बागलुङ:    धौलागिरी अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ ।   धौलागिरि अस्पतालकी सूचना अधिकारी शान्ति शर्माका अनुसार दैनिक ५० देखि सय जनासम्म ज्वरोका बिरामी आइरहेको तथा उनीहरूको स्वास्थ्य परीक्षण गर्न किट अभाव भएको छ ।   केही दिनदेखि किट अभावसँगै रक्त परीक्षणमा पनि समस्या भएको छ ।   अस्पतालले गण्डकी प्रदेश सरकारसँग किट उपलब्ध गराउन माग गरेको छ ।   स्वास्थ्य कार्यालयकी मलेरिया निरीक्षक कमला थापाले प्रादेशिक अस्पतालले प्रदेश सरकारबाटै माग्न सक्ने भएकोले ग्रामीण क्षेत्रका प्राथमिक स्वास्थ्य केन्द्र र नगर अस्पताललाई मात्र किट प्रदान गरिएको बताउनुभयो ।   बुर्तिवाङ, बडिगाड र गलकोट क्षेत्रमा पनि डेङ्गीका बिरामी बढेका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले बताउनुभयो । उहाँले खोज र नष्ट गर अभियान चलाएर सङ्क्रमण रोक्ने प्रयास जारी रहेको बताउनुभयो ।

बाँके:    “हाम्रो गाउँपालिका राजमार्गमा पर्ने भएकाले यहाँ प्रायः सवारी दुर्घटना भइरहन्छन्, पहिले बिरामीलाई अस्पताल लैजानका लागि सवारीसाधन खोज्न निकै आपत् पथ्र्यो तर हाल एम्बुलेन्स सञ्चालनमा आएदेखि सवारीसाधनका लागि भौतारिनु पर्दैन, समयमा नै अस्पताल पुगिन्छ भन्ने विश्वास जागेको छ”, यो भनाइ हो बाँकेको राप्तिसोनारी गाउँपालिका–२ कि मिना वलीको ।  मीनाले धेरैपटक राजमार्गमा भएका दुर्घटना नजिकबाट देख्नु र सुन्नुभएको छ । प्रायः रातिको समयमा दुर्घटना हुने हुँदा समयमै उपचार नपाउँदा कतिपयले ज्यान गुमाएको पनि उहाँको सम्झनामै छ ।  त्यसैले यहाँका स्थानीयले भरपर्दो एम्बुलेन्स सेवा सञ्चालनका लागि आवाज उठाइरहेका थिए । तीमध्ये मीना पनि एक हुनुहुन्थ्यो । पछिल्लो समय  यहाँ चौबिसै घण्टा सेवा दिने गरी एम्बुलेन्स सञ्चालनमा आएपछि पहिलेको जस्तो समस्या नहुने उहाँको विश्वास छ । मीनाजस्तै सोही गाउँपालिका–८ का रामशरण थारुले पालिकामा एम्बुलेन्स सेवा सुरु भएपछि खुसी हुनुहुन्छ ।  “निकुञ्जसँगै जोडिएको राजमार्गका कारण यहाँ सवारी दुर्घटनाका साथै वन्यजन्तुको आक्रमणबाट पनि बेलाबेला समस्या हुने गरेको छ । विगतमा धेरैले दुःख पाएका छौँ । कतिले समयमा अस्पताल पु¥याउन नसक्दा ज्यान गुमाएका पनि छन्”, उहाँले विगत सम्झिँदै भन्नुभयो,“ अब आफ्नै पालिकामा चौबिसै घण्टा एम्बुलेन्स सेवा सुरु भएको छ । अब समयमै अस्पताल नपुर्‍याएका कारण कसैले पनि अकालमा ज्यान गुमाउनु पर्दैन भन्ने विश्वास जागेको छ ।” सोही पालिका–२ का कार्यवहाक वडाध्यक्ष दीर्घबहादुर बुढाक्षेत्री पनि विगतमा सवारीसाधनको अभावमा समयमै अस्पताल पु¥याउन नसक्दा धेरै घाइते तथा बिरामीले ज्यान गुमाएको स्मरण गर्नुहुन्छ ।  “अकस्मात कुनै घटना भइहालेमा कोहलपुर मेडिकल र नेपालगञ्ज मेडिकल कलेजसम्म पुग्न समस्या हुने गथ्र्यो । समयमा अस्पताल पुर्याउन नसक्दा धेरैले अकालमा ज्यान गुमाउनु परेको आफ्नै आँखाले देखेको छु । त्यही समस्या समाधान गर्न पालिकाले एम्बुलेन्स सेवा सुरु गरेको छ । अब केही राहत हुनेछ”, उहाँले भन्नुभयो ।  बाँकेको राप्तिसोनारी गाउँपालिकाले सर्पदंश उपचार केन्द्रका लागि भन्सार तीरेर ल्याइएको एम्बुलेन्सलाई सञ्चालनको जिम्मा सशस्त्र प्रहरी बल नेपाल नं ४२ रिजर्भ गणलाई दिएको छ । असोजको १ गतेदेखि सशस्त्र प्रहरी बलले एम्बुलेन्स सञ्चालनको जिम्मा लिएको हो । गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले जनतालाई छिटो छरितो  सेवा प्रवाह गर्ने उद्देश्यले एम्बुलेन्स खरिद गरेर ल्याइए पनि केही प्राविधिक कारणले सञ्चालन गर्न नसकिएको बताउनुभयो ।  उहाँले सशस्त्र प्रहरी बललाई एम्बुलेन्स हस्तान्तरण गरेसँगै सेवा प्रवाहमा सहजता हुने विश्वास व्यक्त गर्नुभयो । “पूर्वपश्चिम राजमार्गमा हुने सवारी सडकलगायत समस्यामा उद्धार तथा भैपरी आउने दैविक प्रकोपको उद्धारमा पनि सहयोग पुगोस् भन्ने उद्देश्यले एम्बुलेन्स हस्तान्तरण गरिएको छ । पक्कै पनि सोहीअनुसार सञ्चालन हुनेछ”, अध्यक्ष पौडेलले भन्नुभयो ।  बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले पालिकाले सशस्त्र प्रहरीलाई एम्बुलेन्स हस्तान्तरण गरेकोमा त्यसले विपद्का समयमा निकै सहयोग पुग्ने बताउनुभयो ।  “दुरीका हिसाबले पनि यस पालिकामा हुने दुर्घटनाका घाइते वा बिरामीलाई समयमै अस्पताल पुर्याउन गाह्रो हुन्छ । अब एक्बुलेन्सका कारण सो समस्या समाधानमा सहयोग पुग्नेछ”, उहाँको भनाइ छ ।  सशस्त्र प्रहरी बल नेपाल नं ४२ रिजर्भ गणका गणपति क्षेत्रीले पालिकाले विश्वास गरेर एम्बुलेन्स हस्तान्तरण गरेकाले सोहीअनुसार काम गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो ।  सम्झौताअनुसार हालका लागि एम्बुलेन्स सेवा पालिकाको वडा नं २, ८ र ९ मा सञ्चालनमा आएको छ । सम्झौतामा उल्लेख भएअनुसार उक्त एम्बुलेन्स चालक र एम्बुलेन्सको संरक्षण सशस्त्र प्रहरीले गर्नेछ भने एम्बुलेन्सको ईन्धन र मर्मतलगायतका अन्य खर्चको जिम्मेवारी पालिकाले नै बेहोर्ने छ ।

महोत्तरी:    जिल्लाको बर्दिबासमा हालसम्म करिब ३१ हजारले सर्पदंशको उपचार सेवा लिएका छन् । बर्दिबास–३ गौरीडाँडामा सर्पदंश उपचार केन्द्र सञ्चालन भएयता हालसम्म तीस हजार नौ सय ४८ जनाले सेवा लिएका हुन् ।      केन्द्रले विसं २०७१ साउन ३१ गतेदेखि उपचार सेवा दिँदै आएको हो । चालु आर्थिक वर्षको हालसम्म एक सय एक जनाले सेवा लिएका केन्द्रका अध्यक्ष कृष्ण देवकोटाले जानकारी दिनुभयो ।  उहाँका अनुसार गत साउनमा ५० र भदौमा ५१ जनाले उपचार लिएका छन् । केन्द्रमा स्थापना भएदेखि उपचारमा नेपाली सेनाका छ जना दक्ष जनशक्ति खट्दै आएको छन् ।      