पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका स्थित भेडाबारी प्राथमिक स्वास्थ्य चौकीमा बिरामीले उपचार नपाएपछि अहिले जनप्रतिनिधि र चिकित्सकबीच सवालजवाफ चलेको छ । चौकीमा कार्यरत डा. सुरेश अधिकारी स्वास्थ्य चौकी नआउँदा वडा ८ काअध्यक्ष राम गुरुङले सामाजिक सञ्जाल फेसबुकमा डाक्टर कहाँ छन् ? भन्दै पोस्टिएपछि विषय सार्वजनिक भएको हो । केही दिन अगाडी वडाध्यक्ष गुरुङले फेसबुक डा. सुरेश अधिकारीको नम्बर राख्दै उनको खोजी गरेका हुन् । सामाजिक सञ्जालमा वडाध्यक्ष राम गुरुङले डा. अधिकारीको खोजी गरेपछि डा. अधिकारीले पनि सामाजिक सञ्जालमा नै प्रतिक्रिया दिएका छन् । ‘भेडाबारी प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ बेडको अस्पतालमा स्तरउन्नती गर्न लागि परेका छौं, स्वास्थ्य कार्यालय प्रमुख डा. अधिकारीलाई नदेखेको महिनौ भयो, वडाध्यक्ष गुरुङले लेखेका छन, ‘ डा. आएको नआएको कसैले मतलब गरेका छैनौं अब सबै जागरुक हुन आवश्यक छ, डा. अधिकारीलाई ९८५१२१५१२३ यो नम्बरमा खबर गरौै, आफ्नो ढङ्गले सम्झाउ ।’ वडाध्यक्ष गुरुङले सोधेको सवालको जवाफ डाक्टर केसीले सञ्जालमार्फत नै दिएको छन् । डा. अधिकारीले भेडाबारी स्वास्थ्य चौकीमा आफु आउँदा मानसिक रोगी बाहेक अन्य बिरामी सेवाबाट बञ्चित हुने प्रतिक्रिया दिएका छन् । ‘म मानसिक रोग विशेषज्ञ हुँ, नेपाल मेडिकल काउन्सिलमा सोही अनुरुप दर्ता छु, प्राथमिक स्वास्थ्य चौकीमा अधिकांश बिरामी बच्चा, गर्भवती, सुगर प्रेसर, आदिका बिरामी आउँछन्’ उनले लेखेका छन्, ‘त्यहाँ आएर मानसिक बाहेक अरु बिरामी सेवाबाट बञ्चित हुन्छन् जनु प्राथमिक सेवा सिद्धान्तको बर्खिलाप हो ।’ वडाध्यक्ष गुरुङले डा. अधिकारीले सामाजिक सञ्जालमा खोजी गरेपछि एमबिबिएस डाक्टर राख्न सुझाव दिदै आफुलाई सुरुवा हुने सहमति दिन आग्रह गरेका छन् । ‘गाउँपालिकाले करारमा एमबिबिएस डाक्टर राखोस, मलाई अन्यत्र सरुवा हुने सहमति देओस् जसले सबै समस्या हल हुन्छ, उनले भनेका छन्, ‘म त्यहाँ आएर समस्या समाधान हुँदैन बरु एमबिबिएस आउने बाटो हुन्छ ।’ माछापुच्छ्रे गाउँपालिकाका स्वास्थ्य संयोजक डिल्लीराम दाहालले स्वास्थ्य चौकीमा नेपाल सरकारले उहाँको दरबन्दी पठाएको हो करारमा कर्मचारी राख्ने स्रोत नभएको सुनगाभा न्यूजलाई बताए । ‘नेपाल सरकारको कर्मचारी संमायोजक अनुसार उहाँको दरबन्दी भेडाबारी प्राथमिक स्वास्थ्य चौकीमा भएको छ, दाहालले भने, ‘अहिले उहाँले आफुले एमडी पास गरेको भन्दै यहाँबाट सरुवा गर्न माग गर्नुभएको छ, करारमा राख्ने स्रोत हामीसँग छैन्, असोजदेखि कार्यालयमा उपस्थित नभएकाले तलब रोकेका छौं, सम्पर्कमा आउनुभएको छैन् । ’ यस विषयमा प्रतिक्रिया लिन डा. सुरेश अधिकारीलाई सम्पर्क गर्दा फोन उठ्न सकेन । भेडाबारी प्राथमिक स्वास्थ्य चौकीमा ११ जनाको दरबन्दी रहेको छ । हेल्थ असिस्टेन्ट १ जना, अहेव ३ जना, स्टाफ नर्स १ जना, अनमी १ जना, ल्याव असिस्टेन्ट १ जना र बाँकी कार्यालय सहयोगीको दरबन्दी रहेको स्वास्थ्य संयोजक दाहालले जानकारी दिए ।
