लमजुङ:    जिल्ला सुन्दरबजारस्थित नमूना सामुदायिक अस्पतालमा दुई दिनसम्म सञ्चालन गरिएको क्यान्सर स्क्रिनिङ शिविर सम्पन्न भएको छ । यही मङ्सिर २१ गतेदेखि २२ गते रातिसम्म सञ्चालन भएको शिविरमा क्यान्सर र आँखासम्बन्धी ६ सय ५४ जनाले सेवा लिएका छन् । नेपाल अर्बुद रोग निवारण संस्था जिल्ला शाखा, लाइन्स इन्टरनेशन काठमाडौंको आयोजना र मानव विकास तथा सामुदायिक सर्वेक्षण (एचडिसिएस) को संयोजनमा तथ समुदायिक अस्पतालको व्यवस्थापनमा शिविर सञ्चालित शिविरमा दुई सय ४५ को क्यान्सर स्क्रिनिङ र ४ सय नौ जनाको आँखाको उपचार गरिएको आयोजकले जनाएको छ । नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर जावलाखेलका संस्थापक निर्देशक, प्रसूति तथा क्यान्सर रोग विशेषज्ञ एवं लेजरथेरापिष्ट निर्देशक डा सुशीला वैद्यले महिलामा हुने पाठेघरको मुखको क्यान्सरसहित अन्य क्यान्सरसम्बन्धी समस्याका भएकाको परीक्षण गरिएको बताउनुभयो ।  उहाँले सेवा लिएकामध्ये १० जना महिलाको पाठेघर खसेको पाइएको भन्दै तीमध्येमा एकजनाको पाठेघरमा ‘रिङ’ राखिएको जानकारी दिनुभयो । डा वैद्यका अनुसार १७ जनाको पोलिप वा पाठेघरमा मासु पलाएको फेला परेको छ ।  आँखाका बारेमा नेत्ररोग विशेषज्ञ विनयकुमार घिमिरे र नेत्र सहायक अर्जुन गुरुङले परीक्षण गर्नुभएको थियो । विशेषज्ञ घिमिरेले २३ जनाको मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएको जानकारी दिनुभयो ।  उक्त शिविरमा बिरामीलाई आवश्यक औषधि र चश्मा निःशुल्क वितरण गरिएको आयोजकले जनाएको छ । शिविरमार्फ क्यान्सर र आँखासम्बन्धी सेवा पाएकामा उपस्थित स्थानीयले खुसी व्यक्त गरेका छन् । शिविरमा लमजुङ र तनहुँका बासिन्दाले सेवा लिएका थिए ।

काभ्रेपलाञ्चोक:      दुवै आँखा नदेखेका कारण आफन्त र छरछिमेक चिन्न नसक्ने प्रकाश घिसिङ अहिले राम्रोसँग आँखा देख्ने भएपछि दङ्ग छन् । काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित महाभारत गाउँपालिका–३ सानोपोखराका उहाँले १३ वर्षपछि आँखा देख्न पाएको बताउनुभयो । नजिकको मात्रै अलिअलि देख्ने उहाँको नजिक आएर बोलेपछि बोलीबाट मात्रै मान्छे चिन्ने गरेका थिए । उहाँले यसरी नै ११ वर्ष बिताएपछि गाउँमा सञ्चालित आँखा शिविरमा शल्यक्रियापश्चात छ्याङ्गै आँखा देखेपछि खुसीले उहाँ दङ्ग हुनुभएको छ ।       “जन्मेको दुई वर्षदेखि आँखा देख्न छाडेपछि घिसङगाउँमा नै सञ्चालन भएको आँखा शिविरबाट नयाँ जीवन पाएकामा धेरै खुसी छु”, उहाँले भन्नुभयो, “आँखा देख्ने भएपछि अहिले गाउँघर, छरछिमेक, साथीभाइ र डाँडापाखा सबै देख्न र हेर्न पाएकामा खुुसी छँु ।”      प्रकाशमात्र होइन, दिदी सुस्मिता घिसिङको पनि अवस्था उस्तै थियो । गाउँकै कक्षा ६ मा अध्ययनरत उहाँले धेरै नजिकको मात्रै देख्ने र टाढाको कुनै पनि वस्तु देख्न नसक्ने अवस्थामा रहेको बेला आँखा शिविरबाट नयाँ जीवन पाएको बताउनुभयो ।  