ढोरपाटन: बितेका आठ वर्षमा बागलुङमा एक लाख ३४ हजार ६७३ जनाले स्वास्थ्य बिमा गराएका छन् । विसं २०७३ असारमा सुरु भएको स्वास्थ्य बिमामा हालसम्म जिल्लाका ५४.०३९ प्रतिशत नागरिक आबद्ध भएका हुन् । जिल्लाको जनसङ्ख्या २०७८ को जनगणना अनुसार दुई लाख ४९ हजार २११ रहेको छ । यहाँका १० वटै स्थानीयत तहमा ६४ हजार १५३ परिवार रहेकामा हालसम्म ४० हजार ९४५ परिवारले स्वास्थ्य बिमा गरेको स्वास्थ्य बिमा बोर्डका जिल्लास्थित कार्यालय प्रमुख नारायणप्रसाद पौडेलले जानकारी दिनुभयो । हालसम्म ६७.६३ प्रतिशत घरपरिवार स्वास्थ्य बिमाको पहुँचमा रहेको उहाँको भनाइ छ । पौडेलका अनुसार ७१ हजार ८६ महिला र ६३ हजार ५६७ जना पुरुषले स्वास्थ्य बिमा गरेका छन् । सबैभन्दा बढी बागलुङ नगरपालिका र सबैभन्दा कम तमानखोलाका नागरिकले स्वास्थ्य बिमा गरेका छन् । जिल्लाका सबै नागरिकलाई स्वास्थ्य बिमाको पहुँचमा ल्याउन स्वास्थ्य बिमाका सामाजिक परिचालकलाई जिल्लाको ८५ वडामा खटाएको प्रमुख पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “बागलुङमा स्वास्थ्य बिमा ‘पाइलट प्रोजेक्ट’का रूपमा सुरु भएको थियो, पहिले नागरिकको चासो कम थियो, अहिले बढ्दै गएको छ ।” निसीखोला गाउँपालिका–५ का प्रेमबहादुर पुनले दूरदराजमा स्वास्थ्य बिमा प्रभावकारी बन्न नसकेको गुनासो गर्नुभयो । स्वास्थ्य बिमा गरे पनि नजिकमा सुविधा लिने स्वास्थ्य संस्था नहुँदा घण्टौँ लगाएर बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पुग्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । “ज्वरो आयो भने स्वास्थ्य बिमाको सुविधा लिन बुर्तिबाङ जाँदा आउँदा पाँच–सात हजार खर्च लाग्छ, त्यही भएर गाउँकै स्वास्थ्य चौकीबाट औषधि लिएर खान्छु” पुनले भन्नुभयो, “गाउँकै स्वास्थ्य चौकीबाट स्वास्थ्य बिमाको सुविधा दिनुपर्ने हो, हामीहरू त स्वास्थ्य बिमा गर्ने सेवा नलिने मात्रै भइयो, सरकारले गाउँका स्वास्थ्य संस्थाबाट सेवा दिने व्यवस्था गर्नुपर्छ ।”
गण्डकी प्रदेश सरकार मातहतका सबै अस्पतालको सेवा विस्तार र स्तरोन्नति गरिने भएको छ । अस्पताल स्तरोन्नतिबारे मन्त्रिस्तरीय निर्णय गरी आर्थिक मामिला र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा निर्णायार्थ पठाइएको स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जानकारी दिए । “नागरिकलाई सर्वसुलभ र गुणस्तरीय सेवा प्रवाहका लागि अस्पतालहरूको स्तरोन्नति आवश्यक देखिएपछि सोहीअनुसार काम गर्न लागिएको हो”, उनले भने, “मन्त्रिपरिषद्को निर्णयपछि स्तरोन्नतिको काम थप अगाडि बढ्ने छ ।” स्वास्थ्यमन्त्री पाठकका अनुसार प्रदेश अस्पताल मुस्ताङ र मनाङलाई १५ शय्याबाट २५ श्ययामा स्तरोन्नति गर्न लागिएको हो । पर्वत, स्याङ्जा र तनहुँको दमौली अस्पताललाई १५ बाट ५० श्ययामा स्तरोन्नति गरिने जनाउँदै उनले कास्कीस्थित २५ शय्या क्षमताको मातृशिशु मितेरी अस्पताललाई ५० श्ययामा पुर्याउने स्वास्थ्य मन्त्रालयको योजना रहेको उल्लेख गरे । बागलुङस्थित धौलागिरि प्रादेशिक अस्पताललाई ५० बाट एक सय श्ययामा र