पोखराः बेलायतको सण्डरल्याण्ड युनिभर्सिटीबाट सम्बन्धनप्राप्त कलेज आइएसएमटीले आयोजना गरेको रक्तदानमा ६२ युनिट रगत सङ्कलन भएको छ । काठमाण्डौको तीनकुने गैरीगाउँस्थित आईएसएमटी कलेज प्रांगणमा आयोजित रक्तदान कार्यक्रममा ६२ जना विद्यार्थी, शिक्षक तथा कर्मचारीले रक्तदान गरे । कलेजका विजनेश डेभलपेन्ट अफिसर–हेड बासुदेव वस्तीले सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यस कार्यक्रमले तत्काल देखिएको रगत अभावलाई कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । ISMT Group अन्तर्गत University of Sunderland UK को सम्बन्धनमा नेपालका प्रमुख शहरहरु चितवन, पोखरा, विराटनगर र बुटवलमा आईएसएमटी कलेजहरु संचालनमा छन् । कलेजले BBA, BHM, BSc. IT, BSc (Hons) Cyber Security and Digital Forensics र MBA कार्यक्रम संचालन गरिरहेको छ ।
कैलाली: स्थानीय समाजसेवी टेकराज बिनाडीले सुत्केरीलाई उपयोगी हुने न्याना झोला टीकापुर अस्पताललाई प्रदान गर्नुभएको छ । उहाँले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारी, पूर्वअध्यक्ष दीपक रावल र अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट रेमकुमार राईलाई संयुक्त रूपमा बिहीबार दुई सय ५० वटा झोला हस्तान्तरण गर्नुभएको हो । झोला हस्तान्तरण गर्दै समाजसेवी बिनाडीले नवप्रसूताहरूलाई सघाउने उद्देश्यले आफूले झोलाको व्यवस्था गरेको बताउनुभयो । झोलामा सुत्केरीका लागि गाउन, बच्चाका लागि भोटो, दौरा र न्यापकिनको व्यवस्था गरिएको छ । अस्पतालले सुत्केरीहुनेलाई एउटा झोला उपलब्ध गराउँदै आएको छ । अस्पतालले उपलब्ध गराउने झोला प्रयोग गरेका सुत्केरीले त्यसमा भएका सामग्रीले आफू र बच्चालाई दुई महिनासम्म सहज भएको बताउनुभयो ।
बागमती: सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा बागमती प्रदेशका चार लाख ७० हजार दुई सय ५६ परिवारका १३ लाख ६५ हजार तीन सय ६२ जना आबद्ध भएका छन् । उक्त तथ्याङ्क विसं २०७४ भदौ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम लागू भएयता हालसम्मको रहेको स्वास्थ्य बिमा बोर्ड मकवानपुरका प्रमुख नरबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी चितवनमा ७२ प्रतिशत परिवार स्वास्थ्य बिमामा आबद्ध भएका छन् भने सबै भन्दा कम काठमाडौँमा छ प्रतिशत परिवार स्वास्थ्य बिमामा आबद्ध भएका छन् । चितवनमा एक लाख ७९ हजार तीन सय ४५ परिवारमध्ये एक लाख २९ हजार चार सय ३८ परिवार बिमित हँुदा काठमाडौँमा पाँच लाख ४४ हजार आठ सय ६७ परिवारमध्ये ३० हजार चार सय २० परिवार मात्र स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएको प्रमुख खड्काले बताउनुभयो । भक्तपुरको ६६ हजार नौ सय ५६ परिवार, मकवानपुरको ५४ हजार पाँच सय २३ परिवार बिमामा आबद्ध भएको तथ्याङ्क छ । काभ्रेपलाञ्चोकका ४३ हजार तीन सय ५६ परिवार, नुवाकोटमा २३ हजार एक सय ६७ परिवार, सिन्धुपाल्चोकमा १७ हजार छ सय ३० परिवार, सिन्धुलीमा २७ हजार सात सय ५८ परिवार, रामेछापमा २१ हजार एक सय ६५ परिवार, दोलखामा १५ हजार छ सय आठ परिवार, धादिङमा २५ हजार आठ सय ३८ परिवार, रसुवामा चार हजार सात सय ६५ परिवार र ललितपुरमा नौ हजार छ सय ३२ परिवार स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएको प्रमुख खड्काले बताउनुभयो । कार्यालयमा बिमा दर्ताका लागि नयाँ आवेदन पनि आइरहेको स्वास्थ्य बिमा बोर्ड कार्यालयले जनाएको छ । मकवानपुरमा स्वास्थ्य बिमा बोर्डले जिल्लाको सम्पूर्ण स्थानीय तहका वडामा सहजकर्तामार्फत प्रचारप्रसारसँगै बिमितहरुको नाम दर्ता गराउँदै आएको छ । स्वास्थ्य बिमा गराएकाले जिल्लाको आठ स्वास्थ्य संस्थाबाट स्वास्थ्य सेवा लिँदै आएका छन् । हेटौँडा अस्पताल, मनहरी आधारभूत अस्पताल, हेटौँडा सामुदायिक आँखा अस्पताल, पालुङ प्राथमिक स्वास्थ्य केन्द्र, भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्र, बकैया आधारभूत अस्पताल, राक्सिराङ आधारभूत र सिएम सि चुरेहिल अस्पताल प्राली हेटौँडाबाट स्वास्थ्य बिमा गरेकाले सेवा लिँदै आएका छन् ।
बलेवा: गण्डकी प्रदेश सरकारले (आर्टिफिसियल इन्टिलिजेन्स) एआई एक्सरे मेसिन सञ्चालनमा ल्याएको छ । छाती रोगसम्बन्धी खोजपड्तालका लागि गण्डकी प्रदेशमा नै पहिलो पटक बागलुङको गलकोटबाट सेवा शुभारम्भ भएको हो । गलकोट नगरपालिका–११ रिघा स्वास्थ्यचौकीमा आयोजना गरिएको एक्सरेद्धारा छातीरोग खोजपड्ताल कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मेसिनको शुभारम्भ गर्नुभयो । अत्याधुनिक प्रविधिसहितको मेसिनको प्रयोगद्धारा छातीरोगको समयमा खोजी र उपचारका लागि प्रदेश सरकारले काम थालेको उहाँले बताउनुभयो । क्षयरोग उपचार केन्द्र गण्डकी प्रदेश पोखराले रु एक करोड ७५ लाख खर्च गरी खरिद गरेको एआई एक्सरे मेसिनले प्रदेशभरी खोजपड्ताल कार्यक्रम आयोजना गरेर छाती रोगकको पहिचान गरिने मन्त्री पाठकले बताउनुभयो । क्षयरोग लागयतका छातीसम्बन्धी रोगको समयमा उपचार नहुँदा नागरिकले ज्यान गुमाउनुपर्ने बाध्यता अन्त्यका लागि प्रविधि, जनशक्ति र उचारमा प्रदेश सरकारले कार्यक्रम ल्याएको उहाँले बताउनुभयो ।
म्याग्दीको बेनी नगरपालिकामा घरमै सुत्केरी हुनेको सङ्ख्या शून्यमा झरेको छ । घरमा नै शिशु जन्माउँदा आमा र शिशुको ज्यान खतरामा पर्नुका साथै महिलामा विभिन्न समस्याले सुत्केरीपछि सताइरहने हुँदा घरमा नै सुत्केरी हुनेको सङ्ख्या शून्य बनाइएको हो । जोखिमयुक्त प्रसूतिका कारण हुने जोखिम न्यूनीकरण गरी नवजात शिशु र आमाको स्वास्थ्यमा सुधार ल्याउन ‘होम डेलिभरी’ शून्य बनाइएको स्वास्थ्य शाखाका प्रमुख चन्दन सुवेदीले बताउनुभयो । बेनी नगरपालिकामा आर्थिक वर्ष २०७८र७९ मा आठ सय ४७, २०७९र८० मा छ सय ७७, २०८०र८१ मा तीन सय ९२ र आव २०८१र८२ को हालसम्म एक सय ४९ जनाले सुरक्षित