पोखरा: पोखरामा क्रियाशिल बुद्ध टोल युवा क्लब (बिटी) ले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरेको रत्तदानमा १ सय ४ युनिट संकलन भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बुद्ध टोल युवा क्लबले आयोजना गरेको खुल्ला रक्तदानमा १ सय ४ जनाले रक्तदान गरेको क्लबका अध्यक्ष अशिम थापाले जानकारी दिए । बिटी क्लबले अब हरेक वर्ष खुला रक्तदानको आयोजना गर्ने उनले बताए । पोखरा महानगरपालिका–१ टुडिखेलमा आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रमलाई निरन्तरता दिँदै जाने क्लबका सचिव रेशम सापकोटाले बताए । उनका अनुसार क्लबका सदस्यहरु, पोखरा महानगरपालिका १ बगरका स्थानीय तथा भर्ती प्रशिक्षण केन्द्रका प्रशिक्षार्थी लगायतले रक्तदान गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि पोखरा १ का वडाध्यक्ष शाहरा प्रधानले सामाजिक कार्यलाई निरन्तरता दिन आग्रह गरे । उनले क्लबको सकारात्मक र रचनात्मक कार्यमा वडा कार्यालय सधै सहयोेग गर्न तत्पर रहेको धारणा राखेका थिए । क्लबले पहिलो पटक आयोजना गरेको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाद्धारा सञ्चालित प्रादेशिक रक्तसञ्चार सेवा, पोखराले प्राविधिक सहयोग गरेको थियो । खेलकुदको क्षेत्रमा सेभेन ए साइड फुटबल प्रतियोगिता गर्दै आएको क्लबले सामाजिक क्षेत्रमासमेत काम गर्दै आएको छ ।
चितवन: मजदुरी गरेर परिवार चलाउँदै आउनुभएका भरतपुर महानगरपालिका–३ बाह्रघघरे निवासी भीमबहादुर पण्डित क्षेत्री स्वास्थ्य बीमा गराएपछि पहिलोपटक भरतपुर अस्पतालमा उपचार गराउन आउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य बीमाका बारेमा आफूलाई ज्ञान नहुँदा वडा कार्यालयको सहयोगमा बीमा कार्यक्रम समावेश भएको हुँ ।” अहिले उपचारमा लाग्ने खर्चको जम्म १० प्रतिशतमात्र आफूले व्यहोर्नुपर्ने भन्ने सुन्दा दङ्ग पर्नुभयो । लाइन लामो भए पनि आफू उपचार गराएरै जाने उहाँले बताउनुभयो । माडी नगरपालिका–७ बाट उपचारका लागि भरततपुर अस्पताल आउनुभएका देवराज बराल पैसा हुने र नहुने दुवैलाई स्वास्थ्य बीमाले फाइदा गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “ग्रामीण क्षेत्रमा थोरै पैसा हुनेहरूका लागि स्वास्थ्य बीमा फलदायी छ ।” पहिला आफूलाई पनि बीमा गर्दा के हुन्छ भन्ने लागेको भए पनि बीमाबाट उपचार सेवा लिँदा आफ्नो पैसाको बचत हुने गरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीजस्तालाई बीमा कार्यक्रम प्रभावकारी छ । उपचार गर्दा लाग्ने रकम बच्ने गरेको छ ।” यस्तै भरतपुर महानगरपालिकाका केदार पन्थले विगत तीन वर्षदेखि बीमामार्फत उपचार गराउँदै आएको बताउनुभयो । अस्पतालको टिकट काउन्टर अगाडि भेटिनुभएका उहाँ पेटमा समस्या भएर अस्पताल आउनुभएको हो । उहाँले भन्नुभयो, “स्वास्थ्य बीमा कार्यक्रममले धाने जति उपचार गर्न पाइएको छ ।” थोरै रकममा धेरै सेवा लिन पाइएको जनाउँदै उहाँले खुसी व्यक्त गर्नुभयो । आफूले सहुलियतामा उपचार गर्न पाएको जनाउँदै उहाँले थोरै पैसाले हुने भएकाले सबै