म्याग्दी: रोजगारीका खोजीमा दिनानुदिन नेपाली युवा विदेशिएका अवस्थामा अन्नपूर्ण गाउँपालिका वडा नं ६ म्याग्दीका नारायण बरुवाल भने यतिखेर वैदेशिक रोजगारी छोडेर बाख्रापालनमा लाग्नुभएको छ । विगतमा वर्षौँदेखि परम्परागत शैलीमा सामान्य बाख्रा तथा भेडापालनमा लागेको बरुवाल परिवार अहिले भने नविनतम शैलि र प्रविधिलाई पछ्याउँदै आधुनिक बाख्रापालनमा लागेको हो । उमेरले ३० वर्ष पुगेका बरुवाल पाँच वर्षभन्दा बढी समय कतार एयरपोर्टमा काम गर्नुभयो । त्यहाँ उहाँको राम्रै आम्दानी थियो भने जागिरलाई निरन्तरता दिन पनि समस्या थिएन । यता घरमा परम्परागत खेती किसानी गर्दै आउनुभएका उहाँका बुवा धनबहादुर बरुवाल आधुनिक शैलीमा बाख्रापालन गर्न चाहानुहुन्थ्यो । उहाँको चाहनामा नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना (एनएलएसआपी) सहयोगी बन्न पुग्यो । नेपालको पशुपालनको क्षेत्रको आधुनिकीकरण र सुदृढीकरण गर्न कृषि तथा पशुपक्षी मन्त्रालयले विश्व बैंकको सहयोगमा सञ्चालित उक्त आयोजनाअन्तर्गत उहाँको होलिडे कृषि तथा पशुपक्षी फर्ममा आधुनिक बाखा्रपालनका लागि विभिन्न पूर्वाधार विकासका काम भइसकेका छन् । आयोजनासँगको सम्झौताअनुसार उहाँले व्यवस्थित खोर निर्माण, उन्नत जातको (भुइँ र डाले घाँस) लगाउने, उन्नत नश्लको पाठपाठी उत्पादनका साथै व्यवस्थित बाख्रापलनका लागि पूर्वाधार तयार गर्ने काम गरिसक्नुभएको छ । लक्षित कामका लागि निर्धारित कुल रु ३८ लाख ७२ हजार तीन सय तीन लागतमध्ये आयोजनाबाट ५० प्रतिशत अनुदानबापत रु १९ लाख २८ हजार छ सय ५२, प्रभु बैंकको ऋण लगानी रु ११ लाख ७० हजार र स्वलगानी रु सात लाख ७३ हजार छ सय ५२ रहेको धनबहादुर बरुवालले जानकारी दिनुभयो । सम्झौताअनुसार अनुदानवापत पहिलो किस्ताको रकम प्राप्त भइसकेको र दोस्रो तथा अन्तिम किस्ताका लागि प्रक्रिया बढाइएको उहाँले बताउनुभयो । आफूले आधुनिक शैलीमा बाख्रापालन गर्न थालेसँगै विदेशमा बसेको छोरासमेत फर्केर सहयोग गर्न थालेपछि धनबहादुरको उत्साह अझै थपिएको छ । आधुनिक बाख्रापालनका लागि एनएलएसआइपीको अनुदान थप प्रेरक बनेको उहाँको भनाइ छ । “भौगोलिक अवस्थितिलगायतका कारण खोर निर्माण आदिमा सम्झौताभन्दा पनि बढी व्यक्तिरूपमा खर्च भइसकेको त छ नै तर यो लगानीका लागि एनएलएसआइपी नै मुख्य प्रेरणाको स्रोत हो”, उहाँले भन्नुभयो । खोरमा मात्रै रु २९ लाख खर्च भइसकेको र करिब रु १८/१९ लाख बाख्रा खरिद एवं सोलार जडान आदिमा खर्च भएको उहाँले जानकारी दिनुभयो । बरुवाललाई छोरा नारायण, श्रीमती सोमित्राले नियमित सहयोग गर्दै आउनुभएको छ भने एक जनाले नियमितरूपमा प्रत्यक्ष रोजगारी पाएका छन् । बरुवालका खोरमा हाल सानो र ठूलो गरी एक सय २० बाख्रा छन् । वरपर जङ्गल भएका कारण चितुवाबाट बाख्रा जोगाउन एक सय ५० मिटर तारबारले खोरलाई घेरेर सुरक्षित बनाइएको छ । घाँसको दिगो व्यवस्थापनका लागि २५ रोपनी क्षेत्रफलको जग्गामा विभिन्न जातका घाँस लगाइएको छ । सुरुमा पाँचवटा बाख्राबाट परम्परागत शैलीले बाख्रापालन सुरु गरिएको बरुवालको फार्ममा हाल बोयर क्रस, शुद्ध बोयर, सिनाल, जमुनापारी आदि जातका बाख्रा छन् । विदेशबाट फर्किएर बाख्रापालनमा लाग्दा नारायणका अघि विभिन्न प्रश्न पनि तेर्सिने गरेका छन् । दैनिक न्यूनतम एक जनाले किन विदेशको राम्रो