दमौली  ः  डेङ्गु सङ्क्रमण बढ्न थालेपछि तनहुँमा नियन्त्रण र रोकथामका लागि स्थानीय तहले उच्च प्राथमिकता दिएका छन् । डेङ्गुबाट सङ्क्रमण हुनेको सङ्ख्या बढ्न थालेपछि यहाँका स्थानीय तह यसको नियन्त्रणका लागि जुटेका हुन् ।   सदरमुकामस्थित व्यास नगरपालिकाले डेङ्गु नियन्त्रणका लागि शनिबारदेखि ‘खोज र नष्ट गर’ अभियान सुरुआत गरेको छ । कोभिड–१९ को सङ्क्रमणपछि अहिले पुनः डेङ्गुको जोखिम बढेकाले यसको नियन्त्रण गर्नुपर्ने स्थानीय सरकारको दायित्व रहेको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । “कोभिड सङ्क्रमण विस्तारै अन्त्य हुने क्रममा छ, फेरि डेङ्गुले दुःख दिन थाल्यो”, उहाँले भन्नुभयो, “हरेक विपद् समाधानका लागि स्थानीय सरकार प्रतिबद्ध छ ।”   डेङ्गु नियन्त्रणका लागि लामखुट्टेले फुल पार्ने ठाउँ खोजी गरेर नष्ट गरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो । “लामखुट्टेले फुल पार्न सक्ने सम्भावित स्थान जस्तै पानी जमेको ठाउँ, टायरमा जमेको पानीलाई नष्ट गर्ने अभियान सुरुआत गरेका छौँ”, उहाँले भन्नुभयो, “प्रत्येक वडामा जनप्रतिनिधिको नेतृत्वमा यो अभियान सुरु भएको छ ।”   ‘सबै जागौँ, सबै लागौँ ः वरिपरि जमेको पानी हटाई डेङ्गु भगाऔँ’ नाराका साथ सुरु अभियानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सङ्घसंस्था, शिक्षकलाई परिचालन गरिने जनाइएको छ । व्यास नगरपालिकाले मोटरसाइकल वर्कसपमा राखिएका टायरमा जम्मा भएको पानी फाल्नुका साथै सचेतना प्रदान गरेको छ ।   आँबुखैरेनी गाउँपालिकाले पनि डेङ्गुबाट बच्नका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु गरेको छ । डेङ्गुको सङ्क्रमण बढ्दै गएकाले सतर्कताका लागि गाउँपालिकाले यो अभियान सुरु गरेको स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिनुभयो । डेङ्गुको व्यवस्थापन र नियन्त्रण गर्ने विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रतिकार्य योजना बनाइ विभिन्न गतिविधि सञ्चालन गर्न निर्देशन दिएसँगै गाउँपालिकाले प्रदेश र जिल्लासँगको समन्वयमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरेको हो ।   “डेङ्गु लाग्न नदिनु सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो, प्रायः दिनको समयमा सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट यो रोग लाग्छ”, उहाँले भन्नुभयो, “यसबाट जोगिनका लागि कार्यालय समयमा पूरा बाहुला भएको पोशाक अनिवार्य गरिएको छ ।”   यस्तै प्रत्येक शनिबार बिहान १० बजे १० मिनेट घरभित्र र बाहिर लामखुट्टेले फुल पार्ने ठाउँ खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन गरिएको छ । यस अभियान कार्यान्वयका लागि स्थानीय जनप्रतिनिधिको नेतृत्वमा स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्यस्वयंसेविका, शिक्षक, पत्रकार, सङ्घसंस्था, टोलविकास समितिलाई परिचालन गरिएको छ ।   