काठमाडौं:     सरकारले सरकारी स्वास्थ्य संस्थामा उपचार तथा शल्यक्रियाका लागि लामो समयसम्म पालो पर्खनुपर्ने अवस्था अन्त्य गर्नका लागि अध्ययन गरी प्रतिवेदन पेस गर्न उच्चस्तरीय समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार मन्त्रिस्तरीय निर्णयबाट अतिरिक्त स्वास्थ्य सचिव डा दिपेन्द्ररमण सिंहको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।  उक्त समितिमा गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख मदनकुमार उपाध्याय सदस्य र वरिष्ठ जनस्वास्थ्य प्रशासक डा गुणनिधि शर्मा सदस्यसचिव रहनुभएको मन्त्रालयले जनाएको छ । सरकारी अस्पतालमा नागरिकले सहजरुपमा स्वास्थ्य सेवा पाउन नसकेको भन्ने जनगुनासा आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त समस्याको दीर्घकालीन समाधानका लागि आवश्यक कदम चाल्न स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवलाई निर्देशन दिनुभएको थियो । समितिले काठमाडौँ उपत्यकाभित्रका सङ्घीय अस्पतालको स्थलगत अनुगमन गरी अस्पतालमा शल्यक्रियाका लागि लामो सयमसम्म पालो कुर्नुपर्ने, प्रेषण (रिफर), सेवाको गुणस्तर तथा प्रक्रियागत झन्झटलगायत अवस्थाका बारेमा अध्ययन गर्ने कार्यादेश दिइएको छ ।  यसैगरी नागरिकको शल्यक्रियाका लागि भइरहेको ढिलाइका कारण, अस्पतालको विद्यमान शल्यक्रिया सेवा दिने विशेषज्ञ चिकित्सकको सङ्ख्या, उनीहरुको दैनिक सेवा विवरण तयार पार्न पनि समितिलाई निर्देशन दिइएको छ । समितिले अस्पतालबाट प्रवाह हुने बहिरङ्ग (ओपिडी) सेवा सम्बन्धमा सो क्षेत्र हेर्ने चिकित्सकको सङ्ख्या, निजहरुले दैनिक बिरामी हेरेको सङ्ख्या, प्रेषणको अवस्थाका बारेमा विस्तृत विवरण तयार पार्नेछ । समितिले अस्पतालमा प्रवाह हुने प्रयोगशाला तथा रेडियोलोजी सेवाको विस्तृत विवरण, सोही सेवाका लागि अन्यन्त्र ‘रिफर’ गरेको भए सोको विवरण प्रस्तुत गर्नेछ । यस्तै अस्पतालमा बिरामीको चाप, जनशक्ति, साधनस्रोत एवं अन्य पूर्वाधारको अवस्था अध्ययन गरी समयमै गुणस्तरीय सेवा प्रवाह भए÷नभएको अवस्था जानकारी गराउँदै समितिले सुझाव पेस गर्ने मन्त्रालयले जनाएको छ । कार्यादेशमा उल्लेख भएका विवरणसहित दुई साताभित्र प्रभावकारी स्वास्थ्य व्यवस्थापनका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना पेस गर्न निर्देशन दिइएको छ ।

पोखरा:    कास्कीको माछापुच्छ्रे गाउँपालिका ९ सैतीघट्टामा मंगलबार स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।  रेष्टुरेन्ट एण्ड वार एशोसियसन (रेवान)पोखराको आयोजनामा सैतीघट्टा स्थित गोरीशंकर मनिलाल माविमा भएको स्वास्थ्य शिविरमा  ५ सय भन्दा बढीले स्वास्थ्य चेकजाँच गराएको रेवानका अध्यक्ष नरेश भट्टराईले जानकारी दिए । शिविरमा स्वाथ्य जाँच गराएपछि औषधी पनि उपलब्ध गराइएको थियो ।  स्वाथ्य शिविरमा नाक, कान, घाँटी, आँखा, महिला तथा प्रस्तुति रोग, छाला तथा यौन रोग, हाडजोर्नी तथा नशा रोग, बाल रोग, जनरल मेडिसिन सेवा उपलब्ध गराइएको थियो ।  