नि:शुल्क डायलाइसिस सेवा: मिर्गौला रोगीका लागि वरदान
पाेखरा | मंसिर १९, २०८१
पोखरा: मिर्गौला रोगीहरूका लागि गण्डकी प्रदेश सरकारले प्रदान गरेको निःशुल्क डायलाइसिस सेवा वरदान साबित भएको छ ।
सरकारी प्रयासले महँगो र जटिल उपचार सर्वसाधारणको पहुँचमा पु¥याएपछि बिरामी लाभान्वित भएका हुन् । पोखरा महानगरपालिका–१६ लामाचौरकी पूर्णकुमारी गुरुङलाई अब बाँच्ने आश जागेको छ ।
पोखरास्थित लेखनाथको सरुवा तथा सङ्क्रामक अस्पतालमा डायलासिसको उपचारत गुरुङलाई अहिले निःशुल्क उपचार सेवाले सहज भएको हो ।
ज्यामी काम गर्ने श्रीमान्को कमाईले उपचार गर्न नसक्ने अवस्थामा पुग्नुभएकी गुरुङले यसअघि उपचारका लागि थुप्रै रकम ऋण गरेर खर्च गरिसकेको बताउनुभयो ।
“धेरै अस्पताल पुगियो उपचारमा थुप्रै रकम खर्च भइसक्यो, अब उपचार गर्न सकिँदैन भनेर आश मरेर बसेका बेला सरकारले निःशुल्क डायलासिसले सुविधा दिएपश्चात् बाँच्ने आशा जागेको हो”, गुरुङले भन्नुभयो, “कति ऋण गरियो कति अलिअलि जोरजाम गरेको रकम थियो सबै सकियो, अहिले अलि अलि खर्च गर्न परे पनी ऋण खोज्न हिँड्नु परेको छैन ।”
सोही अस्पतालमा आमाको उपचारका लागि आउनुभएका पोखरा–१४ चाउथेका ट्याक्सी चालक राजकुमार खड्कीले पनि डायलिस सेवा निःशुल्क हुँदा धेरै सहज भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “उपचार निःशुल्क हुँदा ठूलो राहत मिलेको छ, दिनभर ट्याक्सी चलाउँछु, कहिले रु दुई–चार हजार, कहिले रु पाँच–सात सयमा चित्त बुझाउनु पर्छ, यस्तो कमाईले परिवार पाल्न र आमाको उपचार गर्न मलाई गाह्रो भएको थियो, अहिले सहज भएको छ ।”
खड्कीले २०७७ सालमा आमालाई मिर्गौलामा समस्या देखिएपछि विभिन्न अस्पतालमा उपचार गराउँदै आएको बताउनुभयो । पोखरा–१३ बाँझापाटनका तारानाथ बराल अहिले डायलासिस उपचार गराइरहनुभएको छ ।
विगत पाँच वर्षदेखि मिर्गाैलाको समस्या झेलिरहनुभएका बरालले निःशुल्क डायलासिस सेवा जनताको हितका लागि सरकारको सकारात्मक कदम भएको प्रतिक्रिया दिनुभयो ।
“आर्थिक अभावले डायलासिस गर्न नसक्नेका लागि यो वरदानजस्तै भएको छ, म सन्तुष्ट छु, म जस्तै अरु पनि लाभान्वित भएका छन्”, ७१ वर्षीय बरालले भन्नुभयो ।
विगत पाँच वर्षदेखि मिर्गाैलाको समस्या खेपिरहनुभएका बराल पोखराको पृथ्वीनारायण क्याम्पसबाट प्रोफेसरको अवकाश प्राप्त व्यक्ति हुनुहुन्छ ।
बरालले पेन्सनकै भरमा काठमाडौँका विभिन्न अस्पतालमा डायलासिस गराउँदै आउनुभएको थियो । निकै महँगो उपचार पद्धतिले आजित हुनुभएका बराल निःशुल्क सेवाबाट लाभान्वित भएको बताउनुहुन्छ ।
नियमित उपचार गरिहनुपर्ने र सर्वसाधरणको पहुँचभन्दा निकै महँगो उपचार मानिने मिर्गौला रोगलाई यो व्यवस्थाले वरदान सावित गरिदिएको गण्डकी प्रदेश सरकारका सचिव डा विनोद विन्दु शर्मा बताउनुहुन्छ ।
“यो निकै खर्चिलो र सर्वसाधारणको पहुँचा बाहिरको उपचार पद्धति हो, सरकारले डायलासिसलाई निःशुल्क गरेसँगै यसका बिरामी लाभान्वित भएका छन्”, उहाँले भन्नुभयो ।
उहाँले गण्डकी प्रदेशको मनाङ र मुस्ताङ बाहेकका जिल्लामा डायलासिस सुविधा रहेको बताउनुभयो ।
गण्डकी प्रदेशमा हाल ४१ अस्पतालमा १६ डायलासिस युनिट सञ्चालनमा रहेका छन् । यी युनिटमार्फत एक हजार ८२ बिरामीले डायलासिस सेवा लिइरहेका छन् । तीमध्ये सात सय ८४ जना सक्रिय बिरामी रहेका छन्भने एक सय ३६ जना सेवा पर्खिरहेका छन् ।
डायलासिस सेवाका लागि एक सय ७२ मेसिन उपलब्ध भए पनि एक सय ३७ मात्र सञ्चालनमा छन् । चौतीस मेसिन बिग्रिएको अवस्थामा छन्भने एक मात्र ‘ब्याकअप मेसिन’ छ । यस्तै, एक सय ५२ सञ्चालनयोग्य शय्या रहेका छन् ।
दक्ष जनशक्तिका हिसाबले डायलासिस सेवामा आठ नेफ्रोलोजिस्ट, नौ एमडिजिपी (तीन तालिम प्राप्त), २६ मेडिकल अफिसर (सात तालिम प्राप्त), एक सय १९ स्टाफ नर्स (८३ तालिम प्राप्त), १० बायोमेडिकल प्राविधिक (आठ तालिम प्राप्त) र ४० सहायक (२१ तालिम प्राप्त) कार्यरत छन् ।
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ। दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...
मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी रूपमा विमान उडान रोकेको घोषणा गरेको छ। दुबईमा मङ्गलबार बिहान विस्फोट सुन्न सकिएका थिए, जब देशका सैनिकहरूले इरानबाट आउने मिसाइल र ड्रोनलाई निशान...

