तनहुँ: जिल्लामा डेङ्गी सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । यही भदौ १ गते एक हजार ८२ जनामा सङ्क्रमण देखिएकामा अहिले एक हजार तीन सय २३ जनामा सङ्क्रमण पुष्टि भएको हो । छ दिनमा दुई सय ४१ जना नयाँ सङ्क्रमित थपिएका स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुदीप कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको आँबुखैरेनीमा सबैभन्दा बढी नौ सय ८८ जनामा सङ्क्रमण देखिएको छ । शुक्लागण्डकीमा एक सय ४९, व्यासमा ९८, बन्दीपुरमा ७१, म्याग्देमा सात, भीमाद र भानुमा पाँच÷पाँच जनामा डेङ्गी पुष्टि भएको छ । चार नगरपालिका र छ गाउँपालिका गरी १० पालिका रहेको जिल्लामा सात पालिकामा डेङ्गी सङ्क्रमण देखिएको सूचना अधिकारी कँडेलले बताउनुभयो । ऋषिङ, घिरिङ र देवघाटमा हालसम्म सङ्क्रमितको सङ्ख्या शून्य छ । सङ्क्रमण बढेपछि आँबुखैरेनी गाउँपालिकाले लामखुट्टेको बासस्थान ‘खोज र नष्ट गर’ अभियानलाई तीव्रता दिँदै आएको छ । पालिका डेङ्गी सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गएकाले जनचेतनासँगै अभियानलाई तीव्रता दिइएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले बताउनुभयो । विभिन्न टोल तथा बस्तीमा पुगेर लामखुट्टेले फुल पार्ने सम्भावित ठाउँको खोजीगरी नष्ट गरिएको उहाँले जानकारी दिनुभयो । डेङ्गी सङ्क्रमण बढ्दै गएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । आँबुखैरेनी अस्पतालमा लक्षित वर्गका सङ्क्रमितको निःशुल्क उपचारको व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक अवस्था कमजोर भएका, नवजात शिशु, गर्भवती, सुत्केरी, बेवारिसे, अपाङ्गता भएका, सहाराविहीन, अशक्त तथा ज्येष्ठ नागरिकलाई औषधि उपचारमा निःशुल्क गरिएको छ । बिरामीलाई आवश्यक परेमा अस्पतालमा भर्ना, औषधिलगायत सम्पूर्ण खर्च गाउँपालिकाले व्यर्होर्ने बताउँदै अध्यक्ष चुमानले पालिकाले सिफारिस गरेपछि सोका आधारमा अस्पतालले सेवा उपलब्ध गराउने जानकारी दिनुभयो ।
गण्डकी: समुदायमा डेङ्गी फैलाउने ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टेको टोकाइबाट बच्न उक्त लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान सुरुआत गरिएको छ । सफा र जमेको पानीमा फुल पार्ने र लार्भा हुर्काउने उक्त लामखुट्टेको जीवनचक्र खल्बल्याउन ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको हो । कास्कीको पोखरा महानगरपालिकासहित यहाँका स्थानीय तह समुदायमा सरसफाइ सचेतनासहित डेङ्गी रोकथाममा जुटेका हुन् । पछिल्लो केही सातायता पोखरामा डेङ्गी सङ्क्रमण तीव्र बनेपछि हरेक शुक्रबार महानगरभित्रका सरकारी कार्यालय र सार्वजनिकस्थलमा उक्त अभियान सञ्चालन गरिएको महानगरको स्वास्थ्य महशाखाका सिअहेब अधिकृत अर्जुन क्षेत्रीले जानकारी दिनुभयो । महानगरबासीलाई पनि घर वरपर पानी जम्ने खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडा आदिमा पानी जम्मा हुन नदिन र त्यस्ता स्थल नष्ट गर्न सूचित गरिएको उहाँको भनाइ छ । “लामखट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान वडा तहदेखि नै सुरु गरिएको छ”, उहाँले भन्नुभयो, “वर्षा रोकिएको केही दिनपछि