गण्डकी: वासस्थानको अभावमा प्रकृतिको कुचीकार मानिने गिद्ध सङ्कटमा पर्दै गएको छ । पछिल्ला दशकमा मानवीय अतिक्रमणका कारण पोखरा र आसपासमा रहेका गिद्धका प्रमुख वासस्थान सङ्कटमा पर्दै गएका छन् । पोखरा महानगरपालिका–१५ छिनेडाँडास्थित फोहर विसर्जन स्थल परिवर्तन गरिएपछि थप चुनौती थपिएको छ । पोखरा उपत्यकामा बढ्दो बस्ती विकासको क्रमसँगै विगत दुई दशकयता गिद्धका प्रजाति लोपहुँदै गएका छन् । गिद्धको वासस्थान विशेषतः अग्लो सिमलको रूख नै हो । सिमलका रूखमा उनीहरू बस्ने र गुँड लगाउने गर्दछन् । पोखरा आसपासका क्षेत्रमा बस्तीको विकाससँगै यहाँ रहेका सिमलका रूख काटिने क्रमसँगै उनीहरूको वासस्थान सङ्कटमा परेको छ । पोखरा उपत्यकाका चाउथे, मझेरीपाटन, बिरुवा, गैरीखेतलगायत स्थानमा करिब १५÷१६ वर्ष अघिसम्म ठुलै सङ्ख्यामा गिद्ध पाइने भए पनि अहिले ती ठाउँमा लोप भइसकेका छन् । सिमलका रुख काटिनुका साथै बढ्दो बस्ती र यातायातका साधन एवम् उद्योगबाट निस्कने धुलो धुवाँका कारण गिद्ध सङ्कटमा परेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै छिनेडाँडास्थित फोहर विसर्जन केन्द्रलाई पोखरा– ३२ लामेआहालमा सारिएपछि गिद्ध पुनः सङ्कटमा परेका छन् । फोहर विसर्जन केन्द्र सारिए पनि त्यहाँबाट गिद्ध पूर्णरुपमा वासस्थान छाडेर गई नसकेको पोखरा पक्षी समाजका सचिव हेमन्त ढकालले जानकारी दिनुभयो । १५औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका अवसरमा पोखरा र तनहुँका विभिन्न आठ ठाउँमा गरिएको गिद्ध गणनाका क्रममा पुरानो ल्यान्डफिल साइडमा ४०–५० वटा गिद्ध फेला परेका ढकालले बताउनुभयो । नेपालमा गरिएका विभिन्न अध्ययनले विगत दुई दशकमा गिद्धको सङ्ख्या घट्दै गएको देखाएको छ । वासस्थान सङ्कटमा पर्दै जानुका साथै गाईबस्तुलाई प्रयोग गरिने डाइक्लोफेनेकजस्ता औषधिको प्रयोगका कारण पनि गिद्ध सङ्कटापन्न अवस्थामा पुगेका हुन् । पछिल्लो समयमा गाईबस्तु पाल्ने क्रम पनि अत्यधिक कम हुँदै गएको र मरेपछि विगतमा जस्तै फाल्ने क्रम पनि कम हुँदै जाँदा पनि उनीहरूको आहारामासमेत समस्या आएको देखिन्छ । डाइक्लोफेनेककोे प्रयोग गरी उपचार गराइएका पशु मृत्यु भएपछि उक्त सिनो गिद्धले खाएमा मिर्गौलामा असर भई केही दिनमा नै गिद्ध मर्ने गरेको अध्ययनले देखाएको पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरे बताउनुहुन्छ । औषधि व्यवस्था विभागले डाइक्लोफेनेकलाई २०६३ साल जेठ २३ देखि उत्पादन, प्रयोग र बिक्री वितरणमा प्रतिबन्ध लगाई त्यसको विकल्पमा गिद्धलगायत अरू पक्षी र वन्यजन्तुलाई असर नगर्ने प्रमाणित भएको मेलोक्सिक्याम औषधि बजारमा ल्याएको छ । विश्वमा पाइने २३ प्रजातिका गिद्धमध्ये दक्षिण एसियामा नौ प्रजातिका गिद्ध पाइन्छन् । दक्षिण एसियामा पाइने नौ प्रजाति नेपालमा पनि पाइने र ती सबै प्रजाति पोखरामा पाइने घिमिरेले जानकारी दिनुभयो । सिनो खाएर हैजा, रेबिजजस्ता रोग फैलन नदिन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गिद्धलाई प्रकृतिको कुचीकार भएका कारण यसको संरक्षणमा जागरूकता आवश्यक रहेको