डेङ्गुबाट ८८ सङ्क्रमित   तनहुँमा डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या ८८ पुगेको छ । सदरमुकामस्थित दमौली अस्पताल, बन्दीपुर अस्पताल र शुक्लागण्डकीस्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा गरिएको परीक्षण अनुसार ८८ जनामा डेङ्गु पुष्टि भएको हो । दमौली अस्पतालमा तीन, बन्दीपुर अस्पतालमा सात र जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा ७८ जनामा डेङ्गु पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।   डेङ्गु पुष्टि भएकामध्ये दमौली अस्पतालमा भर्ना भएर उपचार गराउने तीन जनामध्ये एक जना उपचारपश्चात घर फर्किएका छन् दुई जनाको उपचार भइरहेको अस्पतालका निमित्त प्रमुख डा राजु रानाले जानकारी दिनुभयो । बन्दीपुर अस्पतालमा भर्ना भएर सात जनाको उपचार गरिएकामा चार जना उपचारपश्चात घर फर्किएका छन् । जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा ७८ जनालाई डेङ्गु पुष्टि भएकामा २७ जना भर्ना भएर उपचार गराएका थिए । उपचाररत २७ जना नै उपचारपश्चात घर फर्किसकेको केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।    डेङ्गु परीक्षणका लागि स्वास्थ्य कार्यालयमा किट अभाव रहेको छ । स्थानीय तह र अस्पतालले नै किट खरिद गरेर परीक्षण गर्ने गरेकाले सहज भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख अधिकारीले बताउनुभयो । “स्वास्थ्य कार्यालयमा किट छैन, पालिकाले नै व्यवस्थापन गरिदिएकाले परीक्षणमा सहज भएको छ”, अधिकारीले भन्नुभयो ।    लामखुट्टेको टोकाइबाट डेङ्गु हुने भएकाले लामखुट्टेको टोकाइबाट जोगिन आवश्यक रहेको चिकित्सक बताउँछन् । डेङ्गुको भाइरसबाट सङ्क्रमित लामखुट्टेको टोकाइले यो रोग सर्दछ । आजकल डेङ्गु ज्वरो नेपालको विभिन्न भागमा देखापरिरहेको छ । यो लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्दछ र वर्षात्को मौसम सुरु भएपछि डेङ्गु ज्वरोको प्रकोप बढ्न थाल्दछ ।   एक्कासी तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुची हुनु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुको लक्षण रहेको दमौली अस्पतालका निमित्त प्रमुख डा रानाले बताउनुभयो ।   डेङ्गुबाट बच्नका लागि मुख्यतयाः लामखुट्टेको टोकाइबाट जोगिनुपर्दछ । पूरा शरीर ढाकिने गरी कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न मल्हमजस्ता सामग्री प्रयोग गर्नु, सधैँ राति र दिउँसो पनि झुलभित्र सुत्ने, घरवरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पु¥याउनु यसबाट बच्ने प्रमुख उपाय हुन् ।  

  काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण देशभर ७४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित बुलेटिनमा चार हजार एक सय २६ जनाको परीक्षण गर्दा ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।   आज एक सय १६ जना कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई घर फर्किएका छन् । निको हुने प्रतिशत ९८.७ प्रतिशत रहेको छ । आज एक जनाको सङ्क्रमणका कारणले निधन भएको जनाइएको छ । अहिलेसम्म सङ्क्रमणका कारणले १२ हजार १७ जनाको निधन भइसकेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार दुई सय ८३ पुगेको छ ।   पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ रहेको छ । यस्तै १५ जिल्लामा सङ्क्रमित सङ्ख्या शून्य रहेको छ । होमआइसोलेशनमा एक हजार दुई सय ३४, संस्थागत आइसोलेशनमा ४९ र सघन उपचारकक्ष (आइसीयू)मा १०  जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा कोरोना भाइरसविरुद्धको खोप कसैले पनि नलगाएको मन्त्रालयले जनाएको छ ।

