काठमाडौं: महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा बन्द गरेको छ।  अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले आजदेखि स्वास्थ्य बिमामा...

बागलुङ  : बागलुङको निसीखोला गाउँपालिका-५ निसेलढोरकी नर्मता विकलाई बुधबार बिहानैदेखि सुत्केरी व्यथाले च्याप्यो । नजिकमा स्वास्थ्य संस्था थिएनन् । व्यथाले च्यापेपछि आफन्तले स्वास्थ्यकर्मीलाई खबर गरे । निसीखोलादेखि स्वास्थ्यकर्मी जान सम्भवन थिएन । निसीखोलादेखि विकको घर निसेलढोर पुग्न झण्डै तीन घण्टा लाग्छ ।    आफन्तले ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन सहरी स्वास्थ्य क्लिनिकमा खबर गरे । खबर पाउनासाथ क्लिनिकबाट अनमी सीता बुढा मगर विकको घर पुग्नुभयो । उहाँको घर पुगेर स्वास्थ्य जाँच गर्दा बच्चाको धड्कन सुनिएको थिएन । बच्चाको धड्कन नसुनिएपछि बुढामगरले विकलाई ठूलो अस्पताल लैजानुपर्ने सुझाउनुभयो । भौगोलक विकटताका कारण यातायात सेवाको पहुँच छैन । नजिकमा अस्पताल नहुँदा बुढामगरले आफन्तलाई डोकोमा बोकेर विकलाई केही तलसम्म ल्याउन भन्दै आफैँ गाडीको व्यवस्थापन गर्न ढोरपाटन फर्कनुभयो ।    आफन्तले विकलाई डोकोमा बोकेर केही तल के झारेका थिए, उहाँले बाटोमै मृत बच्चा जन्माउनुभयो । गाडी लिएर अनमी बुढामगर त्यहीँ आइपुग्नुभयो । उहाँले विकको बाटोमै सामान्य उपचार गर्नुभयो र ढोरपाटन ल्याउनुभयो ।    अनमी बुढामगर भन्नुहुन्छ, “विकलाई बिहानदेखिनै गाह्रो भएको रहेछ, आफन्तले मलाई खबर गरेर घरमा पुग्दा, उहाँ निकै छट्पटाउनुभएको थियो, जाँच गर्दा बच्चाको धड्कन सुनिएन, मैले बुर्तिवाङ अस्पताल लैजान सुझाए । मृत बच्चा जन्माउनुभयो, रगत धेरै बगीसकेको थियो, स्लाइन पानी दिएर ढोरपाटन ल्याए । अहिले त्यहीँ उपचार भइरहेको छ ।”   विकले ३२ हप्ताको समय नपुगेको बच्चा जन्माएको अनमी बुढामगरले बताउनुभयो । “दुर्गम गाउँमा शिक्षा तथा स्वास्थ्यको पहुँच नहुँदा यस्ता घटना हुने गरेका छन्”, उहाँले भन्नुभयो, “धन्न अस्पताल पुगेकाले बच्चा बचाउन नसके पनि आमाको ज्यान भने जोगियो ।” विकले गर्भवती भएदेखि स्वास्थ्य परीक्षण नगराएको पाइएको बुढामगर बताउनुहुन्छ । अहिले उहाँको ढोरपाटन सहरी स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको छ ।     बागलुङका दूरदराजमा अहिले पनि स्वास्थ्य तथा शिक्षाको सहज पहुँच छैन । त्यसले गर्दा यस्ता नियति दोहोरी रहन्छन् । विगतमा पनि यस्ता धेरै घटना यस क्षेत्रमा हुने गर्थे । ढोरपाटन नगरपालिकाका स्वास्थ्य संयोजक केशव थापा दुर्गममा यातायात सेवा तथा स्वास्थ्य संस्था अभावले यस्ता घटना हुने गरेको बताउनुहुन्छ ।   ढोरपाटन नगरपालिकाले दुर्गम गाउँमा स्वास्थ्य संस्था स्थापना गरेर सहज स्वास्थ्य सेवाको व्यवस्था गरे पनि अशिक्षाका कारण महिला स्वास्थ्य परीक्षण गराउन नआउने उहाँको भनाइ छ । “धेरै नागरिक स्वास्थ्योपचारका लागि आउँदैनन्”, उहाँले भन्नुभयो, “विकले एक पटक पनि जाँच गराउनुभएको भए बच्चाको ज्यान जोगिन्थ्यो ।”   ग्रामीण क्षेत्रमा गर्भवतीले स्वास्थ्य परीक्षण गराउने बानी न्यून भएको थापाले बताउनुभयो । “कम्तीमा तीन पटक भिडियो एक्सेर गराउनुपर्ने हुन्छ, विकले एक पटक पनि नगराएको पाइयो”, उहाँले भन्नुभयो । समय समयमा बुर्तिवाङमा स्वास्थ्यकर्मी पठाएर निःशुल्क गर्भ परीक्षण गर्ने व्यवस्था मिलाए पनि धेरै नआएको पाइएको थापाले बताउनुभयो । 

  काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण आज दुई सय २१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा चार हजार ५८ परीक्षणमध्ये दुई सय २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।    आज दुई सय छ जना कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई घर फर्किएका छन् । निको हुने प्रतिशत ९८.६ प्रतिशत रहेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार चार सय ४४ जना पुगेको छ । यस्तै आज कोरोना भाइरसको  सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन ।    पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला ललितपुर रहेको छ । सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, जुम्ला, पश्चिम रुकुम र मुगु रहेका छन् ।   होम आइसोलेसनमा दुई हजार तीन सय १२, संस्थागत आइसोलेसनमा एक सय ३२, सघन उपचार कक्ष (आइसियु)मा ३८ र भेन्टिलेटरमा तीन जनाको उपचार भइरहेको छ । आज कोरोना भाइरस विरुद्धको खोप दुई लाख ६९ हजार छ सय ४५ जनाले लगाएका छन् । 

  काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिकाभित्र स्थानीय व्यक्तिमा पनि डेँङ्गुको सङ्क्रमण देखिएको छ । नेपालगञ्जको बसपार्क क्षेत्रमा बसोबास गर्ने एकजनामा डेँङ्गु देखिएको उपमहानगरपालिकाले जनाएको छ ।     स्थानीयवासीमा डेँङ्गु देखिएपछि अन्य व्यक्तिमा सर्न नदिनका लागि डेँङ्गु सार्ने लामखुट्टे नष्ट पार्ने कार्यक्रम सञ्चालन गरिने उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिनुभयो ।    स्वास्थ्य कार्यालय बाँकेका दुर्गा गौतमसहितको सहभागितामा वडा नं ४ को कार्यालयमा बसेको सर्वपक्षीय बैठकले सोमबारदेखि लामखुट्टे नष्ट पार्ने तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । वडा नं ४ का अध्यक्ष गोपाल पुनले डेँङ्गुबाट नगरवासीलाई जोगाउन सचेतना जगाउन आवश्यक भएको बताउनुभयो ।

  काठमाडौं । पछिल्लो २४ घन्टामा दुई सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार पाँच सय ३७ नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।       एक हजार तीन सय ८१ नमूनाको आरटी पिसिआर विधिबाट परीक्षण गर्दा ९२ र दुई हजार एक सय ५६ नमूनाको एन्टिजेन परीक्षण गर्दा एक सय आठ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।       आज ३३९ जना सङ्क्रमणमुक्त भएका छन् । आज दुई लाख ९७ हजार ११५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । पछिल्लो २४ घन्टामा सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ ।   ६६ जिल्लामा फैलियो डेङ्गु       मन्त्रालयका अनुसार ६६ जिल्लामा डेङ्गु फैलिएको छ । गत साउनदेखि यही भदौ १५ गतेसम्म दुई हजार १७९ जनामा डेङ्गु पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

