पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बिहीबार हुने प्रथम दीक्षान्त समारोहमा ४३ जना विद्यार्थी दीक्षित हुने भएका छन् ।   प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हुन लागेको दीक्षान्त समारोहमा ‘डक्टर अफ मेडिसिन/मास्टर अफ सर्जरी’ (एमडि/एमएस) प्रथम र दोस्रो ब्याचका ४३ जना विद्यार्थी दीक्षित हुने प्रतिष्ठानका सूचना अधिकारी सुशीलकुमार अर्यालले जानकारी दिए।   साविक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखराको भौतिक संरचना एवं स्वास्थ्य सेवाको सुदृढ जगमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७२ बमोजिम प्रतिष्ठान स्थापना भएको थियो ।   चिकित्सा शिक्षासँग सम्बन्धित जनशक्ति उत्पादन र सेवाग्राहीको उपचारलाई प्रभावकारी रूपमा अघि बढाउन प्रयत्नशील प्रतिष्ठानले पहिलो दीक्षान्त समारोह गर्न लागेको हो ।

काठमाडौं:   काठमाडौं जिल्लामा करिब एक लाख १० हजार २६३  किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) लगाइने भएको छ ।       जनस्वास्थ्य कार्यालय काठमाडौँले आज यहाँ आयोजना गरेको जिल्ला खोप समन्वय समिति र सञ्चार क्षेत्रको अभिमुखीकरण कार्यक्रममा कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्टले काठमाडौँका ११ स्थानीय तहका एक लाख १० हजार २६३ जना किशोरीलाई खोप लगाइने जानकारी दिनुभयो ।  उहाँका अनुसार कक्षा ६ देखि १० सम्मका ९७ हजार ५४० र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १२ हजार ७२३ किशोरीलाई खोप लगाइनेछ ।        काठमाडौँ महानगरपालिका क्षेत्रमा सबैभन्दा बढी ५१ हजार ३४७ किशोरी र सबैभन्दा कम नागार्जुन नगरपालिकामा चार हजार ६५२ किशोरीलाई एचपिभी खोप दिइने विष्टले बताउनुभयो ।  एक हजार १०१ विद्यालय र एक सय ४६ अन्य खोप केन्द्रमार्फत ती उमेरका किशोरीलाई खोप प्रदान गरिनेछ । खोपका लागि दुई हजार ४१२ स्वास्थ्यकर्मी खटिनेछन् । खोप अभियान माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन हुने महानगरले जनाएको छ ।       जनस्वास्थ्य कार्यालयका प्रमुख वसन्त अधिकारीले नगरपालिकामा प्रमुख र वडा कार्यालयमा वडाध्यक्षको संयोजकत्वमा खोप समिति गठन गरेर कोही किशोरी पनि खोपबाट वञ्चित हुन नपरोस् भनेर काम भइरहेको बताउनुभयो । उहाँले खोप लगाउन छुट्न सक्ने ठाउँको पहिचान गरेर विशेष अभियानसमेत सञ्चालन गरिने बताउनुभयो ।  सरकारले देशभरिका कक्षा ६ देखि १० सम्मका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय  किशोरीलाई लक्षित गरी क्यान्सरविरुद्धको खोप अभियान सञ्चालन गर्दैछ ।       पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरस सङ्क्रमण रहेकाले यसविरुद्ध खोप लगाउनुपर्ने हुन्छ । नेपालमा महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबभन्दा बढी देखिने र त्यसपछि स्तन क्यान्सर रहेको जानकारहरूले बताएका छन् । 

