काठमाडौँः डा.ओम फाउन्डेसनले महोत्तरीको बलवा नगरपालिकास्थित धमौरामा ३ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिक्षा तथा समाजसेवी स्व तेजनारायण सिंहको दोस्रो वार्षिक पूण्यतिथिको सन्दर्भमा फाउन्डेसनले शिविर सञ्चालन गरेको हो । विशेषज्ञ चिकित्सक, चिकित्सा शास्त्र अध्ययन गरिरहेका विद्यार्थी तथा स्वास्थ्यकर्मीहरूको समूहले बलवा नगरपालिकाको ग्रामीण भेगका न्यून आय भएका तथा सीमान्तकृत समुदायका मानिसको मुटुरोग, मधुमेह, उच्च रक्तचाप, कोलस्टोरेललगायतका जाँच गर्नुका साथै अन्य स्वास्थ्य समस्याका बारेमा आवश्यक परामर्श दिएको थियो । शिविरमा इको, इसिजी, सुगर जाँच गरी एक महिनासम्मका लागि निःशुल्क औषधिसमेत प्रदान गरिएको थियो । शिविरमा स्थानीयवासीलाई खानपान, स्वास्थ्यसम्बन्धी सचेतना गराइएको फाउन्डेशनले जनाएको छ । बुधबार सम्पन्न शिविरमा तीन सय बढीले निशुल्क स्वास्थ्य सेवा लिएका छन् । शिविरमा आएका ४० वर्ष उमेर समूहका महिलाहरुमा मधुमेहको समस्या देखिएको वरिष्ठ मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘उहाँहरूमा मोटोपना थिएन, पारिवारिक पृष्ठभूमिमा पनि मधुमेह थिएन, सामान्य खानपान र स्वस्थ जीवनशैली अपनाएका थिए । तथापि, समस्या देखियो ।’’ शिक्षा तथा समाजसेवी स्वर्गीय तेजनारायण सिंहले आफ्नो जन्मस्थान धमौराको शिक्षा, कृषिको विकास तथा न्यून आय भएका तथा सीमान्तकृत समुदायको आयआर्जन बढाउन विभिन्न क्रियाकलाप गर्नुभएको थियो । उहाँले २०२७ सालमा आफ्नै जमिनमा विद्यालय स्थापना गरी दुई दशक बढ़ी व्यवस्थापनको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । उक्त विद्यालय हाल जनता राष्ट्रिय उच्च माविका रूपमा सञ्चालनमा छ । सो विद्यालयमा दुई हजार विद्यार्थी अध्ययनरत छन् । सिंहले साना किसानहरूको आयआर्जन बढाउन नगदेबाली तथा आधुनिक खेती गर्न किसानलाई सहजीकरण गर्नुभएको थियो । स्वर्गीय पिता तेजनारायणबाट प्रेरित भएर मुटुरोग विशेषज्ञ डा.अनिलले सन् २०२३ मा स्थापना गरेको उक्त फाउन्डेसनले स्वास्थ्य, शिक्षा र सामाजिक रुपान्तरणका निम्ति कार्य गर्दै आएको छ । उहाँले बुबा स्वर्गीय तेज नारायण सिंहसँगको सामिप्यता, आमाबुबाप्रतिको समर्पणभाव, पारिवारिक सम्बन्धका बारेमा लेख्नुभएको पुस्तक जीवन्त सम्बन्ध ३० हजार बढी प्रति बिक्री भएको छ । सो पुस्तकको बिक्रीबाट प्राप्त रकम फाउन्डेसनमार्फत् स्वास्थ्य, शिक्षा र सामाजिक रुपान्तरणका क्षेत्रमा खर्च गर्दै आउनुभएको छ ।
चितवनः इच्छाकामना गाउँपालिका–१ भाराङमा रहेको सामुदायिक स्वास्थ्य एकाइलाई सपना भिलेज सोसल इम्प्याक्टले रु १ लाख २४ हजार बराबरका ३१ प्रकारका औषधि प्रदान गरेको छ । ती औषधि उक्त संस्थाका अध्यक्ष ध्रुव गिरीले भाराङ स्वास्थ्य एकाइका प्रमुख सूर्यबहादुर चेपाङलाई बुधबार एकाइमा आयोजित १ सङ्क्षिप्त कार्यक्रममा हस्तान्तरण गर्नुभयो । इच्छाकामना गाउँपालिका स्वास्थ्य शाखाले उपलब्ध गराएको विवरणअनुसार ३१ प्रकारको औषधि प्रदान गरिएको अध्यक्ष गिरीले बताउनुभयो । उक्त संस्थाले इच्छाकामना गाउँपालिका–१ का चेपाङ समुदायको जीवनस्तर उकास्न आयआर्जनका लागि पशुपालन, सागसब्जीखेती, शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको छ । यसअघि गाउँपालिकासँगको सहकार्यमा उक्त संस्थाले सात सय घरलाई सुधारिएको चुल्हो वितरण गरेको थियो ।
