काठमाडौं: देशभरका अस्पतालको अत्यावश्यक सेवा बन्द गरेर आन्दोलनमा रहेको नेपाल चिकित्सक सङ्घ र सरकारबीच वार्ता सुरु भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सरकारका प्रतिनिधि र चिकित्सक सङ्घका प्रतिनिधिबीच वार्ता भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । चिकित्सक सङ्घले स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टी गर्न माग गरेको छ । अस्ति शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गर्दा राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलगायत स्वास्थ्यकर्मी घाइते भएका थिए । यही घटनाको विरोधमा चिकित्सक सङ्घले विरोध गर्दै आज आन्दोलन गरेको हो । आन्दोलनले बिरामी भने मर्कामा परेका छन् । अत्यावश्यक सेवा बाहेक अन्य उपचारका लागि अस्पताल पुगेका बिरामी त्यसै फर्किरहेका छन् । बिहान केहीबेर बिरामीले पनि उपचार पाउनु माग गर्दै वीर अस्पताल अगाडि प्रदर्शन गरेका थिए। स्वास्थ्य मन्त्रालयले आन्दोलन फिर्ता गरी बिरामीको उपचारमा फर्किन चिकित्सक सङ्घलाई आग्रह गरेको थियो । मन्त्रालयले सङ्घको माग र समस्या समाधान गर्न आफूहरु तयार रहेको जनाएको छ ।
बाँके: बाँकेमा दादुरा महामारी फैलिएको करिब एक महिनाको अवधीमा एकजनाको मृत्यु भएको छ भने ३१३ जनामा दादुरा सङ्क्रमण देखिएको छ । दादुराको सबैभन्दा बढि सङ्क्रमित देखिएको नेपालगञ्जमा पछिल्ला केही दिनयता नयाँ विरामी फेला परेका छैनन् । नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले कोभिड महामारी विरुद्धको पूर्वा तयारीसँगै अन्य विपद र महामारी जन्य रोगको पूर्वतयारी गरिएकाले दादुरा–रुवेला रोग नियन्त्रण र रोकथामका लागि सहयोग पुगेको बताउनुभयो । “विपद पूर्व तयारी भएकाले महामारी फैलिनासाथ तत्काल रोकथाम र नियन्त्रणका लागि परिचालित हुन सक्यौ,” स्वास्थ्य शाखा प्रमुख चन्दले भन्नुभयो, “ छिटोभन्दा छिटो लक्षित बालबालिकालाई दादुराविरुद्धको खोप दिन समेत पूर्व तयारीका कारण सहज भयो । नेपालगञ्जमा पछिल्ला केही दिनयता दादुराका नयाँ विरामी नभेटिएको स्वास्थ्य शाखा प्रमुख चन्दले बताउनुभयो । नगरभित्र लक्षित उमेर समूहका बालबालिकालाई दादुराविरुद्धको खोप लगाई सकिएको छ । स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत नरेश श्रेष्ठले कोभिड सङ्क्रमण र अहिलेको दादुरा महामारी फरक विषय भए पनि कोभिडपछि सुरु भएको भ्याक्सिन लगाउने कार्यले अहिले बढिभन्दा बढि मानिस भ्याक्सिनमा सहभागी हुनु सकारात्मक भएको बताउनुभयो । “दादुराका बढि सङ्क्रमित फैलिएका नेपालगञ्ज र नरैनापुरमा पछिल्ला दिनमा नयाँ सङ्क्रमित फेला नपर्नु सकारात्मक छ,” श्रेष्ठले भन्नुभयो, “दादुरा पूर्णरुपमा नियन्त्रणमा नआएपनि नियन्त्रण नजिक पुगेको छ ।” जिल्लाभर शुक्रबारसम्म १० जना मात्रै सङ्क्रमित रहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । बाँकेमा जिल्लाभर ६ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दादुराविरुद्धको खोप अभियान चलिरहेको छ । बाँकेमा बैजनाथ र जानकीबाहेक अन्य ६ स्थानीय तहमा दादुरा सङ्क्रमण देखिएको छ । स्वास्थ्य कार्यालयका खोप अधिकृत श्रेष्ठका अनुसार महामारी फैलिएको स्थान वा क्षेत्रमा अन्तिम दादुराका विरामी देखिएको ४२ देखि ४६ दिनसम्म नयाँ विरामी देखा नपरेको अवस्थालाई दादुरा नियन्त्रण भएको मानिन्छ । अर्कोतर्फ खोपले पूर्णरुपमा काम गर्न समेत ३० देखि ४५ दिन समय लाग्ने भएकाले बाँकेमा दादुरा पूर्णरुपमा नियन्त्रण हुन भने अझै केही समय लाग्ने देखिएको छ ।
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले बजारमा गुणस्तरहीन औषधि बिक्री भइरहेको भन्दै अनुगमन बढाउन निर्देशन दिनुभएको छ। मङ्गलबार औषधि व्यवस्था विभागको निरीक्षणमा पुग्नुभएका मन्त्री गिरीले बजारमा छ्यापछ्याप्ती गुणस्तरहीन औषधि बिक्री भइरहेको गुनासो आइरहेको भन्दै सबै ठाउँमा अनुगमन बढाउन विभागलाई निर्देशन दिनुभएको हो। उहाँले भन्नुभयो, “बजारमा अहिले पनि गुणस्तरहीन औषधि छ्यापछ्याप्ती छन्। तपाईँले केही ठाउँमा मात्र अनुगमन गर्दा पनि सात प्रतिशत गुणस्तरहीन औषधि भेटिएको छ। यदि सबै ठाउँमा अनुगमनको दायरा बढाउने हो भने अझ गुणस्तरहीन औषधि भेटिन्छन्।” अनुगमन गर्ने जनशक्ति छैनन् भनेर जनताको स्वास्थ्यमा खेलबाड गर्ने छुट विभागलाई नभएको भन्दै उहाँले प्रभावकारी कार्ययोजना बनाएर जनताले अनुभूत गर्न सक्ने परिणाम मुखी काम गर्न निर्देशन दिनुभएको छ। देशैभरका फार्मेसीको अनुगमन गर्न सातै प्रदेशमा औषधि विभागका कार्यालय स्थापना गर्नुपर्नेमा जोड दिनुभयो। अनुगमन र नियमनलाई प्रभावकारी बनाएर जान ठोस योजनाका साथ विभाग छिटो भन्दा छिटो मन्त्रालय आउन आग्रह गर्दै मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले अत्यावश्यक औषधि उत्पादनमा नेपाल आफैँ जुट्नुपर्नेमा जोड दिनुभयो। उहाँले आत्मनिर्भर बन्ने योजना र कार्ययोजना बनाउनु पर्नेमा जोड दिनुभयो। उहाँले नवीकरण सम्बन्धी काम अनलाइन प्रणालीबाट गराउन पनि निर्देशन दिनुभयो। व्यापारीले फार्मेसी दर्ता गरेपछि नवीकरणका लागि हरेक वर्ष काठमाडौं जानुपर्छ भन्ने गुनासो सुनेको भन्दै मन्त्री गिरीले गुणस्तरीय सेवा दिने कुरामा झन्झटिलो नियमन र अनुगमनको कुरामा निर्ममतापूर्वक कडाइ गर्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “दर्ता गर्ने, नवीकरण गर्नेदेखि लिएर अन्य राज्यले दिने कुरामा सहज र खुकुलो वातावरण बनाइदिनुपर्छ। सकिन्छ भने अनलाइन सिस्टमबाट नै यो कुरा गर्नुपर्छ। अबको दुनियाँमा यो कुनै ठूलो कुरा होइन। अब अनलाइन प्रणालीमा जाँदा कार्यविधि बनाउनु पर्छ।” मन्त्री गिरीले विभागलाई चाँडो भन्दा चाँडो कार्ययोजना बनाएर मन्त्रालयमा आफ्ना माग लिएर मन्त्रालयले आउन आग्रह गर्नुभयो।