जुम्ला:    जुम्लाका आठवटै स्थानीय तहका आठ हजार आठ सय २९ जना छात्रालाई क्यान्सरविरूद्धको खोप दिइने भएको छ ।   नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत यहाँका सामुदायिक तथा निजी विद्यालयका  कक्षा ६ देखि १० सम्म अध्यनरत करिब आठ हजार आठ सय २९ छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापीलोमा भाइरस) विरूद्धको खोप दिइने जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिनुभयो ।  उक्त भाइरसविरूद्धको खोप कार्यक्रम सञ्चालनका लागि जिल्लाका सबै स्थानीय तहबाट तथ्याङ्क सङ्कलन भइरहेको छ । देशव्यापी खोप कार्यक्रमअन्तर्गत आगामी माघ २२ गतेदेखि फागुन ६ सम्म एकैपटक सञ्चालन हुनेछ ।  जुम्लाको हकमा फागुनदेखि सामुदायिक विद्यालय खुल्ने भएकाले त्यसैअनुसार कार्यालयले खोप कार्यक्रम सञ्चालनका लागि स्थानीय तहका स्वास्थ्य शाखासँग छलफल भइरहेको छ । कार्यालय प्रमुख सापकोटाले भन्नुभयो, “विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका एक हजार पाँच सय ८६ जना र विद्यालयभित्रका सात हजार दुई सय ४३ गरी आठ हजार आठ सय २९ जना छात्रालाई उक्त खोप लगाउने तयारी गरिएको छ । कार्यालयको तथ्याङ्कअनुसार जिल्लाको चन्दननाथ नगरपालिकाका एक हजार आठ सय ७९ जना, गुठीचौर गाउँपालिकामा पाँच सय २०, हिमामा एक हजार १३ र कनकासुन्दरीमा नौ सय ६७ जनालाई  खोप लगाइने छ ।  त्यस्तै पातारासी गाउँपालिकामा एक हजार एक सय ५८, सिंजामा नौ सय सात, तातोपानीमा एक हजार एक सय ५३ र तिलामा एक हजार दुई सय ३२ जना छात्रालाई खोप लगाउने योजनाबारे छलफल भइरहेको स्वास्थ्य कार्यालय जुम्लाका प्रमुख सापकोटाको भनाइ छ ।   विद्यालय बाहिर रहेका किशोरीको हकमा जन्मदर्ताका आधारमा उमेर हेरेर खोप लगाइने छ । नेपाल सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट प्रमाणित उक्त खोप १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीलाई एचपिभीको सङ्क्रमणबाट सुरक्षित हुन अभियान सञ्चालन गर्न लागिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ ।

काठमाडौं:    विदेशमा रहेका नेपालीले नेपाली नेत्रविशेषज्ञबाट आँखा उपचार सेवा लिन  पाउने भएका छन् । नेपाल नेत्रज्योति सङ्घले विदेशमा बस्ने नेपालीलाई लक्षित गर्दै विदेशमा आँखा उपचार सेवा विस्तार गरेपछि विशेष गरेर वैदेशिक रोजगारीमा सम्लग्न नेपाली लाभान्वित भएका हुन् ।  सङ्घले पहिलो पटक यस्तो सेवा ओमानबाट सुरुआत गरिसकेको सङ्घका महासचिव भरतबहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घले अब छिट्टै थाइल्याण्ड र मलेसियामा आँखा उपचार सेवा थालनी गर्नेछ ।  महासचिव चन्दले भन्नुभयो, “ नेपाली राजदूतावास, गैर आवासीय नेपाली सङ्घको सहकार्यमा सङ्घले विदेशमा आँखा उपचार सेवा विस्तार गरिसकेको छ । सङ्घको आँखा उपचार सेवा सस्तो र गुणस्तरीय हुने भएकाले यसको माग विभिन्न देशमा बस्ने नेपालीबाट भैराखेको छ । पहिलो पटक ओमानबाट सेवा सुरुआत गरिसक्यौ, अब निकट भविष्यमा थाइल्याण्ड र मलेसियबाट पनि आँखा उपचार सेवा थालिने गरिने छ । ” नेत्रविशेषज्ञ प्राडा देवनारायण साहको अध्ययन अनुसार नेपालको आँखा स्वास्थ्य उपचार सेवा विश्वमै सस्तो र गुणस्तरीय रहेको छ । यही कारण नेपालमा आँखा उपचार सेवा लिने विदेशीको सङ्ख्या पनि वृद्धि भैराखेको छ । उहाँका अनुसार तेस्रो मुलुकबाट मात्र गत वर्ष दुईलाख ५० हजार विदेशी नागरिकले नेपालको आँखा अस्पतालबाट सेवा लिएका थिए ।  