काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप एक सय २६ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।      पछिल्लो २४ घण्टामा तीन हजार सात सय ९० जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार छ सय ७४ जनाको पिसिआर र दुई हजार एक सय १६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो चौबिस घण्टामा एक सय ३७ जना कोरोनाबाट मुक्त भएका छन् । योसँगै कोरोनाबाट मुक्त हुनेको सङ्ख्या नौ लाख ८४ हजार नौ सय ७७ पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव छ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।    हाल सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार एक सय २९ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १५ पुगेको छ । हाल होम आइसोलेशनमा दुई हजार ६२, संस्थागत आइसोलेशनमा ६७ र आइसियुमा १८ सङ्क्रमित रहेका छन् ।    हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा ललितपुर रहेको छ । शून्य सङ्क्रमित रहेका जिल्लामा ताप्लेजुङ, मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, मुग, जुम्ला, बझाङ र दार्चुला छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा आठ सय ३१, ललितपुरमा तीन सय ५७ र भक्तपुरमा ३१ सक्रिय सङ्क्रमित छन् । कूल सङ्क्रमण दर १६ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।  

पोखरा:  गण्डकी प्रदेशका ११ जिल्लामध्ये यसहप्ता कास्कीमा सबैभन्दा बढी डेङ्गुका बिरामी भेटिएका छन् ।    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेशका महाशाखा प्रमुख डा. नारायण श्रेष्ठका अनुसार गण्डकीको ११ जिल्ला भन्दा कास्कीमा बढी डेङ्गुका बिरामी भेटिएको जानकारी दिए ।    जनवरीदेखि सेम्टेम्बर (पुसदेखि भदौ)सम्म कास्कीमा ३२ जना डेङ्गुका बिरामी भेटिएका छन् । तर हिमाली जिल्ला मनाङ र मुस्ताङमा भने अहिलेसम्म डेङ्गु संक्रमित नभेटिएको महाशाखा प्रमख डा. श्रेष्ठले बताए ।    उनका अनुसार बागलुङमा २६, गोरखामा २६, पर्वतमा २१, लमजुङमा २०, नवलपुरमा ८  म्याग्दीमा ७, स्याङ्जामा ७, जनामा डेङ्गुको संक्रमण भेटिएको हो ।   महाशाखाका अनुसार गण्डकी प्रदेशमा अघिल्लो हप्ता ५६ जना र यो हप्तामा २९ जनामा डेङ्गु भेटिएको हो ।    गत वर्ष म्याग्दीमा मात्र २ हजार १ सय ५२ जनामा डेङ्गु संक्रमण भेटिएपनि यो वर्ष सचेतनामूलक र सरसफाइ अभियान सञ्चालन हुँदा म्याग्दीमा अहिले संक्रमण दर निकै कम पाइएको महाशाखा प्रमुख डा. श्रेष्ठले बताए ।    वर्षातमा पानीका मुहान सफा नहुँदा पानीजन्य रोग देखापर्ने गरेको स्वास्थ्यकर्मीले बताएका छन् ।  एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा डेङ्गु रोग सर्छ ।    उच्च ज्वरो आउनु ,आँखा रातो हुनु, खोकी, वान्ता, पेट दुखाई र पखाला, श्वास फेर्न समस्या हुनु, धेरै टाउको दुख्नु, जोर्नी मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कालो दागजस्ता लक्षण देखिने गर्दछ ।    • डेँगुमा के हुन्छ?    -डेंगुलाई  Break Bone ज्वरो पनि भनिन्छ किनकी यसले एकदम जोर्नी तथा मांशपेशी दुख्ने हुन्छ ।    •​ परिचय   -डेंगु ज्वरो एडिस एजिप्टाइ (Ades Aegypti) जातको पोथी लाम्खुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो। यो लामखुट्टेले दिनको समयमा मात्र टोक्ने गरेको पाइन्छ। यो रोग मानिसबाट मानिसमा सिधै सर्दैन। वर्षातको महिना संगै जताततै पानी जम्न थालेपछी यो रोगको प्रकोप हुने गरेको पाइन्छ।  • मुख्य)लक्षणहरु:- - अचानक उच्च ज्वरो आउनु,   - आँखाको वरिपरी तथा कन्चटमा धेरै दुख्नु, - सबै शरीर दुख्नु, - घांटी बस्नु, - साना बिमिरा आउनु,  शरीर चिलाउनु, - वाकवाकी लाग्नु र वान्ता आउनु, - छटपटी हुनु, - रिंगटा लाग्नु, - निद्रा नलाग्नु, - हड्डी तथा मांशपेशी निकै दुख्नु, -आँखा तथा घांटी रातो हुनु, - छाला, नाक, मुख आदिबाट रगत आएमा आकस्मिक अवस्था मान्नुपर्छ, - ८० % बिरामीमा पहिलो दिनमा, ६०-८०% बिरामीमा दोस्रो दिनमा NS1, IgM test ५/७ दिनमा पोजिटिभ देखिन्छ, -१५०,००० देखि ४५०,००० सम्म हुनुपर्ने प्लेटलेट लगातार घट्दै जान्छ ।    • ( विशेष) सतर्कता  -ज्वरोको लागि प्यारासिटामोल मात्र प्रयोग गर्नुहोला ।  - आइबुप्रोफेन, अस्पिरिन आदिको प्रयोग नगर्नुहोला । आइबुप्रोफेन, एस्पिरिन आदिले रगतलाई पातलो बनाउने हुँदा रक्तश्रावजन्य डेंगुमा प्रयोग गर्दा झन् खतरा हुन्छ ।  - बालबालिका, बृद्धबृद्धा, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, दीर्घ बिरामीहरुलाई बिशेष ख्याल गर्नुपर्दछ ।  - जुनसुकै ज्वरो आएपनि यथेष्ट आराम गर्ने, झोलिलो खानेकुरा प्रशस्त खाने, सागसब्जी र फलफुल र गेडागुडीको रस, दाल आदि।  

  महोत्तरी । महोत्तरीको सुदूर उत्तरवर्ती बर्दिबास नगर क्षेत्र डेङ्गुको जोखिममा देखिएको छ । हालसम्म बर्दिबास अस्पतालमा डेङ्गु सङ्क्रमित १७ बिरामी पुगेका छन् ।   यही भदौ महिनामा अस्पतालमा उपचारार्थ पुगेका बिरामीको जाँच गर्दा बर्दिबासका १३, जिल्लाकै छिमेकी नगरपालिका औरही र धनुषाको मिथिला नगरपालिका क्षेत्रका एक–एक गरी १५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा कृष्णा महर्जनले जानकारी दिनुभयो । यो सङ्ख्या भदौ महिनाभरिको हालसम्मको हो । यसबाहेक गत साउनमा बर्दिबासकै दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको डा महर्जनको भनाइ छ ।    बर्दिबास नगर क्षेत्रमा वडा नं १, २, ३ र ८ का उपचार लिन अस्पताल पुगेका बिरामीमा डेङ्गु पुष्टि भएको हो । अस्पतालको जाँचबाट डेङ्गु पुष्टि भएमध्ये तीन जनाको अवस्था गम्भीर पाइएपछि थप उपचारका लागि काठमाडौँ पठाइएको बर्दिबास अस्पतालले जनाएको छ ।   बर्दिबास नगर क्षेत्र पछिल्ला पाँच वर्षयता डेङ्गुको उच्च जोखिममा रहँदै आएको छ । पछिल्ला चार वर्ष फाटफुटमात्र डेङ्गु सङ्क्रमित भेटिए पनि २०७४ मा भने यसले यहाँ आतङ्क नै मच्चाएको थियो । विसं २०७४ को साउनदेखि असोजमध्येसम्म बर्दिबास नगर क्षेत्रमा नै आठ सय ४७ जनामा सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य शाखाले जनाएको छ । यसयताका वर्षमा केही–केही सङ्क्रमण पुष्टि हुँदै आएको बर्दिबासमा यसपालि भने केही दिनभित्रै सङ्क्रमितको सङ्ख्या १७ पुगेका शाखाका प्रमुख सुरेश पासवान बताउनुभयो ।    