पोखरा:   गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२०८३ को लागि ३१ अर्ब ५७ करोड ९९ लाख रुपैयाँ छुट्याएको छ।   गण्डकी प्रदेशसभामा अर्थमन्त्री टकराज गुरुङले आइतबार आगामी वर्षको आय–व्यय विवर...

गण्डकी:     पोखराका ट्याक्सी चालक मिटरमा हिँड्न तयार भएका छन् । गण्डकी प्रदेश सरकारले दुई वर्षअघि समायोजन गरेको भाडादरअनुसार ट्याक्सी मिटरमा गुड्ने भएका हुन् ।  भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयद्वारा आज यहाँ आयोजित अन्तर्क्रिया कार्यक्रममा ट्याक्सी चालकले पोखरा उपत्यकाभित्र मिटरमा हिँड्ने प्रतिबद्धता जनाएका हुन् । विसं २०७८ फागुन १ देखि लागू हुनेगरी प्रदेश सरकारले भाडादर समायोजन गरे पनि यहाँका ट्याक्सी मिटरमा चलेका थिएनन् । ट्याक्सीले मनपरी भाडा लिने गरेको जनगुनासो आउन थालेपछि मन्त्रालयले चालकलाई मिटर प्रणालीमा गुड्न सहमत गराएको हो ।  प्रदेशका यातायातमन्त्री रेशमबहादुर जुग्जालीसहित सरोकारवाला पक्षसँगको अन्तर्क्रियामा पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष प्रकाशमणि तिवारीले आफूहरु मिटरमा हिँड्न तयार रहेको बताउनुभयो ।  “विगतमा भएका सहमति पालना गर्न हामी तयार छौँ । ट्याक्सी व्यवसायीको मर्का पनि सरकारले बुझिदिनुपर्‍यो”, उहाँले भन्नुभयो, “महँगीका आधारमा भाडादर समायोजन हुनुपर्छ, स्वचालित भाडादर कायम हुनुपर्छ ।” ट्याक्सी व्यवसायीलाई मात्र दोष थोपर्ने गरिएको भन्दै इन्धनको मूल्यमा आइरहने उतारचढाव, बढ्दो महँगीले मिटर प्रणालीमा आउने समस्यालगायत विषयमा सरकार गम्भीर बन्नुपर्नेमा अध्यक्ष तिवारीले जोड दिनुभयो । “इन्धनको भाउ घटबढ हुँदा स्वचालितरुपमा भाडादर कायम गर्ने, पटकेलगायत यातायातका सेवालाई अनलाइन प्रणालीमा लैजान सके व्यवसायीलाई राहत पुग्छ”, उहाँले भन्नुभयो, “एउटा प्रयोजनका लागि दर्ता भएका सवारीसाधन अर्कै काममा प्रयोग भइरहेका छन् । यसलाई कडाइका साथ रोक्नुपर्छ ।” द्युई वर्षअघि समायोजन गरिएको भाडादरअनुसार १५ किमीको यात्रामा चढ्नासाथ (फ्ल्याग डाउन) रू ८० र त्यसपछि प्रतिदुई सय मिटरको रू १० तोकिएको छ । १५ किमीभन्दा बढीको दूरीमा प्रतिकिमी रू ३७.५० कायम गरिएको थियो ।  मन्त्रालयको प्रशासन तथा यातायात व्यवस्थापन महाशाखाका प्रमुख टीकाराम पौडेलले विगतमा गरिएका प्रतिबद्धतालाई ट्याक्सी व्यवसायीले लागू गर्नुपर्ने बताउनुभयो । “एक हप्ताभित्रमा पोखरा उपत्यकामा गुड्ने ट्याक्सी मिटरमा गुड्छन्, मिटर प्रणालीमा नचलेको पाइएमा कारबाही हुन्छ, ट्राफिक प्रहरीले नियमित अनुगमन गर्छ, मन्त्रालयबाट पनि यसको नियमन गर्छौं”, उहाँले भन्नुभयो, “ट्याक्सी मिटरमा नहिँड्दा यात्रु ठगिइरहेको गुनासो आइरहेको छ, मनलाग्दी भाडा लिने प्रवृत्तिको अन्त्य हुनुपर्छ ।”  प्रदेश सरकार र ट्याक्सी व्यवसायीबीच भाडा समायोजनलगायत विषयमा भएका कतिपय समझदारी अझै कार्यान्वयन हुन नसकेको महाशाखा प्रमुख पौडेलले बताउनुभयो । “उक्त प्रतिबद्धतापत्रमा भाडा तिरेको बिल दिनुपर्ने, ट्याक्सीमा जिपीएस जडान गर्नुपर्ने, चालकको छुट्टै पोसाक हुनुपर्नेलगायत उल्लेख छ”, उहाँले भन्नुभयो, “यी कुनै पनि शर्त ट्याक्सीले व्यवसायीले लागू गर्न सकेका छैनन् ।” यातायातमन्त्री जुग्जालीले ट्याक्सीलाई तुरुन्त मिटर प्रणालीमार्फत चलाउन यातायात व्यवसायीसमक्ष आग्रह गर्नुभयो । “विगतका समझदारी पालना गर्नुस्, मिटरमा नचल्ने ट्याक्सी चालकलाई अब हामी कारबाही गर्छौं”, उहाँले भन्नुभयो, “स्वचालित भाडादर पनि लागू हुन्छ, व्यवसायीलाई मर्का पर्ने देखिएमा पुनःभाडा समायोजन गर्न सकिन्छ ।” मन्त्री जुग्जालीले ट्याक्सी व्यवसायमा देखिएको ‘रुटपरमिट’को समस्या हल गर्न मन्त्रालयले गृहकार्य गरिरहेको बताउनुभयो ।  