प्रसूति सेवा लिएका स्वास्थ्य शाखा प्रमुख सुवेदीले बताउनुभयो । उहाँका अनुसार आव २०७८र७९ यता बेनी नगरपालिकामा घरमा सुत्केरी हुने आमाहरूको सङ्ख्या शून्य छ । दश वडा रहेको बेनी नगरपालिकामा जिल्लास्तरको अस्पताल, ज्यामरुककोट, भकिम्ली, सिङ्गा, पुलाचौर र पात्लेखेतको स्वास्थ्यचौकीमा सुरक्षित प्रसूति सेवा उपलब्ध छ । अधिकांश वडाका गर्भवती सुत्केरी हुनका लागि बेनी अस्पतालमा आउने गरेका छन् । आठपटक गर्भ जाँच गर्ने तथा स्वास्थ्यचौकीमा नै सुत्केरी हुनेलाई प्रोत्साहन गर्ने राज्यको नीति र चेतनामूलक अभियानका कारण होम डेलिभरी शून्य भएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो । “गर्भावस्था र सुत्केरी अवस्थाका सम्भावित जोखिमको विषयमा धेरै चेतनामूलक कार्यक्रम सञ्चालन भएका छन्”, उहाँले भन्नुभयो, “सरकारी र गैरसरकारी संस्थाबाट भएका प्रयास प्रभावकारी बनेको छ ।”
चितवन: बिपी कोइराला मेमोरियल बाल क्यान्सरको निःशुल्क उपचार सुरुआत गरेको छ । अस्पतालले विगतमा शय्या, खाना, रेडियो थेरापी नि:शुल्क गर्दै आएकामा अब केमोलगायत औषधि पनि नि:शुल्क गर्न थालनी गरेको हो । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार डिसेम्बरको अन्तिमसम्म विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट केमोसहितका ३५ बाल क्यान्सरका औषधि निःशुल्क आउँदैछन् । ती औषधि नआउँदासम्म अहिले अस्पतालले नै औषधि उपलब्ध गराउँदै आएको छ । उहाँले भन्नुभयो, “मन्त्रालयले स्रोत सुनिश्चितता गरेकाले हामीले औषधिसमेत सम्पूर्ण उपचार निःशुल्क सुरु गरेका छौँ ।” अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार यस अस्पतालमा बाल क्यान्सरका बिरामीको चाप अत्यधिक हुने गर्दछ । उहाँ भन्नुभयो, “धेरै बिरामी हुन्छन्, निःशुल्क गर्दा अस्पताललाई ठूलो भार हुन्छ भनेपछि स्वास्थ्य मन्त्रालयले स्रोतको सुनिश्चितताको प्रतिबद्धता दियो ।” पछि सोधभर्ना हुने गरी अहिले अस्पतालले नै केमोलगायत औषधिको व्यवस्थापन गरेको उपनिर्देशक डा नेपालको भनाइ छ । अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा कृष्णसागर शर्माले सुरुकै अवस्थामा बाल क्यान्सर पत्ता लाग्यो भने निको बनाउन सकिने बताउनुहुन्छ । नेपालमा बर्सेनि एक हजार पाँच सय हाराहारी नयाँ बाल क्यान्सरका बिरामी हुन्छन् भन्ने अनुमान रहेको उहाँको भनाइ छ । तीमध्ये आधा मात्र उपचारको पहुँचमा आउने गरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कतिपय बालबालिका क्यान्सर पत्ता नलागी ज्यान गुमाएका हुन्छन् । कतिपय विदेशमा गएर उपचार गराएका छन् । तर ५० प्रतिशत बालबालिका क्यान्सर अस्पतालको पहुँच बाहिर रहेको अनुमान गरिएको छ ।” बाल क्यान्सरको उपचार पूर्ण निःशुल्क भएसँगै पहुँच बाहिर रहेका बालबालिका पनि उपचारको पहुँचमा आउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