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले दादुरा प्रभावित क्षेत्रको अनुगमन गर्नुभएको छ । आइतबार स्वास्थ्य मन्त्री गिरीले नेपालगञ्ज उपमहानगरपालिका– ५ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा पुगेर दादुराका बिरामीको स्वास्थ्य अवस्थाबारे अनुगमन गर्नुभएको हो । मन्त्री गिरीले अनुगमन गर्दै स्वास्थ्यकमीसँग परामर्श गर्नुका साथै दादुरा नियन्त्रण गर्न सबै काम छोडेर दादुरा रुवेलाविरुद्धको खोपमा तीव्रता दिन आग्रह गर्नुभयो । दादुरा नियन्त्रणका लागि सरकारले गर्नुपर्ने काममा कुनै कसर बाँकी नराख्ने मन्त्री गिरीको भनाइ छ । नेपालगञ्ज उपमहानगरपालिकामा तीव्र गतिमा फैलिरहेको दादुराबाट अहिलेसम्म २६० जना बालबालिका सङ्क्रमित भएका छन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार पुस १२ गते फैलिएको दादुरा माघ सात गतेसम्म नेपालगञ्जमा २०३, कोहोलपुरमा पाँच, खजुरामा १८, नरैनापुर २६, डुडुवा आठ गरी २६० जनामा दादुरा पुष्टि भएको छ । सङ्क्रमितमध्ये नौ महिनाभन्दा कम उमेरका १५, नौदेखि १५ महिनासम्मका १६, १५ देखि दुई वर्षसम्मका १८, दुईदेखि पाँच वर्षसम्मका ७२ र पाँच वर्ष वा सोभन्दा माथिका उमेरका १३९ जनाका बालबालिका सङ्क्रमित भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । सरकारले दादुरा रुवेला नियन्त्रण गर्ने उद्देश्यले ६ देखि १५ वर्ष उमेरका बालबालिका पुस २२ गतेबाट दादुरा रुवेलाविरुद्धको खोप अभियान सञ्चालनमा ल्याएको छ । अहिलेसम्म ८९ हजार ४५८ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा ७२ हजार ९३१ जनाले दादुरा रुवेलाविरुद्धको खोप लगाइसकेका छन् ।
पोखराः पोखरा महानगर पालिका वडा नं ६ लेकसाइड बैदामस्थित उपकार बचत तथा ऋण सहकारी संस्थाले शनिबार १४औं बार्षिक उत्सबको अबसर पारेर रक्तदान तथा रक्त परिक्षण कार्यक्रमको आयोजना गरेको छ । संस्थाले बार्षिक कार्यक्रम अन्तरगत रक्तदान गर्दै आएको र सामाजिक क्षेत्रमा समेत सक्रिय रहेको संस्थाको कार्यक्रममा ३९ युनिट रगत संकलन भएको छ । पोखरा महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष विष्णु बहादुर भट्टराईले रक्तदाता तुलसी दाहाललाई ब्लड ब्याग हस्तारन्तरण गरि, कार्यक्रमको शुभारभ्भ गर्दै “रक्तदान जत्तिको पवित्र कार्य अन्य नहुने” बताए । उनले सहकारीले गरेको कामको प्रशंसा गरे । अध्यक्ष भट्टराईले “रक्त दान जिवन दान” भन्ने नारालाई सार्थक बनाउनका लागि ‘रक्तदान’को बारेमा स्थानिय स्तरमा प्रचारप्रसार गरि महत्व बुझाउनु पर्नेमा जोड दिए । थाइराड, मधुमेह तथा हर्मोन रोग विषेशज्ञ डा. रमेश राज आर्चायले थाइराड तथा मधुमेह रोग मानिसको खानपिन र बानीब्यहोरा सुधार गरेमा बच्न सकिने जानकारी दिदै, सचेत रहन आग्रह गरे । संस्थाका अध्यक्ष सुर्यनाथ पहारीले सामाजिक उत्तरदायित्व अन्तरगत संस्थाले बिभिन्न सामाजिक कार्य गर्दै आएको बताए । अध्यक्ष पहारीले सामाजिक कार्यलाई संस्थाले आगमी दिनमा पनि निरन्तरता दिने सुनाए । कार्यक्रममा विशेष अतिथि नेपाल रेडक्रस का्रस्कीका अध्यक्ष डण्डराज