पोखरा: ‘मानवताका लागि सांगीतिक’ भन्ने नारासहित देश दौडाहामा रहेको नेपथ्यले आगामी पुष १२ गते पोखरामा कन्सर्ट गर्ने भएको छ । आयोजकका अनुसार पोखरा ९ नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा अपह्रान्ह ४ बजे कन्सर्ट सुरु हुनेछ । मानव सेवा आश्रमले भवन निर्माण तथा कोष स्थापनार्थ नेपथ्यको टोली साँगीतिक यात्रामा रहेको पोखराको प्रचारप्रसार संयोजक दिनेश शर्माले बताए । उनका अनुसार अहिलेसम्म नेपालको चर्चित सांगीतिक समूह नेपथ्यका अमृत गुरुङले विराटनगर, वीरगञ्ज, हेटौँडा र नारायणघाटमा प्रस्तुती राखिसकेका छन् भने आज (बिहिबार) नेपालगञ्जमा हुदैछ । सांगीतिक यात्रामा रहेको नेपथ्यले नेपालगञ्जपछि पुष ३ गते धनगढी, ६ गते सुर्खेत, ९ गते बुटवल, १२ गते पोखरा र १६ गते काठमाडौंमा कन्सर्ट गरेर साँगीतिक यात्रा समापन गर्ने शर्माले बताए । उनका अनुसार टिकटदर १ हजार कायम गरिएको छ भने इसेवा, खल्ती, फोन पे मार्फत टिकट बुकिङ गर्न सकिने छ । आश्रमको भवन निर्माणार्थ कन्सर्ट पोखरा महानगरपालिका वडा नं. २५ हेम्जा बाबियतरामा लक्ष्मीनारायण सनातन संस्कार प्रतिष्ठानको ६३ रोपनी जग्गामा निर्माणाधिन भवन सम्पन्न गर्न नेपथ्यको कन्सर्ट आयोजना गरिएको पोखराका प्रचारप्रसार संयोजक दिनेश शर्माले बताए । उनका अनुसार देश दौडाहामा रहेको सांगीतिक समुह नेपथ्यको कन्सर्टबाट संकलित रकम आश्रमको भवन निर्माणमा खर्च गरिने छ । उक्त भवन निर्माणलाइ पूर्णता दिनका लागि मानवताका लागि संगीत भन्ने नारासहित देश दौडाहामा रहेको उल्लेख गरे । ‘अहिले बनिरेको भवनलाई पूर्णता दिनका लागि नेपथ्य लाइभ कन्सर्टको आयोजना गरिएको हो, उनले भने, ‘अन्य शहरमा जस्तै पोखरामा आयोजना हुने कार्यक्रमबाट दर्शकको राम्रो साथ समर्थन प्राप्त हुनेछ ।’ यसैगरि मानव सेवा आश्रमका केन्द्रीय कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले पोखराको कन्सर्टमा करिब ८ हजार दर्शकको अपेक्षा रहेको सुनाए । ‘पोखरा नेपथ्यको होमटाउन पनि हो, त्यसैले सबैभन्दा बढी करिब ८ हजार जति दर्शकको अपेक्षा गरेका छौ, उनले भने, ‘त्यसबाट सबै खर्च कटाएर २५ लाख जति बचत गरेर भवन निर्माणमा खर्च गर्ने योजना बनाएको छौ ।’ निर्माणाधिन भवनमा हालसम्म ५ करोडको काम सम्पन्न भइसकेको छ । तिमिल्सिनका अनुसार ४८ कोठासहितको तीन तले भवन निर्माण हुनेछ । सो भवनको एक कोठा निर्माण सम्पन्न गर्न ५ लाख १ हजार १ सय ११ रुपैयाँ लाग्ने उनले बताए । ‘एउटका कोठा बन्न करिब ५ लाख लाग्छ अहिलेसम्म केही संस्था र दाताहरुले कोठा निर्माण गर्ने प्रतिबद्धता जनाइसक्नुभएको छ ।’ उनले भने । उक्त भवन निर्माण भइसकेपछि करिब २ सय जनालाई सेवा प्रदान गर्न सकिने उनले बताए । तिमिल्सिनाका अनुसार हाल देशैभर गरेर झण्डै एक हजार ६ सय सडक आश्रित मानवहरुले सेवा पाइरहेका छन् । हेटौंडामा मुख्य कार्यालय रहेको मानवसेवा आश्रमले हालसम्म १९ जिल्लाका २३ सेवा केन्द्रबाट सेवा प्रवाह गरिरहेको छ । गण्डकी प्रदेशको गोरखा, लमजुङ, बागलुङ र कास्कीमा गरि ४ जिल्लामा मानव सेवा आश्रमले सेवा दिइरहेको छ । पोखरामा भएको मानवसेवा आश्रममा १०२ पुरुष र ६३ जना महिला गरी १६५ जना आश्रित छन् ।
काठमाडौं: यस्तो लाग्छ, ‘भ्वाइस अफ नेपाल’को फिनाले नहुँदै आशिष महर ‘स्टार’ भइसके । धनगढीमा जारी ‘सुदूरपश्चिम महोत्सव’को चौथो दिन महरले सांगीतिक प्रस्तुतिमार्फत दर्शकलाई जुरुकजुरुक पारे । महोत्सवको भीडमा एक्ला आकर्षण बनेका महरलाई हेर्न र छुन भीड उर्लिएको थियो । उनका समर्थक आशिष महरलाई जिताऊँ लेखिएको ब्यानरसहित त्यहाँ उपस्थित थिए । सञ्चालिका मञ्जु पौडेलले महर आउन लागेको माइकबाट बताएपछि भीड उर्लिएको थियो । आशिषको पक्षमा फ्यानले हुटिङ समेत गरे । आशिषको भीडलाई थाम्न प्रहरीलाई हम्मे समेत पर्यो । महरले भ्वाइस अफ नेपालमा गाएका गीतसँगै देउडा गाएर दर्शकलाई मन्त्रमुग्ध तुल्याए । उनले आफूलाई भोट गरेर जिताउन समेत आग्रह गरे । ‘अझै पनि मलाई तपाईंको साथ र सहयोग चाहिन्छ,’ उनले भने । द भ्वाइस अफ नेपालको अन्तिम आठमा प्रवेश गरेका आशिष कोच प्रमोदको टिमबाट प्रतिस्पर्धा गरिरहेका छन् ।
पोखराः मिस तामाङ पोखराको तालिम शुरु भएको छ । बैदाम तामाङ समाज पोखराले हरेक वर्ष पोखरामा आयोजना गर्नेे प्रतियोगिताको शनिबारबाट सहभागीहरुलाई तालिम दिन शुरु गरिएको हो । २८५९ औ सोनाम ल्होसारको अवसरमा आयोजना गरिएको मिस तामाङ पोखराको यो सातौं संस्करण हो । तालिममा २० जना तामाङ समुदायको युवतीहरुको सहभागिता रहेको कार्यक्रम संयोजक राम लामाले बताउनुभयो । युवाहरुलाई आफ्नो मौलिक भाषा, भेषभुषा, संस्कार र संस्कृतिको बारेमा जानकारी गराई आफ्नो समुदाय प्रति प्रेम जगाउनका लागि कार्यक्रमलाई निरन्तरता दिन लागेको तालिमको शुभारम्भको अवसरमा बोल्दै आयोजक बैदाम तामाङ्ग सेवा समाजका अध्यक्ष ज्याक तामाङ्गले बताउनुभयो । शुभारम्भ कार्यक्रमका प्रमुख अतिथी तामाङ्ग घेदुङ्ग का पूर्व अध्यक्ष धनप्रसाद तामाङ्गले युवापुस्ता मात्रै होइन अभिभावक पनि भाषा र संस्कार जोगाउन सचेत बन्नु पर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले जन्म देखि मृत्यु सम्म तामाङ्ग समुदायको आफ्नै मौलिक संस्कार रहेको भन्दै यसबारे मा नयाँ पुस्ता जानकार हुनपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल तामाङ्ग घेदुङ्ग सिम्पानीका अध्यक्ष गंगा तामाङ्ग, नेपाल तामाङ्ग घेदुङ्ग पोखरा महानगरका अध्यक्ष रामबहादुर तामाङ्ग (शिवु ब्लोन), मिस तामाङ्ग पोखरा २०२२ का विजेता मान्सी