बागलुङ: निसी, भुजी र तमानखोलाको संगममा छ बुर्तिबाङ बजार । जिल्ला सदरमुकामदेखि ९० किलोमिटर पश्चिममा रहेको यस बजारमा बिस्तारै विकासले गति लिन थालेको छ । जिल्लाकै दोस्रो र पश्चिम बागलुङको सबैभन्दा ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको बुर्तिबाङ क्षेत्रमा अहिलेसम्म सुविधायुक्त अस्पताल थिएन । सुविधायुक्त अस्पताल नहुँदा पश्चिम बागलुङका हजारौँ नागरिक बागलुङ, पाल्पा, पोखरा र काठमाडौँ पुगेर उपचार गराउँदै आएका थिए । केही वर्षयता बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट पनि विशेषज्ञ सेवा प्रदान हुँदै आएपछि केही सहज भएको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा राम्रो सेवा पाउन नसक्दा पश्चिम क्षेत्रका नागरिकले सामान्य उपचारका लागि लाखौँ खर्च गरेर देशका ठूला सहरमा रहेका अस्पतालमा पुग्नुपर्ने बाध्यता थियो । पश्चिम बागलुङका नागरिकका लागि लक्षित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई जिल्ला अस्पतालका रूपमा स्तरोन्नति गर्नका लागि २०६४ साउन १५ गते स्वास्थ्य मन्त्रालयले निर्णय गरे पनि कार्यान्वयन हुन सकेको थिएन । अहिले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र जिल्ला अस्पताल नभई प्रदेशस्तरीय नै बनेको छ । गण्डकी प्रदेश सरकारको सिफारिसमा संघीय सरकारले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेशस्तरीय ५० शय्याको अस्पताल बनाएको छ । रु ३२ करोड लागतमा जिल्ला अस्पताल सञ्चालन गर्नका लागि बनेको संरचनामा अहिले प्रदेश अस्पताल सुरु गरिएको हो । अहिलेसम्म उक्त संरचनामा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा थियो । संरचना बनेको साढे एक दशक बढी समयपछि बुर्तिबाङमा ५० शय्याको अस्पताल बनेपछि पश्चिम बागलुङवासीमा खुसी छाएको छ । प्रदेश सरकारले प्राथमिक स्वास्थ्य केन्द्रलाई एकै पटक प्रदेशयस्तरीय अस्पतालमा स्तरोन्नति गरेसँगै जनशक्ति र उपकरण व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ । स्थानीय र सरोकारवाला निकायको लामो प्रयासपछि प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेशस्तरीय अस्पताल बनाए पनि जनशक्ति र आवश्यक उपकरण व्यवस्थापन गर्न बाँकी छ । अहिले प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका कर्मचारीले नै सेवा दिइरहेको बुर्तिबाङ अस्पतालका प्रमुख नवीन्द्र ढकालले जानकारी दिए । ढकालका अनुसार हाल ४७ जना कार्यरत रहेका छन् । ढोरपाटन नगरपालिकाले करार सेवामा २२, स्वास्थ्य केन्द्र व्यवस्थापन समितिबाट छ र निकसाइमन इनिस्टिच्यूट संस्थाबाट छजना कर्मचारीबाटै काम हुँदै आएको छ । गण्डकी प्रदेश सरकारको नीतिअनुसार प्रदेशस्तरीय अस्पताल सञ्चालनका लागि अब नौ विशेषज्ञ डाक्टर, आठ मेडिकल अधिकृतसहित ६९ कर्मचारी आवश्यक पर्ने उनको भनाइ छ । अहिले एक बालरोग विशेषज्ञ, एक एमडिजिपी विशेषज्ञ, तीन मेडिकल अधिकृत, तीन स्टाफ नर्स, चार हेल्थ असिस्टेन्ट, चार अहेब, पाँच अनमी र नौ कार्यालय सहयोगीलगायत कर्मचारीले सेवा दिइएको