सबैभन्दा बढी सर्पदंशका बिरामी आव २०७६/७७ र आव २०७८/७९ मा देखिएका छन् । ती वर्षमा क्रमशः तीन हजार नौ सय ४७ र तीन हजार नौ सय २२ जनाले उपचार लिएका केन्द्रको अभिलेखले जनाएको छ । गत आवमा आठ सय ८४ जनाले उपचार लिएका नेपाली सेनाका उपचारटोलीका प्रमुख मानसिंह कुँवरले जानकारी दिनुभयो ।      लामो खडेरीपछि एक्कासी ठूलो पानी परेका बेला सर्पदंशका घटना बढ्ने भन्दै आवश्यक सर्तकता अपनाई सचेत हुन कुँवरले सर्वसाधरणलाई आग्रह गर्नुभयो । सर्पदंशका घटना भदौमा बढी हुने गरेकाले यो समयमा बढी सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।       महोत्तरीको बर्दिबास नगरक्षेत्रमा सर्प बढी देखिने गरेका छन् । पछिला दिनमा बर्दिबास नगरक्षेत्रको बढ्दो सहरीकरणले मानव चहलपहल वृद्धि चएसँगैपछि सर्पको बिगबिगी घट्दै गएको यहाँका स्थानीय बताउँछन् ।  केन्द्रमा महोत्तरी, सिन्धुली, धनुषा र सर्लाहीलगायत मधेस प्रदेशका जिल्लाका सेवाग्राही उपचारका लागि आउने गर्दछन् । 

ढोरपाटन:    बडिगाड गाउँपालिकाले बिपन्न परिवारका बिरामीलाई आर्थिक सहयोगसहित जनताका घरआँगनमा स्वास्थ्य सेवा प्रवाह गरेको छ ।  स्थानीय तह स्थापना हुनुअघि सातवटा मात्रै स्वास्थ्यचौकी रहेकामा यो पालिकामा हाल १६ वटा स्वास्थ्य संस्था सञ्चालनमा छन् भने १८ शय्याको आधारभूत अस्पताल सञ्चालनको तयारीमा छ । गाउँपालिकाले स्वास्थ्यचौकीसहित गाउँ–गाउँमा आभारभूत स्वास्थ्य सेवा केन्द्र र सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरी सेवा दिन थालेको हो ।   बडिगाडमा हाल एक पालिकास्तरीय आधारभूत अस्पताल, सात स्वास्थ्यचौकी, तीन आधारभूत स्वास्थ्य सेवा केन्द्र र पाँच सामुदायिक स्वास्थ्य एकाइ छन् । गाउँपालिकाले १० वटै वडाका विभिन्न स्थानमा स्वास्थ्य संस्था स्थापना गरी सञ्चालन गरेपछि नागरिकलाई उपचारमा सहज भएको छ ।  गाउँपालिका–८ र १० बाहेक धेरै ठाउँमा आधा घण्टाकै दूरीमा स्वास्थ्य संस्था सञ्चालनमा छन् । स्वास्थ्य संस्था टाढा भएका ठाउँमा गाउँपालिकाले ‘एकीकृत ग्रामीण मोबाइल स्वास्थ्य सेवा कार्यक्रम’मा नागरिकलाई सेवा दिइरहेको छ ।   ‘एकीकृत ग्रामीण मोबाइल स्वास्थ्य सेवा कार्यक्रम’मार्फत सबै वर्गका नागरिकले सहज रूपमा स्वास्थ्य परीक्षण र उपचार गर्न पाएको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी अधिकारीले बताउनुभयो । पालिका ठूलो क्षेत्रमा फैलिएकाले केही स्थानमा स्वास्थ्य संस्था स्थापना गर्न नसकेको बताउँदै उहाँले उक्त कार्यक्रमअन्तर्गत अनकन्टार स्थानमा समेत सेवा प्रवाह गरिएको बताउनुभयो ।    