देखिएको छ । गिद्ध संरक्षणको उद्देश्यका साथ शुद्ध आहाराका लागि कास्कीको घाचोकमा केही वर्षयता जटायु रेस्टुरेन्ट सञ्चालनमा आए पनि त्यसको प्रभावकारी व्यवस्थापन हुन सकेको छैन । घिमिरेका अनुसार नेपालमा पाइने गिद्धका प्रजातिमध्ये डङ्गर, सुन, सानो खैरो, हिमाली, हाडफोर र सेतो गिद्ध यहाँका रैथाने प्रजातिका हुन् भने लामो ठुँडे, राज र खैरो गिद्ध हिउँदको समयमा आउने गर्दछन् । त्यस्तै हिउँदको समयमा लामो ठुँडे भारतबाट आउँछ भने खैरो गिद्ध मङ्गोलियाबाट आउँछन् । त्यस्तै राज गिद्ध पाकिस्तान र किर्गिस्तानबाट आउने गरेका छन् । पछिल्लो तथ्याङ्क अनुसार नेपालमा पाइने हिमाली गिद्धको सङ्ख्या १० हजार तथा डङ्गोर र सेता गिद्धको सङ्ख्या दुई हजार रहेको छ । त्यस्तै नेपालमा सुन गिद्ध र हाडखोर गिद्ध करिब पाँचरपाँच सयको सङ्ख्यामा रहेको बताइएको छ । नेपालमा पाइने सानो खैरो गिद्धको सङ्ख्या भने ५० देखि ७५ को हाराहारी छ । पोखरा पक्षी समाजले विगत १० वर्षयता प्रत्येक वर्ष पोखरा र आसपासका क्षेत्रमा पाइने गिद्धको गणना गर्दै आएको छ । समाजले पोखराका पाँच ठाउँ घाचोक, पुम्दीभुम्दी, पुरानो एवम् नयाँ ल्यान्डफिल साइड र दोभिल्लामा यसवर्ष पनि गिद्ध गणना गरेको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । समाजले आजै तनहुँका तीन ठाउँ व्यास नगरपालिका–१० स्थित शिशुवाभतेरी, शुक्लागण्डकी नगरपालिकास्थित गौ संरक्षण केन्द्र र दमौलीस्थित ल्याण्डफिल साइडमा गिद्धको गणना गरेको उहाँले बताउनुभयो ।
पोखरा: पोखरामा यही भदौ १६ र १७ गते हुने भनिएको नेपाली कांग्रेसका सातवटै प्रदेशका सभापतिसहितको पदाधिकारीहरुको भेला स्थगित भएको छ । नेपाली कांग्रेसको आगामी मङ्सिर ११, १२ र १३ गते हुने महासमितिको बैठकमा पार्टी सङ्गठनलाई सुधार गर्नका लागि सामूहिक धारणा तय गर्ने गरी भेला आयोजना गरिएको थियो । भेला हालका लागि स्थगित भएको र आगामी कार्यक्रम अर्को सूचना प्रकाशन गरी जानकारी गराइने नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोला (मधु)ले जानकारी दिए । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको व्यवस्थापनमा गर्न लागिएको भेलाको पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम थियो ।
पोखरा: कास्कीमा आयुर्वेदिक उपचारमा आकर्षण बढेको छ । गण्डकी आयुर्वेद औषधालय एवं जिल्लाभित्र सञ्चालनमा आएका नागरिक आरोग्य सेवा केन्द्रमा सेवा लिने बिरामीको सङ्ख्या वर्षेनी बढ्दै गएको गण्डकी आयुर्वेद औषधालय, लेखनाथका प्रमुख डा कुुमार कासुलाले जानकारी दिनुुभयो । जिल्लामा पछिल्ला तीन वर्षमध्ये आव २०७७/७८, २०७८/७९ र २०७९/८० मा क्रमश: १६ हजार ८१, २१ हजार २५४ र २८ हजार नौ सय ४४ बिरामीले बहिरङ्ग सेवाअन्तर्गत आयुुर्वेदिक उपचार सेवा लिएका छन् । यस उपचार सेवाका अतिरिक्त मातृशिशु सुरक्षार्थ पोषण, ज्येष्ठ नागरिक आरोग्य सेवा, विद्यालय आयुर्वेद तथा योग शिक्षा, पञ्चकर्मरपूर्वकर्म, क्षारसुत्र सेवा, प्रयोगशाला सेवा आदिका माध्यमबाट सेवा प्रदान गरिएको उहाँले बताउनुुभयो । अन्य उपचारभन्दा कम खर्चिलो र आयुर्वेदिक औषधिले अन्यभन्दा स्वास्थ्यमा कम असर गर्ने विश्वाससँगै यसतर्फ आकर्षण बढ्दै गएको हो । विशेषगरी ग्याष्ट्रिक, हाड जोर्नी तथा नसाको दुखाइ, पायल्स, रुघा, खोकी ज्वरो लगायतका स्वास्थ्य समस्या लिएर बिरामी आउने गरेको उहाँको भनाइ थियो ।