जागिर छाडेर यस्तोमा लागेको भनेर प्रश्न गर्ने गरेको उहाँले जानकारी दिनुभयो । स्वदेशमा नै केही गर्न सकिन्छ कि भनेर विदेशको जागिर छाडेर फर्किएको अनुभव सुनाउँदै उहाँले जागिरको खोजीमा विदेशिएका युवाका लागि यहाँ नै केही गर्न सकिन्छ भन्ने उदाहरण बन्न चाहेको बताउनुभयो । नारायणका बुवा धनबहादुरका पनि जीवनका विभिन्न भोगाइ र अनुभव छन् । हाल ५२ वर्ष उमेर पुगेका धनबहादुर २०४६ सालदेखि व्यापार व्यवसायमा लाग्नुभयो । किराना पसलसँगै होटल व्यवसायसमेत सञ्चालन गरेका उहाँले झण्डै १५/१६ वर्ष सामान ढुवानीका लागि खच्चडसमेत पाल्नुभयो । बाह्र–तेह्र वर्षअघिसम्म खच्चड पालेको र छ वर्षसम्म इराकमा वैदेशिक रोजगारका लागि पनि गएको उहाँको अनुभव छ । नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना ९एनएलएसआइपी०बाट दूध, खसी बोकाको मासु र पश्मिनाको उत्पादकत्व वृद्धि गर्ने, पशुजन्य उत्पादनहरूको मूल्य अभिवृद्धि गर्ने र नेपालको पशु सेवा क्षेत्रको सुदृढीकरण तथा आधुनिकीकरण गर्ने उद्देश्यका साथ कार्यक्रमहरू सञ्चालन भइरहेको आयोजनाका कृषि अर्थविज्ञ सुशील खड्काले जानकारी दिनुभयो ।
पोखरा: गण्डकी प्रदेशका नवनियुक्त चार मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाली कांग्रेसबाट तनहुँका जीतप्रकाश आलेमगर आर्थिक मामिलामन्त्री, बागलुङका दिपेन्द्र थापामगर उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री, नवलपुरका महेन्द्रध्वज जिसी कृषि तथा भूमि व्यवस्थामन्त्री र यस्तै माओवादी केन्द्रबाट म्याग्दीका रेशम जुग्जाली (सुविन) भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री नियुक्तसँगै आज पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनीहरूलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शपथ खुवाएका हुन् । यो सँगै गण्डकीमा ७ सदस्यी मन्त्रिपरिषद् गठन भएको हो । यस्तै स्याङ्जाकी सरस्वती तिवारी अर्याल उर्जा, जलस्रोत तथा खानेपानीमन्त्री र सुशीला सिम्खडा सामाजिक विकास तथा स्वास्थ्यमन्त्रीमा नियुक्त भएका छन् । वैशाख १४ गते गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका सुरेन्द्रराज पाण्डेले अर्याल र सिम्खडालाई विना विभागीयमन्त्रीमा नियुक्त गरेका थिए ।
पोखरा: गण्डकी प्रदेशमा नेपाली कांग्रेसका जितप्रकाश आले मन्त्री बन्ने भएका छन् । मनाङबाट स्वतन्त्र निर्वाचित भएर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ (दिपक मनाङे) मन्त्री बन्ने रेशबाट आउट हुँदा नेपाली कांग्रेसका जीतप्रकाश आले मन्त्री बन्ने पक्का भएको छ । उनी तनहुँ २ (ख) बाट निर्वाचित भएका हुन् । नेपाली कांग्रेस तनहुँका सभापति समेत रहेका आले राष्ट्रपति रामचन्द्र पौडेल निकट मानिन्छन् । कांग्रेसबाट आलेसँगै नवलपूरका महेन्द्रध्वज जिसी र बाग्लुङका दीपेन्द्रबहादुर थापामगर मन्त्री बन्दैछन्
