काठमाडौं:    नेपालमा डेङ्गीका तीन प्रकारका भाइरस सक्रिय रहेको पाइएको छ ।       डेङ्गीका भाइरसका स्वरुप सेरोटाइप–१, सेरोटाइप–२, सेरोटाइप–३, सक्रिय रहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जानकारी दिनुभयो ।       विगत सात वर्षअघि भने सेरोटाइप–१, सेरोटाइप–२, सेरोटाइप–३, सेरोटाइप–४ सक्रिय रहेका थिए । “भाइरसको जीन अध्ययन गर्दा अहिले तीन प्रकारका भाइरसका स्वरुप सक्रिय रहेको पाइएको छ”, उहाँले भन्नुभयो ।       शाखाका प्रमुख डा दाहालका अनुसार कात्तिकसम्म लामखुट्टे सक्रिय हुने भएकाले जोखिम हुने बताउनुभयो । उहाँले कात्तिकपछि जाडो अलि बढ्ने र त्यसपछि डेङ्गी सार्ने लामखुट्टे पनि हराउँदै जाने बताउनुभयो ।       डेङ्गी सङ्क्रमण हुम्ला बाहेक सबै जिल्लामा देखिएको छ । यस्तै देशभर २७ हजार एक सय ५३ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ भने सङ्क्रमणको कारणले अहिलेसम्म ११ जनाको निधन भइसकेको छ ।       सबैभन्दा बढी कास्कीमा सात हजार ८० जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस्’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएपछि टोकेपछि डेङ्गु रोग लाग्दछ ।       उपत्यकामा डेङ्गी सङ्क्रमण पाँच हजार सात सय ४८ जनामा देखिएको छ । काठमाडौँ जिल्लामा चार हजार ६० जना,  भक्तपुर छ सय २८ र ललितपुर एक हजार ६० जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।       वर्षाको बेला पानीका सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने र त्यही लामखुट्टेले टोक्ने भएकाले डेङ्गुको सङ्क्रमण बढेको हो ।       डेङ्गी रोगको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सचालन गर्न निर्णय सरकारले गरेको छ ।

पोखरा महानगरपालिका १५ को समन्वयमा वडा भित्रका विपन्न १७ परिवारका ८५ जनालाई स्वास्थ्य बीमा कार्ड वितरण गरिएको छ ।   पोखरा कम्युनिटी सेन्टरको सहयोगमा आज वडा कार्यलयमा एक कार्यक्रमको आयोजना गर्दै विपन्न १७ परिवारलाई स्वस्थ्य बीमा कार्ड प्रदान  गरिएको हो ।   वडाध्यक्ष तोरण बाँनिया, कार्यपालिका सदस्य मन्दिरा परियार कम्युनिटी सेन्टरका प्रतिनिधि प्रकाश र जोनले उक्त स्वास्थ्य बीमा कार्ड हस्तान्तरण गरे ।   वडाध्यक्ष बाँनियाले आफ्नो वडाभित्रका अति विपन्न परिवारबाट १७ घर परिवारलाई बीमाकार्ड उपलब्ध गराएको बताए । उनका अनुसार एउटा परिवारबाट ५ जनाका विमा हुने भएकाले कुल १७ परिवारको ८५ जनाको विमा गरिएको हो ।   उनले प्रतिव्यक्तिले १ लाख बराबरको स्वास्थ्य लाभ लिन सक्ने बताए ।   ‘कम्युनिटी सेन्टर कोरियन संस्था हो, हाम्रो वडाको मानवीय विकासका लागि भनेर हरेक वर्ष शिक्षा स्वास्थ्य र खेलकुदका लागि २ लाख सहयोग आउँछ, उनले भने, ‘त्यो रकम हामीले काम गरेपछि मात्रै आउँछ । सिधैं पैसा आउने होइन ।’   उनले कम्युनिटी सेन्टरको सहयोगले विपन्न परिवारलाई ठुलो राहात मिलेको बताए ।   सेन्टरले यसअघि स्वास्थ्यतर्फ सिद्ध माविमा अध्यनरत विपन्न विद्यार्थीको निशुल्क स्वास्थ्य परिक्षणसँगै विभिन्न समाजिक कार्यका लागि सहयोग गर्दै आएको छ ।