नवलपुरको मध्यविन्दु प्रादेशिक अस्पताललाई १५ बाट एक सय श्ययामा स्तरवृद्धि गर्न लागिएको स्वास्थ्यमन्त्री पाठकले जानकारी दिए । आगामी आर्थिक वर्षदेखि धवलागिरि र मध्यविन्दु प्रादेशिक अस्पतालमा प्राविधिक शिक्षा पढाउने गरी पूर्वाधार तयारीका लागि काममा जुटेको उनले बताए । एक सय शय्याको अस्पतालले मात्र प्राविधिक विषय पढाउन पाउने व्यवस्था रहेकाले सोही अनुसार अस्पतालको स्तरोन्नति गर्न लागिएको स्वास्थ्यमन्त्री पाठकको भनाइ छ । प्रदेश अस्पताल गोरखा, लमजुङ र म्याग्दी यसअघि नै ५० श्ययामा सञ्चालित छन् । प्रदेश सरकारले चालु आवमा गोरखाको आँपपीपल र बागलुङको बुर्तिबाङ अस्पताललाई आफू मातहत लिई सञ्चालन गरिरहेको छ । स्थानीय तहअन्तर्गत दुवै अस्पताललाई ५० श्ययामा स्तरवृद्धि गरी नयाँ व्यवस्थापनका साथ सञ्चालन गरिएको छ । यसअघि ढोरपाटन नगरपालिकामा रहेको बुर्तिबाङ अस्पताल प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा सञ्चालित थियो । आँपपीपल अस्पताल गोरखाको पालुङटार नगरपालिकाअन्तर्गत रहँदै आएको थियो । स्थानीय तहले बुर्तिबाङ र आँपपीपल अस्पताललाई प्रदेश सरकारले जिम्मा लिन आग्रह गरेपछि प्रदेश सरकारले आफू मातहत ल्याई सञ्चालन गरेको स्वास्थ्यमन्त्री पाठकले जानकारी दिए । प्रदेश मन्त्रिपरिषद्को प्रस्तावलाई संघीय मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि यी दुई अस्पताल प्रदेश सरकारअन्तर्गत आएका हुन् । यसै वर्ष कास्कीस्थित गण्डकी आयुर्वेद अस्पताल र बागलुङको धौलागिरि आयुर्वेद अस्पताललाई पनि अन्तरङ्ग सेवासहित २५ शय्याको सुविधायुक्त आयुर्वेद अस्पतालका रूपमा स्तरवृद्धि गरिएको थियो । स्वास्थ्यमन्त्री पाठकले स्तरोन्नतिको निर्णयपछि अस्पतालहरूमा मानव संशाधन, पूर्वाधार र उपकरणको प्रबन्ध व्यवस्थित रूपमा हुने बताए । उनका अनुसार अहिले स्वीकृत शय्याको सङ्ख्या तीन सय ९५ रहेकामा स्तरोन्नति हुँदा करिब सात सय पुग्ने छ । “अस्पतालहरूले अहिले नै आठ सयबढी शय्या सञ्चालन गरिरहेकामा नयाँ प्रस्तावअनुसार स्तरोन्नति हुँदा २१ शय्या सञ्चालनमा ल्याउन सकिन्छ”, मन्त्री पाठकले भने, “अहिले अस्पतालहरूको वार्षिक आम्दानी करिब रु ६६ करोड रहेकामा स्तरोन्नतिसहित अस्पताललाई व्यवस्थित गर्न सकिएमा तीन गुणाले आम्दानी बढ्ने मन्त्रालयको अनुमान छ ।” मन्त्रालयका अनुसार अस्पतालमा पाँच सय ६४ जनाको स्थायी दरबन्दी रहेकामा एक सय ८७ को पदपूर्ति हुन बाँकी छ । आठ सय बढी करार जनशक्तिसहित हाल ११ सय ३३ जना प्रदेश मातहतका अस्पतालमा कार्यरत रहेका मन्त्रालय जनाएको छ । अस्पतालहरू स्तरोन्नति हुँदा पदपूर्ति हुन बाँकीसहित कूल १२ सय ४४ को दरबन्दी व्यवस्थापन गर्नुपर्ने मन्त्री पाठकले बताए । “अहिले कार्यरत अस्थायी र करार जनशक्तिको उचित व्यवस्थापन गरेर अस्पतालमा गुणस्तरीय सेवा दिन सकिन्छ, स्तरोन्नति गर्दा प्रदेश सरकारलाई धेरै ठूलो व्ययभार पर्दैन”, उनले भने, “जनशक्ति र आन्तरिक खर्च व्यवस्थापनसहित अस्पताललाई आत्मनिर्भर बनाउनुपर्ने खाँचो छ, संघ सरकारको मात्र भर परेर हुँदैन, प्रदेश सरकारले आफ्ना अस्पतालहरूको विकासका लागि आफैँ योजना बनाउनुपर्छ ।” मन्त्रालयले जनस्वास्थ्य सेवासम्बन्धी विधेयक प्रदेशसभामा अगाडि बढाएकाले कानुन निर्माणपछि स्वास्थ्य क्षेत्र थप व्यवस्थित बन्ने स्वास्थ्यमन्त्री पाठकले विश्वास व्यक्त गरे ।
