पोखरा:  पोखरा महानगरपालिका १० स्थित अमरसिंहमा ‘अमर पोलिक्लिनिक’ सञ्चालनमा आएको छ ।   डा. सुस्मित काफ्ले, डा. मनिष किरण श्रेष्ठ (पोखराको एकमात्र इन्टरभेन्सन रेडियोजोलिस्ट) डा. हरिकृष्ण भण्डारी, मिलन बहादुर अधिकारी र डा. मदन थापाको सँयुक्त लगानीमा आजदेखि पोलिक्लिक सञ्चालनमा ल्याइएको हो ।   सो पोलिक्निकको उद्घाटन पोखरा १० का वडाध्यक्ष राजेश गुरुङले  गरे  । सो अवसरमा बोल्दै वडाध्यक्ष गुरुङले व्यवसायिक सफलताको कामना गरे । उनले सेवाग्राहीलाई सर्वसुलभ सेवा प्रदान गर्नुपर्ने उल्लेख गर्दै स्वास्थ्यको क्षेत्रमा नयाँ आयाम थपेको धारणा राखेका थिए ।   यस्तै डा. बुद्धि बहादुर थापाले स्वास्थ्यको क्षेत्रमा नवीनतम तरिकाले सेवा प्रदान गर्नुपर्ने बताए ।    आजदेखि सञ्चालनमा आएको पोलिक्निकमा अब्जर्भेसन रुम, ओपिडी सेवा (सबै विभाग), भिडियो एक्सरे, एक्सरे (बिआर), मुटुको भिडियो एक्सरे, इसिजी, गुणस्तरीय ल्याब सेवा, फार्मेसी सेवाको व्यवस्था रहेको छ ।   पोलिक्निकका सञ्चालक तथा डा. सुस्मित काफ्लेका अनुसार सबै विभागको विशेषज्ञ तथा चिकित्सकको व्यवस्था रहेको छ ।    

पोखरा:  पोखराको सफल निरमाया दोहोरी साँझले १९ औं वार्षिक उत्सव कार्यक्रम गर्ने भएको छ ।    चिप्लेढुंगाबाट लामो समय देखि लोकदोहोरीको संरक्षण तथा सम्बद्र्धनमा क्रियाशील व्यवसायिक संस्थाले असार १४ देखि १७ गते सम्म विशेष कार्यक्रमको आयोजना गरेको हो । राष्ट्रिय कलाकार एवम् नियमित कलाकाहरुको प्रस्तुति सहित वार्षिक उत्सव कार्यक्रम गर्न लागिएको संचालक जीवन गुरुङले जानकारी गराए । सो अवसरमा साँझ ७ बजेदेख रातिको १ः०० बजे सम्म ग्राहकलाई सेवा प्रवाह गरिनेछ ।    वार्षिक उत्सव कार्यक्रममा लोकदोहोरी गायक गायिका ईश्वर सिंह, चिज गुरुङ(लन्ठु),निर्जला गुरुङ, सुमन थापा मगरको विशेष प्रस्तुति रहनेछ । साथै नियमित कलाकारहरु टेक क्षेत्री, टस बहादुर गुुरुङ, गुप्त गुरुङ, विनोद गुरुङ, पाण्डव गुरुङ, प्रशान्त तामाङ, किसान नेपाली, याम बहादुर नेपाली, युमिन्द्र गुरुङ, सन्देश गायक, सञ्जय गायक, ईन्द्रा गुरुङ, बत्ति कुमारी थापा, चिना थापा, कल्पना आले , पुजा तामाङ, सुनिमा गुरुङ, सरिता राई र ललित पुनको प्रस्तति रहनेछ । कार्यक्रममा विभिन्न आकर्षक नृत्यहरु समेत प्रस्तुति गरिने गुरुङले जनाएका छन् ।    दोहोरी साँझले यसअघि पनि वार्षिक उत्सवका समयमा विभिन्न सामाजिक एवम् सांगीतिक कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । सेवाग्राहीहरुको विश्वासले नै दोहोरी साँझ १९ औं वर्षमा प्रवेश गर्न सफल भएको गुरुङको भनाई छ ।    आगामी समय सेवाग्राहीलाई सन्तुष्ट बनाउन दोहोरी साँझलाई थप परिमार्जित गर्दै लैजाने उनले बताएका छन् । नेपाली लोकगीत र दोहोरी गीतको संरक्षण सम्बद्र्धनमा आफुहरु अनवरत खटिरहने उनले बताए ।   

