलव ३५, श्वेतगङ्गा हाइड्रोपावर सात दशमलव शून्य चार, अप्पर सोलु हाइड्रोपावर छ दशमलव ६९ र लिवर्टी इनर्जीका लगानीकर्ताले छ दशमलव ९० प्रतिशतले गुमाएका छन् ।

  काठमाडौं । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले डेङ्गु रोगको नियन्त्रण र उपचारका लागि कीटनाशक औषधि छर्कन आग्रह गर्नुभएको छ ।        सांसदहरुले मिटरब्याजीको समस्या समाधानका लागि भएका पहलबारे जानकारी माग गर्नुभएको थियो । साथै उहाँहरूले मन्त्रीले कार्यकक्षमा जाँदा सांसदहरुलाई उचित समय नदिएको भन्दै सवारी दुर्घटना रोकथाम गर्न र दार्चुलाका बाढी प्रभावितलाई राहत र क्षतिपूर्ति दिनसमेत माग गर्नुभएको थियो ।    शून्य समयमा सांसदहरू उदयबहादुर बोहरा, गोमादेवी तिमिल्सिना, जयन्तीदेवी राई, भुवनबहादुर सुनार, मदनकुमारी साह (गरिमा), राजेन्द्रलक्ष्मी गैह्रे र सुरेशकुमार आलेमगरले बोल्नुभएको थियो ।

  मुस्ताङ। प्राज्ञिक विद्यार्थी परिषद नेपालले मुस्ताङको जनहित माविलाई शैक्षिक समाग्री सहयोग गरेको छ ।    मुस्ताङको जोमसोममा रहेको जनहित माविलाई परिषद नेपालले आज (बिहिबार) शैक्षिक समाग्री वितरण गरेको हो ।    ६० जना विद्यार्थीहरुलाई झोला, अभ्यास पुस्तिका, जेमेट्री बक्स र सजिलो अंग्रजी बोलचाल लगायतका शैक्षिक समाग्री  प्रदान गरिएको विद्यार्थी परिषदका नेपाल सहसचिव रमेश कडेंलले जानकारी दिए ।    उनका अनुसार प्राज्ञिक विद्यार्थी परिषद नेपालले यसअघि पनि विभिन्न जिल्लाहरुमा शैक्षिक समाग्री वितरण गरिसकेको छ ।   परिषदले ताप्लेजुङको फुङलिङ नगरपालिकाका दुई विद्यालयमा शैक्षिक सामग्री वितरण गरिसकेको बताउदै भने, ‘शैक्षिक समाग्री वितरणले आर्थिक स्तर न्यून भएका र पढ्न खोज्ने विद्यार्थीहरुको लागि हौसलाको बढ्नेछ ।’   जनहित माविका व्यवस्थापन समितिका अध्यक्ष जयन्द्र थकाली, विद्यार्थी परिषद्का राष्ट्रिय सहसचिव रमेश कडेंल, विद्यालयका प्राचार्य रामचन्द्र अधिकारी, परिषदका मुस्ताङ् जिल्ला अध्यक्ष लक्ष्मण ढकाल, जोमसोम नगरका संयोजक रोशनी ल्वागुण एंव विद्यालयका सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरुको उपस्तिथिमा शैक्षिक सामग्री वितरण गरिएको थियो ।      

काठमाडौं : नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनले देशभरबाट पार्टीले सिफारिस गरेका युनियनका पत्रकारलाई उम्मेदवार बनाउन पहल गर्ने भएको छ ।   प्रेस युनियनले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवार सिफारिस भएका प्रेस युनियनमा आबद्ध पत्रकारसँग आज काठमाडौँमा अन्तरक्रिया कार्यक्रम गरी युनियनकर्मीलाई संसद्मा पठाउन पहल गर्ने बताएको हो ।   कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले संसद्मा नेपाल प्रेस युनियनमा आवद्ध पत्रकारले प्रतिनिधित्व गरे प्रेस युनियनको साख बढ्ने बताउनुभयो । “युनियनमा आबद्ध पत्रकारलाई संसद्मा  प्रतिनिधित्व गराउन हामी पार्टीका शीर्ष नेतृत्व र संसदीय बोर्डका सदस्यको ध्यानाकर्षण गराउँछौँ”, उहाँले भन्नुभयो ।   युनियनका पूर्वअध्यक्ष कुलचन्द्र वाग्लेले पत्रकारले संसद्मा प्रतिनिधित्व गर्न सके पत्रकारको आवाज देशव्यापी लैजान सकिने बताउनुभयो । उहाँ तनहुँ क्षेत्र नं १ प्रदेश (क) बाट समानुपातिकतर्फ सिफारिस हुनुभएको छ ।   युनियनका पूर्वअध्यक्ष किरण पोखरेलले सम्भावना बोकेका पत्रकारलाई संसद्मा प्रतिनिधित्व गर्न प्रेस युनियनले पार्टीको केन्द्रीय नेतृत्वलाई दबाब दिनुपर्ने बताउनुभयो । उहाँ सुनसरी क्षेत्र नं २ बाट प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारमा सिफारिस हुनुभएको छ ।   युनियनका सल्लाहकार एवम् वरिष्ठ पत्रकार कविर राणा भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेवार सिफारिस हुनुभएको छ । युनियनका निवर्तमान वरिष्ठ उपाध्यक्ष दिपक आचार्य चितवन क्षेत्र नं २ प्रदेश (ख) बाट प्रत्यक्षतर्फ, युनियनका निवर्तमान कोषाध्यक्ष सरोज अधिकारी धादिङबाट प्रदेशसभाको समानुपातिक, युनियनका पूर्व उपाध्यक्ष एवम् नेपाल पत्रकार महासङ्घकी केन्द्रीय उपाध्यक्ष बाला अधिकारी ओखलढुङ्गाबाट प्रतिनिधिसभा समानुपातिक उम्मेदवार सिफारिस हुनुभएको छ ।   यस्तै युनियनका पूर्व सचिव सन्तोष न्यौपाने काठमाडौँ क्षेत्र नं ६ प्रदेश (क) बाट समानुपातिक उम्मेदवारमा सिफारिस हुनुभएको छ भने युनियनका नेता एवम् नेपाल पत्रकार महासङ्घ उपत्यका प्रतिष्ठान शाखाका सचिव रोशन पाण्डे काभ्रेबाट प्रदेशसभा समानुपातिक उम्मेदवारका लागि सिफारिस हुनुभएको छ ।   यस्तै युनियनका नेता झपेन्द्रप्रसाद गैरे पाल्पाबाट प्रदेशसभा समानुपातिक उम्मेदवार, परमेश्वर साह सिरहाबाट, चित्रकुमार मिजार सिन्धुपाल्चोकबाट उम्मेदवारका लागि सिफारिस हुनुभएको छ ।   देशभरबाट ५० भन्दा बढी युनियनकर्मीलाई पार्टीले प्रतिनिधिसभा तथा प्रदेशसभामा प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारका रुपमा सिफारिस गरेको युनियनका महासचिव दिलिप पौडेलले जानकारी दिनुभयो । महासचिव पौडेलले उम्मेदवार सिफारिसमा परेका देशभरका पत्रकारको तथ्याङ्क सङ्कलन गरी उम्मेदवार बनाउन पहल गर्ने बताउनुभयो ।   युनियनका उपाध्यक्ष भीष्मराज ओझाले पार्टीले देशभरबाट उम्मेदवारका लागि सिफारिस गरेका युनियनमा आवद्ध पत्रकारलाई उम्मेदवार बनाउन शीर्ष नेतृत्वको ध्यानाकर्षण गराउने बताउनुभयो । “युनियनमा आबद्ध सबै पत्रकारलाई उम्मेदवार बनाउन नसके पनि दबाबस्वरुप केन्द्रीय नेतृत्वको ध्यानाकर्षण गराउँछौँ”, उहाँले भन्नुभयो । 