तनहुँः   यहाँको म्याग्दे गाँउपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमा आठ हजार बढी नागरिकले सेवा लिएका छन् ।  गाउँपालिकाले गत असोज ६ देखि यही कात्तिक १२ सम्म सञ्चालन गरेको शिविर सञ्चालन गरेको थियो ।   शिविरमार्फत स्वास्थ्य, कृषि, पशु सेवा, पञ्जीकरण, उद्योग व्यवसाय दर्ता तथा नवीकरण, राजस्व सङ्कलनलगायत सेवा प्रदान गरिएको प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारीले बताउनुभयो । पालिकाभित्रका विभिन्न वडाका टोलटोलमा पुगेर सेवा दिएको गाउँपालिकाले जनाएको छ ।  पालिकाको सेवा टोलटोलमा पु(याएर स्थानीय सरकारको आभास दिइएको पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो । “नागरिकको आवश्यकताका आधारमा हरेक वर्ष शिविर सञ्चालन गर्दै आएका छौँ”, श्रेष्ठले भन्नुभयो, “गाउँपालिकाले दिएको सेवाले आमनागरिक लाभान्वित बनुन् ।”  शिविर अन्तर्गत स्तन क्यान्सर, पाठेघरको क्यान्सर, आँखा शिविर पनि सञ्चालन गरिसकेको उहाँले बताउनुभयो ।  जनताको समस्या बुझ्न र समाधानका लागि एकीकृत घुम्ती शिविर फलदायी बनेको गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताउनुभयो ।  “जनताको समस्या सुन्न टोल–टोलमा जाने पालिकाको कार्यले जनताप्रति पालिका उत्तरदायी बनेको आभास आम नागरिकले महसुस गर्न थालेका छन्,” उहाँले भन्नुभयो ।   

बझाङः   बझाङमा एक सय ६७ जना एचआइभी सङ्क्रमित फेलापरेका  मध्ये ९५ जनाले मात्रै औषधि सेवन गरिरहेका छ । सोमबार जिल्लास्थित सरोकारवालासँग वार्षिक समीक्षा बैठकमा सबैभन्दा बढी एचआइभी सङ्क्रमित केदारस्यूँ गाउँपालिकामा भेटिएका छन् । तथ्याङ्कानुसार केदारस्यूँ गाउँपालिकामा १९, थलारामा १८, छबिसपाथिभेरामा १३, बुङ्गल नगरपालिकामा ११, दुर्गाथली गाउँपालिकामा नौ, बित्थडचिर गाउँपालिकामा आठ जनाले औषधि सेवन गरिरहेको ग्लोबल फण्ड एचआइभी÷टिबी रोकथाम परियोजनाका कार्यक्रम अधिकृत अमृतप्रसाद पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार जयपृथ्वी नगरपालिकामा आठ, मष्टामा तीन, खप्तडछान्नामा तीन, तलकोटमा दुई जना एचआइभी सङ्क्रमितले औषधि सेवन गरिरहेको उहाँले बताउनुभयो ।  “जिल्लामा देखिएको तथ्याङ्कानुसार सबै जिल्लामा छैनन्”, उहाँले भन्नुभयो, “कतिपय सङ्क्रमित जिल्ला बाहिर गएर नियमित औषधि सेवन गरिरहनुभएको छ ।” तथ्याङ्कअनुसार चालु आवको चार महिनामा आठ जना नयाँ सङ्क्रमित देखिएका छन् । जिल्लामा १५ हजार नौ सय ४६ जनाको एचआइभी परीक्षण गर्दा आठ जनामा पोजेटिभ देखिएको पण्डितले जानकारी दिनुभयो ।   परियोजना संयोजक लोकेन्द्र पन्तले सङ्क्रमित भएका बिरामीको नियमित उपचारका साथै सीमान्तकृत समुदायका व्यक्तिलाई संस्थाले सहयोग गरिरहेको बताउनुभयो ।  उहाँले भन्नुभयो, “समुदायमा पछाडि परेका, पारिएका, भूमिहीन वर्ग, बालबालिका, दलित, जनजाति महिला÷पुरुषलाई शैक्षिक, सामाजिक र आर्थिक रूपमा समान अवसर दिलाइ क्षमता अभिवृद्धि तथा अन्य सामाजिक सुधारात्मक कार्यमा सुधार ल्याउने लक्ष्यका साथ काम गरिरहेका छौँ ।” उहाँले जिल्लामा कार्यक्रम लागू भएका पालिका तथा समुदायमा एचआइभी जाँच, यौन शिक्षा, क्षयरोग स्क्रिनिङ र अस्थायी साधन वितरण गर्दै आएको बताउनुभयो ।  