प्रत्येक वर्ष कास्कीका दुर्गम गाउँका नागरिकलाई सेवा दिन स्वास्थ्य शिविर गर्दै आएको आयोजक संस्थाका रेवानका अध्यक्ष भट्टराईले जानकारी दिए । न्युन आए भएकाहरुलाई उपचारको क्रममा जटील समस्या रहेको पाइएमा मनिपाल शिक्षण अस्पताल संग सहकार्य गरेर थप उपचारमा सहयोग गर्ने पनि उनले अध्यक्ष भट्टराईले बताए ।  रेवान पोखराले अंग्रेजी नयाँ वर्षको अवसरमा प्रत्येक वर्ष सडक महोत्सव आयोजना गर्दै आएको छ । महोत्सवमा वचत भएको केही रकम र संस्थाका सदस्यहरु समेतको आर्थिक सहयोगमा सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य शिविर गर्दै आएको रेवान पोखराका महासचिव भिष्मराज पोडेलले बताए । स्वास्थ्य शिविरमा मनिपाल अस्पताल पोखराका चिकित्सकहरुले बिभिन्न रोगको चेकजाँच गरेका थिए ।  रेवान पोखराका सचिव विकास भट्टराईले दुर्गम गाउँमा प्रत्येक वर्ष निरन्तर रुपमा स्वास्थ्य शिविरको आयोजना गर्ने बताए । पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष गणेश बहादुर भट्टराईले पोखराको खानेपानीको मुख्य स्रोत मर्दीखोलाको मुहान क्षेत्रका स्थानीय माझ स्वास्थ्य शिविर आयोजना गरेर स्वास्थ्य चेकजाँच हुनु प्रशंसा योग्य काम भएको बताउँदै निरन्तरता दिनु पर्ने बताए । आर्थिक अभावका कारण थप उपचारमा समस्या आए रेवानले उपचारमा सघाउने पनि उनले बताए ।  माछापुच्छ्रे गाउँपालिका ९ का वडा अध्यक्ष हरिबहादुर क्षेत्रीले दुर्गम गाउँमा स्वास्थ्य शिविर आयोजना गरेर स्थानीय जनताले स्वास्थ्य लाभ लिन पाएको बताए । दुर्गम गाउँका स्थानीय नियमीत स्वास्थ्य जाँच गराउन सहर जान नसक्ने भएकोले यस्ता कार्यक्रम निरन्तर दिन पनि उनले सुझाए ।     कास्कीको सिदीङबाट ३ घण्टा हिडेर आएका ७७ वर्षीय हरिलाल अधिकारीले गाउँमा स्वास्थ्य सेवा दिएकोले उपचारकालागि सहर जान नपर्दा खुशी लागेको सुनाए । आँखा कम देख्ने र घुँडाको समस्या भएकोले स्वास्थ्य शिविर हुँदै छ भन्ने थाहा पाएर बिहानै हिडेर उपचारकालागि आएको पनि उनले बताए ।  सैतीघट्टाकी सिता गुरुङ पाठेघरको समस्या,मसिना अक्षर नदेख्ने गरी आँखाको समस्या भएकोले स्वास्थ्य शिविरमा उपचार गराउन गएको सुनाइन् । आँखाको चेकजाँचपछि शिविरमा चस्मपनि उपलब्ध गराएको सुनाइन् । स्थानीय तथा गोरीशंकर मनिलाल माविका शिक्षक भोलानाथ अधिकारीले विकट गाउँमा स्वास्थ्य शिविर आयोजना गरेर स्वास्थ्य सेवा उपलब्ध गराएकोमा धेरै खुशी लागेको बताए ।  स्वास्थ्य उपचार आएकहरु मध्ये ४० वर्ष भन्दा कम उमेरका मान्छेहरुमा पनि चिनीरोग, उच्चरक्तचाप, मृगौला रोग र मुटु रोग देखिएको मनिपाल शिक्षण अस्पतालका फिजिसीयन डाक्टर अनमोल पौडेलले बताए ।  यस्ता रोगहरु आहारबिहारमा ध्यान नदिदा हुने उनले बताए । यस्तो समस्या देखिएका बिरामीले आफ्नो आहारविहारमा विशेष ध्यान दिनु पर्ने उनले सुझाए ।  खानामा नुनको मात्र कम्तीमा तीन ग्राम भन्दा कम, रातो मासुको मात्र कम, प्रशस्तमात्रामा शारिरिक व्यायम नियमीत रुपमा गर्न डा पौडेलले सुझाए ।  कार्यक्रममा स्थानीय समाजसेवी टेकबहादुर श्रेष्ठले उपचार खर्चको अभावमा उपचार गर्न सहर जान नसक्ने अवस्था समेत रहेको गाउँमा स्वास्थ्य शिविर आयोजना गरेर रेवान पोखराले धेरै सहयोग गरेको बताए । मनिपाल शिक्षण अस्पताल पोखराका लियाजेन अफिसर कृष्णमोहन श्रेष्ठले अस्पतालले स्वास्थ्य शिविरमा उपचार गराउनु भएका स्थानीयलाई अस्पतालले बिभिन्न उपचारमा छुटको व्यवस्था गर्ने पनि बताए ।   