  झापा । विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा क्यान्सर रोगको अवस्था पत्ता लगाउने ‘पेट सिटी स्क्यान’ सेवा सुरुआत गरिएको छ । यो सेवा थालनी भएसँगै  क्यान्सरका बिरामी उपचारका लागि विदेश जानुपर्नेका अवस्थामा कमी आउने जनाइएको छ ।     दुई वर्षअघि अस्पातालले ‘पेट सिटी स्क्यान’ उपकरण ल्याए पनि सरकारले  रेडियोधर्मीसम्बन्धी ऐन, नियम नबनाएका कारणले सञ्चालन आउन सकेको थिएन । अस्पतालका मेडिकल निर्देशक डा वीरेन्द्र यादवले भन्नुभयो, “पेट सिटी स्क्यान’ को सेवा सुरु भएपछि क्यान्सर उपचारका लागि  भारतलगायत छिमेकी मुलुक जानुपर्ने अवस्थामा लगभग अन्त्य हुने छ ।”    क्यान्सर रोगी केही नेपाली बिरामीहरु उपचारका लागि  भारतलगायत अन्य मुलुकमा जाने जनाइएको छ । उहाँले भन्नुभयो, “अब हामीले नै  पेट सिटी स्क्यानको सेवा न्यूनतम शुल्कमा दिएपछि बाहिर मुलुकमा उपचारका लागि जानु पदैन ।” उहाँका अनुसार ‘पेट सिटी स्क्यान’ उपकरणले क्यान्सर रोगको अवस्थाबारे जानकारी गराउने र यसले गर्दा क्यान्सरको उपचार गर्न सजिलो हुन्छ । “क्यान्सर कति फैलिएको छ । उपचारपछि निको कति भयो, भएन । सबै कुराको थाहा उपकरणबाट पत्ता लाग्ने गर्दछ”, भारतको मेदान्त अस्पतालमा सेवा गरिसक्नु भएका डा यादवले भन्नुभयो, “उपकरण सञ्चालन भएपछि अब जस्तोसुकै क्यान्सरको उपचार हामी गर्न सक्दछौँ ।” क्यान्सर अस्पतालमध्ये पहिलोपटक पूर्वाञ्चल क्यान्सर अस्पतालाले ‘पेट सिटी स्क्यान’ सेवाको सुरुआत गरेको हो ।     ४५ हजारमा ‘पेट सिटी स्क्यान’  अस्पतालले अन्य ठाउँभन्दा सस्तोमा ‘पेट सिटी स्क्यान’ सेवा दिने भएको अस्पतालका निर्देशक डा यादवले बताउनुभयो । ‘पेट सिटी स्क्यान’ सेवा अस्पतालले ६० हजारमा उपलब्ध गराए पनि अहिले दुई महिनासम्म बिरामीलाई रु ४५ हजारमै उपलब्ध गराउने उहाँको भनाइ छ । भारतमा ‘पेट सिटी स्क्यान’ सेवाका लागि जाँदा करिब रु पाँच लाखसम्म खर्च हुने गरेको छ ।   ‘पेट सिटी स्क्यान’ सेवाका लागि ‘रेडियो आइसोटोप’ समेत प्रयोग गरिन्छ । उक्त रेडियो आइसोटोप ल्याएको चार घण्टाभित्र बिरामीको उपचारका लागि प्रयोग गरिसक्नुपर्ने हुन्छ । भारतको कोलकाताबाट खरिद गरेको दुई घण्टामा झापाको बिर्तामोडमा उक्त ‘रेडियो आइसोटोप’ आइपुग्ने र बिरामीलाई समेत सजिलै उपचार गर्न सकिने अस्पतालका निर्देशक डा यादवले जानकारी दिनुभयो ।   कोलकाताबाट सिलगुडीको वागडुग्रा विमानस्थलमा एक घण्टा र त्यहाँबाट आधा घण्टामा बिर्तामोडमा ‘रेडियो आइसोटोप’ ल्याइने गरिन्छ । ‘पेट सिटी स्क्यान’ उपकरण सञ्चालन गर्ने अस्पतालका  न्युुक्लियर मेडिसिन विभागका प्रमुख डा रितेश उपाध्यायले क्यान्सरको उपचारका गर्दा पटक–पटक ‘पेट सिटी स्क्यान’ गर्नुपर्ने जानकारी दिनुभयो ।    