काठमाडौं: शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले सबै प्रदेशमा मुटु रोग उपचारका लागि संयन्त्र विस्तार गर्ने भएको छ । केन्द्रका अध्यक्ष एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा आज बसेको सञ्चालक समिति बैठकले सङ्घीय राजधानी काठमाडौँबाट उपलब्ध मुटु रोग उपचार सेवा सबै प्रदेशमा विस्तार गर्ने निर्णय गरेको हो । मन्त्रालयको योजनानुसार मुटु रोग उपचार सेवा विस्तार गर्ने निर्णय गर्दै यसका लागि आवश्यक प्रक्रियाअघि बढाउन निर्देशन दिएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा अब केन्द्रले बागमतीबाहेक थप ६ प्रदेशमा सेवा विस्तारको काम अघि बढाइने छ । सबै प्रदेशमा प्रादेशिक अस्पतालमार्फत विशिष्टीकृत उपचार विस्तार गर्ने योजनाअन्तर्गत क्यान्सर रोगको उपचार सुरु भैसकेको जानकारी दिनुहुँदै मन्त्री पौडेलले केन्द्रमार्फत मुटु रोगको उपचारका लागि प्रदेशस्तरमा संयन्त्र विस्तार गर्ने निर्णय भएको बताउनुभयो । उहाँले गत साउन २७ गते सार्वजनिक गरेको योजना तथा प्राथमिकताअनुसार प्रादेशिक अस्पतालहरूमार्फत विशिष्टीकृत उपचार सेवा विस्तार गर्न लागिएको स्पष्ट पार्नुभयो । अर्थ मन्त्रालयबाट स्वीकृत भएसँगै अब सबै प्रदेशमा जलन उपचार सेवासमेत निःशुल्क रूपमा सञ्चालन गर्ने प्रक्रिया अघि बढेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।
तनहुँ: तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बजार नजिक निर्माणाधीन १० शय्याको आधारभूत अस्पताल निर्माणको अन्तिम चरणमा पुगेको छ । उक्त अस्पताल आगामी कात्तिक मसान्तभित्र सञ्चालनमा ल्याउने तयारीका साथ रङरोगन भइरहेको गाउँपालिकाले जनाएको छ । विसं २०७८ जेठ २ गतेदेखि निर्माण सुरु भएको अस्पताल भवन निर्माण अन्तिम चरणमा पुगेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार भवन निर्माणको ठेक्का ऋषि शक्तिरहोम निर्माण जेभी कम्पनीले पाएको थियो । उक्त भवन विसं २०८० जेठ १० गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौता थियो । अस्पताल भवन निर्माण गर्न सात करोड ३४ लाख ५० हजार एक सय ९६ रुपैयाँमा ठेक्का लागेको थियो । हरेक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने सङ्घीय सरकारको निर्णय बमोजिम अस्पताल निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो । “मानव जीवनको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको स्वास्थ्य हो, स्वास्थ्य सेवाको सहज पहुँच नहुँदा म्याग्देवासी समस्यामा छन्”, उहाँले भन्नुभयो, “अब अस्पताल सञ्चालनमा आएसँगै यो समस्या समाधान हुनेछ ।” अस्पतालमा एक मेडिकल अधिकृत, एक नर्सिङ अधिकृत, चार स्टाफ नर्स, चार ‘हेल्थ असिसटेन्ट’ र दुई फार्मेसीलगायत २३ जनाको दरबन्दी रहने छ ।