दुई जिल्लाको मात्र रुटपरमिट हुँदा प्रदेशभित्रै एक ठाउँबाट अर्का ठाउँमा जाँदा पटके तिर्नुपर्नेलगायत झन्झट व्यहोर्न ट्याक्सी चालक बाध्य भएका गोरखा मनकामना यातायात सेवा प्रालिका अध्यक्ष सुरेन लामिछानेले बताउनुभयो । सरकारले प्रदेशभित्र एउटै परमिट लागू गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  “गोरखाबाट पोखरा आउँदा पनि पटके काट्नुपर्ने, कर तिर्नुपर्ने बाध्यता छ, यसको अन्त्यका लागि प्रदेशका सबै जिल्लामा निर्बाध चल्नु पाउने गरी रुट परमिट दिनुपर्छ”, उहाँले भन्नुभयो, “समथर ठाउँ र सहरी क्षेत्रमा जस्तो पहाडी जिल्लामा मिटरमा ट्याक्सी चलाउन सम्भव नभए पनि वैज्ञानिक भाडादर कायम गर्न हामी तयार छौँ ।” 

गण्डकी:      गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले एम्बुलेन्स सेवाका लागि हटलाइन नम्बर सञ्चालनमा ल्याएको छ । पैसा नलाग्ने नम्बर १०२ मा फोन गरेर जो–कोहीले सजिलै एम्बुलेन्स सेवा प्राप्त गर्न सक्नेछन् ।  प्रदेश स्वास्थ्यमन्त्री सुशीला सिम्खडाले एम्बुलेन्स परिचालन तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन मन्त्रालयमा स्थापित प्रेषण केन्द्रबाट मङ्गलबार सो सेवाको शुभारम्भ गर्नुभयो । सो अवसरमा उहाँले प्रदेशभरिका नागरिकले एम्बुलेन्स प्रेषण केन्द्रबाट लाभ लिने बताउनुभयो ।  नेपाल सरकारले ल्याएको राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ बमोजिम गण्डकी प्रदेशमा पनि एम्बुलेन्स सेवालाई व्यवस्थित गर्न सुरु गरिएको मन्त्रालयका उपसचिव उदयबहादुर पराजुलीले बताउनुभयो । प्रदेशभित्र सञ्चालित सबै एम्बुलेन्सलाई क्रमशः जिपीएस प्रणालीमा जोडेर एकद्वार सेवामा आबद्ध गरिने उहाँको भनाइ छ ।  “प्रेषण केन्द्र सञ्चालनमा आइसकेको छ, जुनसुकै बेला एम्बुलेन्स चाहिएमा १०२ मा फोन गरेर सेवा लिन सकिन्छ”, उहाँले भन्नुभयो, “प्रेषण केन्द्रमा भएका कर्मचारीले बिरामी र एम्बुलेन्स चालकबीच सहजीकरण गर्छन्, एकैछिनमा बिरामी भएकै ठाउँमा एम्बुलेन्स पुग्छ ।” बिरामीले फोन गरेर आफ्नो नाम र ठेगाना बताएपछि जिपीएसबाट हेरेर त्यस क्षेत्र नजिकमा रहेको एम्बुलेन्सलाई बिरामी भएको ठाउँसम्म पठाउने प्रबन्ध प्रेषण केन्द्रबाट हुने मन्त्रालयले जनाएको छ । प्रदेशभित्र हाल सञ्चालनमा रहेका एक सय २२ एम्बुलेन्समध्ये ३८ एम्बुलेन्समा मात्र जिपीएस जडान गरिएको छ ।  अहिले प्रदेशमा ‘क’ र ‘ख’ गरी दुई वर्गका बाँडेर एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । ‘क’ वर्गको एम्बुलेन्समा आइसीयू र ‘ख’ मा तालिमप्राप्त स्वास्थ्यकर्मीसहितको सेवा उपलब्ध छ । उपसचिव पराजुलीले जिपीएससहितको हटलाइन सेवाले एम्बुलेन्स परिचालनलाई व्यवस्थित र पारदर्शी बनाउने बताउनुभयो ।  “एम्बुलेन्सको भाडामा कसैले मनलाग्दी गर्न पनि मिल्दैन, सबै काम एकीकृत प्रणालीबाट हुन्छ, यसबाट नागरिकलाई पनि सहज र छिटो सेवा पुग्छ”, उहाँले भन्नुभयो, “अस्पताल जान एम्बुलेन्स नपाउने, समयमा नआउने अवस्थाको अन्त्यका लागि यो सेवा सञ्चालनमा ल्याइएको हो ।” प्रेषण केन्द्रमा थप जनशक्ति प्रबन्ध गरेर हटलाइन सेवालाई व्यवस्थित गर्दै लगिने मन्त्रालयले जनाएको छ । यो सेवालाई जिल्ला तहमा पनि विस्तार गर्ने योजना प्रदेश सरकारको छ । 