डेङ्गीको सङ्क्रमण फैलने जोखिम उच्च हुने हुनाले समुदायका सबैले सजगता अपनाउनुपर्छ ।” डेङ्गी लागेर गत शनिबार पोखराको एक अस्पतालमा ५२ वर्षीया महिलाको निधन भएको घटनाले सरोकार भएका पक्षलाई डेङ्गी नियन्त्रणमा थप संवेदनशील बनाएको उहाँले बताउनुभयो । गत साउन तेस्रो साता एकैदिन पोखरा महानगरभिका ४० जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएपछि महानगरले डेङ्गी रोकथाम र नियन्त्रणलाई अभियानकै रुपमा सञ्चालन गर्ने निर्णय गरेको थियो । महानगरभित्रका सबै सरकारी कार्यालयले हरेक शुक्रबार बिहान १० देखि १० ः ३० बजेसम्म ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्दै आएको स्वास्थ्य महाशाखाले जनाएको छ । जमेको सफा पानीमा बस्ने र दिउँसोमा मात्र मानिसलाई टोक्ने उक्त लामखुट्टेको टोकाइबाट बच्नु डेङ्गी नियन्त्रणको उत्तम उपाय भएको सिअहेब अधिकृत क्षेत्रीको भनाइ छ । गत पुसयता पोखरा महानगरभित्र ६ सय ८५ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । डेङ्गीको शङ्का लागेमा तुरुन्त परीक्षण गरी र आवश्यकता अनुसार उपचार सुरु गर्नुपर्ने उहाँको भनाइ छ । लामखुट्टेको टोकाइबाट बच्न, घर वरिपरि पानी जम्ने ड्रम, खाली बट्टा, पुराना टायर, भाँडाकुँडा नराख्न र शरीर ढोक्ने गरी लुगा लगाउनुपर्ने उहाँको सुझाव छ । डेङ्गीको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा गर्ने गरेको जनस्वास्थ्य निरीक्षक रेग्मीले बताउनुभयो । यो रोगको खास औषधी नभएकाले लक्षणअनुसार औषधोपचार गर्ने गरिएको उहाँको भनाइ छ । “समयमा रोकथाम र नियन्त्रण गर्न नसके डेङ्गी ले जोखिम रुप लिन सक्छ”, उहाँले भन्नुभयो, “पोखरा महानगरभित्रका सघन बस्ती भएका केही वडामा तीव्र रुपमा डेङ्गीको सङ्क्रमण फैलिएको छ ।” उहाँले डेङ्गीले मानिसको ज्यानैसम्म लिने भएकाले सामान्य रुपमा लिन नहुने बताउनुभयो । डेङ्गी रोकथाम र नियन्त्रणका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्ने उहाँको भनाइ छ । चार प्रकारको भाइरसबाट मानिसमा डेङ्गी सङ्क्रमण हुने गरेको जनस्वास्थय निरीक्षक रेग्मीले बताउनुभयो । असारदेखि कात्तिकसम्म डेङ्गी सङ्क्रमण बढी फैलने गरेको उहाँले बताउनुभयो । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हिमालपारिको जिल्ला मुस्ताङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा डेङ्गी को सङ्क्रमण पुष्टि भएको छ । तनहुँ देशमै डेङ्गीबाट सबैभन्दा बढी प्रभावित जिल्ला बनेको छ । स्वास्थ्य विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार तनहुँमा डेङ्गी सङ्क्रमितको संख्या सात सय १५ पुगेको छ । प्रदेशगत रुपमा पनि गण्डकी प्रदेश डेङ्गी बाट सबैभन्दा बढी प्रभावित देखिएको छ । गण्डकीमा हालसम्म एक हजार चार सय ४८ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । बागलुङस्थित धवलागिरि अस्पतालका प्रमुख चिकित्सक रविरञ्जन प्रधानले डेङ्गीसङ्क्रमण हुँदैमा आत्तिहाल्नु चाहिँ नपर्ने बताउनुभयो । डेङ्गी सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकान जस्ता लक्षण देखिए चिकित्सकको विशेष निगरानीमा उपचार गर्नुपर्ने उहाँको भनाइ छ । डेङ्गी भएमा आराम गर्ने, पानीलगायत झोलिलो प्रसस्त पदार्थ पिउने र जथाभावी औषधि सेवन गर्न नहुने प्रमुख चिकित्सक प्रधानले बताउनुभयो । गर्भवती र बालबालिकामा डेङ्गीको सङ्क्रमण भएमा स्वास्थ्यमा जटिलता निम्तन सक्ने खतरा हुने उहाँको भनाइ छ । “अधिकांश सङ्क्रमित सामान्य उपचारपछि निको हुन्छन्, कतिपयमा डेङ्गी ले जटिलता ल्याउन सक्छ, सामान्य रोग हो भन्ने सोचेर लापरबाही गरेमा ज्यानै जोखिममा पर्न सक्छ”, उहाँले भन्नुभयो ।