पोखरा: सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड, गण्डकी प्रदेश र मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरबीच क्यासलेस (नगदरहित) मेडिकल सुविधा सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा इन्स्योरेन्सको तर्फबाट प्रदेश प्रमुख गोविन्द देवकोटा र हस्पिटलको तर्फबाट अध्यक्ष डा. आनन्द भट्टराईले हस्ताक्षर गरे । सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा नगदरहित मेडिकल बीमालेख लिएका ग्राहकहरुको उपचारको खर्चमध्ये दाबीयोग्य रकम बीमा कम्पनीले हस्पिटललाई भुक्तानी गरिदिने व्यवस्था यो सम्झौताले गर्नेछ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडमा आवद्ध कर्मचारी, ग्राहक तथा शेयर सदस्यहरु र उनंका परिवार सदस्यहरूलाई परिचय खुल्ने परिचयपत्रको आधारमा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरबाट उपलब्ध गराउने स्वास्थ्य सुविधाहरु अन्तर्गत ओपिडी सेवा बाहेकका अन्य सेवामा छुट सुविधा प्रदान गरिएको छ । बेड चार्जमा २० प्रतिशत, सर्जरी अपरेशन र प्रोसिजर चेकजाँचमा १०/१० प्रतिशत, फार्मेसीमा ५ प्रतिशत छुट दिइने सम्झौता भएको छ । उक्त अवसरमा हस्पिटलका मेडिकल डाइरेक्टर डा.सरोज पोख्रेल, सिईओ प्रकाश बिक, म्यानेजर सुरेशराज सुवेदी, बजार व्यवस्थापक शोभाखर पाण्डे तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका डेपुटी प्रदेश प्रमुख कमल हमाल, शाखा प्रबन्धक जीवलाल न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
मोरङ: ‘काम गरौँ, मुटु बचाऔँ’ भन्ने नाराका साथ आज विश्व मुटु दिवस मनाइँदै छ । दिवसको अवसरमा आज यहाँ नियमित व्यायाम र खानपानबाट मुटुरोगको जोखिम कम हुने सन्देशसहित आयोजित जनचेतनमूलक प्रभातफेरी सम्पन्न भएको छ । ग्लेनमार्क फर्मासुटिकलद्वारा विराटनगरको कोशी अस्पताल परिसरबाट निस्किएको प्रभातफेरी हस्पिटल चोक, कालीमन्दिर चोक, जैनमन्दिर चोक, डिएसपी रोड, गोल्छा मोड, डाँफे चोक, रङ्गशाला हुँदै पुनः अस्पतालमा पुगी कोणसभामा परिणत भएको थियो । प्रभातफेरीमा चिकित्सक, विभिन्न औषधि व्यवसाय तथा उद्योगका प्रतिनिधि, औषधि बिक्रेता, स्वास्थ्यकर्मी, स्वास्थ्य सेवामा आवद्ध तथा सरोकार भएकाहरुको सहभागिता थियो । सो अवसरमा डा दीपक सिग्देल, डा उत्तर मैनाली, डा लक्ष्मीनारायण यादव, ग्लेनमार्कका जटाशङ्कर साह रौनियार र अञ्जेस साहले मुटु रोगबाट हुने जोखिम र मृत्युलाई न्यूनीकरण गर्न हरिया सागसब्जी, दैनिक व्यायाम र समयसमयमा चिकित्सकसँग चेकजाँच गर्न नागरिकमा जनचेतना जगाउनुपर्नेमा जोड दिनुभएको थियो । धूम्रपान, मदिरा, गुलिया तथा चिल्लो पदार्थ सेवन नगर्ने, नूनको मात्रा कम गर्ने, नियमित करिब ३० मिनेट व्यायाम गरेमा मुटु रोगबाट बच्न सकिन्छ । यो रोग लाग्न नदिन दैनिक शारीरिक परिश्रम, व्यायाम र नियमित रक्तचापको परीक्षण गर्नुपर्ने चिकित्सकको भनाइ छ । सरकारले मुटुसम्बन्धीका दीर्घरोगीलाई रु एक लाखसम्म उपचार सेवा निःशुल्क गरेको छभने ७५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गरेको छ ।