पोखरा:   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक सय दिनको अवधीमा गरेको एक सय दिनको काम सार्वजनिक गरेका छन् ।   मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले गरेको एकसय दिनको काम सार्वजनिक गर्दै प्रदेशको नीति कार्यक्रम, बजेट, जनताको जनजिविका र प्रदेशको अधिकारका सवालमा केन्द्रित भएको बताए ।  २०८० बैशाख १५ गते मुख्यमन्त्री पाण्डे नेतृत्वमा गठन भएको गण्डकी प्रदेश सरकारले शनिवार सय दिन पुरा गरेको छ । सय दिनको अवधीमा सरकारले गरेका काम सार्वजनीक गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।  पत्रकार सम्मेलनमा मुख्यमन्त्री पाण्डेले भने ‘सरकारले सय दिनमा गरेको मुख्य काम आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट पनि हो ।’ उनले जनताको जनजिविकाको सबालमा केन्द्रित रहेर सरकारले स्वास्थ्य, खानेपानी, सार्वजनीक सेवा (यातायात), कृषि लगायत क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको बताए ।  पत्रकार सम्मेलनमा मुख्यमन्त्री पाण्डेले प्रदेशको हक अधिकार र भोग्नुपरेको समस्याका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आथित्यतामा २०८० असार १५ गते अन्तर प्रदेश मुख्यमन्त्री बैठक सम्पन्न गरी संघीयतालाई सवलीकरण गर्न १७ बुँदै साझा धारणा जारी गर्नु अर्को महत्वपूर्ण उपलब्धी भएको बताए । साथै असार १६ गते प्रधानमन्त्रीको अध्यक्षतामा गण्डकी प्रदेश सरकारको ब्यवस्थापनमा पोखरामा नै राष्ट्रिय समन्वय परिषद् बैठक सम्पन भएको थियो ।    हेर्नुहोस् (पूर्णपाठ)  

मनाङ:     मनाङमा याक र चौँरीलाई ‘लम्पी स्किन’ विरुद्धको खोप लगाउन थालिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङका प्रमुख नारायण कुसुमले हिमाली जिल्लामा पहिलो पटक असार २४ गते पशुमा सङ्क्रमण देखिएपछि खोप लगाउन थालिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “सबै स्थानमा फैलिएको ‘लम्पी स्किन’ यहाँ पनि देखिएपछि सुरक्षित गराउन खोप आएको छ, लगाइरहेका छौँ।”  उहाँले हालसम्म २३६ गाई, गोरु, याक र चौँरीलाई खोप लगाइएको जानकारी दिनुभयो। यहाँका ८९ गाई, ९६ गोरु र ५१ याक, नाक ९झोपा० र चौँरीलाई ‘लम्पी स्किन’ विरुद्धको खोप लगाएको र अझै खोप लगाउने कार्य जारी रहेको उहाँले बताउनुभयो। यहाँका पशुलाई लगाउन ‘लम्पी स्किन’ विरुद्धको दुई हजार डोज खोप भेटेरिनरी अस्पतालले ल्याइसकेको छ।  नासो गाउँपालिकामा ३६, चामे गाउँपालिकामा ९६ र मनाङ ङिस्याङ गाउँपालिकाका ११४ पशुमा खोप लगाइसकिएको छ। नार्पाभूमि गाउँपालिकाबाहेक अन्य पालिकामा सङ्क्रमण फैलिएकाले यहाँका पुशलाई खोप लगाइएको हो।  चामे–२ स्थित थानचोक, मनाङ ङिस्याङको हुम्डेस्थित क्युपार र नासो–२ को नाचे आलुबारीका पशुमा सङ्क्रमण देखिएको छ।  