काठमाडौं: महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा बन्द गरेको छ।  अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले आजदेखि स्वास्थ्य बिमामा...

 नेपालमा चार जनामा घटेको सङ्क्रमण अहिले दैनिक करिब एक हजारको नजिक देखिन थालेको छ । पछिल्लो हप्ता नेपालमा दैनिक सङ्क्रमण बढ्दै गएको पुष्टि हुन्छ ।     छिमेकी मुलुक भारतमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै नेपालमा पनि यसको प्रभाव देखिन थालेपछि नेपालमा सङ्क्रमण बढ्न थालेको हो । खुला सीमाका कारण भारतबाट सजिलै नेपाल आउने भएपछि सङ्क्रमण बढ्न थालेको बताइएको छ ।    नेपालमा पनि ओमिक्रोनको ‘विएफाइभ’ प्रजाति देखिएको र उक्त प्रजातिको सङ्क्रमणको सर्ने दर उच्च रहेकाले पनि अहिले नेपालमा सङ्क्रमण बढिरहेको छ । पहिले यहाँ सङ्क्रमणदर ०.५ प्रतिशतसम्म झरेकोमा अहिले १५ प्रतिशतभन्दा माथि पुगेको छ । साउन १८ गते नौ सय १५ सङ्क्रमित, साउन १७ गते आठ सय १४, साउन १६ गते आठ सय ९५ सङ्क्रमित र एक जनाको निधन भएको छ ।    यस्तै साउन १५ गते छ सय २०, साउन १४ गते चार सय ३८ र दुई जनाको मृत्यु, साउन १३ गते पाँच सय ७७ जना र दुई जनाको मृत्यु, साउन १२ गते सात सय १० र दुई जनाको मृत्यु, साउन ११ गते पाँच सय ६४ र एक जनाको मृत्यु, साउन १० गते छ सय ३८ र दुई जनाको मृत्यु भएको छ । यसरी सङ्क्रमण दैनिक बढेर हजारको नजिक पुग्न थालेको छ ।    दैनिक सङ्क्रमण बढिरहेकाले नेपालमा कतै सङ्क्रमणको चौथो लहर आएको त होइन भन्ने लागेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सङ्क्रमणको लहर ग्राफले देखाउने गरेको र अहिले देखिएको सङ्क्रमणको ग्राफले अर्को लहरको सङ्केत गरेको बताउनुभयो ।    सरकारले आधिकारिकरूपमा सङ्क्रमणको चौथो लहर भन्ने नगरेको र सङ्क्रमणको ग्राफले नै लहर बताउने गरेको उहाँको भनाइ रहेको छ । “हामीले पहिले पनि ग्राफ बढे पनि सङ्क्रमणको लहर भनेको थिएनौँ ।  अहिले पनि हामी भन्दैनौँ”, उहाँले भन्नुभयो, “तर अहिले सङ्क्रमणको ग्राफले आफैँ अर्को लहर देखाएको छ ।”   स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा खगेश्वर गेलालले अहिले दैनिक बढिरहेको सङ्क्रमणले चौथो लहरको सङ्केत गरेको बताउनुहुन्छ ।   “सरकारले आधिकारिकरूपमा चौथो लहर भन्ने गरेको छैन । तर अहिले दैनिक हजारको सङ्ख्याले सङ्क्रमणको चौथो लहरको सङ्केत गरेको छ”, उहाँले भन्नुभयो, “यदि यसैगरी सङ्क्रमण बढ्न थाल्यो भने चौथो लहर नआउला भन्न सकिन्न ।”   उहाँले सङ्क्रमण साउन र भदौमा धेरै माथि ९पिक०मा पुग्ने र त्यसपछि घट्ने बताउनुहुन्छ । खुला सीमा भएकाले दैनिक सीमानाकाबाट आउने मानिसमा सङ्क्रमण देखिने गरेको छ । ती मानिसहरूले नै सङ्क्रमण सारिरहेका छन् ।   