म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवाको समयावधि विस्तारपछि अस्पतालमा स्वास्थ्य सेवा लिन आउने बिरामीको सङ्ख्या बढेको छ । म्याग्दीका साथै बागलुङ, पर्वत र मुस्ताङका सेवाग्राहीले समेत स्वास्थ्य सेवा लिने बेनी अस्पतालमा गण्डकी प्रदेशमा पहिलोपटक गत वर्षको कात्तिकदेखि बिहान ७:०० देखि बेलुका ८:०० बजेसम्म १३ घण्टे बहिरङ्ग सेवा विस्तार भएको थियो । शनिबार र बिदाका दिनमा समेत दैनिक १३ घण्टे ओपिडी सेवा विस्तार भएपछि सेवा लिन आउने बिरामीको सङ्ख्या वृद्धि भएको अस्पतालका निमित्त मेडिकल सुपेरिटेण्डेन्ट डा अञ्जु थापाले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०८०/८१ मा बेनी अस्पतालको ओपिडी सेवाबाट ७३ हजार नौ सय ३० जनाले स्वास्थ्योपचार सेवा लिएका छन् । यसअघि आव २०७९/८० मा ५० हजार दुई सय ८१ र आव २०७८/७९ मा ४० हजार एक सय १० जनाले ओपिडी सेवाबाट स्वास्थ्योपचार गराएका थिए । अस्पतालले सोमबार आयोजना गरेको वार्षिक समीक्षामा अस्पतालका निमित्त मेडिकल सुपेरिटेण्डेन्ट डा थापाले साँघुरो भौतिक पूर्वाधार र सीमित स्रोत, साधनका बीच विस्तार भएको ओपिडी सेवाले बिरामीलाई सहजता मिलेको बताउनुभयो । गत वर्ष सात हजार पाँच सय ७२ जनाले अस्पतालको आकस्मिक सेवा लिएका छन् भने दुई हजार दुई सय ६५ जना बिरामी अस्पतालमा भर्ना भएर उपचार गरेको उहाँले बताउनुभयो । त्यस्तै गत वर्ष कुल तीन सय ७० महिला बेनी अस्पतालमा सुत्केरी भएकामा ९६ जनाको शल्यक्रिया गरी बच्चा जन्माइएको उहाँले जानकारी दिनुभयो । गत वर्ष बेनी अस्पतालमा ९८ जनाको मुख्य शल्यक्रिया गरिएको छभने नौ हजार छ सय ३६ जनाले युएसजी सेवा लिएका छन् । चार हजार १३ जनाले इसिजी सेवा लिएकामा १५ हजार आठ सय ९५ जनाले एक्सरे सेवा पाएका छन् । अस्पतालको सुविधासम्पन्न भवन निर्माणधीन अवस्थामा रहेकाले भौतिक पूर्वाधार र जनशक्ति अभावका बीचमा सेवा विस्तार गरी बिरामीलाई सहजता प्रदान गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताउनुभयो । उहाँले अस्पतालमा मेसिन उपकरणको बन्दोबस्त गर्ने काम भइरहेको भए पनि भवनको पूर्वाधारले पूर्णता नपाउँदा सेवालाई थप विस्तार र स्तरीकरण गर्न समस्या भएको जानकारी दिनुभयो । विसं २०७२ मा ५० शय्या क्षमतामा स्तरोन्नति भए पनि अस्थायी भौतिक संरचना थप गरेर अहिले ७८ बेड पुर्याइएको छ । अस्पतालमा स्वीकृत दरबन्दी कुल ५९ रहे पनि हाल जम्मा २६ जनाको मात्रै पदपूर्ति भएको छ । अस्पतालको सेवालाई सञ्चालन गर्न अस्थायी र करारमा समेत नियुक्त गरेर हाल अस्पतालमा एक सय २० जना कार्यरत रहेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । बेनी अस्पतालमा मानसिक रोग, महिला तथा प्रसूति रोग, जनरल फिजिसियन, बालरोग विशेषज्ञ, हाडजोर्नी तथा नशारोग, जनरल सर्जरीलगायत विशेषज्ञ सेवाका साथै मिर्गाैला रोगका बिरामीका लागि डाइलाइसिस सेवा सञ्चालन हुँदै आएको छ । अतिरिक्त समयको सेवा प्रभावकारी अस्पतालले सञ्चालन गरेको अतिरिक्त समयको सेवा प्रभावकारी बनेको छ । बिहान, बेलुकी र सार्वजनिक बिदामा पनि सरकारी अस्पतालमा सेवा पाएपछि