प्रमुख ढकालले बताए । हाल स्वास्थ्य केन्द्रबाट चौबिसै घण्टा आकस्मिक, बहिरङ्ग, शल्यक्रियाद्वारा प्रसूति सेवा, सामान्य शल्यक्रिया, बालरोग विशेषज्ञ सेवा, जनरल फिजिसियन विशेषज्ञ सेवा, अत्याधुनिक प्रयोगशाला सेवा, जिनएक्पट सेवा, दन्त, आँखा उपचार सेवालगायतको सेवा दिँदै आएको उनको भनाइ छ । प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी ५० शय्याको प्रदेशस्तरीय अस्पताल सञ्चालन गर्न अब दक्ष जनशक्ति र उपकरण व्यवस्थापन भए सहजरुपमा नागरिकलाई प्रभावकारी सेवा दिन सकिने ढकालले बताए । “प्रदेशस्तरीय अस्पताल घोषणा भएपछि यस क्षेत्रका नागरिकहरूमा खुसी छाएको छ, पहिले बनेको संरचना पर्याप्त भएको हुँदा तत्कालका लागि थप संरचनाको आवश्यक छैन, अब प्रदेशले आकस्मिकदेखि सबै वडामा जनशक्ति र उपकरण व्यवस्थापन गरे हुन्छ”, प्रमुख ढकालले भने, “हामीहरूले प्राथमिक स्वास्थ्य केन्द्र भए पनि २५ शय्यासम्मको सेवा दिँदै आएका थियौँ, उपकरण र डाक्टर नहुँदा धेरै बिरामी अन्यत्र पठाउन बाध्य थियौँ, अब त्यो समस्या समाधान भएको छ ।” बुर्तिबाङ स्वास्थ्य केन्द्रमा वार्षिक करिब ६ सय महिला प्रसूति हुने गरेका छन् । दैनिक तीन सय जनालाई बहिरङ्ग र ३० जनालाई आकस्मिक सेवा दिँदै आएको प्राथमिक स्वास्थ्य केन्द्र प्रदेशस्तरीय अस्पताल सञ्चालनमा आएपछि बिरामी बढ्न थालेका हुन् । अस्पताल व्यवस्थापनका अनुसार १४ रोपनी नौ आना जग्गामा तीन ब्लगसहित ४८ कोठासहितका भवन र एक आवासीय भवन रहेका छन् । छ दशकअघि साबिक बुर्तिबाङ गाविसअन्तर्गतका स्थापना भएको स्वास्थ्य संस्था अहिले प्रदेश अस्पतालका रूपमा विकास भएको छ । यस संस्था २०३५ सालमा उपस्वास्थ्य चौकी, २०४२ सालमा स्वास्थ्यचौकी, २०४८ सालमा सामुदायिक स्वास्थ्य केन्द्र र २०५२ सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्तरोन्नति भएको थियो । विसं २०६४ मा जिल्ला अस्पतालका रूपमा स्तरोन्नति गर्नका लागि रु ३२ करोड लागतमा भौतिक पूर्वाधार निर्माण थालिएकामा लामो समयदेख स्तरोन्नति हुन सकेको थिएन । गण्डकी प्रदेश सरकारले संघीय सरकारको अनुमतिमा चालु आवमा अस्पताल स्तरोन्नति गर्नका लागि रु १२ करोड बजेट विनियोजन गरेको थियो । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा बागलुङको पश्चिम क्षेत्रका जनतालाई सेवा प्रदान गर्दै आइरहेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याको प्रादेशिक अस्पतालका रूपमा सञ्चालनमा ल्याइने घोषणाअनुरूप अस्पताल स्तरोन्नति गरिएको हो । यही पुस १२ गते गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अस्पतालको उद्घाटन गरेका थिए ।
काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निजी अस्पतालहरूले पनि बीमाको सुविधा दिनुपर्ने बताएका छन् । शुक्रबार एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालको २६ औँ वार्षिक दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै उनले निजी अस्पतालहरूले पनि बीमाको सुविधा दिने व्यवस्था गर्न लागिएको बताएका हुन् । मन्त्री पौडेलले सरकारी अस्पतालमा मात्रै स्वास्थ्य बीमाको सुविधा लिन पाइने तर निजीमा लिन नपाइने अवस्थाको अन्त्य गर्दै सबै अस्पतालहरूमा बीमा सुविधा हुनुपर्ने बताए । त्यसको लागि बीमा बोर्ड शक्तिशाली हुनुपर्ने उनले बताए । उनले नियमन गर्ने निकाय र कार्यान्वयन गर्ने निकाय फरक–फरक हुनुपर्ने पनि बताए । कार्यान्वयन र नियमन एउटै निकायले गर्दा बीमा व्यवस्थित गर्न नसकिने उनको भनाइ छ । उनले भने, ‘अब सरकारी अस्पतालमा मात्रै बीमाको सुविधा लिन पाइने । निजीमा नपाइने भन्ने हुँदैन । शुल्क तलमाथि भयो भने उपभोक्ताले रोज्ने कुरा भयो । निजीमा महँगो हुन्छ, मेरो बीमाको पैसा धेरै जान्छ । सरकारीमा कम हुन्छ मेरो बीमाको पैसाले अलि धेरै काम गर्छ भन्ने भयो भने त्यो सरकारीतिरै जान्छ । शुल्क समान भयो भने निजीलाई नदिनुपर्ने के कारण छ ? बीमा बोर्डले सरकारी र निजी अस्पतालहरूमा आफ्ना नागरिकलाई सेवा दिलाउनका लागि ती अस्पतालहरूमा स्वास्थ्य सेवा किनेको हो ।’ मन्त्री पौडेलले १० प्रतिशत नागरिकलाई निःशुल्क उपचार गर्ने कुरालाई पारदर्शी बनाएर देखाउन निजी अस्पतालहरूलाई आग्रह गरे । उनले हरेक दिन के–कति विपन्न नागरिकको उपचार भयो भन्नेकुरा बेलुका सार्वजनिक गर्न आग्रह गरे । उनले विपन्न नागरिकलाई कसैको सिफारिसमा भन्दापनि नीति बनाएर सोही अनुरूप पारदर्शी ढंगले सेवा दिनुपर्ने बताए । मन्त्री पौडेलले बीमा कार्यान्वयनमा देखिएको समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिए । उनले बीमाको स्रोत सुनिश्चितता गर्ने, फेक क्लेम हुन नसक्ने र अनियमितता गर्न नसक्ने गरी व्यवस्थापन गर्नुपर्ने बताए ।
गलकोट: ढोरपाटन नगरपालिका–१ बुर्तिवाङमा शुक्रबारदेखि ५० शय्याको अस्पताल सञ्चालन भएको छ । यसबाट निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् । ५० शय्याको अस्पतालमा स्तरोन्नतिपछि जनशक्ति व्यवस्थापनको कामलाई अगाडि बढाइएको गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले बताए । विसं २०२१ मा दुई कोठाबाट स्थापना भएको स्वास्थ्य संस्था ६० वर्षपछि अस्पताल बनेको हो । विसं २०६४ मा जिल्ला अस्पतालमा स्तरोन्नति गर्न रु ३२ करोड लागतमा भौतिक पूर्वाधार निर्माण प्रारम्भ भएको थियो । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याको प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गरिने उल्लेख थियो । अस्पतालमा पूर्वाधार, उपकरण तथा जनशक्ति व्यवस्थापनका लागि रु १२ करोड विनियोजन गरिएको थियो ।
काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज अपराह्नदेखि देशको मौसममा बदली हुने जानकारी जल तथा मौसम विज्ञान विभागबाट प्राप्त भएको जनाउँदै सावधानी अपनाउन अनुरोध गरेको छ । प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले चिसो तथा शीतलहर बढ्ने र चिसोबाट स्वास्थ्य समस्या हुनसक्ने भएकाले सावधानी अपनाउन अनुरोध गर्नुभएको छ । उहाँले उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, ठाउँठाउँमा वर्षा र तराईमा शीतलहर चल्नसक्ने बताउनुभएको छ । मौसम पूर्वानुमान महाशाखाले मौसम बदलीसम्बन्धी विशेष बुलेटिन जारी गरी पश्चिमी न्यून चापीय प्रणालीका कारण आज अपराह्नदेखि देशका धेरै स्थानमा आंशिकदेखि साधारणतया हुने जनाएको छ । भोलि शनिबार सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका अधिकांश स्थान तथा गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने पूर्वानुमान विभागको छ ।