पौडेल, यु आर यल पोखराका अध्यक्ष ठाकुर पन्त, माता तालबाराही आरतिका अध्यक्ष मंगल नेपाली, संस्थाका कोषाध्यक्ष बैकुण्ठ ढुगाना, शिशु स्याहार बैदामका अध्यक्ष संगिता बराल र कार्यक्रम संयोजक मादब थापा लगाएतले रक्तदान जत्तिको महत्वपूर्ण र पवित्र कार्य अन्य नहुने भन्दै रगतको महत्व र आवश्यकता सबैलाई बुझाउनुपर्नेमा जोड दिएका थिए । संस्थाका अध्यक्ष सुर्यनाथ पहारीको सभाअध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दुर्गा पहारीले स्वागत र सचिव सुन्दरराज पहारीले कार्यक्रम सञ्चालन गरेका थिए । पश्चिमाञ्चल क्षेत्रीय रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । उक्त अवसरमा यु. आर. यल पोखराको प्राविधिक सहयोगमा करिब १ सय जनाको थाइराइड तथा मधुमेह रोगको निशुल्क रक्त परिक्षण गरिएको थियो ।
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरिले अङ्गदान गर्ने घोषणा गर्नुभएको हो । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आयोजना गरेको एक हजार जनाको मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न भएको अवसरमा आयोजित प्रत्यारोपितको बृहत् भेलामा प्रधानमन्त्री दाहाल र स्वास्थ्यमन्त्री गिरिले मृत्युपश्चात् आफ्ना सबै अङ्ग दान गर्ने घोषणा गर्नुभएको हो । प्रधानमन्त्री दाहाललाई केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले डोनर कार्ड हस्तान्तरण गर्नुभएको थियो। यस्तै स्वास्थ्यमन्त्री गिरिलाई प्रधानमन्त्री दाहालले दाता कार्ड हस्तान्तरण गर्नुभएको हो ।
पोखराः राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको को ५८औँ वार्षिकोत्सवका अवसरमा बुधबार पोखरामा रक्तदान कार्यक्रम गरिएको छ । बैंकको प्रादेशिक कार्यालयद्वारा आयोजित कार्यक्रममा ७० जनाले रक्तदान गरेको प्रादेशिक प्रबन्धक प्रमोद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार बैंकले निक्षेपकर्ताहरुसँग अन्तरक्रिया तथा सम्मान, सरसफाइ सचेतना, अन्तरशाखा हाजिरीजवाफ, प्रभातफेरिलगायत कार्यक्रम गरी वार्षिकोत्सव मनाउँदैछ । आउँदो १० गते वार्षिकोत्सवको मूल समारोह आयोजना हुनेछ । राष्ट्रिय वाणिज्य बैंक पूर्ण सरकारी स्वामित्वमा रहेको पुरानो र ठूलो वाणिज्य बैंक हो । यसले देशका ७७ वटै जिल्लामा शाखा विस्तार गरी सेवा प्रवाह गरिरहेको छ । विसं २०२२ माघ १० गते बैंक स्थापना भएको थियो ।
पोखराः पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा अवलोकनका लागि आउने दर्शकहरुले निशुल्क स्वास्थ्य जाँचको समेत सेवा लिन पाउने भएका छन । महोत्सवमा आउने दर्शकहरुलाई लक्षित गरी आयोजक युनाइटेड क्लबले लाइफ केयर डाइनोष्टिक सेन्टर न्युरोड, मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर रानीपौवा र नरहरी पोलिक्लिनीक रामबजारको सहयोगमा निशुल्क रुपमा सुगर र प्रेसरको चेकजांचको ब्यवस्था मिलाएको महोत्सव प्रचारप्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । प्रेसर