पोखरा:    पोखरामा सम्पन्न भएको निशुल्क स्वास्थ्य शिविरमा १ सय ९ जनाले सेवा लिएका छन् ।  समानताको लागि आवाज भन्ने मूल नारासहित पोखरामा क्रियाशिल रहेको ‘आवाज नामक संस्था’ले पोखरा महानगरपालिका १४ विजय वस्ती चाउँथेमा शनिबार आयोजना गरेको नाक, कान र घाँटी निशुल्क स्वास्थ्य शिविरमा १ सय ९ जनाले सेवा लिएका हुन् ।   पोखरा ईएनटी अस्पतालको सहकार्यमा आवाज नामक संस्थाले निशुल्क स्वास्थ्य शिविर पोखरा १४ विजयवस्तीमा सम्पन्न गरेको संस्थाका अध्यक्ष प्रकाश सुनारले जानकारी दिए ।  निशुल्क स्वास्थ्य शिविरमा नाक, कान र घाँटीमा समस्या देखिएका बिरामीहरुलाई ‘आवाज संस्था’ले निशुल्क औषधि समेत वितरण गरेको छ ।  पोखरा ईएनटी अस्पताल तथा नाक, कान, घाँटी विशेषज्ञ डा. राजेन्द्र नेपाली र मेडिकल अफिसर अलिसा सुर्खेटीले स्वास्थ्य शिविरमा बिरामीको चेकजाँच गरेका थिए । 

काठमाडौं:   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भ्रूणको लिङ्ग पहिचानसम्बन्धी कुनै पनि कार्य नगर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । मन्त्रालयका उपसचिव एकदेव खनालले सरकारी, निजी तथा सामुदायिक स्वास्थ्य संस्थालाई पत्राचार गर्दै भ्रूणको लिङ्ग पहिचानसम्बन्धी कुनै पनि कार्य नगर्नरनगराउन निर्देशन दिनुभएको हो ।  मन्त्रालयले कसैले गर्भमा रहेको भ्रूणको लिङ्ग पहिचान गरी कुनै कार्य गर्न/गराउन नहुने, यदि यस्तो कार्य गरे वा गराएमा तीन महिनादेखि एक वर्षसम्म कैद सजाय हुने परिपत्रमा उल्लेख गर्दै त्यो कुरा स्वास्थ्य संस्था एवं प्रयोशागाला परिसरमा टाँस्न पनि भनिएको छ ।  मन्त्रालयले राष्ट्रिय जनगणना, २०७८ को नतिजामा लैङ्गिक अनुपातमा असमानता देखापरेको र विभेदपूर्ण लिङ्ग छनोटको अन्त्यका लागि राष्ट्रिय रणनीतिमा विभेदपूर्ण लिङ्ग छनोट अन्त्य गर्न लिङ्ग पहिचान गर्न नपाइने उल्लेख गरिएको छ ।   मुलुकी संहिता, २०७५ को दफा १८८ को उपदफा ७ र ८ मा एवं सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १७ मा गर्भको लिङ्ग पहिचान गर्ने कार्यलाई कानुनत: दण्डनीय अपराध मानेको हुँदा स्वास्थ्य संस्थालाई भ्रूणको लिङ्ग पहिचान नगर्न भनिएको छ । 

पोखरा:   लियो क्लब अफ पोखरा नर्थको आयोजनामा कास्कीको माछापुच्छ्रे  गा.पा–१, खहरेटोलमा रहेको श्री शारदा माध्यमिक विद्यालयमा बिहीबार निःशुल्क  दन्त शिविर सम्पन्न भएको छ । कान्तिपुर डेन्टल हस्पिटल न्युरोडको प्राविधिक सहयोगमा भएको दन्त शिविरमा विद्यालयका छात्रा–छात्र,शिक्षक–शिक्षिका गरि १९५ जनाले दंन्त स्वास्थ्य जाँच गराएका थिए । परिक्षण गराएका मध्य १० प्रतिशतमा स्केलिङ,आर.सि.टि,दात झिक्नुपन, दाँत भर्न पर्ने, समस्याहरु देखिएको र अन्यको दंन्त स्वास्थ्य अवस्था सामान्य रहेको कान्तिपुर डेन्टलका सि.ई.व प्रतिकमान श्रेष्ठले जानकारी दिए ।  पब्लिक हेल्थ अफिसर आयुशा अधिकारीले दन्त शिविरमा परिक्षण गराएका विरामीलाई अस्पताल जाँदा १५ प्रतिशतसम्म छुट दिने घोषण गरे । सोहि अवसरमा विद्यालयका प्रधानाध्यापक चाहना पुनले विद्यार्थीको दंन्त स्वास्थ्य परिक्षण सहतिको जनचेतना कार्यक्रम गरि सहयोग गर्नुभएकोमा धन्यवाद ब्यक्त गरिन ।  