उहाँका अनुसार क्यान्सरको उपचार थालनी गर्नुपूर्व, उपचारको बीचमा र उपचारपछि निको भयो कि भएन भनेर ‘पेट सिटी स्क्यान’ उपकरणबाट परीक्षण गर्ने गरिन्छ । “क्यान्सर उपचारपछि निको भयो कि भएन । उपचारलाई परिवर्तन गर्नुपर्ने हो वा होइनसमेत ‘पेट सिटी स्क्यान’बाट थाहा हुन्छ”, डा उपाध्यायले भन्नुभयो, “‘पेट सिटी स्क्यान’ अन्य रोगको पनि उपचारका लागि पनि प्रयोग गरिन्छ ।”   उहाँले क्यान्सरको उपचारका लागि ‘पेट सिटी स्क्यान’ अनिवार्य रहेको भन्दै शरीरको पूरै भागको स्क्यान गरी क्यान्सरको अवस्था पत्ता लाग्ने बताउनुभयो । अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीले दैनिक १०–१२ जनाको ‘पेट सिटी स्क्यान’ सेवा दिनसक्ने बताउनुभयो । उहाँले आजदेखि ‘पेट सिटी स्क्यान’ सेवा सुरु गरे पनि आइतबारदेखि नियमितरूपमा सुरु गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार २५ क्यान्सर बिरामीको ‘पेट सिटी स्क्यान’ गर्न तयारी गरिएको छ । अस्पतालमा दैनिक एक सय २५ जना क्यान्सरका बिरामी आउने गरेका छन् । अस्पतालम काठमाडौँ लगायत देशका अन्य क्षेत्रबाट बिरामी आउने गरेका छन् ।

  काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण आज दुई सय ६९ मा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा तीन हजार पाँच सय ५७ परीक्षणमध्ये दुई सय ६९ मा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । आज दुई सय १५ जना कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई घर फर्किएका छन् । निको हुने प्रतिशत ९८.५ प्रतिशत छ । सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार एक सय ५८ पुगेको छ ।     यस्तै आज कोरोना भाइरसको  सङ्क्रमणबाट एक जनाको निधन भएको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर छन् । सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, जुम्ला र मुगु छन् ।     यस्तै होम आइसोलेसनमा तीन हजार चार, संस्थागत आइसोलेसनमा एक सय ५४, सघन उपचार कक्ष (आइसियु)मा ४६ र भेन्टिलेटरमा सात जनाको उपचार भइरहेको छ । आज कसैले पनि कोरोना भाइरसविरुद्धको खोप लगाएका छैनन् ।

  काठमाडौं । चालु आर्थिक वर्षको साउन महिनामा ७६ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ । नौ सय ८९ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको हो । गत वर्षको साउनमा छ जनामा मात्रै सङ्क्रमण देखिएको थियो । स्वास्थ्य कार्यालय चितवनका अनुसार साउन महिनामा सङ्क्रमण देखिनेमा खैरहनी र रत्ननगर नगरपालिकामा बढी रहेको छ ।    कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार जिल्लाको भरतपुर अस्पताल, राप्ती, खैरहनी, रत्ननगर, भरतपुरको शिवनगर, माडीलगायतका अस्पतालमा डेङ्गु रोगको परीक्षण गरिँदै आएको छ । उहाँले भन्नुभयो, “यो वर्ष डेङ्गुको सङ्क्रमण फैलिने जोखिम उच्च छ ।” भदौ, असोज र कात्तिक डेङ्गुका लागि उच्च जोखिमका महिना रहेको उहाँले बताउनुभयो ।    