काठमाडौं: महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा बन्द गरेको छ।  अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले आजदेखि स्वास्थ्य बिमामा...

म्याग्दी:    हिमाली जिल्ला म्याग्दीलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्थायित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ म्याग्दीलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । जिल्लाका छ वटै स्थानीय तहका ४५ वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो । उहाँका अनुसार राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेरभित्र सबै बालबालिकाले पूर्णरुपमा खोप प्राप्त गरेको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।  हाल जिल्लामा भएका १५ महिना पूरा भई ५९ मुनिका बालबालिकाहरुको सर्वे गर्दा समेत सबैले खोप पाएको सुनिश्चित भएपछि जिल्लालाई सुनिश्चित जिल्ला घोषणा गरिएको हो। “म्याग्दी जिल्लालाई पहिलो पटक २०७१ चैत १५ गते सालमा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो । अहिले स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएपछि जिल्लालाई पनि सुनिश्चितताको दिगोपन घोषणा गरिएको हो,” उहाँले भन्नुभयो । नेपाल सरकारले १३ वटा सरुवा रोग क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी, हेमोफिलस इन्फ्लुएञ्जा बी, पोलियो, दादुरा, रुबेला, निमोनिया, मेनिन्जाइटिस र रोटा भाइरसबाट हुने पखाला र टाइफाइड रोगविरुद्ध तथा गर्भवती महिलाका लागि टिटी खोप लगाउने गरेको जनाइएको छ । म्याग्दीमा बेनी अस्पताल, एक सय १७ खोप केन्द्र, एउटा प्राथमिक स्वास्थ्य केन्द्र, ३९ वटा स्वास्थ्यचौकी, २७ वटा सामुदायिक स्वास्थ्य एकाइ, चार वटा सहरी स्वास्थ्य केन्द्र, तीन सय ७२ महिला स्वास्थ्य स्वयंसेविका छन् ।

पोखरा:  पोखरा महानगरपालिका १० स्थित अमरसिंहमा ‘अमर पोलिक्लिनिक’ सञ्चालनमा आएको छ ।   डा. सुस्मित काफ्ले, डा. मनिष किरण श्रेष्ठ (पोखराको एकमात्र इन्टरभेन्सन रेडियोजोलिस्ट) डा. हरिकृष्ण भण्डारी, मिलन बहादुर अधिकारी र डा. मदन थापाको सँयुक्त लगानीमा आजदेखि पोलिक्लिक सञ्चालनमा ल्याइएको हो ।   सो पोलिक्निकको उद्घाटन पोखरा १० का वडाध्यक्ष राजेश गुरुङले  गरे  । सो अवसरमा बोल्दै वडाध्यक्ष गुरुङले व्यवसायिक सफलताको कामना गरे । उनले सेवाग्राहीलाई सर्वसुलभ सेवा प्रदान गर्नुपर्ने उल्लेख गर्दै स्वास्थ्यको क्षेत्रमा नयाँ आयाम थपेको धारणा राखेका थिए ।   यस्तै डा. बुद्धि बहादुर थापाले स्वास्थ्यको क्षेत्रमा नवीनतम तरिकाले सेवा प्रदान गर्नुपर्ने बताए ।    आजदेखि सञ्चालनमा आएको पोलिक्निकमा अब्जर्भेसन रुम, ओपिडी सेवा (सबै विभाग), भिडियो एक्सरे, एक्सरे (बिआर), मुटुको भिडियो एक्सरे, इसिजी, गुणस्तरीय ल्याब सेवा, फार्मेसी सेवाको व्यवस्था रहेको छ ।   पोलिक्निकका सञ्चालक तथा डा. सुस्मित काफ्लेका अनुसार सबै विभागको विशेषज्ञ तथा चिकित्सकको व्यवस्था रहेको छ ।    