पोखरा: रोटरी क्लव अफ पोखरा न्युरोड र रोटरी क्लब अफ नक्शाल शक्तिको संयुक्त आयोजना तथा गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा रोटरी बर्ष २०२४/२५ मा महिलाहरुको निशुल्क पाठेघरको मुखको भिआईए परिक्षण हुने भएको छ । यही पौष १८ गते देखि विभिन्न चरणमा यो वर्ष भरि नै करिब करिव १ हजार ५ सय जना महिलाहरुको निशुल्क पाठेघरको मुखको परिक्षण सेवा प्रदान गर्ने तयारीमा रहेको पोखरामा पत्रकार सम्मेलनको आयोजना गरीे जानकारी दिइएको छ । रोटरी डिस्ट्रीकले समेत नेपाल भरिनै भिआइए परिक्षण लाई महत्व दिएर अगाडी बढ्ने योजना गरिरहेको अवस्थामा थप टेवा पुरÞ्याउने योजनाका साथ तयारीमा जुटेको हो । स्वार्थ भन्दा माथी सेवा भन्ने मूल उद्देश्यका साथ स्थापित रोटरीले महिला तथा शिशु स्वास्थ्य अन्तरगत रहेर यो परिक्षण कार्यलाई यस बर्ष विभिन्न चरणमा कास्की, तनहुँ, स्याङ्गजा, पर्वत, बागलुङ लगायतका गण्डकी प्रदेशका जिल्लाहरुका विभिन्न पालिका र वडाहरुका महिलाहरुमा भिआईए परिक्षण गर्न गईरहेको रोटरी क्लब अफ पोखरा न्युरोडका अध्यक्ष दीपेन्द्र शर्माले जानकारी दिनुभयो । उहाँले २०१० डिसेम्बर २४ का दिन स्थापित रोटरी क्लव अफ पोखरा न्युरोडको आज जन्मोत्सवको अवसरमा हरेक बर्ष सामाजिक कार्य गर्दैै आएको बताउनुहुदै महिलामा पाठेघरको मुखको क्यान्सरको समस्या बढी रहेको कारणले पनि ग्रामीण भेगमा यसको पहँुच पुर्याउन यो कार्यक्रम सहयोगी भन्ने बताउनुभयो । वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. चण्डीका पंडितले २९ बर्ष देखि ६५ बर्ष महिला समुहमा हुने यस समस्याका लागि प्रारम्भिक जाँच गर्नु उपयुक्त हुने बताउनुभयो । समुदायमा यस परिक्षणको बारेमा सचेतना फैलाउनका लागि पनि यो अभियान अगाडि बढाएको उहाँको भनाई थियो । उहाँले यस किसिमका कार्यक्रम जनसमुदायमा पुर्याउन रोटरी क्लब एउटा दरिलो माध्यम बन्न सक्ने बताउनुहुदै प्रतिफल पनि सोही अनुसार आउनेमा विश्वस्त रहेको बताउनुभयो । रोटरी क्लव अफ नक्शाल शक्तिका संस्थापक अध्यक्ष डा. लुना अर्यालले अधिकांश महिलाहरूमा पछिल्लो समय पाठेघरको मुखको भिआइए परिक्षण नगर्दा देखिएको समस्या–क्यान्सरबाट पिडीत भई आन्तिम प्रहरमा पुगेपछि मात्र थाहा पाउने अवस्थाबाट महिलाहरु सजग रहने बातावरण बन्न सकोस् भन्ने मूल उद्देश्य अनुरुप यस कार्यक्रमको घोषणा गरिएकोे बताउनुभयो । सो क्लबका पूर्व अध्यक्ष सुवास सिग्देलले गण्डकी मोडकल कलेजबाट सम्बन्धित डाक्टर सहितको प्राविधिक टिमले यस भिआइए परिक्षणमा सहयोग गर्ने बताउनुभयो । यस अभियानमा पोखरा महानगरपालिकाका विभिन्न वडा, पालिका सँगै विभिन्न जिल्ला संग सहकार्य र सहयोगको अपेक्षा गर्दै यो कार्यलाई अगाडी बढाउने र लक्ष्य भन्दा बढी संख्यामा भिआइए परिक्षण गर्ने योजना आयोजकको रहेको छ ।