वीरगञ्जः छठ पर्वसँग सम्बन्धित गीत गाएर प्रसिद्धि कमाउनुभएकी भारतीय लोकगायिका शारदा सिन्हाको निधन भएको छ । भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचार गराइरहनुभएकी ७२ वर्षीया गायिका सिन्हाको मङ्गलबार साँझ निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भोजपुरी तथा मैथली भाषाकी लोकगायिका सिन्हाले गाएका लोकगीत भारतीयसहित नेपाली गीत, सङ्गीतका पारखीले मन पराउँदै आएका छन् । उहाँले गाउनुभएको छठसँग सम्बन्धित ‘डोमिनी बेटी सुप लेले ठार छे’, ‘अँगना में पोखरी खनाइब, छठी मैया आइथिन आज’, ‘मोरा,भैया गैल मुंगेर’ लगायत गीत चर्चित छन् । वीरगञ्जका कलासाहित्य क्षेत्रमा अनुरागीहरुले पनि लोकगायिका सिन्हाको निधनले स्तब्ध बनाएको प्रतिक्रिया दिएका छन् । नारायणी वाङ्मय प्रतिष्ठानका पूर्वसचिव मनोज उपाध्यायले लोकगायिका सिन्हालाई भोजपुरी गीतका उज्जवल नक्षेत्रको रुपमा स्मरण गर्नुभयो । “सिन्हाले लोकआस्थाका रुपमा मनाइने पर्व छठको गीतलाई आफ्नो सुुमुधुर आवाजमार्फत जनस्तरमा पु¥याउनुभएको छ । उहाँले गाउनुभएका छठका गीत अहिले पनि वीरगञ्जका विभिन्न छठ घाटहरुमा गुञ्जिरहेका छन्”, उहाँले भन्नुभयो, “लोकगायिका सिन्हाले भोजपुरीसँगै चर्चित हिन्दी गीतहरु पनि गाउनुभएको छ ।” प्रतिष्ठानका पूर्वसचिव उपाध्यायले लोकगायिका सिन्हाको निधनले भोजपुरी कला र साहित्य क्षेत्रले अपूरणीय क्षति बेहोरेको बताउनुभयो । “सिन्हा जस्तो लोककलाकार पाउन भोजपुरी कला र साहित्य क्षेत्रले अझै धेरै समय कुर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “गीत, साहित्य, सङ्गीतले भूगोल र सीमालाई हेर्दैन । साहित्य, कला र सङ्गीत विश्वसँग जोडिएका विषय भएकाले पनि उहाँको निधनले हामी स्तब्ध भएका छौँ ।” पूर्वसचिव उपाध्यायले सिन्हा भोजपुरी कला र गीतप्रति रुचि र लगाव राख्ने अनुरागी भएको स्मारण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभयो । लोकगायिका सिन्हाको जन्म भारतको विहार राज्यमा भएको थियो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्राज्ञसभा सदस्य एवं नेपाल भोजपुरी समाजको सहसचिव अजमत अली अन्सारीले भारतीय लोकगायिक सिन्हाको निधनले भोजपूरी गीतले महान श्रष्ठा गुमाएको बताउँदै उहाँलाई स्मरण गर्नुभयो । “भारतीय हिन्दी गीत, सङ्गीतमा जसरी लता मङ्गेशकरलाई चिनिन्छ, त्यस्तै गरी भोजपुरी गीतका क्षेत्रमा शारदा सिन्हालाई चिन्ने गरिन्छ”, उहाँले भन्नुभयो, “सिन्हाले छठका गीत गाएर प्रसिद्धि कमाउनुभयो । छठकै समयमा उहाँको निधन भएकाले गीतका अनुरागीहरुलाई मर्माहत बनाएको छ ।” भारतीय लोकगायिका सिन्हाले भारतको लब्धप्रतिष्ठित पद्यश्री र पद्यभुषण अवार्डसमेत