पोखरा:  पोखराको सफल निरमाया दोहोरी साँझले १९ औं वार्षिक उत्सव कार्यक्रम गर्ने भएको छ ।    चिप्लेढुंगाबाट लामो समय देखि लोकदोहोरीको संरक्षण तथा सम्बद्र्धनमा क्रियाशील व्यवसायिक संस्थाले असार १४ देखि १७ गते सम्म विशेष कार्यक्रमको आयोजना गरेको हो । राष्ट्रिय कलाकार एवम् नियमित कलाकाहरुको प्रस्तुति सहित वार्षिक उत्सव कार्यक्रम गर्न लागिएको संचालक जीवन गुरुङले जानकारी गराए । सो अवसरमा साँझ ७ बजेदेख रातिको १ः०० बजे सम्म ग्राहकलाई सेवा प्रवाह गरिनेछ ।    वार्षिक उत्सव कार्यक्रममा लोकदोहोरी गायक गायिका ईश्वर सिंह, चिज गुरुङ(लन्ठु),निर्जला गुरुङ, सुमन थापा मगरको विशेष प्रस्तुति रहनेछ । साथै नियमित कलाकारहरु टेक क्षेत्री, टस बहादुर गुुरुङ, गुप्त गुरुङ, विनोद गुरुङ, पाण्डव गुरुङ, प्रशान्त तामाङ, किसान नेपाली, याम बहादुर नेपाली, युमिन्द्र गुरुङ, सन्देश गायक, सञ्जय गायक, ईन्द्रा गुरुङ, बत्ति कुमारी थापा, चिना थापा, कल्पना आले , पुजा तामाङ, सुनिमा गुरुङ, सरिता राई र ललित पुनको प्रस्तति रहनेछ । कार्यक्रममा विभिन्न आकर्षक नृत्यहरु समेत प्रस्तुति गरिने गुरुङले जनाएका छन् ।    दोहोरी साँझले यसअघि पनि वार्षिक उत्सवका समयमा विभिन्न सामाजिक एवम् सांगीतिक कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । सेवाग्राहीहरुको विश्वासले नै दोहोरी साँझ १९ औं वर्षमा प्रवेश गर्न सफल भएको गुरुङको भनाई छ ।    आगामी समय सेवाग्राहीलाई सन्तुष्ट बनाउन दोहोरी साँझलाई थप परिमार्जित गर्दै लैजाने उनले बताएका छन् । नेपाली लोकगीत र दोहोरी गीतको संरक्षण सम्बद्र्धनमा आफुहरु अनवरत खटिरहने उनले बताए ।   

पोखरा:    पोखरामा सम्पन्न भएको निशुल्क स्वास्थ्य शिविरमा १ सय ९ जनाले सेवा लिएका छन् ।  समानताको लागि आवाज भन्ने मूल नारासहित पोखरामा क्रियाशिल रहेको ‘आवाज नामक संस्था’ले पोखरा महानगरपालिका १४ विजय वस्ती चाउँथेमा शनिबार आयोजना गरेको नाक, कान र घाँटी निशुल्क स्वास्थ्य शिविरमा १ सय ९ जनाले सेवा लिएका हुन् ।   पोखरा ईएनटी अस्पतालको सहकार्यमा आवाज नामक संस्थाले निशुल्क स्वास्थ्य शिविर पोखरा १४ विजयवस्तीमा सम्पन्न गरेको संस्थाका अध्यक्ष प्रकाश सुनारले जानकारी दिए ।  निशुल्क स्वास्थ्य शिविरमा नाक, कान र घाँटीमा समस्या देखिएका बिरामीहरुलाई ‘आवाज संस्था’ले निशुल्क औषधि समेत वितरण गरेको छ ।  पोखरा ईएनटी अस्पताल तथा नाक, कान, घाँटी विशेषज्ञ डा. राजेन्द्र नेपाली र मेडिकल अफिसर अलिसा सुर्खेटीले स्वास्थ्य शिविरमा बिरामीको चेकजाँच गरेका थिए । 

काठमाडौं:   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भ्रूणको लिङ्ग पहिचानसम्बन्धी कुनै पनि कार्य नगर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । मन्त्रालयका उपसचिव एकदेव खनालले सरकारी, निजी तथा सामुदायिक स्वास्थ्य संस्थालाई पत्राचार गर्दै भ्रूणको लिङ्ग पहिचानसम्बन्धी कुनै पनि कार्य नगर्नरनगराउन निर्देशन दिनुभएको हो ।  मन्त्रालयले कसैले गर्भमा रहेको भ्रूणको लिङ्ग पहिचान गरी कुनै कार्य गर्न/गराउन नहुने, यदि यस्तो कार्य गरे वा गराएमा तीन महिनादेखि एक वर्षसम्म कैद सजाय हुने परिपत्रमा उल्लेख गर्दै त्यो कुरा स्वास्थ्य संस्था एवं प्रयोशागाला परिसरमा टाँस्न पनि भनिएको छ ।  मन्त्रालयले राष्ट्रिय जनगणना, २०७८ को नतिजामा लैङ्गिक अनुपातमा असमानता देखापरेको र विभेदपूर्ण लिङ्ग छनोटको अन्त्यका लागि राष्ट्रिय रणनीतिमा विभेदपूर्ण लिङ्ग छनोट अन्त्य गर्न लिङ्ग पहिचान गर्न नपाइने उल्लेख गरिएको छ ।   मुलुकी संहिता, २०७५ को दफा १८८ को उपदफा ७ र ८ मा एवं सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १७ मा गर्भको लिङ्ग पहिचान गर्ने कार्यलाई कानुनत: दण्डनीय अपराध मानेको हुँदा स्वास्थ्य संस्थालाई भ्रूणको लिङ्ग पहिचान नगर्न भनिएको छ । 