काठमाडौं: गर्मीयामको सुरुआत भएसँगै नेपालमा किटजन्य रोगहरूको जोखिम बढ्नसक्ने भएकाले विज्ञले सचेतना अपनाउन आग्रह गर्नुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रवक्ता डा प्रकाश बुढाथोकीले मन्त्रालयको साप्ताहिक ब्रिफिङमा गर्मीमा कीटजन्य रोगको जोखिम बढ्ने र दूषित पानीका कारण विभिन्न सङ्क्रमणहरू फैलने जोखिम हुने बताउनुभयो । उहाँले शुद्धीकरण नगरिएको पानी र दूषित खानाले झाडापखाला, टाइफाइड, जन्डिस र हैजाजस्ता रोगहरूको जोखिम बढाउनसक्ने बताउनुभयो । उहाँले त्यस्ता जोखिमबाट बच्न पानी उमालेर वा क्लोरिन झोलको प्रयोग गरी शुद्धीकरण गरेर मात्र प्रयोग गर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “स्वच्छ, सफा र पौष्टिक आहार खाऔँ । प्रशस्तमात्रामा फलफूल तथा हरियो सागसब्जी सेवन गर्ने गरौँ । खाद्य पदार्थहरूलाई सुरक्षित तरिकाले भण्डारण गर्नुपर्छ । शौचालयमा मात्र दिसापिसाब गर्ने गरौँ ।” त्यस अवसरमा प्रवक्ता डा बुढाथोकीले तापक्रम वृद्धि भएसँगै कीटजन्य रोगहरू जस्तै डेङ्गी, मलेरिया, जापानिज इन्सेफलाइटिसको पनि जोखिम बढ्ने बताउनुभयो । उहाँका अनुसार सङ्क्रमणबाट बच्न वरपरको वातावरण सफा राख्ने, लामखुट्टेको नियन्त्रण गर्न घर, कार्यालय, विद्यालय आदि वरपर पानी जम्न नदिने, लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने, झ्याल, ढोकामा जाली राख्ने तथा लामखुट्टे भगाउने धुपको प्रयोग गर्नुपर्छ । उहाँले हाल मौसममा आएको परिवर्तनसँगै रुघाखोकी, ज्वरोजस्ता लक्षणसहितका फ्लूका बिरामीहरुको चाप अस्पतालमा बढ्दै गएकाले फ्लूबाट बालबालिका, वृद्धवृद्धा, गर्भवती, दीर्घरोगीहरु बढी जोखिममा हुने भएकाले सावधानी अपनाउन आग्रह गर्नुभयो । “साबुनपानीले हात धुने, मास्कको प्रयोग गर्ने, काम नपरी भिडभाडमा जाने नगरौँ”,उहाँले भन्नुभयो । उहाँले स्वास्थ्यसँग सम्बन्धित कुनै जिज्ञासा वा गुनासो भए मन्त्रालयको हेल्लो स्वास्थ्य कल सेन्टर १११५ मा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म फोन गरेर वा इमेल गर्न पनि सकिने जनाउनुभयो । स्वास्थ्य मन्त्रालयले हरेक शुक्रबारको १ बजेर ३० मिनेटमा साप्ताहिक मिडिया ब्रिफिङ गर्दै आएको छ ।
तानसेन: पाल्पामा मातृ तथा शिशु मृत्युदर घटाउने अभियान सुरु भएको छ । लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले बढ्दो मातृशिशु मृत्युदर घटाउन पाल्पाबाट अभियान सुरु गरेको हो । जिल्लामा जनचेतना अभाव, कमजोर आर्थिक अवस्थाका कारण मातृ मृत्युदर तथा नवजात शिशु मृत्युदरको तथ्याङ्क डरलाग्दो रहेकाले यसलाई घटाउन मोबाइलमार्फत पारिवारिक स्वास्थ्य विवरण तयार गर्ने अभियान सुरु गरिएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार मातृ मृत्युदर तथा नवजात शिशु मृत्युदरलाई दोहोरो