पछिल्लोपटक नगर क्षेत्रमा डेङगु सङ्क्रमण बढ्दै गएपछि बर्दिबास नगरपालिका नेतृत्वले यसविरुद्ध सरसफाइ अभियान जारी राखेको छ । नगरका सबै  वडामा वडाध्यक्षका संयोजकत्वमा डेङ्गु सार्ने ‘आडेस’ लामखुट्टेका बासस्थान सरसफाइ गर्ने, लामखुट्टेका लार्भा नष्ट गर्ने र किटनाशक औषधि छर्ने अभियान नै थालिएको नगरप्रमुख प्रल्हादकुमार क्षेत्री बताउनुभयो । डेङ्गु सङ्क्रमणको अवस्थाप्रति सबै सचेत भई यसविरुद्धका अभियानमा सरिक हुन पनि क्षत्रीको नगरवासीसँग अपिल छ ।

बलेवा  :  बागलुङको गलकोट नगरपालिका–११ रिघामा भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द भएका छन् ।   रिघामा ज्वरो आउने, रुघाखोकी तथा घाँटी  दुख्ने लक्षणसहितका बिरामी बढेको रिघा स्वास्थ्यचौकी प्रमुख हेल्थ असिस्टेन्ट लक्ष्मी घर्तीले जानकारी दिनुभयो । साविक रिघा गाविसको वडा नं १, २ र ४ वडामा बढी र वडा नं ५ का केहीमा पनि सङ्क्रमण देखिएको उहाँको भनाइ छ ।   “बिरामीलाई सामान्य औषधि दिने काम भइरहेको छ । लामो समय बिरामी भएकाको प्रयोगशाला परीक्षण गर्दा उनीहरूमा टाइफाइडसमेत पोजेटिभ देखिएको छ”, उहाँले भन्नुभयो । गाउँमा बिरामी बढेपछि रिघा स्वास्थ्यचौकीले डेङ्गुको पनि परीक्षण गर्ने तयारी गरेको छ ।   विद्यालयका शिक्षक तथा विद्यार्थी नै भाइरल ज्वरोले  ग्रसित भएपछि विद्यालय तीन दिनका लागि बन्द गरिएको छ । गलकोट–११ मा रहेको छिचिम्रा पोखरी आधारभूत विद्यालय तीन दिनका लागि बन्द गरिएको प्रध्यानाध्यापक हर्कबहादुर विकले बताउनुभयो । गत हप्ता केही विद्यार्थी र शिक्षकमात्रै बिरामी रहेको र आइतबार २४ विद्यार्थी अनुपस्थित भएपछि विद्यालय बन्दको निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । शिक्षक भोजेन्द्र नेपालीका अनुसार स्वास्थ्य समस्या देखिएकाले नै विद्यार्थी अनुपस्थित भएका हुन् ।

  काठमाडौं । टीकापुरका रमिला जोशीका दुई सन्तान छन् । उहाँका दुवै सन्तान साना हुँदा कान पाकेर हैरानी भयो । लामो उपचारपछि कान पाक्ने समस्या समाधान भयो ।    “पहिलो बच्चा हुर्काउँदा पनि कान पाकेर हैरानी भयो, जतिपटक रुघाखोकी लाग्थ्यो, त्यतिपटक बच्चाको कान पाक्ने समस्या पनि हुन्थ्यो”, उहाँले भन्नुभयो, “दोस्रो बच्चा हुर्काउँदा धेरै सचेत थिए । दोस्रो बच्चा पनि कान पाकेर दुःख पाएँ ।” उहाँका बच्चाको कान पाक्ने समस्या लामो उपचारपछि निको भएको उहाँ बताउनुहुन्छ । “अहिले बच्चा ठूला भए, उनीहरूमा समस्या छैन”, उहाँ भन्नुहुन्छ, “अहिले पनि नुहाउँदा कानमा रुइ हालेर नुहाउने, नदी खोलामा ननुहाउने, रुघाखोकी लागेमा तुरुन्तै उपचारमा जानेजस्ता कार्य गर्छौँ ।”     टीकापुरकै सुधा विकको बच्चा अहिले एक वर्षको छ । उहाँको बच्चा छ महिनाको भएदेखि बच्चाको कान पाक्ने समस्या छ । बच्चालाई रुघा लागेको समयमा बच्चाको कान पाक्छ । उपचार गरे निको हुन्छ, फेरि पाक्ने समस्याले सताएको उहाँको भनाइ छ । “बच्चा बिरामी भएका बेला निकै दुःख हुन्छ, अझ कान पाकेका बेला बच्चा कान समातेर निकै रुन्छ”, उहाँले भन्नुभयो, “सरसफाइ र स्याहारमा ध्यान दिँदादिँदै पनि बच्चालाई कान पाक्ने समस्या भयो ।”   