गोरखामा तीजको दर खाएका एउटै गाउँका एक सयभन्दा बढी व्यक्ति बिरामी परेका छन् । गोरखा नगरपालिका–७ मान्द्रेढुङ्गाका महिला तथा पुरुष तीजको भोज खाएपछि बिरामी परेका हुन् । वडाध्यक्ष विष्णु श्रेष्ठका अनुसार भोज खाएका अघिकांश बिरामी परेका छन् । “कृष्ण जन्माष्टमीका दिन स्थानीय महिला तथा पुरुष मिलेर तीजको दर खाएका थिए । सोही साँझदेखि नै भोज खाएका सबै बिरामी परेका हुन्”, उहाँले भन्नुभयो, “बिरामी परेको थाहा पाएपछि स्वास्थ्यकर्मी लगेर उपचार सुरु गरिएको छ ।” स्वास्थ्यकर्मीको टोलीले ४० जनाभन्दा बढीको स्वास्थ्य जाँच गराएको श्रेष्ठले बताउनुभयो । बिरामीको घरघरमा स्वास्थ्यकर्मीको टोली पठाएर आवश्यक औषधोपचार गरिएको उहाँले बताउनुभयो । बिरामी परेकाहरू अहिले विस्तारै निको हुँदै गएका छन् । केहीलाई अझै घरमै स्लाइनपानी दिएर राखिएको अहेव भूमिका श्रेष्ठले जानकारी दिनुभयो । बिरामीमा शनिबार साँझदेखि नै पेट दुख्ने, वान्ता हुने, जरो आउने र पखाला लाग्ने समस्या देखिएको उहाँले बताउनुभयो । बिरामीमध्ये अधिकांशको गोरखा सदरमुकामका निजी क्लिनिकमा उपचार भइरहेको छ । “केही आफैँ गोरखा अस्पताल पुगेर उपचार गराइरहेका छन्”, उहाँले भन्नुभयो ।
भरतपुर । अत्यधिक नियमित मदिरा सेवन गर्नाले कलेजो बिग्रनेको सङ्ख्या दैनिक बढ्दो छ । भरतपुरको मौलाकालिका अस्पतालका रेडियोलोजिष्ट डा रमेश घिमिरेसँग जाँच गराउन आउने बिरामीमध्ये दैनिक सरदर तीन जना मदिरा सेवनका कारण कलेजो बिग्रेर आउने गर्दछन् । उहाँले भन्नुभयो “कलेजो बिग्रने अवस्थामा जाँदै गरेका बिरामी दैनिक छ हाराहारी आउँछन् ।” अस्पतालमा कलेजोरोग विशेषज्ञ र मनोरोग विशेषज्ञ भएकाले यस्ता बिरामी बढी हुने गरेका छन् । यसो त यहाँका मेडिकल कलेज, सरकारी भरतपुर अस्पताल र अन्य निजी अस्पतालमा यो समस्या लिएर आउनेको सङ्ख्या निकै बढी हुने गरेको छ । उहाँले भन्नुभयो, “फ्याटी लिभर भएका दैनिक आठ/दश जना आउँछन् । तीमध्ये ७५ प्रतिशत मदिरा सेवन गर्नेहरू हुन्छन् ।” ‘फ्याटी’ लिभर भएका सामान्य, मध्यम र जटिल भएर आउने गर्दछन् । उनीहरूलाई सामान्य अवस्थामा फर्काउन सकिने चिकित्सकहरू बताउँछन् । कलेजोको ‘सिरोसिस’ भएकालाई पूर्ववत अवस्थामा फर्काउन कठिन हुन्छ । यस्तालाई प्रत्यारोपणको विकल्प हुँदैन । डा घिमिरेले ‘सिरोसिस’ भएको बिरामीको कलेजो जुटको बोराजस्तै हुने जानकारी दिनुभयो । चितवन मेडिकल कलेजका कलेजो प्रत्यारोपण सर्जन डा सञ्जयकुमार यादवले अस्पतालमा हालसम्म प्रत्यारोपण गरिएका छ जना सबैको उच्च मदिराका कारण कलेजो काम नलाग्ने भएको बताउनुभयो । तीमध्ये एक जनामा हेपाटाइटिस बी समेत देखिएको थियो । उहाँले भन्नुभयो, “नेपालमा कलेजोमा समस्या आउने अधिकांश मदिराको कारण हो ।” लामो समयसम्म धेरै मदिरा पिउनेहरूमा कलेजोको समस्या हुने गरेको छ । धेरै मदिरा सेवन गर्नेहरूमध्ये १० देखि १५ प्रतिशतमा कलेजोको समस्या हुने उहाँ बताउनुभयो । चिकित्सकका अनुसार नियमित धेरै मदिरा सेवन गर्नेका १० देखि १५ वर्षमा कलेजो बिग्रने गर्दछ । सुरुमा कलेजो खराब भए पनि बाहिर समस्या देखिँदैन । भिडियो एक्सरे र रगत परीक्षण गर्दा मात्रै समस्या देखिने डा यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “मदिरा सेवन गर्नेहरूले नियमित भिडियो एक्सरे वा रगतको नमूना परीक्षण गराउनु पर्छ ।” मदिरा धेरै सेवन गर्नेमा जण्डिस हुने, पेटमा पानी जम्ने, रगत वान्ता गर्ने, बेहोस हुनेजस्ता समस्या देखिने डा यादवको भनाइ छ । हेपाटाइटिस बी र सी का कारण पनि कलेजो खराब हुने गर्दछ । तौल बढी भएका, वंशाणुगत रोग हुनेहरू र कलेजोको क्यान्सर भएर पनि समस्या देखिने डा यादवले जानकारी दिनुभयो । मदिरा धेरै सेवन गर्नेहरुले समय–समयमा परीक्षण नगर्ने र अन्तिम अवस्था पुगेपछि मात्रै परीक्षण गर्दा कलेजो पूरै काम नलाग्ने अवस्थामा पुग्ने गरेको पाइन्छ ।
तनहुँका ३८ हजारभन्दा बढी बालबालिकालाई विद्यालयमै कोरोनाविरुद्धको फाइजर खोप लगाइने भएको छ । पाँचदेखि १२ वर्षमुनिका ३८ हजार एक सय ५८ बालबालिकालाई विद्यालयमै फाइजर खोप लगाउन लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ती उमेर समूह लक्षित खोप अभियान सञ्चालन गर्न निर्देशन दिएसँगै जिल्लामा भदौ ७ गतेदेखि खोप लगाउन स्वास्थ्य कार्यालय तनहुँ व्यवस्थापनमा जुटेको कार्यालय प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका एक सय २० शैक्षिक संस्थामार्फत बालबालिकालाई खोप लगाइने छ । खोप अभियान सञ्चालनका लागि जिल्लाका स्वास्थ्यकर्मीलाई अभिमुखीकरण गरिसकिएको छ । “राष्ट्रव्यापी अभियानअन्तर्गत जिल्लामा पनि खोप अभियान सञ्चालनका लागि तयारीमा जुटेका छाँै, स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिसकिएको छ”, अधिकारीले भन्नुभयो । पहिलो चरणमा भदौ ७ गतेदेखि १० गतेसम्म शुक्लागण्डकी र भानु नगरपालिकामा खोप अभियान सञ्चालन गरिनेछ । दोस्रो चरणमा भदौ ११ देखि १४ गतेसम्म व्यास नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकामा खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ । दुई लाखले लगाए पूरा मात्रा जिल्लाका १० वटै पालिकाका दुई लाखभन्दा बढीले खोपको पूरा मात्रा लगाएका छन् । चार नगरपालिका र छ गाउँपालिकाका दुई लाख १७ हजार तीन सय सातले पूरा मात्रा लगाएको कार्यालयले जनाएको छ । त्यस्तै एक लाखभन्दा बढीले कोभिड खोपको अतिरिक्त मात्रा लगाएका छन् । एक लाख तीन हजार तीन सय ७६ ले अतिरिक्त मात्रा लगाएका छन् । भानु नगरपालिकाका १३ हजार नौ सय ६९, व्यास नगरपालिकाका २८ हजार तीन सय १८, शुक्लागण्डकी नगरपालिकाका १३ हजार दुई सय ९५, भिमाद नगरपालिकाका १२ हजार २७, म्याग्दे गाउँपालिकाका नौ हजार एक सय ९४, घिरिङ गाउँपालिकाका चार हजार चार सय ९४, ऋषिङ गाउँपालिकाका आठ हजार एक सय एक, देवघाट गाउँपालिकाका तीन हजार आठ सय आठ, बन्दीपुर गाउँपालिकाका तीन हजार तीन सय ४०, आँबुखैरेनी गाउँपालिकाका छ हजार आठ सय ३० ले अतिरिक्त मात्रा लगाएका छन् ।