पोखरा:     पोखरा महानगरपालिका पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । महानगर क्षेत्रमा रहेका जन्मदेखि ५९ महिनासम्मका २९ हजार ३११ बालबालिकालाई घर मै पुगेर पूर्ण खोप लगाएको सुनिश्चित गरेपछि नगरप्रमुख धनराज आचार्यले मङ्गलवार एक कार्यक्रमका बिच उक्त घोषणा गर्नुभएको हो ।   स्वास्थ्य सेवा विभाग अन्तरगतको स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीका अनुसार पोखरा महानगरपालिका भित्रका जन्मदेखि ११ महिनासम्ममा ५ हजार ९१३ बालबालिकाहरूलाई पेन्टा पहिलो र ९५ प्रतिशत बालबालिकाले दादुरा रुवेला दोस्रो खोप प्राप्त गरेका छन् । जन्मदेखि ५९ महिनासम्मका २९ हजार ३११ बालबालिकालाई घर मै पुगेर पूर्ण खोप लगाएको सुनिश्चित गरिएको छ ।  यस क्रममा खोपको कुनै पनि मात्रा प्राप्त नगरेका ४ जना र १३२ जना आंशिक खोप प्राप्त गरेका बालबालिकाहरू समेत नियमित खोप सेसन र आकस्मिक खोप सेसनमा समावेश गरी पूर्ण खोप प्रदान गरिएको छ ।  पोखरा महानगरपालिकालाई पूर्ण खोप घोषणा गर्नु अघि ३३ वटै वडामा पूर्ण खोप सुनिश्चितता गरिएको थियो । ८९० जना स्वास्थ्यकर्मी र ६५२ जना महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरुलाई घरधुरी सर्वेक्षण देखी खोप लगाउने कार्यसम्म परिचालन गरिएको स्वास्थ्य महाशाखाले जनाएको छ । घोषणा सभामा नगर प्रमुख आचार्यले बालबालिकाहरूको स्वास्थ्यका लागि खोप आवश्यक रहेको तथ्यलाई मनन गर्न जरुरी रहेको बताउनुभयो । ‘आफ्ना बालबालिबाहरुलाई लगाउनु पर्ने सबै प्रकारका खोपहरू नियमित लगाउने विषयमा सबै जनाकार हुन जरुरी छ, प्रमुख आचार्यले भन्नुभयो, खोप केवल औपचारिकता मात्र नभई यो बालबालिकाको सुरक्षित भविष्यसँग जोडिएको विषय हो ।’ खोपले बालबालिकाहरूलाई शारीरिक र मानसिक रूपमा तन्दुरुस्ती प्रदान गर्ने र भविष्यमा आउन सक्ने स्वास्थ्य जटिलताबाट जोगाउने उहाँले बताउनुभयो । पोखरा महानगरपालिका बालबालिकाहरूलाई आवश्यक सबै खोपहरू प्रदान गर्ने कार्यमा प्रतिबद्ध रहेको प्रमुख आचार्यले बताउनुभयो । एक जना बालबालिकालाई १३ प्रकारका खोपहरू प्रदान गर्दा ६० हजार बराबर लगानी हुने गरेको उल्लेख गर्दै उहाँले यसको महत्वलाई बुझ्न आवश्यक रहेको बताउनुभयो ।  उहाँले खोप लगाउन छुटेका बालबालिकाहरूलाई पत्ता लगाउने स्वास्थ्यकर्मी र स्वयमसेविकाहरुलाई प्रति बच्चा रु।२ हजार पुरस्कार दिने घोषणा समेत गर्नुभयो । खोप अभियानका क्रममा अहोरात्र खटिएर महत्त्वपूर्ण योगदान पुर्‍याउनु भएका स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरुको समस्या प्रति आफू जानकार रहेको उहाँले बताउनुभयो । पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले पूर्वाधार जत्तिकै गुणस्तरीय शिक्षा र स्वास्थ्यको विकास पनि वास्तविक विकास हुने भन्दै विकास प्रतिको दृष्टिकोणमा व्यापकता आवश्यक रहेको बताउनुभयो । मानव स्वास्थ्य र संसाधन दुवै सामाजिक विकासका आधार स्तम्भहरू भएको उहाँले बताउनुभयो । सरकारका विभिन्न आवधिक योजनाहरूमा यसलाई महत्वका साथ उल्लेख गरेको पाइए पनि स्रोत र साधनको अभावमा कार्यान्वयनको पाटो कमजोर देखिएको उहाँले बताउनुभयो ।  पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले पुर्णखोप सुनिश्चितता स्वास्थ्य सम्बन्धी बालबालिकाहरूको संवैधानिक अधिकारको प्रत्याभूति भएको उल्लेख गर्नुभयो । महानगरका सबै बालबालिकाहरूलाई खोप प्रदान गर्नु आफूहरूको जिम्मेवारी रहेको बताउँदै उहाँले यसका लागि महानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।  पोखरा महानगरपालिका वडा नं.२ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्गले बालबालिकाहरूलाई खोप लगाउने अभियानमा हातेमालो गर्न आह्वान गर्नुभयो ।  स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक खिम बहादुर खड्का, स्वास्थ्य कार्यालय कास्कीका प्रमुख राम बहादुर नेपाली, महिला स्वास्थ्य स्वयंसेविका सञ्जाल पोखराकी संयोजक भीमा पौडेल, महानगरपालिकाका जनस्वास्थ्य अधिकृत फुलदेव तिमिल्सीना र जनस्वास्थ्य निरीक्षक एवं खोप अधिकृत तेजाखर लम्साल लगायतले बाल स्वास्थ्य र खोपको प्रभावकारिताका विषयमा बोल्नु भएको थियो ।

पोखरा:     आजदेखि देशभर आई.पि.भी खोप लगाउन सुरु भएको छ । आजदेखि सुरु भएको आई.पि.भी खोप अभियान जेठ २६ गतेसम्म सञ्चालन हुनेछ ।  अभियानमा  वि.सं. २०७३ बैशाखदेखि ०७५ आश्विनसम्म जन्मिएका बालबालिकाहरुलाई मात्र खोप लगाइने गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डा. विनोद विन्दु शर्माले जानकारी दिए  ।  उनका अनुसार गण्डकी प्रदेशमा ११ वटै जिल्लाका १ लाख १० हजार ३ सय २७ जना बालबालिकालाई आई.पि.भी खोप लगाइने छ ।  पोलिइव रोग निर्मुल पार्नका लागि २०७१ बाट सुरु भएको आई.पि.भी खोप ०७३ बाट विश्व बजारमा खोप अभाव भएर आपूर्ति नभएका कारण दुई वर्ष भन्दा बढी अवधि सम्म खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाउने उद्धेश्यले अभियान सुरु गरिएको उनले बताए ।  खोप अभियानका लागि निर्धारण गरिएका उमेर समूहका अधिकांश बालबालिकाहरु विद्यालयमा अध्ययन गर्ने भएकाले विद्यालयमै गएर खोप लगाइने मन्त्रालयका सचिव डा. शर्माले बताए ।  मन्त्रालयका अनुसार कास्कीमा २८ हजार ३ सय ७, नवलपुरमा १९ हजार ७ सय २९,तनहुँमा १४ हजार ५ सय १२, बागलुङमा ११ हजार ७ सय ७७, र स्याङ्जामा १० हजार १ सय ४५ जना बालबालिकालाई आई.भि.पी खोप लगाइँदै छ ।  यस्तै गोरखामा ८ हजार ५ सय ३९  लमजुङमा ६ हजार ६ सय ६५, पर्वतमा ५ हजार ७ सय,म्याग्दीमा ४ हजार ३ सय ५६, मुस्ताङमा ४ सय ५० र मनाङमा १ सय ५३ जना बालबालिकालाई उक्त खोप लगाइँदै छ । जेठ १३ देखि २६ गतेसम्म सञ्चालन हुने आई.पि.भी खोप अभियानमा गण्डकी प्रदेशमा ३ हजार ४ सय ५३ जना स्वास्थ्यकर्मी र ६ हजार ९ सय ६ जना स्वास्थ्य स्वयंसेवक परिचालन भएका छन् ।  नियमिततर्फ पोलियोविरुद्ध ६ हप्ता,१० हप्ताका बालबालिकाहरुलाई मुखबाट थोपा तथा १४ हप्ता र ९ महिनासम्मका बालबालिकालाई खोप लगाइन्छ ।  नेपालले सन् २०१४ मै पोलियो मुक्त राष्ट्रको रुपमा प्रमाणपत्र पाएपनि दक्षिण एसियाली मुलुक पाकिस्तान र अफगानिस्तानमा अहिले पनि पोलियोको केश देखिएका कारण नेपालमा जोखिम कायमै रहेकाले खोप अभियान सञ्चालन गर्न लागेको जनाइएको छ । विश्व स्वास्थ्य संगठनले यो रोग २०२६ सम्म उन्मूलन गर्ने लक्ष्य राखेको छ ।   