र सुगर संगै महोत्सवमा आउने दर्शकहरुले तीनवटै स्वास्थ्य संस्थाबाट अन्य चेकजाँचमा ५० प्रतिशत छुट पाउने महोत्सवका प्राथमिक उपचार संयोजक नरहरि पनेरुले जानकारी दिए । महोत्सवको सातौ दिनमात्रै दुई सयजनाले सुगरको निशुल्क परिक्षण गरेका छन । महोत्सवमा प्रत्येक दिन सुगर र प्रेसरको निशुल्क परिक्षण गराइरहेको समेत पनेरुले बताए । महोत्सवको सातौ दिन सम्म आइपुग्दा साढे तीन करोडको कारोवार भएको र असी हजार दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गरेको महोत्सवका अर्थ तथा स्टल ब्यवस्थापन उपसमिति संयोजक सूर्य बहादुर बानियाले जानकारी दिए । बानियाका अनुसार महोत्सवमा विशेष गरी जाडो यामका सामाग्री, घरायसी प्रायोजनको सामाग्री, विद्युतिय प्रयोजनका सामाग्री संगै तरकारी जन्य सामाग्रीहरुको बिक्रीवितरण भएको छ । महोत्सवमा मंगलबार चर्चित लोकदोहोरी गायिका प्रिती आलेले लोकदोहोरी मार्फत दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गरिन भने आले संगै लोकदोहोरी कलाकारहरु जीवन दाहाल, शिवहरी ढंगाना, निश्चल दवाडी, मञ्जु बिक, सरीता सारु मगर, टस गुरुङ, तुलसा जिसी लगायतको प्रस्तुती मार्फत दर्शहरुले भरपुर मनोरन्जन लिएका थिएभने सांझको लाइभ कन्सर्टमा झिल्के एण्ड द कम्पनीको प्रस्तुती मार्फत युवाहरुले भरपुर मनोरन्जन लिएको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवको आठौ दिन बुधवार लोकदोहोरी तर्फ बद्री पंगेनी, जीवन दाहाल, चोलेन्द्र पौडेल, पार्वती जिसी, अमर धिताल, माया गुरुङ, प्रेमराज अधिकारी, सुनमा गुरुङ लगायतको प्रस्तुती रहनेछ भने साँझको लाइभ कन्सर्ट तर्फ ए.एस.एम.को प्रस्तुती रहनेछ । त्यसैगरी महोत्सवमा जारी विद्यालय स्तरिय लोकनृत्य प्रतियोगितामा मेट्रोपोलिटन एकेडेमी र भ्यूप्वाइन्ट बोर्डिङ स्कुल अघिल्लो चरणमा प्रवेश गरेको छभने बुधवार श्री कालिका मावि, राष्ट्रिय मावि, कास्की मोडनाइज एकेडेमी, टप्स बोर्डिङ स्कुल, अमरसिंह मावि र बेसलाईन एकेडेमी बीच प्रतिस्पर्धा रहने प्रतियोगिता संयोजक विष्णु कुमार गुरुङले जानकारी दिए ।
‘स्वस्थ जीवनको चाहना: योग, शिक्षा र साधना’ भन्ने नाराका साथ आठौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो । तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्री नरहरि आचार्यको प्रस्तावमा मन्त्रिपरिषद्ले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको हो । यसअघि विसं २०३६ देखि उत्तरायण शुरु हुने दिन पारेर नेपालमा डा हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो । वैदिककालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो । यही क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम शुरु भएको हो । प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यता प्राप्ति हुन्थ्यो । आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका हुन् ।