पोखरा: पोखराका खिम रानामगर गत २ गते शनिबार दिउँसोपख खाना खाए । बिदाको दिन साथीहरुसँग बल्छी बोकेर रुपाताल निस्के । माछाको शिकार नभएपनि घुमघाम हुने भनेर टोली रुपाताल पुगेको थियो । रानामगर बल्छी नजिक बसेर माछा पर्ने दाउ हेर्दै दिए । त्यतीकैमा ठुलो आवाज (बम ब्लास्ट भएजस्तो) आयो । उनी माथीतिर फर्किएर हेरे । रानामगरले माथिल्लो घुम्तीबाट तल्लो बाटोमा खसेको क्रसफायर देखे । ‘तालको डिलमै थियौ एक्कासी ठुलो आवाज आयो बम नै पड्किएजस्तो । त्यसपछि माथी फर्किदा क्रसफायर उडेको देखे । एकैछिनमा रुखमा घस्रदै तल्लो बाटोको नालीमा बजारियो । त्यो रुखमा अड्किएको भए दुइटै बाँच्न सक्थे,’ प्रत्यक्षदर्शी रानामगरले भने । त्यो मोटरसाइकलमा लमजुङको दुधपोखरी गाउँपालिका ६ का २९ वर्षीय कृष्ण गुरुङ र सोही स्थानकै २४ वर्षीय अशोक गुरुङ थिए । उनीहरुको उद्धारपछि उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएपनि करिब ५ बजे दुवैलाई चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरीले पुष्टि गर्याे । अशोक लमजुङको स्थानीय क्लब लालीगँुरास युवा क्ल कलतुङ छापडाडाका अध्यक्षका रुपमा सामाजिक क्रियाकलापमा सक्रिय थिए भने कृष्ण ब्रिगेड गोर्खा एजुकेश्नल एण्ड फिजिकल टे«निङका सञ्चालक थिए । रुपा गाउँपालिका ६ निगालाझाँपामा आज करिब ४ बजे प्रदेश नम्बर ३ –०२–००९ प ५२०५ नम्बरको क्रसफायर मोटरसाइकल दुर्घटना भएको थियो । प्रहरीका अनुसार करिब ९० मिटर माथिबाट तल्लो सडकमा मोटरसाइकल बजारिदाँ दुवैजनाको ज्यान गएको थियो । सोही स्थानमै करिब ६ महिना अघि मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको ज्यान गएको थियो भने अर्का व्यक्ति घाइते भएका थिए । दुर्घटना दोहोरिएपछि रेलिङ निर्माण गर्ने पालिकाको निर्णय एउटै स्थानमा मोटरसाइकल दुर्घटना दोहोरिएपछि रुपा गाउँपालिकाले सवारी सचेतनाका होडिङ बोर्डसहित रेलिङ निर्माण गर्ने निर्णय गरेको छ । रुपा गाउँपालिकाको १ सय ६७ औं बैठकले दुर्घटना भएको स्थान र जोखिमयुक्त क्षेत्रमा रेलिङ निर्माण गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष नवराज ओझाले बताए । उनका अनुसार गत ८ गते भएको कार्यपालिका बैठकले ५ लाख रकम छुट्याएको छ । अध्यक्ष ओझाले दुर्घटना भएको घुम्तीमा रेलिङ निर्माण गर्ने र अन्य जोखिमयुक्त क्षेत्रमा आवश्यक ट्राफिक सचेतनाका बोर्डहरु राख्ने तयारी भइरहेको बताए । ‘त्यो घुम्तीमा करिब ६ महिना अघि पनि मोटरसाइकल दुर्घटना भएको थियो, अहिले फेरि दुखद घटना दोहोरियो त्यसैले हामीले कार्यपालिका बैठकबाट नै निर्णय गरेर ट्राफिक सचेतनासम्बन्धि होडिङ बोर्ड राख्ने र रेलिङ निर्माण गर्ने निर्णय गरिसकेका छौं, अध्यक्ष ओझाले सुनगाभा न्यूजसँग भने, ‘अब केही समयमै प्रकृया पुर्याएर निर्माणको थालनी गर्छौं ।’