अङ्क हुँदै एकल अङ्कमा झार्ने गरी योजना बनाइएको जनाएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले तानसेनबाट अभियान शुभारम्भ गरेका छन् । मन्त्री सारुले जटिल अवस्थाका गर्भावस्था (गर्भदेखि सुत्केरी भएको ४२ दिनसम्म), दुई वर्षमुनिका बालबालिकाको समयमै पहिचान गरी स्वास्थ्य तथा पोषण अवस्थामा सुधार ल्याउन यो कार्यक्रम सुरु गरिएको बताए । उनले भने, “जिल्लाको मातृ तथा बालमृत्युदर अत्यन्तै कमजोर भएकाले परिवार स्वास्थ्य विवरण तयार गर्न लागेका हौँ, यहाँ २० वर्षभन्दा कम उमेरमा विवाह गर्नेको सङ्ख्यासमेत उच्च रहेकाले किशोरकिशोरीलाई समेत यो अभियानमा संलग्न गर्ने छौँ ।” अभियानमा पारिवारिक विवरण सङ्कलन गर्न ६५ हजार घरपरिवारमा स्वास्थ्यकर्मी पुग्ने छन् । नियमित रूपमा सेवाको उपभोगका लागि सेवाग्राही र सेवा प्रदायकको मोबाइलमा सन्देश पठाई सेवाको उपभोग र पहुँचमा अभिवृिद्ध गरिने छ । अभियानका लागि पाल्पामा रु ३९ लाख बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले मातृ शिशु मृत्युदर कम गर्न पाल्पासहित बाँके र अर्घाखाँचीमा पनि यो अभियान सञ्चालन गर्दै छ । जसका लागि अर्घाखाँचीका ४८ हजार र बाँकेका ९४ हजार घरपरिवारमा स्वास्थ्यकर्मी पुग्ने छन् । महिला बालबालिका तथा किशोरी स्वास्थ्य तथा पोषण अवस्थामा लुम्बिनी प्रदेश देशकै सबैभन्दा कमजोर प्रदेश रहेको विभिन्न समयका सर्वेक्षण तथा अध्ययनले देखाएको छ । कमजोर स्वास्थ्य सुचकाङ्क भएका बाँके, अर्घाखाँची र पाल्पाका गर्भवतीदेखि बच्चा जन्मेको दुई वर्षसम्म नियमित निगरानीमार्फत जटिल अवस्थाका गर्भवतीदेखि खोपबाट वञ्चित बालबालिका र पोषण वृद्धि अवस्थाको अनुगमन गरी नियमित सेवामा ल्याउनका लागि हरेक घरपरिवार स्वास्थ्यकर्मी परिचालन गरिने छ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कानुसार नेपालमा प्रति एक लाख जीवित जन्ममा एक सय ५१ जना आमाको मृत्यु हुने गरेको छ । जुन नेपालको तथ्याङ्क हो । नेपालमा सबैभन्दा बढी लुम्बिनी प्रदेशमा मातृमृत्यु हुने प्रदेशमा देखिएको छ । स्वाथ्य निर्देशनालय लुम्बिनीको तथ्याङ्कानुसार प्रदेशमा एक लाख जीवित जन्ममा दुई सय सात जना आमाले ज्यान गुमाउने गरेको छ । जुन सबैभन्दा बढी लुम्बिनी प्रदेशमा आमाको ज्यान जाने अवस्था रहेको छ ।
मुस्ताङ: उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा पाँच शय्याको आधारभूत अस्पताल भवन निर्माण गरिएको छ । संघीय सरकारको एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत लोमान्थाङ गाउँपालिकाको सहलगानीमा साढे दुईतले आधारभूत स्वास्थ्य सेवा भवन निर्माण गरिएको हो। उपल्लो मुस्ताङका नागरिकलाई स्वास्थ्य सेवा पुर्याउने गरी आर्थिक वर्ष २०७८/७९ मा पूर्वाधार निर्माणको ठेक्का सम्झौता गरिएको थियो । सम्झौता अवधि दुई वर्ष रहेको लोमान्थाङस्थित आधारभूत स्वास्थ्य सेवा पूर्वाधार निर्माण चल्दै गर्दा कोरोना माहामारी र प्रतिकूल मौसमलगायतका कारण तोकिएको समय सम्पन्न हुन सकेको थिएन । ठेक्का सम्झौताअनुसार उक्त भवन आव २०८०/८१ जेठमा सकिनुपर्ने