अर्कोतर्फ सङ्घले मागका आधारमा विदेशमा आफ्ना नेत्रविशेषज्ञलाई पठाइ सेवा दिने समेत गरेको छ । गत असोजमा सङ्घद्वारा सञ्चालित लुम्बिनी नेत्र विज्ञान अध्ययन सस्थान तथा रिसर्च सेन्टर रण अम्बिका शाह आँखा अस्पताल भैरहवामा कार्यरत चिकित्सले बङ्गलादेशको ढाकास्थित नेशनल इन्टिच्यूट अफ अप्थाल्मोलोजीमा सेवा प्रदान गर्नुभएको थियो ।  नेपाली चिकित्सकले ढाकामा भएको आन्दोलनका क्रममा आँखामा चोट लागेर नानी च्यातिएका, नानीमा गहिरो चोट लागेका, आँखाको पर्दा च्यातिएका ,नानीमा रगत जमेका लगायत समस्या देखिएका बिरामीको उपचार तथा शल्यक्रिया गरेका थिए ।  सङ्घका कार्यकारी निर्दशक डा शैलेशकुमार मिश्रले भन्नुभयो “पछिल्ला वर्षमा नेपाल आँखा उपचारको पर्यटन गन्तव्य अर्थात् ‘आइ मेडिकल टुरिजम’को रुपमा विकसित हुँदै गएको छ । सन् २०२३ मा मात्र भारत र बंगलादेश सहित विभिन्न देशका आठलाख आँखाका बिरामीले सङ्घको सञ्जालमार्फत् आँखा उपचार गराएका छन् । ” नेपालको आँखा स्वास्थ्य सेवामा सबैभन्दा ठूलो संयन्त्र भएको सङ्घ अन्तर्गत हाल देशभर २८ आँखा अस्पताल, एकसय ६० आँखाउपचार केन्द्र तथा ४५ जिल्ला शाखा सञ्चालनमा रहेको छ ।  विसं २०३५ मा स्थापना भएको सङ्घ ले हालसम्म नेपाली नागरिक तथा अन्य नागरिक गरी कूल चारकरोड ३६ लाख २६ आँखा  बिरामीलाई उपचार सेवा प्रदान गरिसकेको छ । यसैगरी ५१ लाख ३३ हजार छसय ५९ जनाको शल्यक्रिया मार्फत आँखाको ज्योति फर्काउन सफल भएको छ ।   सङ्घका उपाध्यक्ष श्यामकुमार पोखरेलले भन्नुभयो, “आँखा उपचार गर्न भनेर विदेश जानुपर्दैन, अव विदेशी नेपाल आउन थालेका छन् । आँखा स्वास्थ्य सेवामा नेपाल सक्षम भएको छ । ”

हुम्ला:     हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधि अभाव भएको छ । गाउँपालिकाभित्र रहेका सबै स्वास्थ्य संस्थामा एक महिनादेखि औषधि अभाव भएको हो ।    सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा परेका स्वास्थ्यकर्मीले बताएका छन् ।  गाउँपालिकामा चार स्वास्थ्य चौकी, एक सामुदायिक अस्पताल, एक आधारभूत स्वास्थ्य केन्द्र र ६ आधारभूत स्वास्थ्य एकाइ छन् । ती स्वास्थ्य संस्थामा बिरामी जाने गरेका भए पनि औषधि नहुँदा उपचारबिना फर्किने गरेका छन् ।  स्वास्थ्यचौकीमा औषधि लिन पुग्दा स्वास्थ्यकर्मीले औषधि छैन भनेर फर्काइदिने गरेको रायाँ गाउँका दलसुर परियारले बताए ।           स्वास्थ्य संस्थामा सिटामोलका साथै रुघाखोकी, दमलगायतका बिरामीका लागि आवश्यक पर्ने औषधि अभाव भएको छ ।  सो गाउँपालिकाका स्वास्थ्य संयोजक हरिभक्त शाहीका अनुसार औषधि खरिदका लागि बोलपत्र आह्वान ढिला गरेका कारण औषधि अभाव भएको हो । दशैँअघि रु पाँच लाखको औषधि खरिद गरिद गरेको उनले बताए । “दशैँमा खरिद गरेको औषधि सकिएको छ”, उनले भने ।             गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले यहाँका स्वास्थ्य संस्थामा चाहिने औषधि र उपकरण खरिद गर्न टेण्डर आह्वान भएर स्वीकृत भएको  बताए । माघ पहिलो सातासम्म औषधिको व्यवस्था गरिने उनले बताए ।       स्वास्थ्य चौकीमा औषधि अभाव हुँदा उपचारका लागि बिरामी जिल्ला अस्पताल सिमकोट धाउने गरेका छन् । खार्पुनाथ–१ को पिउस आधारभूत स्वास्थ्य एकाइ, वडा नम्बर ३ को कारङगा, वडा नम्बर ४ को लेख, छिप्रा आधारभूत स्वास्थ्य एकाइ, वडा नम्बर ५ को दुर्पा र ताक्ला आधारभूत स्वास्थ्य एकाइमा औषधि अभाव भएको हो । 

गलकोट:   बागलुङको धौलागिरि अस्पतालमा चार महिनादेखि मनोचिकित्सकको अभाव हुँदा मनोरोग विभागको सेवा प्रभावित भएको छ । तीन वर्षदेखि सक्रिय मनोरोग विभाग चार महिनायता ठप्पजस्तै बनेको अस्पतालले जनाएको छ ।       पछिल्लो समय मनोरोगका बिरामी बढ्दो क्रममा रहेका भन्दै मनोरोगको समयमा उपचार नहुँदा आत्महत्याको दर बढ्दै जाने चिकित्सक बताउँछन् ।        केबी रानामगर अस्पताल व्यवस्थापन समितिको अध्यक्ष रहँदा मनोरोग विभाग स्थापना गरी उपचार तथा मनोपरामर्श सेवा सञ्चालन गरिएको थियो । मनोरोगको उपचार थालेपछि पोखरा र काडमाडौँ जानुपर्ने झन्झट अन्त्य भएको थियो ।      पछिल्लो १२ महिनादेखि विभाग सञ्चालन गरिरहनुभएका मनोचिकित्सक डा मानकाजी थापा भदौमा सङ्घीय सरकारअन्तर्गतको विभागमा सिफारिस भएपछि अस्पतालमा मनोचिकित्सकको पद खाली छ ।      अस्पतालले विशिष्टकृत सेवाका रूपमा दिइरहेको मनोरोग विभागमा अहिले एक जना मनोपरामर्शदाता मात्रै कार्यरत रहनुभएको अस्पतालका मेडिकल रेकर्डर नवराज शर्माले जानकारी दिनुभयो ।  उहाँका अनुसार मनोचिकित्सक राजेन्द्र घिमिरे गएपछि एक महिना खाली भएको विभाग थापाको नेतृत्वमा सञ्चालनमा आएको थियो । गत भदौमा थापा पनि अन्यत्र सिफारिस भएपछि उक्त विभागमा चिकित्सकको अभाव भएको हो ।      गरिबी, सामाजिक, सांस्कृतिक लैङ्गिक विभेद, विलाशी जीवनशैली, आवश्यकता, वैदेशिक रोजगारीको प्रभाव, सामाजिक सञ्जालको दुरुपयोग, बेरोजगारी, पढाइको दबाब, दुव्र्यसन, एक्लोपन, अभिभावकले छोराछोरीलाई समय नदिनु, मानसिक तनाव, महत्वाकाङ्क्षी, मोबाइलको बढ्दो प्रयोगलगायत कारणले पछिल्लो समय मनोरोगका बिरामीको सङ्ख्या बढेको जिल्लास्थित जनस्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाउँछ । मनोरोगको परिणाम आत्महत्यासम्मको जोखिम बढ्ने स्वास्थ्यकर्मी बताउँछन् ।      अस्पतालमा मनोचिकित्सकको दरबन्दी नभएकाले समस्या भएको अस्पतालका मेडिकल रेकर्डर शर्माले बताउनुभयो । उहाँले मनोचिकित्सकको दरबन्दी कायम गर्न स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशमा समन्वय भइरहेको उहाँले उल्लेख गर्नुभयो ।      अस्पतालको मनोरोग विभागमा अहिले मनोपरामर्शदाताका रूपमा आशा थापा कार्यरत रहनुभएको छ । चिकित्सक नहुँदा औषधि दिनुपर्ने मनोरोगी, एन्जाइटीलगायत बिरामीलाई पोखरा पठाउनुपर्ने बाध्यता रहेको थापाले बताउनुभयो ।       