बैतडी: ‘प्राइमरी लेभल हस्पिटल’मध्ये जिल्ला अस्पताल बैतडी देशभरिमै दोस्रो स्थानमा परेको छ। न्यूनतम सेवा मापदण्डमा बैतडी अस्पताल देशभरिका उत्कृष्ट अस्पतालको दोस्रो स्थानमा पर्न सफल भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. दिपेश श्रेष्ठले बताउनुभयो। स्वास्थ्य मन्त्रालय र निक साइमन इन्स्टिच्युटले गरेको मूल्याङ्कनका आधारमा बैतडी अस्पताल उत्कृष्ट हुँदै दोस्रो स्थानमा पर्न सफल भएको डाक्टर श्रेष्ठले बताउनुभयो। उहाँले भन्नुभयो, “न्यूनतम सेवा मापदण्डको मूल्याङ्कन हुँदा बैतडी अस्पताल ८९ प्रतिशत अङ्कसहित दोस्रो स्थानमा परेको छ। दमौली अस्पताल पहिलो स्थानमा रहेको छ। जिल्ला अस्पताल अछाम ८७ प्रतिशत अङ्कसहित तेस्रो र बझाङ ८४ प्रतिशत अङ्कसहित चौथो स्थानमा परेको छ।” यसअघि सुदूरपश्चिममा बैतडी अस्पताल प्रथम स्थानमा रहेको थियो। स्वास्थ्य सूचकका आधारमा अस्पतालहरूलाई अङ्क दिइने गरिएको छ। अस्पतालले प्रदान गर्ने सेवा, अस्पतालभित्रका सुविधा, भौतिक व्यवस्थापनलगायतका कार्य हेरेर न्यूनतम सेवा मापदण्डको अनुगमन गर्ने गरिएको छ। जिल्ला अस्पताल बैतडीमा हाल तीन विशेषज्ञ चिकित्सकसहित आठ चिकित्सकले स्वास्थ्य सेवा दिइरहेका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पार्वती भट्टले बताउनुभयो। उहाँले भन्नुभयो, “बैतडी अस्पतालमा हाडजोर्नीसम्बन्धी शल्यक्रियासहित उपचार, एमडीजीपी र एनेस्थियोलोजिस्ट चिकित्सक कार्यरत छन्।” न्यूनतम सेवा मापदण्डमा जिल्ला अस्पताल बैतडी देशभरिकै उत्कृष्ट हुँदा आफूलाई निकै खुसी लागेको अस्पतालमा कार्यरत डा। थानेश्वर न्यौपानेले बताउनुभयो। जिल्ला अस्पताल बैतडीले एकद्वार सङ्कट व्यवस्थापन केन्द्र सञ्चालन गरेर हिंसामा परेका महिलाको उपचार, मनोसामाजिक परामर्शलगायतका सेवासमेत प्रदान गरिरहेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट चार महिनाको अवधिमा हिंसामा परेका ८८ जना महिलाले सेवा लिनुभएको छ। तीमध्ये घरेलु हिंसामा परेका सुत्केरी महिलाले समेत उपचार पाउनुभएको छ।”
काठमाडौं: अल्का अस्पतालले आज (सोमबार) बाट राष्ट्रिय स्तरको पाँचदिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरेको छ । अस्पतालले मधुमेह, थाइराइड तथा हर्मन रोग विशेषज्ञ सेवा, आ।भि।एफ एण्ड इन्फर्टिलिटि विशेषज्ञ सेवा (निःसन्तान दम्पतीहरुका लागि) र न्यूरो साइक्याट्रिक विशेषज्ञ सेवा शिविर सञ्चालन गरेको हो । शिविर अस्पताल परिसरमा हुने बताइएको छ । शिविरमा सहभागी बिरामीहरुले महिना दिनसम्म अस्पतालमा उपचारका लागि फलोअप गर्नसक्ने अस्पतालले बताएको छ । अस्पतालका प्रशासन प्रमुख भगवान केसीका अनुसार शिविरमा जाने बिरामीहरुलाई एमआरआइ र सिटी स्क्यान पनि निःशुल्क गरिनेछ । प्रमुख केसीले शिविरमा सहभागीहरूले एक महिनासम्म फलोअप गर्दा कुनै शुल्क नलाग्ने बताउनुभयो । उहाँले शिविरमा स्वास्थ्य जाँच गरिएकाहरुलाई चिकित्सकको सिफारिस अनुसार निःशुल्क ल्याब जाँच र औषधि वितरण गरिने जानकारी दिनुभयो । असहाय, अशक्त र आर्थिक अभाव भएका बिरामीहरुलाई लक्षित गरेर शिविर सञ्चालन गरेको हो । एमआरआई र सिटी स्क्यान पनि निःशुल्क गरिने अस्पताल प्रशासनले जनाएको छ । शिविरबारे जानकारी गराउन रेडियो, टेलिभिजन, माइकिङ गर्ने काम भइरहेको प्रमुख केसीले जानकारी दिनुभयो । अस्पतालले प्रत्येक दिन शिविरमा आएका एक सयसम्म बिरामीको चेकजाँच गर्ने लक्ष्य राखेको छ । उहाँले शिविरमा आएका बिरामीहरुलाई १० दिनसम्मका लागि निःशुल्क औषधि उपलब्ध गराउने पनि बतउनुभयो । आवश्यक विशेषज्ञ सेवाबाट वञ्चित भइरहेका बिरामीहरुलाई लक्षित गरेर शिविर सञ्चालन गरेको भए पनि परीक्षणका