पोखरा: पोखरा महानगरपालिका ५ पर्स्याङमा क्रेनको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । क्रेनको ठक्करबाट कास्कीको माछापुच्छ्रे गाउँपालिका ७ लाहाचोककी धना अधिकारीको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो । अधिकारीलाई हिजो (बिहीबार) दिउँसो ३ बजे ग १ ख ५८०५ नम्बरको क्रेनले पोखरा महानगरपालिका ५ पर्स्याङस्थित विद्युत कार्यालय अगाडि क्रेनले ठक्कर दिएको थियो । धनाको आफन्तका अनुसार ठक्करबाट गम्भीर घाइते भएकी अधिकारीको उपचारका लागि गण्डकी मेडिकल कलेजमा पुर्याइएको थियो । त्यसपश्चात अधिकारीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । हाल पोष्टमार्टकै लागि मृतक अधिकारीको शव अस्पतालमै राखिएको छ । पीडित परिवारको माग सम्बोधन हुन नसक्दा अधिकारी परिवारले धनाको शव बुझ्न मानेका छैनन् । मृतक परिवार पक्ष र क्रेन सञ्चालकबीच द्विपक्षीय वार्ता भइरहदा प्रहरीले सञ्चालकलाई विना निष्कर्ष लैजान खोजेपछि झडपको अवस्था सिर्जना भएको थियो । हाल विभिन्न मागसहित द्विपक्षीय वार्ता चलिरहेको बताइएको छ ।
पोखरा: नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सांसद रेशम जुग्जाली मगर (सुविन) दोस्रो पटक मन्त्री बन्ने पक्का भएको छ । एमाले नेतृत्व सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका जुग्जालीमगर कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बन्ने पक्का भएको हो । ‘मन्त्री मण्डल बिस्तारको सवालमा सत्ता साझेदार दलहरुको सहमति भइसकेको छ, जुग्जाली मगरले सुनगाभा न्यूजसँग भने, 'कांग्रेसको आन्तरिक कुरा मिल्यो भने आजै सपथ हुन सक्छ ।’ उनका अनुसार नेकपा माओवादीबाट यसअघि विना विभागीय मन्त्री बनिसकेकी सुशीला सिम्खडाले सामाजिक विकास तथा स्वस्थ्य मन्त्रालयको जिम्मेवारी पाउनेछन् । बाँकी रहेको अन्य मन्त्रलायमध्ये केन्द्रीय दबाब आएको खण्डमा नेकपा एकीकृत समाजवादीका एक्ला सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) को भागमा पर्नेछ । यद्यपी अहिल्यै टुंगो भने लागेको छैन । मन्त्रिपरिषद् बिस्तारमा माओवादीको तर्फबाट दुइजनाको पक्का भइसकेपनि नेपाली कांग्रेसको तर्फबाट महेन्द्रध्वज जिसी मात्रै मन्त्री बन्ने टुंगो लागेको कांग्रेस निकट स्रोतको भनाई छ । ‘माओवादीको सबै टुंगो लागिसक्यो, स्रोतले भन्यो, ‘नेपाली कांग्रेसबाट आकांक्षी धेरै छन् त्यसकारण अहिलेसम्म एक जनाको मात्रै फिक्स भइसकेको छ । बाँकी छलफलकै चरणमा छ ।’ हालसम्म टुंगो लागेको मन्त्रालयमध्ये मुख्यमन्त्री तथा (आन्तरिक मामिला तथा कानून मन्त्रालय) मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा माओवादी केन्द्रका रेशम जुग्जाली मगर (सुविन), सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सोही पार्टीकै सुशीला सिम्खडाको टुंगो लागिसकेको छ । तर आर्थिक मामिला मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कृषि तथा भूमि व्यवस्था मन्त्रालय, उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारीबारे भने टुंगो लागेको छैन । यसमध्ये नेकपा एकीकृत समाजवादी केन्द्रको दबाब आयो भने एक्ला सांसद राजीव गुरुङ माओवादी केन्द दोस्रो पटक मन्त्री बन्ने मौका आउनसक्छ । अन्यथा यी मन्त्रालय कांग्रेसकै भागमा रहने छ ।