थियो। लोमान्थाङ–५ लोमान्थाङ बजार नजिक २७ कोठे भवन निर्माण गरिएको हो । उक्त भवन सात करोड १९ लाखको लागतमा निर्माण सम्पन्न गरिएको गाउँपालिकाका निमित्त कार्यालय प्रमुख विकास केसीले जानकारी दिए। विशेषज्ञ चिकित्सकसहितको सेवा प्रवाह गर्ने उद्देश्यले शल्यक्रिया कक्ष, एक्सरे कक्ष, ल्याब कक्ष, प्रसूति कक्ष, फार्मेसी कक्षलगायत चिकित्सक तथा स्वास्थ्यकर्मी बस्ने आवास निर्माण गरिएको उनले जानकारी दिए। लोमान्थाङका अध्यक्ष टसीनर्बु गुरुङले उपल्लो मुस्ताङका नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको सुविधा पु¥याउन भवन निर्माण गरिएको बताए। भवन बनेपनि सेवा सञ्चालन गर्न उपकरण र जनशक्ति अभाव भएको उनको भनाइ छ । 'सेवा सञ्चालन गर्न संघीय तथा प्रदेश सरकारको सहयोगको आवश्यकता छ,' उनले भने।
काठमाडौं: भारत, बङ्गलादेश, भुटानलगायत देशका नागरिक आँखा उपचारका लागि नेपाल आउने गरेका छन् । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित २८ आँखा अस्पताल, दुई सय २४ आँखा उपचार केन्द्रमा विदेशी बिरामी उपचारार्थ आएका हुन् । सन् २०२४ मा सङ्घको सञ्जालमार्फत नौ लाख सात हजार ७१ जना विदेशी नागरिकको आँखा परीक्षण तथा एक लाख ६२ हजार आठ सय ४५ जनाको शल्यक्रिया गरिएको सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले बताउनुभयो । सञ्जालमार्फत सन् २०२४ मा ३२ लाख ६८ हजार ३४ जना आँखाका बिरामीको आँखा परीक्षण गरी दुई लाख ५८ हजार पाँच सय ७५ जनाको शल्यक्रिया गरिएको छ । सङ्घका अस्पताल तथा विभिन्न बाह्य कार्यक्रममार्फत ३४ हजार चार सय २५ जना आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । सङ्घद्वारा विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय विकास साझेदार संस्थाको सहयोग तथा अस्पतालको आन्तरिक स्रोतबाट निःशुल्क शल्यक्रिया गरिएको हो । सङ्घले आफ्ना सञ्जालमार्फत नेपाली तथा अन्य देशका नागरिक गरी हालसम्म चार करोड ६८ लाख ६८ हजार ६० जनाको उपचार गरेको छभने ५३ लाख ९२ हजार दुई सय २४ जनाको आँखाको शल्यक्रिया गरेको जानकारी कार्यकारी निर्देशक मिश्रले दिनुभयो ।
गोरखा: गोरखामा आठ महिनाको अवधिमा जिल्लाभर एक सय ३३ जनामा क्षयरोग पहिचान गरिएको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा यहाँका एघारवटै पालिकामा सो परिमाणमा क्षयरोगका बिरामी फेला परेका हुन् । प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी नवराज खड्काका अनुसार ७८ पुरुष र ५५ महिलामा क्षयरोग सङ्क्रमण पुष्टी भएको हो । बारपाक सुलिकोट गाउँपालिकामा सवैभन्दा बढी २६ जनामा क्षयरोग सङ्क्रमण भएको छ । भीमसेनथापा गाउँपालिकामा २५, गोरखा नगरपालिकामा २१ तथा पालुङटार नगरपालिकामा १९ जनामा क्षयरोग सङ्क्रमण पुष्टी भएको छ । यस्तै आरुघाट गाउँपालिकामा १४, सहिद लखन गाउँपालिकामा ९, अजिरकोट गाउँपालिकामा ५, धार्चे गाउँपालिकामा ५, सिरानचोक गाउँपालिकामा ४, गण्डकी गाउँपालिकामा ३ र चुमनुब्री गाउँपालिकामा दुई जनामा क्षयरोग देखिएको सूचना अधिकारी खड्काले बताउनुभयो । गत आर्थिक वर्षमा जिल्लामा २३२ जनामा क्षयरोग सङ्क्रमण पुष्टी भएको थियो ।
