नेपालगञ्ज: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि र स्तरीय उपचारको व्यवस्था गरिने बताउनुभएको छ । भेरी अस्पताल, नेपालगञ्जमा आज स्थापना गरिएको अत्याधुनिक ‘अपरेसन थिएटर’को उद्घाटन गर्दै मन्त्री पौडेलले सिकलसेल र थालेसेमियाका बिरामीको उपचारमा सरकारले कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यसका बिरामीका लागि सात प्रदेशका प्रादेशिक अस्पतालहरूमा छुट्टै वार्डको प्रबन्ध गरिनेछ ।” सिकलसेलका बिरामीका लागि भारत सरकारसँग औषधि माग गर्न पत्राचार भएको र अन्तिम चरणमा रहेको जानकारी दिँदै मन्त्री पौडेलले भारतले औषधि दिने सहमति जनाएपछि सबै प्रक्रिया पूरा गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सिकलसेल रोगको उपचारका लागि वार्ड स्थापना गरिएका सबै अस्पतालमा सिकलसेलको औषधि पठाइनेछ, त्यहीँबाट बिरामीलाई आवश्यकताअनुसार वितरण गरिनेछ ।” मन्त्री पौडेलले सरकारले बिरामीको उपचारका लागि विभिन्न काम गरिरहने जनाउँदै रोग लाग्नै नदिन तथा रोगबाट जोगिन विभिन्न चेतनामूलक कार्यक्रमहरू पनि नियमित सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । बीमालाई व्यवस्थित गर्ने काम पनि सरकारले गरिरहेको उल्लेख गर्दै मन्त्री पौडेलले बीमालाई योगदानमा आधारित बनाउन लागिएको बताउनुभयो । सिकलसेलका बिरामीका लागि छुट्टै वार्ड स्थापना गरिएपछि अब बिरामीले बेड नपाउने समस्या समाधान भएको उहाँले उल्लेख गर्नभयो । बर्दियाको बारबर्दियाका बिरामी दीपक थारूले अब औषधिलाई बिमाभित्र पार्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा सिकलसेल वार्डको निरीक्षण गर्दै मन्त्री पौडेलले बिरामीहरूसँग पनि उपचार र अन्य समस्याका बारेमा जानकारी लिनुभयो । कार्यक्रममा भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा निराजन सुवेदी, सिकलसेल एनिमियाको उपचारमा लामो समयदेखि संलग्न वरिष्ठ चिकित्सक डा राजन पाण्डे, सिकलसेल सोसाइटी नेपालका अध्यक्ष प्रभुराम थारू लगायतले सिकलेलको अवस्था, उपचार र समस्या समाधानको उपायबारे धारणा राख्नुभएको थियो । भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाह, सदस्य डा डक्टप्रसाद धिताल र अस्पतालका प्रमुख नरसिं प्रशासक दुर्गा लक्ष्मी श्रेष्ठले अस्पतालमा जनशक्ति थप्नुपर्ने तथा बीमाको रकम तत्काल पठाउन लगाउनुपर्नेमा मन्त्रीको ध्यानाकर्षण गराउनुभयो । बाँके, बर्दियालगायत पश्चिम नेपालमा सिकलसेल एनिमियाका बिरामीहरू धेरै रहेका छन् ।
पोखरा: विभेद्को डरले समाजमा खुल्न नसकेका एचआइभी सङ्क्रमित निःशुल्क स्वास्थ्य बिमाको सुविधाबाट बञ्चित भएका छन् । निःशुल्क स्वास्थ्य बिमा कार्यक्रममा समावेश हुन सम्बन्धित वडाबाट सिफारिस लिनुपर्ने व्यवस्थाका कारण एचआइभी सङ्क्रमित समस्यामा परेका हुन् । एचआइभीको क्षेत्रमा क्रियाशील धवलागिरि पोजेटिभ समूहका वित्त तथा कार्यक्रम संयोजक सुवास कँडेलले बागलुङमा कूल २ सय ८ जना एचआइभी सङ्क्रमितमध्ये ३४ जनाको स्वास्थ्य बिमा हुनसकेको छैन । “१ सय ७४ जनाको निःशुल्क स्वास्थ्य बिमा भएको छ, समाजमा खुल्न नचाहने र विभेद्को डरले ३४ जना स्वास्थ्य बिमामा समेटिन सक्नुभएको छैन”, उहाँले भन्नुभयो, “उहाँहरूका लागि धवलागिरि अस्पतालमा रहेको एआरटी केन्द्र वा धवलागिरि पोजेटिभ समूहमार्फत बिमाको व्यवस्था गरिदिन सम्बन्धित निकायसँग हाम्रो माग छ ।” निःशुल्क स्वास्थ्य बिमा गर्न नपाएकामा जिल्लाको गलकोट, ढोरपाटन नगरपालिका, बडिगाड, निसीखोला गाउँपालिकालगायत विभिन्न स्थानीय तहका एचआइभी सङ्क्रमित रहेका छन् । बिमा सुविधाबाट बञ्चित हुँदा एचआइभी सङ्क्रमित महँगो उपचार सेवा लिन बाध्य छन् । सरकारले एचआइभी सङ्क्रमितका लागि निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरेको छ । कतिपय स्थानीय तहले आफ्नै बजेटबाट एचआइभी सङ्क्रमितको स्वास्थ्य बिमा गर्दै आएका छन् । स्वास्थ्य कार्यालय, बागलुङका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले स्वास्थ्य कार्यालयको सिफारिसमा या अन्य आधिकारिक निकायमार्फत एचआईभी सङ्क्रमितको बिमा गरिदिने व्यवस्था गर्नुपर्ने बताउनुभयो । “बिमाको सिफारिसका लागि सङ्क्रमित आफ्नै ठाउँमा जानुपर्ने भएकाले उहाँहरूलाई समस्या भएको हो”, उहाँले भन्नुभयो, “एचआइभी सङ्क्रमितलाई सहज रूपमा स्वास्थ्य बिमाको सुविधा दिन स्वास्थ्य बिमा बोर्डले पहल लिनु आवश्यक छ ।” यसअघि धवलागिरि अस्पतालमा रहेको एआरटी केन्द्रबाट एचआइभी सङ्क्रमितको स्वास्थ्य बिमा हुँदै आएकामा अहिले बजेट कटौती भएपछि उक्त केन्द्रबाट बिमा हुन छाडेको छ । धवलागिरि पोजेटिभ समूहका अनुसार जिल्लामा रहेका कूल दुई सय आठ एचआइभी सङ्क्रिममध्ये २२ जना बालबालिका रहेका छन् । सङ्क्रमितमध्ये एक सय ५२ जनाले धवलागिरि अस्पतालमा रहेको एआरटी केन्द्रबाट औषधोपचारको सेवा लिइरहेका छन् । जिल्लाको ढोरपाटन नगरपालिकास्थित बुर्तिबाङ अस्पतालबाट पनि एचआइभी सङ्क्रमितका लागि औषधि उपलब्ध गराइँदै आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
पर्वत: स्थापना भएको साढे ३ दशकपछि पर्वत अस्पतालमा ‘फिजियोथेरापी’ सेवा सुरु भएको छ । शनिबारदेखि औपचारिक रूपमा सुरु भएको फिजियोथेरापी सेवाको गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले उद्घाटन गर्नुभयो । फिजियोथेरापी सेवाको शुभारम्भ गर्दै मन्त्री पाठकले नागरिकलाई सर्वसुलभ रूपमा स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकार निरन्तर सक्रिय भएर लागेको बताउनुभयो । उहाँले प्रदेशका ११ वटै जिल्लाका अस्पताललाई सुविधासम्पन्न बनाइने बताउनुभयो । अब जिल्लामै अधिकांश रोगको उपचार हुनेगरी अस्पतालको क्षमता विकास गर्ने र त्यसका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । सरकारबाट १५ शय्या क्षमताको अनुमति पाएपनि ६० शय्या क्षमतामा सञ्चालित अस्पतालले फिजियोथेरापी सेवा सुरु गरेको हो । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको दरबन्दीबाट यो सेवा सञ्चालन गरिएको हो । सेवा सञ्चालन गर्न डा प्रमीला लामिछाने नियुक्त हुनुभएको हो । अब नियमित रूपमा सेवा सञ्चालन हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बाँस्तोलाले जानकारी दिनुभयो । ‘फिजियोथेरापी’ विधिले शरीरका विभिन्न अङ्गहरूको चाल, लचकता, बल र समन्वय सुधार गर्न मद्दत गर्ने तथा यो उपचार मुख्य रूपमा शरीरको मांसपेशी, जोर्नी, स्नायु र हाडहरूको समस्या समाधान गर्न प्रयोग गरिने भएकाले बिरामीका लागि महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ । डा बाँस्तोलाका अनुसार प्यारालाइसिस, ढाड दुख्ने, घुँडा दुख्ने, गर्धन दुख्ने, काध तथा कुहिना दुख्ने र मुख बाङ्गिएको समस्या भएका बिरामीले सहज रूपमा उपचार पाउने छन् । अस्पतालले पहिलो चरणमा १० शय्याको व्यवस्था गरेर फिजियोथेरापी सेवा दिन थालेको छ । स्वास्थ्य बीमा गरेका विमितलाई स्वास्थ्य बीमा कार्डमार्फत नै सेवा उपलव्ध गराइने भएको छ । जिल्लामा फिजियोथेरापी सेवा नहुँदा यस क्षेत्रका बिरामी पोखरा, काठमाडाँैलगायतका ठाउँमा जान बाध्य थिए । जिल्लाबाटै उक्त सेवा सञ्चालन भए पनि यस क्षेत्रका बिरामीलाई सहज हुने छ ।
दमौली: नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रको दिगो सञ्चालनका लागि रू २९ लाख सङ्कलन भएको छ । दमौली अस्पताल परिसरमा स्थापना गरिएको रक्तसञ्चार केन्द्रलाई दिगो बनाउन थालिएको अभियान अन्तर्गत हालसम्म रू २९ लाख सङ्कलन भएको हो । विसं २०७२ मङ्सिर १२ गते रक्तसञ्चार सेवा केन्द्र स्थापना भएको थियो । हाल दमौली अस्पतालको सहयोगमा मेडिबैंक भएको अस्पतालको गेटमै रक्तसञ्चार केन्द्र सञ्चालनमा रहेको छ । रक्तसञ्चार केन्द्रलाई दिगो र सहज बनाउन रू ५० लाखको अक्षयकोष स्थापना गर्ने उद्देश्यबमोजिम सहयोग अभियान थालिएकामा विभिन्न पालिकाबाट सहयोग प्राप्त भइसकेको र केही पालिकाबाट सहयोगको प्रतिबद्धता आएको रेडक्रस शाखा सभापति प्रा डा कृष्णप्रसाद गौतमले जानकारी दिए । प्रा डा गौतमका अनुसार रू २१ लाख ५० हजार खातामा जम्मा भइसकेको छ भने रू सात लाख ५० हजारको प्रतिबद्धता प्राप्त भएको छ । गौतमका अनुसार व्यास नगरपालिकाबाट रू पाँच लाख, बन्दीपुर गाउँपालिकाबाट रू पाँच लाख, म्याग्दे गाउँपालिकाबाट रू पाँच लाख, भानु नगरपालिकाबाट रू चार लाख, भिमाद नगरपालिकाबाट रू दुई लाख, घिरिङ गाउँपालिकाबाट रू ५० हजार प्राप्त भइसकेको छ । शुक्लागण्डकी नगरपालिकाबाट रू तीन लाख, देवघाट गाउँपालिकाबाट रू दुई लाख ५० हजार, ऋषिङ गाउँपालिकाबाट रू दुई लाखको प्रतिबद्धता व्यक्त गरिएको जनाइएको छ । रक्तसञ्चार केन्द्र सञ्चालनका लागि अक्षयकोष बनाउने र सोही अक्षयकोषबाट प्राप्त ब्याज रकमबाट केन्द्र सञ्चालनमा सहजता ल्याउन खोजिएको प्रा डा गौतमको भनाइ छ । उनले भने, “विसं २०७९ चैत १४ गते समन्वय समितिका प्रमुखको संयोजकत्वमा बसेको बैठकले रक्तसञ्चार केन्द्र सञ्चालनका लागि अक्षयकोष बनाउने र सो अक्षयकोषमा रू ५० लाख जम्मा गर्ने निर्णय गरिएको थियो ।”