पोखराः गण्डकी प्रादेशिक क्रिकेट सङ्घको अध्यक्षमा सञ्जयकान्त सिग्देल सर्वसम्मत चयन भएका छन् । पोखरामा बुधबार राति सम्पन सङ्घको दोस्रो अधिवेशनबाट सिग्देलको अध्यक्षतामा १२ सदस्यीय नयाँ नेतृत्व चयन गरिएको हो । आगामी चार वर्षका लागि अध्यक्षमा चयन हुनुभएका सिग्देल कास्की जिल्ला क्रिकेट सङ्घको समेत अध्यक्ष हुन् । प्रादेशिक क्रिकेट सङ्घको उपाध्यक्षमा प्रकाश पौडेल, सचिवमा सुमनराज कार्की र कोषाध्यक्षमा दिवाकर थापा चयन भएका छन् । यसैगरी सदस्यमा देवेन्द्र प्रजु (कास्की), ऋषिराम गौतम (कास्की), फणीन्द्रबहादुर खड्का (बागलुङ), धामनाथ सापकोटा (नवलपुर), रेशमबहादुर केसी (पर्वत), विद्यादेवी भट्टराई (स्याङजा), भोजराज बराल (कास्की) र सन्तोष शर्मा (बाग्लुङ) रहेका छन्। नवनिर्वाचित अध्यक्ष सिग्देलले पोखरा रङ्गशालाभित्रको क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय मैदानका रुपमा विकास गर्न सरोकार निकायसँग पहल गर्ने प्रतिबद्धता जनाए। उनले प्रदेश सरकार तथा महानगरसँग मिलेर क्रिकेटका पूर्वाधार निर्माण आफ्नो प्राथमिकता रहेको बताए । अध्यक्ष सिग्देलले भने, ‘पोखरालाई काठमाडौँपछिको सौन्दर्यकै हिसाबले पनि अन्तर्राष्ट्रिय क्रिकेट भेन्यु बनाउन नेपाल क्रिकेट सङ्घले समेत प्रतिबद्धता जाहेर गरेको छ । यहाँ हामी पनि सबैसँग समन्वय गरेर सुविधासम्पन्न पूर्वाधार निर्माणका लागि काम गर्छौं ।’ पोखरा रङ्गशालाभित्रको क्रिकेट मैदानसँगै अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्न आवश्यक वैकल्पिक मैदान नहुँदा पोखरामा ठूला प्रतियोगिता हुन सकेका छैनन् । गण्डकी प्रदेश सरकारले पोखरा(३३ मा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने निर्णय गरेपनि कार्यान्वयनमा आउन सकेको छैन । चालु आवमा प्रदेश सरकारले प्रादेशिक क्रिकेट मैदान बनाउन रु ४० लाख बजेट छुट्टाएको छ । बजेट सम्भावित जग्गाको खोजी कार्य गरी पहिचान गरेर बनाउन प्रादेशिक क्रिकेट सङ्घ गण्डकीले दबाब दिने नवनिर्वाचित अध्यक्ष सिग्देलले बताए। यसअघि अधिवेशनको उद्घाटन गर्दै नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले पोखराको क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय भेन्यु बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उनले भने, ‘नेपालले यु–१९ महिला विश्वकप आयोजना गर्दैछ । अबको तीन वर्षभित्रमा पोखरालाई काठमाडौँपछिको अन्तर्राष्ट्रिय भेन्यु बनाउन चाहन्छौँ ।’ अध्यक्ष चन्दले पोखरा रङ्गशालाको क्रिकेट मैदानमा आवश्यक पूर्वाधार निर्माणमा जोड दिए ।
पोखरा: नेपाल आदिवासी जनजाति संघर्ष समिति गण्डकी प्रदेशले आवश्यक ऐन कानून बनाएर गुरुङ, मगर र थारु थाषालाई सरकारी कामकाजको भाषा घोषणा गर्न माग गरेको छ । नेपाल आदिवासी जनजाति संघर्ष समितिले आज (मंगलबार) पोखरामा पत्रकार सम्मेलन गदैैे गण्डकी प्रदेशमा गुरुङ र मगर दक्षिणी भेगमा थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गरेको हो । गोपाल ठाकुरको संयोजकत्वमा गठिट भाषा आयोगले गण्डकीमा गुरुङ, मगर र थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन सिफारिस गरेको थियो । संविधानको धारा ७ को उपधारा २ मा नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेश भित्र बहुसंख्यक जनताले बोल्ने एक वा एक भन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानून बमोजिम सरकारी भाषामा निर्धारण गर्न सक्ने व्यवस्था भएकाले कार्यान्वयन गर्न माग गरेको आदिवासी जनजाति संघर्ष समिति गण्डकी प्रदेशका संयोजक धर्मबहादुर गुरुङ बताए । यस्तै समितिले नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो मातृभाषामा शिक्षा पाउने हक भएकाले मातृभाषा पठनपाठनको व्यवस्था गर्न र प्रदेशमा भाषा आयोगको शाखा स्थापना गर्न समेत माग गरेको छ । समितिले थाकथलो, गाउँवस्तीको नाम पुनः मौलिक मातृभाषामा नामाकृत गर्न, मातृभाषा, साहित्य, कला, संस्कृति संरक्षण, सम्बद्र्धन, खोज अनुसन्धान, विकासलागि सबै पालिकामा प्रज्ञा प्रतिष्ठान गठन गर्न समेत माग गरेको हो । समितिले प्रथम शहिद लखन थापा मगरलाई अपमानित हुने गरी कुनै गतिविधि नगर्न समेत आग्रह गरेको छ । आदिवासी जनजाति समुदायलाई अपमानित गर्ने, सामिाजक सद्भाव खलल गर्ने खोजेको भन्दै भगवती पाण्डेलाई कारवाही गर्न समेत माग गरेको छ । यस्तै भदौ १३ गते पोखरामा आदिवासी जनजाति आन्दोलन र अधिकार विषयक अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरेको छ । कार्यक्रममा अधिकारवादी एवम् राजनीतिक विश्लेषकहरु खगेन्द्र संग्रौला र डम्वर खतिवडा, कानूनविद एवम् अधिकारकर्मी वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगर वक्ता रहने जानकारी दिएको छ ।
पोखरा: पशुमा महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगले गण्डकी प्रदेशमा ७९ हजार नौ सय ८७ चार गाई, गोरु र भैँसी प्रभावित भएका छन् । यस रोगबाट २२ हजार चार सय ९४ पशुचौपाया निको भएका छन् । लम्पी स्किनबाट प्रदेशमा चार हजार पाँच सय ५४ पशुचौपाया मरेका छन् । गण्डकी प्रदेश कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जोशीले प्रदेशसभा सदस्य भीमबहादुर कार्कीद्वारा दर्ता गरिएको लम्पी स्किन भाइरसविरुद्ध सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफमा उक्त जानकारी दिनुभएको हो । प्रदेशमा लम्पी स्किन रोगबाट पाँच दशमलव ६९ प्रतिशत चौपाया मरेको बताउँदै उहाँले यसको रोकथामको लागि तीनै तहका सरकार र व्यक्तिगत गरी कुल एक लाख १० हजार चार सय ४९ पशुलाई खोप दिइएको बताउनुभयो । सबैभन्दा बढी गाई र गोरुमा सङ्क्रमण देखिएको उल्लेख गर्दै मन्त्री जोशीले भन्नुभयो, “लम्पी स्किनबाट प्रदेशमा मर्नेमा ९५ प्रतिशत गाई गोरु र पाँच प्रतिशत भैँसी छन् । हिमाली भेगमा चौंरीमा समेत उक्त रोगको सङ्क्रमण देखिएको छ ।” गण्डकी प्रदेशको ८५ स्थानीय तहमध्ये ८२ वटा पालिकामा यो रोगको सङ्क्रमण फैलिएको छ । उहाँले सीमित स्रोत साधन तथा जनशक्तिको अभावमा पनि प्रदेश सरकार यस रोगप्रति संवेदनशील रहेको देखिएको स्पष्ट पार्नुभयो । मुस्ताङको लोमान्थाङ, लो घेकर दामोदर कुण्ड र मनाङ जिल्लाको