कार्यालय समयमा फुुर्सद नपाउने सेवाग्राहीलाई सहज भएको हो । अस्पतालको अतिरिक्त समयको सेवाले मजदुर, कर्मचारी, व्यवसायी, शिक्षक, विद्यार्थीलाई निजी क्लिनिक जानुपर्ने समस्या हटेको बेनीका रिमा क्षेत्रीले बताउनुभयो । “सरकारी अस्पतालको बहिरङ्ग विभागको सेवा अतिरिक्त समयमा पाएपछि निजी क्लिनिकमा जानुुपरेन”, उहाँले भन्नुुभयो “कार्यालय समयमा फुुर्सद नपाउने सेवाग्राहीलाई सहज भएको छ, धेरै लाइन बस्नुु पनि परेन ।” अतिरिक्त समय सेवा दिन थालेपछि सेवाग्राहीको सङ्ख्या बढेको अस्पतालका निमित्त प्रमुख डा थापाले बताउनुभयो । “अतिरिक्त समय सेवा प्रवाह सञ्चालन गरेपछि सेवाग्राहीको सङ्ख्या अघिल्लो वर्षको तुलनामा २४ हजार जनाले बढेको छ”, उहाँले भन्नुभयो “बहिरङ्ग विभागको सेवा लिने करिब ४० प्रतिशत अतिरिक्त समयका सेवाग्राही छन् ।”
काठमाडौं: शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सरुवा रोगका बिरामीको चाप रहेको छ । अस्पतालमा डेङ्गी, स्क्रब टाइफस र रेबिजका बिरामीको चाप बढेको हो । अस्पतालका निर्देशक डा युवानिधि बसौलाले एक हप्तायता बिरामीको चाप बढेको बताउनुभयो । उहाँले बिरामीको चापका कारण अस्पतालले शय्याको अभाव हुन थालेको बताउनुभयो । उहाँका अनुसार डेङ्गी, स्क्रब टाइफस र रेबिजका ५५ जना भर्ना गरी उपचाररत रहेका छन् । अस्पतालका निर्देशक डा बसौलाले अहिले दैनिक आठ बिरामी उपचारका लागि आउने गरेको बताउनुभयो । तीमध्ये धेरै डेङ्गी, स्क्रब टाइफस र रेबिजका बिरामी रहेका छन् । भदौयता डेङ्गीका १९५, स्क्रब टाइफसका १३ र सर्पदङ्शका ७१ बिरामीले उपचार गरेका छन् । स्क्रब टाइफस मुसामा लाग्ने किर्नाजस्तो देखिने कीराको टोकाइबाट मानिसमा सर्ने गर्दछ । मुसामा हुने किर्ना प्रायः झाडी, खेतबारी, वनजङ्गल, घर वरिपरिको झाडी वा घुरान हुने ठाउँमा देखिने गर्दछ । आजभोलि मानिस घाँसपात गर्न जाने गर्दछन् र सोही किर्नाले टोकेपछि मानिसमा सर्दछ । चिकित्सकहरूका अनुसार मानिसबाट मानिसमा स्क्रब टाइफस सर्दैन । धेरै ज्वरो आउनु, धेरै टाउको दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडापखाला लाग्नु, विस्तारै शरीरका मुख्य अङ्गले काम गर्न छाड्नु, कीराले टोकेको ठाउँमा रातो दाग देखिने र पछि कालो दाग बस्न जस्ता स्क्रप टाइफसका लक्षण हुन् । समयमा यसको उपचार गर्न नसकेपछि मिर्गौला, कलेजामा असर पर्ने अस्पतालका निर्देशक डा बसौलाले बताउनुभयो । सय शैय्याको स्वीकृत पाएको अस्पताल अहिले ८५ शैय्यामा सञ्चालनमा रहेको छ ।
पर्वत: लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा पर्वत अस्पताल समस्यामा परेको छ । स्वास्थ्य बीमा गरेका बिरामीको उपचार हुने जिल्लाको एकमात्र अस्पतालले झण्डै रु तीन करोड भुक्तानी पाउन नसकेको हो । गत आर्थिक वर्षदेखिको स्वास्थ्य बीमा तथा डाइलाइसिसबापतको रु दुई करोड ९५ लाख १७ हजार पाँच सय २२ रकम भुक्तानी लिन नसक्दा अस्पतालका अन्य सेवा प्रभावित बनेको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बाँस्तोलाले