किसानको गोठमै पुगेर पशु प्राविधिकले ‘लम्पी स्किन’ नियन्त्रणका लागि खोप लगाइएको कुसुमले जानकारी दिनुभयो। उहाँका अनुसार भेटेरिनरी अस्पतालको समन्वयमा रोग नियन्त्रणका लागि स्थानीय तहले पशु प्राविधिकलाई खटाएको छ। किसानलाई पशुमा ‘लम्पी स्किन’ देखिनासाथ सगोलमा रहेका पशुलाई छुट्याएर राख्न सुझाव दिएको उहाँले बताउनुभयो।  पशुलाई टोक्ने लामखुट्टे, झिँगाबाट जोगाउन किसानलाई सचेतना जगाउने काम पनि भएको छ। प्रमुख कुसुमले भन्नुभयो, “मनाङमा विशेष गरी चौँरीपालन हुने गरेकाले पशुमा क्षति नपुगोस् भनेर ‘लम्पी स्किन’ विरुद्धको खोप लगाइरहेका छौँ।” यसको नियन्त्रणका लागि भेटेरिनरी अस्पतालले खोपको व्यवस्थापन गरेको छ। ‘लम्पी स्किन’ नियन्त्रण गर्न खोप र अन्य आवश्यक सामग्री भेटेरिनरी अस्पतालमा ल्याइएको छ।    

पोखरा:  गण्डकी प्रदेशका ११ जिल्लामा गत आर्थिक वर्ष २०७९/०८० मा कुल १ सय ७९ वटा जबरजस्ती करणी कसुरमा मुद्धा दर्ता भएको छ ।    गण्डकी प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार गण्डकीका १० जिल्ला प्रहरी कार्यालयमा जबरजस्ती करणी कसुरमा १ सय ७९ वटा मुद्धा दर्ता भएको छ । तर मनाङ जिल्लामा भने शून्य देखिएको छ ।    प्रदेश प्रहरीका प्रहरी उपरीक्षक खड्क बहादुर खत्रीले मनाङमा महिला तथा बालबालिका सम्बन्धि कुनै पनि मुद्धा दर्ता नभएको पुष्टि गरे ।    उनका अनुसार कास्कीमा ४८, नवलपुरमा ११, स्याङ्जामा २२, तनहुँमा २४, गोरखामा २०, लमजुङमा ७, बागलुङमा २७, पर्वतमा १०, म्याग्दीमा ७ र मुस्ताङमा ३ जना विरुद्ध  जबरजस्ती करणी कसुरमा मुद्धा दर्ता भएको छ ।     यस्तै जबरजस्ती करणीसहित उद्योगतर्फ कास्कीमा ५, नवलपुरमा ५, स्याङ्जामा २, तनहुँमा ३, गोरखामा ३, लमजुङमा ७, बागलुङमा ८, पर्वतमा १ र म्याग्दीमा १ जना विरुद्ध मुद्धा दर्ता एसपी खत्रीले जानकारी दिए  ।    उनका अनुसार बहुबिवाह कसुरमा नवलपुरमा ७, कास्कीमा ९, स्याङ्जामा ११, तनहुँमा ५, गोरखामा ५, लमजुङमा १, बागलुङमा ८, पर्वतमा ४, म्याग्दीमा १ जना विरुद्ध मुद्धा दर्ता भएको छ  भने स्याङ्जामा १ जना विरुद्ध बालबिबाह कसुरमा मुद्धा दर्ता भएको छ ।    यस्तै मानब बेचबिखन तथा ओसारपोसार कसुरमा कास्की र तनहुँमा ३÷३ जना विरुद्ध मुद्धा दर्ता भएको  गण्डकी प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।   एसपी खत्रीका अनुसार बालयौन दुरुपयोगतर्फ नवपुरमा ३, कास्कीमा १४, स्याङ्जामा २, तनहुँमा ३, गोरखामा २, लमजुङमा ४, बागलुङमा २, पर्वतमा ६, म्याग्दीमा २ जना विरुद्ध मुद्धा दर्ता भएको छ ।    यस्तै अपाकृतिक मैथुन कसुरमा कास्कीमा १, बागलुङमा ३ र म्याग्दीमा १ जना विरुद्ध मुद्धा दर्ता भएको छ । यस्तै बोक्सीको आरोप लगाएको कसुरमा तनहुँमा १ जना विरुद्ध मुद्धा दर्ता भएको छ भने  बालबालिका सम्बन्धी ऐन सम्बन्धी कास्कीमा ४ जना विरुद्ध मुद्धा दर्ता भएको छ ।    गण्डकी प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा महिला तथा बालबालिका सम्बन्धि गण्डकी प्रदेशमा कुल ३ सय २१ वटा मुद्धा दर्ता भएको छ ।     