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजनामा नेपाल स्वास्थ्य सम्मेलन यहाँ सुरु भएको छ । भोलिसम्म जारी रहने सम्मेलनको उद्देश्य साझेदारी प्रवद्र्धन, ज्ञान आदानप्रदान र देशको स्वास्थ्य क्षेत्रका चुनौतीबारे छलफल गर्नु हो । ‘नेपाल स्वास्थ्य सम्मेलन २०२४ः नेपालको स्वास्थ्य सेवाको सुदृढीकरणका लागि प्रवासी नेपालीहरूको संयोजन’ शीर्षकमा आयोजित सम्मेलनको उद्घाटन गर्दै उक्त मन्त्रालयका सचिव डा रोशन पोखरेलले सम्मेलनबाट प्रवासी नेपाली समुदाय र स्वास्थ्य क्षेत्रका समस्या पहिचान तथा तिनको निराकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । आधुनिक प्रविधिको प्रयोगले स्वास्थ्यलाई प्रभावकारी बनाउन मद्दत मिल्ने उहाँले बताउनुभयो ।विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस आधानोम गेब्रेयेससले भिडियो सन्देशमार्फत सम्मेलनको सफलताको कामना गर्दै स्वास्थ्यकर्मीहरू स्वास्थ्य प्रणालीका मेरुदण्ड भएका उल्लेख गर्नुभएको छ । साथै उहाँले विश्वभर छरिएर रहेका स्वास्थ्यकर्मीले स्वास्थ्य प्रणालीलाई बलियो बनाउन एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।
लमजुङ: मालिङ प्राथमिक अस्पतालको नयाँ भवनसँगै सुत्केरी कक्षमा ‘बेवी वाम’ मेसिन जडान भएपछि लमजुङको क्व्होलासोथार गाउँपालिकाकी सिनियर अनमी राजकुमारी गुरुङ निकै खुसी हुनुहुन्छ । मालिङ प्राथमिक स्वास्थ्य चौकीमा ३० वर्षदेखि सुत्केरी सेवा प्रदान गर्दै आउनुभएकी उहाँले यसअघि नवजात शिशुलाई चिसोदेखि जोगाउन विगतमा निकै समस्या हुने गरेको सुनाउँदै ‘बेवी वाम’ (शिशुलाई न्यानो बनाउने उपकरण) जडान भएपछि खुसी लागेको बताउनुभयो । “नवजात शिशुलाई जोगाउन हिटर बालेर गर्नुर्थ्यो । अब भने सुव्यवस्थित नवनिर्मित अस्पतालमा बेवी वाम उपकरण आएको छ”, गुरुङले भन्नुभयो, “यो उपकरण पाएपछि बच्चाहरूलाई चिसोबाट बचाउन सकिन्छ । साँघुरो कोठामा सुत्केरी गराउँथ्यौँ, अहिले भवन पाउँदा दङ्ग छौँ ।” पुस ४ गते लमजुङको क्व्होलासोथार गाउँपालिका–मा स्थित मालिङ प्राथमिक अस्पताल पूर्णरूपमा निर्माण सम्पन्न भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अस्पतालको उद्घाटन गरेसँगै स्थानीयस्तरमा गुणस्तरीय सेवा पाउनेमा स्थानीय हर्षित छन् । यहाँकै स्थानीय हुनुहुन्छ सिनियर अनमी गुरुङको । तीस वर्षदेखि सुत्केरी गराउँदै आउनुभएकी उहाँ सुविधासम्पन्न सुत्केरी कक्षसहित आवश्यक उपकरण र नवजात शिशुलाई न्यानो बनाउने उपकरण पाएपछि खुसीले गदगद हुनुहुन्छ । यसअघि जोखिमपूर्ण अवस्थामा सुत्केरी गराउनुपरेको भन्दै अब सेवा प्रदान गर्न सहज हुनुका साथै आमा र शिशुलाई प्रभावकारी सुरक्षा दिन सकिने धारणा राख्नुभयो । गुरुङले अस्पतालको सुत्केरी कक्षमा रहेको बेवी वाम उपकरणलाई निकैबेर नियाल्नुभयो । नवजात शिशुका लागि आवश्यकपर्ने उक्त उपकरण पाउँदा उहाँले