लागि अस्पतालमा पुगेका सबैले परीक्षण गर्न सक्नेछन् । प्रमुख केसीले शिविरमा सहभागीहरुले शिविर अवधिभर कुनै पनि किसिमको सेवामा शुल्क बुझाउनु नपर्ने पनि स्पष्ट पार्नुभयो । शिविरमा सहभागी इच्छुकलाई आइभिएफमा एक लाख छुटको व्यवस्था मिलाइएको अस्पतालले बताएको छ । शिविर पुस १८ गतेदेखि पुस २२ गतेसम्म पाँच दिन चल्नेछ । शिविर कार्यक्रम बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । सबै विषयमा गरी अस्पतालले दिनको तीन सयसम्म बिरामीको परीक्षण गर्ने लक्ष्य लिएको बताउनुभयो । यसअघि पनि विभिन्न समयमा अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।
काठमाडौं: थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ३९४ नमूना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३९४ गर्दा २ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। यो अवधिमा ३ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या २९ पुगेको छ
काठमाडौंः सरकारले सार्वजनिक स्थलमा मास्क अनिवार्य लगाउन अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकालेर छिमेकी देशमा कोरोनाभाइरसको नयाँ भेरियन्ट बीएफ–७ को संक्रमण बढ्दै गएको भन्दै मास्क अनिवार्य गरेको जानकारी गराएको हो । यस्तै मन्त्रालयले भौतिक दूरी कायम गर्न पनि आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। संजयकुमार ठाकुरले निकाल्नुभएको विज्ञप्तिमा सेनिटाइजरको प्रयोग गर्ने, नियमित रुपमा साबुन पानीले हात धुने लगायत स्वास्थ्यका मापदण्ड पालना गर्न पनि अनुरोध गर्नुभएको छ । विज्ञप्तिमा कोभिड–१९ को बुस्टर डोज खोप लगाउनु पनि अपील गरिएको छ । अंग्रेजी नयाँ वर्ष, क्रिसमस लगायत कुनै पनि भिडभाड हुने स्थलमा विशेष सतर्कता अपाउन समेत मन्त्रालयले आग्रह गरेको छ । नेपालमा बीएफ–७ भेरियन्ट पुष्टि नभए पनि चीन र भारतमा बढ्दै गएकोले खुल्ला सीमाना र आवतजावतका कारण जोखिम रहेको मन्त्रालयको भनाई छ ।
काठमाडौं: केही देशमा कोभिड–१९ सङ्क्रमण बढेसँगै भारतमा कोरोना महामारीको चिन्ता बढेको छ । चीनमा कोभिड–१९ को सबभेरियन्ट बीएफ ७ संक्रमितको संख्यामा तीव्र वृद्धि भएको छ। भारतमा पनि यो सबभेरियन्टका चारवटा केस फेला परेका छन् । केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख मण्डाविया र प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा कोरोनाको अवस्था र तयारीको बारेमा जानकारी लिन उच्चस्तरीय बैठक गरेका छन्। यसैबीच धेरै राज्यले यस सम्बन्धमा आपतकालीन बैठक बोलाएर तयारीका लागि सक्रिय भएका छन् । भारत सरकारको वेबसाइट ‘माई गभर्नमेन्ट’का अनुसार बिहीबार भारतमा १ सय ८५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै भारतमा कोरोना भाइरसका कुल ३४०२ सक्रिय संक्रमित भएका छन्। कोरोनाका कारण बिहीबार एक जनाको मृत्यु भएको छ । साथै १९० जना निको भएर डिस्चार्ज भएका छन् । बिहीबार एकै दिन करिब एक लाख २५ हजार परीक्षण गरिएको थियो।
