पोखरा: इन्टरनेशनल नेपाल फेलोशिप(आइएनएफ) नेपालले कुष्ठरोगमुक्र समाजका लागि शुन्य कुष्ठरोग रणनीति सुरु गरेको छ । नेपाल सरकारले सन् २०३० सम्ममा कुष्ठरोगलाई पूर्ण रुपमा निवारण गरी कुष्ठरोमुक्त नेपाल बनाउने लक्ष्य लिएकामा सो लक्ष्यलाई साकार पार्न आइएनएफले रणीनितिक योजना मार्फत सहयोग गर्ने भएको हो । आइएनएफका कार्यकारी अध्यक्ष रामचन्द्र तिमोथीले सरकारको कुष्ठरोग निवारणको अभियानलाई आइएफनले पूर्ण सहयोग गर्ने गरी कार्ययोजना बनाइएको बताउनुभयो । नेपालमा कुष्ठरोगको बिरामी पत्ता लगाउनेदेखि रोगको उपचार गर्न, उनीहरूलाई पुनस्र्थापना र कुष्ठरोगको प्रकोप दरमा कमी ल्याई मुलुकलाई राष्ट्रिय स्तरमा कुष्ठरोग निवारण भएको घोषणा गर्ने स्थितिसम्म ल्याई पु¥याउन आइएनफनले योगदान गरेको छ । अध्यक्ष तिमोथीले भन्नुभयो“नेपाल सरकारले लिएको लक्ष्य पूरा गर्न आईएनएफ नेपाल प्रतिबद्ध छ । सरकारको लक्ष्यलाई योगदान गर्न र कुष्ठरोगमुक्त समाजको परिकल्पनाका लागि रणनीतिक योजना निर्माण गरेका हौँ ।” रणनीतिक योजनामा समुदाय तहमा कुष्ठरोगका विविध पक्षबारे जनचेतना अभिवृद्धि गर्ने कुरालाई विशेष जोड दिइएको छ । त्यसैगरी रोगका बिरामीहरुको पहिचान गर्न र समाजमा नखुलेका बिरामीहरुलाई स्वास्थ्य संस्थासम्म ल्याइपु¥याउन स्थानीय स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि कार्यक्रम अघि सारिएको छ । कुष्ठरोगलाई यसबाट प्रभावितहरुको समस्याको रुपमा मात्र नलिईकन यो समस्यालाई सबैले साझा रुपमा ग्रहण गर्ने र यसको समाधानको लागि पनि सबैले महत्वपूर्ण भूमिका निर्वाहको रणनीति आइएनएफको रहेको आइएनफएका मेडिकल सर्भिसेज डाइरेक्टर डा अरुण कुमार बुढाले बताउनुभयो । आइएनएफको रणनीतिक योजनाको शुभारम्भ गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कुष्ठरोग अन्य रोगहरु सरह सामान्य भएको र उपचार सम्भव छ भन्ने जनचेतना वृद्धि गर्नुपर्ने बताउनुभयो । कुष्ठरोगका बिरामीहरुलाई समाजमा गरिने व्यवहारलाई जनचेतनामुलक कार्यक्रम सहित परिर्वतन ल्याउन सके बिरामीहरुको रोगसँग लड्न सक्ने क्षमता विकास हुने उहाँले बताउनुभयो । मुख्यमन्त्री पाण्डेले कुष्ठरोगका बिरामीहरुप्रति विभेद गर्न नहुनेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,“कुष्ठरोग पनि साधारण रोग हो र उपचार सम्भव छ भनेर जनचेतना बढाउनु आवश्यक छ। बिरामीलार्ई डिप्रेशन हुने गरी व्यवहार गर्नुहुँदैन । विरामीको उच्च मनोवल वृद्धि गर्नका लागि समाजले गर्ने व्यवहार परिर्वतन गर्नु आवश्यक छ ।” मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको म्याग्दी र नवलपरासीमा अन्य जिल्लाका तुलनामा कुष्ठरोगीहरु बढी रहेकाले रोग निवारण र रोगीहरुको सेवाका लागि आइएनएफले सञ्चालन गरेको अस्पतालले ठूलो योगदान गरेको उल्लेख गर्नुभयो । कुष्ठरोग मुक्त अभियानमा प्रदेश सरकारले समेत सहकार्य गर्ने मुख्यमन्त्रीले प्रतिवद्धता जनाउनुभयो । प्रदेश सरकारले १० वर्षमुनि र ६० वर्षमाथिका नागरिकहरुको सरकारी अस्पतालमा निःशुल्क उपचारको प्रवन्ध गर्ने गरी कार्यक्रम सञ्चालनको तयारी गरेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा समाज