दिउँसो जसोतसो हिँडडुल गरे पनि राति अरुको सहारामा हिँड्नुपर्ने बाध्यता रहेको उहाँले शल्यक्रियपश्चात राम्रोसँग देख्न पाएको बताउनुभयो । जन्मेको दुई वर्षदेखि आँखा देख्न छाडेको थियो ।       “देख्न ठप्पै भएपछि बेलाबखत आँखा उपचारका लागि जाउँ भन्ने कुरा आए पनि खर्च अभावका कारण हामीले उपचार गर्न पाएका थिएनौँ”, सुस्मिताले भन्नुभयो, “गाउँमा आएको शिविरमा उपचारपछि बल्ल सबै चिज देख्न पाएका छु ।”      दुई जनामात्र होइन, गाउँमा सञ्चालन भएको आँखा शिविरबाट एक हजार तीन सय ६ जनाले घरआँगनमा नै उपचार सेवा पाएका छन् । महाभारत गाउँपालिकाको आयोजनामा नेपाल आँखा कार्यक्रम ख्वप तिलगङ्गा आँखा अस्पताल भक्तपुरको प्राविधिक सहयोग र अगचभ दष्लिमलभकक परियोजनाको आर्थिक सहयोगमा पालिकाका विभिन्न वडामा सञ्चालन गरेको शिविरबाट एक सय जनाको आँखाको शल्यक्रिया गरेको छ ।      तिलगङ्गा ख्वप आँखा अस्पतालका इन्चार्ज धिरज अधिकारीले शिविरमा आँखा परीक्षणबाट छनोट भएका मोतियविन्दुका बिरामीको घर्तिछाप स्वास्थ्य चौकीमा डा सुदीप राजभण्डारीको नेतृत्वमा एक सय ३५ जनाको शल्यक्रिया गरेको बताउनुभयो । सो क्रममा शल्यक्रियासहित आवश्यक औषधि र चश्मालगायत सामग्री निःशुल्क वितरण गरिएको थियो । शिविरमा १३ वर्षदेखि १०० वर्षसम्मका नागरिकको आँखा परीक्षण गरिएको थियो ।            महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले गाउँमा नै बसेर विशेषज्ञ डाक्टरबाट सेवा लिन निकै कठिन र खर्चिलो भएको, कतिपय रोग लुकाएर बस्ने भएको तथा जटिल प्रकारका रोग भएको अवस्थामा पनि प्रस्ट भन्न नसक्ने अवस्थाका नागरिकहरु भएका कारण वार्षिक रूपमा गाउँका बस्ती–बस्तीमा नै गएर निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको बताउनुभयो ।  त्यसरी विभिन्न समस्यामा रहेको नागरिकलाई सेवा दिने क्रममा यसपटक मङ्सिर १७ देखि २१ गतेसम्म निःशुल्क आँखा शिविर सञ्चालन गरी नागरिकलाई सेवा दिएको उहाँले बताउनुभयो ।

पोखरा:    पोखराको नागढुंगामा रहेको चरक मेमोरियल हस्पिटलले विविध कार्यक्रम गरी १२ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा हस्पिटलले मुटुको निःशुल्क जाँच र रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरेको अस्पतालले जनाएको छ । यस्तै, २ सय ४१ जनाले निःशुल्क मुटु जाँच गराए । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले हर्ट सर्जरी गरेका जगन्नाथ तिमिल्सेनालाई ओपिडी कार्ड हस्तान्तरण गरेर उद्घाटन गरेका हुन् । उनले पोखरामा चरक अस्पतालले गुणस्तरीय सेवा दिइरहेको बताउँदै अझ प्रगति र स्तरीय सेवा दिन सकोस् भन्ने वार्षिकोत्सवमा शुभकामना व्यक्त गरे । मुटु जाँच शिविरमा मनमोहन कार्डियो भास्कुलर सेन्टर काठमाडौंका मुटुरोग विशेषज्ञद्वय डाक्टर अनील भट्टराई, डाक्टर सूर्य देवकोटा र डाक्टर साहेवकुमार जैसवाल, डाक्टर अभिनव प्रधानले निःशुल्क रुपमा मुटु सम्बन्धी परामर्श दिएको अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलले जानकारी दिए । उनका अनुसार ‘म जाँच्छु