यो कार्यक्रममा जोडिन सके राम्रो हुने बताउनुभयो । यहाँको भरतपुर अस्पतालमा आउने अधिकांश बिरामी स्वास्थ्य बीमामा जोडिएका हुन्छन् । गत आर्थिक वर्षमा यस अस्पतालमा दुई लाख ६० हजारपटक बीमाका बिरामीको उपचार गरिएको अस्पतालको बीमा कार्यक्रम प्रमुख लीलाधर पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बीमा गरेका कमजोर आर्थिक अवस्था भएकाहरूलाई उपचारका लागि पैसा छैन भन्ने अवस्था छैन ।” आव २०७९/८० मा अस्पतालमा बीमामार्फत दुई लाख ५० हजार छ सय १७ पटक उपलब्ध गराइएको पौडेलले जानकारी दिनुभयो । एउटै व्यक्ति धेरैपटक पनि बीमामा आउने गर्दछन् । पौडेलका अनुसार सो वर्ष रु ५२ करोड ५३ लाख ३७ हजार पाँच सय १२ रकम भुक्तानी अस्पतालले पाएको थियो । बीमा कार्यक्रमले पैसा नहुँदा पनि उपचार सेवा लिन सक्ने गराएको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षको साउनदेखि स्वास्थ्य बीमामा जोडिएको चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटा बीमाले विपन्नका लागि उपचारमा ठूलो सहयोग गरेको बताउनुहुन्छ । अति विशिष्टिकृत सेवा लिन केही खर्चिलो हुने भए पनि स्वास्थ्य बीमा भएसँगै ग्रामीण क्षेत्रबाट उपचारका लागि ‘रेफर’ लिएर बिरामी आउन थालेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बीमा नहुँदा उपचारका लागि खर्च अभाव भयो भन्दै धेरै गुनासो आउँथ्यो, बीमा सुरु भएसँगै यस्तो समस्या कम भएको छ ।” स्वास्थ्य बीमाले गर्दा पैसा अभावमा रोग पालेर बस्नुपर्ने बाध्यताको अन्त्य भएको प्रमुख प्रशासक देवकोटाको भनाइ छ । उहाँले भन्नुभयो, “स्वास्थ्य बीमा विशेषगरी विपन्नका लागि बरदान सावित भएको छ ।” बीमा कार्यक्रम लागू भएसँगै बिरामीको सङ्ख्या पनि ह्वात्तै बढेको उहाँको भनाइ छ ।
तनहुँ: तनहुँ जिल्लामा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । शुक्रबारसम्म जिल्लाका पाँच स्थानीय तहका सात सय ५४ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स पूजा कुँवरका अनुसार व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र भिमाद नगरपालिकामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म भानु नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र देवघाट गाउँपालिकामा भने सङ्क्रमित फेला परेका छैनन् । व्यासमा ५७, शुक्लागण्डकीमा एक सय पाँच, भिमादमा दुई, बन्दीपुरमा ३५ र आँबुखैरेनीमा पाँच सय ५४ जनामा डेङ्गी पुष्टि भएको छ । जिल्लास्थित सरकारी अस्पताल र निजी क्लिनिकमा गरिएको परीक्षणअनुसार उनीहरुमा डेङ्गी पुष्टि भएको हो । डेङ्गी सङ्क्रमण बढेसँगै सतर्कता अपनाउन आग्रह गरिएको छ । शुक्लागण्डकी नगरपालिकास्थित तनहुँ सेवा अस्पताल, आले मेडिकल हल, युआरएल ल्याब्रोटोरी, खैरेनीटार अस्पताल र जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डेङ्गी परीक्षण गरिएको छ । एक्कासी तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबरहरु आउनु, अरुची हुनु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गीको लक्षण भएको दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालले जानकारी दिनुभयो । पूरा शरीर ढाकिनेगरी कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न मल्हमजस्ता सामग्री प्रयोग गर्नु, सधैँ राति र दिउँसो पनि झुलभित्र सुत्ने, घरवरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पु¥याउनु यसबाट बच्ने प्रमुख उपाय हुन् । गर्मी मौसममा जिल्लामा सबैभन्दा बढी व्यास नगरपालिकामा डेङ्गी सङ्क्रमित भएका थिए । जिल्लाभर करिब सात हजार सङ्क्रमित रहेकामा कूल सङ्क्रमितको ८० प्रतिशत व्यास नगरपालिकामा थिए । त्यस्तै चार जनाको डेङ्गी सङ्क्रमणबाट मृत्युसमेत भएको थियो । व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले विगतका वर्षमा जस्तो समस्या खेप्न नपरोस् भनि समयमै घर वरपर जमेका पानीका खल्डाखुल्डी पुर्ने, झाडी पन्छाउने र नाला सरसफाइ गर्ने कार्यलाई निरन्तरता दिइएको बताउनुभयो । उहाँका अनुसार १४ वटै वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक तथा संस्थागत विद्यालय, टोल विकास संस्थालाई परिपत्र गर्दै अभियान सञ्चालनका लागि निर्देशन दिएको छ जिल्लाका १० मध्ये तीन स्थानीय तहमा डेङ्गीका बिरामी देखा परेका छन् । आँबुखैरेनी, शुक्लागण्डकी र व्यास नगरपालिकामा डेङ्गीका बिरामी बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुदीप कँडेलले जानकारी दिनुभयो । डेङ्गी बिरामी बढ्दै गएपछि यस क्षेत्रमा सरसफाइका साथै स्वास्थ्य परीक्षण गराउन आग्रह गरिएको छ । ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान चलाइएको छ । जनप्रतिनिधि, स्थानीयवासी, शिक्षक, विद्यार्थीलाई सचेत गराई लामखुट्टे रहनसक्ने ठाउँमा पानी जम्ने खाल्डाखुल्डी पुर्ने, झाडी फाँड्ने, टायर हटाउने, गमला व्यवस्थित गर्ने कार्य अगाडि बढाइएको उहाँले बताउनुभयो । “विद्यालयमा स्वास्थ्य शिक्षा कार्यक्रम अगाडि बढाइएको छ”, सूचना अधिकारी कँडेलले भन्नुभयो । विपद् व्यवस्थापनको महामारीलाई ध्यानमा राखी सरोकारवाला निकायबीच बृहत् छलफल गरिएको छ । शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा डेङ्गीका बिरामी बढ्दै गएपछि उपचारका लागि छुट्टै वार्डको व्यवस्था गरिएको केन्द्र प्रमुख डा रामकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार डेङ्गीका बिरामीको उपचारका लागि १५ शय्याको व्यवस्था गरिएको छ ।
सोलुखुम्बु: सोलुखुम्बु सदरमुकाम सल्लेरीका पशी शेर्पा विगतमा लामखुट्टेबाट सार्ने रोगको जोखिममा पर्नुभएको छैन । उहाँलाई लामखुट्टेको टोकाइबाट रोग लाग्छ र सर्दछ भन्ने जानकारीसम्म छैन । तर पछिल्लो दुई वर्षदेखि सल्लेरीमै लामखुट्टेबाट सार्ने रोगको जोखिम बढ्न थालेपछि उहाँ चिन्तित हुनुहन्छ । उहाँले भन्नुभयो, “म गाउँ छोडेर अन्यत्र गएको छैन । पछिल्ला वर्षमा लामखुट्टे देखिन थालेको छ ।” विशेष गरी गर्मीका समयमा भित्रि मधेश, पहाडी क्षेत्रमा देखिने लामखुट्टे अहिले उच्च हिमाली भेगमा पनि विस्तारै फैलिदै गएको छ । सल्लेरी सहितका क्षेत्रमा अहिले लामखुट्टेको संख्या बढ्दै गएको