दशवटा वडाका स्वास्थ्य संस्था पहुँचभन्दा टाढा रहेका समुदायलाई डाक्टरसहितको टोलीले समय–समयमा टोलमै गएर सेवा दिने गरेको अध्यक्ष अधिकारीले बताउनुभयो ।  बालबालिका, गर्भवती र ज्येष्ठ नागरिकको उपचारमा स्वास्थ्य टोली केन्द्रित छ । ‘एकीकृत ग्रामीण मोबाइल स्वास्थ्य सेवा कार्यक्रम’मार्फत धेरैलाई स्वास्थ्य सेवा दिइरहेको तथा  विपन्न परिवारका बिरामी सदस्यलाई  आर्थिक सहायता पनि गर्दै आएको उहाँले बताउनुभयो । अध्यक्ष अधिकारीका अनुसार १५ शय्याको आधारभूत अस्पताल सञ्चालनको तयारी भएको छ । आधारभूत अस्पताल सञ्चालनसँगै डाइलाइसिस सेवा पनि सुरु गर्ने योजनामा पनि छ । गाउँपालिकाले समय–समयमा विकट बस्तीमा पुगेर निःशुल्क स्वास्थ्य शिविर पनि गर्दै आएकाले त्यसबाट त्यहाँका सर्वसाधारण लाभान्वित भएका छन् । स्थानीय बमकुमारी विकले गाउँपालिकाले गाउँमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन भएपछि घण्टौँ लगाएर स्वास्थ्यचौकीमा पुग्नुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो । केही समय अगाडि वडा नं ४ को खाराखोलामा गाउँपालिकाले स्वास्थ्य एकाइ स्थापना गरेको थियो ।  बडिगाड गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक हेम पुनले विभिन्न गाउँमा शिविर सञ्चालन गर्दा धेरै नागरिकमा क्षयरोग सङ्क्रमण पुष्टि भएको र उनीहरूको उपचार गरिएको छ । पालिकाले एक सय १३ जना बिरामीको उपचार गरेको उहाँले बताउनुभयो । शिविरसहित गाउँपालिकाले विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्नेलगायत काम गर्दै आएको अध्यक्ष पुनले बताउनुभयो ।

कास्की:   पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गत आर्थिक वर्ष २०८०/८१ मा चार लाख ५५ हजार पाँच सय छ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् ।  अस्पतालका मेडिकल रेकर्ड अधिकृत तीर्थ गौतमका अनुसार गत एक वर्षमा ओपिडीमा चार लाख छ हजार सात सय २९ र इर्मेजेन्सीमा ४८ हजार सात सय ७७ जनाले सेवा लिएका हुन् ।      ओपिडी सेवा लिनेमध्येमा मेडिकलतर्फ सबैभन्दा बढी छन् । मेडिकलमा एक लाख २६ हजार आठ सय ४५, हाडजोर्नीतर्फ ४८ हजार नौ सय ८४, गर्भवती जाँच ३७ हजार नौ सय ४२, बालरोग ३२ हजार दुई सय ४०, सर्जरीमा २७ हजार चार सय ७५ र प्रसूतिमा २५ हजार आठ सय ८७  जनाले सेवा लिएका छन् ।      यसैगरी आव २०७८/७९ मा ओपिडीमा दुई लाख ७२ हजार तीन सय ५९ र इर्मेजेन्सीमा ४० हजार सात सय ३९ जनाले सेवा लिएका थिए भने आव २०७९/८० मा ओपिडीमा तीन लाख ५६ हजार चार सय दुई तथा इर्मेजेन्सीमा ५४ हजार नौ सय ७१ जनाले सेवा लिएको गौतमले जानकारी दिनुभयो ।      “अस्पतालमा देशका सात प्रदेश तथा ७७ वटै जिल्लाबाट बिरामीले सेवा लिएको देखिन्छ । बर्सेनि ओपिडी र इर्मेजेन्सीमा उपचारका लागि आउने बिरामीको सङ्ख्या बढेको छ । सेवाग्राही बढेसँगै अस्प्तालको साधनस्रोत र क्षमता वृद्धि गर्नुपर्ने चुनौती थपिँदै गएको छ”, गौतमले भन्नुभयो ।      