जनस्वास्थ्यविद् डा सागरराज भण्डारीले साउनदेखि नै कोरोना भाइरस सङ्क्रमणको चौथो लहर सुरु भएको बताउनुहुन्छ । “सङ्क्रमणको पाँच प्रतिशतभन्दा माथि भयो भने अर्को लहर आएको भन्ने हुन्छ”, उहाँले भन्नुभयो, “नेपालमा अहिले बढेको सङ्क्रमणको अवस्था हेर्दा १५ प्रतिशतकै हाराहारीमा रहेको छ ।”    उहाँले अहिलेको सङ्क्रमणको तह माथिल्लो तह ९पिक लेभल०मा पुगेपछि पुनः घट्ने बताउनुहुन्छ । उहाँले भारतको खुला सिमाना र विदेशबाट आएका सङ्क्रमितले सङ्क्रमण सार्ने गरेको बताउनुहुन्छ । उहाँका अनुसार अहिले देखिएको ‘विएफाइव’ भेरियन्टले छिटो मानिसमा सारे पनि सङ्क्रमितलाई भने गम्भीर बनाउँदैन । उहाँले सङ्क्रमित बढिरहेकाले जनस्वास्थ्यका मापदण्ड लागू गर्न र कोरोना भाइरसको चौथो बुष्टर लगाउन आग्रह गर्नुभयो ।    नेपालमा पहिलोपटक २०७६ माघ ९ गते सङ्क्रमण पुष्टि भएको थियो ।  यस्तै दोस्रो सङ्क्रमित चैत १० गते देखिएको थियो । सरकारले दोस्रो सङ्क्रमित देखिएपछि मुलुकभर बन्दाबन्दी (लकडाउन) गरेको थियो ।    नेपालमा पहिलो लहर विसं २०७६ चैतदेखि २०७७ मङ्सिरसम्म चलेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार सङ्क्रमणका दोस्रो लहर विसं २०७७ वैशाखदेखि भदौसम्म तथा तेस्रो लहर २०७८ पुसदेखि फागुनसम्म देखिएको थियो । मन्त्रालयले सम्भावित सङ्क्रमणको जोखिमलाई ध्यान दिएर सबै अस्पताल, स्वास्थ्य संस्था र प्रदेशमा तोकिएका कोभिड–१९ अस्पताललाई सङक्रमित व्यक्तिको व्यवस्थापन गर्नका लागि निर्देशनसमेत दिइसकेको छ ।    यस्तै मन्त्रालयले देशभरिका १७ अस्पताललााई सम्भावित जोखिमलाई ध्यानमा दिएर कोरोना भाइरसका बिरामीको उपचारको व्यवस्था मिलाएको छ । मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भीडभाड हुने स्थानमा अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोग गर्न आग्रह गरेको छ ।    सबै सरकारी, गैरसरकारी कार्यालय तथा मानिसको भीडभाड हुने स्थानमा विमानस्थल, हवाईलगायत सार्वजनिक यातायातमा गोष्ठी, सेमिनार, बैठकजस्ता भीडभाड हुने कार्यक्रममा मास्कको प्रयोगलाई अनिवार्य गर्ने र स्यानिटाइजरको व्यवस्था मिलाउन आग्रह गरिएको छ ।   यस्तै कोभिड-१९ विरुद्धको खोप कार्यक्रमलाई प्रभावकारीरूपमा सञ्चालन गर्न निर्देशन दिँदै खोप लगाउन बाँकी रहेका सबैलाई खोप लगाउन आग्रह गरिएको छ ।   मृतक अधिकांश खोप नलगाएका कोरोना भाइरसको सङ्क्रमणबाट छ महिनासम्म कसैको पनि निधन भएको थिएन । तर पछिल्लो दिनमा भने दैनिक एक वा दुई जनाको  सङ्क्रमणबाट निधन हुने गरेको छ । साउन १ गतेबाट सङ्क्रमणबाट मानिस मर्न थालेका हुन् ।  पछिल्ला समय कोरोना भाइरस सङ्क्रमणबाट ज्यान गुमाएकामध्ये ८० प्रतिशतले खोप नलगाएको पाइएको छ । महाशाखाका प्रमुख डा गेलालले सङ्क्रमणबाट निधन भएकामध्ये ८० प्रतिशतले खोप नलगाएको र २० प्रतिशतले पूर्ण मात्राको खोप नलगाएको जानकारी दिनुभयो ।