काठमाडौं:    डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको छ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण पनि बढ्न थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले पानी पर्न थालेपछि मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेङ्गुको जोखिम बढेको जानकारी दिए । उनका अनुसार ५७ जिल्लामा नौ सय चार जनामा सङ्क्रमणमा देखिएको छ । उनले पानी पनि पर्न सुरु भएकाले डेङ्गुको जोखिम बढ्ने भएकाले सचेतना अपनाउन आग्रह गरे । ‘पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण पनि बढ्छ’, उनले भने, ‘त्यसैले सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्न पानी जम्न नदिने र लामखुट्टे मार्न अभियान सञ्चालन गर्नुपर्दछ ।’ गत वर्ष ७७ जिल्लामा ५१ हजार एक सय ४३ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको थियो । उनका अनुसार यसपटक धेरैको सङ्ख्यामा कुनै पनि जिल्लामा सङ्क्रमण देखिएको छैन । उनले जोखिम हुने ठाउँको पहिचान गरेर लामखुट्टे मार्न अभियान सञ्चालन गर्न ३३ स्थानीय तहलाई निर्देशन दिइसकेको बताए । डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फूल पार्दछ । ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएर टोकेपछि डेङ्गु लाग्दछ । ‘गर्मीसँगै पानी सङ्कलन गरेर राख्ने गरिन्छ, त्यसरी सङ्कलन गरिएको पानीमा  लामखुट्टेले फुल पार्दछ, सफा पानीमा त्यही लार्भा बन्ने र वयस्क भएपछि मानिसलाई टोक्ने गर्दछ’, उनले भने । डेङ्गु हुँदा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदिजस्ता लक्षण देखा पर्दछन् । लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएका लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न मन्त्रालयले अनुरोध गरेको छ । यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न दिनु हुँदैन ।

पोखरा:     गण्डकी प्रदेशमा जेठ १३ देखि २६ गतेसम्म आई.पि.भी खोप अभियान सञ्चालन हुने भएको छ ।  जेठ १३ गतेदेखि देशभर सञ्चालन हुन लागेको आई.पि.भि खोप अभियानमा १४ लाख बढी बालबालिकालाई उक्त खोप लगाइँदै छ ।  गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले आज पोखरामा एक कार्यक्रमको आयोजना गर्दै प्रदेशका ११ जिल्लामा १ लाख १० हजार ३ सय २७ जना बालबालिकालाई आई.पि.भी खोप लगाउन लागेको जानकारी दिएको हो ।    सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका सचिव डा. विनोद विन्दु शर्माले वि.सं २०७३ बैशाखदेखि ०७५ आश्विनसम्म जन्मिएका बालबालिकाहरुलाई मात्र आई.भि.पी खोप लगाइने बताए ।  ‘जेठ १३ देखि देशभर नै सुरु हुने आई.भि.पी खोप अभियानमा गण्डकी प्रदेशमा १ लाख १० हजार ३ सय २७ जना बालबालिकालाई खोप लगाउँदै छौं’, सचिव डा. शर्माले भने, ‘ वि.सं २०७३ बैशाखदेखि ०७५ आश्विनसम्म जन्मिएका बालबालिकाहरुलाई मात्र खोप लगाउँछौं ।’ पोलिइव रोग निर्मुल पार्नका लागि २०७१ बाट सुरु भएको आई.भि.पी खोप ०७३ बाट विश्व बजारमा खोप अभाव भएर आपूर्ति नभएका कारण दुई वर्ष भन्दा बढी अवधि सम्म खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाउने उद्धेश्यले अभियान सुरु गरिएको उनले बताए ।  