काठमाडौं: नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार सेवा आजदेखि प्रदर्शनीमार्गस्थित केन्द्रीय रक्त सञ्चार सेवा भवनबाट सुरु भएको छ । गोरखा भूकम्पबाट रक्त सञ्चार भवनमा क्षति पुगेपछि नेपाल रेडक्रसले सोल्टीमोडमा अस्थायी संरचना बनाई सेवा दिँदै आएको थियो । नेपाल रेडक्रसले नेपालमा पहिलो पटक २०२३ साल साउन १२ गते काठमाडौँमा वीर अस्पतालले उपलब्ध गराएको सानो कोठाबाट रक्तसञ्चार सेवा सुरु गरेको थियो । विसं २०३९ असोज ६ गतेदेखि अष्ट्रेलियन रेडक्रसको सहयोगमा प्रदर्शनी मार्गमा निर्मित भवनबाट सेवा प्रदान गर्दै आएको रेडक्रसका महामन्त्री भूपतिलाल श्रेष्ठले जानकारी दिनुभयो । विसं २०७२ साल वैशाख १२ को विनासकारी भूकम्पले प्रदर्शनीमार्गस्थित केन्द्रीय रक्तसञ्चार सेवा भवनमा क्षति पुगेपछि यहाँबाट ललितपुरको बालकुमारी हुँदै रेडक्रसको केन्द्रीय कार्यालय ताहचलबाट रक्तसञ्चार सेवा प्रदान हुँदै आएको थियो । थाइल्याण्ड सरकारबाट थाई रेडक्रसको सहयोगमा प्रदर्शनी मार्गमा सुविधा सम्पन्न नयाँ केन्द्रीय रक्तसञ्चार सेवा भवन निर्माण गरिएको छ ।
बर्दिया: बर्दियाको राजापुर नगरपालिका–५, जयपुरकी सुष्मा चौधरीकी सासूआमा भगवती थारू सिकलसेल एनिमियाबाट पीडित हुनुहुन्छ । उमेरसँगै थपिएको रोगबाट ग्रस्त सासूआमाका आफ्नै व्यथा छन्, त्योभन्दा बढी पीडा सुष्मालाई छ । उपचारका लागि आर्थिक चाँजोपाँजो मिलाउने, अस्पताल पुर्याउनेदेखि रोगले थलिनुभएकी सासूआमाको जीवनमा प्राण भर्ने जिम्मेवारी बुहारी सुष्माकै काँधमा छ । अरू चाँजोपाँचो त जेनतेन भइहेकै हुन्छ तर महिनाको दुई पटकसम्म रगत चढाउनुपर्ने भए पनि नजिकै ‘ब्लड बैङ्क’ नभएको पीडा अझ बढी छ । “घर नजिकै ब्लड बैङ्क छैन । रगतकै लागि ७३ किलोमिटर टाढा रहेको बाँकेको नेपालगञ्जसम्म पुग्नुपर्दा निकै सास्ती खेप्नुपर्यो । बर्दियाबाट भेरी अस्पताल जानुको विकल्प नै थिएन । त्यति टाढा गएर पनि एकै दिनमा रगत चढाउन पाइँदैन थियो । त्यहाँ जानै समस्या, गए पनि अधिकांश दिनमा रक्त अभावले पालो कुरेर उतै चाररपाँच दिनसम्म बस्नुपर्दाको सास्ती भनिसाध्य छैन”, सुष्माले भन्नुभयो । उहाँले घण्टौँ लगाएर अस्पताल पुगे पनि रगत अभावमा अस्पतालको शय्यामा कुर्नुपर्दाको सास्ती र बसाइँ लम्बिँदा हुने खर्चको तनावले थप पीडा दिने गरेको सुनाउनुभयो । यसरी उपचारका क्रममा कैयौँ दिन अस्पतालमा भोकै बस्नुपरेका दिन अहिले पनि सुष्माको मानसपटलमा ताजै छ । “त्यति टाढा पुगेर पनि रगत पाइन्छ भन्ने निश्चित हुँदैनथ्यो । कति पटक चार दिनसम्म पालो कुर्दा भोकभोकै बस्नुपरेको थियो । अहिले त्यो पीडा सम्झिन पनि चाहन्न”, उहाँले भन्नुभयो । राजापुर क्षेत्रमा रगत नपाइने र चाहिएको बेला रक्त समूह नमिल्ने भएकाले सुष्मालाई दुःख भोगेर भए पनि नेपालगञ्ज जानैपर्ने बाध्यता थियो । पछिल्लो चार महिनादेखि भने यो बाध्यता हट्दै गएको छ । राजापुर नगरपालिकाले