  काठमाडौँ:     देशभर पछिल्लो २४ घण्टामा नौ सय १५ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय छ हजार दुईको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।    हालसम्म नेपालमा ११ लाख ३१ हजार आठ सय ५३ मा कोरोना भाइरस पुष्टि भएको छ । पछिल्लो समय थप तीन सय एक  सङ्क्रमणमुक्त भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ७०  हजार नौ सय २६ पुगेको छ ।     नेपालमा यस सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय ६८ पुगेको छ  । त्यसैगरी पछिल्लो समय ५५ हजार पाँच सय ५९ ले खोप लगाइसकेका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार चार सय ३३ पुगेको छ । होम आइसोलेसनमा पाँच हजार दुई सय ७५, संस्थागत आइसोलेसनमा एक सय ५८ आइसियुमा ४३ र भेन्टिलेटरमा दुई जनाको उपचार भइरहेको छ ।

  काठमाडौं ।   पछिल्लो २४ घण्टामा थप ८९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभरका ल्याबबाट कुल पाँच हजार ९०९ जनाको परीक्षण गर्दा ८९५ जनामा कोरोना पुष्टि भएको हो ।   जसमध्ये तीन हजार ६८५ जनाको पीसीआर परीक्षण गर्दा ६३२ र दुई हजार २२४ जनाको एन्टीजेन परीक्षण गर्दा २६३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।   स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार थप एक जनाको कोरोनाले मृत्यु भएको छ भने २६४ जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ३३ हजार १७६ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।   त्यस्तै, हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ९३४ पुगेको छ । काठमाडौं र ललितपुरमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् । त्यसैगरी, कास्कीमा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् ।   मनाङ, कालिकोट, मुगु, हुम्ला, बाजुरा, दार्चुला र बझाङमा सङ्क्रमितको सङ्ख्या शून्य रहेको छ । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौंमा दुई हजार ८७२, ललितपुर ५४३ र भक्तपुरमा ३७ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

  काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्‍यु भएको छ ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८४६ जनाको परीक्षणमा ६२० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्‍ये २ हजार ६५१ जनाको पीसीआर परीक्षण गर्दा ४९६ जना र ३ हजार १९५ जनाको एन्टिजेन परीक्षण गर्दा १२४ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार ५६७ पुगेको छ । पछिल्लो २४ घण्टामा २९७ जना संक्रमणमुक्त भएका छन् । जसमध्‍ये ४ हजार ४२४ जना होम आइसोलेसनमा रहेका छन् भने १४३ जना संस्थागत आइसोलेसन र ३३ जना आईसीयूमा छन् ।   यस्तै पाँच जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २९ हजार २२९ पुगेको छ ।

  काठमाडौँ:   आज चार सय ३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार तीन हजार छ सय ९९ जनामा गरिएको परीक्षणमध्ये चार सय ३८ मा सङ्क्रमण पुष्टि भएको हो ।   सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार तीन सय ६९ रहेको छ । विगत २४ घण्टामा दुई सय ७७ जना सङ्क्रमणमुक्त भएका छन् । यस्तै सङ्क्रमणबाट दुई जनाको निधन भएको छ । अहिलेसम्म ११ हजार नौ सय ६६ जनाको सङ्क्रमणबाट निधन भइसकेको छ । काठमाडौँ जिल्लामा पाँच सयभन्दा बढी तथा मोरङ र ललितपुरमा दुई सयभन्दा बढी सङ्क्रमित रहेका छन् ।    यस्तै मनाङ, कालिकोट, मुगु, हुम्ला र बाजुरामा शून्य सङ्क्रमित रहेका छन् । हाल होम आइसोलेशनमा चार हजार दुई १८, संस्थागत आइसोलेशनमा एक सय ५१ र सघन उपचारकक्ष (आइसीयू)मा ३३ र भेन्टिलेटरमा चार जनाको उपचार भइरहेको छ । यसैगरी विगत २४ घण्टामा ५८ हजार पाँच सय ५९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

डोटी:    जिल्ला अस्पताल डोटीमा हिजोआज भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको छ । यहाँका अस्पताल तथा निजी मेडिकलमा भाइरल ज्वरोका बिरामी बढेसँगै उपचार गर्नमा निकै समस्या उत्पन्न भएको स्वास्थ्यकर्मी बताउँछन् ।       अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट एवं कार्यालय प्रमुख कृष्ण जोशीका अनुसार विगत पाँच÷सात दिनदेखि जिल्ला अस्पतालमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या एकाएक बढेको हो । उपचार गराउन आएका बिरामीमध्ये ६०–७० प्रतिशत बिरामी भाइरल ज्वरोका नै हुने गरेको उहाँले बताउनुभयो ।      “जिल्ला अस्पतालमा दैनिक औसतमा ४० देखि ५० जना भाइरल ज्वरोका बिरामी उपचारका लागि आउँछन्”, जोशीले भन्नुभयो, “ उपचारमा समस्या हुँदै आएको छ ।”      केही दिनदेखि जिल्लामा वर्षासँगै पानी दूषित भएको र वातावरणमा आएको परिवर्तनले मानिसमा भाइरल ज्वरोको प्रकोप देखिएको हो । ‘इन्फेक्सन’ भएर भाइरल ज्वरो हुने गरेको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका डा ललितकुमार लिम्बूले बताउनुभयो ।    शैलेश्वरी अस्पतालमा पनि दैनिक ५० देखि ६० जनासम्म भाइरल ज्वरोका बिरामी आउने गरेको अस्पतालका निर्देशक आइजङ्ग कुँवरले जानकारी दिनुभयो ।

तनहुँ  :  तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा सात जनामा डेङ्गुको लक्षण भेटिएको छ । अस्पतालमा उपचार गर्न आएका बिरामीमध्ये स्वास्थ्य परीक्षणका क्रममा डेङ्गुका बिरामी भेटिएका हुन् ।    पछिल्लो समय सङ्क्रमणजन्य बिरामीको चाप बढिरहेको बेला डेङ्गुका बिरामी पनि देखिएको दमौली अस्पतालका डा. राजु रानाले जानकारी दिनुभयो । उहाँका अनुसार दमौली अस्पतालमा दैनिक दुई सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालमा पछिल्लो समय ज्वरो, टाईफाइड, निमोनिया लगायतका बिरामी अत्यधिक आउने गरेका छन् ।    बिहीबार इमर्जेन्सीमा चार र ओपिडीमा तीन जनामा डेङ्गुको लक्षण भेटिएको रानाले जानकारी दिनुभयो । एक सय डिग्रीभन्दा बढी ज्वरो आउने, आँखाको गेडी दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने र कमजोरी हुने डेङ्गुका मुख्य लक्षण हुन् । उहाँले भन्नुभयो, “बिरामीको अवस्था गम्भीर देखिएमात्रै अन्यत्र अस्पतालमा रिफर गरिनेछ ।” रिफर गर्नुअघि बिरामीको दैनिक कीट जाँचका लागि पोखरा वा काठमाडौँस्थित टेकु अस्पतालमा पठाउने गरिएको रानाले बताउनुभयो । लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने हुँदा साँझमा बाहिर ननिस्कने, शरीर ढाक्ने गरी लुगा लगाउन तथा सुत्ने समयमा झुलको प्रयोग गर्न चिकित्सकको सुझाव छ । झोलिलो र तागतिला खानेकुरा खान पनि चिकित्सकले सुझाव दिएका छन् । 

  पोखरा:   पछिल्लो २४ घण्टामा गण्डकी पदेशमा  ९६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेशका अनुसार कास्कीमा ५६, बागलुुङमा २० , स्याङ्जामा १२, तनहुुँ र नवलपरासी पुर्वमा ३/३ जना र गोरखा, पर्वतमा १/१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।   देशभर ७ सय १० जनामा कोराना संक्रमण   पछिल्लो २४ घण्टामा थप ७ सय १० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार २५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।   पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९६२ पुगेको छ ।

  काठमाडौँ:     सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ । भारतसँग सीमा जोडिएको यस प्रदेशमा हाल दिनहुँ कोरोना सङ्क्रमणदर बढ्दै गएको हो । यही साउन १ गतेयता यस प्रदेशमा ७५ जनामा सङ्क्रमण पुष्टि भइसकेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।   गत असार ३२ गते शून्यमा झरेको सङ्क्रमणदर त्यसयता बढ्दै गएको निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो । भारतमा कोरोना सङ्क्रमण बढ्दै गएकाले सीमा जोडिएको प्रदेश सुदूरपश्चिममा पनि देखिन थालेको छ । जोखिम बढ्दै गएकाले सतर्कता अपनाइएको जोशीले बताउनुभयो ।    जोखिम बढेकाले यहाँका भारतसँग सीमा जोडिएका सबै नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको छ । पूर्व निर्धारित कार्यक्रमअनुसार नै सीमाक्षेत्रको जोखिम व्यवस्थापनको काम भइरहेको हो । उहाँले भन्नुभयो, “सीमा नाकामा हेल्थ डेस्क स्थापना गरेर आवश्यक जनशक्ति परिचालन गरी परीक्षण र खोपको काम निरन्तर रुपमा भइरहेको छ ।”    यसका साथै कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कोरोनाविरुद्धको खोप अभियानलाई प्राथमिकतामा राखिएको  छ । पाँच वर्षमाथिका सबै बालबालिका र बुस्टर डोजको मात्रा पनि सबैलाई दिइने कार्य निरन्तर रुपमा भइरहेको जनाइएको छ ।     भारतसँग सीमा जोडिएको यस प्रदेशमा समेत कोरोना सङ्क्रमण बढेकाले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न निर्देशनालयको आग्रह छ । सुदूरपश्चिम प्रदेशमा हालसम्म पाँच लाख ५६ हजार ९७५ जनाको कोरोना परीक्षण गरिएकामा ५९ हजार ८१६ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । सङ्क्रमणकै कारण यस प्रदेशमा ६३३ जनाको ज्यान गइसकेको छ ।