डेङ्गु ज्वरो एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ । यो लामखुट्टेले प्रायः बिहान र साँझ टोक्ने गरेको पाइन्छ । डेङ्गुको सङ्क्रमण देखिए एक्कासि ज्वरो आउने, ज्वरो पाँच/सात दिनसम्म रहने, आँखाका गेडी तथा टाउको दुख्ने, शरीर कटकट दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने जस्ता लक्षण देखापर्ने उहाँले जानकारी दिनुभयो ।    भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कालीदास अधिकारीले अहिले दिनहुँजसो डेङ्गुका बिरामी अस्पताल आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलाको भन्दा अहिले डेङ्गुका बिरामीको सङ्ख्या बढ्दो छ ।” डा. अधिकारीका अनुसार अहिले डेङ्गुका बिरामीको वृद्धिदर पाँचदेखि सात प्रतिशत रहेको छ । डेङ्गु रोगको सङ्क्रमणबाट बच्नका लागि पूरा बाहुला भएको कपडा लगाउने, झुलभित्र सुत्ने, घर वरिपरि सरसफाइ गर्नुपर्ने उहाँले बताउनुभयो । घर वरिपरि भएका खाल्डा पुर्ने र पानी जम्ने ठाउँ भए त्यहाँ हप्तामा एक पटक मट्टितेल छर्कने गर्नुपर्ने स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । गत आर्थिक वर्ष जिल्लामा पाँच हजार चार सय ५४ जनाको परीक्षण गर्दा तीन सय तीन जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । 

बागलुङको बरेङ गाउँपालिका–३ बाटाका चौरस्थित सारदा माध्यमिक विद्यालयका सात विद्यार्थी बेहोस भएका छन् ।   बिहीबार पाँच र शुक्रबार दुई छात्रा एक्कासी बेहोस भएको विद्यालयका प्रधानाध्यापक देवीदत्त पौडेलले जानकारी दिनुभयो । टाउको दुख्यो भनेर सुत्ने, चिच्याउने, बरबराउने, एकोहोरो भएर टोलाउने, पछारिने र बेहोस हुने गरेको पौडेलको भनाइ छ । बेहोस हुनेमा कक्षा ७, ८, ९ र १० मा अध्ययन गर्ने छात्रा रहेको पौडेलले बताउनुभयो ।    गत जेठमा पनि विद्यालयका दुई विद्यार्थीमा यही प्रकारको बिरामी भएको र त्यसयता यो खालको समस्या नआएको प्रधानाध्यापक पौडेल बताउनुहुन्छ । “गत जेठमा पनि विद्यालयमा दुई विद्यार्थीमा यो समस्या देखिएको थियो, त्यसपछि यस्तो समस्या आएको थिएन”, प्रअ पौडेलले भन्नुभयो, “अहिले फेरि समस्या देखियो ।”   सात विद्यार्थीमा बेहोस हुने समस्या देखिएपछि अन्य विद्यार्थी त्रसित बनेका छन् । धेरै विद्यार्थीमा यसखालको समस्या आउन नदिनका लागि विद्यालय बन्द गर्नुपर्ने स्थानीयको भनाइ छ । उनीहरूले बिहीबारनै विद्यालय बन्द गरेको भए अरु विद्यार्थीमा समस्या नदेखिने बताउँछन् ।    बिहिबार एकै दिन पाँच छात्रा बेहोस भएर ढलेपछि विद्यालयले अभिभावकलाई बोलाएर जिम्मा लगाएको प्रअ पौडेलले बताउनुहुन्छ । “हिजो पढाउँदै गर्दै पाँच विद्यार्थी बेहोस भए, आज पनि दुई विद्यार्थीमा यो समस्या देखिएपछि हामीले अभिभावक बोलाएर जिम्मा लगायौँ, यहाँबाट दुई शिक्षिकासहित उनीहरू स्वास्थ्यचौकी पठाका छौँ”, उहाँले भन्नुभयो, “यो विषयलाई गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुखलाई पनि जानकारी गराएका छौँ ।”   