उहाँ कतिपयले दूध चुसाउँदा सुतेर खुवाउन नहुने, कानमा दूध वा पानी पसेमा पाक्छ भनेकाले आफू सतर्कता अपनाउँदा–अपनाउँदै पनि समस्या भएको बताउनुहुन्छ । “रातिको समयमा पनि स्तनपान गर्दा सचेत रहन्थे, तर पनि कहाँनेर कमजोरी भयो”, उहाँ भन्नुहुन्छ, “अहिले चिकित्सकको सल्लाहअनुसार उपचार गरिरहेकी छु ।”   उहाँकी निर्मला चौधरीको बच्चालाई कान पाक्ने समस्या बल्झिएपछि लामो समय उपचार गर्नुप¥यो । बच्चाको कान पाकेर समयमै उपचार नपाउँदा उहाँको बच्चाको कानबाट पिप बग्न थालेपछि उहाँ उपचारमा आउनुभयो । “श्रीमान् घरमा हुनुहुन्थेन, बाहिर गएर उपचार गर्ने रकम थिएन”, उहाँले भन्नुभयो, “पछि बच्चाको कानबाट पिप बग्न थालेपछि समूहबाट ऋण लिएर उपचारमा गए । लामो समयसम्म बच्चालाई औषधि खुवाउनु र कानमा राख्नुपर्यो, अहिले सञ्चो भएको छ ।”   बालबालिकामा विभिन्न समस्या देखिन सक्छन् । साना बालबालिका ठूला बालबालिकाका तुलनामा बढी बिरामी हुन्छन् । पाँच वर्षमुनिका बालबालिकामा कान पाक्ने समस्या बढी हुनेहुँदा समयमै उपचार गर्नुपर्ने चिकित्सक बताउँछन् । चिकित्सकका अनुसार नाक र कान जोड्ने एक किसिमको पाइप हुन्छ । यसले कानमा भएको हावाको प्रेसरलाई व्यवस्थापन गर्छ ।    बच्चामा रुघाखोकी लागेपछि त्यही पाइप हुँदै कानमा सङ्क्रमण हुने भएकाले कान पाक्छ र त्यसैले दुखाइ हुने टीकापुर अस्पतालका बालरोग विशेषज्ञ डा अमरनाथ ठाकुर बताउनुहुन्छ । “सानो उमेरका बालबालिकालाई बढी रुघा लाग्ने भएकाले उनीहरुमा कान पाक्ने समस्या देखिन्छ”, उहाँ भन्नुहुन्छ, “बालबालिकालाई रुघा लाग्नेबित्तिकै उपचार गर्नुपर्छ ।    कान पाक्ने समस्या बारम्बार भयो र राम्रोसँग उपचार गरिएन भने ती बालबालिकाको कानको जालीमा प्वाल पर्नसक्छ ।” सयमै उपचार नपाए कानको जालीमा प्वाल परेपछि हरेकपटक रुघा लाग्दा कानबाट पिप निस्कने समस्या हुनसक्ने भएकाले सतर्कता आवश्यक रहेको उहाँ बताउनुहुन्छ । “साना बालबालिकाले आफ्नो सरसफाइ आफैँ गर्न सक्दैनन्, यस्तो बेलामा रुघाखोकी बढी लाग्नसक्छ । रुघाखोकी लाग्नेबित्तिकै उपचार गर्नुपर्छ”, उहाँ भन्नुहुन्छ, कान पाकेका बच्चाको समयमै उपचार नभएमा बालबालिकाको सुनाइमा समस्या हुनसक्छ ।”

  काठमाडौं । देशभर आज एक सय ६३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज तीन हजार सात सय ४६ जनामा गरिएको परीक्षणमध्ये सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।   आज एक सय ३० जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने प्रतिशत ९८.६ रहेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार चार सय ३०  पुगेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला ललितपुर र चितवन रहेका छन् ।    सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, जाजरकोट, हुम्ला, डोल्पा, जुम्ला, मुगु, बझाङ र दार्चुला रहेका छन् । यस्तै होम आइसोलेशनमा दुई हजार तीन सय ४६ जना, संस्थागत आइसोलेशनमा ८४, सघन उपचार कक्ष (आइसियु)मा १७ जना र भेन्टिलेटरमा एक जनाको उपचार भइरहेको छ ।   आज कोरोना भाइरसविरुद्धको खोप चार लाख ८० हजार आठ सय १८ जनाले खोप लगाएका छन् । 