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप छ सय २३ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा चार हजार नौ सय ४५ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार छ सय २१ जनाले पिसिआर र तीन हजार तीन सय २४ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १० हजार नौ सय ९० जनाले कोभिड विरुद्धको खोप लगाएका छन् । यही अवधिमा चार सय ८७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ७७ हजार आठ सय ४५ पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव तीन प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार २४ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय ९० पुगेको छ । होम आइसोलेशनमा चार हजार आठ सय ३४, संस्थागत आइसोलेसन एक सय ९०, आइसियूमा ४९ र भेन्टिलेटरमा छ जना सङ्क्रमित रहेका छन् । हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् । शून्य सङ्क्रमित रहेका जिल्लाहरुमा मनाङ, मुस्ताङ, कालिकोट, हुम्ला, डोल्पा, जुम्ला र मुग रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा दुई हजार चार सय ४३, ललितपुर आठ सय एक र भक्तपुरमा ८० सक्रिय सङक्रमित रहेका छन् । कुलमा सङ्क्रमणदर १७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
काठमाडौं: देशभर पछिल्लो २४ घण्टामा पाँच सय ४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार नौ सय ३० जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा नौ लाख ९४ हजार छ सय १३ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा एक लाख ४८ हजार चार सय ६१ जनामा कोरोना भाइरस पुष्टि भएको छ । पछिल्लो समय थप चार सय २१ जना सङ्क्रमणमुक्त भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ७७ हजार तीन सय ५८ पुगेको छ । यस रोगका कारण पछिल्लो समय कसैको पनि मृत्यु भएको छैन । नेपालमा यस सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय ९० पुगेको छ । त्यसैगरी पछिल्लो समय ९७ हजार छ सय ५७ जनाले खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार दुई सय ६५ पुगेको छ । तीमध्ये होम आइसोलेशनमा पाँच हजार ६७, संस्थागत आइसोलेशनमा एक सय ९८, आइसीयूमा ५४ र भेन्टिलेटरमा सात जनाले उपचार गराइरहेका छन् ।
भक्तपुर । भक्तपुर जिल्ला स्वास्थ्य कार्यालय र कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रले यहाँ हात्तीपाइले रोगको अवस्थाका बारेमा जिल्लास्तरीय सर्वेक्षण गर्ने भएका छन् । हात्तीपाइले रोगको वास्तविक अवस्था कस्तो छ भन्ने जानकारी लिन र रोग निवारणका लागि आवश्यक नीति बनाउने उद्देश्यले जिल्लाका चार नगरपालिकाका ४० विद्यालयमा सर्वेक्षण गर्न लागिएको हो । कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रका निर्देशक केशवराज पण्डितले सन् २०१३ मा भक्तपुरमा १३ प्रतिशतमा हात्तीपाइले रोगका बिरामी रहेका र त्यसपछिको अवस्था के छ, भक्तपुरलाई हात्तीपाइले रोग निवारणमुक्त जिल्ला बनाउन के गर्ने भन्नेबारेमा नीति बनाउन सर्वेक्षण गर्न लागिएको बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन दीपक अछामीले हात्तीपाइले रोगको ओखती जान्ने बुझ्नेले पनि नखाँदा जोखिम बढेको बताउनुभयो । उहाँले विद्यालयमा कक्षा १ र २ मा अध्ययनरत छ÷सात वर्ष उमेर समूहका विद्यार्थीमा नमूना परीक्षण गरी सर्वेक्षण गरिने बताउनुभयो ।