काठमाडौं:   सरकारले वर्षयामा देखिने स्वास्थ्य समस्याबाट बच्न पानी उमालेर मात्र पिउन आग्रह गरेको छ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकाल्दै नेपालमा मनसुन भित्रिएसँगै विभिन्न स्थानमा दिनहुँ जसो वर्ष भइरहेको र वर्षासँगै झाडापखाला, हैजा, डेंगुको जोखिम रहने हुँदा यस्तो स्वास्थ्य समस्याबाट बच्न आग्रह गरेको हो।  झाडापखाला, हैजाबाट बच्न मन्त्रालयले सधैँ पानी उमाले वा क्लोरिन झोल प्रयोग गरेर मात्र पिउने र व्यक्तिगत सरसफाइमा ध्यान दिन आग्रह गरेको छ। त्यस्तै बासी सडेगलेका खानेकुरा नखाने, खानालाई छोपेर राख्ने, काँचै खान मिल्ने फलफूल र तरकारीको सरसफाइलाई विशेष ध्यान पुर्‍याउन मन्त्रालयले अनुरोध गरेको छ।  मन्त्रालयले खुला रूपमा दिसा पिसाब नगर्ने, चर्पी अनिवार्य प्रयोग गर्ने र दिसा पिसाब गइसिकेपछि साबुन पानीले मिचामिची हात धोएर सुरक्षित रहन आग्रह गरेको छ।  साथै एडीज जातका लामखुट्टेको (कालो सेतो छिर्केमिर्के देखिने) टोकाइबाट सर्ने डेंगु रोगबाट बच्न आफ्नो घर वरपर तथा कार्यस्थलमा सफा पानी जमेको ठाउँमा लामखुट्टेले फूल पार्ने भएको हुँदा पानी जम्न नदिन सुझाव दिएको छ।  घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हालौँ, जुनसुकै बेला सुत्दा झुलको प्रयोग गर्ने। पुरै शरीर ढाक्ने लुगा लगाउन मन्त्रालयले अनुरोध गरेको छ।  मन्त्रालयले खाद्यान्न तथा खानेपानी वितरण सम्पूर्ण सरोकारवाला निकाय तथा व्यवसायीलाई सचेत रहन आग्रह गरेको छ।  

पोखरा:   कञ्चल क्यापिटल प्रालिले ‘रक्तदान जीवनदान’ भन्ने नारासहित रक्तदानको आयोजना गर्ने भएको छ ।   संस्थाको चौथो वार्षिकोत्सवको अवसरमा आगामी ४ गते सोमबार पोखरा २ अर्चलबोटस्थित कञ्चन डिपार्टमेन्टको प्रागंणमा आयोजना गर्ने कञ्चन क्यापिटलका अध्यक्ष विमल गुभाजुले जानकारी दिए ।  ‘हामीले संस्थाको वार्षिकोत्सवको अवसरमा रचनात्मक कार्यक्रम गरौ भन्ने थियो, उनले भने, ‘अहिले पोखरामा रगतको अभाव भएको बुझिएकाले रक्तदानको आयोजना गर्न लागेका हौं ।’   उनका अनुसार संस्थाले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा रक्तदान आयोजना गर्दै आएको  छ ।   सोमबार बिहान ८ बजेदेखि रक्तदान सुरु हुने छ भने रक्तसञ्चार केन्द्र रामघाटले प्राविधिक सहयोग गर्ने छ ।   