बागलुङ (ढोरपाटन): बागलुङको बडिगाड गाउँपालिका–५ ग्वालीचौरमा रु १८ करोडको लागतमा १५ शय्याको अस्पताल भवन निर्माण भएको छ । सङ्घीय सरकारको लगानीमा निर्मित उक्त भवनबाट आगामी कात्तिकदेखि सञ्चालन गर्ने तयारीमा गाउँपालिका जुटेको गाउँपालिकाकी अध्यक्ष गण्डकी थापाले बताउनुभयो । अस्पताल सञ्चालनमा आएपछि यहाँका स्थानीय बुर्तिबाङ, पोखरा, काठमाडौँ, पाल्पालगायत स्थानमा उपचारका लागि जानुपर्ने बाध्यता हट्ने उहाँले बताउनुभयो । गाउँपालिकाले सबै वडामा स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर सामान्य रोगको उचार गर्दै आएको छ ।
मोरङ: कोशी प्रदेशमा डेङ्गी नियन्त्रण चुनौतीका रूपमा देखापरेको चिकित्सक तथा स्थानीय निकायका पदाधिकारीहरूले बताएका छन् । बितेका चार महिनामा प्रदेशमा पाँच सय ८२ जना डेङ्गी सङ्क्रमित भएका छन् । प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा बुधबार साँझ यहाँ आयोजित मोरङका स्थानीय तहका प्रमुख उपप्रमुख, सरोकारवालालगायतको सहभागितामा भएको डेङ्गी नियन्त्रणसम्बन्धी कार्यक्रममा उक्त जानकारी दिइएको हो । डेङ्गी लागेर एकजनाको मृत्यु भएको छ । यो प्रदेशमा साउन १ देखि २९ गते सम्ममा तीन सय ३४ जना सङ्क्रमित थपिएका हुन् । धनकुटास्थित स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतका अनुसार उक्त अवधिमा मोरङमा एक सय ९९, झापामा ३३, धनकुटामा ३२, सङ्खुवासभामा ३०, भोजपुरमा २५, ओखलढुङ्गामा १०, खोटाङमा तीन र तेह्रथुममा दुईजना सङ्क्रमित भएका छन् । मोरङको लेटाङ नगरपालिकामा सङ्क्रमितको सङ्ख्या तीन सय १० पुगेको उपप्रमुख कृष्णकुमारी निरौलाले बताउनुभयो ।
कास्की: पोखरा -६ लेकसाइडमा सञ्चालित क्याटवाकले दोस्रो वार्षिकोत्सवको अवसर पारेर निशुल्क आँखा जाच तथा रक्तदान कार्यक्रम गर्ने भएको छ । हस्पिटालिटीको क्षेत्रमा युवाहरुको रोजाइ बन्दै आएको क्याटवाकले भदौ १ गते रक्तदानसँगै निशुल्क आँखा परीक्षण कार्यक्रमको आयोजना गर्न लागेको हो । कार्यक्रम बेलुका ५ बजेदेखि ७ बजेसम्म सञ्चालन हुनेछ । यस्तै वार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक कार्यक्रमहरुसमेत आयोजना गर्ने बताइएको छ ।
तनहुँ: तनहुँको आँबुखैरेनी अस्पतालमा डेङ्गु सङ्क्रमितको निःशुल्क उपचार गरिने भएको छ । अस्पतालले लक्षित वर्गलाई डेङ्गु सङ्क्रमणमा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो । आँबुखैरेनी गाउँपालिकाअन्तर्गत डेङ्गु रोगको प्रकोपको कारणले उत्पन्न सङ्कटको समयमा सबैलाई आवश्यक स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने उद्देश्यले प्रारम्भिक लक्षण देखिएका सबैलाई निःशुल्क डेङ्गु परीक्षण र लक्षित वर्गलाई निःशुल्क उपचार उपलब्ध