पोखरा:  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले  विभिन्न कार्यक्रमसहित स्थापना दिवस मनाउने भएको  छ ।   २४ औं स्थापना दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम, मैत्रीपूर्ण फुटसल प्रतियोगिता र पुरस्कार वितरण कार्यक्रम गरी भव्यताकासाथ स्थापना दिवस मनाउने तयारीमा रहेको फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीसमगरले जानकारी दिए ।   उनका अनुसार आगामी २३ गते आदिवासी जनजाति संगठनका अगुवाहरुको उपस्थितिमा पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना हुनेछ ।   यस्तै २५ गते शुक्रबार पोखरामा क्रियाशिल पत्रकारहरुबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरिने प्रतियोगिता संयोजक प्रविण थापामगरले बताए ।   ‘आपसी भाइचारा मजबुद बनाउने उद्देश्यसहित २४ औं स्थापना दिवसको अवसरमा पोखरामा क्रियाशिल पत्रकारहरुबीच मैत्रीपूर्ण फुटसलको आयोजना गरेका छौं, उनले भने, ‘आयोजक फोनिजको पुरुष र महिला, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पुरुष टिम र नेपाल पत्रकार महासंघ कास्कीको महिला टिम गरी ४ टिमको सहभागिता रहनेछ ।’   संयोजक थापामगरले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।    त्यस्तै २७ गते पोखरा २५ स्थित सुइखेत रिभर भ्याली रिसोर्टमा स्थापना दिवसको अवसरमा ‘कञ्चन पत्रकारिता पुरस्कार –२०८०’ अर्पण गरिनेछ ।    यस वर्षको उक्त पत्रकारिता पुरस्कार कास्कीबाट हुम बहादुर तमु र मुस्ताङका सुन्दर कुमार थकालीलाई अर्पण गरिनेछ ।   फोनिज गण्डकीले सञ्चालन गर्दै आएको सो पुरस्कार पोखराका प्रतिष्ठित व्यवसायी विमलमान गुभाजु र उनका परिवारले आफ्ना स्व. बावुआमा वेदमान गुभाजु र नेत्रकुमारी गुभाजुको स्मृतिमा यो पुरस्कार स्थापना गरेका हुन् ।   गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाई क्रियाशील २ पत्रकारलाई हरेक वर्ष यो पुरस्कार प्रदान गरिँदै आएको छ ।  

कास्की:  के तपाईँ घुमफिरका लागि पोखरा आउँदै हुनुहुन्छ? त्यसो हो भने ल्वाङ गाउँ घुम्न नछुटाउनुहोला।   ​ लाग्छ ल्वाङ गाउँ घुम्न कुनै याम पर्खनुपर्दैन। हरेक ऋतुकालमा यस गाउँ भिन्न विशेषतामा खुल्छ।   प्रकृति र संस्कृतिको अनुपम थलो हो, ल्वाङ गाउँ। पहिलोपल्ट यो गाउँमा पाइला राख्दा जो–कोहीको मन फुरुङ्ग हुन्छ। सहरको कोलाहलबाट उम्केर छिनभरमै पुग्न सकिन्छ, ल्वाङ गाउँ। ग्रामीण पर्यटनको केन्द्र ल्वाङ गाउँ आफैँमा चित्ताकर्षक छ।   पोखरासँग जोडिएको माछापुच्छ्रे गाउँपालिका–८ स्थित यो गाउँ सहरछेउको लोकप्रिय गन्तव्य हो। गुजुमुज्ज गुरुङ बस्ती। सेतो र गेरु रङ पोतिएका एकनासे घर। ढुङ्गाकै छाना, आँगन र बाटो। वास्तुकला झल्काउने झ्यालढोका। स–साना गल्ली, गल्छेँडा र तगारा। ल्वाङ गाउँका आकर्षण हुन् यी।   गाउँले परिवेश, रहनसहन, रैथाने खाना र आतिथ्य संस्कारले पनि ल्वाङ गाउँ पुग्ने पर्यटकलाई लोभ्याउँछ। व्यस्त दैनिकी छलेर त्यहाँ पुग्नेले तनाव भुल्छन्। प्रकृतिमा नजर अडाउँछन् र मन शान्त पार्छन्। विसं २०६७ मा घरबास (होमस्टे) सञ्चालनमा आएपछि सो गाउँले पर्यटनमा फड्को मारेको हो।     सुरुमा गाउँका अगुवा महिला मिलेर सात घरबाट सुरु गरेको घरबास अहिले २६ घरमा विस्तारित छ। एकै रातमा चार सयसम्म पाहुना राख्ने क्षमता घरबासमा छ। पर्यटकीय याममा त दिनमै छ सयसम्म पर्यटक बसेको अनुभव ​घरबास सञ्चालकसँग छ।   