प्राप्त गर्नुभएको छ । उहाँका एक छोरा र एक छोरी हुनुहुन्छ । लोकगायिका सिन्हाको निधनप्रति भारतका प्रधानमन्त्री नरेन्द्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मा उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुुख रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरु सामान्य रहेको उहाँको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली सामान्य ज्वरोका कारण मङ्गलबारदेखि अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम नराखी बालुवाटारमा आराम गरिरहनुभएको छ
धादिङः पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा २ वटा बस एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् । काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको बा ४ ख ४४७६ नम्बरको बस तथा चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको बा ५ ख ३४९५ नम्बरको बस एकापसमा ठोक्किएका हुन् । घाइतेलाई उपचारका लागि आदमघाट र गजुरीका स्वास्थ्य संस्थामा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रल्हाद सिलवालले जानकारी दिनुभयो । दुर्घटनाग्रस्त बस सडकबाट पन्छाएर अवरुद्ध यातायात पुनः सञ्चालन गर्ने प्रयास भइरहेको उहाँले बताउनुभयो । तीब्र गतिमा गुडिरहेका दुवै बस अनियन्त्रित भई एकापसमा ठोक्किएका प्रहरीले जनाएको छ ।
काठमाडौँः नेपालमा डेङ्गी सङ्क्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जाडो बढ्नुका साथै सरकारले डेङ्गी सार्ने लामखुट्टे नियन्त्रण अभियान सञ्चालन गरेपछि कात्तिकयता सङ्क्रमण घट्दै गएको बताउनुभयो । सरकारले डेङ्गीको सङ्क्रमण बढ्न थालेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेको छ । उहाँका अनुसार अहिले नेपालमा ४२औँ हप्ताबाट डेङ्गी सङ्क्रमण घट्न थालेको हो । नेपालमा अहिले डेङ्गी सङ्क्रमणको ४५औँ हप्ता चलिरहेको छ । डा दाहालले ४२औँ हप्तामा मात्रै २ हजार ५ सय ८२, ४३ औँ हप्तामा २ हजार २ सय ४ , ४४ औँ हप्तामा १ हजार ७१ र ४५औँ हप्ता चलिरहँदा ५५ जनामा मात्र सङ्क्रमण देखिएको जानकारी दिनुभयो । “जाडो बढेसँगै डेङ्गी सङ्क्रमण घटिरहेको छ”, उहाँले भन्नुभयो, “४५ हप्तामा आइपुग्दा फाट्टफुट्ट मात्र देखिन थालेका छन् । सङ्क्रमण घटेपनि सावधानी अपनाउनुपर्छ ।” अहिलेसम्म २९ हजार १ सय ५८ मा सङ्क्रमण भएको भन्दै १२ जनाको निधन भएको किटजन्य रोग शाखाका प्रमुख डा दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार डेङ्गी सङ्क्रमण हुम्ला बाहेक सबै जिल्लामा देखिएको छ । सबैभन्दा बढी कास्कीमा ७ हजार २ हजार २४ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गी रोग लाग्दछ । उपत्यकामा ६ हजार ६ सय १२ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । काठमाडौँमा ४ हजार ५ सय ९५, भक्तपुरमा ८ सय ३१ र ललितपुरमा १ हजार १ सय ८६ जनामा डेङ्गी सङ्क्रमण देखिएको हो ।