काठमाडौं: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन शिक्षाध्यक्ष प्रा.डा.गुरुप्रसाद खनालको पदावधि समाप्त भए पश्चात रिक्त रहेको उक्त पदमा ईन्टर्नल मेडिसिन विभागका प्रा.डा.सञ्जीवकुमार शर्मा नियुक्त भएका छन् । प्रतिष्ठानको ऐन, २०४९ को दफा ११ (ग) (१)बमोजिम प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीको सिफारिसमा प्रतिष्ठानका सहकुलपति स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङ्गले शर्मालाई शिक्षाध्यक्ष नियुक्त गरेका हुन् । प्रतिष्ठानको शिक्षाध्यक्ष पदमा नियुक्त प्रा.डा.शर्माको कार्यकाल यही पुस ७ गतेदेखि पाँच वर्षसम्म रहने जनाइएको छ । प्रतिष्ठानको ऐन, २०४९ को दफा ७ को उप दफा (१) (ध) बमोजिम प्रतिष्ठानका शिक्षकहरू मध्येबाट उपकुलपतिको सिफारिसमा सहकुलपतिले स्कूल अफ पब्लिक हेल्थ एण्ड कम्यूनिटी मेडिसिनका प्राडा.नीलाम्बर झा तथा माइक्रोबायोलोजी विभागका प्रमुख डा.नारायणराज भट्टराईलाई सञ्चालक परिषद सदस्यमा मनोनीत गरेका छन् । उनीहरूको कार्यकाल पुस ६ देखि चार वर्षका लागि रहने जनाइएको छ ।
काठमाण्डौ: पछिल्लो २४ घण्टामा कसैमा पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छैन । पीसीआर र एन्टिजेन गरि एक सय ९९ जनाको नमुना परीक्षण गर्दा कसैमा पनि कोरोना सङ्क्रमण पुष्टि नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । झन्डै तीन वर्षपछि कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या शून्यमा झरेको हो । थप दुई जना निको भएसँगै कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ११ जनामा झरेको छ । नेपालमा अहिलेसम्म पीसीआर परीक्षणबाट मात्रै १० लाख नौ सय ४६ जनामा कोरोना पुष्टि भएको छ । एन्टिजेनबाट एक लाख ५२ हजार दुई सय १५ मा सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १२ हजार १९ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नौ लाख ८८ हजार नौ सय १६ जना कोरोना सङ्क्रमण भइ मुक्त भएका छन् ।
काठमाडौंः कोरोना भाइरसको सङ्क्रमण घट्दै गएपछि सरकारले खोप आयात गरेको छैन । सङ्क्रमण घट्दै गएको र खोप मौज्दात नै रहेकाले सरकारले तीन महिनादेखि कोरोना भाइरसविरुद्धको खोप नल्याइएको हो । सङ्क्रमण घट्दै गएको र खोपको माग पनि कम भएपछि नल्याइएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाप्रमुख डा। सुरेन्द्र चौरसियाले बताउनुभयो । कोरोना सङ्क्रमण कम हुँदै जानु, खोप लगाउनेको सङ्ख्या कम हुनु र आवश्यक परेमा खोप मौज्दात नै रहेकाले थप खोप नल्याइएको उहाँको भनाई छ । अहिले सङ्क्रमण दर एक प्रतिशत भन्दा पनि कम रहेको छ । अन्तिम पटक गएको भदौ २७ गते कोभ्याक्समार्फत १४ लाख ९९ हजार नौ सय ४० मात्रा खोप ल्याइएको थियो । त्यसयता सरकारले खोप ल्याइएको छैन । अहिले प्रदेश र जिल्लाबाट पनि खोपको माग भएको छैन । ‘माग नभएपछि त्यतिकै राख्नुपर्छ भनेर हामीले खोप ल्याएका छैनौँ, उहाँले भन्नुभयो, तर बुस्टर डोजका लागि आवश्यक खोप भने ल्याउँछौँ ।’ सरकारले बुस्टर डोजका लागि भने खोप ल्याउने तयारी गरेको छ । पहिलो र दोस्रो मात्रा लगाएकाहरुका लागि थप मात्रा लगाउन खोप ल्याउने आपूर्ति व्यवस्थापन शाखाप्रमुख चौरसियाले जानकारी दिनुभयो । नेपालमा पटक पटक गरी अहिलेसम्म ६ करोड ३२ लाख ७६ हजार सात सय १० मात्रा खोप आइसकेको छ । नेपालमा कोभिशिल्ड, भेरोसेल, मोर्डना, एस्ट्राजेनिका, जोन्सन एन्ड जोन्सन र फाइजरलगायतका कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । अझै पनि ४९ लाख २१ हजार ६ सय ३२ मात्रा खोप मौज्दात छ । नेपालमा कूल लक्षित जनसङ्ख्यामध्ये ९९ दशमलव ५ प्रतिशतमा पहिलो मात्रा र ९५ दशमलव ७ प्रतिशतमा पूर्ण मात्रा खोप लगाइसकिएको छ ।