मेरो मुटु’ भन्ने नाराका साथ आयोजित शिविरमा ओपिडी र इसिजी सेवा निशुल्क थियो भने ल्याब जाँचमा ३० प्रतिशत र मुटुको भिडियो एक्सरेमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको पोखरेलले बताए । चरक मेमोरियल हस्पिटलका अध्यक्ष रामचन्द्र रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका सांसद प्रकाश बराल, पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, लायन्स क्लब अफ पोखरा माछापुच्छ्रेका अध्यक्ष इन्जिनियर बुद्धिराज अधिकारी, डाक्टर अनिल भट्टराई र डाक्टर सूर्य देवकोटा, अस्पतालका प्रमुख कार्यकारी अधिकृत कमलराज ढकाल लगायतले चरक हस्पिटल र पोखराको स्वास्थ्य क्षेत्रको बारेमा बोलेका थिए ।

पोखरा:    मिर्गौला रोगीहरूका लागि गण्डकी प्रदेश सरकारले प्रदान गरेको निःशुल्क डायलाइसिस सेवा वरदान साबित भएको छ ।   सरकारी प्रयासले महँगो र जटिल उपचार सर्वसाधारणको पहुँचमा पु¥याएपछि बिरामी लाभान्वित भएका हुन् । पोखरा महानगरपालिका–१६ लामाचौरकी पूर्णकुमारी गुरुङलाई अब बाँच्ने आश जागेको छ ।   पोखरास्थित लेखनाथको सरुवा तथा सङ्क्रामक अस्पतालमा डायलासिसको उपचारत गुरुङलाई अहिले निःशुल्क उपचार सेवाले सहज भएको हो ।   ज्यामी काम गर्ने श्रीमान्को कमाईले उपचार गर्न नसक्ने अवस्थामा पुग्नुभएकी गुरुङले यसअघि उपचारका लागि थुप्रै रकम ऋण गरेर खर्च गरिसकेको बताउनुभयो ।   “धेरै अस्पताल पुगियो उपचारमा थुप्रै रकम खर्च भइसक्यो, अब उपचार गर्न सकिँदैन भनेर आश मरेर बसेका बेला सरकारले निःशुल्क डायलासिसले सुविधा दिएपश्चात् बाँच्ने आशा जागेको हो”, गुरुङले भन्नुभयो, “कति ऋण गरियो कति अलिअलि जोरजाम गरेको रकम थियो सबै सकियो, अहिले अलि अलि खर्च गर्न परे पनी ऋण खोज्न हिँड्नु परेको छैन ।”   सोही अस्पतालमा आमाको उपचारका लागि आउनुभएका पोखरा–१४ चाउथेका ट्याक्सी चालक राजकुमार खड्कीले पनि डायलिस सेवा निःशुल्क हुँदा धेरै सहज भएको बताउनुभयो ।   उहाँले भन्नुभयो, “उपचार निःशुल्क हुँदा ठूलो राहत मिलेको छ, दिनभर ट्याक्सी चलाउँछु, कहिले रु दुई–चार हजार, कहिले रु पाँच–सात सयमा चित्त बुझाउनु पर्छ, यस्तो कमाईले परिवार पाल्न र आमाको उपचार गर्न मलाई गाह्रो भएको थियो, अहिले सहज भएको छ ।”   खड्कीले २०७७ सालमा आमालाई मिर्गौलामा समस्या देखिएपछि विभिन्न अस्पतालमा उपचार गराउँदै आएको बताउनुभयो । पोखरा–१३ बाँझापाटनका तारानाथ बराल अहिले डायलासिस उपचार गराइरहनुभएको छ ।   विगत पाँच वर्षदेखि मिर्गाैलाको समस्या झेलिरहनुभएका बरालले निःशुल्क डायलासिस सेवा जनताको हितका लागि सरकारको सकारात्मक कदम भएको प्रतिक्रिया दिनुभयो ।   “आर्थिक अभावले डायलासिस गर्न नसक्नेका लागि यो वरदानजस्तै भएको छ, म सन्तुष्ट छु, म जस्तै अरु पनि लाभान्वित भएका छन्”, ७१ वर्षीय बरालले भन्नुभयो ।   विगत पाँच वर्षदेखि मिर्गाैलाको समस्या खेपिरहनुभएका बराल पोखराको पृथ्वीनारायण क्याम्पसबाट प्रोफेसरको अवकाश प्राप्त व्यक्ति हुनुहुन्छ ।   