जानकारी दिनुभयो । अस्पतालले स्वास्थ्य बीमा गरेका बिरामीको परीक्षण गरेबापत सरकारले उक्त रकम भुक्तानी गर्नुपर्ने हुन्छ । तर सरकारले समयमा रकम भुक्तानी नदिँदा भुक्तानी रकम बढ्दै गएको उहाँले बताउनुभयो । स्वास्थ्य बीमाको रकम भुक्तानी नपाँउदा औषधि तथा उपकरण खरिद, कर्मचारीको तलबभत्ता भुक्तानी तथा अन्य नियमित काममा समस्या परेको डा बाँस्तोलाले बताउनुभयो । रकम भुक्तानीका लागि पटकपटक माग गर्दा पनि सुनुवाइ नभएको उहाँको भनाइ छ । स्वास्थ्य बीमा गरेका बिरामी सामान्य समस्या पर्दा पनि अस्पताल आइपुग्नुहुन्छ, उनीहरूलाई सेवा दिनैपर्छ, तर मन्त्रालयले भुक्तानी दिन ढिलाइ गर्दा ती सेवाग्राहीलाई आवश्यक औषधि, सहायता सामग्रीलगायत ल्याबसम्बन्धी सेवा दिन समस्या भइरहेको छ । अस्पताल व्यवस्थापन समितिको कोषवाट जेनतेन अहिलेसम्म व्यवस्थापन गरिएको भए पनि अब सङ्कट सिर्जना हुन थालेको उहाँको भनाइ छ । “अहिले डेङ्गीको जोखिम छ, बिरामीले अस्पताल भरिभराउ छ, सरकारले दिएको डेङ्गी परीक्षण कीटले नपुगेर अस्पताल व्यवस्थापन समितिले आफैँ खरिद गर्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “सरकारबाट बीमाको रकम भुक्तानी नआउँदा खरिद प्रक्रियासमेत अवरोध भइरहेको छ ।” पर्वतमा स्वास्थ्य बीमामा आबद्ध भएका झण्डै ४२ प्रतिशत नागरिकले अस्पतालबाट सेवा लिने गरेका छन् । सरकारले देशभरका सबै अस्पतालका लागि तोकेको दररेटको रकम दिने गरेको भए पनि त्यो रकम बर्सेनि भुक्तानी लिन समस्या पर्ने गरेको पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीले बताउनुभयो । स्वास्थ्य बीमा बोर्ड अस्पतालबाट प्राप्त बिल भर्पाइका आधारमा उक्त रकम स्वास्थ्य मन्त्रालयमा माग गरिएको भए पनि भुक्तानी नआउँदा अस्पताल सङ्कटमा पर्न थालेको उहाँको भनाइ छ । एक परिवारका लागि रु तीन हजार पाँच सयको प्रिमियम भुक्तानी गर्दा पाँच जनाका लागि सरकारले रु एक लाख बराबरको बीमा रकम भुक्तानी दिने गर्दछ । पाँच जनाभन्दा बढी सदस्य रहेको साधरण परिवारको हकमा प्रतिसदस्य थप रु सात सय योगदान रकम बुझाउनुपर्नेछ र उपचार सुविधामा रु एक लाखमा २० हजारका दरले थप्दै प्रतिवर्ष अधिकतम रु दुई लाखसम्मको उपचार सुविधा पाउने प्रावधान छ । अस्पतालमा पछिल्ला केही वर्षयता बिरामीको सङ्ख्या उल्लेख्य मात्रामा बढ्दै गएको छ । अस्पतालको नयाँ भौतिक संरचना निर्माणसँगै १५ शय्याबाट ५० शय्यामा स्तरोन्नति भएपछि बिरामीको सङ्ख्या उल्लेख्य मात्रामा बढेको हो । आव २०८०/ ८१ मा झण्डै ६० हजार बिरामीको उपचार गरिएको पर्वत अस्पतालले जनाएको छ । मेडिकल सुपरिटेन्डेन्ट डा बाँस्तोलाका अनुसार सीमित स्रोत र जनशक्तिका बीच बिरामी उल्लेख्य मात्रामा उपचारका लागि आएको बताउनुभयो । उहाँका अनुसार आव २०७९/८० मा ५२ हजार चार सय ६६ जनाको उपचारका लागि आएका थिए भने त्यसभन्दा अघिल्लो वर्ष ३९ हजार बिरामीले सेवा लिएका थिए । अस्पतालबाट विशेषज्ञ सुविधासँगै ५० शय्यामा विस्तार