अर्घाखाँची:     अर्घाखाँचीको सन्धिखर्कमा प्रसादका रूपमा मासु खाँदा बिरामी हुनेको सङ्ख्या ३५ जना पुगेको छ ।  सन्धिखर्क नगरपालिका–१ तारामार्ग निवासी दीपक केसीले आइतबार देउराली पूजा लगाउनुभएको थियो ।   प्रसादका रूपमा मासु खाएर बिरामी हुनेको सङ्ख्या ३५ पुगेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले बताउनुभयो ।  आज बिहान थप सात जना उपचारका लागि अर्घाखाँची अस्पतालमा पुगेका छन् ।   यो पनि पढ्नुहोस   देउरालीको प्रसाद खाएका २५ जना बिरामी   अस्पतालका प्रमुख डा जगन्नाथ तिवारीले बिरामीहरूमा झाडापखाला, बान्ता, ज्वरो, शरीर दुख्ने लक्षण देखिएको बताउनुभएको छ । उनीहरू सबैको अवस्था सामान्य छ ।  आइतबार रातिदेखि बिरामी परेका उनीहरू सोमबार दिउँसो उपचारका लागि अर्घाखाँची अस्पताल गएका थिए । ‘फुड प्वाइजन’का कारण बिरामी परेको डा तिवारीको जानकारी दिनुभयो । बिरामीमध्ये अहिले ३४ जनाको अर्घाखाँची अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छभने एक जनाको अर्घाखाँची हस्पिटल प्रालिमा उपचार भइरहेको प्रहरी प्रमुख मल्लले बताउनुभयो ।  दुई जना उपचारपछि निको भएर घरमा फर्किएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

अर्घाखाँची:    अर्घाखाँचीको सन्धिखर्कमा देउरालीको प्रसाद खाँदा २५ जना बिरामी भएका छन् । सन्धिखर्क नगरपालिका वार्ड नं १ तारामार्ग  निवासी  दीपक केसीको  घरमा आइतबार देउराली पुजाको प्रसाद खाएका २५ जना बिरामी परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो । बिरामीहरूमा झाडापखाला, बान्ता , ज्वरो,  शरीर दुख्ने लक्षण देखिएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारीले बताउनुभयो । उनीहरु सबैको अवस्था सामान्य रहेको  छ । गए रातिदेखि बिरामी परेका उनीहरू दिउँसो उपचारका लागि अर्घाखाँची  अस्पताल गएका थिए ।  ‘फुड पोइजन’ का कारण बिरामी परेको डाक्टर तिवारीको भनाइ छ । बिरामीहरूमध्ये २० जनाको अर्घाखाँची अस्पताल सन्धिखर्क, ४ जनाको ओमपोलि क्लिनिक र १ जनाको अर्घाखाँची हस्पिटल प्रालिमा उपचार भैरहेको अर्घाखाँची प्रहरी प्रमुख मल्लको भनाइ छ । घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

काठमाडौं:     तिलगङ्गा आँखा प्रतिष्ठानले ‘एस्थेटिक अकुलोप्लाष्टि’ सेवा छिट्टै सञ्चालनमा ल्याउने जनाएको छ ।  आज आयोजित एक दिने विशेष एस्थेटिक अकुलोप्लाष्टि कार्यशालामा प्रतिष्ठानका कार्यकारी निर्देशक डा सन्दुक रूइतले नेपालमा यसको सम्भावना राम्रो रहेको र छिट्टै नै विभिन्न सुविधासहित सेवा सुरू गरिने जानकारी गराउनुभयो । यो सुविधा तिलगङ्गा प्रतिष्ठान तथा तिलगङ्गा सिटि आइ सेन्टर, चुच्चेपाटीमा निकट भविष्यमा सुरु हुने उहाँले बताउनुभयो ।  डा रूइतका अनुसार ‘एस्थेटिक अकुलोप्लाष्टि’ भन्नाले आँखारोग उपचारको यस्तो विषय हो जसले आँखा र त्यस वरपरको सुन्दरतालाई जोड दिन्छ । शल्यक्रिया वा अन्य उपचार पद्धतिबाट अनुहारमा सौन्दर्य ल्याउन मद्दत गर्ने भएकाले यसप्रतिको चासो जनमानसमा बढ्दो छ ।  