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप आठ सय ५२ मा कोभिड सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा छ हजार तीन सय ८३ को नमूना परीक्षण गरिएको थियो । तीन हजार आठ सय ७६ ले पिसिआर र दुई हजार पाँच सय सात जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा तीन सय २८ कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ७६ हजार नौ सय ३७ पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव दुई प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार चार सय ६२ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय ९० पुगेको छ । होम आइसोलेसनमा पाँच हजार दुई सय ५९, संस्थागत आइसोलेसनमा दुई सय तीन, आइसियुमा ५९ र भेन्टिलेटरमा सात जना सङ्क्रमित रहेका छन् । हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा दुई सय बढी सङ्क्रमित रहेको जिल्लामा कैलाली रहेको छ । शून्य सङ्क्रमित रहेका जिल्लामा पाँचथर, मनाङ, कालीकोट, हुम्ला, डोल्पा, जुम्ला र मुगु रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा दुई हजार छ सय ३२, ललितपुर आठ सय ६० र भक्तपुरमा एक सय ११ सक्रिय सङ्क्रमित रहेका छन् । कूल सङ्क्रमणदर १७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
भौगोलिक रुपले विकट मानिएको हिमाली जिल्ला मुस्ताङमा पहिलो पटक प्रसूति शल्यक्रिया सेवा संञ्चालनमा ल्याएको छ । संघीय सरकारको गत आर्थिक वर्षमा (सिओएमसी)साईट स्थापना कार्यक्रम अन्तर्गत विनियोजित २५ लाख बजेट मार्फत जोमसोममा रहेको मुस्ताङ जिल्ला अस्पताललाई आवश्यक उपकरण तथा सामाग्री उपलब्ध गराईपछि जिल्लामा पहिलो पटक प्रसूति शल्यक्रिया सेवा संञ्चालनमा ल्याईएको हो । संघीय सरकारले मुस्ताङ जिल्ला अस्पताललाई सिओएमसी साईट स्थापनाका लागि गत आर्थिक वर्षको अन्तिममा आवश्यक उपकरण तथा सामाग्री खरिद गर्न बजेट उपलब्ध गराएको थियो । यसपछि अस्पतालले अप्रेसन थिएटर(ओसी) कक्षको आवश्यक स्तरोन्नति र मर्मत गरी मुस्ताङ जिल्लामा पहिलो पटक प्रसूति शल्यक्रिया सेवा संञ्चालनमा ल्याएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन विशाल तिवारीले अन्नपूर्णलाई जानकारी दिए ।‘ ३ महिना अघि प्रसूति शल्यक्रिया संम्वन्धि उपकरण हामीलाई प्राप्त भयो,दुई हप्तामा ओसी कक्षको स्तरोन्नति गर्यौं, निमित्त मेसु तिवारीले भने,‘ त्यसपछि दुई हप्तामा हामीले यसको सबै व्यवस्थापन मिलायौं ,अब सामान्य प्रसूति अप्रेसन गर्न पोखरा–काठमान्डौं धाउन पर्दैन ।’ मुस्ताङ जिल्ला अस्पतालमा सिओएमसी साईड स्थापनासंगै पहिलो पटक प्रसूति सेवा संञ्चालनमा आएपछि यसको सफल परीक्षण समेत भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन तिवारीले जानकारी दिए । मंगलबार सामान्य सुत्केरी व्याथाले चापेर प्रसूतिका लागि मुस्ताङ अस्पताल ल्याईएकी थासाङ–३ लेते कालोपानीकी २४ वर्षीय अनिता परियारको प्रसूति शल्यक्रिया सफल भएको अस्पतालले जनाएको छ । उनी शल्यक्रिया मार्फत बच्चा जन्माउने पहिलो महिला बनेकी छिन् । उनको प्रसूति शल्यक्रियाका लागि अस्पतालका एमडिजिपी डाक्टर कुन्दन कर्णको नेतृत्वमा डा. विशाल तिवारी,डा. राजिव सापकोटा ,स्टाफ नर्स सुनिता श्रीमल, निता घर्ती र सहयोगी सनिलाल परियार समेतको टोली खटिएको थियो । उनीहरुले प्रसूति व्यथाले च्यापेकी महिलाको पेटबाट