आफूले ३० वर्षदेखि सुत्केरी सेवा प्रदान गर्दा गाउँमा भोग्नुपरेको अनेक चुनौतीहरू सम्झँदै सजह स्वास्थ्य सेवा पाएकामा हर्षित हुनुभयो । “तीस वर्षअघि गाउँमा सुडेनीले सुत्केरी गराउने चलन थियो । कुनै पनि घरमा सुत्केरी गराउँदा सुडेनीले नसकेका बेला मात्रै मलाई बोलाउने गर्थे”, गुरुङले भन्नुभयो । “सधैँ स्वास्थ्यकर्मीको धर्म निर्वाह गर्दै आउनुभएकी गुरुङले चार÷पाँच घण्टाको बाटो हिडेर घरदैलोमै सेवाका लागि पुग्नुहुन्थ्यो । कसैको ‘नर्मल डेलिवरी’ सुत्केरी हुन्थ्यो । कसैको पिसाब रोकिन्थ्यो । कसैको साल अड्किने, कसैको लामो अवधिसम्म सुत्केरी हुन नसक्ने अवस्था आउँथ्यो । राम्रो र सहज सुत्केरी हुनेबेला कसैले सम्झिँदैनथे । जब सुत्केरीमा जटिल अवस्था आउँथ्यो, तबमात्रै आफूलाई सम्झिने गर्दथे”, उहाँले आफ्नो विगतको अनुभव सुनाउनुभयो । स्वास्थ्यकर्मी भएर प्रदान गरेको सेवाको अनुभवमा सम्झिँदा अझै पनि शरीर जिरिङ हुने थुप्रै क्षण रहेका गुरुङले बताउनुभयो । तीन दशकअघि एउटा घटना भयो, त्यो घटनाले उहाँलाई बारम्बार तर्साइरहन्छ । उहाँले अनुभव सुनाउँदै भन्नुभयो, “मङ्सिर महिना थियो, जाडो याम । समाज जातियताका हिसाबले अहिले जस्तो उदार थिएन । दलित समुदायलाई देख्दा साइत जुर्दैन भन्ने मान्यता भएको समाजमा दलितकै घरमा गएर सुत्केरी सेवा प्रदान गर्नु चुनौतीपूर्ण थियो ।” आफू स्वास्थ्य सेवा प्रवेश गरेसँगै मानव सेवामा जीवन समर्पित गर्ने अठोट सँगालेर अघि बढेकाले जस्तासुकै चनौती पनि सामना गर्ने हिम्मत आउने उहाँको अनुभव छ । गुरुङले एउटा स्वास्थ्यकर्मीको नजरमा न जात हुन्छ न धर्म हुने भन्दै मानवता र सेवा मात्र हुने बताउनुभयो । “दलित समुदायकी सुत्केरी छट्पटाइरहनुभएको थियो । मैले थाहा पाउनेबित्तिकै उहाँको घरमा पुगेँ । दुई दिनको लामो ब्यथापछि ती सुत्केरीले छोरा जन्माउनुभयो । छोरा पाएको भन्दै परिवार खुसी हुन थाले । आफन्ती र छरछिमेकीलाई सुनाउनु थाले । सुत्केरी गराए पनि म चिन्तित थिएँ । जन्मिएको नवजात शिशु निसास्सिएको अवस्थामा थियो । उसले श्वास फेर्न सकिरहेको थिएन । शिशु न रुन्छ, न आवाज निकाल्छ । मन आतिएको थियो”, उदास हुँदै उहाँले सुनाउनुभयो । परिवारलाई बच्चाले श्वास फेर्न नसकेको यथार्थ बताएपछि सबै रुन थालेका भन्दै आफूले भने तुरुन्तै बच्चाको मुखमा आफ्नो मुख जुधाएर स्वास भनै थालेको गुरुङले उल्लेख गर्नुभयो । “झण्डै आधा घण्टापछि बच्चा चिच्याउँदै रुन थाल्यो । जब बच्चा रोयो परिवार सबै खुसीले हास्न थाले । आज एउटा नवजात शिशुलाई जीवन दिन पाएकामा म पनि खुसीले बच्चासँगै डाँको छोडेर रुन थालेँ”, उहाँले भन्नुभयो । बच्चा रुँदा मन थाम्नै नसकेर आफू पनि सँगै रोएको उहाँको अनुभव छ । आफ्नो प्रणा भरेर जीवन दिएको बच्चा अहिले कक्षा ५ मा पढ्छ । गाउँकै स्कुलमा पढ्ने त्यो बालक देख्दा गुरुङको हृदय ममताले भरिन्छ । उहाँले भन्नुभयो, “उसको मुख हेर्छु । अनि मुस्कुराउँछु अनि भगवान्लाई धन्यवाद मात्रै भन्छु ।” गुरुङले स्वास्थ्यकर्मीका रूपमा आम्दनी गरेको अमूल्य सम्पत्ति भनेको