तनहुँ :  म्याग्दे गाउँपालिका–३ किलचोकका पूर्णबहादुर सारु ३२ वर्ष पुग्नुभयो । पूर्ण अशक्त उहाँलाई यताउता लैजान अरुको सहारा चाहिन्छ ।    क श्रेणीको अपाङ्गता हुनुभएका सारुले शुक्रबार आफ्नै घरमा कोभिडविरुद्वको खोप लगाउन पाउँदा खुसीले गद्गद् हुँदै बल्ल हामीजस्ता अपाङ्गता भएका र अशक्त व्यक्तिले स्थानीय सरकारको अनुभूति गर्न पायौँ भन्नुभयो ।     गाउँपालिकाद्वारा आयोजित घुम्ती शिविरको चौथो दिन शारीरिकरुपमा अशक्त र अपाङ्गता भएको व्यक्तिलाई घरघरमा पुगेर कोभिडविरुद्धको खोप र अन्य स्वास्थ्य सेवा दिन थालेपछि म्याग्देवासी खुसी भएका हुन् ।    सारुले जस्तै २८ वर्षीय कृष्णबहादुर थापा, सोही ठाउँ बस्ने, वर्ष ३३ का बिहिसरा थापा र २९ वर्षीय नारायणबहादुर हुन्चिङलगायतको घरमा स्वास्थ्यकर्मी पुगेर खोप दिएपछि उनीहरुले राहत महसुस गरेका छन् ।     स्पाइनल इन्जुरीका कारण पूर्णरुपमा शारीरिक अपाङ्गता भई ओछ्यानमा रहनुभएका २९ वर्षीय नारायणबहादुर हुन्चिङले कोभिड खोप र स्वास्थ्य सेवा पाउँदा खुसी हुँदै सामान्य व्यक्तिभन्दा पनि अपाङ्गता भएको व्यक्तिलाई यसैगरी सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयोे ।   अपाङ्गता भएका व्यक्ति वडा र पालिकामा आउन नसक्ने र घुम्ती शिविरमा आएर पनि स्वास्थ्य सेवा लिन नसक्ने भएकाले  निजहरुको घर–घरमा नै गएर खोप लगाइदिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । एकीकृत घुम्ती सेवामार्फत घर–घर र टोल–टोलमा पुगेर सेवा दिँदा म्याग्देवासीमा खुसी छाएको उहाँले बताउनुभयो ।    चौथो दिनसम्ममा सात स्थानमा शिविर सम्पन्न हुँदा कोभिड १९ विरुद्ध वयस्क फाइजर खोप दुई सय ६७ ले लगाएकामा १७ जनाले पहिलो मात्रा, १८ जनाले दोस्रो मात्रा र दुई सय ३२ ले तेस्रो ९बुस्टर० मात्रा खोप लगाएका स्वास्थ्य शाखा प्रमुख दिनेश पण्डितले बताउनुभयो ।    वडा नं १ को मान्हौँ, गुणादी र बाख्रे, वडा नं २ को गुञ्जारा, जामुने, ऋषिथुम र पिपलडिहीसमेत गरी सात स्थानमा घुम्ती शिविर सम्पन्न भइसकेको छ । उक्त शिविर यही असोज २ देखि ३१ गतेसम्म चल्ने गाउँपालिका कार्यालयले जनाएको छ । 

बारा:  बारामा डेङ्गुको प्रकोप बढ्दै गएको छ । डेङ्गुका बिरामी बढ्न थालेपछि सर्वसधारणमा त्रास छाएको छ ।   बारामा गत भदौ २८ गतेदेखि परीक्षण हुन थालेपछि अहिलेसम्म डेङ्गुका ४४ बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख रामनरेशप्रसाद यादवले जानकारी दिनुभयो ।   उहाँका अनुसार कलैया अस्पतालमा ११ जना, जनस्वास्थ्य कार्यालयमा नौ र निजगढमा २४ डेङ्गुका बिरामी फेला परेका छन् । केही उपचारपछि घर फर्केका छन् भने कतिपयको प्रदेशिक अस्पताल कलैयामा उपचार भइरहेको यादवले बताउनुभयो । डेङ्गु परीक्षण गर्न कीटको अभाव भएको छ ।   कीट आपूर्तिका लागि सम्बन्धित निकायलाई जानकारी गराएको यादवले बताउनुभयो ।   डेङ्गु अझै बढ्न सक्ने उहाँको भनाइ छ । बारामा डेङ्गुबाट अहिलेसम्म कोहीको पनि मृत्यु भएको छैन । डेङ्गुबाट बच्न घर वरपर सरसफाइ, पूरै शरीरभरि कपडा लगाउन, खाल्डाखुल्डीमा पानी जम्न नदिन र सावधानी अपनाउन प्रदेशिक अस्पताल कलैयाका डा विकेश पाण्डेयले सुझाव दिनुभएको छ ।