स्थानीयवासी बताउँछन् । सुरु सुरुमा यातायातका साधन मार्फत भित्रिएका लामखुट्टे यहीको वातावरणसँग घुलमिल हुँदा र हिमाली क्षेत्रमा तापक्रम निरन्तर उकालो लागेसँगै गर्मी ठाउँमा मात्रै बाँच्न सक्ने लामखुट्टे हिमाली भेगमा देखिन थालेको सल्लेरीका केबी घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो , “यहाँको तापक्रम बढ्दै गएको छ, सल्लेरीमै पनि घाम लागेको बेला निक्कै गर्मीको महसुस हुन्छ, हिउँदमा हिउँ पर्न नै छोडिसक्यो, अनि लामखुट्टे त फैलिहाल्छ नि ।” सल्लेरीमा अहिले तापक्रम २५ देखि २८ डिग्री सेल्सियससम्म पुग्ने गरेको हावापानी मापन केन्द्र सल्लेरीका मापनकेन्द्र सहयोगी नवराज पराजुलीले बताउनुभयो । उहाँका अनुसार सल्लेरीको तापक्रम बिहान र बेलुका नै २२÷२३ डिग्रीसम्म तापक्रम पुग्ने गर्दछ । वर्षेनी यहाँको अधिकतम तापक्रम निरन्तर बढ्दै गइरहेको उहाँको भनाइ छ । यसका कारण लामखुट्टेको संख्या समेत बृद्धि भएको बताइएको छ । लामखुट्टेको संख्या बढेसँगै सल्लेरीसहित, सोताङ, नेचासल्यान, माप्यदुधकोशी लगायतका क्षेत्रमा झुल तथा यसविरुद्ध धूपको प्रयोग सुरु भएको छ । लुक्ला भन्दा केही तलको गाउँ खरिखोलासम्म लामखुट्टे फैलिएको स्थानीयवासी रामबहादुर मगरले बताउनुभयो । स्थानीयवासी पासाङ शेर्पा झुल तथा लामखुट्टे नष्ट गर्ने धूप प्रयोग गर्न बाध्य बनेको बताउनुहुन्छ । तापमान बढेर हिमाली क्षेत्रको जनजीवन र बालीनालीमा असर पारिरहेको जलवायुका जानकार राजन थापाले बताउनुभयो । तापक्रम वृद्धिले हिमाललाई असर पारिरहेका छन् । यसबाट डेङ्गीको सङ्क्रमणको जोखिम बढेको जनाइएको छ । पहाडी भेगमा ०।०६ प्रतिशत र हिमाली भेगमा ०.०४ प्रतिशतका दरले तापक्रममा वृद्धि भइरहेको छ । प्राकृतिक एवं मानवीय कारणबाट विश्वव्यापी तापमान बढिरहेको विज्ञहरु बताउँछन् । सोलुमा बढ्दै डेङ्गीको सङ्क्रमण सोलुखुम्बु सोताङका ५३ वर्षीय एक पुरुष पाँच दिनसम्म कडा ज्वरो आउने, टाउको दुख्ने, खान मन नलाग्ने, शरीर दुख्नेलगायत समस्या देखिएपछि प्राथमिक अस्पताल सोताङ पुग्नुभयो । नमुना जाँच गर्दा उहाँलाई डेङ्गीको सङ्क्रमण पुष्टिभएपछि चिकित्सकको सल्लाहमा घरमै बसेर औषधि सेवन गरिरहनुभएको छ । यहाँ डेङ्गीको सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो एक महिनामा जिल्लामा ३० जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ । कार्यालयका महामारी फोकल पर्सन अशोक शिवाकोटीका अनुसार हालसम्म जिल्लाभरमा २० जना पुरुष र १० जना महिलामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । उनीहरुको अवस्था सामान्य रहेको जनाइएको छ । जिल्लाको सोताङ गाउँपालिकामा मात्रै २७ जनामा सङ्क्रमण पुष्टि भएको छ । एक सय ५० जनाको नमुना किट परीक्षण गर्दा २७ जनाको रिपोर्ट सकरात्मक आएको महामारी फोकल पर्सन शिवकोटीले बताउनुभयो । यसमा पुरुष १९ र महिला ८ छन् । उहाँले भन्नुभयो, “ सोतामाङमा सङ्क्रमित भएका सबै जसोको ‘ट्राभल हिष्ट्रि’ देखिएन, उनीहरु गाउँमै बस्दै आएका थिए तर ती व्यक्तिहरुलाई समेत सङ्क्रमण पुष्टि भएपछि