हाल तिलगङ्गामा डेडो आँखाको समस्या, आँखा डिल तथा अनुहारको मांशपेशी फरफराउने समस्या, अत्यधिक आँशु आउने समस्या, थाइराइडबाट हुने आँखाको लिडको समस्याको उपचार ‘बोटक्स इन्जेक्सन’बाट निवारण भइराखेको छ ।  यस कार्यशालापश्चात् थप सेवा जस्तै बोटक्सबाट अनुहार तथा घाँटीको चाउरीपनलगायत अन्य आँखा समस्याको उपचार गर्न सकिने प्रतिष्ठानले जनाएको छ ।    कार्यशालामा एस्थेटिक अकुलोप्लाष्टिका तीन अन्तर्राष्ट्रिय विज्ञहरू फिलिपिन्सका डा इभेट सान्टियागो, मलेसियाका डा एलिस गोह र सिङ्गापुरका डा स्टेफेनीइ योङले कार्यशालामा कार्यपत्र प्रस्तुत गर्नुभयो ।  फिलिपिन्सकी डा सान्टियागोले अनुभवीबाट मात्र यस्तो सेवा लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“बोटक्स गर्दा भएको गल्तीले अनुहार नै बिग्रिएका पनि छन् । सकेसम्म बेलैमा छालाको ध्यान दिनु राम्रो हुन्छ ।” कार्यशालामा देशभरका विभिन्न स्थानबाट आँखा रोग विशेषज्ञ र आवासीय चिकित्सकको सहभागिता रहेको छ । 

काठमाडौं:     स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकलाई आधारभूत औषधि कम मूल्यमा उपलब्ध गराउन सरकार तयार रहेको बताउनुभएको छ ।      औषधिको उचित मूल्य तथा गुणस्तरवृद्धिका लागि सुझाव दिन गठित समितिका पदाधिकारीसँग मन्त्रालयमा आज भएको छलफलमा मन्त्री पौडेलले आमउपभोक्तालाई उचित मूल्यमा कसरी औषधि वितरण गर्न सकिन्छ सोसम्बन्धी अध्ययन गरी आवश्यक सुझाव दिन समितिका पदाधिकारीलाई आग्रह गर्नुभयो । उहाँले औषधिको मूल्य लामो समयदेखि समायोजन नभए पनि अहिले मूल्यवृद्धि गर्नेपर्ने अवस्था नभएको उल्लेख गर्नुभयो ।      “ग्यास र तेलको मूल्य बढ्यो भनेर औषधिको पनि बढाउनुपर्छ भन्ने होइन । औषधि नागरिकको जीवनसँग जोडिएको विषय भएकाले सरकारले मूल्य समायोजना गर्न खोजेको हो”, मन्त्री पौडेलले भन्नुभयो, “नागरिकलाई सकेसम्म सस्तो मूल्यमा औषधि उपलब्ध गराउने गरी मूल्य समायोजन हुनेछ । यसका लागि सरकार थप दायित्व निर्वाह गर्न तयार छ ।”      औषधिको मूल्यसूचीबारे आफूले जानकारी राखेको भन्दै मन्त्री पौडेलले उत्पादन र बिक्री सूचीमा केही मात्रामा मूल्य घटाउन सकिने धारणा राख्नुभयो । उहाँले मूल्य समायोजना गर्दा पनि व्यवसायीले मुनाफा राखेर अहिलेको भन्दा कम मूल्यमा अत्यावश्यक औषधि बिक्री गर्नसक्ने विश्वास व्यक्त गर्नुभयो ।       “उत्पादक, बिक्रेताले कानुनभित्र रहेर तोकिएको मापदण्ड अनुसार मुनाफा लिनुपर्छ । यसले आमउपभोक्तालाई पनि सहज हुनेछ र केही पनि मर्कामा पर्ने छैनन्”, मन्त्री पौडेलले भन्नुभयो ।  अध्धयन गर्न गठित समितिले मूल्य समायोजन, गुणस्तर, व्यावसायिकता र अन्य व्यावहारिक पक्षलाई पनि समेटेर प्रतिवेदन तयार पार्नुपर्नेमा उहाँले जोड दिनुभयो ।       स्वास्थ्यमन्त्री पौडेलले औषधि खर्चका कारण नागरिक गरिबीको रेखामा पर्न नहुने धारणा राख्दै वैज्ञानिक र तथ्यपरक हिसाबले मूल्य समायोजनमार्फत समस्या समाधानको विकल्प निकाल्ने गरी सुझाव आउने अपेक्षा व्यक्त गर्नुभयो ।       “सरकारी तथ्याङ्कले करिब पाँच लाख नागरिक औषधि खर्चका कारण गरिबीमा परेका छन् भन्ने देखाउँछ”, उहाँले भन्नुभयो, “समितिले औषधिको मूल्यका विषयमा तथ्यपरक र वैज्ञानिक अनुसन्धानबाट समायोजनाको ढाँचा बनाएर सबैलाई सकारात्मक प्रभाव पार्ने गरी सुझाव दिनुपर्छ, यसलाई मन्त्रालयले यथाशीघ्र कार्यान्वयन गर्नेछ ।”      