  काठमाडौं । बागमती प्रदेशमा डेँङ्गु सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्याङ्क अनुसार उक्त सङ्क्रमणका कारण मकवानपुरसहित अन्य छ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो ।   स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका प्रमुख महेश्वर श्रेष्ठले डेँङ्गुबाट काठमाडौँमा चार, ललितपुरमा दुई , सिन्धुपाल्चोकमा दुई, मकवानपुरका एक , सिन्धुलीमा एक जना र धादिङमा एक जनाको मृत्यु भएको जानकारी दिनुभयो ।   यसैगरी प्रदेशमा हालसम्म १३ हजार तीन सय ७५ जना डेँगुका बिरामी फेला परेको छ । ती सबैभन्दा धेरै ललितपुर जिल्लामा चार हजार आठ सय ७८ मा डेँङ्गुका बिरामी फेला परेका छन् ।    यसैगरी, काठमाडौँमा चार हजार छ सय ७४, मकवानपुरमा एक हजार आउ सय १०, भक्तपुरमा सात सय १३, चितवनमा     चार सय २९ र धादिङमा तीन सय ९९ जना डेँङ्गुको बिरामी फेला परेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गलकोट  :  बागलुङमा डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको छ ।    जिल्लामा डेङ्गुका लक्षण भएका बिरामीको समेत धवलागिरि अस्पतालमा चाप बढिरहेको पाइएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा गत भदौमा मात्रै २९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । पर्याप्तरूपमा डेङ्गु परीक्षणका लागि किटको अभावले गर्दा धेरै शङ्कास्पद बिरामीको परीक्षणमा भने समस्या भएको छ ।   जिल्लामा हालसम्म यो वर्षमा ३५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएकोमा नौ जनाको अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने र एक जनाको जटिल अवस्थाका बीच थप उपचारका लागि पोखरा पठाइएको स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक तथा निमित्त कार्यालय प्रमुख लक्ष्मी शर्माले जानकारी दिनुभयो ।    “सुरुमा किट अभाव भएको थियो, अहिले केही मात्रमा किट आएको छ भने थप आउने क्रम जारी छ । तर डेङ्गुका बिरामी दिनानुदिन बढ्दै जाँदा पर्याप्त किट आवश्यक हुन्छ”, उहाँले भन्नुभयो, “अहिले डेङ्गु लक्षण देखिएका बिरामीको रगत परीक्षण गर्ने र रगतमा शङ्कास्पद देखिएमा मात्रै किटको प्रयोगमार्फत परीक्षण गर्ने गरिएको छ ।”    स्वास्थ्य कार्यालयमा अहिले जम्मा ३० थानमात्रै किट रहेको छ भने थप दुई सय किट आउने क्रममा रहेको छ । जिल्लामा डेङ्गु रोगको लक्षणसहितका बिरामीको सङ्ख्या ह्वात्तै बढेको धवलागिरि अस्पताल बागलुङका मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र विक पोखरेलले जानकारी दिनुभयो ।    “अहिले अस्पतालमा ज्वरो, वाकवाकी आउने तथा रिङ्गाटा लाग्ने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ, तर सबैमा डेङ्गु सङ्क्रमण भने देखिएको छैन, हामीले रगतका माध्यमबाट र अत्यधिक शङ्कास्पदको किटको माध्यमबाट डेङ्गु परीक्षण गरेका छौँ”, उहाँले भन्नुभयो, “अस्पतालले पछिल्लो भदौ महिनासम्म डेङ्गुका जटिल प्रकारका नौ बिरामीको अस्पताल भर्ना गरेर उपचार गरिसकेको छ ।    