पोखरा: राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कास्कीले विभिन्न विषयलाई लिएर शंख फुक्दै विरोध प्रदर्शन गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृसंगठन राष्ट्रिय प्रजातान्त्रि युवा संगठन कास्कीले आज (बिहीबार) प्रदेश सरकार खारेजीको माग नक्कली भुटानी शरणार्थी प्रकरणसँगै अन्य भ्रष्टाचारका विषयलाई लिएर विरोध प्रदर्शन गरेको हो । प्रदर्शन पश्चात सुनगाभा न्यूजसँग बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका कास्कीका अध्यक्ष नारायण गुरुङले देशको अर्थतन्त्र कमजोर बनाउनुमा प्रदेश सरकार र भ्रष्टाचार मुख्य कारण रहेको बताए । ‘देशको अर्थतन्त्र कमजोर हुनुमा संघीयता हो यो खारेज हुनुपर्छ, प्रदेश सरकार सेतो हात्ती जस्तै भएको छ, गुरुङले भने, ‘सेतो हात्ती नपालौ यसले देशको अर्थतन्त्र झन धरापमा राखेको छ । त्यसैले प्रदेश खारेज गरिनुपर्छ ।’ उनले नक्कली भुटानी शरणार्थी प्रकरणको विषय जल्दोबल्दो भएकाले दोषी कसैलाई पनि छाड्न नहुने बताए । ‘हामीले हिजोका दिनदेखिनै भन्दै आएका छौ भ्रष्टाचार गर्नु भनेको आमाको दुध खानु जस्तै हो त्यसैले जो कोही पनि भ्रष्टाचार र ठगीमा लिप्त छन भने कारवाही गरिनुपर्छ,’ उनले भने । पोखराको लखनचोकमा भएको विरोधमा ¥यालीमा प्रदेश सरकार खारेज गर, भ्रष्टाचारीलाई कारवाही गर, लुडाकुको पैसा कसले खायो, गणतन्त्र चाँहिदैन, देश लुट्न पाइँदैन, ३३ केजी सुन काण्ड कता हरायो लगायतका नारासमेत लगाएका थिए ।
मुस्ताङ: गण्डकी प्रदेशमा प्रदेश सभा सांसद विकल शेरचनले नेपाली कांग्रेस मुस्ताङ कार्यसमिति सचिव पदबाट राजीनामा दिएका छन् । प्रदेश सभा सदस्य निर्वाचित भएपछी राजिनामा दिएका शेरचनको मंगलबार स्वीकृत भएको हो । कांग्रेस मुस्ताङमा सचिव छेवाङ नोर्वू गुरुङले विज्ञप्ती जारी गर्दै शेरचनको राजीनामा स्वीकृत भएको जनाएका हुन् । सांसद शेरचनले नैतिकता र स्वार्थ बाझिने अवस्थाबाट मुक्त रहन सचिव पदबाट राजीनामा दिएको प्रतिक्रिया दिए । उनले स्वार्थ नबाझिऊन् भन्दै कृषक समुह र हिमाली नामको NGO, आदिवासी जनजाति युवा महासंघको संघीय परिषद सदस्य, थकाली युवा परिवार नेपालको केन्द्रीय सचिव पदबाट पनि मंसिर महिना मै राजीनामा दिइसकेका छन् । उनी मुस्ताङ प्रदेश सभा २ बाट निर्वाचित भएका थिए ।
पोखरा: गण्डकी प्रदेश नीति तथा योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले बुधबार पद तथा गोपनीयताको सपथ लिएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं आयोगका अध्यक्ष सुरेन्द्रराज पाण्डेले बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित समारोहमा आयोगका नवनियुक्त उपाध्यक्ष डा. देवकोटालाई सपथ गराएका हुन् । सपथ लिएलगत्तै डा देवकोटाले आयोगको उपाध्यक्षको पदभार सम्हालेका छन् । सो अवसरमा उनले संविधानले दिएको सीमाभित्र रहेर प्रदेशलाई बलियो र समृद्धशाली बनाउन भूमिका खेल्ने बताए । कृषि, पर्यटन पूर्वाधार, जलस्रोत, गुणस्तरीय शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा प्राथमिकीकरणका आधारमा काम गर्नुपर्ने उनले उल्लेख गरे । प्रदेश सरकारको नीति तथा योजना कार्यान्वयनमा सबै पक्षसँग मिलेर काम गर्ने उनले बताए ।
पोखरा: लोकतान्त्रिक तमु संघ नेपाल गण्डकी प्रदेश प्रथम प्रादेशिक अधिवेशनले कास्कीका कर्णबहादुर गुरुङको अध्यक्षतामा सर्वसम्मत कमिटी गठन गरेको छ । कास्की जिल्ला माछापुच्छ«े गाँउपालिका वडा नं.