गत बिहीबार सरकारको एकसय दिनको प्रगति सार्वजनिक गर्ने क्रममा मन्त्री पौडेलले औषधिको मूल्य घट्नेगरी समायोजन हुने घोषणा गर्नुभएको थियो ।  त्यसको दुईदिनअघि गत मङ्गलबार मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्री पौडेलले अर्थविद् डा पोषराज पाण्डेको संयोजकत्वमा सात सदस्यीय सुझाव समिति गठन गर्नुभएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले प्रदेशबासीको स्वास्थ्यलाई मध्येनजर गर्दै योजनाहरू अघि बढाएको बताएका छन् ।   एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) को छैटौं साधारणसभा तथा तेस्रो अधिवेशनमा प्रमुख अतिथि मन्त्री पाठकले योजना अनुसार नै गण्डकीबासीको स्वास्थ्यलाई स्वस्थ बनाउन प्रयास सुरु गरिएको बताए । प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न तीन कालीन योजना बनाएर काम थालेको उनको भनाई छ । ‘अल्पकालीन, मध्यकालीन र दिर्घकालीन योजना बनाएर काम गर्ने बाटो तय गरेको छु’, उनले भने ।   यसैबीच, गण्डकीको स्वास्थ्य सुधार कार्यक्रमलाई प्रभावकारी बनाउन निजी अस्पतालसँग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।   निजी स्वास्थ्य संस्थाका समस्यालाई हल गर्ने जिम्मेवारी आफूले लिने उनले बताए । स्वास्थ्य क्षेत्रलाई मर्यादित र व्यवस्थित गराउन लागि पर्ने पनि मन्त्री पाठकले बताए ।   अफिनले स्वास्थ्य क्षेत्रमा लामो समय सेवा गरेका ६ जनालाई सम्मान पनि गरेको छ । चार दशक भन्दा बढी समय स्वास्थ्य क्षेत्रमा योगदान गरेकालाई सम्मान गरिएको हो ।   सम्मानित हुनेमा डाक्टर विनोद तुलाचन, नर्सिङतर्फ किरण चन्द, ल्याबर्फत श्यामकृष्ण प्रधान, फार्मेसीतर्फ टंकबहादुर साही, रेडियोलोजीतर्फ वेदबहादुर रायमाझी र फिजियोथेरापीतर्फ विजय प्रधान रहेका छन् ।   उनीहरुलाई गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री पाठक, पोखरा महानगरपालिका मेयर धनराज आचार्य र संस्थाका अध्यक्ष डाक्टर गिरधारी शर्माले संयुक्त रुपमा सम्मान गरेका हुन् ।   पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले निजी स्वास्थ्य संस्थाले राम्रो काम गरिरहेको बताउँदै बेला बेलामा अनुगमन हुनुपर्ने बताए ।   उनले निजी स्वास्थ्य संस्थासँग सहकार्य गर्न महानगर पनि तयार रहेको बताए । अफिन गण्डकीका अध्यक्ष डाक्टर गिरधारी शर्माले गण्डकीमा निजी स्वास्थ्य संस्थामा करिब १ सय ५० अर्ब लगानी भएको बताए । शर्माले विगत २ वर्षमा संस्थाले गरेका गतिविधि पनि प्रस्तुत गरेका थिए ।   शर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा अफिनका केन्द्रीय अध्यक्ष डाक्टर पदमबहादुर खड्का, अफिन गण्डकीका संस्थापक अध्यक्ष अशोक पालिखे, उपाध्यक्ष कपिल पोखरेल, सचिव ऋषि खतिवडा, कोषाध्यक्ष सूर्यप्रसाद पोखरेल सम्मानित व्यक्तित्व, किरण चन्द र वेदबहादुर रायमाझी लगायतले स्वास्थ्य क्षेत्र र निजी स्वास्थ्य संस्थाको बारेमा बोलेका थिए । अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गरेको छ।