डेङ्गु नियन्त्रणका लागि स्वास्थ्य कार्यालय बागलुङले खोज र नष्ट गर अभियानलाई जारी राखेको छ । लामट्टेको लार्भा नष्ट गर्नका लागि पानीको खाल्डा पुर्ने, पानी जम्ने र लामखुट्टे उत्पादन हुने क्षेत्रमा विशेष ध्यान अपनाएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । निरन्तरको वर्षाले खोज र नष्ट गर अभियान प्रभावित भए पनि घाम लागेपछि निरन्तरता दिने तयारीमा स्वास्थ्य कार्यालय रहेको छ । यस्तै पालिका स्तरबाट भने खोज र नष्ट गर अभियानलाई तीव्रता दिन थालिएको छ ।    डेङ्गु रोग रोकथामका लागि विभिन्न सचेतनामूलक कार्यक्रम गर्न थालिएको छ । अहिले सहरी क्षेत्रमा डेङ्गु सचेतनाका लागि माइकिङ गर्ने, पोष्टर तथा पम्पलेट टाँस्नेलगायतका काम गरिएको छ । 

चितवन  ः  चितवनमा  जापनिज इन्सेफ्लाइटिसका कारण थप एक जनाको मृत्यु भएको छ भने एक जना सङ्क्रमित थपिएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२२ की ५२ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । ती महिलालाई सङ्क्रमितको सूचीमा रहेपछि खोजीका क्रममा यसअघिनै मृत्यु भएको ढिला गरी थाहा भएको हो ।     स्वास्थ्य कार्यालय प्रमुख दुर्गादत्त चापागाईका अनुसार योसँगै जिल्लामा जापनिज इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । यसअघि मृत्यु हुनेमा माडी नगरपालिका–१ चैनपुरकी ६० वर्षीया वृद्धा रहेकी थिइन । चापागाईका अनुसार हालसम्म जिल्लामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएका १० मध्ये दुई जनाको मृत्यु भएको हो ।   पछिल्लो बिरामीको बारेमा सोधपुछ गर्दै जाँदा उनको भदौको ३ गतेनै मृत्यु भएको जानकारी शनिबार प्राप्त भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ती बिरामीको नमूना भरतपुरको नारायणी सामुदायिक अस्पतालबाट पठाइएको उल्लेख छ ।  अस्पतालको रेकर्डमा भने ती बिरामीको नाम नभएको कार्यालय प्रमुख चापागाईले बताउनुभयो । थप विवरणका लागि भरतपुर महानगरपालिकाको स्वास्थ्य महाशाखालाई भनिएको उहाँले जानकारी दिनुभयो । विस्तृत विवरण महानगरमार्फत आउने उहाँको भनाइ छ ।   जिल्लामा जापानिज इन्सेफ्लाइटिसको महामारी देखिएको छ । उहाँका अनुसार सङ्क्रमित एक जना थपिएका छन् । पछिल्लो थपिएका सङ्क्रमित माडीका हुन् । माडी नगरपालिका वडा नम्बर ४ का ७४ वर्षीय वृद्धमा सङ्क्रमण देखिएको हो । बिरामीको बारेमा थप विवरणका लागि माडी नगरपालिकाको स्वास्थ्य शाखालाई भनिएको छ ।   सन् २०२१ मा जिल्लामा यो सङ्ख्या एक जना रहेको थियो । सन् २०२० मा एक जना थियो भने सन् २०१९ मा जिल्लामा यो सङ्ख्या शून्य रहेको थियो । सन् २०१८ मा एक जनामा सङ्क्रमण देखिएको थियो । चापागाईले भन्नुभयो, “सम्भवत जिल्लामा यसरी महामारीको रुपमा बढेको पहिलो हो ।” सन् २०१८ मा देखिएका बिरामी १५ वर्षमुनिका हुन भने त्यस पछिका सबै १५ वर्षभन्दा माथिका हुनु । विश्व स्वास्थ्य सङ्गठनले एउटा जापानिज इन्सेफ्लाइटिसको बिरामी देखिँदै गर्दा तीन सय बिरामी लुकेको अवस्थामा हुने प्रक्षेपण गरेको हुन्छ । यसलाई हेर्दा चितवनमा तीन हजारमा सङ्क्रमण हुनसक्ने भन्दै सतर्कता अपनाइएको स्वास्थ्य कार्यालय चापागाईको भनाइ छ ।   