पोखराः प्रदेश गौरवको आयोजनामा समेटिएको क्यान्सर, मुटु, मिर्गौला र बाल रोग सम्बन्धी एकीकृत सेवासहितको विशिष्टीकृत अस्पताल निर्माणका लागि गण्डकी प्रदेश सरकारले सङ्घीय सरकारसँग जग्गा माग गरेको छ । प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले हालै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेर कास्कीको पोखरा महानगरपालिका–१६ स्थित जौवारी सिँचाइ विभागको २ सय रोपनी जग्गा प्रदेश सरकारलाई उपलब्ध गराइदिन माग गरिएको जानकारी दिनुभयो । प्रदेश स्थापनापछि गठित पहिलो सरकारले प्रदेश राजधानी पोखरामा उक्त विशिष्टीकृत अस्पताल स्थापना गर्ने निर्णय गरेपनि जग्गा व्यवस्थापनको जटिलतालगायत कारणले कार्यान्वयन हुन सकेको छैन । प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममा पनि उक्त योजना समेटिँदै आएको स्वास्थ्यमन्त्री पाठकले बताउनुभयो । “प्रधानमन्त्रीसमक्ष जग्गाव्यवस्थापनलगायत विभिन्न १२ मागहरु मन्त्रालयकातर्फबाट पेस गरिएको छ, प्रधानमन्त्रीले आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाउनुभएको छ”, उहाँले भन्नुभयो । मन्त्री पाठकले जग्गा अभावकै कारण विशिष्टीकृत अस्पताल निर्माणमा बिलम्ब भइरहेको बताउनुभयो । उहाँले प्रदेशमा एकीकृत सेवासहितको मातृशिशु, महिला तथा बाल अस्पताल स्थापनाका लागि पनि पहल भइरहेको जानकारी दिनुभयो । जटिल रोगको उपचार सेवाका लागि सर्वसाधारण काठमाडौँ जानुपर्ने बाध्यता अन्त्यका लागि पोखरामा सुविधासम्पन्न विशिष्टीकृत अस्पतालको जरुरी रहेको उहाँको भनाइ छ । मन्त्री पाठकले अन्तरङ्ग सेवासहित २५ शय्याको गण्डकी आयुर्वेद अस्पताल र धवलागिरि आयुर्वेद अस्पतालको स्तरवृद्धिका लागि आवश्यक बजेटको प्रबन्ध गरिदिन सङ्घ सरकारसँग माग गरिएको बताउनुभयो । प्रदेश सरकारले प्राकृतिक चिकित्सा, आयुर्वेद उपचार पद्धति र मेडिकल विज्ञानसमेत सेवालाई एकै ठाउँबाट प्रवाह हुने गरी स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापनाको लक्ष्य लिएको उहाँले बताउनुभयो । उक्त केन्द्रका लागि राष्ट्रिय खेलकुद परिषद्को नाममा पोखरा रङ्गशाला परिसरमा रहेको पाँच रोपनी ७ आना जग्गा प्राप्तिका लागिसमेत सहजीकरण गरिदिन प्रधानमन्त्रीसमक्ष माग राखिएको मन्त्री पाठकको भनाइ छ । गण्डकी प्रदेश सरकार र स्थानीय तहअन्तर्गत सञ्चालित अस्पताल र स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार निर्माणदेखि स्वास्थ्य सेवाको गुणस्तर वृद्धिका लागि आवश्यक स्रोतसाधनको व्यवस्थाका लागि सङ्घ सरकारसँग माग गरिएको उहाँले बताउनुभयो । स्वास्थ्य क्षेत्र सुधारको लक्ष्यसहित अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर मन्त्रालयले काम सुरु गरेको मन्त्री पाठकको भनाइ छ । स्वास्थ्य क्षेत्रको नीतिगत, संस्थागत र संरचनागत सुधारको खाकासहित भावी कार्ययोजना बनाइएको उहाँले बताउनुभयो । मन्त्रालयको कार्ययोजनाअन्तर्गत कानूनी सुधार, सुशासन, आपूर्ति व्यवस्थापन, मातृ तथा शिशु स्वास्थ्य सेवा सुदृढीकरण, संस्थागत क्षमता विकास तथा विस्तार, सेवा प्रवाह तथा गुणस्तरको सुनिश्चितता, सूचना व्यवस्थापन, जनस्वास्थ्य आपतकालीन तयारी र प्रतिकार्य, सर्ने तथा नसर्ने रोगको व्यवस्थापनलगायतका विषय समेटिएका छन् । “नागरिकलाई सर्वसुलभ र गुणस्तीय स्वास्थ्य सेवा प्रवाहका लागि स्वास्थ्य मन्त्रालय प्रतिबद्ध छ” मन्त्री पाठकले भन्नुभयो ।