सोलुमा पनि डेङ्गी फैलिएको पुष्टि भयो ।” विशेष गरी डेङ्गी लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । लामखुट्टेको मात्रा बढी रहेका ठाउँमा यसबाट बच्नलाई पानी जम्ने भाडाकुडा तथा खाल्डाखुल्डी भएका ठाउँमा यसको लार्भा हुने भएकाले त्यस्ता ठाउँहरुलाई पूर्ण रुपमा विस्थापित गर्न सके केही कम हुने फोकल पर्सन शिवाकोटीले बताउनुभयो । उक्त अभियान अन्र्तगत स्वास्थ्य कार्यालयले लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान नै सञ्चालन गरेको थियो । ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिहरुमा समेत डेङ्गीको सङ्क्रमण पुष्टि हुने क्रम बढेपछि कार्यालयले घर वरिपरिका खाल्डाखुल्डीमा जमेका पानीलाई विस्थापित गर्ने र लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान नै सञ्चालन गरेको हो । यसले सर्वसाधरणलाई जनचेचना फैलिन सहयोग गर्ने भएकाले कार्यालयले सुरुआतमा अभियान चलाएको फोकल पर्सन शिवाकोटीले बताउनुभयो । डेङ्गीको सङ्क्रमण फैलिएको धेरै लामो समय नभएकाले लामखुट्टेको टोकाइबाट बच्ने बारे जनचेतना फैलाउन र बुझाउन समेत केही समस्या भएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।
तनहुँ: सदरमुकामस्थित दमौली अस्पतालमा ज्वरो र झाडापखालाका बिरामी भरिभराउ हुन थालेका छन् । वर्षायाम सुरु भएयता बिरामीको चाप बढ्दै गएको छ । एक सातादेखि यहाँ ज्वरो र झाडापखालाका बिरामीको सङ्ख्या अधिक बढेको छ । असारदेखि हालसम्म ज्वरो र झाडापखालाका बिरामी दैनिक उपचार गर्न आउने गरेका अस्पतालका सूचना अधिकारी डा कमल भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा दैनिक तीन सय ५० देखि चार सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन् । उहाँले भन्नुभयो, “उपचारमा आउने बिरामीमध्ये अधिकांश ज्वरो र झाडापखालाका छन् ।” “अस्पतालमा दैैनिक ज्वरो, डेङ्गु र झाडापखालाका बिरामी उपचारका लागि आउने गरेका छन्”, सूचना अधिकारी डा भण्डारीले भन्नुभयो । डेङ्गुबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनुपर्ने उहाँको सुझाव छ । डेङ्गुका बिरामीमा धेरै टाउँको दुख्ने, बान्ता हुने, पेट दुख्ने, सेतो रगतको मात्रा घट्ने, श्वास फेर्न गाह्रो हुनेलगायत लक्षण देखापर्ने गर्दछ । उहाँले भन्नुभयो, “सामान्य अवस्था भएमा घरमा आराम गरेर पनि उपचार गराउन सकिन्छ ।” डेङ्गुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्ने, जमेको पानी हटाउने, लामा बाउला भएका कपडा लगाउने, झुल लगाएर सुत्ने गर्नुपर्छ । दैनिक १०–१५ बिरामी झाडापखालाका उपचार गर्न आउने गरेका छन् ।
काठमाडौं: देशभर कीटजन्य तथा पानीजन्य रोगको सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले डेङ्गीबाट एकजनाको मृत्यु भएको आज जनाएको हो । गत पुसदेखि हालसम्म देशभर दुई हजार तीन सय ६५ जनाबाट सङ्क्रमित छन् । डेङ्गी सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ । कोशी प्रदेशमा पाँच सय ३७, मधेसमा ४६, बागमतीमा सात सय ४७, गण्डकीमा पाँच सय आठ, लुम्बिनीमा दुई सय ४७, कर्णालीमा ३८ र सुदूरपश्चिममा दुई सय ४२ जना सङ्क्रमित भएका हुन् । काठमाडौँ उपत्यकामा दुई सय ८७, कास्कीमा एक सय ३७, झापामा एक सय ३३, चितवनमा एक सय १६ र तनहुँमा एक सय १० जना सङ्क्रमित छन् । त्यसैगरी, हैजा सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । देशभर ३० जनामा हैजा पुष्टि भएको इडिसिडीले जनाएको हो । हालसम्म हैजाबाट कसैको पनि मृत्यु भएको छैन ।