बिहीबार बिरामी परेका छात्राको स्वास्थ्य अवस्थामा अहिलेसम्म पनि सुधार आउन नसकेको शिक्षिका सरिता पौडेलले बताउनुभयो । अध्ययन गर्न विद्यालय गएका बालिका एक्कासी बिरामी हुन थालेपछि अभिभावकमा पनि त्रास छाएको छ । विद्यालयमा विद्यार्थी एकाएक बिरामी पर्न थालेपछि विद्यालय व्यवस्थापन समितिको बैठक बसेर तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । विद्यालय १४ गतेदेखि सञ्चालन गर्ने विद्यालयले जनाएको छ । तीन दिनपछि पनि अरु विद्यार्थीमा समस्या देखिए स्वास्थ्यकर्मीसँग परामर्श लिएर अगाडि बढ्ने प्रअ पौडेल बताउनुहुन्छ ।   “दिनदिनै विद्यार्थी बिरामी पर्ने थाले, तिज पनि नजिकिएको छ, त्यसले गर्दा १४ गतेसम्मका लागि विद्यालय बन्द गर्ने व्यवस्थापन समितिसँगको बैठकलले निर्णय गरेको छ”, उहाँले भन्नुभयो, “१४ गते विद्यालय खोल्ने निर्णय भएको छ, त्यस बेलासम्म पनि अरु विद्यार्थीमा यही समस्या देखियो भने स्वास्थ्यकर्मीसँग पराशर्म लिएर थप निर्णय गर्ने छौँ ।”

  काठमाडौँ ।  काठमाडौँ उपत्यकासँगै देशका विभिन्न ठाउँमा डेङ्गु ज्वरोका बिरामी बढेको पाइएको छ । लामखुट्टे धेरै पाइने तराई–मधेश तथा पहाडी क्षेत्रमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । विशेष गरी जनघनत्व बढी भएका काठमाडौँ उपत्यका, पोखराजस्ता सहरमा डेङ्गुज्वरोका बिरामी बढिरहेका छन् । यसपटक काठमाडौँमा डेङ्गुका बिरामी धेरै देखिएको वीर अस्पतालका निमित्त प्रशासकिय अधिकारी डा. भूपेन्द्र बस्नेतले जानकारी दिनुभयो ।    अस्पतालमा चिकित्सकसहित धेरै डेङ्गुका बिरामी भर्ना भएको बताउनुभयो । “यहाँ दैनिक डेङ्गुका बिरामी भर्ना भइरहेका छन्”, उहाँले भन्नुभयो,“घर वरपर सफा राख्नका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्दछ ।” विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेङ्गुको सङ्क्रमण फैलिने गर्छ ।    नेपालमा सन् २००४ मा पहिलो पटक डेङ्गुको बिरामी फेला परेको थियो । त्यसयता डेङ्गुको सङ्क्रमण देखिँदै आएको छ । सरुवा रोग विशेषज्ञ डा अनुप बाँस्तोलाले सन् २००६, २०१०, २०१२, २०१३, २०१७ र २०१९ मा डेङ्गु बढेको बताउँनुहुन्छ । त्यसपछि अहिले नै डेङ्गुका बिरामी बढेको उहाँको भनाइ छ । बीचका वर्षमा पनि डेङ्गुका फाट्टफुट्ट बिरामी भेटिइरहे ।    तराई–मधेशमा बढी देखिने डेङ्गु २०१८ पछि भने पोखरा, काठमाडौँ जस्ता पहाडी सहरमा पनि देखा प¥यो । “उपत्यकामा लामखुट्टे बढेको र डेङ्गुका बिरामी पनि उपत्यका प्रवेश गरेका छन्”, उहाँले भन्नुभयो, “ती बिरामीबाट अन्य मानिसलाई लामखुट्टेले रोग सार्ने गरेकाले उपत्यकामा डेङ्गुका बिरामी बढी देखिएका हुन् ।”    