प्रकृतिमा रमाउन र घरबासको आनन्द लिन पर्यटकले ल्वाङ गाउँलाई रोज्ने गरेको ल्वाङ सामुदायिक घरबास व्यवस्थापन समितिका अध्यक्ष मञ्जु गुरुङले बताइन्।   ‘यहाँ मुख्य गरी आउने भनेको आन्तरिक पर्यटक नै हो, कोभिडपछि विदेशी पाहुनाको सङ्ख्या केही घटेको छ,’ उनले भनिन्, ‘पोखराबाट नजिकको दूरीमा भएकाले पनि आउजाउ सहज छ, घुमफिरका लागि जुनसुकै मौसममा ल्वाङ गाउँ उपयुक्त छ।’   हिउँदमा दन्तेलहरझैँ देखिने हिमशृङ्खला र वर्षात्मा झरी र बादलको लुकामारीले ल्वाङ गाउँको सौन्दर्य उसैगरी खुल्छ।   समुद्री सतहदेखि चौध सय मिटरको उचाइमा अवस्थित यो गाउँबाट माछापुछ्रे अन्नपूर्णलगायत हिमाली चुचुरोमा देखिने सूर्योदयको दृश्य लोभलाग्दो हुन्छ। अध्यक्ष गुरुङले गुरुङ संस्कृतिको अध्ययन, अनुसन्धानका लागि देशी–विदेशी अध्यताहरूसमेत ल्वाङ गाउँ आउने गरेको जानकारी दिइन्।     ‘बाहिरबाट आउने पाहुनालाई गुरुङ संस्कृति र संस्कार देखाउँछौँ, हाम्रो रैथाने खानाको स्वाद चखाउँछौँ,’ उनले भनिन्, ‘कसैले इच्छा गर्नुभयो भने करेसाबारीमा लगेर खेती गर्ने तरिका सिकाउने, भान्छाको परिकार बनाउने विधि पनि सिकाउने गर्छौँ।’   निगालोबाट बन्ने डोको, सेखुजस्ता घरेलु उत्पादनका सामग्री पनि पर्यटकलाई चिनाउने गरिएको उनको भनाइ छ।   घरबासको भान्छामा गाउँमै उत्पादन हुने अन्न र तरकारीबालीको प्रयोग गर्ने गरिएको घरबास सञ्चालक माया गुरुङले बताइन्। ‘वर्षात्का बेला टुसा, निउरोको परिकार बन्छ, गुन्द्रक त सँधै हुन्छ,’ उनले भनिन्, ‘यहीँको मकै, कोदो, जौँबाट बन्ने परिकार पाहुनालाई खुवाउँछौँ।’   मासुजन्य परिकारका लागि स्थानीय कुखुराको बढी प्रयोग हुन्छ। पेय पदार्थमा पनि घरेलु उत्पादनलाई नै पाहुनाले बढी रुचाउने गरेको घरबास सञ्चालक बताउँछन्।   “ल्वाङ गाउँ आएका पर्यटकले एकदेखि दुई रातसम्म यहाँ बिताउँछन्”, घरबास सञ्चालक गुरुङले भनिन्, ‘अन्नपूर्ण आधार शिविर र मर्दी ट्रेकमा जानेहरू पनि ल्वाङ गाउँमा विश्राम गरेर बाटो लाग्छन्।’   सप्ताहन्त मनाउन ल्वाङ   शुक्रबार ल्वाङमा पर्यटकको चहलपहल अघिपछिको दाँजोमा बढी हुन्छ। जागिरे, व्यवसायीलगायत सप्ताहन्त मनाउन ल्वाङ पुग्छन्। बिदाका दिनमा युवायुवतीको पनि उस्तै भीड देखिन्छ।   ‘कुनै शुक्रबार त ठाउँ नपुगेर पाहुनालाई जेनतेन राख्नुपर्छ,’ घरबास सञ्चालक गुरुङले भनिन्, ‘बिदामा फुर्सद निकालेर कर्मचारी, व्यवसायीलगायत स्थानीय पाहुना बढी आउनुहुन्छ।’   अहिले वर्षात्का बेला पनि आन्तरिक पर्यटक ल्वाङ पुगिरेका छन्। विद्यालय र विभिन्न सङ्घसंस्थाले अवलोकन भ्रमणका लागि त्यहाँ पुग्ने पनि उत्तिकै हुन्छन्। चलचित्रको छायाँङ्कनका लागि पनि ल्वाङ गाउँ रोजाइमा पर्ने गरेको छ। ‘प्रसाद–२’, ‘दुई नम्बरी’ लगायतका चलचित्रको छायाँङ्कन यही गाउँमा भएको थियो।   ल्वाङ गाउँको सौन्दर्य यत्तिमा सीमित छैन। गाउँको सिरानमा रहेको चियाबारी त्यहाँको अर्को पर्यटकीय आकर्षण हो। एक हजार दुई सय रोपनीमा फैलिएको चियाबारीले इलामको झल्को दिन्छ। चियाबारीको अवलोकनका लागि पनि पर्यटक त्यहाँ पुग्छन्। ल्वाङ गाउँको चिया युरोपसम्म निर्यात हुँदै आएको छ।   अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०मा पर्ने ल्वाङ गाउँमा पहिलोपल्ट विसं २०५३÷०५४ तिर चिया रोपिएको थियो। ल्वाङ गाउँमा ‘एक्याप’को कार्यालय बसेपछि पर्यटकीय गतिविधि सुरु भएको स्थानीयवासी प्यारी गुरुङले बताइन्। ‘फाट्टफुट्ट पर्यटक देखिन थालेपछि महिला समूह बनाएर होमस्टे सुरु गरेका हौँ, पहिले अहिले जस्तो पर्यटक आउँदैन थिए,’ ६० वर्षीया गुरुङले भनिन्, ‘अहिले त दिनमै सयौँ पाहुना आउँछन्, गाउँको मुहार नै फेरिएको छ।’   गुरुङ पनि घरबास व्यवसायमा आबद्ध छिन्। उनको घरबासमा ४० जनाको क्षमता छ। पर्यटकस्तरीय कोठासहितको सुविधा घरबासमा छ। पर्यटकलाई पारिवारिक वातावरणमा बास र खानाको प्रबन्ध गर्ने गरिएको व्यवसायी गुरुङले बताइन्।   बेलुकाको खाना र बिहानको खाजा, खानासहित एकरात बिताउँदा प्रतिव्यक्ति जम्मा रु। १२ सय तोकिएको छ। खानाबाहेकका अन्य परिकार र पेय पदार्थमा भने छुट्टै मूल्य तिर्नुपर्छ। उक्त ‘प्याकेज’मा एकछाक सादा खाना र एकछाक खानामासु हुन्छ।   माछापुच्छ्रे–८ का वडाध्यक्ष रामबहादुर गुरुङले ल्वाङ गाउँमा ‘पार्किङ’, फोहरमैला व्यवस्थापन आदिको समस्या रहेको बताए। खोलामुखबाट ल्वाङ गाउँ जोड्ने तीन किमी सडक कालोपत्र हुन बाँकी छ। सो सडक स्तरोन्नतिकाका लागि गण्डकी प्रदेश सरकारले ठेक्कामा लगाउने तयारी गरेको छ।   ‘ल्वाङ गाउँ ग्रामिण पर्यटनको केन्द्र बनेको छ, अब गुणस्तरीय पूर्वाधारको खाँचो छ,’ उनले भने, ‘स्तरीय सडक, पदमार्ग, सुविधायुक्त होटललगायत सुविधा दिन सके देशविदेशका पर्यटकलाई भित्र्याउन सकिन्छ।’ ग्रामीण सौन्दर्य, संस्कृति र रहनसहन नै ल्वाङ गाउँको मुख्य आकर्षण रहेको उनले बताए।   ल्वाङ गाउँ गएका बेला नजिकका पर्यटकीयस्थल ‘पोखरा क्यानोनिङ’, घलेल गाउँलगायत पुग्न सकिने वडाध्यक्ष गुरुङले बताए । वडा नं ८ र ९ मा पर्ने घलेल पनि अर्को मनोरम गाउँ हो। गुरुङ बाहुल्य उक्त गाउँले पनि पर्यटकलाई लोभ्याउने गरेको छ। गाउँले जनजीवन, सत्कार, खानपान, घुमफिर तथा संस्कृतिको आनन्द बटुल्न पर्यटकले ल्वाङ र घलेललाई राज्ने गरेका हुन्।   पर्यटकीय सहर पोखरादेखि २० किमी मोटरयात्रामा ल्वाङ गाउँ पुग्न सकिन्छ। पदयात्रा गरे झन्डै चार घन्टा लाग्छ। मर्दी खोलाको किनारैकिनार भिर र वनपाखा चहार्दै पदयात्रा गर्न सकिन्छ। पोखरा महानगरपापलिका–२५ हेम्जाबाट खानेपानी, भेँडाबारी, खोलामुख हुँदै ल्वाङ गाउँ पुगिन्छ।

पोखरा:  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८०’ हुमबहादुर तमु (कास्की) र सुन्दरकुमार थकाली (मुस्ताङ) लाई प्रदान गरिने भएको छ ।   प्रतिभा छनोट समितिले गरेको सिफारिस अनुसार फोनिज गण्डकीको मंगलबारको बैठकले तमु र थकालीको नाम अनुमोदन गरेको अध्यक्ष रुद्र श्रीस मगरले जानकारी दिए । उनका अनुसार पुरस्कार राशी जनही २५ हजारसहित सम्मानपत्र र दोसल्ला रहेको छ ।   वरिष्ठ अधिवक्ता तथा फोनिज गण्डकीका प्रमुख सल्लाहकार सुरेन्द्र थापामगरको संयोजकत्वमा रहेको प्रतिभा छनोट समितिले नाम सिफारिस गरेको थियो । समितिको सदस्यमा फोनिज गण्डकीका इन्चार्ज पत्रकार एमबी आस्था मगर, सल्लाहकार शान्ति गुरुङ तथा रुद्र श्रीस मगर र धनबहादुर गुरुङ थिए ।   पुरस्कृत हुने तमु पोखराबाट प्रकाशित हुने कास्की आवाज दैनिकका प्रधानसम्पादक हुन् । थकाली अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिक र समाधान दैनिकका लागि मुस्ताङका संवाददाता हुन् । उनीहरुलाई साउन २७ गते पोखरामा सम्मान समारोह आयोजना गरी पुरस्कृत गरिनेछ ।   