बङ्गलादेशमा डेङ्गुका कारण शनिबार एकै दिन यो बर्षको सबैभन्दा बढी १० जनाको मृत्यु भएपछि सङ्क्रमितको सङ्ख्या ३१० पुगेको बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ । स्थानीय समयअनुसार शनिबार बिहान ८ बजेसम्मको पछिल्लो २४ घण्टामा थप एक हजार ३४८ जनामा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुबाट सङ्क्रमित भएका थिए । डेङ्गु ज्वरो एडिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो । यो रोगले टाउको दुख्ने, उच्च ज्वरो आउने, थकाइ लाग्ने, मांसपेशी र जोर्नीदुख्ने, ग्रन्थी सुन्निने, वान्ता हुने र चिलाउने जस्ता लक्षणसहित गम्भीर स्वास्थ्य समस्या निम्त्याउँछ । यस भाररसबाट यो बर्ष सङ्क्रमित हुनेको सङ्ख्या ६३ हजार १६५ पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । यस वर्ष डेङ्गुका कारण अक्टोबरमा १३४, सेप्टेम्बरमा ८०, अगस्टमा २७ र जुलाईमा १२ जनाको मृत्यु भएको थियो । बङ्गलादेशमा सन् २०२३ मा डेङ्गुका कारण एक हजार ७०५ जनाको मृत्यु भएको थियो। सन् २०२२ मा २८१ र सन् २०१९ मा १७९ जनाको डेङ्गुका कारण मृत्यु भएको थियो । डेङ्गुको बढ्दो सङ्ख्यासँग जुध्न बङ्गलादेशी स्वास्थ्य अधिकारीले लामखुट्टेको प्रजनन रोक्न र लार्भा विरोधी अभियान सञ्चालन गर्न कडा उपाय चालेका छन् ।
सर्लाहीः सर्लाहीमा स्यालको आक्रमणबाट यहाँका तीन स्थानीय तहका १३ जना घाइते भएका छन् । मङ्गलबार राति जङ्गलबाट गाउँ पसेको स्यालको समूहले खेतबाट काम गरेर घर फर्कँदै गरेका तथा घरमै बसिरहेका स्थानीयलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । स्यालको आक्रमणबाट बसवरिया गाउँपालिकाका नौ, गोडैता नगरपालिकाका तीन तथा बलरा नगरपालिकाका एक जना घाइते भएका छन् । स्यालको आक्रमणबाट बसवरिया गाँउपालिका–१ का १० वर्षीय रोशन मुखिया, ६० वर्षीय विजय पण्डित, ५५ वर्षीया सिवादेवी साह, ४० वर्षीय सहिद दर्जी, ४० वर्षीय मदैनिया दर्जी र ६ वर्षीय राजु मुखिया, बसवरिया–३ का १५ वर्षीय दीपेन्द्र माझी, बसवरिया–४ का १५ वर्षीया करुणा साह र ६० वर्षीय बद्री मुखिया, गोडैता नगरपालिका–१० का ४० वर्षीया इन्दूदेवी बैठा, ४० वर्षीया प्रेमादेवी मण्डल, सोही ठाउँका ४१ वर्षीय विपद पासवान तथा बलरा नगरपालिका–४ का ६० वर्षीया सोमरी देवी घाइते भएका प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो । घाइतेमध्ये इन्दूदेवी र प्रेमादेवीलाई थप उपचाररका लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ । अन्य घाइतेलाई उपचारका लागि बसबरिया गाउँपालिकाको एम्बुलेन्समा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरमा पठाइएको छ । घाइते केही भने स्थानीय स्वास्थ्य संस्थामा उपचार गराएर घर फर्किएका प्रहरीले जनाएको छ ।