बरालले पेन्सनकै भरमा काठमाडौँका विभिन्न अस्पतालमा डायलासिस गराउँदै आउनुभएको थियो । निकै महँगो उपचार पद्धतिले आजित हुनुभएका बराल निःशुल्क सेवाबाट लाभान्वित भएको बताउनुहुन्छ ।   नियमित उपचार गरिहनुपर्ने र सर्वसाधरणको पहुँचभन्दा निकै महँगो उपचार मानिने मिर्गौला रोगलाई यो व्यवस्थाले वरदान सावित गरिदिएको गण्डकी प्रदेश सरकारका सचिव डा विनोद विन्दु शर्मा बताउनुहुन्छ ।   “यो निकै खर्चिलो र सर्वसाधारणको पहुँचा बाहिरको उपचार पद्धति हो, सरकारले डायलासिसलाई निःशुल्क गरेसँगै यसका बिरामी लाभान्वित भएका छन्”, उहाँले भन्नुभयो ।   उहाँले गण्डकी प्रदेशको मनाङ र मुस्ताङ बाहेकका जिल्लामा डायलासिस सुविधा रहेको बताउनुभयो ।   गण्डकी प्रदेशमा हाल ४१ अस्पतालमा १६ डायलासिस युनिट सञ्चालनमा रहेका छन् । यी युनिटमार्फत एक हजार ८२ बिरामीले डायलासिस सेवा लिइरहेका छन् । तीमध्ये सात सय ८४ जना सक्रिय बिरामी रहेका छन्भने एक सय ३६ जना सेवा पर्खिरहेका छन् ।   डायलासिस सेवाका लागि एक सय ७२ मेसिन उपलब्ध भए पनि एक सय ३७ मात्र सञ्चालनमा छन् । चौतीस मेसिन बिग्रिएको अवस्थामा छन्भने एक मात्र ‘ब्याकअप मेसिन’ छ । यस्तै, एक सय ५२ सञ्चालनयोग्य शय्या रहेका छन् ।   दक्ष जनशक्तिका हिसाबले डायलासिस सेवामा आठ नेफ्रोलोजिस्ट, नौ एमडिजिपी (तीन तालिम प्राप्त), २६ मेडिकल अफिसर (सात तालिम प्राप्त), एक सय १९ स्टाफ नर्स (८३ तालिम प्राप्त), १० बायोमेडिकल प्राविधिक (आठ तालिम प्राप्त) र ४० सहायक (२१ तालिम प्राप्त) कार्यरत छन् ।

धौलागिरि अस्पतालले पछिल्लो समय विशेषज्ञसहित विशिष्टिकृत सेवा दिन थालेको छ ।   धौलागिरि अस्पतालले दुई वर्षमा हाडजोर्नी तथा नशारोगसम्बन्धी सात सय सफल शल्यक्रिया गरेको हो । धौलागिरि अस्पतालमै ठूलो र सानो हड्डी रोगसम्बन्धी शल्यक्रिया गर्दा अधिकांश बिरामीलाई राहत भएको छ ।   यसअघि पोखरा र काठमाडौँ जानुपर्ने बिरामी स्थानीयस्तरमा उपचार पाएपछि यही रोकिन थालेका छन् ।   अस्पतालमा दुईजना हाडजोर्नी तथा नशारोग विशेषज्ञ चिकित्सक कार्यरत हुनुहुन्छ । अस्पतालमा जटिल प्रकारका हड्डीको समेत प्रत्यारोपण गरिएको छ । बढ्दो सवारी दुर्घटनाका कारण हाडजोर्नीसम्बन्धी धेरै बिरामी अस्पतालमा आउन थालेका छन् । बिरामीले जिल्लामा सेवा पाउँदा खर्च र समय दुवैको बचत भएको प्रतिक्रिया दिएका छन् ।   हड्डीरोग विशेषज्ञ डा प्रमेश थापा र डा समीर लामिछाने तथा एनेस्थेसियोलोजिस्ट डा अमित ढुङ्गानाको समूहले दुई वर्षमा सात सयवटा हाडजोर्नी तथा नशासम्बन्धी शल्यक्रिया गर्नुभएको अस्पतालका मेडिकल अधिकृत डा सन्दीप केसीले जानकारी दिनुभयो ।   “अस्पतालमा आउने बिरामीमध्ये ३० प्रतिशत हाडसम्बन्धी समस्या लिएर आउनुहुन्छ । दुई जना विशेषज्ञ चिकित्सकलाई हप्ताकोे तीन दिन शल्यक्रियाको समय छुट्टाइएको छ”, केसीले भन्नुभयो, “आधुनिक जीवनशैली र बढ्दो दुर्घटनाका कारण हाडजोर्नीसम्बन्धी समस्या बढ्दै गएका छन्, अस्पतालले छिमेकी जिल्लाका बिरामीलाई समेत सेवा दिएको छ ।”   