सुँगुर प्रजाति र हाँसलाई टोकेको लामखुट्टेले मानिसलाई टोकेमा रोग सर्ने गर्दछ । मानिसबाट मानिसमा यो रोग सर्दैन ।  अहिले जिल्लामा ग्रामीण क्षेत्रमा यो रोग बढी देखिएको छ । यो रोग लागेका बिरामीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, बान्ता आउने, बेसुरको हुने, कहिलेकाहीँ बेहोस हुने, छारे रोगको झै शरीरमा कम्पन आउने उहाँले जानकारी दिनुभयो ।

बागलुङ  ः बागलुङको निसीखोला गाउँपालिकाका सबै वडामा सामुदायिक स्वास्थ्य इकाइ तथा स्वास्थ्यचौकी छन् । जटिल प्रकारको उपचार गर्न यहाँका नागरिक बुर्तिबाङ झर्न बाध्य छन् । उनीहरुले अहिलेसम्म निसीखोलामा विशेषज्ञ डाक्टरबाट उपचार गराउन पाएका छैनन् । एक दशक अगाडिसम्म जिल्लाकै सबैभन्दा दुर्गम गाउँका रुपमा चिनिएको निसीखोला मध्यपहाडी लोकमार्गले अहिले निकै सुगम बनेको छ । तर गुणस्तरीय स्वास्थ्य सेवाका हिसाबले अझै दुर्गम छ ।      वर्षौंदेखि स्थानीयले निसीखोलामा अस्पतालको माग गर्दै आएका थिए । तर त्यसको सुनुवाइ भने हुन सकेको थिएन । गत वर्षदेखि यहाँ अस्पताल बनाउने प्रक्रिया अगाडि बढे पनि अहिले बल्ल निर्माण सुरु भएको छ ।    गाउँपालिकाको वडा नं ४ झिम्पामा पालिकास्तरीय १० शैयाको अस्पताल बन्न सुरु भएको छ । गाउँमै पालिकास्तरीय अस्पताल बन्न थालेपछि स्थानीयमा खुसी छाएको छ । “अब बिरामी भए पनि हजारौँ पैसा खर्च गरेर टाढा जान नपर्ने भयो, गाउँमै ठूला अस्पताल बन्न थालेको छ, अहिलेसम्म यस क्षेत्रका मान्छे बिरामी पर्दाबित्तिकै बुर्तिबाङ जान्थे, बुर्तिबाङ भएन भने पाल्पा, पोखरा, काठमाडौँ जाने गर्थे”, स्थानीय नरबहादुर घर्ती मगरले भन्नुभयो, “यहाँ अस्पताल बन्न लागेपछि त हाम्लाई निकै खुसी लागेको छ, यस ठाउँका जनतालाई अब केही दुःख हुने छैन, उपचारको हो दुःख भएको, अब अस्पताल बन्ने भयो ।”   सङ्घीय सरकारको सहयोगमा निसीखोला आधारभूत अस्पताल बन्न लागेको हो । अस्पताल आगामी २०८० पुस महिनामा सम्पन्न गर्नेगरी निर्माण सुरु भएको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिनुभयो । गाउँपालिकाले रु १० करोड ९४ लाखको लागत अनुमान गरेकामा हिन्दुङ एसी आइएस जेबी कन्ट्रक्सनले रु आठ करोड २४ लाखमा निर्माण गर्नेगरी जिम्मा लिएको गौतमको भनाइ छ । अस्पताल १० शैयाको हुनेछ ।    “अघिल्लो वर्षदेखि नै काम गर्नेगरी अस्पतालको सम्झौताको काम पूरा भएको थियो, निर्माण कम्पनीले अहिले काम गरिरहेको छ”, गौतमले भन्नुभयो, “अहिले अस्पतालको भवन निर्माणका लागि पिलर उठाउने काम भएको छ, निर्माण कम्पनीले कामलाई तीव्रता दिएको छ ।”   केन्द्र सरकारले कार्य प्रगतिका आधारमा बजेट दिने गौतमको भनाइ छ । अस्पताल भवन सुविधा सम्पन्न हुने र निर्माणपछि निसीखोलाबाटै विशेषज्ञ सेवा प्रदान गरिने जनाइएको छ । भवन दुईतले हुने छ ।   भवन निर्माणका लागि गाउँपालिकाले दुई वर्ष अगाडि नै आठ रोपनी निःशुल्क जग्गा प्राप्त गरेको थियो । अस्पताल बनाउन सात रोपनी दुई आना जग्गा आवश्यकपर्ने मापदण्डमा उल्लेख छ । स्थानीय दुर्गबहादुर सुनारलगायतका दाताले अस्पताल निर्माण लागि जग्गा प्रदान गरेपछि गाउँपालिकाले गत वर्ष नै अस्पतालको शिलान्यास गरेको थियो ।    