काठमाडौं: आज मार्च २४ तारिख । हरेक बर्ष आजकै दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । क्षयरोग रोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज रुपमा उपचारको प्रबन्ध गर्ने, गराउने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको छ । दिवसको यस वर्षको नारा ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चतता, आजको आवश्यकता’ भन्ने तय गरिएको छ । यस दिवसले क्षयरोग महामारीको अन्त्यका लागि गरिएका प्रतिबद्धता, प्रयास, तथा उपलब्धीलाई सम्झिने अवसर समेत प्रदान गरेको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले दिवसका अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ । उक्त रोगका कारण नेपालमा हजारौँ मानिस प्रभावित भइरहेका छन् । विश्वव्यापी रुपमा क्षयरोग अन्त्यका लागि गरिएका हाम्रो साझा तथा सामूहिक संकल्पमा केन्द्र कटिबद्ध रहेको जनाएको छ । केन्द्रका निर्देशक डा। श्रीराम तिवारीले जारी गर्नुभएको विज्ञप्तिमा क्षयरोग ९टीबी० विश्वभर लाखौँ मानिसलाई प्रभावित गर्ने सरुवा रोग भएको र नेपालमा यो जनस्वास्थ्य समस्याको रुपमा रहिआएको उल्लेख छ । सन् २०२३ मा विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा अनुमानित ६८ हजार नयाँ क्षयरोग प्रभावित व्यक्तिहरू थिए, जसको दर प्रति एक लाख जनसङ्ख्यामा २२९ रहेको थियो । त्यसैगरी क्षयरोगका कारण १६ हजारको मृत्यु भएको अनुमान गरिएको छ । जसको मृत्युदर प्रति एक लाख जनसङ्ख्यामा ५४ थियो । सोही अवधिमा, राष्ट्रिय क्षयरोग कार्यक्रमले ४० हजार ७७६ जना क्षयरोग प्रभावित व्यक्ति उपचारका लागि दर्ता गरेको थियो । त्यसमा ३९ प्रतिशत महिला र ६१ प्रतिशत पुरुष थिए । पत्ता लागेका औषधि प्रतिरोधी क्षयरोग प्रभावित व्यक्ति ७५६ जना थिए । उपचारका लागि दर्ता भएका मध्ये ७२ प्रतिशत फोक्सोको क्षयरोग र २८ प्रतिशत फोक्सो बाहिर अन्य अङ्गमा लाग्ने क्षयरोगी थिए । त्यसैगरी उपचार सफलता दर ९२ प्रतिशत छ । उल्लेखनीय प्रगतिका बावजुद, नेपालले अझै पनि क्षयरोग अन्त्यका लागि धेरै चुनौतीको सामना गरिरहेको केन्द्रले जनाएको छ । अनुमानित क्षयरोग प्रभावित व्यक्ति र उपचारको दायरामा आएका क्षयरोग प्रभावित व्यक्तिको सङ्ख्यामा ठूलो अन्तर छ । करिब ४० प्रतिशत अनुमानित क्षयरोग प्रभावित व्यक्तिलाई उपचारको दायरामा ल्याउन सकिएको छैन । पर्याप्त स्रोतको अभाव ‘राष्ट्रिय क्षयरोग कार्यक्रमको पञ्च वर्षीय क्षयरोग रणनीतिक योजना २०२१÷२२ देखि २०२५÷२६’ का अनुसार पाँच वर्षको लागि क्षयरोग कार्यक्रमको बजेट एक सय ९२ मिलियन अमेरिकी डलर रहेकोमा एक सय १० मिलियन मात्र ९अनुमानित० उपलब्ध छ । त्यो भनेको ४३ प्रतिशत बजेट अभाव हुनु हो । क्षयरोगको कारणबाट रोगीको परिवारमा अधिक आर्थिक व्ययभार परेको छ । राष्ट्रिय क्षयरोग बिरामी लगत सर्वेक्षण–२०२४ का अनुसार नेपालमा ५१ प्रतिशत क्षयरोग प्रभावित व्यक्ति तथा उनीहरूको परिवारलाई यस रोगको कारणबाट अधिक आर्थिक व्यय भार परेको