खोप अभियानका लागि निर्धारण गरिएका उमेर समूहका अधिकांश बालबालिकाहरु विद्यालयमा अध्ययन गर्ने भएकाले विद्यालयमै गएर खोप लगाइने मन्त्रालयका सचिव डा. शर्माले बताए ।  ‘खोप अभियानमा गण्डकी प्रदेशका ११ वटै जिल्लामा ३ हजार ४ सय ५३ वटा खोप केन्द्र सञ्चालनमा ल्याइँदै छ’, उनले भने, ‘खोप अभियानका लागि निर्धारण गरिएका उमेर समूह अधिकांश विद्यालयमा अध्ययनरत भएकाले विद्यालयमा नै गएर खोप अभियान सञ्चालन गछौं ।’ उनले २ हप्तासम्म सञ्चालन हुने अभियानमा विद्यालय नजाने र विद्यालयमा खोप लगाउन छुटेका बालबालिकाहरुलाई पायक पर्ने बाह्य खोप केन्द्र तथा अभियानको अन्तिम दिन स्वास्थ्य संस्थामा खोप लगाइने बताए ।  गण्डकी प्रदेशका कुन जिल्ला कति बालबालिकालाई लगाइँदै छ खोप ?  गण्डकी प्रदेशको सबैभन्दा बढी आई.भि.पी खोप कास्कीका बालबालिकालाई लगाइने सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका अनुसार कास्कीमा २८ हजार ३ सय ७, नवलपुरमा १९ हजार ७ सय २९,तनहुँमा १४ हजार ५ सय १२, बागलुङमा ११ हजार ७ सय ७७, र स्याङ्जामा १० हजार १ सय ४५ जना बालबालिकालाई आई.भि.पी खोप लगाइँदै छ ।  यस्तै गोरखामा ८ हजार ५ सय ३९  लमजुङमा ६ हजार ६ सय ६५, पर्वतमा ५ हजार ७ सय,म्याग्दीमा ४ हजार ३ सय ५६, मुस्ताङमा ४ सय ५० र मनाङमा १ सय ५३ जना बालबालिकालाई उक्त खोप लगाइँदै छ । जेठ १३ देखि २६ गतेसम्म सञ्चालन हुने आई.भि.पी खोप अभियानमा गण्डकी प्रदेशमा ३ हजार ४ सय ५३ जना स्वास्थ्यकर्मी र ६ हजार ९ सय ६ जना स्वास्थ्य स्वयंसेवक परिचालन हुनेछन् । मन्त्रालयले गण्डकी प्रदेशको ११ वटै जिल्लाहरुमा खोप अभियान सम्बन्धि गोष्ठी, स्वास्थ्यकर्मी, स्वयंसेवक र विद्यालयका शिक्षकहरुसँग अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिसकेको छ । खोप अभियानका लागि आवश्यक सामग्री र खोप प्रदेशको सबै जिल्लामा पुगीसकेको जनाएको छ ।  नियमिततर्फ पोलियोविरुद्ध ६ हप्ता,१० हप्ताका बालबालिकाहरुलाई मुखबाट थोपा तथा १४ हप्ता र ९ महिनासम्मका बालबालिकालाई खोप लगाइन्छ ।  नेपालले सन् २०१४ मै पोलियो मुक्त राष्ट्रको रुपमा प्रमाणपत्र पाएपनि दक्षिण एसियाली मुलुक पाकिस्तान र अफगानिस्तानमा अहिले पनि पोलियोको केश देखिएका कारण नेपालमा जोखिम कायमै रहेकाले खोप अभियान सञ्चालन गर्न लागेको जनाइएको छ । विश्व स्वास्थ्य संगठनले यो रोग २०२६ सम्म उन्मूलन गर्ने लक्ष्य राखेको छ ।   

लेखनाथ:    पोखरा महानगरपालिका ३० मोहोरियास्थित संक्रामक तथा सरुवा रोग अस्पताल भवन निर्माण कार्यले गति लिन सकेको छैन ।   ठेक्का सम्झौता अनुसार आगामी असारभित्र भवन निर्माण गरिसक्नुपर्नेमा हालसम्म ५२ प्रतिशतमात्र भौतिक प्रगति र ५५ प्रतिशत वित्तीय प्रगति भएको छ । गण्डकी प्रदेश सरकारले बहुवर्षीय आयोजनामा समेटेको अस्पताल भवन निर्माण कार्य ‘यम–धुलिखेल–प्याराडाइज जेभी’ले गरिरहेको छ ।   वि.सं.२०७८ असारमा २८ मा ३ वर्षमा निर्माण सक्ने सम्झौता भए पनि निर्माण कार्यले गति लिन नसकेको प्रदेश सरकारको सहरी विकास तथा भवन कार्यालयले जनाएको छ । कार्यालयका निमित्त प्रमुख रवीन्द्र तिवारीले प्रदेश सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गरे पनि निर्माण कम्पनीले सोचे जसरी काम देखाउन सकेको जनाए ।   गत आर्थिक वर्षसम्म भवन निर्माणमा १२ करोड ३८ लाख खर्च भइसकेको छ । चालु आवमा थप ५ करोड विनियोजन गरिएको थियो, जसमध्ये हालसम्म ४ करोड बराबरको काम पनि नभएको निमित्त प्रमुख तिवारीले जानकारी दिए । ‘अब जति तीव्र गतिमा काम गरे पनि आगामी असारभित्र १ करोडको काम हुने अवस्था छैन । निर्माण कम्पनीले आन्तरिक व्यवस्थापन मिलाउन नसक्दा काममा ढिलासुस्ती भइरहेको हो’, उनी भन्छन् । कम्पनीले ३० करोड २० लाखको लागतमा ४ तलाका ३ वटा ‘ब्लक’ निर्माणको ठेक्का पाएको छ । सरकारले प्रदेशकै पहिलो संक्रामक तथा सरुवा रोग अस्पताल भएकाले भवन निर्माणमा बजेट अभाव हुन नदिने बताउँदै आएको छ । निर्माण कम्पनीका प्राविधिक वीरेन्द्र जिसीले भने आगामी असारभित्र विनियोजित बजेट अनुसार काम हुने बताए ।   उनले यसरी नै बजेट विनियोजन गर्दा भवनले पूर्णता पाउन अझै ३ वर्षजति लाग्ने भन्दै बजेट र भुक्तानी प्रक्रियालाई सहज बनाउन आग्रह गरे ।   सुरुको वर्ष जग्गा व्यवस्थापन, पर्खाल र जग निर्माणले समय बढी लिएको उनको दाबी छ ।   “आगामी वर्षदेखि बजेट बढाएमा आफूहरू समयमै काम गर्न तयार छौँ । अहिले पनि ढलानलगायतका काम भइरहेका छन् ।” २० वर्षअघि सञ्चालनमा ल्याइएको लेखनाथ सामुदायिक लायन्स अस्पताल चार वर्षअघि गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको थियो ।   प्रदेश सरकारले सोही अस्पताललाई सङ्क्रामक तथा सरुवा रोग अस्पतालको रूपमा विकास गरिरहेको छ ।   १५ शय्याबाट सुरु गरिएको उक्त अस्पतालको क्षमता हाल ५० शय्याको छ । अस्पतालले बहिरङ्ग र अन्तरङ्ग सेवा दिँदै आएको छ ।   एक सय रोपनी क्षेत्रफलमा फैलिएको अस्पताल हाल पुरानै भवनबाट सञ्चालन भइरहेको छ ।

पोखरा:     कास्कीको रुपा गाउँपालिका–४ ठकुरी बस्तीमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । दर्शन फाउन्डेसनको आयोजना तथा गोर्खा कालिका क्लब र दर्शन आमा समुहको सहआयोजना साथै हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा एक दिने निशुल्क आँखा जाँच सम्पन्न भएको छ । शिविरमा कास्की र लमजुङका गरि १३७ जनाले लाभ प्राप्त गरेका छन् । हिमालय आँखा अस्पतालका वरिष्ठ नेत्र अधिकृत गोबिन्दनाथ योगीले आँखाको महत्वबारे प्रकाश पार्दै शिविरमा सहभागी मध्य अप्रेसन नै गर्नुपर्ने बिरामीहरुलाई रेफर गर्दै अस्पतालले निशुल्क अप्रेसन गर्ने गरि आँखाको हिफाजतबारे जानकारी गराए । कार्यक्रममा रुपा गाउपालिकाको अध्यक्ष एवम्  प्रमुख अतिथि नवराज ओझाले साविक सिद्ध गाविसमा पहिलो पटक शिविर संचालन गरेकोमा बधाई शुभकामना दिदै रुपामा क्लब, समुहले स्वास्थ्य सम्बन्धी कार्यक्रम आयोजना गर्नु पर्ने बताए । उनले युवा क्लवहरु प्रायः सामान्य खेलकुद सामाग्री, महिला समुहहरु भाँडाकुडा मात्र माग गर्ने गरेका बताए । स्वस्थ आँखा भयो भने झिलिमिली सन्सार हेर्न मात्र होइन दैनिक कामकाजमा सहज हुन्छ भन्दै रुपा मै क्लबद्वारा आयोजना गरिएको आँखा शिविर दोस्रो पटक भएको समेत बताए । विभिन्न भेगबाट आँखा जाँचका लागि आएका मध्ये अवस्था हेरी चश्मा तथा औषधि समेत निशुल्क वितरण गरिएको थियो । दर्शन फाउण्डेशनका अध्यक्ष पितम बहादुर सेनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव मदन मल्ल छाँयाले गरेका थिए ।

तनहुँ:   जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई एसियाकै ठूलो उपचार केन्द्र बनाउन पहल थालिएको छ ।   तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको राजकीय भ्रमणको सिलसिलामा भारत सरकारसँग भएको सहमतिअनुसार उक्त केन्द्रलाई श्वासप्रश्वाससम्बन्धी अन्तर्राष्ट्रियस्तरको अस्पताल निर्माण गर्न लागिएको हो ।    सन् २०१७ मा तत्कालीन प्रधानमन्त्री देउवाको भारत भ्रमणका बेला अन्तर्राष्ट्रियस्तरको अस्पताल निर्माण गर्ने सहमति भएको थियो । सोहीअनुरुप भारत सरकारको सहयोगमा तीन सय शय्या क्षमताको आधुनिक उपकरणसहितको पूर्वाधार निर्माण प्रक्रिया सुरु भएको केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।    भारत सरकारले तीन सय शय्याको श्वासप्रश्वास र नेपाल सरकारले सात सय शय्याको जनरल अस्पताल बनाएर एक हजार शय्या क्षमताको बनाउने लक्ष्य रहेको केन्द्रले जनाएको छ ।    स्वास्थ्य मन्त्रलायले परराष्ट्र मन्त्रालयमार्फत प्रक्रिया अघि बढाइएको छ”, कार्यकारी निर्देशक डा श्रेष्ठले भन्नुभयो, “एक हजार शय्या अस्पतालका लागि भौतिक संरचना निर्माण गर्न भवन विभागबाट विस्तृत आयोजना प्रतिवेदन (डपिआर) तयार भइसकेको छ ।”    उहाँका अनुसार करिब सात सय रोपनी क्षेत्रफलमा जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई केन्द्रीय अस्पतालका रूपमा स्थापना गरी पचास शय्याको जनरल अस्पताल सञ्चालनमा ल्याइएको छ ।    केन्द्रले विशेषज्ञसहितका चिकित्सकबाट श्वासप्रश्वाससम्बन्धी उपचार सेवा दिन सुरु गरिसकेको डा. श्रेष्ठले जानकारी दिनुभयो । हाल श्वासप्रश्वाससहित ५० शय्या क्षमताको जनरल अस्पताल सञ्चालन भइरहेको उहाँको भनाइ छ ।   “केन्द्रलाई श्वासप्रश्वाससम्बन्धी एसियाकै ठूलो अस्पताल बनाउने योजनामा लागेका छौँ”, डा. श्रेष्ठले भन्नुभयो, “यसले देशको स्वास्थ्य क्षेत्रमा अग्रणी फड्को मार्न सक्ने श्विास लिइएको छ ।” उहाँका अनुसार केन्द्रमा तनहुँ, कास्की, गोरखा, लमजुङ र नवलपुरलगायत जिल्लाबाट दैनिक तीन सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् ।    “उपचारका लागि आउनेमध्ये करिब ८० प्रतिशत बिरामी बीमा गराएका हुन्छन्”, कार्यकारी निर्देशक डा. श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार हाल केन्द्रमा एक सय दुई जना जनशक्ति कार्यरत छन् ।   साविक सेतीगङ्गा सामुदायिक अस्पतालका रुपमा सञ्चालन हुँदै आएकामा आर्थिक अभावले निरन्तरता दिन नसकेपछि वि.सं. २०७३ मा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको राजनीतिक योगदानलाई उच्च मूल्याङ्कन गर्दै सरकारले जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र सञ्चालनमा ल्याएको थियो ।    केन्द्रले सघन उपचार कक्ष (आइसियु), शल्यक्रिया, हाडजोर्नी, नाक, कान र घाँटी, एक्से–रे, भिडियो एक्स–रे, ल्याब, श्वासप्रश्वासलगायत क्षेत्रमा विशेषज्ञ चिकित्सकबाट सेवा प्रदान गर्दै आएको जनाएको छ ।