शल्यक्रिया गरेर २ केजी ८ सय ग्राम तौलको बच्चा बाहिर निकालेका थिए । अस्पतालले शल्यक्रिया मार्फत प्रसूति गराईएकी महिला र शिशुको अवस्था सामान्य रहेको जनाएको छ । यसअघि मुस्ताङ जिल्ला अस्पतालमा प्रसूति शल्यक्रिया संम्वन्धि सेवा नहुँदा महङगो खर्च गरेर पोखरा–काठमान्डौं लैजान पर्ने बाध्यता थियो । कतिपय डेलिभरी महिलाहरुले ब्याथाले समयमा प्रसूति सेवा तथा उपचार पाउँन नसक्दा अकालमा ज्यान गुमाउनु पर्ने अवस्था रहेको थियो । जिल्ला भित्र प्रसूति सेवाको माध्यमबाट सफल शल्यक्रिया गरी सहज डेलिभरी गराईएपछि डेलिभरी भएकी महिलाकी श्रीमान मनिस परीयार उत्साहित भएका छन् ।‘ मंगलबारदेखि श्रीमतीलाई ब्यथाले च्याप्यो, कता लैजाने अलमलमा थिए ,उनले भने,पोखरा लैजाउकी म्याग्दीको बेनी लैजाउ भन्ने सोचमा थिए , मुस्ताङ अस्पतालमै शल्यक्रिया सुविधा छ भन्ने सुने , यसैले श्रीमतीलाई यहाँ ल्याएको हुँ ।’ उनले मुस्ताङमा पहिलो पटक सुरु भएको यसप्रकारको सेवा सुविधाले मुस्ताङी डेलिभरी हुने महिलालाई ठुलो राहत पुर्याउने विश्वाश व्यक्त गरे । मुस्ताङमा पहिलो पटक महिलाको डेलिभरी सम्वन्धि सहज र सफल शल्यक्रिया सफल भएपछि अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी उत्साहित भएका छन् । मुस्ताङ जिल्ला अस्पतालमा आवश्यक श्रोत साधन नहुँदा बिरामीले विभिन्न कठिनाई झेल्नुपर्ने अवस्था रहेकोमा शल्यक्रिया सेवा संञ्चालनले राम्रो सन्देश प्रवाह गरेको अस्पतालले जनाएको छ ।
हिमालपारीको जिल्ला मुस्ताङको सदरमुकाममा रहेको जनहित माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीमा कोभिड-१९ को संक्रमण पुष्टि भएपछि आइतबार सम्मका लागि विद्यालय बन्द गरिएको छ । घरपझोङ गाउँपालिका-४ जोमसोममा रहेको उक्त विद्यालयका विद्यार्थीमा कोभिड-१९ पुष्टि भएपछि कन्ट्रयाक्ट ट्रेसिङमा परेका ५१ जना विद्यार्थीको मंगलबार एन्टिजेन परीक्षण गर्दा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । विद्यार्थीमा कोरोना संक्रमण देखिएकोले विद्यालय बन्द गरिएको घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गौरीप्रसाद आचार्यले जानकारी दिनुभयो । विद्यालयको छात्राबासमा बस्ने विद्यार्थीमा रुघाखोकी तथा ज्वरो आएर विरामी हुन थालेपछि गाउँपालिकाको स्वास्थ्य शाखाले परीक्षण गर्दा संक्रमण पुष्ति भएपछि बुधबारदेखि प्रारम्भिक चरणमा तीन दिन विद्यालय बन्द गरिएको आचार्यले बताउनुभयो । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले कोभिड-१९ विरुद्ध उच्च सतर्कता अपनाइएको बताउनुभयो । भौतिक दुरी व्यवस्थापन एवं स्वास्थ्य मापदण्डमा कडाइ गरिएको शर्माको भनाई छ । कोभिड–१९ बाट जोगिनका लागि सर्वसाधारणलाई सचेत गराइनुका साथै परीक्षणलाई पनि स्वास्थ्य कार्यालय मुस्ताङ तथा स्थानीय तहले तिब्रता दिएको प्रजिअ शर्माको भनाई छ । स्वास्थ्य कार्यालय मुस्ताङका बरिष्ठ जनस्वास्थ्य अधिकृत रामबहादुर नेपालीका अनुसार अहिले मुस्ताङ जिल्लामा ४३ जना सक्रिय संक्रमित रहेका छन् । थासाङ गाउँपालिकामा ६ जना, घरपझोङ गाउँपालिकामा २७, र मुस्ताङ अस्पतालमा १० गरी कूल ४३ जना सक्रिय संक्रमित रहेको नेपालीले बताउनुभयो ।