बागलुङ नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले पछिल्लो समय जिल्लामा मनोरोगका काराण अत्महत्याको दर बढेको बताउनुभयो । “मनोरोगका कारण आत्महत्यासम्मको अवस्थामा पुग्ने देखियो, साना बालबालिकालाई मोबाइल नदिने, अविभावकको निगरानीमा राख्न आवश्यक छ”, उहाँले भन्नुभयो, “अहिले आत्महत्याको सङ्ख्याभन्दा निरुपणमा जान आवश्यक छ, स्थानीय तहमा मनोपरामर्श कक्षा चलाउन आवश्यक छ ।”      पछिल्लो तीन वर्षयता बागलुङ नगरपालिकामा मात्रै ४२ जनाले आत्महत्या गरेका छन् । सामाजिक विभेद, बेरोजगारी, सामाजिक सञ्जालको दुरुपयोगलगायत कारणले एकोहोरोपना बढ्ने, डिप्रेशनमा जाने, अन्तत मनोरोगी भएर आत्महत्याको बाटो रोज्ने गरिेका पाइएको खनालले बताउनुभयो ।       बागलुङमा एक वर्षमा ६० जनाले आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । जिल्लामा हुने विभिन्न घटनामध्ये आत्महत्याको ‘ग्राफ’ बर्सेनि बढ्दै गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो । मनोरोग, उदासिनता, दुव्र्यसन, पारिवारिक समस्या, मायाप्रेम तथा वैदेशिक रोजगारीबाट उत्पन्न समस्यालगायता कारण आत्महत्या गर्नेको सङ्ख्या बढ्दै गएको उहाँले बताउनुभयो ।      झुण्डिएर, विष सेवन, हाम फालेर आत्महत्या गर्ने बढी रहेका प्रहरीको तथ्याङ्कमा उल्लेख छ । आर्थिक वर्ष २०७८र७९ मा ३७ जनाले आत्महत्या गरेकामा झुण्डिएर ३४, हाम फालेर दुई र विष सेवन एक जना रहेका प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आव २०७९र८० मा ४५, गत आवमा ६० जनाले आत्महत्या गरेका छन् ।      प्रहरी निरीक्षक पौडेलले आत्महत्याको विषयमा जनचेतना फैलाउने, स्थानीय तहअन्तर्गत स्वास्थ्य संस्थाले मनोपरामर्श दिने, विभिन्न सङ्घ संस्थाले आत्महत्या रोक्न अभियान सञ्चालन गरिरहे पनि आत्महत्या गर्नेको सङ्ख्या भने बढ्दै गएको बताउनुभयो ।  उहाँले पछिल्लो तीन वर्षको तथ्याङ्कका आधारमा आत्महत्या गर्नेको सङ्ख्या दोब्बरले वृद्धि भएको जानकारी दिनुभयो ।

काठमाडौं:    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनमा देखिएको भनिएको ‘मानव मेटाप्न्यूमो भाइरस’ (एचएमपिभी) को साधारण भाइरस भएको जनाएको छ ।  मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी यसबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गरिएका भ्रामक प्रचारप्रति ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता हल्लाको पछि नलाग्न आग्रह गरेको छ ।       “जाडो महिनामा श्वासप्रश्वासजन्य सङ्क्रमणको दर बढ्नु स्वाभाविक मानिन्छ, मानव मेटाप्न्यूमो भाइरस नयाँ भाइरस होइन, जुन नेपालमा विगतमा पनि देखिएको साधारण रुघाखोकी उत्पन्न गराउने भाइरस हो, जसको परीक्षण, निगरानी र प्रतिकार्यका लागि आवश्यक क्षमता र तयारी नेपालले गरिसकेको छ”, विज्ञप्तिमा भनिएको छ ।       मन्त्रालयले यस भाइरसबाट गम्भीर समस्या देखिने जोखिम कम रहेको र यसको सङ्क्रमण सामान्यतः कमजोर प्रतिरक्षा क्षमता भएका व्यक्तिहरू, साना बालबालिका र वृद्ध व्यक्तिहरूमा मात्र हुने सम्भावना रहेको जानकारीसमेत गराएको छ ।  तथापि  मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, अस्पतालहरू र प्रयोगशालाद्वारा निगरानी तथा सजगता बढाइएको मन्त्रालयले जनाएको छ ।       