  धादिङ । जिल्ला अस्पताल धादिङमा दैनिक डेङ्गुका बिरामी उपचारका लागि भर्ना हुन थालेका छन् । एक सातादेखि अस्पतालमा दैनिक २० जनाको हाराहारीमा डेङ्गुका बिरामी उपचार गर्न आउने गरेका छन् ।   लक्षण देखापरेका बिरामीमध्ये परीक्षण गर्दा दैनिक १० जनाभन्दा बढीलाई डेङ्गु पुष्टि हुने गरेको अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिनुभयो । “दैनिक १०–१२ जनामा डेङ्गु देखिने गरेको छ, त्यसमध्ये पाँचभन्दा बढी बिरामी अस्पताल भर्ना भइरहेका छन्”, उहाँले भन्नुभयो ।   बिहीबारसम्म धादिङ अस्पतालमा नौ डेङ्गुका बिरामी भर्ना भएका छन् । सामान्य अवस्थाका बिरामीलाई होमआइसोलेशनमा राखिएको  विकले जानकारी दिनुभयो । सरकारी अस्पतालले मात्रै साउनयता एक सय ४८ जनामा डेङ्गु पुष्टि गरेको छ । नीजि अस्पताल तथा स्वास्थ्य संस्थामा जाँच गराउनेको सङ्ख्या यकिन छैन । धादिङ अस्पतालमा हरेक दिन बिहानैदेखि डेङ्गुका बिरामी बहिरङ्ग कक्ष (ओपिडी) मा लाइन लाग्ने गरेका अस्पतालका आकस्मिक कक्ष प्रमुख डा दिनेश रेग्मीले बताउनुभयो । ज्वरो आउने, असाध्यै टाउको दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने लगायत लक्षण देखिएपछि सर्वसाधारण अस्पताल आउने गरेका छन् । अस्पतालमा शय्या अपुग हुने अवस्था आएको रेग्मी बताउनुहुन्छ ।

  बाँके । बाँकेमा पछिल्लो समय डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या बढदै गएको छ । अहिलेसम्म जिल्लाका विभिन्न पालिकाकामा गरी ११ जनामा डेङ्गु सङ्क्रमण फैलिएको छ ।     जिल्ला स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमका अनुसार ११ मध्ये आठ जना जिल्लाभित्रका छन् । बुधबारमात्रै डेङ्गुबाट नेपालगञ्जमा दुई जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये सबैभन्दा बढी नेपालगञ्ज उपमहानगरपालिकाका पाँच, कोहलपुर नगरपालिकाका दुई र बैजनाथ गाउँपालिकाका एक जना छन् । अन्य तीन जना बुटवल र काठमाडौँ आवतजावत गर्दा सङ्क्रमित भएका पाइएको छ ।    यस्तै भेरी अस्पताल नेपालगञ्जमा पनि डेङ्गु र भाइरल ज्वरोका बिरामीको चाप ह्वात्तै बढेको छ । अस्पतालका सूचना अधिकारी डा सङ्केतकुमार रिसालले डेङ्गु र भाइरल ज्वरोका बिरामी बढ्दै गएको उल्लेख गर्दै दमका रोगीसमेत बढेको बताउनुभयो ।    “अस्पताल भरिभराउ छ, बिरामी धेरै छन्”, उहाँले भन्नुभयो । डा रिसालले लामखुट्टेबाट बच्नु नै डेङ्गुको सङ्क्रमणबाट जोगिनु भएको उल्लेख गर्दै त्यसबाट बच्न लामखुट्टेको बासस्थान नै नष्ट गर्न आवश्यक भएको बताउनुभयो । त्यस्तै नेपालगञ्ज उपमहानगरपालिकामा डेङ्गु सङ्क्रमित भेटिएपछि लामखुट्टेका लार्भा र फुल नष्ट गर्न थालिएको छ । 