काठमाडौं: मुलुकभर हैजा सङ्क्रमितको सङ्ख्या २५ पुगेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले सार्वजनिक गरेको पछिल्लो बुलेटिनअनुसार मुलुकभर सङ्क्रमितको सङ्ख्या २५ पुगेको हो । पछिल्लो २४ घण्टामा दुई जनामा सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म ललितपुरको गोदावरी नगरपालिकामा १६, काठमाडौँको टोखा नगरपालिकामा आठ र कैलालीको धनगढी उपमहानगरपालिकामा एकजनामा हैजा सङ्क्रमण देखिएको इडिसिडीले जनाएको छ । हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखालासम्बन्धी रोग हो । हैजालगायत पानीजन्य रोगहरुबाट बच्न सरसफाइमा ध्यान दिन र पानी उमालेरमात्र पिउन स्वास्थ्य क्षेत्रका विज्ञले सुझाव दिएका छन् ।
चितवन: बालरोग विशेषज्ञले शिशुलाई स्तनपान गराउँदा ‘मोबाइल फोन’ प्रयोग नगर्न आमालाई आग्रह गर्नुभएको छ । विश्व स्तनपान सप्ताहको अवसरमा यहाँ आयोजित छलफल कार्यक्रममा चिकित्सकहरुले मोबाइल चलाउँदा आमा र शिशु दुवैलाई फाइदा नगर्ने बताउनुभएको हो । विश्व स्तनपान सप्ताहका अवसरमा कान्तिपुर हेल्थ अनलाइनद्वारा आज भरतपुरमा आयोजित ‘स्तनपानको महत्वः चिकित्सक–पत्रकार छलफल कार्यक्रम’ मा भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा श्वेताकुमारी गुप्ताले स्तनपान गराउँदा आमाले मोबाइल प्रयोग गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “आमाले मोबाइल चलाएर स्तनपान गराउँदा बच्चाले दूध खायो खाएन, अघायो, अघाएनलगायत केही कुरा पनि जानकारी हुँदैन ।” उहाँले बच्चाको माया ममता पनि कम हुने जाने बताउनुभयो । उहाँले भन्नुभयो, “स्तनपान गराउने समयमा शिशुलाई सुमसुमाउनु पर्छ, अन्यत्र ध्यान दिनुहुँदैन ।” स्तनपान गराउँदा आमा र शिशु दुवैको आसनमा विशेष ध्यान दिन जरुरी रहेको बालरोग विशेषज्ञ डा गुप्ताले बताउनुभयो । शिशुलाई जन्मिएदेखि छ महिनासम्म आमाको दूधबाहेक पानीको आवश्यकता नपर्ने उहाँको भनाइ छ । बालरोग विशेषज्ञ डा गुप्ताले भन्नुभयो, “नियमित स्तनपान गर्ने शिशुमा निमोनिया, झाडापखाला, दम जस्ता रोगहरु लाग्ने सम्भावना कम हुन्छ ।” बच्चाको शरीरिक विकासका लागि सकेसम्म आमाको दूध खुवाउनुपर्ने बताउँदै उहाँले काममा जानुपरेमा आमाको दूध सङ्कलन गरेर राखेर भए पनि खुवाउन सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “आमाको दूध सङ्कलन गरेर कोठाको तापक्रममा राखेमा ४ देखि ६ घण्टा र फ्रिजमा राखे २४ घण्टासम्म खुवाउन सकिन्छ ।” फ्रिजमा राखेरको दूध सिधैँ नतताउन सुझाव दिँदै उहाँले भन्नुभयो, “तातो पानीमा अर्को भाडा राखेर दूधलाई तातो बनाउनुपर्छ, सिधैँ तताउनुहुँदैन ।” शिशु जन्मिएको छ महिनापछि मात्रै पुरक खाना खुवाउन उपयुक्त हुने उहाँले बताउनुभयो । अस्पतालमा शल्यक्रिया गरेर जन्मिएका नवजात शिशुहलाई दूध खुवाउन दिने गरी सरकारले नियम बनाउन सके यस्ता बच्चालाई आमाको दूध खुवाउन सकिने उहाँले बताउनुभयो । अहिले शल्यक्रियाबाट जन्मिएका बच्चालाई सुरुआतमा बजारको पाउडर दूध खुवाउनुपर्ने अवस्था रहेको जनाउँदै उहाँले यसको अन्त्य गर्न सके बच्चा र आमा दुवैको स्वास्थ्य राम्रो हुने बताउनुभयो । कार्यक्रममा भरतपुर अस्पतालकका स्त्री तथा प्रसूति रोग विभागका प्रमुख विशेषज्ञ प्रा डा सुनिलमणि पोखरेलले शिशुलाई नियमित आमाको दूध खुवाउँदा बच्चा र आमा दुवैलाई फाइदा हुने बताउनुभयो । नवजात शिशुलाई जन्मिएको छ महिनासम्म आमाको दूध मात्रै खुवाउन सके उसको स्वास्थ्य र शारीरिक विकास राम्रो हुने उहाँले बताउनुभयो । शिशुलाई दिनमा ८ देखि १२ पटक दूध खुवाउन सके बच्चाका लागि फलदायी हुने उहाँको भनाइ छ । स्तनपानले गर्दा आमालाई हुने फाइदाका विषयमा बोल्दै उहाँले स्तनपान नियमित गराउने आमालाई स्तन र डिम्बासयको क्यान्सर हुने सम्भावना न्यून हुने बताउनुभयो । प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा पोखरेलका अनुसार नियमित स्तनपान गराउँदा महिलामा हुने रक्तस्रावमा कमी आउने गर्दछ । बच्चा जन्मिएको एक घण्टा भित्रमै आमाको दूध खुवाउन सके सालनाल छुटिनदेखि स्तन गानिने र पिप जम्ने जस्ता समस्याबाट छुटकारा पाउन सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कम्तीमा पनि दुई वर्ष बच्चालाई आमाको दूध खुवाउनुपर्छ । जसले गर्दा आमा र बच्चा बीचको ममतादेखि हरेक कुरामा सहयोग पु¥याउँछ ।” पछिल्लो समय शारीरिक सुन्दरताका लागि शिशुलाई आमाको दूध नखुवाउने गरेको पाईएको भन्दै उहाँले यस्तो गर्दा बच्चाको शारीरिक, मानसिक वृद्धि विकासमा समस्या पर्नुका साथै आमामा विभिन्न किसिमका समस्या देखिन सक्ने जानकारी दिनुभयो । पछिल्लो समय स्तन ठूलो भयो भन्दै त्यसलाई घटाउने औषधि खोजी गर्नेहरु पनि आफू के मा आउने गरेको भन्दै डा पोखरेले भन्नुभयो, “स्तनपान गराइसकेपछि विभिन्न व्यायाम गरेर मोटोपन र स्तन घटाउन सकिन्छ ।” कार्यक्रममा डा पोखरेलले पछिल्ला वर्षहरुमा भरतपुर अस्पतालमा प्रसूति गराउन आउनेको सङ्ख्या घटेको जानकारी दिनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा नौ हजारभन्दा धेरैले अस्पतालबाट सेवा लिएका छन् । यो तथ्याङ्क अघिल्लो आर्थिक वर्षमा १२ हजारभन्दा बढी रहेको थियो । उहाँका अनुसार स्थानीय तहहरुले गाउँगाउँमा नगर स्वास्थ्य क्लीनिक तथा स्वास्थ्य सेवाको पहुँच पु¥याएर सोही स्थानमा प्रसूति सेवा सञ्चालन गर्नु र सन्तान उत्पादन गर्ने युवा अवस्थाका जनशक्तिहरु विदेशपलायन हुनुले सेवा लिन आउनेको सङ्ख्यामा कमी आएको हो । कार्यक्रममा कान्तिपुर हेल्थका प्रधान सम्पादक तिलक रिमालले स्तनपानको महत्वलाई व्यापक प्रचारप्रसार गर्नुपर्ने जनाउँदै कार्यस्थलमा स्तनपानका लागि सहज वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो ।