अस्पतालका अनुसार गत आवमा २२ हजार एक सय ४७ जनाले अस्पतालमा भर्ना भएर सेवा लिएका छन् । यो सङ्ख्या आव २०७८/७९ मा २० हजार चार सय ६६ र आव २०७९/८० मा २२ हजार छ सय ८४ रहेको थियो ।       अस्पतालका अनुसार ओपिडी तथा आकस्मिक कक्षमा उपचार सेवा लिने बिरामीमध्ये सवैभन्दा बढी कास्की जिल्लाका छन् । त्यसपछि तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ, म्याग्दी, लमजुङ, गोरखा, धादिङ र पाल्पाका नागरिकले सेवा लिएका छन् ।       अस्पतालले भौतिक पूर्वाधार विकाससँगसँगै दक्ष जनशक्ति व्यवस्थापन र अत्याधुनिक स्वास्थ्य उपकरणसहित सेवा विस्तार र सुधारमा जोड दिएको अस्पतालले जनाएको छ । अस्पतालले मिर्गौला प्रत्यारोपणलगायत केही विशिष्ट उपचार सेवा दिन सुरु गरेको छ ।       हालको पोखरा महानगरपालिका–१० मा विसं २०१२ मा सोल्जर बोर्ड अस्पतालका नाममा यो स्थापना भएको हो । त्यसपछि विसं २०१९ मा १५ शय्याको जिल्ला अस्पताल बन्यो ।  विसं २०३२ मा ५० शय्या क्षमतामा विस्तार भएर गण्डकी अञ्चल अस्पताल बन्यो । विसं २०४३ देखि एक सय ५० बेड क्षमतामा विस्तार भएर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा विकास भएकामा विभिन्न मितिमा शय्या थपिँदै गएर हाल पाँच सय बेडको अस्पतालमा रुपमा रहेको छ ।            सरकारले विसं २०७२ मा अस्पताललाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा स्थापना गर्ने घोषणा गरेको थियो । 

कास्कीमा डेंगी संक्रमणबाट तीनजनाको मृत्यु भएको छ ।   पोखरा महानगरपालिका–५ का ५२ वर्षीया महिला, १२ का ४० वर्षीय र १० का ८० वर्षीय पुरुषको मृत्य भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका भेक्टर   कन्ट्रोल अधिकृत याम बरालकानुसार गत जनवरियता जिल्लाका तीन हजार सात सय ६८ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।   आइतबारसम्ममा सबैभन्दा बढी पोखरा महानगरपालिकामा तीन हजार एक सय ११, अन्नपूर्ण गाउँपालिकामा २३, माछापुछ्रे गाउँपालिकामा ४०, मादी गाउँपालिकामा १० र रुपा गाउँपालिकामा १३ जनामा डेंगी संक्रमण देखिएको हो ।   यस्तै अन्य जिल्लाका दुई सय ६३ र ठेगाना नखुलेका तीन सय आठ गरी कास्कीमा कूल तीन हजार सात सय ६८ जनामा डेंगी संक्रमण पुष्टि भएको हो । पोखरा महानगरपालिका वडा नं ५ र ८ लगायतका वडा डेंगीको प्रकोपबाट बढी प्रभावित भएको भेक्टर कन्ट्रोल अधिकृत बरालले बताए ।   जनघनत्व बढी भएका ठाउँमा संक्रमण छिटो फैलने हुँदा पोखरा डेंगीको ‘हट स्पट’ बनिरहेको उनको भनाइ छ । स्वास्थ्य कार्यालयले डेंगीको उपचारका क्रममा पोखराका अस्पतालमा ज्यान गुमाउनेमा अन्य जिल्लाका संक्रमितसमेत रहेको जनाएको छ ।   