अस्पताल गाउँपालिका– ३, ४, ५ र ६ का नागरिकलाई पायक पर्नेछ । झिम्पा गाउँको फेदमा निर्माण हुन लागेको अस्पतालमा विशेषज्ञसहित स्वास्थ्य सेवा भएपछि निसीखोलाका नागरिकलाई स्वास्थ्योपचारमा सहज हुने गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले बताउनुभयो ।    उहाँले वर्षौंदेखि यहाँका नागरिक सहज स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुँदै आएको भन्दै आधारभूत अस्पताल निर्माणपश्चात् गाउँठाउँबाटै सहज सेवा लिनसक्ने बताउनुहुन्छ । अध्यक्ष घर्ती मगरले भन्नुभयो, “माग गरेको लामो समयपछि अस्पताल बन्न थालेको छ, यसको निर्माण सम्पन्नपछि यहाँका नागरिकले विशेषज्ञ डाक्टरसहितको सेवा पाउनेछन् भन्नेमा हामी विश्वस्त छौँ ।”    स्वास्थ्योपचारका लागि नजिकमा अस्पताल नहुँदा विगतमा धेरै नागरिकले अकालमा ज्यान गुमाउनु परेको भन्दै अब कुनै पनि नागरिकले स्वास्थ्योपचार पाएर अकालमा ज्यान गुमाउनु नपर्ने बताउनुभयो । अध्यक्ष घर्तीमगरले अब सामान्य बिरामी भए पनि बुर्तिबाङ पुग्नुपर्ने बाध्यता हट्ने र नागरिकको स्वास्थ्य, समय र पैसासमेत बचत हुने बताउनुहुन्छ ।   अध्यक्ष घर्तीमगरले अहिलेसम्म पालिकामा एउटा पनि एम्बुलेन्स नभएको भन्दै त्यसका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको बताउनुभयो । चालु आर्थिक वर्षमै एम्बुलेन्स सञ्चालनका लागि आवश्यक प्रक्रियासमेत अगाडि बढाइसकेको उहाँको भनाइ छ । “पालिकाले एम्बुलेन्स सञ्चालनका लागि बजेट विनियोजन गरिसकेको छ भने आवश्यक प्रक्रिया पनि अगाडि बढाइसकेका छौँ, सम्भव त यसै वर्ष सञ्चालनमा आउला ।”

  काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप एक सय १० जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार आठ सय २७ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार सात सय ५२ जनाको पिसीआर र दुई हजार ७५ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।    यस अवधिमा एक सय २६ जना कोरोनाबाट मुक्त भएका छन् । यो सँगै कोरोनाबाट मुक्त हुनेको सङ्ख्या नौ लाख ८५ हजार एक सय तीन पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव छ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।        हाल सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ६२ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १६ पुगेको छ । हाल होम आइसोलेशनमा एक हजार नौ सय ९९, संस्थागत आइसोलेशनमा ६३ र आइसियुमा २० सङ्क्रमित रहेका छन् ।        हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा ललितपुर रहेको छ । शून्य सङ्क्रमित रहेका जिल्लामा ताप्लेजुङ, मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, कालिकोट, बझाङ र दार्चुला छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा सात सय ९३, ललितपुरमा तीन सय ३७ र भक्तपुरमा ३१ सक्रिय सङ्क्रमित छन् । कूल सङ्क्रमण दर १६ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।