भक्तपुर: भक्तपुर अस्पतालले ‘सिटी स्क्यान’ मेसिन सञ्चालनमा ल्याउने भएको छ । यसका लागि बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयले रु ८ करोडमा ‘सिटी स्क्यान’ मेसिन खरिद गरेको थियो । अस्पतालले नयाँ भवन निर्माण गरेर यही पुस महिनादेखि सो उपकरण सञ्चालनमा ल्याउने तयारी समेत गरेको छ । अस्पतालकी कार्यकारी निर्देशक डा सुमित्रा गौतमले भवन निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिँदै अस्पताल स्थापना भएको १ सय २० वर्षपछि यही पुस महिनादेखि ‘सिटी स्क्यान’ मेसिन सञ्चालनमा ल्याउन लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “‘सिटी स्क्यान’ उपकरण सञ्चालनमा ल्याउनकै लागि एकतले भवन निर्माण गरिरहेका छाँै”, भवन निर्माण सम्पन्न भएसँगै यसै महिनादेखि उपकरण सञ्चालनमा ल्याउँछौँ, अब यहाँ आउने बिरामीले ‘सिटी स्क्यान’ गर्न अन्य निजी अस्पतालमा महँगो शुल्क तिरेर जानु पर्दैन, यही सहज हुन्छ ।” यहाँ सञ्चालनमा आउने ‘सिटी स्क्यान’ मेसिन १० वर्षसम्म मर्मतदेखि त्यसका लागि आवश्यक पेपरसमेत कम्पनीले व्यहार्ने सम्झौता भएकाले अब १० वर्षसम्म यो मेसन बिग्रियो भन्दै वा अन्य बाहनामा मेसिन बन्द नहुने उहाँले बताउनुभयो । अस्पतालकी निर्देशक डा गौतमले भन्नुभयो, “‘सिटी स्क्यान’ मेसिन दिने कम्पनीले नै अबको १० वर्षसम्म मेसिन सञ्चालनमा कुनै समस्या नआउने गरी ग्यारेन्टी गरेको छ, मेसिन सञ्चालनका लागि आवश्यक पेपरसमेत १० वर्षसम्मका लागि पुग्ने गरी व्यवस्था गरेको छ, १० वर्षसम्म यो मेसिन सञ्चालनमा अस्पताल ढुक्क भएको छ ।” बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले बागमती प्रदेश सरकारले भक्तपुर अस्पतालमा रु आठ करोडको लागतमा ‘सिटी स्क्यान’ मेसिन र रु एक करोड १० लाखको लागतमा ‘मेमोग्राम’ मेसिन सञ्चालनमा ल्याउन लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भक्तपुर अस्पतालमा बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले पहिलोपटक ‘सिटी स्क्यान’ मेसिन जडान गर्न मेसिन खरिद गरेको छ । यसै महिना सञ्चालनमा आउँछ । यस अस्पतालका लागि ‘मेमोग्राम’ मेसिन ल्याउन बोलपत्र गरिसकेका छौँ, या मेसिन जडान गरेपछि यहाँका महिलालाई स्तन क्यान्सरको पहिचान एवं स्क्रिनिङ गर्न सजिलो हुन्छ, अन्य अस्पतालमा धाउनुपर्दैन ।” दुवै मेसिन सञ्चालनका लागि आवश्यक दक्ष जनशक्ति पनि सरकारले व्यवस्थापन गरेको उहाँले बताउनुभयो । अस्पतालले मिर्गौलाका बिरामीका लागि सहज सेवा दिन १० श्य्याको डायलासिस कक्ष समेत तयार पारेको छ । “अस्पतालको आकस्मिक कक्षसँगै रहेको भवनमा १० श्ययाको डायलासिस कक्ष तयार पारेका छौ, प्रदेश र केन्द्रीय स्वास्थ्य मन्त्रालयले डायलासिस मेसिन दिएलगत्तै हामी यो सेवा पनि सञ्चालन गर्छौं, १० श्ययाको डायलासिस मेसिन सञ्चालनमा ल्यान पाए दैनिक कम्तीमा एक सय बिरामीलाई सेवा दिन सक्छौँ ।”
जुम्ला: हिमा गाउँपालिका–१ स्थित बड्की गाउँमा स्वास्थ्यचौकीको पक्की भवन निर्माण गरिएको छ । स्वास्थ्य सेवा प्रभावकारी सञ्चालन गर्न गाउँपालिकाले बड्कीगाउँमा स्वास्थ्यचौकीको पक्की भवन निर्माण गरेको गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले जानकारी दिनुभयो । गत आर्थिक वर्ष २०८०÷८१ को वार्षिक विनियोजित कार्यक्रमअनुसार बड्की स्वास्थ्यचौकीमा रु ३८ लाख लगानीमा पक्की भवन निर्माण गरिएको हो । पुरानो साँघुरो भवनबाट बर्थिङ सेन्टर, सामान्य जाँचदेखि अन्य सेवा दिइरहेको स्वास्थ्यचौकीलाई पूर्वाधार अभावले सेवा प्रवाहमा कठिनाइ भएको थियो । गाउँपालिका अध्यक्ष शाहीले भन्नुभयो, “भौगोलिक रुपमा विकट र सदरमुकामभन्दा टाढा रहेका हिमाका थुप्रै बस्ती स्वास्थ्यचौकीबाटै विभिन्न स्वास्थ्य सेवा लिइरहेका छन् । “आर्थिकरुपमा विपन्न नागरिकका लागि स्वास्थ्यचौकी ठूलो अस्पताल हो । दैनिक धेरैले सेवा लिन्छन्, तर पूर्वाधार अभावले साँघुरो संचरनाबाट सेवा दिनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गरेका छौं, पालिका भित्रका सबै,स्वास्थ्य संस्थालाई पूर्वाधार र उपकरणमा सम्पन्न बनाउने पालिकाको लक्ष्य रहेको छ”, उहाँले भन्नुभयो, “गत आवको विनियोजित रु ३८ लाख बजेटबाट बोलपत्र आह्वान भई भवन निर्माण भएको छ ।”
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ एवं स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सुविधा उपलब्ध गराउन परिपत्र गरेको छ । मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा राजकुमार पाण्डेले परिपत्र जारी गर्दै सरकारी अस्पताल, मेडिकल कलेज र सबै सामुदायिक निजी अस्पताललाई पत्राचार गरी नर्सिङको न्यूनतम सेवा सुविधा उपलब्ध गराउन परिपत्र गर्नुभएकोे हो । विशेष गरेर नर्सिङको सेवा सुविधाबारे मन्त्रालयमा गुनासो आएपछि परिपत्र जारी गरिएको महाशाखा प्रमुख डा पाण्डेले बताउनुभयो । यसैगरी मन्त्रालयले तोकिएको समयभन्दा बढी कार्यका लागि अतिरिक्त भत्ताको व्यवस्था गर्न पनि निर्देशन दिएको उहाँले जानकारी दिनुभयो । स्वास्थ्य तथा शैक्षिक संस्थाले करार (नियुक्ति सम्झौता) गरी राख्नुपर्ने, ज्यालादारी कार्य गराउन नपाइने र सक्कल शैक्षिक लब्धाङ्कपत्र कार्यालयमा राख्न नपाइनेजस्ता कार्य गर्न पनि अस्पतालहरूलाई निर्देशन दिइएको छ । यस्तै कार्य गरिसकेपछि अनुभवको पत्र प्रदान गर्नुपर्ने र नर्सिङलगायत अन्य स्वास्थ्यकर्मीको पारिश्रमिक बैंकिङ प्रणालीबाट मात्र उपलब्ध गराउनसमेत परिपत्र गरेको छ ।
म्याग्दी: भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिकामा ‘दीर्घरोगीसँग अध्यक्ष’ कार्यक्रम सञ्चालन भएको छ । नसर्ने रोग पहिचान र उनीका उपचारमा पहुँच बढाउने तथा जनचेतना अभिवृद्धिका लागि गाउँपालिकाको स्वास्थ्य शाखाले कार्यक्रम सञ्चालन गरेको हो । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले स्वास्थ्य क्षेत्रको प्रमुख चुनौती बनेको नसर्ने रोग न्यूनीकरणका साथै उपचार सेवामा पहुँच बढाउन कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो । “भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रका नागरिकलाई घरदैलोमा विशेषज्ञ सहितको सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो,” उहाँले भन्नुभयो “प्रयोगशालाका सामग्री, उपकरण, औषधि र चिकित्सकसहितको टोली गाउँ गाउँमा पुगेका छन् ।” कार्यक्रममार्फत चिकित्सकसहितको टोलीले स्वास्थ्य परीक्षण, परामर्श, प्रयोगशाला र निःशुल्क औषधि वितरणसम्बन्धी सेवा प्रदान गरिने धवलागिरिका स्वास्थ्य शाखाका प्रमुख सम्झना खाती कार्कीले बताउनुभयो । मुटु, मिर्गौला, मधुमेह, उच्चरक्तचापलगायत रोगीहरुलाई पहिचान गर्ने र उनीहरुलाई निःशुल्क औषधि वितरण गरिने उहाँले बताउनुभयो । कार्यक्रमअन्तर्गत धवलागिरि गाउँपालिका–७ ताकममा मङ्गलबार भएको शिविरमा एक सय आठजनाले सेवा लिएका थिए । बुधबार वडा नं ४ मुदीमा शिविर सञ्चालन गरिएको छ । बेनी अस्पतालका चिकित्सक डा रामु सापकोटा, समीर भण्डारीसहितको टोलीले सेवा दिएको छ । धवलागिरि गाउँपालिकामा सातवटा वडा छन् । सबै वडामा कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।