बागलुङ  : बागलुङको निसीखोला गाउँपालिका-५ निसेलढोरकी नर्मता विकलाई बुधबार बिहानैदेखि सुत्केरी व्यथाले च्याप्यो । नजिकमा स्वास्थ्य संस्था थिएनन् । व्यथाले च्यापेपछि आफन्तले स्वास्थ्यकर्मीलाई खबर गरे । निसीखोलादेखि स्वास्थ्यकर्मी जान सम्भवन थिएन । निसीखोलादेखि विकको घर निसेलढोर पुग्न झण्डै तीन घण्टा लाग्छ ।    आफन्तले ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन सहरी स्वास्थ्य क्लिनिकमा खबर गरे । खबर पाउनासाथ क्लिनिकबाट अनमी सीता बुढा मगर विकको घर पुग्नुभयो । उहाँको घर पुगेर स्वास्थ्य जाँच गर्दा बच्चाको धड्कन सुनिएको थिएन । बच्चाको धड्कन नसुनिएपछि बुढामगरले विकलाई ठूलो अस्पताल लैजानुपर्ने सुझाउनुभयो । भौगोलक विकटताका कारण यातायात सेवाको पहुँच छैन । नजिकमा अस्पताल नहुँदा बुढामगरले आफन्तलाई डोकोमा बोकेर विकलाई केही तलसम्म ल्याउन भन्दै आफैँ गाडीको व्यवस्थापन गर्न ढोरपाटन फर्कनुभयो ।    आफन्तले विकलाई डोकोमा बोकेर केही तल के झारेका थिए, उहाँले बाटोमै मृत बच्चा जन्माउनुभयो । गाडी लिएर अनमी बुढामगर त्यहीँ आइपुग्नुभयो । उहाँले विकको बाटोमै सामान्य उपचार गर्नुभयो र ढोरपाटन ल्याउनुभयो ।    अनमी बुढामगर भन्नुहुन्छ, “विकलाई बिहानदेखिनै गाह्रो भएको रहेछ, आफन्तले मलाई खबर गरेर घरमा पुग्दा, उहाँ निकै छट्पटाउनुभएको थियो, जाँच गर्दा बच्चाको धड्कन सुनिएन, मैले बुर्तिवाङ अस्पताल लैजान सुझाए । मृत बच्चा जन्माउनुभयो, रगत धेरै बगीसकेको थियो, स्लाइन पानी दिएर ढोरपाटन ल्याए । अहिले त्यहीँ उपचार भइरहेको छ ।”   विकले ३२ हप्ताको समय नपुगेको बच्चा जन्माएको अनमी बुढामगरले बताउनुभयो । “दुर्गम गाउँमा शिक्षा तथा स्वास्थ्यको पहुँच नहुँदा यस्ता घटना हुने गरेका छन्”, उहाँले भन्नुभयो, “धन्न अस्पताल पुगेकाले बच्चा बचाउन नसके पनि आमाको ज्यान भने जोगियो ।” विकले गर्भवती भएदेखि स्वास्थ्य परीक्षण नगराएको पाइएको बुढामगर बताउनुहुन्छ । अहिले उहाँको ढोरपाटन सहरी स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको छ ।     बागलुङका दूरदराजमा अहिले पनि स्वास्थ्य तथा शिक्षाको सहज पहुँच छैन । त्यसले गर्दा यस्ता नियति दोहोरी रहन्छन् । विगतमा पनि यस्ता धेरै घटना यस क्षेत्रमा हुने गर्थे । ढोरपाटन नगरपालिकाका स्वास्थ्य संयोजक केशव थापा दुर्गममा यातायात सेवा तथा स्वास्थ्य संस्था अभावले यस्ता घटना हुने गरेको बताउनुहुन्छ ।   ढोरपाटन नगरपालिकाले दुर्गम गाउँमा स्वास्थ्य संस्था स्थापना गरेर सहज स्वास्थ्य सेवाको व्यवस्था गरे पनि अशिक्षाका कारण महिला स्वास्थ्य परीक्षण गराउन नआउने उहाँको भनाइ छ । “धेरै नागरिक स्वास्थ्योपचारका लागि आउँदैनन्”, उहाँले भन्नुभयो, “विकले एक पटक पनि जाँच गराउनुभएको भए बच्चाको ज्यान जोगिन्थ्यो ।”   ग्रामीण क्षेत्रमा गर्भवतीले स्वास्थ्य परीक्षण गराउने बानी न्यून भएको थापाले बताउनुभयो । “कम्तीमा तीन पटक भिडियो एक्सेर गराउनुपर्ने हुन्छ, विकले एक पटक पनि नगराएको पाइयो”, उहाँले भन्नुभयो । समय समयमा बुर्तिवाङमा स्वास्थ्यकर्मी पठाएर निःशुल्क गर्भ परीक्षण गर्ने व्यवस्था मिलाए पनि धेरै नआएको पाइएको थापाले बताउनुभयो ।