आमा र बच्चाको सुरक्षा रहेको बताउनुभयो । सुत्केरी गराउने जिम्मेवारी आउँदा उहाँ चाडपर्वसमेत थाती राख्नुहुन्छ । एक दिनको दसैँमा उहाँ तीन दिन सुत्केरीको घरमा व्यस्त हुनुभयो । दसैँ सकियो । गुरुङ सुत्केरी गराएर मात्रै घर फर्किनुभयो । “दसैँ सकिएछ, पत्तै पाइनछु”, उहाँले विगत सुनाउनुभयो । सरकारले अस्पतालमा आएर सुत्केरी गराएबापत एक जना बराबर रु दुई सय ५५ दिने गरेको छ । गाउँमा सुत्केरी गराउन पुग्दा उहाँले गरीब परिवारका सुत्केरीलाई पैसा, लत्ताकपडा, खाना दिएर सघाँउनुभएको छ । “सुत्केरी भइसकेपछि एउटा सफा कपटाको टालोसमेत किन्न नसक्नेहरू पनि हुनुहुन्छ । यस्तो बेला आफैँले लुगाको व्यवस्था गरिदिने गरेकी छु”, गुरुङले भन्नुभयो । कहिलेकाहीँ सुत्केरी गराउन नसकिने अवस्थामा जिल्ला अस्पतालसम्म पु¥याउन आवश्यक रकमसमेत जुटाइदिने गरेको उहाँले बताउनुभयो । “तुरुन्तै अस्पताल पठाउनु पर्छ भन्दा पैसा छैन भनेर रुन थाल्छन्”, गुरुङले भन्नुभयो, “यस्तो बेला कहिलेकाँही आफँैले, कहिले अरुसँग जुटाएर खर्च व्यवस्थापन गरिदिने गर्छु, अधिकांशले इमान्दार भएर फिर्ता पनि गरिदिनुहुन्छ ।” गुरुङले सेवामा कहिल्यै हिसाबकिताब राख्नुहुन्न । उहाँलाई लाग्छ, स्वास्थ्यकर्मी भनेको व्यवसायभन्दा बढी समाजसेवी हो । अहिले पालिकामा व्यवस्थित भवनसहितको वर्थिङ सेन्टर खोलेपछि उहाँ खुसी हुनुहुन्छ । केही महिनाभित्रै पालिकामा एम्बुलेन्सको व्यवस्था हुँदैछ भन्ने खबरले गुरुङ थप उत्साहित हुनुहुन्छ । क्व्होलासोथार गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले नवनिर्मित स्वास्थ्य अस्पताल व्यवस्थित बनाउन एम्बुलेन्ससहितको आवश्यक सामग्री जुटाउने प्रक्रियामा पालिका लागेको बताउनुभयो । उहाँले गुरुङजस्ता इमान्दार, मेहनती र आफ्नो सेवामा समर्पित स्वास्थ्यकर्मी स्वास्थ्य क्षेत्रका लागि सदैव आवश्यक पर्ने व्यक्ति हुन् भन्दै गुरुङको प्रशंसा पनि गर्नुभयो ।
काठमाडौं: नेपाली सेना, सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीद्वारा सञ्चालित अस्पतालमा सर्वसाधारणलाई समेत सेवा दिने उद्देश्यले आवश्यक तयारी गर्न कार्यदल गठन गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अतिरिक्त सचिव डा टङ्क बराकोटीको नेतृत्वमा सेना तथा प्रहरीका अस्पतालमा सर्वसाधारणलाई समेत सेवा दिने गरी व्यवस्था गर्न कार्यदल बनाउनुभएको हो । कार्यदललाई सर्वसाधारणलाई समेत सेवा दिनका लागि आवश्यक कार्यविधि तयार गर्न र कार्यान्वयनको सम्भावनाबारे जानकारीसहितको प्रतिवेदन दिन भनिएको छ । गत जेठ ४ गतेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी र नेपाली सेना मातहतका संस्थाबाट सर्वसाधारणका लागि स्वास्थ्य सेवा खुला गर्ने र स्वास्थ्य मन्त्रालयबाट सम्बन्धित मन्त्रालयसँगको सहकार्यमा स्वास्थ्य सेवा प्रवाह गर्ने सहकार्यको ढाँचा एवं कार्यविधि बनाउने निर्णय गरेको थियो । मन्त्री पौडेलले गत साता कार्यदललाई सशस्त्र प्रहरी बलद्वारा सञ्चालित अस्पतालका हकमा समेत अध्ययन गर्न निर्देशन दिनुभएको