अस्पतालमा ‘हेमी हिप रिप्लेसमेन्ट’, ‘फिमर नेलिङ/प्लेटिङ’‘टिबिया नेलिङ÷प्लेटिङ’,‘ह्युमेरस’, ‘फोरआर्म’ र ‘क्लाभिकल प्लेटिङ’ तथा ‘एसी जोइन्ट पुनःनिर्माण’ लगायत जटिल प्रकारका शल्यक्रियासमेत सम्पन्न गरिएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा प्रयाप्त उपकरण र दक्ष जनशक्तिका कारण लाखौँ खर्च लाग्ने शल्यक्रिया सरकारी अस्पतालमा सामान्य शुल्कमा भइरहेको छ ।   अस्पतालले ‘टेन्डन रिपेयर’, हात र खुट्टाका सामान्य शल्यक्रिया पनि गर्दै आएको छ । दुई वर्षयता बागलुङमा भएका पाँच ठूला दुर्घटनाका घाइतेको उपचार गरिएको अस्पतालले जनाएको छ ।   मङ्सिर १७ गते मात्रै अस्पतालको हड्डीरोग विभागले १३ वर्षीय बालकको हड्डी भाँचिएको ‘मिडियल इपिकन्डाइल फ्याक्चर फिक्सेसन’ सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको छ ।   मङ्सिर १७ गते चार वटा हड्डीसम्बन्धी शल्यक्रिया गरिएको थियो । अहिले अस्पतालमा हड्डी विभागमा बिरामीको चाप बढेको अस्पतालका तथ्याङ्क सङ्कलक नवराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार बिरामीको भीड लागेपछि हप्तामा तीन दिन हड्डीको शल्यक्रिया गर्न थालिएको छ, भने अन्य समयमा बहिरङ्ग (ओपिडी) मा सेवा दिने गरिएको छ ।   हप्ताको सोमबार, बुधबार र शुक्रबार हड्डीको शल्यक्रिया गरिने शर्माले बताउनुभयो । हड्डीसम्बन्धी समस्या लिएर ओपिडीमा दैनिक एक सयदेखि एक सय ५० जना बिरामी आउने गरेका उहाँले जानकारी दिनुभयो ।   धौलागिरि अस्पतालमा गलकोट, बुर्तिबाङ, पर्वत, बेनी, मुस्ताङ, रुकुम, रोल्पालगायत क्षेत्रबाट हड्डीसम्बन्धी समस्या लिएर बिरामी आउने गरेका छन् ।

काठमाडौँ:   राष्ट्रपति रामचन्द्र पौडेलको आज प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न भएको छ ।   उहाँको त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा प्रोस्टेटसम्बन्धी आधुनिक प्रविधिबाट शल्यक्रिया सम्पन्न भएको अस्पतालका निमित्त कार्यकारी निर्देश प्राडा घनश्याम गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।   राष्ट्रपति पौडेल आज बिहान भर्ना हुनुभएको थियो । हाल उहाँको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

म्याग्दी:     म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी लाभान्वित भएका छन् ।  रघुगङ्गा गाउँपालिका र नेलम्बो नेपाल पोखराको आयोजनामा शुक्रबारदेखि आइतबारसम्म सञ्चालन भएको शिविरबाट १ हजार १ सय २७ जनाले सेवा लिएका हुन् ।  रघुगङ्गा गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख टीकाबहादुर शाहीले ७ सय ८५ महिला र ३ सय ४२ जना पुरुषले शिविरबाट सेवा लिएका जानकारी दिनुभयो ।  शिविरमा हाडजोर्नी तथा नशा, छाला, सामान्य चिकित्सा, स्त्रीरोग, नाक, कान घाँटी र दाँत रोगसम्बन्धी बिरामीको स्वास्थ्य परीक्षण, भिडियो एक्सरे, इसिजी, प्रयोगशालासँगै परामर्श र निःशुल्क औषधि वितरण गरिएको छ ।  शिविरमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर सुदर्शन आचार्य, चिकित्सक विनोद बराल, विशाल सापकोटा, मनिसा बराल, दीक्षा क्षेत्रीसहित २० जना बढीको स्वास्थ्यकर्मीको टोलीले सेवा दिनुभएको थियो ।  रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भबहादुर भण्डारीले बेग, भगवती, पिप्ले, दग्नाम, झिँ, पाखापानी, चिमखोला र कुइनेमङ्गलेका बासिन्दाले सेवा लिएका बताउनुभयो ।  भौगोलिक विकटता, आर्थिक अभाव र पारिवारिक समस्याका कारण उपचार सेवा नपाएका बिरामीलाई लक्षित गरेर शिविर आयोजना गरेको उहाँले बताउनुभयो ।  भौगोलिकरुपमा टाढा रहेका वडा नम्बर ४, ५, ६, ७ र ८ का सर्वसाधारणलाई शिविरमा ल्याएर स्वास्थ्य उपचार लिनका लागि वडाको समन्वयमा यातायातको प्रबन्ध मिलाइएको थियो ।  चिकित्सकबाट स्वास्थ्य उपचार सेवा लिन गाउँ छाडेर सदरमुकाम बेनी, बागलुङ, पोखरा पुग्नुपर्ने बाध्यता शिविरले हटाएको शिविरमा स्वास्थ्य उपचार गर्न आउनुभएका रघुगङ्गा गाउँपालिका–२ भगवतीका ८६ वर्षीय लेठबहादुर खत्रीले बताउनुभयो ।  शिविरमा रघुगङ्गा गाउँपालिकाका स्वास्थ्यकर्मीले बिरामीको स्वास्थ्य परीक्षण र उपचारमा सघाएको वडा नं २ का अध्यक्ष अमृत भण्डारीले बताउनुभयो । 

काठमाडौं:     आफू एचआइभी सङ्क्रमित भएको थाहा पाउँदा धरानका खगेन्द्र खड्कालाई संसारै अन्धकार लागेको थियो ।  एकातिर परिवार र समाजले के भन्ला भन्ने भय, अर्कोतिर अब धेरै बाँचिदैन भन्ने डर । लागुऔषध प्रयोग गर्ने क्रममा २६ वर्षअघि उहाँमा एचआइभी देखिएको थियो ।  सङ्क्रमण पुष्टि भएको पाँच वर्षसम्म पनि उहाँ लागुऔषधबाट मुक्त हुन सक्नुभएन । २०६३ सालमा एक पुनःस्थापना केन्द्रको सहयोगमा उहाँ  दुव्र्यसनीबाट मुक्त हुनुभयो ।  त्यसयता खड्का विभिन्न सामाजिक संस्थामा आबद्ध भइ सङ्क्रमितका हितमा वकालत तथा परामर्श दिँदै आउनुभएको छ । एचआइभी सङ्क्रमण भएकै कारण विभेद र लाञ्छना भोग्नुपरेको सङ्क्रमित सँग धेरै अनुभव छन् ।  २३ वर्ष अघि खड्काको एक दुर्घटनामा हात भाँचिएको थियो । उहाँ उपचारका लागि अस्पताल पुग्दा रिपार्टमा सङ्क्रमित भएको थाहा पाएपछि स्वास्थ्यकर्मीले ‘प्लाष्टर’ गर्नुपर्नेमा ‘ब्यान्डेज’ मात्र गरेर पठाइदिएका थिए ।  जसले गर्दा उहाँको एउटा हात अझै राम्रो अवस्थामा छैन । खड्का एचआइभी सङ्क्रमितप्रतिको दृष्टिकोण पहिले र अहिलेमा आकाश जमिनको फरक रहेको बताउनुहुन्छ ।  उहाँ भन्नुहुन्छ, “मलाई सङ्क्रमण पुष्टि भएको त्यो समय र अहिले फरक छ । समाजमा लाञ्छना भोगिरहेका होलान् तर पहिले भन्दा निकै कम छ ।” उहाँकाअनुसार नियमित औषधि सेवन, स्वस्थ्य जीवनयापन तथा पौष्टिक आहारले एचआइभी सङ्क्रमित सक्रिय जीवन बाँच्न सक्छन् । उहाँ भन्नुहुन्छ, “एड्सबाट सुरक्षित रहन परिवार तथा समाजलाई सजग गराएको छु । सबैले सुरक्षित व्यवहार गर्नुपर्छ । मेरी श्रीमती र दुई जना बच्चा छन् । उनीहरु कसैमा पनि सङ्क्रमण छैन ।” राष्ट्रिय एचआइभी तथा एड्स महासङ्घ नेपालका अध्यक्षसमेत रहनुभएका उहाँले सकारात्मक सोचले नै जीवन बाँच्ने ऊर्जा प्रदान गर्ने बताउनुभयो । सङ्घले सङ्क्रमितको जीवन राम्रो बनाउने, जोखिमपूर्ण समुदायको परीक्षणद्वारा पहिचान गराउने र थप जोखिमबाट बचाउने काम गरिरहेको छ । २६ वर्षीया यशोदा तिमिल्सिना एचआइभी सङ्क्रमण पुष्टि भएपछि आफू जस्तै थुप्रै सङ्क्रमितलाई यसबारे पैरवी र परामर्श दिँदै आउनुभएको छ ।  