संक्रमण तीव्र बन्दै जाँदा उक्त रोग सङ्क्रमणबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सक तथा स्वास्थ्यकर्मीले सुझाएका छन् ।   स्वास्थ्य कार्यालय प्रमुख रामबहादुर नेपालीले संक्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुन सक्ने भएकाले रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्न आग्रह गरे ।   पछिल्लो तीन महिनामा डेंगी संक्रमणको दर ह्वात्तै बढेको र अब समयमा जोखिम न्यूनीकरण र नियन्त्रण गर्न नसके महामारीको रूप लिनसक्ने प्रमुख नेपालीले बताए । “डेंगीलाई सामान्य रूपले नसोचौँ, यसका अप्रिय उदाहरण हामीसँग छन्”, उनले भने, “संक्रमणपछि उपचार र हेरचाह पुगेन भने स्वास्थ्य अवस्था जटिल बन्दै बिरामीको मृत्युसमेत हुनसक्छ । यसैले डेंगी रोकथाम र नियन्त्रणका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्छ ।”

बाँके:    बाँकेका विभिन्न अस्पतालमा रगतको अभाव हटाउन यहाँ दिनहुँजसो रक्तदान हुन थालेको छ ।  रगतको मौज्दाद नहुँदा बाँकेमा रगतको अभाव देखिन थालेपछि विभिन्न सङ्घसंस्थाको अग्रसरतामा रक्तदान हुन थालेको नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगञ्जले जनाएको छ । केही दिनयता विभिन्न सङ्घसंस्थाले रक्तदान कार्यक्रम आयोजना गरेकाले रगतको अभाव नभएको केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले तत्काल रगतको अभाव नभए पनि विभिन्न सङ्घसंस्थाले कार्यक्रम नगर्दा समस्या आउने देखिएको छ, त्यसैले रक्तदान भइरहेको छ ।” प्रमुख रेग्मीले नेपालगञ्ज मेडिकल सहरका रूपमा रुपान्तरण भएको उल्लेख गर्दैै रेडक्रसका खजुरा, कोहलपुर, नेपालगञ्ज कार्यालयबाट दैनिक ७० देखि ८० पिन्ट रगतको माग हुने गरेको बताउनुभयो ।  जिल्लामा सिकलसेल, थालसेमियालगायत बिरामीलाई रगत आवश्यक पर्ने भएका कारण बाँकेमा रगतको मागअनुसार आपूर्ति नभएको उहाँको भनाइ छ । विभिन्न सङ्घसंस्थाले रक्तदान कार्यक्रम गर्ने जानकारी दिएकाले केही दिन माग धान्न सकिने जानकारी दिँदै प्रमुख रेग्मीले विभिन्न समूहको गरी करिब ५० पिन्ट बढी रगत मौज्दातमा नरहेको बताउनुभयो ।  जिल्लाका विभिन्न अस्पतालमा सोभन्दा बढी रगत आवश्यक पर्ने गरेकाले पूरा गर्न नसकिने हुँदा समस्या चर्किँदै गएको बताइएको छ । मानव धर्म सेवा समाज, जनमत अर्ध साप्ताहिक, खजुराको धवलागिरि विद्यालय, संविधान दिवसमा कर्मचारी, असोज ४ गते लायन्स क्लबले रक्तदान गर्न लागिएको छ । रक्तदान गर्नेले केन्द्रमा आवश्यक समूहको रगत नरहेमा रक्तदान गर्दा पनि माग गरेको समूहका रगत पाउने अवस्था नरहेको बताइएको छ । यसले सामाजिक सञ्जालमा पछिल्ला दिनमा रगत समूह उल्लेख गरेर रक्तदानको आह्वान गरिएको रक्तसञ्चार केन्द्रले जनाएको छ ।  