नापाभूमि गाउँपालिकामा भने लम्पी स्किन रोग देखिएको छैन । पशुमा उच्च ज्वरो आउने, घाँटी, पेट र पछाडिको भागमा गिर्खा, जोर्नी र खुरु सुनिने तथा निको भएपछि पनि बाजो पन देखिने यो रोगले दीर्घकालसम्म पनि कृषि क्षेत्रमा ठूलो क्षति हुने यो रोगको रोगथाम स्थानीय तहको महत्वपूर्ण भूमिका रहने बताउँदै उहाँले पशु बीमा दाबी भुक्तानीका लागि सम्बन्धित बीमा कम्पनीलाई निर्देशन दिएको जानकारी दिनुभयो । प्रदेशसभामा पहिलोपटक सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउँदै प्रदेशसभा सदस्य भीमबहादुर कार्कीले लम्पी स्किन रोगको कारण कृषकको जीवनस्तर कष्टकर बनेको उल्लेख गर्दै उचित राहत उपलब्ध गराएर प्रदेश सरकारप्रति जनताको आशा जगाउनुपर्नेमा जोड दिनुभयो । प्रदेशसभा सदस्य राजकुमारी भुजेल प्रस्तावक र बिन्दु पौडेल समर्थक रहनुभएको उक्त सार्वजनिक प्रस्तावमा रेखा गुरुङ, फणेन्द्र देवकोटा, डिल्लीराम सुवेदी, भक्तबहादुर कुवर, सरस्वती गुरुङ, कृष्णप्रसाद पाठक, कल्पना तिवारीलगायतले दुहुना गाई भैँसी र जोत्ने गोरु खाल्टोमा पुर्न बाध्य कृषकको घाउमा मलम लगाएर उनीहरुलाई आशावादी बनाउन प्रदेश सरकारले तत्काल राहतका योजना ल्याउनुपर्नेमा जोड दिनुभएको थियो ।
पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन कसरत गर्ने बताएका छन् । गण्डकी प्रदेशको चौथो अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारको क्षमताले सक्ने गरी कृृषि क्षेत्रमा आत्मनिर्भर बनाउने बताएका हुन् । ‘ठुलाठुला उद्योगहरु सञ्चालन गर्ने, रोजगारीको अवसर सिर्जना गर्ने चाहना सबैको छ, प्रदेशबाट केही न केही वस्तुहरु निर्यात गर्ने चाहना छ’, मुख्यमन्त्री पाण्डेले भने, ‘प्रदेश सरकारको क्षमता अनुसार कृषि क्षेत्रमा आत्मनिर्भर बनाउछौं, ।’ प्रदेशलाई कृषि खेतीमा आत्मनिर्भर बनाउन आवश्यक बजेट बिनियोजित गरेको बताए । ‘प्रदेश सरकारले नगदेबाली, फलफुल खेती, हिउँदे खेती र चैते धान, आलु खेती लगायत क्षेत्रमा उत्पादन बढाउन पकेट क्षेत्र घोषणा गर्दैछौं’, उनले भने, ‘ती पकेट क्षेत्रमा ठुला ठुला सामुहिक फार्म बढाउन प्रदेश सरकारले त्यसमा ध्यान दिएको छ ।’ उत्पादनको मात्रा हेरेर मात्र अब प्रदेश सरकारले अनुदानको व्यवस्था गर्ने मुख्यमन्त्री पाण्डेको दाबी छ । ‘हिजो हामीले विवरण गरेको अनुदानबाट प्रतिफल प्राप्त गर्न सक्यौ कि सकेनौं त्यसलाई आधार मान्दै अब प्रदेश सरकारले उत्पादनको मात्रा हेरेर मात्र अनुदान दिने व्यवस्था गछौं’, उनले भने, ‘स्थानीय सरकारसँगको समन्वयमा कृषि पकेट क्षेत्रमा अुनदानमा सहजीकरण र उत्पादनको बजारीकरणको लागि हामीले सहजीकरण गर्छौं।’ प्रदेश सरकारले स्मार्ट कृषि प्रणाली लागू गरेकाले कृषि सम्बन्धि उद्योग धन्दा सञ्चालक र कृषिबीच यसले पुलको काम गर्ने बताए । ‘स्मार्ट कृषि प्रणालीमा कृषकले उत्पादन गरेका वस्तुहरुको बजारीकरणको लागि कुनै समस्या नहोस् भनेर यो व्यवस्था लागु गर्दै छौं’, उनले भने, ‘हामीले कति दिन्छ अहिले भन्न सक्दैनौ तर अहिले यस क्षेत्रमा खायन र चिप्स आलुलाई प्राथमिकता दिएका छौं ।’