१ घाचोक लाम्छाने समाजमा आइतवार सम्पन्न अधिवेशनले कास्की माछापुच्छ«े गाँउपालिकाका निवर्तमान अध्यक्ष गुरुङको अध्यक्षतामा गठित प्रदेश कमिटीको वरिष्ठ उपाध्यक्षमा कास्कीकी पवित्रादेवी गुरुङ, उपाध्यक्षमा कास्की रुपाका टेकबहादुर गुरुङ, मुख्य सचिवमा लमजुङका अर्जुन गुरुङ, सचिवमा स्याङ्जाकी बिष्णुमाया गुरुङ, उपसचिवमा तनहुँका पुजन गुरुङ, कोषाध्यक्षमा स्याङजाका नेमबहादुर गुरुङ चयन हुनुभएको छ । यसरी नै कमिटिको सदस्यहरुमा पर्वतका दर्शन घले, कास्कीकी मिठु गुरुङ, सिमा गुरुङ, लमजुङका दुर्गबहादुर गुरुङ, गोविन्दकुमारी गुरुङ, कास्कीका जगतबहादुर गुरुङ, गंगादेवि गुरुङ, सिमा गुरुङ, गोर्खाका उत्तमबहादुर गुरुङ, तनहुका देबेन्द्रजङ गुरुङ, मिनबहादुर गुरुङ र मुस्ताङकी मञ्जु गुरुङ चयन हुनुभएको छ । निर्वाचन समितिमा संघका संस्थापक उपाध्यक्ष, गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङ संयोजक, सदस्यहरुमा लोकतान्त्रिक तमु संघका केन्द्रिय अध्यक्ष गण्डकी प्रदेश सभा सदस्य बेदबहादुर गुरुङ, संघका उपाध्यक्षहरु मिना गुरुङ, सर्मिला गुरुङ, संघका महासचिव एवम् लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका सचिव हुमबहादुर गुरुङ र लोकतान्त्रिक आदिवासी जनजाति महासंघ गण्डकीका अध्यक्ष सुजन लामा रहनुभएको थियो । नवनिर्वाचित कमिटिलाई नेकपा एमालेका स्थायी कमिटि सदस्य, संगठन विभाग प्रमुख एवम निवर्तमान गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो। नवनिर्वाचित अध्यक्ष कर्णबहादुर गुरुङले संघलाई अत्यन्तै क्रियाशिल नमुना संघको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । संघको गण्डकी प्रदेश प्रथम प्रादेशिक अधिवेशनको प्रमुख अतिथि नेकपा एमालेका उपमहासचिव, गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले शनिवार उद्घाटन गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा एमाले स्थायी कमिटिे सदस्य, संघका संस्थापक अध्यक्ष किरण गुरुङ, संघका संस्थापक उपाध्यक्ष गणेशमान गुरुङ, नेकपा एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङ, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ गण्डकीका अध्यक्ष सुजन लामाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सामाजिक व्यक्तित्व, माछापुच्छ«े ३निवासी, घाचोक लाम्छाने समाजका अध्यक्ष जगतबहादुर गुरुङ नेकपा एमालेमा समाहित हुदै पुरानै घर फर्केको र आफुले नेकपा एमाले, लोकतान्त्रिक तमु संघका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो। कार्यक्रका प्रमुख अतिथि पृथ्वीसुब्बा गुरुङ, विशेष अतिथि किरण गुरुङ, गणेशमान गुरुङ, मनबहादुर गुरुङ, संघका अध्यक्ष बेदबहादुर गुरुङले टिका, फुल, खादा, फेटा लगाएर स्वागत सम्मान गर्नुभएको थियो। संघका अध्यक्ष बेदबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सर्मिला गुरुङ र संचालन महासचिव हुमबहादुर गुरुङले गर्नुभएको थियो । अधिवेशनको दोस्रो दिनका प्रमुख अतिथि नेकपा एमाले स्थायी कमिटि सदस्य, संगठन विभाग प्रमुख, गण्डकीका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले नवनिर्वाचित कमिटिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो भने केन्द्रीय अध्यक्ष बेदबहादुर गुरुङ र एमाले सल्लाहकार परिषद सदस्य, संघका संस्थापक उपाध्यक्ष गणेशमान गुरुङले बधाई तथा शुभेच्छा प्रकट गर्नुभएको थियो । कार्यक्रममा नेकपा एमालेको विभिन्न जनसंठनमा हालै निर्वाचित र लोकतान्त्रिक तमु संघको केन्द्रिय सदस्यमा मनोनित व्यक्तित्वहरुलाई बधाई एवम सम्मान समेत राखिएको थियो ।