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी पार्टी र आन्दोलन कमजोर भए देशमा प्राप्त भएका परिवर्तन तथा उपलब्धि गुम्न सक्ने भएकाले इमान्दार भएर जनतामा जान पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।    माओवादीका दिवङ्गत नेता पोष्टबहादुर बोगटीको आठौँ स्मृति दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनयुद्ध र जनआन्दोलनका बलमा स्थापित संविधान, समावेशी समानुपातिक प्रतिनिधित्वलगायतका उपलब्धिमाथि निरन्तर प्रहार भएको भन्दै त्यसलाई जोगाउन पनि माओवादी बलियो हुनैपर्ने बताउनुभयो ।   गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा आन्तरिकरूपमा केही प्राविधिक विषय मिलाउन नसक्दा वामपन्थी शक्तिहरूमा पहिलो हुने अवसर गुमेको भन्दै उहाँले त्यसबाट र गठबन्धनका दलबीचको सहकार्यबाट समेत शिक्षा लिएर आगामी निर्वाचनमा झनै प्रतिबद्ध भएर लाग्न सबैलाई आग्रह गर्नुभयो ।   उहाँले पार्टीको नीति र विधिविपरीत गएर व्यक्ति केन्द्रित गतिविधि नगर्नसमेत पार्टीका नेता तथा कार्यकर्तालाई सचेत गराउनुभयो ।  उहाँले भन्नुभयो, “पार्टीले निर्णय गरिसकेपछि त्यो व्यक्ति हुँदैन, पार्टी हुन्छ, त्यहाँ व्यक्ति हार्दैन, पार्टीले हार्छ । त्यो विषयलाई गम्भीरताका साथ लिन म सबैलाई आग्रह गर्दछु ।”   माओवादी आन्दोलन वा कम्युनिष्टको सार्थक प्रयास नभएको भए सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिक लोकतन्त्र पनि स्थापित हुन नसक्ने तथ्यलाई सबैले आत्मसात् गरेको खण्डमा खासरूपमा पोष्टबहादुर बोगटीप्रति सच्चा सम्मान हुने उहाँको भनाइ छ ।   उहाँले भन्नुभयो, “माओवादी कमजोर भयो वा जनतासँगको सम्बन्ध सुदृढ हुन सकेन भने जनयुद्धबाट प्राप्त भएको परिवर्तन उल्टन सक्छ । गत साल त्यस्तै खालको तितो र नमिठो अवस्थाको अनुभव गर्न पायौँ ।”   वामपन्थी र कम्युनिष्ट पार्टीको एकताबाट समृद्धिको सपना पूरा हुन्छ भन्ने देखेर प्रक्रिया अगाडि बढाइएको भए पनि चरम व्यक्तिवाद र अहङ्कारका कारण त्यो सफल नभएको बरु प्राप्त उपलब्धि विघटनमा पर्ने अवस्था देखिएको अध्यक्ष दाहालको भनाइ छ ।   माओवादीकै जोडबलमा प्रतिनिधिसभाको विघटन तथा प्रतिगमनलाई सफल हुन नदिइएको र परिवर्तनबाट प्राप्त उपलब्धिको रक्षा गर्न सम्भव भएको उहाँको भनाइ छ । “माओवादी कमजोर भयो भनेको दिन परिवर्तनको रक्षा गर्न सकिँदैन । यो पार्टी बलियो हुनुपर्छ र समाजवादको आधार तयार पार्नुपर्छ”, उहाँले भन्नुभयो ।   पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले माओवादी आन्दोलन पुनः एकपटक पुनजागृत भएर आउने सम्भावना रहेको जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचनपछि नेपाली जनताले माओवादीकै हातमा देशको चाबी दिन लागेको अनुभूत भएको उहाँको भनाइ छ ।   कार्यक्रममा दिवङ्गतत नेता बोगटीको व्यक्तित्वका बारेमा नेताहरुले चर्चा गर्दै उहाँबाट सिक्नुपर्ने सादगी व्यवहार र चरित्र अनुकरणीय रहेको बताउनुभएको थियो ।