छ । रोग अन्त्यका लागि सबै क्षेत्रको सहकार्य हुन नसक्दा थप प्रगति हासिल हुन नसकेको केन्द्रले स्पष्ट पारेको छ । रोगको अन्त्यका लागि स्वास्थ्य क्षेत्रसहित, स्वास्थ्य बाहेकका अन्य क्षेत्रहरू जस्तैः शिक्षा, श्रम तथा रोजगार, सामाजिक सुरक्षण लगायत अन्यको पनि महत्त्वपूर्ण योगदान रहनु आवश्यक छ । यसका साथै नीजि क्षेत्र र समुदायको संलग्नता पनि उत्तिकै महत्त्वपूर्ण छ । चुनौतीलाई समाधान गर्न केन्द्रले निरन्तर आफ्ना प्रयासलाई परिस्कृत गर्दै लगेको जनाएको छ । नेपालभर क्षयरोग उपचारका सेवा छ हजार २४१ स्वास्थ्य संस्था र निदानका सेवा ८०० स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध छन् । रोगको द्रूत परीक्षण सेवाको पहुँच ६७ जिल्लाका ११७ स्वास्थ्य संस्थामा पुगेको छ । यो परीक्षणबाट क्षयरोग प्रभावित व्यक्तिको औषधि प्रतिरोधको अवस्था थाहा पाउन सकिन्छ । औषधि प्रतिरोधी क्षयरोगका बिरामीको उपचार सेवा २९ वटा उपचार केन्द्र र ९८ उपचार उप– केन्द्रबाट प्रदान गरिँदै आएको केन्द्रले जनाएको छ । औषधि प्रतिरोधी बिरामीको लागि इन्जेक्सनरहित छोटो अवधिको, छ महिने उपचार ‘रेजिमेन’ उपलब्ध गराएको छ । मुलुकको सङ्घीय संरचनालाई ध्यानमा राखी नेपालले नवीनतम् प्रयासको रुपमा स्थानीय तहको नेतृत्व, उत्तरदायित्व र अपनत्व विकास गरी क्षयरोग अन्त्यका लागि भएका प्रयासलाई दिगो रुपमा गति दिनको लागि क्षयरोग मुक्त नेपाल अभियान १४९ स्थानीय तहमा विस्तार गरिएको छ । एआई जडित डिजिटल एक्सरे मेसिनद्वारा समुदायमा क्षयरोग बिरामीको सक्रिय खोजपड्ताल सुुरुआत भएको छ । राष्ट्रिय क्षयरोग छैटौँ औषधि प्रतिरोध सर्वेक्षण र पहिलो क्षयरोग बिरामी लगत सर्वेक्षण जस्ता महत्त्वपूर्ण अध्ययनसम्पन्न भएको छ । प्रत्येक वर्ष क्षयरोग रोकथाम, निदान, र उपचारसम्बन्धी सीप अभिवृद्धि तालिम सञ्चालन गरिएको छ । यी प्रयास प्रभावकारी भएपनि, क्षयरोग अन्त्यका लक्ष्य प्राप्तिका लागि सुधार गर्न धेरै बाँकी रहेको केन्द्रले जनाएको छ । आगामी दिनमा क्षयरोग प्रभावित व्यक्तिको पहिचानमा वृद्धि गर्ने, आवश्यक स्रोत तथा साधन जुटाउन तथा परिचालनको लागि स्थानीयतहलाई नेतृत्वदायी भूमिका प्रदान, एकीकृत सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ । त्यसैगरी स्वास्थ्य प्रणालीलाई सुदृढ गरी गुणस्तरीय उपचार सेवा सुनिश्चित गर्नुका साथै निजी क्षेत्रको संलग्नतालाई सुदृढीकरण गर्ने र क्षयरोग प्रभावित व्यक्तिलाई सामाजिक सुरक्षण प्रदान गर्न आवश्यक समन्वय तथा सहकार्य बढाउन विशेष प्राथमिकता निर्धारण गरिएको छ । सन् २०३० सम्ममा क्षयरोग महामारीको अन्त्य र २०५० सम्ममा क्षयरोग मुक्त नेपाल हासिल गर्ने लक्ष्यतर्फ केन्द्र अग्रसर रहेको विज्ञप्तिमा उल्लेख छ । हरेकबर्ष विश्वमा ८० लाख नयाँ क्षयरोगी थपिन्छन भने २० लाखको क्षयरोगकै कारणले मृत्यू हुने गरेको डरलाग्दो तथ्याङ्क छ । तीन हप्ता वा सो भन्दा बढी समयदेखि लगातार खोकी लागेमा, खकारमा रगत देखिएमा, श्वास फेर्न गाह्रो भएमा वा छाती भारी भइरहेमा, अकास्मात धेरै तौल घटेमा यस रोग