त्रैमासिक रूपमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आउनुभएका जनमत अर्ध साप्ताहिकका सम्पादक पूर्णलाल चुकेले रक्तसञ्चार केन्द्र पुग्दा रगतको अभाव रहेको औँल्याउँदै केही दिनअघि रक्तदान गरेर ४० पिन्ट रगत सङ्कलन गरेको बताउनुभयो ।  उहाँले रगतको अभाव हटाउन पुनः सङ्घसंस्थासँग समन्वय गरेर रक्तदान कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिनुभयो । सो रक्तसञ्चार केन्द्रले नेपालगञ्ज, कोहलपुर र खजुराका अस्पतालमा रगत उपलब्ध गराउँदै आएको छ । 

पर्वत:    डेङ्गी सङ्क्रमितको सङ्ख्या बढेसँगै जिल्ला अस्पतालमा शय्या अभाव भएको छ ।  पर्वत अस्पतालमा परीक्षण गरिएकामध्ये छ सय ५० जनामा सङ्क्रमण पुष्टि भएको छ । पर्वत अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा हेमन्त बाँस्तोलाका अनुसार डेङ्गीबाट पर्वतमा एक महिलाको मृत्यु भइसकेको छ ।   अस्पताल सङ्क्रमितले भरिभराउ छ । साठी शय्याको अस्पतालमा बिरामी भरिभारउ भएपछि अतिरिक्त शय्या खडा गरेर उपचार गरिएको छ ।  ग्रामीण क्षेत्रमा भन्दा बजारमा बिरामीको सङ्ख्या अधिक छ । सदरमुकाम कुश्मामा मात्र पाँच सयभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये ४९ प्रतिशत पुरुष र ५१ प्रतिशत महिला छन् ।   नौवटा एम्बुलेन्स थन्किए  यसैबीच, बिरामीलाई सर्वसुलभ रूपमा आकस्मिक सेवा उपलव्ध गराउने उद्देश्यले जिल्लाका विभिन्न पालिकामा ल्याइएका नौवटा एम्बुलेन्स प्रयोगविहीन छन् । हाल जिल्लाभर १० वटा एम्बुलेन्स मात्र सञ्चालनमा छन् । विभिन्न दातृ निकाय, भारतीय राजदूतावास र सरकारी सुविधामा ल्याइएका एम्बुलेन्स नियमित मर्मतसम्भार नहुँदा थन्किएका हुन् । 

पर्वत:   जलजला गाउँपालिकाले स्थानीयका घरदैलोमा पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण थालेको छ ।   आर्थिक अभाव तथा बुढ्यौलीलाई दृष्टिगत गरी पालिकाले स्वास्थ्य परीक्षण थालेको हो ।   जेष्ठ नागरिकमा सर्ने तथा नसर्ने रोगको अवस्था पहिचान गरी परामर्श र उपचारमा सघाउने उद्देश्यले प्रत्येक दुई महिनामा हरेक टोलमा स्वास्थ्यकर्मी पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परीक्षणको व्यवस्था मिलइाएको गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिनुभयो ।   जलजला गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख गणेश मल्लले पालिकाक्षेत्रका ९ वटा वडाका ९० वटा टोलमा जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्न स्वास्थ्यकर्मी परिचालन भएका बताउनुभयो ।   स्वास्थ्य परीक्षण उनीहरुलाई निःशुल्क औषधी पनि वितरण गरिनेछ ।   आर्थिक रूपमा अक्षम र सहाराविहीन यो कार्यक्रमबाट लाभान्वित हुने उहाँले बताउनुभयो ।