बिरालोले टोकेपछि सेती अस्पतालमा सुई लगाउन गएकी महिलाको मृत्यु
धनगढी | चैत २२, २०८०

धनगढी: बिरालोले टोकेपछि रेबिज विरुद्धको सुई लगाएकी कैलालीकी सीता डगौराको उपचारका क्रममा मृत्यु भएको छ।
भजनी नगरपालिका(४, खैलाड घर भई हाल धनगढीमा बस्दै आएकी ४० वर्षीया डगौरालाई चैत १५ मा बिरालोले टोकेको थियो। त्यसपछि उनी रेबिज विरुद्धको सुई लगाउन सेती प्रादेशिक अस्पताल, धनगढीमा पुगेकी थिइन्।
आफन्त मनीषा चौधरीका अनुसार घरमै पालेको बिरालोले डगौराको खुट्टामा टोकेको थियो। उनले सोही दिन सेती अस्पतालमा रेबिज विरुद्धको सुई लगाएकी थिइन्।
दोस्रो डोज लगाउन चैत १८ गते अस्पताल पुगेकी थिइन्। सुई लगाउने बित्तिकै आफूलाई अप्ठ्यारो भएको भन्दै घरमा फोन गरेकी थिइन्। घरबाट आफन्त अस्पताल पुग्दा भेन्टिलेटरमा राखिसकिएको चौधरीले बताइन्।
उपचारका क्रममा आज बिहान मृत्यु भएको भन्दै अस्पतालले खबर गरेको उनले बताइन्। “अस्पतालले आज शव बुझ्न अनुरोध गरेको छ,” चौधरीले भनिन्।
स्वास्थ्यकर्मीको लापरवाहीले ज्यान गएको भन्दै आफन्तजनले विरोध जनाएका छन्। “आफैं हिंडेर सुई लगाउन आएको मान्छेको ज्यान गएको छ,” चौधरीले भनिन्, “कुनै ठूलो घाउ वा चोट पनि थिएन। यो त सरासर लापरवाही हो।”
सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। शेरबहादुर कमरका अनुसार बिरालो, कुकुर सहित जंगली जनावरले टोकेपछि रेबिज विरुद्धको सुई लगाउनुपर्छ। रेबिज विरुद्धको सुई लगाउँदा विरलैमा यस्तो समस्या देखिने गरेको डा। कमरको भनाइ छ। “अस्पताल वा चिकित्सकको कुनै गल्ती छैन, लापरवाही पनि भएको छैन,” डा। कमर भन्छन्, “कहिलेकाहीं यस्तो समस्या देखिन्छ।”
डगारौका परिवारजनले भने शव बुझ्न मानेका छैनन्। उनीहरू विरोधमा उत्रिएका छन्।
पोखरा: कास्कीको सराङकोटमा स्थापना भएको ५१ फिट अग्लो पन्चमुखि गणेशको पुजा आराधनाको लागि केवलकारबाट आउन जान नेपाली तथा भारतीय पर्यटकहरुलाई साविक भाडा दरमा ५० प्रतिशत छुट कायम गरिएको छ । बु...
तनहुँः देवघाट गाउँपालिका-५ बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् । उनीसँगै पौडी खेल्न गएका एक बालकको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अ...
पर्सा: वीरगञ्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या घटेको छैन । ...