लागेको हुन सक्छ । त्यस्तै पसिना आउने धेरै भएर थकान बढी महसुस भएमा नजिकैको स्वास्थ चौकी गएर परीक्षण गर्नुपर्दछ । शारिरीक अवस्था कमजोर भई रोग प्रतिरोधात्मक क्षमता कम भएकामा यो रोगको संक्रमण हुन सक्छ । यो रोगसँग डराउनु नपर्ने र यसको निःशुल्क उपचारको प्रबन्ध गरिएको छ । रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका मान्छेमा, चुरोट रक्सी या लागुऔषध सेवन गर्नेमा र क्षयरोगको औषधिको पूर्ण मात्रा सेवन नगरेमा उक्त रोगको पुनः संक्रमण फेरि देखिन सक्ने भएकाले उपचारमा विशेष ध्यान दिनु आवश्यक हुने जनाइएको छ । औषधिको नियमित सेवनले क्षयरोग निको हुने चिकित्सकहरुको भनाइ छ ।
बैतडी: मौसममा आएको परिवर्तनसँगै बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढेका छन् । यहाँका अस्पताल, स्वास्थ्य संस्थामा आउने बिरामीमध्ये अधिकांश भाइरल ज्वरोका रहेका स्वास्थ्यकर्मीले बताएका छन् । सदरमुकामस्थित जिल्ला अस्पतालमा मात्रै दैनिक ५० जनाभन्दा बढी भाइरल ज्वरोका बिरामी आउने गरेका अस्पातालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक एक सय ५० जनाभन्दा बढी बिरामी आउने गरेकामा ५०–८० जनासम्म भाइरल ज्वरोका रहेका छन् । सूचना अधिकारी पन्तले भन्नुभयो, “अस्पतालमा दैनिक आउने बिरामीमध्ये अधिकांशमा भाइरल ज्वरो देखिन थालेको छ । मौसम परिवर्तनका कारण भाइरल ज्वरोका बिरामी बढेका हुनसक्छ । यो मौसममा हावाहुरी, धुलोधुवाले गर्दा पनि सङ्क्रमण बढ्छ ।” उहाँका अनुसार जिल्लाको तल्लोसोराड क्षेत्रस्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा भाइरल ज्वरोका बिरामी बढेका छन् । जिल्लाका अन्य स्वास्थ्य संस्थामा उपचारका लागि आउने भाइरल ज्वरोका बिरामीको चाप बढ्न थालेको बताउँदै श्रीकोट स्वास्थ्य चौकीका इञ्चार्ज वीरसिंह भाटले मौसम परिवर्तनले गर्दा गाउँघरमा भाइरल सङ्क्रमणका बिरामी बढेका उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “अन्य बेलाको तुलनामा आजभोलि भाइरल ज्वरोका बिरामी बढेका छन् । स्वास्थ्यचौकीमा दैनिक २० जनाभन्दा बढी बिरामी ज्वरोका हुने गर्दछन् ।” मौसम परिवर्तनका साथसाथै अस्वस्थकर खान र प्रदूषित पानीले भाइरल ज्वरोको सङ्क्रमण बढेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा सुशील विकले बताउनुभयो । ज्वरो आएमा अन्य सङ्क्रमण पनि हुनसक्ने भएकाले नजिकैको स्वास्थ्य संस्थामा जाँच गराउन उहाँले सबैलाई आग्रह गर्नुभयो । ज्वरो आएमा आफूखुसी मेडिकलबाट औषधि किनेर नखान स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन् । ज्वरो आउने वित्तिकै मेडिकलबाट औषधि किनेर खाने प्रवृति रहेकाले त्यसो नगरी स्थ्यकर्मीसँग जाँच गराएर मात्रै औषधि प्रयोग गर्न डा विकले आग्रह गर्नुभयो । जथाभावी औषधिको प्रयोग गर्दा स्वास्थ्यमा अन्य समस्या पनि निम्तिन सक्ने भएकाले स्वास्थ्य संस्थामा जाँच गराएर मात्रै सेवन गर्नुपर्ने, भाइरल ज्वरोसहित रुघा, खोकीलगायत सङ्क्रमणबाट बच्न शुद्धीकरण गरिएको पानी प्रयोग गर्नुपर्नेमा स्वास्थ्यकर्मीले जोड दिएका छन् ।