पोखरा:    सशस्त्र प्रहरी बल नेपाल नं ४ मुक्तिनाथ बाहिनी मुख्यालय पोखराले आफ्नो २२ औं स्थापना दिवसमा आयोजित साप्ताहिक कार्यक्रम अन्र्तगत निशुल्क स्वास्थ्य शिविरसँगै रक्तदान कार्यक्रम गरेर सम्पन्न गरेको छ ।     सशस्त्र प्रहरी बल नेपाल न. ४ मुक्तिनाथ बाहिनी मुख्यालयले स्थापना दिवसको अवसरमा नं २४ हेडक्वार्टर कालिका मालेपाटनमा आयोजित निशुल्क स्वास्थ्य शिविरमा ४ सय ७६ जनाले स्वास्थ्य जाँच गरेका छन् । नेपाल एपिएफ अस्पताल र गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको सहयोगमा सञ्जालित निशुल्क स्वास्थ्य शिविरमा साधारण स्वास्थ्य जाँच २ सय ३७ जना, ल्याव जाँच १ सय २९ जना र महिलाहरुको पाठेघरको हुन सक्ने क्यान्सरको जाँच ५० जनाले गरेका छन् । यस्तै रक्तदान कार्यक्रममा ३१ युनिट रगत संकलन भएको सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनीका प्रहरी निरीक्षक भिमबहादुर क्षेत्रीले जानकारी दिए ।  उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय पोखराको २२ औं स्थापनाका दिवसको अवसरमा साप्ताहिक कार्यक्रम जेठ २५ गतेदेखि सुरु भएको हो । साप्ताहिक कार्यक्रम अन्र्तगत मुक्तिनाथ बाहिनीले आन्तरिक प्रतियोगितासँगै सरसफाईको कार्यक्रम सञ्चालन गरेको हो ।  निशुल्क स्वास्थ्य शिविरमा सशस्त्र प्रहरीका कर्मचारीसँगै स्थानीयहरुको स्वास्थ्य जाँच गरिएको थियो ।  कार्यक्रममा सशस्त्र प्रहरी बलका डिआईजी कालिदास धौबजीले पोखरामा सञ्चालन गर्न लागिएको फिल्ड हस्पिटलले आफ्नो कर्मचारीसँग स्थानीय जनताको स्वास्थ्य सेवाको पहुँचलाई समेत सहज बनाउने बताए । उनले पोखरामा सञ्चालन हुन लागेको फिल्ड हस्पिटलले २ वटा अत्याधुनिक एम्बुलेन्स सहित नागरिकको स्वास्थ्य क्षेत्रसँग जोडिने बताए ।  यस्तै गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिब बिनोद बिन्दु शर्माले विपदसँग जोडिएको स्वास्थ्य क्षेत्र र सशस्त्र प्रहरी बल नेपालको अझै जनतासँगको सेवाले मजबुत सेवा जनतामा लिएर अगाडि बढ्ने बताए ।   

पोखरा:    इन्टरनेशनल नेपाल फेलोशिप(आइएनएफ) नेपालले कुष्ठरोगमुक्र समाजका लागि शुन्य कुष्ठरोग रणनीति सुरु गरेको छ । नेपाल सरकारले सन् २०३० सम्ममा कुष्ठरोगलाई पूर्ण रुपमा निवारण गरी कुष्ठरोमुक्त नेपाल बनाउने लक्ष्य लिएकामा सो लक्ष्यलाई साकार पार्न आइएनएफले रणीनितिक योजना मार्फत सहयोग गर्ने भएको हो ।  आइएनएफका कार्यकारी अध्यक्ष रामचन्द्र तिमोथीले सरकारको कुष्ठरोग निवारणको अभियानलाई आइएफनले पूर्ण सहयोग गर्ने गरी कार्ययोजना बनाइएको बताउनुभयो ।  नेपालमा कुष्ठरोगको बिरामी पत्ता लगाउनेदेखि रोगको उपचार गर्न, उनीहरूलाई पुनस्र्थापना र कुष्ठरोगको प्रकोप दरमा कमी ल्याई मुलुकलाई राष्ट्रिय स्तरमा कुष्ठरोग निवारण भएको घोषणा गर्ने स्थितिसम्म ल्याई पु¥याउन आइएनफनले योगदान गरेको छ ।  अध्यक्ष तिमोथीले भन्नुभयो“नेपाल सरकारले लिएको लक्ष्य पूरा गर्न आईएनएफ नेपाल प्रतिबद्ध छ । सरकारको लक्ष्यलाई योगदान गर्न र कुष्ठरोगमुक्त समाजको परिकल्पनाका लागि रणनीतिक योजना निर्माण गरेका हौँ ।”   