राजापुर बजारमै रक्त सङ्कलन तथा भण्डारण केन्द्र (ब्लड बैङ्क) स्थापना गरेपछि सुष्मालाई ठूलो राहत भएको छ । नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र, राजापुरमा ब्लड बैङ्क स्थापना गरेको हो । सुष्मा र उहाँकी सासूआमा भागिरथी त प्रतिनिधिपात्र मात्रै हुन् । नगर स्वास्थ्य शाखाले दिएको जानकारीअनुसार राजापुरमा भागिरथी जस्तै दुई सय २४ जना सिकलसेल एनिमियाका बिरामी रहेको तथ्याङ्क छ । यी सबैजसो बिरामी र तिनका परिवारको समस्या उस्तै थियो । स्थानीयस्तरमै रक्त सङ्कलन केन्द्र स्थापना भएपछि यी सबैलाई ठूलो राहत भइरहेको छ । “मेरो छोरा दुई वर्षको हुँदादेखि उसमा सिकलसेल एनिमिया देखिएको थियो, जसकारण बेलाबेलामा रगत चढाउनु पर्छ । अहिले छोरो १० वर्षको भयो, आठ वर्षसम्म नेपालगञ्ज गएर रगत चढाइयो तर अहिले नगरमै ब्लड बैङ्क सञ्चालनमा आएपछि घर आँगनमै सेवा लिएको अनुभव गरेको छु । यसले वर्षौंदेखि पीडा भुलाएको छ”, बिरामी राजीव चौधरीका बुबाले भन्नुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढाले रक्त सङ्कलन केन्द्र स्थापना भएपछि धेरै नागरिक लाभान्वित भएको बताउनुभयो । “नजिकै रक्त सङ्कलन तथा भण्डारण केन्द्र नहुँदा दीर्घरोगीले त समस्या भोग्नु परेकै थियो, आकस्मिक घटना हुँदा अकालमै ज्यान गुमाउनुपर्ने अवस्था थियो । नगरले यो समस्या समाधानका लागि केन्द्र स्थापना गरेको हो । त्यसले स्थानीयस्तरमा निकै राहत पुगेको छ”, उहाँले भन्नुभयो । राजापुर नगरपालिकाले एकजना ‘ल्याब असिस्टेन्ट’ को दरबन्दी राखेर रु आठ लाखको लागतमा ब्लड बैङ्क स्थापना गरेको हो । प्राथमिक स्वास्थ्य केन्द्र राजापुरको भवनबाट ब्लड बैङ्कको सञ्चालन भइरहेको छ । गत साउन १ गतेदेखि सञ्चालनमा आएको यस केन्द्रबाट हालसम्म ५५ जनाले सुविधा लगिसकेका छन् जसमा ९५ प्रतिशत सिकलसेलका बिरामीले सेवा लिएका छन्भने बाँकी पाँच प्रतिशत गर्भवती र अन्यले सेवा लिएका ल्याब असिस्टेन्ट महेश चौधरीले जानकारी दिनुभयो । सिकलसेल एनिमियाका प्रायः थारू समुदायका नागरिकमा देखिने रोग हो । भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा निराजन सुवेदीले भन्नुहुन्छ, “सिकलसेल एनिमिया एक गम्भीर अनुवांशिक रक्तरोग हो । यस रोगमा रातो रक्त कोष हँसिया (सिकल) आकारमा बदलिने हुँदा शरीरमा अक्सिजनको आपूर्ति कम हुन्छ, जसले रक्तअल्पता, असह्य पीडा र शरीरका अङ्गहरूमा अक्सिजन नपुग्ने समस्या निम्त्याउँछ । थारू समुदायको विशिष्ट जैविक बनावट र परम्परागत वैवाहिक अभ्यासहरूले यो रोग पुस्तान्तर हुँदै आएको छ ।” राजापुर नगरपालिकामा ६९ हजार आठ सय ७३ जनसङ्ख्या रहेको छ । कुल जनसङ्ख्यामध्ये करिब ८१ प्रतिशत थारू समुदायको रहेको छ । थारू बाहुल्य क्षेत्र भएकाले सिकलसेलको जोखिम पनि सोहीअनुसार रहेको अनुमान छ । अब गाउँमै रक्त सङ्कलन केन्द्र स्थापना भएपछि धेरैलाई सहज भए पनि चाहिएको समयमा