एचएमपिभी, एम्प्क्सलगायत सङ्क्रामक रोगहरूमा जनस्वास्थ्यका मापदण्ड पालना गर्नु उचित हुने भएकाले व्यक्तिगत सुरक्षाका उपाय (मास्क लगाउने, भीडभाडमा नजाने) अपनाउन मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।  यस्तै, बिरामीको नजिक÷सम्पर्कमा नजान, साबुन पानीले हात धुन र स्वास्थ्यमा समस्या आइपरेमा अस्पताल गई चिकित्सकको उचित सल्लाह लिन र मन्त्रालयको हेल्लो स्वास्थ्य कल सेन्टर १११५ मा सम्पर्क गरी परामर्श लिन पनि मन्त्रालयले अनुरोध गरेको छ । 

काठमाडौं:    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सरकारले मस्तिष्कघातको नि:शुल्क उपचारको तयारी गरिरहेको बताउनुभएको छ ।       कान्ति बाल अस्पतालको ६३औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले यसका लागि मन्त्रालयले कार्ययोजना बनाइरहेको बताउनुभयो । उहाँले कान्ति बाल अस्पतालमा बाल क्यान्सरको निःशुल्क उपचारको व्यवस्था बनाइसकेको समेत उल्लेख गर्नुभयो ।       कान्ति बाल अस्पतालमा भौतिक पूर्वाधार र जनशक्तिको अभाव रहेको विषयमा आफू जानकार रहेको बताउँदै उहाँले मन्त्रालयका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । “अस्पतालले हाल सीमित स्रोत र साधनका बावजुद गुणस्तरीय सेवा प्रवाह गरिरहेको छ, यसैका कारण धेरैको विश्वास कान्तिमा छ”, उहाँले भन्नुभयो ।       त्यस अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य प्राडा आरपी विच्छाले कान्ति अस्पताललाई बाल स्वास्थ्य अध्ययन संस्थानका रुपमा विकास गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।       “अस्पतालमा शय्याको सङ्ख्या बढाए पनि बिरामीको चाप कम भएको छैन”, उहाँले भन्नुभयो, “अस्पतालमा बिरामीको चाप कम गर्न प्रत्येक प्रदेशमा एक सयदेखि तीन सय शय्यासम्मको बाल अस्पताल निर्माण गर्नुपर्छ ।”      अस्पताल विकास समितिका अध्यक्ष श्रीराम सुवेदीले अस्पताल चिकित्सा क्षेत्रको राष्ट्रिय सम्पदाका रुपमा रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “अस्पतालले उपचार सेवामा विविधिकरण र विशिष्टीकरण गरेको छ । हाल १४ वर्ष मुनिका उपचार गर्ने बालबालिकाको सङ्ख्या २८ प्रतिशत छ । यो समूहलाई उपचार सेवा दिएर ठूलो सेवा गरेको छ ।”      उहाँले बिरामीको चापको अनुपातमा भौतिक संरचना र जनशक्ति कम रहेको बताउनुभयो । अस्पतालले वार्षिकोत्सवको अवसरमा वायु गुणस्तर मापन उपकरण जडान गरेको उहाँले जानकारी दिनुभयो ।       अस्पतालका निर्देशक डा पङ्कज रायले अस्पतालमा हाल जनशक्ति र भौतिक पूर्वाधारमा कमी रहेकाले सुधार गर्दै जानुपर्ने आवश्यकता औँल्याउनुभयो ।       “अस्पतालमा अहिले पनि शल्यक्रियाका लागि पालो पर्खिनुपर्ने अवस्था छ । सघन उपचार कक्ष पनि थप गर्नुपर्नेछ”, उहाँले भन्नुभयो, “अस्पतालको वृहत गुरुयोजना अनुरुप विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)को काम सुरु भइसकेको छ ।” उहाँले थप स्रोत जुटाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कतार दूतावाससँग पहल गरिरहेको जानकारी दिनुभयो ।             देशको एकमात्र सरकारी केन्द्रीय तथा रिफरल बाल अस्पतालका रुपमा रहेको कान्ति बाल विसं २०१९ पुस २२ गते स्थापना भएको हो । तत्कालीन समयमा ५० शय्याबाट सुरु भएको यस अस्पतालमा हाल तीन सय ७२ शय्या छन् ।  अस्पतालले आर्थिक वर्ष २०८०/८१ म एक लाख ८० हजार बालबालिकालाई सेवा उपलब्ध गराएको सो अवसरमा जानकारी दिइयो ।