गराइने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । प्रारम्भिक लक्षण देखिएका सबैलाई ‘¥यापिड डाइग्नोष्टिक टेष्ट’ विधिबाट परीक्षणको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । त्यस्तै, गरिब तथा आर्थिक रुपले विपन्न, नवजात शिशु, गर्भवती, सुत्केरी, बेवारिसे, अपाङ्ग, सहाराविहीन अशक्त एवं अपाङ्गता तथा ज्येष्ठ नागरिकलाई औषधि र आवश्यक परेमा अस्पतालमा भर्नालगायत सम्पूर्ण खर्च गाउँपालिकाको सिफारिसमा बेहोरिने चुमानले बताउनुभयो । आँबुखैरेनीमा केही दिनयता डेङ्गु सङ्क्रमित बढेकाले सतर्कता अपनाउन आवश्यक रहेको अस्पताल प्रमुख डा डिबी क्षेत्रीले बताउनुभयो । डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने भएकाले लामखुट्टेको टोकाइबाट बच्ने तथा लामखुट्टेको बासस्थान नष्ट गर्नुपर्ने डा क्षेत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “सुत्दा सधैँ झूलको प्रयोग गर्नुपर्छ, लामखुट्टेको टोकाइबाट बचाउने धुप तथा झोलको प्रयोग गर्न सकिए यसबाट बच्न सकिन्छ ।” त्यस्तै, पूरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउन, ट्याङ्की र कुलरहरु हप्तामा एकचोटी सफा गर्न डा क्षेत्रीले आग्रह गर्नुभयो । जिल्लामा सबैभन्दा बढी डेङ्गु सङ्क्रमण आँबुखैरेनीमा पुष्टि भएको छ । सोमबारसम्म जिल्लाभर आठ सय २२ सङ्क्रमित हुँदा आँबुखैरेनीमा मात्रै छ सय चारजनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुदीप कँडेलले जानकारी दिनुभयो । कँडेलका अनुसार व्यास नगरपालिकामा ५७, शुक्लागण्डकी नगरपालिकामा एक सय २३, भिमाद नगरपालिकामा दुई र बन्दीपुर गाउँपालिकामा ३६ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । आँबुखैरेनीस्थित मनकामना हेल्थ क्लिनिक, आरोही पुष्पाञ्जली क्लिनिक, गोरखकाली पोलिक्लिनिक, ओम मेडिकल केयर, आँबुखैरेनी अस्पतालमा, बन्दीपुर गाउँपालिकास्थित बन्दीपुर अस्पताल, लक्ष्मी अस्पताल, मोती हेल्थ क्लिनिक, सञ्जीवनी प्याथोलोजी क्लिनिक, भिमाद नगरपालिकास्थित भिमाद प्राथमिक स्वास्थ्य केन्द्र, व्यास नगरपालिकास्थित दमौली अस्पताल, रत्नहरि अस्पताल, समाधान अस्पताल, दमौली सामुदायिक अस्पताल, नेसनल एपोलो अस्पताल र युआरएल ल्याब्रोटोरीमा डेङ्गु परीक्षण गरिएको छ । शुक्लागण्डकी नगरपालिकास्थित तनहुँ सेवा अस्पताल, आले मेडिकल हल, युआरएल ल्याब्रोटोरी, खैरेनीटार अस्पताल र जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डेङ्गु परीक्षण गरिएको छ । एक्कासि तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांसपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुको लक्षण भएको चिकित्सकको भनाइ छ ।
पोखरा: दीप युनाइटेड क्लबले ‘सदभाव र सहकार्यका लागि एकता’ भन्ने नारासहित १२ औं खुला रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । पोखरा महानगरपालिका १६ दीपमा क्लबको वार्षिक कार्यक्रम अन्तर्गत यही भाद्र १५ गते (शनिबार) सुन्दरफिड चोकमा १२ औ खुल्ला रक्तदान आयोजना गर्ने कार्यक्रम संयोजक आशिष पौडेल क्षेत्रीले जानकारी दिए । उनका अनुसार नारीहरूको चाड हरितालिका तीजको अवसरमा क्लबले हरेक वर्ष रक्तदानको आयोजना गर्दै आएको छ । उनले आफ्नो संयोजकत्वमा ३ सदस्यीय रक्तदान उपसमिति गठन गरी कार्यक्रमको तयारीमा जुटेको बताए । सो उपसमितिमा विमला गुरूङ र सन्तोष परियार सदस्य छन् । संयोजक क्षेत्रीका अनुसार भदौं १५ गते बिहान ७ बजेदेखि रक्तदान सुरु हुनेछ । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोग रहनेछ ।
पोखरा: युवा दिवसको अवसरमा दारी ग्याङ पोखराले आयोजना गरेको रक्तदान कार्यक्रममा ८२ युनिट रगत संकलन भएको छ । ‘आज अरुका लागि, भोलि आफ्नै लागि’ भन्ने नाराका साथ दाह्री ग्याङ, नेपाल रेडक्रस सोसाइटी, श्रेत्रीय रक्तसञ्चार सेवा केन्द्र कास्कीको सहयोगमा पोखराले यस वर्ष पनि सोमबार रक्तदान कार्यक्रम आयोजना गरेको हो । पोखराको केदारेश्वर मन्दिर परिसरमा आयोजित कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व एवं संस्थापक अध्यक्ष शेखर गौतमलाई ब्लड ब्याग हस्तान्तरण गर्दै रक्तदान कार्यक्रमको शुभारम्भ भएको संयोजक उज्ज्वल भुजेलले बताए । गौतमको रक्तदान यो ५५ औं पटक हो । गौतमले पोखरामा धेरै युनिट रगत संकलनमा दाह्री ग्याङ अग्रपंक्तिमा रहेको बताए । निरन्तर सामाजिक कार्यमा सक्रिय भएकोमा समूहलाई उनले धन्यवाद समेत व्यक्त गरे । दाह्री ग्याङ पोखराका पुर्व संयोजक अभिमन्यु पाण्डे (बिक्रम)ले वार्षिक क्यालेण्डर अन्तरगतकै श्रावनको अन्तिम सोमबार रक्तदान कार्यक्रम आयोजना गरिएको बताए । यस्तै, बिरामीहरुलाई तत्काल चाहिएको अवस्थामा पनि दाह्री ग्याङका सदस्यहरु तत्काल अस्पताल वा रक्तसञ्चार केन्द्र पुगी रक्तदान गर्दै आएका छन् । कार्यक्रमको सञ्चालन पुर्व संयोजक पाण्डेले गरेका थिए । क्षेत्रीय रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोग रहेको कार्यक्रममा महिलाहरु, सुरक्षाकर्मीहरुले पनि रगत दान गरेका थिए ।
पोखरा: पोखरामा क्रियाशिल बुद्ध टोल युवा क्लब (बिटी) ले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरेको रत्तदानमा १ सय ४ युनिट संकलन भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बुद्ध टोल युवा क्लबले आयोजना गरेको खुल्ला रक्तदानमा १ सय ४ जनाले रक्तदान गरेको क्लबका अध्यक्ष अशिम थापाले जानकारी दिए । बिटी क्लबले अब हरेक वर्ष खुला रक्तदानको आयोजना गर्ने उनले बताए । पोखरा महानगरपालिका–१ टुडिखेलमा आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रमलाई निरन्तरता दिँदै जाने क्लबका सचिव रेशम सापकोटाले बताए । उनका अनुसार क्लबका सदस्यहरु, पोखरा महानगरपालिका १ बगरका स्थानीय तथा भर्ती प्रशिक्षण केन्द्रका प्रशिक्षार्थी लगायतले रक्तदान गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि पोखरा १ का वडाध्यक्ष शाहरा प्रधानले सामाजिक कार्यलाई निरन्तरता दिन आग्रह गरे । उनले क्लबको सकारात्मक र रचनात्मक कार्यमा वडा कार्यालय सधै सहयोेग गर्न तत्पर रहेको धारणा राखेका थिए । क्लबले पहिलो पटक आयोजना गरेको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाद्धारा सञ्चालित प्रादेशिक रक्तसञ्चार सेवा, पोखराले प्राविधिक सहयोग गरेको थियो । खेलकुदको क्षेत्रमा सेभेन ए साइड फुटबल प्रतियोगिता गर्दै आएको क्लबले सामाजिक क्षेत्रमासमेत काम गर्दै आएको छ ।