कल्याण परिषद्का सदस्य सचिव मनोज भट्टले आइएनएफले सुरु गरेको कार्यक्रमबाट सरकारको कुष्ठरोग उन्मुलनको नीतिलाई सहयोग पुग्ने बताउनुभयो । उहाँले कुष्ठरोग शुन्यताका लागि सबै पक्षले धेरै मिहिनेत गर्नुपर्ने खाँचो औँल्याउनुभयो । गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष रामप्रसाद सुवेदीले गैर सरकारी संस्थाहरु सरकारको प्रतिस्पर्धी नभई सहयोगी हात मात्र रहेको बताउनुभयो । गैरसरकारी क्षेत्रबाट कुष्ठरोगको उपचारमा प्रदान गरिएको सेवा अत्यन्त उत्कृष्ट रहेको उहाँले बताउनुभयो । कार्यक्रममा पोखराको हरियोखर्क अस्पताल परिसरमा कुष्ठरोगका विरामीको उपचारका लागि लागि सञ्चालनमा ल्याइएको ‘आइलीन एण्ड बेट्टी सेन्टर’ भवनको उद्घाटन गरिएको छ । हरियोखर्क हस्पतालमा हाल १०० बेडमा कुष्ठरोगीहरुको उपचार हुँदै आएको छ ।
पोखरा: गण्डकी प्रदेश सरकारले गर्ववती, सुत्केरी महिला तथा नवजात शिशुहरुलाई आपत्कालिन स्वास्थ्य अवस्थामा उद्धारका लागि ‘एयर एम्बुलेन्स’को व्यवस्था गर्ने भएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा उक्त व्यवस्था गर्ने बताएका हुन् । ‘प्रदेश सरकारले गर्ववती, सुत्केरी महिला तथा नवजात शिशुहरुलाई आपत्कालिन स्वास्थ्य अवस्थामा उद्धारका लागि ‘एयर एम्बुलेन्स’को व्यवस्था गर्नेछ, गुरुङले भने, ‘ स्वास्थ्य संस्था बाहिर सुत्केरी हुने दरलाई शून्यमा झार्दै संस्थागत सुत्केरी प्रदेश बनाउ विशेष अभियानको थालनी गर्नेछौं ।’ उनले स्थानीय तहसँगको समन्वयमा ग्रामीण अल्ट्रा साउण्ड सेवालाई विस्तार गर्ने समेत बताएका छन् ।
पोखरा: गण्डकी प्रदेश सरकारले दश वर्षमुनिका बालबालिका र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई प्रदेश सरकार मातहतका अस्पताल तथा आयुर्वेद्ध अस्पतालहरमा ओपिडी र प्रयोगशाला परिक्षण निशुल्क गर्ने भएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा प्रदेश सरकार मातहतका अस्पताल र आयुर्वेद स्वास्थ्य केन्द्रहरुमा १० वर्षमुनिका बालबालिका र ६० वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई ओपिडी सेवा र प्रयोगशाला परिक्षण निशुल्क गर्ने बताएका हुन् । उनले ‘गण्डकीमा डायलायसिस सेवाः नागरिकको स्वास्थ्यमा टेवा’ भन्ने अवधारणा अनुसार डायलायसिस सेवालाई झन्झटमुक्त बनाउँदै पालो कुर्नुपर्ने अवस्थालाई शून्यमा झार्ने बताएका हुन् ।
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण दर घट्दै गएपछि स्वेच्छिक रूपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा। समीरकुमार अधिकारीले एक सूचना जारी गर्दै सङ्क्रमण दर घट्दै गएपछि कोभिड–१९को मापदण्ड परिमार्जन गर्दै मास्कको प्रयोगलाई स्वेच्छिक बनाएको बताउनुभयो । यसअघिसम्म मास्क प्रयोग अनिवार्य थियो । मन्त्रालयले सङ्क्रमणदर न्यून भएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रुले कोभिड–१९ को परीक्षण गरेको र कोभिड–१९ को विरुद्धको खोप लगाएको प्रमाण आवश्यक नभएको समेत बताउनुभयो । उहाँले अब कोभिड–१९ को कडाइको रूपमा मापदण्ड पालना गर्नुपर्नेलाई सहज गर्दै अन्तर्राष्ट्रिय नाकामा खोप कार्ड र परीक्षण कार्ड आवश्यक नपर्ने जानकारी दिनुभयो । मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण दर र अस्पतालमा भर्ना दरमा उल्लेखनीय कमी आएको र अधिकांश मानिसले कोभिड–१९ को पूर्णमात्रा खोप लगाइसकेको अवस्था र छिमेकी मुलुक भारतमा पनि कोभिड–१९ को सङ्क्रमण दर न्यून रहेकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रुले कोभिड–१९ परीक्षण र कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र चाहिने व्यवस्था हटाएको हो । मन्त्रालयले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका तत्कालीन निर्देशक डा। चुमनलाल दास संयोजकत्वमा गठित विज्ञ टोलीले अर्को सूचना नभएसम्मका लागि कोरोना परीक्षण र खोप लगाएको प्रमाणपत्र नचाहिने सिफारिस गरेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसका बिरामीलाई नियमित निगरानी र जोखिममा रहेका शङ्कास्पद यात्रुको स्क्रिनिङ भने गरिने उल्लेख गरेको छ । मन्त्रालयले कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट भएको सहयोगप्रति कृतज्ञता व्यक्त गरेको छ ।
काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ६८ स्वास्थ्य संस्थालाई कारबाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको ध्यानाकर्षण गराएका छन् । मन्त्रीले कारबाही सुरु नगरे आफूले नै ती स्वास्थ्य संस्थाको प्रशासन कक्ष बन्द गराइदिने चेतावनी उनले दिएका छन् । विपन्न एवम् लक्षित वर्गलाई कानुन बमोजिम उपचारमा दिएको छुट सुविधाको विवरण महानगरले माग्दा पनि उपलब्ध नगराएका ६८ वटा स्वास्थ्य संस्थालाई कारबाही गर्न मेयर शाहले मन्त्री बस्नेतलाई भेटेर ध्यानाकर्षण गराएका हुन् । स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ एवं प्रचलित स्वास्थ्य सम्बन्धी कानुनमा विपन्न एवं लक्षित वर्गहरुलाई कूल शैयाको १० प्रतिशत छुट्याई निःशुल्क उपचार गर्नुपर्ने लगायतका स्वास्थ्य सुविधाहरु उल्लेख गरिएको छ । मेयर शाहका अनुसार काठमाडौं महानगरपालिका क्षेत्र भित्र रहेका अस्पताल लगायत विभिन्न स्वास्थ्य संस्थाहरुसँग लक्षित वर्गलाई उपलब्ध गराइएको छुट सुविधाको विवरण माग गरिएको थियो । यही जेठ ६ गते सूचना जारी गरेर छुट सुविधा दिएको विवरण माग्दा समेत ६८ स्वास्थ्य संस्थाले उपलब्ध नगराएको समेत मेयर शाहको भनाइ छ ।
बाँकेको नेपालगन्जमा रहेको भेरी अस्पतालले आकस्मिक सेवाको स्तरोन्नति गरेको छ । अहिलेसम्म १५ शय्या रहेकामा थपेर अब आकस्मिक सेवामा ३० शय्या पुर्याएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. बद्री चापागाईँका अनुसार शय्या थपेपछि बिरामीलाई राहत पुगेको छ । झण्डै ३४ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको नयाँ भवन असार मसान्तसम्म पूरा भएपछि अस्पतालमा शय्याको क्षमता बढाएर तीन सय पुर्याउने तयारी रहेको पनि डा. चापागाईँकोे भनाइ छ । आकस्मिक कक्षमा बिरामीको अवस्था अनुसार रातो, पहेँलो र हरियो शय्या तथा ठाउँको वर्गीकरण गरिएको छ । सरकारको सङ्घीय योजना कार्यान्वयन एकाइबाट भवन निर्माणको काम भइरहेको छ ।