पोखरा:    रोटरी क्लव अफ पोखरा न्युरोड र रोटरी क्लब अफ नक्शाल शक्तिको संयुक्त आयोजना तथा गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा रोटरी बर्ष २०२४÷२५ मा महिलाहरुको निशुल्क पाठेघरको मुखको भिआईए परिक्षणमा ८२ जना मध्येमा ३ जना महिलामा पोजेटिभ देखिएको छ । पोखरा महानगरपालिका वडा नं १६ मा जुम्लेटीमा आयोजना गरिएको सो शिविरमा सहरी सुविधा भएपनि जनचेतनाको कमीका कारण महिलाहरुले समय–समयमा स्वास्थ्य परिक्षण नगर्दा सो परिणाम आएको पोखरा महानगरपालिका वडा नं १६ का वडाअध्यक्ष अमृत तिम्सिना बताउनुभयो । पोजेटिभ देखिएका महिलाहरुको थप उपचार गण्डकी मेडिकल कलेजमा उपचार गरिनेछ । यही पौष १८ गते देखि विभिन्न चरणमा यो वर्ष भरि नै करिब करिव १ हजार ५ सय जना महिलाहरुको निशुल्क पाठेघरको मुखको परिक्षण सेवा प्रदान गर्ने योजनामा रहेको रोटरीले आगामी शनिबार सोही शिविर वडा नं ७ मासबारमा गर्ने क्लबका अध्यक्ष दिपेन्द्र शर्माले जानकारी दिनुभयो । स्वार्थ भन्दा माथी सेवा भन्ने मूल उद्देश्यका साथ स्थापित रोटरीले महिला तथा शिशु स्वास्थ्य अन्तरगत रहेर यो परिक्षण कार्यलाई यस बर्ष विभिन्न चरणमा कास्की, तनहुँ, स्याङ्गजा, पर्वत, बागलुङ लगायतका गण्डकी प्रदेशका जिल्लाहरुका विभिन्न पालिका र वडाहरुका महिलाहरुमा भिआईए परिक्षण गर्न गईरहेको डिष्ट्रिक मेम्भरसिप चियर सुवास सिग्देलले जानकारी दिनुभयो । महिलामा पाठेघरको मुखको क्यान्सरको समस्या बढी रहेको कारणले पनि ग्रामीण भेगमा यसको पहँुच पुर्याउन यो कार्यक्रम सहयोगी भन्ने गण्डकी मेडिकल कलेजका संचालक एवं रोटरी क्लव अफ नक्शाल शक्तिका संस्थापक अध्यक्ष डा. लुना अर्यालले बताउनुभयो । अधिकांश महिलाहरूमा पछिल्लो समय पाठेघरको मुखको भिआइए परिक्षण नगर्दा देखिएको समस्या–क्यान्सरबाट पिडीत भई आन्तिम प्रहरमा पुगेपछि मात्र थाहा पाउने अवस्थाबाट महिलाहरु सजग रहने बातावरण बन्न सकोस् भन्ने मूल उद्देश्य अनुरुप यस कार्यक्रमलाई मेडिकल कलेजको सहयोग रहेको कुरा डा. अर्यालले बताउनुभयो ।  सो कलेजका प्रध्यापक वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. चण्डीका पंडितले २९ बर्ष देखि ६५ बर्ष महिला समुहमा हुने यस समस्याका लागि प्रारम्भिक जाँच गर्न जरुरी रहेको हुँदा यो अभियान सुरु गरिएको बताउनुभयो । उहाँले नेपालमा १५ वर्ष वा माथिका ११.५ प्रतिशत महिलाहरू पाठेघरको मुखको क्यान्सरको जोखिममा रहेको तथ्याङ्क बारे जानकारी दिनुभयो । हरेक वर्ष २ हजार २ सय ४४ महिलामा पाठेघरको मुखको क्यान्सर हुने गरेको र १ हजार ४९३ जनाले यस रोगबाट मृत्यु हुने गरेको उहाँले बताउनुभयो ।