उहाँको सुझाव छ,“पहिले यो रोगलाई प्राणघातकको रुपमा लिइन्थ्यो । अहिले त्यस्तो अवस्था छैन । सङ्क्रमण हुने वित्तिकै डराउनु र आत्तिनु पर्दैन किनकी लामो जीवनयापन गर्न औषधि उपलब्ध छन् । ”  राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको पछिल्लो तथ्याङ्कअनुसार सन् २०२३ को अन्त्यसम्म नेपालमा ३० हजार तीन सय व्यक्तिमा एचआइभी सङ्क्रमण भएको अनुमान छ ।  सन् २०२३ मा चार सय ५७ व्यक्तिमा एचआइभीको नयाँ सङ्क्रमण भएको अनुमान गरिएको छ । सन् २०२३ मा मात्रै दुई सय २१ व्यक्तिको एड्सका कारण मृत्यु भएको अनुमान गरिएको छ ।  नेपालमा एचआइभी सङ्क्रमणको उच्च जोखिममा सूईद्वारा लागुपदार्थ प्रयोग गर्नेहरु, यौनकर्मी, जेलमा रहेका कैदी, पुरुष समलिङ्गी तथा तेस्रोलिङ्गी र रोजगारीका लागि विदेशिनेहरु छन् । यीमध्ये सुईद्वारा लागुपदार्थ प्रयोग गर्नेहरु र पुरुष समलिङ्गी यौनकर्मीमा सङ्क्रमण दर अरु जोखिम समूह भन्दा उच्च छ । नेपालमा सन् २०३० सम्ममा एड्सको महामारी अन्त्य गर्ने लक्ष्य हासिल गर्न ९५ प्रतिशत एचआइभी सङ्क्रमितले आफ्नो सङ्क्रमण अवस्थावारे थाहा पाउने, तीमध्ये ९५ प्रतिशतको औषधि उपचारमा पहुँच हुने र ती औषधि खानेमध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार (भाइरल लोड) न्यून हुनुपर्ने भनिएको छ ।  हरेक वर्ष डिसेम्बर १ का दिन विश्व एड्स दिवस मनाइन्छ । यो वर्ष ‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ भन्ने नाराका साथ ३७औँ एड्स दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

काठमाडौं:   ‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ नाराका साथ आज ३७औँ विश्व एड्स दिवस चेतना जागृत गर्ने विविध कार्यक्रमका साथ मनाइँदैछ ।  राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अगुवाइमा  चेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाउन लागिएको हो ।  केन्द्रका निर्देशक डा सर्वेश शर्माका अनुसार मुलुकमा सन् २०२३ सम्ममा एचआइभी सङ्क्रमण ९१ प्रतिशतले घटेको छ ।  सन् २०१० यता विश्वमा एचआइभी सङ्क्रमण ३९ प्रतिशतले घटेको छ । यसैगरी एड्सबाट मृत्युवरण गर्नेको सङ्ख्या आधाले घटेको छ ।  अफगानिस्तान, इजिप्ट, फिजी, फिलिपिन्स, पपुवान्यूगिनी र साउदी अरबमा भने सन् २०१० देखि २०२३ को बीचमा एचआइभी सङ्क्रमणमा शतप्रतिशतले वृद्धि भएको छ । एचआइभी सङ्क्रमण ७५ प्रतिशतले घटाउने देशमध्येमा हाम्रो मुलुक पनि एक हो । यस्तै सफलता केन्या, मलावी र जिम्बावेले हासिल गरेका उक्त केन्द्रले जनाएको छ ।