पोखरा:   लियो क्लब अफ पोखरा नर्थको आयोजनामा कास्कीको माछापुच्छ्रे  गा.पा–१, खहरेटोलमा रहेको श्री शारदा माध्यमिक विद्यालयमा बिहीबार निःशुल्क  दन्त शिविर सम्पन्न भएको छ । कान्तिपुर डेन्टल हस्पिटल न्युरोडको प्राविधिक सहयोगमा भएको दन्त शिविरमा विद्यालयका छात्रा–छात्र,शिक्षक–शिक्षिका गरि १९५ जनाले दंन्त स्वास्थ्य जाँच गराएका थिए । परिक्षण गराएका मध्य १० प्रतिशतमा स्केलिङ,आर.सि.टि,दात झिक्नुपन, दाँत भर्न पर्ने, समस्याहरु देखिएको र अन्यको दंन्त स्वास्थ्य अवस्था सामान्य रहेको कान्तिपुर डेन्टलका सि.ई.व प्रतिकमान श्रेष्ठले जानकारी दिए ।  पब्लिक हेल्थ अफिसर आयुशा अधिकारीले दन्त शिविरमा परिक्षण गराएका विरामीलाई अस्पताल जाँदा १५ प्रतिशतसम्म छुट दिने घोषण गरे । सोहि अवसरमा विद्यालयका प्रधानाध्यापक चाहना पुनले विद्यार्थीको दंन्त स्वास्थ्य परिक्षण सहतिको जनचेतना कार्यक्रम गरि सहयोग गर्नुभएकोमा धन्यवाद ब्यक्त गरिन ।  

काठमाडौं:   सरकारले वर्षयामा देखिने स्वास्थ्य समस्याबाट बच्न पानी उमालेर मात्र पिउन आग्रह गरेको छ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकाल्दै नेपालमा मनसुन भित्रिएसँगै विभिन्न स्थानमा दिनहुँ जसो वर्ष भइरहेको र वर्षासँगै झाडापखाला, हैजा, डेंगुको जोखिम रहने हुँदा यस्तो स्वास्थ्य समस्याबाट बच्न आग्रह गरेको हो।  झाडापखाला, हैजाबाट बच्न मन्त्रालयले सधैँ पानी उमाले वा क्लोरिन झोल प्रयोग गरेर मात्र पिउने र व्यक्तिगत सरसफाइमा ध्यान दिन आग्रह गरेको छ। त्यस्तै बासी सडेगलेका खानेकुरा नखाने, खानालाई छोपेर राख्ने, काँचै खान मिल्ने फलफूल र तरकारीको सरसफाइलाई विशेष ध्यान पुर्‍याउन मन्त्रालयले अनुरोध गरेको छ।  मन्त्रालयले खुला रूपमा दिसा पिसाब नगर्ने, चर्पी अनिवार्य प्रयोग गर्ने र दिसा पिसाब गइसिकेपछि साबुन पानीले मिचामिची हात धोएर सुरक्षित रहन आग्रह गरेको छ।  साथै एडीज जातका लामखुट्टेको (कालो सेतो छिर्केमिर्के देखिने) टोकाइबाट सर्ने डेंगु रोगबाट बच्न आफ्नो घर वरपर तथा कार्यस्थलमा सफा पानी जमेको ठाउँमा लामखुट्टेले फूल पार्ने भएको हुँदा पानी जम्न नदिन सुझाव दिएको छ।  घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हालौँ, जुनसुकै बेला सुत्दा झुलको प्रयोग गर्ने। पुरै शरीर ढाक्ने लुगा लगाउन मन्त्रालयले अनुरोध गरेको छ।  मन्त्रालयले खाद्यान्न तथा खानेपानी वितरण सम्पूर्ण सरोकारवाला निकाय तथा व्यवसायीलाई सचेत रहन आग्रह गरेको छ।  