म्याग्दी: म्याग्दीको रघुगङ्गा गाउँपालिका– ७ चिमखोलामा स्वास्थ्य चौकीको भवन निर्माण भएपछि पूर्वाधारमा स्वरुप फेरिएको छ । सुविधासम्पन्न भवनबाट सेवा लिन सर्वसाधारण र स्वास्थ्य परीक्षण गर्न स्वास्थ्यकर्मीलाई सहज भएको छ, तर पूर्वाधारमा स्वरुप फेरिए पनि स्वास्थ्यचौकीबाट प्रवाह हुने सुविधा भने थपिएको छैन । स्वास्थ्य चौकीको नवनिर्मित भवनबाट सेवा प्रवाह गर्न थाले पनि सेवाग्राहीले भने स्वास्थ्य चौकीबाट प्राप्त गर्नुपर्ने थप सुविधा पाउन नसकेको गुनासो गरेका छन् । स्वास्थ्य चौकीबाट अहिलेसम्म बर्थिङ सेन्टर सञ्चालन नहुँदा महिला तथा नवजात शिशुको सुरक्षाको प्रबन्ध नभएको चिमखोलाकी स्वास्थ्य स्वंयसेविका दुतकुमारी पुनले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर नहुँदा कतिपय महिला घरमै असुरक्षित तवरले नवजात शिशु जन्माउन बाध्य हुने गरका छन्, स्वास्थ्य चौकी भवनमा बर्थिङ सेन्टरका लागि कोठा पनि बनाइएको छ, तर सेवा सञ्चालन भएको छैन, आवश्यक औजार उपकरण र औषधिको व्यवस्थापन गरेर तत्काल बर्थिङ सेन्टर सञ्चालनमा ल्याउनुपर्छ ।” चिमखोलासँगै रघुगङ्गाको वडा नं १ बेग, ४ दग्नाम, ८ कुइनेमङ्गलेमा रहेका स्वास्थ्य चौकीहरुमा बर्थिङ सेन्टरको सेवा सुरु हुन सकेको छैन । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टिकाबहादुर शाहीले चिमखोलामा आवश्यक मापदण्डको पालना गरेर बर्थिङ सेन्टर सञ्चालन गराउने तयारी भइरहेको बताउनुभयो । उहाँले बर्थिङ सेन्टरका लागि आवश्यक पर्ने तालिम प्राप्त जनशक्ति उपलब्ध भएको र गाउँपालिकाले आवश्यक औजार उपकरणहरु खरिद गरेर सेवा सञ्चालन गर्ने जमर्को गरेको बताउनुभयो ।बर्थिङ सेन्टरको सेवा प्रवाह हुने स्वास्थ्य चौकीहरुमा चौबिसै घण्टा सुरक्षित प्रसूति सेवा उपलब्ध हुने गर्छ । स्वास्थ्य चौकीमा पूर्वाधार, औजार उपकरण तथा जनशक्तिको व्यवस्था गरेर निश्चित मापदण्ड पूरा गरे पनि स्वास्थ्य कार्यालयले बर्थिङ सेन्टर सञ्चालनका लागि अनुमति दिने र गाउँपालिकाले उक्त सेवा सञ्चालन गर्ने जनाएको छ । रघुगङ्गा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले दुर्गम गाउँमा स्वास्थ्य सेवाको पहुँच विस्तारमा जुटेको बताउनुभयो । उहाँले गाउँपालिकाले छरिएर रहेका दुर्गम गाउँका बस्तीमा स्वास्थ्य चौकीका साथै सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरेर गाउँपालिकाले नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकामा अहिले ८ स्वास्थ्य चौकी र सात सामुदायिक स्वास्थ्य इकाइबाट सेवा प्रवाह भइरहेको छ । गाउँपालिका–३ कलेजाबाङको पातिहाल्ना र वडा नं ७ चिमखोलाको नामिलामा समेत सामुदायिक स्वास्थ्य इकाइ स्थापना गर्ने तयारी गरेको छ ।