पोखराका प्रतिष्ठित व्यवसायी विमलमान गुभाजु र उनका परिवारले आफ्ना स्व. बावुआमा वेदमान गुभाजु र नेत्रकुमारी गुभाजुको स्मृतिमा यो पुरस्कार स्थापना गरेका हुन् । गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाई क्रियाशील २ पत्रकारलाई हरेक वर्ष यो पुरस्कार प्रदान गरिँदै आएको छ ।   यसअघि कास्कीका रुद्रबहादुर थापा, शान्ति गुरुङ, उदयबहादुर अमात्य, बागलुङका राजेशचन्द्र राजभण्डारी, नवलपुरका केबी राना र लमजुङका आश गुरुङलाई यो पुरस्कार अर्पण गरिसकेको छ ।  

पोखरा:   गण्डकी प्रदेशमा ‘नेपालमा महिला सम्भावना र चुनौति’ विषयक प्रदेश स्तरीय सम्मेलन सम्पन्न भएको छ । नेपाल सारथि फाउन्डेसन र इक्नोमिक्स हब नेपालको संयुक्त आयोजनामा आइतबार पोखरा सभागृह हलमा सम्मेलन भएको हो ।  सम्मेलनको उद्घाटन गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री जित प्रकाश आलेले महिला स्वयम् सशक्तिकरण हुन आवश्यक रहेको बताए । उनले राज्यको हरेक तहमा पुरुष भन्दा महिलाको उपस्थिति ज्यादा रहेको र सबै काम राज्यले मात्र गर्नुभन्ने भन्ने भावनाबाट बाहिर निस्किन आग्रह गरे । उनले समाजको सन्तुलित विकासका लागि राज्यमात्र नभई हरेक क्षेत्र लाग्नुपर्नेमा जोड दिए । उनले महिलाको वर्तमान अवस्थासँग जुध्न सक्यो भनेमा उदेश्य प्राप्ती हुने बताए ।  यस्तै पोखराका मेयर धनराज आचार्यले पोखरामा सान्दर्भिक र महत्वपूर्ण कार्यक्रम गरेकोमा धन्यवाद व्यक्त गर्दै महानगरले गर्नुपर्ने सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे । उनले महिलाको सवालमा महानगर सद्यैँ काम गर्न तत्पर रहेको सुनाउँदै अन्धविश्वासबाट टाढा भएमा परिवर्तन हुन सक्ने बताए ।  सारथि फाउन्डेसनका सिइओ आयुष अधिकारीले प्रादेशिक सम्मेलन सकिएपछि राष्ट्रिय सम्मेलन गर्ने बताए । नेपालमा महिलाको कस्तो अवस्था छ भन्ने बारे बुझ्न कार्यक्रमको आयोजना गरेको उनले सुनाए । उनले नेपालमा महिलाको शिक्षा, स्वास्थ्यको अवस्था बारे बुझ्नका लागि कार्यक्रमको आयोजना गरेको बताए । शुभारम्भ नेपालकी अध्यक्ष शोभादेवी भण्डारीले आफुहरुले लामो समयदेखी महिलाको आवाज वुलन्द पार्दै आएको सुनाइन् । दुरदराजका महिलाहरु अझैपनि लुटिने स्थिति रहेको र राज्यले त्यसतर्फ ध्यान नदिएको उनले बताइन् । राज्यले दिएको ३३ प्रतिशतको कार्यान्वयन नभएको उनले गुनासो पोखिन् । राज्यको संयन्त्रमा र सहभागितामा हेर्दा न्याय पुर्ण सहभागिता हुन नसकेको उनको भनाई छ ।  कार्यक्रममा लक्ष्मी दाहाल, डा विनोद विन्दु शर्मा, मोतिलाल तिमिल्सिना, डा अञ्जली सुवेदी, डा सरस्वती, विना सिवाल, कोपिला नेपाल डाइरेक्टर शोभा भण्डारि लगायतको सहभागिता रहेको थियो ।  सम्मेलनमा शुभारम्भ नेपाल, योंग इकोनोमिस्ट सोसाइटी नेपाल र आशीर्वाद क्लब अफ नेपालले सहआयोजकमा साथ दिएको सम्मेलनका निर्देशक अंकित सुवेदीले जानकारी दिए । सम्मेलनमा अवसर, स्वास्थ्य र कानुनका विषयमा अन्तरक्रिया भएको थियो । महिलाका लागि अवसर सिर्जना गर्नु, उनीहरुको स्वास्थ्यमा ध्यान दिन र महिलालाई कानुनका विषयमा ज्ञान दिनु सम्मेलनको मुख्य उद्देश्य रहेको निर्देशक सुवेदीले बताए । काठमाडौंमा भदौ २९ गते अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ ।