काठमाडौं:    पछिल्ला महिनामा शून्य रहेको कोरोना भाइरसको सङ्क्रमण सुदूरपश्चिम प्रदेशमा पुनः देखिन थालेको छ ।   भारतबाट भित्रिने नागरिकको सीमा नाकामा गरिएको एन्टिजेन परीक्षणबाट पछिल्लो हप्तामा आठजनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । गौरीफन्टा सीमा नाकास्थित हेल्थ डेस्कका अहेव गणेश साउदले भारतबाट भित्रिने नागरिकमध्ये लक्षण देखिएकाको एन्टिजेन विधिबाट नमुना जाँच गर्दा आठजनामा कोरोनाको सङ्क्रमण फेला परेको जानकारी दिनुभयो ।  “सङ्क्रमित चारको नमुना थप परीक्षणका लागि प्रदेशको प्रयोगशालामार्फत काठमाडौँ पठाइएको र चार सङ्क्रमितको नमुना आज पठाउने तयारी भइरहेको छ”, उहाँले भन्नुभयो, “सङ्क्रमितमा कुन भेरियन्ट हो भनेर पत्ता लगाउन नमुनाको थप परीक्षण गर्न जरुरी भएको  हो ।” सीमा नाकामा सङ्क्रमित फेला पर्ने बिरामीलाई ‘होम आइसोलेसन’मा बस्न अथवा सिकिस्त बिरामीलाई अस्पताल जान सल्लाह दिइने र सम्बन्धित पालिकासँग पनि समन्वय गर्ने गरिएको साउदले बताउनुभयो । कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएपछि विश्व स्वास्थ्य सङ्गठनले केही दिनअघि सचेत गराइएको पनि साउदले बताउनुभयो । स्वास्थ्य निर्देशनालय, प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको तथ्याङ्कमा भने पछिल्ला तीन दिनमा प्रदेशमा तीनजना कोरोना सङ्क्रमित फेला परेको उल्लेख गरिएको छ । पछिल्लो २४ घण्टामा गौरीफन्टा र गड्डाचौकी सीमा नाकाबाट भित्रिने नागरिकमध्ये शङ्कास्पद ७६ जनाको एन्टिजेन परीक्षण गर्दा एकजनामा र पुस ८ गते दुईजनामा सङ्क्रमण फेला परेको निर्देशनालायको तथ्याङ्कमा उल्लेख छ ।

पोखरा:  पोखरा महानगरपालिका ९ नागढुंगास्थित चरक अस्पतालको प्राविधिक सहयोगमा लायन्स क्लब अफ पोखरा अभियानले म्याग्दीमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।   लायन इन्टरनेशनल ३२५ आई नेपालका डिस्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीको प्रमुख आतिथ्यता सम्पन्न शिबिरबाट कुल ६ सय ५० जनाले लाभ लिएका छन् ।   बेनी नगरपालिको नेप्टेचौरस्थित राष्ट्रिय मावि प्राङ्गणमा शनिबार स्वास्थ्य शिविर सञ्चालन गरिएको जानकारी दिदैें चरक मेमोरियल अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलले बिरामीको अवस्था अनुसार औषधिसमेत वितरण गरिएको जानकारी दिए ।    उनका अनुसार सो शिविरमा मुटु जाँच, मिर्गौला जाँच, उच्च रक्तचाप तथा मधुमेह जाँच, महिला सम्बन्धी रोगका जाँचहरु गरिएको थियो ।   सो शिविरमा डा. प्रदीप काफ्ले, डा. सस्मी मानन्धर, डा. सन्देशप्रकाश पराजुली, गोपाल खनाल लगायतले स्वास्थ्य परिक्षण गरेका थिए ।   लायन्स क्लब अफ पोखरा अभियानका अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक बलबहादुर केसीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन विनोदराज आचार्यले गरेका थिए ।    

काठमाडौँ:    बेलायतका विभिन्न स्वास्थ्य क्षेत्रमा रोजगारीमा जान ४५ नर्स अन्तिम छनोटमा परेका छन् । अन्तर्वार्तामा सहभागी भएका ६० जनामध्ये ४५ नर्स अन्तर्वार्ताबाट छनोट भएको वैदेशिक रोजगार विभागले जनाएको हो ।   विभागका अनुसार अन्तर्वार्ताका लागि ७१ जना नर्सको प्रारम्भिक सूची सार्वजनिक गरिए पनि अन्तर्वार्तामा ६० नर्स मात्रै सहभागी भएका थिए ।   अन्तर्वार्तामा छनोट भएका नर्सलाई बेलायतको कामबारे जानकारी दिइने र एक/डेढ महिनाभित्र बेलायत पठाइने विभागले जनाएको छ । छनोट भएका आवेदकलाई मङ्सिर १८ देखि २१ गते (डिसेम्बर ४ देखि ७) सम्म अन्तर्वार्ताका लागि लैनचौरस्थित बेलायती दूतावासमा बोलाइएको थियो ।    बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली नर्सलाई पदस्थापन गर्ने गरी नेपाल र बेलायत सरकारका प्रतिनिधिबिच २०७९ भदौ ६ गते सम्झौता सम्पन्न भएको थियो ।    विभागले गएको साउन ५ देखि तीन महिनाको समयअवधि तोकेर एक सय जना नर्सका लागि अनलाइन आवेदन आह्वान गरेको थियो ।   तीनमहिने अवधि राखेर आह्वान गरिएको आवेदनमा ७३५ जनाको आवेदन परेकामा दुई देशका प्रतिनिधिले तयार गरेको प्रोटोकल अनुसार ७१ जना मात्रै छनोट भएका हुन् ।   जसमा ११ जना अन्तर्वार्तामा अनुपस्थित रहेकाले अन्तर्वार्तामा ६० नर्स सहभागी रहेकामा ४५ जना अन्तिम छनोटमा परेको विभागका निर्देशक कविराज उप्रेतीले जानकारी दिनुभयो ।    स्वास्थ्यकर्मीको छनोट र पदस्थापना नेपालको वैदेशिक रोजगार विभाग तथा बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसियल केयर वा तोकिएको निकायको प्रत्यक्ष संलग्नतामा सरकारी (गभर्मेन्ट टु गभर्मेन्ट) प्रक्रियाबमोजिम गरिएको हो ।   नेपाली स्वास्थ्यकर्मीलाई बेलायतको स्वास्थ्य सेवा (एनएचएस) मा सुरक्षित, मर्यादित र व्यवस्थित तवरले रोजगारीमा संलग्न हुने व्यवस्था मिलाउने सहमति भएको छ ।    नेपाल र बेलायत सरकारबिच भएको द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्ययोजना (इम्प्लिमेन्टेसन प्रोटोकल) दुई देशका सरकारले पारित गरेसँगै बेलायतमा नेपाली नर्सका लागि आवेदन खुलाइएको थियो ।   प्रोटोकल अनुसार मागभन्दा कम नर्स मात्रै छनोटमा परेका छन् । अनलाइन आवेदन दिएर तोकेको मापदण्ड पूरा गरेकाको बेलायत स्वास्थ्य विभागले प्रारम्भिक सूची सार्वजनिक गरेको छ । 

पोखरा:   पोखरा महानगरपालिका वडा नं. १३ शहरी स्वास्थ्य केन्द्र कुँडहरको आयोजनामा यौन तथा प्रजनन् स्वास्थ्य शिविर सम्पन्न भएको छ ।  नेपाल परिवार नियोजन संघ कास्की शाखाको प्राविधिक सहयोगमा पोखरा महानगरपालिका वडा नं. १३ को परिषरमा आयोजित शिविरबाट एक सय २६ जना महिला लाभान्वित भएका छन् ।  शिविरमा पाठेघरको मुखको क्यान्सर र यौनजन्य संक्रमणको परिक्षण गरी निशुल्क औषधी वितरण गरिएको वडा अध्यक्ष किरण बरालले जानकारी दिए ।  शिविर उदघाटन गर्दै नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले पछिल्लो समय महिलाका लागि पाठेघरको मुखको क्यान्सर जटिल समस्याका रुपमा देखिएको बताए ।  उनले आम नागरिकले आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने उल्लेख गरे । पोखरा १३ का वडाध्यक्ष किरण बरालको अध्यक्षतामा भएको कार्यक्रम वडा सदस्य सुचित्रा तामाङ्गले स्वागत र स्वास्थ्य केन्द्रकी अहेब लीला गुरुङले संचालन गरिन् ।   

काठमाडौं:   बेलायतमा रोजगारीका लागि ७१ जना नेपाली नर्स अन्तर्वार्ताका लागि छनोट भएका छन् ।   वैदेशिक रोजगार विभागले अन्लाइन फाराम भरेकामध्ये अन्तार्वार्ताका लागि ७१ जना नर्सलाई छनोट गरी नाम सार्वजनिक गरेको हो ।   अन्तरर्वार्तापछि बेलायत जानेहरूको अन्तिम नाम सार्वजनिक गरिनेछ । प्रारम्भिक सूचीमा नाम प्रकाशित भएका नर्सलाई अन्तार्वार्ताका लागि डिसेम्बर ४ देखि ७ तारिखसम्म बोलाइएको छ ।   बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली नर्सलाई पदस्थापन गर्ने गरी नेपाल र बेलायत सरकारबीच गत भदौमा सम्झौता भएको थियो ।   नेपाल र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै श्रम मन्त्रालयले पहिलो चरणमा १०० जना नर्सिङ स्टाफ बेलायत पठाउने प्रक्रिया अगाडि बढाएको थियो ।   जसअनुसार १०० जना नर्सको लागि अनलाइन आवेदन आह्वान गरिएकोमा ७१ जनामात्र अन्तर्वार्ताका लागि छनोट भएका हुन् ।   सूची:-    

पोखरा:   पोखरा महानगरपालिका भित्र रहेका पाँच वर्षसम्मका बालबालिकालाई शुक्रवार भिटामिन ए’ र जुकाको औषधि खुवाइएको छ । शुक्रवार खान छुटेकालाई शनिवार खुवाइने पोखरा स्वास्थ्य महाशाखाले जनाएको छ ।  आफ्नो घर पायक पर्ने स्वास्थ्य संस्था वा तोकिएका केन्द्रमा पुगेर बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाउन महानगरको स्वास्थ्य महाशाखाले सबै अभिभावकहरूलाई अनुरोध गरेको छ । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । तर यस वर्ष दशैका कारण केही पछि धकेलिएको हो । बालबालिकालाई भिटामिन ए, जुकाको औषधि र बाल भिटा पनि खुवाउने गरिन्छ । जुकाको औषधि एक वर्षभन्दा माथिका बालबालिकालाई मात्र दिने गरिएको छ । छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न सरकारले २०५३ सालदेखि भिटामिन ए कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस्तै १५ बहु सूक्ष्म पोषण तत्त्वले बनेको बाल भिटा छ महिनादेखि २३ महिनाका बालबालिकालाई खुवाउने गरिन्छ । बाल भिटा २०६६ सालदेखि बालबालिकालाई खुवाउन थालिएको हो ।  यस कार्यक्रममा पोखरा महानगरपालिका भित्रका करिब ३५ हजार बालबालिकाहरूलाई भिटामिन ए र ३० हजार बढी बालबालिकाहरूलाई जुकाको औषधी खुवाइने महाशाखाका जनस्वास्थ्य निरीक्षक लोकराज आचार्यले बताउनुभयो । उहाँका अनुसार बालबालिकाहरूलाई भिटामिन ए’ र जुकाको औषधि खुवाउनका लागि महानगरका ६५६ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र केही स्वयंसेवक गरी ६६५ जना परिचालन गरिएको छ ।  बालबालिकाहरू सुनौलो भविष्य सुनिश्चितताका लागि उनीहरूको स्वास्थ्य सुरक्षा प्रमुख विषय हुने भएकाले यस कार्यमा महानगरपालिका प्रतिबद्ध रहेको नगरप्रमुख धनराज आचार्यले बताउनुभयो । बालबालिकामा पोषण अभावका कारण हुन सक्ने कुपोषण न्यूनीकरणका लागि नेपाल सरकारले सञ्चालन गरिरहेको राष्ट्रिय भिटामिन ए’ र जुकाको औषधि खुवाउने कार्यक्रमलाई प्रभावकारी बनाइएको प्रमुख आचार्यले बताउनुभयो ।  “पोखरा महानगरपालिकाका सबै स्वास्थ्य संस्थाहरू, वडा कार्यालयहरू र तोकिएका निश्चित स्थानहरूमा गएर आफ्ना बालबालिकाहरूलाई भिटामिन ए’ र जुकाको औषधि खुवाउनु हुन म सबै नगर बासीहरूमा विनम्र अनुरोध गर्दछु, प्रमुख आचार्यले भन्नुभयो, बालबालिकाहरूको स्वास्थ्य रक्षा नै सुनौलो भविष्य निर्माणको प्रारम्भिक आधार हो ।” कुपोषणमुक्त महानगर निर्माणका लागि बालबालिकाको स्वास्थ्य प्रति गम्भीर बन्न उहाँले आग्रह समेत गर्नुभयो ।

पोखरा:     पोखरा १३ का विपन्न तथा मजदुरले निशुल्क स्वास्थ्य बिमा कार्ड पाएका छन् । वडा कार्यालय परिसरमा शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै उनीहरुलाई स्वास्थ्य बिमा कार्ड हस्तान्तरण गरिएको हो ।  पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक भरत खत्रीको प्रमुख आत्थ्यितामा वडाका १०९ जना विपन्न तथा मजदुरले निशुल्क स्वास्थ्य बिमा कार्ड प्राप्त गरेका छन् ।   कार्यक्रममा बोल्दै खत्रीले वडाले राम्रो काम गरेको बताए । निशुल्क स्वास्थ्य बिमा कार्ड विपन्न र मजदुरलाई उपलब्ध गराएपछि अब पैसाको अभावमा उपचारबाट वञ्चित हुनुपर्ने अवस्था नआउने उनले उल्लेख गरे । “बिरामी भएपछि पैसा खोज्न जानुपर्ने अवस्था सिर्जना नहोस् भन्ने उद्देश्यले सरकारले नै नागरिकलाई सामाजिक स्वास्थ्य सुरक्षाको प्रत्याभूति गराएको हो ।”, उनले भने । खत्रीले स्वास्थ्य बिमा कार्डको सदुपयोग गर्नुपर्ने विषयलाई समेत सुझाएका छन् । बिरामी भएको बेला निर्धक्क उपचार गर्न नागरिकले पाउन् भनेर निशुल्क स्वास्थ्य बिमा कार्ड दिइएको उनले बताए । निशुल्क स्वास्थ्य बिमा कार्डको नविकरणबाट नेपाल सरकारको ढुकुटीमा एक अर्ब जम्मा हुने तर खर्च भने १० अर्ब रुपैयाँ रहेको उनले जनाए । नागरिकलाई स्वास्थ्य सुरक्षा दिन सरकार प्रतिबद्ध भएर लागिरहेको भनाई उनको छ । पोखरा १३ का वडाध्यक्ष किरण बरालले स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रमा क्रान्ति ल्याउने उद्देश्य स्वरुप वडाका विपन्न वर्गलाई निशुल्क स्वास्थ्य बिमा कार्ड उपलब्ध गराइएको जानकारी गराए । उनले यसअघि पनि वडाले स्वास्थ्य क्षेत्रका गतिविधि गर्दै आएको उल्लेख गरे । “वडाका प्रत्येक स्थानमा स्वास्थ्य शिविर संचालन गरी नागरिकलाई स्वास्थ्य उपचारमा सहजता प्रदान गर्ने लक्ष्य छ । हाम्रो कार्यकाल सम्म निशुल्क स्वास्थ्य बिमाको कार्यन्वयनलाई प्रभावकारी रुपमा अगाडि बढाइनेछ । पैसाको अभावमा उपचार नपाएर अब कोहि पनि मर्नुपर्ने अवस्था आउने छैन ।”