पोखरा:   कञ्चल क्यापिटल प्रालिले ‘रक्तदान जीवनदान’ भन्ने नारासहित रक्तदानको आयोजना गर्ने भएको छ ।   संस्थाको चौथो वार्षिकोत्सवको अवसरमा आगामी ४ गते सोमबार पोखरा २ अर्चलबोटस्थित कञ्चन डिपार्टमेन्टको प्रागंणमा आयोजना गर्ने कञ्चन क्यापिटलका अध्यक्ष विमल गुभाजुले जानकारी दिए ।  ‘हामीले संस्थाको वार्षिकोत्सवको अवसरमा रचनात्मक कार्यक्रम गरौ भन्ने थियो, उनले भने, ‘अहिले पोखरामा रगतको अभाव भएको बुझिएकाले रक्तदानको आयोजना गर्न लागेका हौं ।’   उनका अनुसार संस्थाले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा रक्तदान आयोजना गर्दै आएको  छ ।   सोमबार बिहान ८ बजेदेखि रक्तदान सुरु हुने छ भने रक्तसञ्चार केन्द्र रामघाटले प्राविधिक सहयोग गर्ने छ ।   

पोखरा:    सशस्त्र प्रहरी बल नेपाल नं ४ मुक्तिनाथ बाहिनी मुख्यालय पोखराले आफ्नो २२ औं स्थापना दिवसमा आयोजित साप्ताहिक कार्यक्रम अन्र्तगत निशुल्क स्वास्थ्य शिविरसँगै रक्तदान कार्यक्रम गरेर सम्पन्न गरेको छ ।     सशस्त्र प्रहरी बल नेपाल न. ४ मुक्तिनाथ बाहिनी मुख्यालयले स्थापना दिवसको अवसरमा नं २४ हेडक्वार्टर कालिका मालेपाटनमा आयोजित निशुल्क स्वास्थ्य शिविरमा ४ सय ७६ जनाले स्वास्थ्य जाँच गरेका छन् । नेपाल एपिएफ अस्पताल र गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको सहयोगमा सञ्जालित निशुल्क स्वास्थ्य शिविरमा साधारण स्वास्थ्य जाँच २ सय ३७ जना, ल्याव जाँच १ सय २९ जना र महिलाहरुको पाठेघरको हुन सक्ने क्यान्सरको जाँच ५० जनाले गरेका छन् । यस्तै रक्तदान कार्यक्रममा ३१ युनिट रगत संकलन भएको सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनीका प्रहरी निरीक्षक भिमबहादुर क्षेत्रीले जानकारी दिए ।  उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय पोखराको २२ औं स्थापनाका दिवसको अवसरमा साप्ताहिक कार्यक्रम जेठ २५ गतेदेखि सुरु भएको हो । साप्ताहिक कार्यक्रम अन्र्तगत मुक्तिनाथ बाहिनीले आन्तरिक प्रतियोगितासँगै सरसफाईको कार्यक्रम सञ्चालन गरेको हो ।  निशुल्क स्वास्थ्य शिविरमा सशस्त्र प्रहरीका कर्मचारीसँगै स्थानीयहरुको स्वास्थ्य जाँच गरिएको थियो ।  कार्यक्रममा सशस्त्र प्रहरी बलका डिआईजी कालिदास धौबजीले पोखरामा सञ्चालन गर्न लागिएको फिल्ड हस्पिटलले आफ्नो कर्मचारीसँग स्थानीय जनताको स्वास्थ्य सेवाको पहुँचलाई समेत सहज बनाउने बताए । उनले पोखरामा सञ्चालन हुन लागेको फिल्ड हस्पिटलले २ वटा अत्याधुनिक एम्बुलेन्स सहित नागरिकको स्वास्थ्य क्षेत्रसँग जोडिने बताए ।  यस्तै गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिब बिनोद बिन्दु शर्माले विपदसँग जोडिएको स्वास्थ्य क्षेत्र र सशस्त्र प्रहरी बल नेपालको अझै जनतासँगको सेवाले मजबुत सेवा जनतामा लिएर अगाडि बढ्ने बताए ।