पोखरा: चेम्बर अफ कमर्स दक्षिण क्षेत्र इकाई पोखरा महानगरपालिका १७, २१, २२ र ३३ ले वृहत रत्तदानको आयोजना गर्ने भएको छ । ‘रक्तदान जीवनदान, जीवनदान महादान, रक्तदान गरौ पुण्य कमाऔं’ भन्ने नारासहित आगामी १३ गते शनिबार बिरौटाचोकमा रक्तदानको आयोजना गर्न लागको आयोजक संस्थाका अध्यक्ष गोकर्ण क्षेत्रीले जानकारी दिए । उनले पोखरा क्षेत्रमा भएको रक्तअभावको समस्यालाई मध्यजनर गर्दै वृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए । उनका अनुसार बिरौटा चोकमा हुने रक्तदान विहान ७ बजे सुरु हुनेछ ।
सुनसरी: नेपाल नेत्रज्योति सङ्घ पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रम विराटनगर आँखा अस्पताल र देवानगञ्ज गाउँपालिका सुनसरीको संयुक्त आयोजनामा देवानगञ्ज गाउँपालिकामा दुईदिने निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सम्पन्न भएको छ । नुरदुबई फाउन्डेसनको आर्थिक सहयोगमा सम्पन्न आँखा शिविरमार्फत दुई हजार १९९ जनाको आँखा परीक्षण गर्दा २४२ जनामा मोतिबिन्दुको समस्या देखिएको छ । अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. रक्षा पन्तले बुधबारसम्ममा १५४ बिरामीको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिसकिएको र बाँकी बिरामी बिरामीको निःशुल्क शल्यक्रिया गरिने जानकारी दिए । यही जेठ १ र २ गते देवानगञ्जमा सञ्चालित उक्त शिविरमार्फत दृष्टिदोष भएका ९१९ बिरामीलाई निःशुल्क चस्मासमेत वितरण गरिएको थियो । विराटनगर आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक मोहम्मद रफिकले शिविरमा मोतिबिन्दु देखिएका बिरामीलाई विराटनगर आँखा अस्पतालमा ल्याई निःशुल्क शल्यक्रिया गरिएको जानकारी दिनुभयो । अस्पतालका प्रबन्धक कुमार पृथुले शिविरमार्फत सुनसरी जिल्लासहितका छिमेकी जिल्लाका र सीमा क्षेत्रका भारतका नागरिकसमेत लाभान्वित भएको बताए र विराटनगर आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ डा. सुमित मिश्र र डा. प्रिति अग्रवालको नेतृत्वको टोलीले शिविरमा सेवा प्रवाह गरेकी थिइन् । नेपाल नेत्रज्योति सङ्घ पूर्वाञ्चल आँखा स्वास्थ्य कार्यक्रमअन्तर्गत हाल दुई आँखा अस्पताल र ३१ आँखा उपचार केन्द्र सञ्चालनमा छन् । सन् २०२२ मा पूर्वाञ्चल आँखा स्वास्थ्य कार्यक्रमअन्तर्गत सञ्चालित अस्पताल, आँखा उपचार केन्द्र तथा विभिन्न बाह्य कार्यक्रममार्फत १२ लाख १३ हजार ३२६ जनाको आँखा जाँच गरी एक लाख ३१ हजार ८४६ जनाको शल्यक्रिया गरिएको थियो । त्यस्तै, सन् २०२२ मा १५४ निःशुल्क आँखा शिविर सञ्चालन गरी छ हजार १३० जनाको निःशुल्क मोतिबिन्दुको शल्यक्रियासमेत गरिएको थियो । पूर्वाञ्चल आँखा उपचार कार्यक्रमका प्रमुख प्रशासक सुधीर ठाकुरले पहुँच र आर्थिक अभावमा कोही पनि नागरिक दृष्टिविहीन बस्नु नपरोस् र सन् २०३० सम्ममा नेपालबाट उपचारपछि निको हुने अन्धोपन निवारण गर्ने सरकारको योजनालाई सफल बनाउने गरी आफ्नो सेवालाई विस्तार गरिरहेको जानकारी दिए । नेत्रज्योति सङ्घका केन्द्रीय सदस्य एवम् विराटनगर आँखा अस्पताल व्यवस्थापन समिति अध्यक्ष पद्मनारायण चौधरीले नेपाल नेत्रज्योति सङ्घले सन् २०३० सम्ममा नेपालका हरेक स्थानीय तहसम्म आँखा स्वास्थ्य सेवालाई विस्तार गर्ने लक्ष्य लिएकाले सोहीअनुरुप अहिले काम अगाडि बढिरहेको बताएका छन् ।