थियो । कार्यदलले विज्ञ तथा सरोकारवालासँग छलफल गरेर कार्यविधि तयार पार्ने मन्त्री पौडेलको सचिवालयले जनाएको छ । कार्यदलमा गृह तथा रक्षा मन्त्रालयका प्रतिनिधिका साथै सेना, प्रहरी र सशस्त्रका अस्पतालका प्रतिनिधिसँगै मन्त्रालयका अधिकारीहरुसमेत रहेका छन् । सर्वसाधारणलाई समेत सुरक्षा निकायद्वारा सञ्चालित अस्पतालको सेवा उपलब्ध गराउन मन्त्री पौडेलले विगतको निर्णय कार्यान्वयन गराउन प्रक्रिया अघि बढाउनुभएको मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।
नेपालगञ्ज: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि र स्तरीय उपचारको व्यवस्था गरिने बताउनुभएको छ । भेरी अस्पताल, नेपालगञ्जमा आज स्थापना गरिएको अत्याधुनिक ‘अपरेसन थिएटर’को उद्घाटन गर्दै मन्त्री पौडेलले सिकलसेल र थालेसेमियाका बिरामीको उपचारमा सरकारले कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यसका बिरामीका लागि सात प्रदेशका प्रादेशिक अस्पतालहरूमा छुट्टै वार्डको प्रबन्ध गरिनेछ ।” सिकलसेलका बिरामीका लागि भारत सरकारसँग औषधि माग गर्न पत्राचार भएको र अन्तिम चरणमा रहेको जानकारी दिँदै मन्त्री पौडेलले भारतले औषधि दिने सहमति जनाएपछि सबै प्रक्रिया पूरा गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सिकलसेल रोगको उपचारका लागि वार्ड स्थापना गरिएका सबै अस्पतालमा सिकलसेलको औषधि पठाइनेछ, त्यहीँबाट बिरामीलाई आवश्यकताअनुसार वितरण गरिनेछ ।” मन्त्री पौडेलले सरकारले बिरामीको उपचारका लागि विभिन्न काम गरिरहने जनाउँदै रोग लाग्नै नदिन तथा रोगबाट जोगिन विभिन्न चेतनामूलक कार्यक्रमहरू पनि नियमित सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । बीमालाई व्यवस्थित गर्ने काम पनि सरकारले गरिरहेको उल्लेख गर्दै मन्त्री पौडेलले बीमालाई योगदानमा आधारित बनाउन लागिएको बताउनुभयो । सिकलसेलका बिरामीका लागि छुट्टै वार्ड स्थापना गरिएपछि अब बिरामीले बेड नपाउने समस्या समाधान भएको उहाँले उल्लेख गर्नभयो । बर्दियाको बारबर्दियाका बिरामी दीपक थारूले अब औषधिलाई बिमाभित्र पार्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा सिकलसेल वार्डको निरीक्षण गर्दै मन्त्री पौडेलले बिरामीहरूसँग पनि उपचार र अन्य समस्याका बारेमा जानकारी लिनुभयो । कार्यक्रममा भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा निराजन सुवेदी, सिकलसेल एनिमियाको उपचारमा लामो समयदेखि संलग्न वरिष्ठ चिकित्सक डा राजन पाण्डे, सिकलसेल सोसाइटी नेपालका अध्यक्ष प्रभुराम थारू लगायतले सिकलेलको अवस्था, उपचार र समस्या समाधानको उपायबारे धारणा राख्नुभएको थियो । भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाह, सदस्य डा डक्टप्रसाद धिताल र अस्पतालका प्रमुख नरसिं प्रशासक दुर्गा लक्ष्मी श्रेष्ठले अस्पतालमा जनशक्ति थप्नुपर्ने तथा बीमाको रकम तत्काल पठाउन लगाउनुपर्नेमा मन्त्रीको ध्यानाकर्षण गराउनुभयो । बाँके, बर्दियालगायत पश्चिम नेपालमा सिकलसेल एनिमियाका बिरामीहरू धेरै रहेका छन् ।