रणनीतिक योजनामा समुदाय तहमा कुष्ठरोगका विविध पक्षबारे जनचेतना अभिवृद्धि गर्ने कुरालाई विशेष जोड दिइएको छ । त्यसैगरी रोगका बिरामीहरुको पहिचान गर्न र समाजमा नखुलेका बिरामीहरुलाई स्वास्थ्य संस्थासम्म ल्याइपु¥याउन स्थानीय स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि कार्यक्रम अघि सारिएको छ । कुष्ठरोगलाई यसबाट प्रभावितहरुको समस्याको रुपमा मात्र नलिईकन यो समस्यालाई सबैले साझा रुपमा ग्रहण गर्ने र यसको समाधानको लागि पनि सबैले महत्वपूर्ण भूमिका निर्वाहको रणनीति आइएनएफको रहेको आइएनफएका मेडिकल सर्भिसेज डाइरेक्टर डा अरुण कुमार बुढाले बताउनुभयो । आइएनएफको रणनीतिक योजनाको शुभारम्भ गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कुष्ठरोग अन्य रोगहरु सरह सामान्य भएको र उपचार सम्भव छ भन्ने जनचेतना वृद्धि गर्नुपर्ने बताउनुभयो । कुष्ठरोगका बिरामीहरुलाई समाजमा गरिने व्यवहारलाई जनचेतनामुलक कार्यक्रम सहित परिर्वतन ल्याउन सके बिरामीहरुको रोगसँग लड्न सक्ने क्षमता विकास हुने उहाँले बताउनुभयो । मुख्यमन्त्री पाण्डेले कुष्ठरोगका बिरामीहरुप्रति विभेद गर्न नहुनेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,“कुष्ठरोग पनि साधारण रोग हो र उपचार सम्भव छ भनेर जनचेतना बढाउनु आवश्यक  छ।  बिरामीलार्ई डिप्रेशन हुने गरी व्यवहार गर्नुहुँदैन । विरामीको उच्च मनोवल वृद्धि गर्नका लागि समाजले गर्ने व्यवहार परिर्वतन गर्नु आवश्यक छ ।” मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको म्याग्दी र नवलपरासीमा अन्य जिल्लाका तुलनामा कुष्ठरोगीहरु बढी रहेकाले रोग निवारण र रोगीहरुको सेवाका लागि आइएनएफले सञ्चालन गरेको अस्पतालले ठूलो योगदान गरेको उल्लेख गर्नुभयो । कुष्ठरोग मुक्त अभियानमा प्रदेश सरकारले समेत सहकार्य गर्ने मुख्यमन्त्रीले प्रतिवद्धता जनाउनुभयो । प्रदेश सरकारले १० वर्षमुनि र ६० वर्षमाथिका नागरिकहरुको सरकारी अस्पतालमा निःशुल्क उपचारको प्रवन्ध गर्ने गरी कार्यक्रम सञ्चालनको तयारी गरेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा समाज कल्याण परिषद्का सदस्य सचिव मनोज भट्टले आइएनएफले सुरु  गरेको कार्यक्रमबाट सरकारको कुष्ठरोग उन्मुलनको नीतिलाई सहयोग पुग्ने बताउनुभयो ।  उहाँले कुष्ठरोग शुन्यताका लागि सबै पक्षले धेरै मिहिनेत गर्नुपर्ने खाँचो औँल्याउनुभयो । गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष रामप्रसाद सुवेदीले गैर सरकारी संस्थाहरु सरकारको प्रतिस्पर्धी नभई सहयोगी हात मात्र रहेको बताउनुभयो । गैरसरकारी क्षेत्रबाट कुष्ठरोगको उपचारमा प्रदान गरिएको सेवा अत्यन्त उत्कृष्ट रहेको उहाँले बताउनुभयो । कार्यक्रममा पोखराको हरियोखर्क अस्पताल परिसरमा कुष्ठरोगका विरामीको उपचारका लागि लागि सञ्चालनमा ल्याइएको ‘आइलीन एण्ड बेट्टी सेन्टर’ भवनको उद्घाटन गरिएको छ । हरियोखर्क हस्पतालमा हाल १०० बेडमा कुष्ठरोगीहरुको उपचार हुँदै आएको छ ।