निजामति कर्मचारी अस्पतलाका निर्देशक डा विधाननिधि पौडेलले अस्पतालमा अहिलेसम्म १९ बिरामीको उपचार भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार आज पनि आठ जना बिरामीको उपचार भइरहेको छ । अस्पतालले डेङ्गुबाट बच्नका लागि सबै शय्यामा रहेका बिरामीलाई झुल प्रयोग गर्न निर्देशन दिएको छ ।    “तापक्रम बढेसँगै अहिलेको मौसममा सफा र जमेको पानीमा बस्ने ‘एडिज एजिप्टी’ र एडिस एल्बोपिक्टस प्रजातिको लामखुट्टको टोकाइले डेङ्गु रोग लाग्दछ”, उहाँले भन्नुभयो, “उपत्यकामा पहिले भन्दा अहिले तापक्रम बढेकाले धेरै बिरामी देखिएका हुन ।”   उहाँका अनुसार साउनदेखि असोजसम्म बढी गर्मी र पानी पर्ने भएकोले डेङ्गुको सङ्क्रमण जोखिम बढी हुने गरेको छ । सरुवा रोग विशेषज्ञ डा. बाँस्तोलाका अनुसार समुदायस्तरमा १० हजार मानिस डेङ्गुबाट सङ्क्रमित भए भने एक हजार जनामा लक्षण देखापर्छ । जसमध्ये पाँच सय जना भाइरल ज्वरोले सङ्क्रमित हुन्छन् भने अर्को पाँच सय जनामा डेङ्गु ज्वरोका लक्षण देखिन्छन् ।    उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर , घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेङ्गुका लक्षण हुन् । डेङ्गु ज्वरो सञ्चो हुने बेलामा शरीरमा राता दाग पनि देखा पर्छन् ।   गम्भीर प्रकृतिको डेङ्गु सङ्क्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट खुट्टा सुनिने जस्ता लक्षण देखा पर्छन् ।    यस्ता लक्षण देखिएका बिरामीलाई भने तत्काल अस्पताल भर्ना गराउनुपर्छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कल्सन्टेन्ट फिजिसियन डा बिमल चालिसेका अनुसार अस्पतालमा अहिले २२ जना डेङ्गुका बिरामीको उपचार भइरहेको छ । उहाँले अहिलेको मौसम नै पानी जम्ने र उक्त पानीमा लामखुट्टे बढी फैलिने भएकोले डेङ्गुको सङ्क्रमण देखिएको बताउनुभयो ।    उहाँले डेङ्गु रोग चार प्रकारका भए पनि अहिले नेपालमा कुन प्रकारको डेङ्गु देखिएको छ भन्नेमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेलका अनुसार पुस यता दुई हजार एक सय आठ जनामा डेङ्गुका बिरामी देखिएको छन् । जेठयता काठमाडौँमा दुई सय ३३, ललितपुरमा छ सय २३ र भक्तपुरमा ३८ जना डेङ्गुका बिरामी भेटिएका छन् ।    साउनमा मात्रै काठमाडौँमा एक सय ९६, भक्तपुरमा ३५ र ललितपुरमा पाँच सय २३ बिरामी भेटिएको उहाँले जानकारी दिनुभयो । अहिलेदेखि फैलिन सुरु भएको डेङ्गुको सम्भावित प्रकोप रोक्न लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान चलाउनुपर्दछ । सर्वप्रथमतः हाम्रो घर, विद्यालय, बजार वरिपरि जम्मा भएको पानी हटाउनुपर्छ ।    एकैठाउँ जमेर रहेको सङ्लो पानीमा डेङ्गु सार्ने लामखुट्टेले अन्डा पार्ने गर्छ । त्यसैले धेरै समय बाहिर खुला रुपमा पानी राख्न हुँदैन । डेङ्गुको रोकथाम गर्नु भनेको लामखुट्टेको टोकाइबाट बच्नु हो । साँझा–बिहान लामखुट्टेको टोकाइबाट बच्न सतर्क रहनुपर्छ । घरमा जालीढोका लगाउने, झुल टाँगेर सुत्ने, साँझा–बिहान सकेसम्म बाहिर ननिस्कने तर निस्कनै परे लामा बाहुला भएका लुगा लगाउने वा लामखुट्टे भगाउने क्रिम लगाएर हिँड्ने गर्नुपर्दछ ।