भएपछि विगतका वर्षहरुमा भन्दा सेवाग्राहीको चाप ह्वात्तै बढेको छ । दुई वर्ष अगाडि दैनिक एकदेखि डेढ सय जानाको स्वास्थ्य परीक्षण हुने गरेकामा अहिले दैनिक करिब तीन सय पुगेको छ । भौतिक संरचना निर्माण र सेवा विस्तार भए पनि सरकारले ५० शय्याको अनुमति नदिँदा समस्या भइरहेको डा बास्तोलाले बताउनुभयो । अस्पतालमा अझै बाल रोग विशेषज्ञ, स्त्री तथा प्रसूति रोग विशेषज्ञ, हाडजोर्नी विशेषज्ञलगायतको अभाव रहेको उहाँको भनाइ छ । अहिले अस्पतालवाट नियमित स्वास्थ्य परीक्षणसँगै १० शय्याको डायलासिस सेवा, आँखा रोग, दन्त रोग, शल्यक्रियामार्फत सुत्केरी सेवा, हाइड्रोसिल, हर्निया, एपेन्डिसाइटिसलगायत सामान्य खालका शल्यक्रिया सेवा, इसिजी, एक्सरेलगायतका सेवा सञ्चालन भइरहेका छन् ।
बलेवा: प्रसूति व्यथा लागेकी एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले बागलुङको तमानखोला गाउँपालिका–१ बोङ्गादोभानकी २० वर्षीया गर्भवती सुनिला विकको हेलिकप्टरमार्फत उद्धार गरिएको जनाएको छ । शनिबार साँझ व्यथा लागेपछि स्थानीय स्थास्थ्य संस्थाको सल्लाहमा विकलाई परिवारले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएको थियो । स्वास्थ्य केन्द्र आउने बेला सामान्य व्यथा लागे पनि आज बिहानदेखि एक्कासी रक्तचाप बढ्ने र शरीर काप्ने, बेहोस भएपछि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको स्वास्थ्य केन्द्रका डाक्टर नवीन्द्र ढकालले बताउनुभयो । उच्च रक्तचापको औषधि चलाउँदा शरीर काँप्ने बेहोस हुने र बच्चाको समेत मुटुको चालमा समस्या देखिएपछि सुत्केरी गराउन सम्भव नभएको डा ढकालले बताउनुभयो ।
कास्कीको पोखरा महानगरपालिकामा गत भदौ पहिलो सातायता डेंगु सङ्क्रमण ६ गुणाले बढेको छ । भदौ पहिलो साता डेङ्गी सङ्क्रमितको सङ्ख्या सात सयको आसपास रहेकोमा महिनादिनमा बढेर चार हजार चार सय ३३ पुगेको हो । महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले सङ्क्रमितको सङ्ख्या ३१ सयबढी पुग्न नदिइ डेंगु रोकथाम गर्ने लक्ष्य लिइएका उक्त लक्ष्य पूरा गर्न नसकिएको बताए । “पछिल्लो एक महिनामा डेङ्गी सङ्क्रमण ह्वात्तै बढ्यो, यही अवस्था रहिरहे पाँच हजार बढीमा सङ्क्रमण देखिन सक्छ”, उनले भने, “प्रत्येक व्यक्तिले सावधानी नअपनाएसम्म डेंगु रोकथाम चुनौतीपूर्ण छ ।” गतवर्ष पोखरा महानगरपालिकाका ती हजार तीन सय ७० जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको थियो । कात्तिक महिनासम्म सङ्क्रमणको जोखिम रहने भएकाले यो वर्ष सङ्क्रमितको सङ्ख्या अझै बढ्नसक्ने देखिएको जनस्वास्थ्य निरीक्षक रेग्मीले बताए । उनका अनुसार डेङ्गी सङ्क्रमणबाट पोखरामा तीन जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–५ का ५२ वर्षीया महिला, १२ का ४० वर्षीय र १० का ८० वर्षीय पुरुषको डेंगुका कारण मृत्यु भएको उनले जानकारी दिए । पो खरा महानगरपालिका–नं ५, ८ लगायतका वडा डेंगुबाट बढी प्रभावित भएको स्वास्थ्य महाशाखाले जनाएको छ ।