रक्त समूह मिल्ने रगत व्यवस्थापन भने चुनौतीपूर्ण रहेको ल्याब असिस्टेन्ट चौधरीले बताउनुभयो । यस्तो अवस्थामा टीकापुर, मधुवन र भेरी अस्पतालबाट रगतको जोहो गर्नुपरिरहेको उहाँले जानकारी दिनुभयो । “नगरपालिका आफैँले वर्षमा तीनपटक, गैरसरकारी संस्था युनिक नेपालले तीनपटक र विभिन्न सङ्घसंस्थाले आयोजनाले गर्ने रक्तदान शिविरबाट रगत सङ्कलन भइरहेको छ तर भण्डारण क्षमता कम भएकाले कहिलेकाहीँ छिमेकी अस्पतालहरूबाट रगतको जोहो गर्नुपर्छ”, ल्याब असिस्टेन्ट चौधरीले भन्नुभयो, “थारू समुदायको ठूलो बस्ती रहेकाले सिकलसेलको जोखिम र आकस्मिक रूपमा चाहिने रगतका लागि यस केन्द्रको स्तरोन्नति आश्वयक छ । भर्खरै सञ्चालनमा आएकाले नगरपालिकाले समस्या र आवश्यकता हेरेर त्यो काम गर्ने नै छ ।” नगरप्रमुख दीपेश थारूले ब्लड बैङ्कको सेवालाई थप प्रभावकारी बनाउँदै लैजाने विषयमा आफूहरू सचेत रहेको बताउनुभयो । उहाँले स्थानीय नागरिकको माग र आवश्यकताअनुसार सेवा विस्तार गरिने बताउनुभयो । “नगरपालिकामा १५ शय्या अस्पताल सञ्चालन हुँदैछ, काम अगाडि बढिरहेको छ । त्यहाँ पनि ब्लड बैङ्क रहनेछ । ब्लड बैङ्क सेवालाई अझ प्रभावकारी बनाउने र रगतको भण्डारण बढाउन नियमित रूपमा रक्तदान कार्यक्रम गरेर सेवा विस्तार गर्ने योजनामै छौँ”, नगरप्रमख थारूले भन्नुभयो । यस सेवाबाट नगर क्षेत्रका मात्रै होइन छिमेकी गेरुवा गाउँपालिका र ठाकुरबाबा नगरपालिका क्षेत्रका नागरिक पनि लाभान्वित हुन थालेका छन् ।
दाङ: राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले रोल्पाको होलेरीमा सेवा विस्तार गर्ने भएको छ । प्रतिष्ठानले चिकित्सा विषयको स्नातक तह (एमविविएस)को अध्यापन सुरु गर्ने भएपछि सेवा विस्तार गर्न लागेको हो । प्रतिष्ठानले होलेरी प्राथमिक स्वास्थ्य केन्द्रका लागि चिकित्सक पठाउन लागेको हो । त्यहाँका नागरिकलाई सहज विशेषज्ञ सेवा प्रदान गर्नका लागि यस्तो कार्य गरिएको रजिष्ट्रार श्याम लम्सालले जानकारी दिनुभयो । स्वास्थ्य केन्द्रमा २४ सैँ घन्टा स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य छ । एमविविएस पढाइको लागि प्रतिष्ठानले ५० सिट प्राप्त गरेपछि होलेरी केन्द्रलाई ‘कम्युनिटी आउट रिच सेन्टर’कोरुपमा रहने गरी व्यवस्थापन गर्ने भएको हो । यसका लागि प्रतिष्ठान र रुन्टीगढ गाउँपालिकाबीच जनशक्ति व्यवस्थापनबारे सम्झौता भएको छ । प्रतिष्ठानका रजिष्ट्रार लम्साल र गाउँपालिका अध्यक्ष जनक पुनबीच आगामी पुस १ गतेदेखि सेवा सुरु गर्ने सम्झौता भएको हो । साथै होलेरीमा नै प्रतिष्ठानबाट पास गर्ने एमडिपिजिपी चिकित्सक पठाएर विशेषज्ञ सेवा सुरु गर्ने उहाँको भनाइ छ । हाल प्रतिष्ठानमा एमडिजिपीमा दुई चिकित्सकले स्नाकोत्तर अध्ययनरत छन् । गत असारदेखि होलेरी अस्पतालमा चिकित्सकको नहुँदा बिरामीले सामान्य स्वास्थ्य सेवा प्राप्त गर्न घोराही आउनुपर्ने बाध्यता छ ।