, उनले भने । वडा सँधै नागरिकको साथमा रहेको अभिव्यक्ति उनको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र हिमालयन आँखा अस्पतालमा बिरामीले निशुल्क स्वास्थ्य बिमा कार्ड मार्फत सेवा पाउने वडाले जनाएको छ । दैनिक मजदुरी गरेर पेट पाल्नेहरुका लागि स्वास्थ्य उपचार कठिन हुने भएकाले वडाले निशुल्क स्वास्थ्य बिमा कार्ड हस्तान्तरणको अवधारणा ल्याएको हो । स्वास्थ्य क्षेत्रमा वडाले गरेका काम प्रशंसनिय रहेको स्थानीय भनाई छ । स्वास्थ्य बिमा कार्ड वितरणले निम्न वर्गीय वडाबासीका समस्याको समाधान हुने विश्वास वडाको छ । यस अलवा वडामा भिटामिन “ए” र जुकाको औषधि समेत खुवाइदै छ । शुक्रबार (आज) देखि शनिबार (भोली) सम्म चल्ने उक्त कार्यक्रममा ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन “ए” क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाइदै गरेको वडाले जानकारी गराएको छ ।  

काठमाडौं:    सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आज र भोलि सञ्चालन गर्ने भएको छ । सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते गरी दुई पटक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।   तर, यस वर्ष दशैँ परेका कारण पहिलो चरणको कार्यक्रम कात्तिक १७ र १८ गते तय गरिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ। दुई दिने अभियानमा ६ देखि ५९ महिनाका झण्डै ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ । यसैगरी १ देखि ५ वर्षसम्मका २९ लाखभन्दा धेरै बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने छ ।

बागलुङ:     धौलागिरि अस्पतालमा पहिलोपटक सबैभन्दा बढी तौल भएको बच्चाको जन्म भएको छ । बडादसैँका बेला अस्पतालमा स्त्रीरोग विशेषज्ञ नहुँदा पनि विद्यमान स्वास्थ्यकर्मीको सक्रियतामा बागलुङ जैमिनी नगरपालिका वडा नं र ३ की ३२ वर्षीया मालती छन्त्याल तामाङले अहिलेसम्मको बढी तौल भएको बच्चालाई जन्म दिनुभएको हो । उक्त बच्चाको तौल चार केजी सात सय ५० ग्राम रहेकोे अस्पतालले जनाएको छ । अस्पतालको प्रसूति वार्डमा बिहीबार सामान्यरूपमा उहाँले छोरा जन्माउनुभएको अस्पतालका नर्सिङ इञ्चार्ज देवी भट्टराईले बताउनुभयो । यो छन्त्यालको चौथो सन्तान हो । पेटमा रहेको बच्चा ठूलो देखिएकाले  अस्पतालबाट पोखरा जान सल्लाह दिइएको थियो तर विगतका सन्तान पनि सामान्यरूपमै जन्मिएकाले आफूलाई यसपटक पनि सामान्यरूपमै बच्चा जन्मिन्छ भन्ने लागेर यहीँ भर्ना भएको सुत्केरी छन्त्याल तामाङले बताउनुभयो । दसैँका बेलामा पोखरा जान पनि गाह्रो थियो नजिकको अस्पतालमै बच्चा जन्माउने विचार गरेर यहाँ सम्बन्धित चिकित्सक नहुँदा पनि अस्पतालमा भएको जनशक्तिको सहयोगमा राम्रौसँग बच्चा जन्मिएको उहाँको पति नेत्रबहादुर छन्त्यालले बताउनुभयो । उक्त अस्पतालमा प्रसूतिका लागि एक दिनमा झण्डै एक दर्जन महिला आउने गर्छन् । यसभन्दा अघि अस्पतालमा बढीमा चार किलो ५०० ग्रामसम्मको बच्चाको जन्म भएकामा अहिले चार किलो सात सय ५० ग्रामको बच्चाको जन्म भएको हो ।  यसभन्दा अघि अस्पतालमा बढीमा चार किलो ५०० ग्रामसम्मको बच्चाको जन्म भएकामा अहिले चार किलो सात सय ५० ग्रामको बच्चाको जन्म भएको हो । यसअघि ठूलो तौलको बच्चा जन्माउन नसक्दा शल्यक्रिया गर्नुपरेको थियो । अहिले ती बच्चा र आमा दुवैको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।