तामाङ्ग, रनरअप पेमा तामाङ्ग, आरजे होल्डिङ्ग रियल स्टेटका प्रबन्ध निर्देशक राजु केसी, रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जका स्टेशन म्यानेजर सन्जय मल्ल लगायतले बोल्नुभएको थियो । पहिलो दिनको प्रशिक्षण नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठले प्रदान गर्नुभएको थियो । ३५ दिन सम्म चल्ने प्रशिक्षणमा तामाङ्ग जातीको भाषा, संस्कृति, रहनसहन तथा परम्पराका साथै व्यक्तित्व विकास र नेतृत्व विकासका तालिम प्रदान गरिने कार्यक्रमका संयोजक राम लामाले जानकारी दिनुभयो । प्रतियोगितामा पोखरा पुम्दीभुम्दीका मनिषा तामाङ्ग, योगितामाया तामाङ्ग, नारेश्वरकी निशा तामाङ्ग, नदिपुरका खुसी बम्जन, कृतिका तामाङ्ग, फुलबारीका सुप्रिया तामाङ्ग, सेदीका रोश्मा तामाङ्ग, जुना तामाङ्ग, प्रिती तामाङ्ग , लेकसाइडका आकृति ब्लोन, मियापाटनका रसिला तामाङ्ग , रिठेपानीका रेनुका तामाङ्ग , न्युरोडका विकिता तामाङ्ग, लामागाउँका सुमित्रा तामाङ्ग, बगालेटोलका लक्ष्मी तामाङ्ग , अर्विना तामाङ्ग, विजयपुरका विपना तामाङ्ग र जिरोकिलोमिटरका जिना थिङ्ग सहभागी छन् ।
काठमाडौं: साम्राज्ञी शाह अभिनित तीन फिल्म डेढ महिनाको अन्तरमा रिलिज हुँदैछन् । पुस २९ गते ‘तिम्रो मेरो साथ’, माघ २० गते ‘ह्यारीकी प्यारी’ र फागुन ५ गते ‘लण्डन टु पेरिस’ रिलिज हुनेछन् । छोटो समयमै फिल्म रिलिज हुने भएपछि उनको व्यस्तता र बक्स अफिस दबाब बढ्नेछ । यी तीन फिल्म चले सन् २०२२ भित्र ह्याट्रिक गर्ने साम्राज्ञीको मौका रहेको छ । यसैबीच, ‘तिम्रो मेरो साथ’मा साम्राज्ञीको बोल्ड अवतार भएको आइटम ट्रयाक सार्वजनिक भएको छ । यो रोमान्टिक फिल्ममा साम्राज्ञीले पुष्प खड्कासँग अनस्क्रिन रोमान्स गरेकी छन् । तन्नेरी पुस्तामाझ चर्चित २७ वर्षीया यी अभिनेत्रीको उक्त तस्वीर हट र स्मोकी महसुस हुनेछ ।
काठमाडौं: भारतीय फिल्म उद्योगमा फिल्म चलेन भने त्यसका अभिनेता अभिनेत्रीले केही हदसम्म पारिश्रमिक फिर्ता गरेका थुप्रै उदाहरण छन् । नेपाली फिल्म उद्योगमा पनि त्यसको सुरुवात भएको छ । नेपालमा फिल्म नचलेपछि पारिश्रमिक फिर्ता गर्ने परिपाटीको सुरुवात अभिनेता पुष्प खड्काले गरेका हुन् । अभिनेता खड्काले फिल्म ‘कृष्ण लीला’ फ्लप भएको कारण निर्माणलाई आफूले लिएको पारिश्रमिकको ३३ प्रतिशत फिर्ता गरेको बताएका छन् । बिहिबार फिल्म ‘तिम्रो मेरो साथ’ ले आयोजना गरेको एक कार्यक्रममा पुष्पलाई पत्रकारले प्रश्न सोधका थिए ‘‘कृष्ण लीला’ वर्षकै फ्लप फिल्म बन्यो । के तपाईले घोषणा गरे अनुसार पारिश्रमिक फिर्ता गर्नुभयो ? । कार्यक्रममा उनले निर्मातालाई आफूले लिएको पारिश्रमिकको ३३ प्रतिशत रकम फिर्ता गरेको बताए । उनले ‘कृष्ण लीला’ मा कति बुझेका थिए र कति फिर्ता गरेको भने बताएनन् । ‘मैले ३३ प्रतिशत पारिश्रमिक लिन बाँकी थियो’, पुष्पले भने ‘फिल्म फ्लप भएपछि त्यो लिएको छैन । त्यौ नै फिर्ता गरेजस्तै हो । अव त्यो लिन्न । नलिएपछि फिर्ता गरेजस्तै भनेर ?’ फिल्म प्रदर्शन समयमा आफूले गरेको त्यो बाँचा नबिर्सिएको समेत खड्काले सुनाए । ‘कृष्ण लीला’ मा खड्काको अभिनेत्री श्रद्धा क्षेत्रीसँग रोमान्स रहेको थियो । नेपाली अभिनेताहरूमा पारिश्रमिक चर्को लिने होडबाजी नै छ । जसले गर्दा नेपाली फिल्मको निर्माण लागत ह्वात्तै बढेको छ । तर, पारिश्रमिक चर्को लिने कलाकारले फिल्म नचलेपछि पारिश्रमिक फिर्ता गर्नु त टाढाको कुरा असफलताको दोष लिन समेत तयार हुँदैनन् । पुष्पले भने फिल्म नचले पारिश्रमिकको केही प्रतिशत रकम फिर्ता गरेर फिल्म उद्योगमा आफूलाई एउटा जिम्मेवार अभिनेताको रुपमा प्रमाणित गरेका छन् ।
पोखरा: सातौं पर्वतीय महोत्सवअन्र्तगत अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा अन्तरविद्यालयस्तरीय चित्रकला प्रतियोगिता सोमबार सकिएको छ । पोखरामा हुने ७ औँ अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवको पूर्वसन्ध्यामा नेपाल पर्वतारोहण संघ र पर्वतीय संग्रहालय प्रतियोगिता आयोजना गरेका हुन् । प्रतियोगितामा ३६ विद्यालयले सहभागिताको लागि निवेदन दिएका थिए । जसमध्ये ३३ विद्यालय प्रतियोगितामा सहभागी भएको महोत्सव मूल आयोजक समितिले जानकारी दिएको छ । प्रतियोगितामा पोखराका विभिन्न विद्यालयमा ८ देखि १० कक्षासम्म अध्ययनरत विद्यार्थी सहभागी गराइएको थियो । संग्रहालयकी निर्देशक तथा महोत्सव मूल आयोजक समिति सदस्य सचिव निर्मला न्यौपानेका अनुसार प्रतियोगिताको नतीजा महोत्सव उद्घाटनको दिन २४ गते सार्वजनिक गरिने छ । प्रतियोगितामा सहभागी भएका प्रथम, द्वितीय, तृतीय भएका विद्यार्थीलाई उद्घाटनको दिन प्रमुख अतिथिबाट पुरस्कार वितरण गरिने छ । प्रतियोगितामा विद्यार्थीको लागि सान्त्वना पुरस्कार पनि राखिएको छ । प्रतियोगिताको निर्णायक मण्डलमा मनोज तामाङ, शान्तकुमार श्रेष्ठ र हरेराम जोजिजु छन् । प्रतियोगितामा पर्यटन परिषद्का सञ्जयकान्त सिग्देल पनि सहभागी थिए । डिसेम्बर ११ लाई अन्तराष्ट्रिय पर्वतीय दिवसको रुपमा मनाउन थालेपछि पर्वतारोहण संघले हरेक वर्षदेखि पोखरा अन्तराष्ट्रि पर्वतीय संग्रहालयमा महोत्सव आयोजना गर्दै आएको छ । मंसिर २४ र २५ गते हुने ७ औं महोत्सवमा पर्वतीय वातारण, जैविक विविधता, प्राकृतिक स्रोत लगायतका विषयमा जोड दिएको छ । ‘वुमन मुभ माउन्टेन’को नारासहित मनाउन लागिएको महोत्सवमा यसवर्ष पनि विभिन्न कार्यक्रम र प्रतियोगिता राखिएको छ । महोत्सवमा हिमाली क्षेत्रमा हुने खेललाई प्राथमिकतामा राख्दै धनुषवाण (आर्चरी), छेलो लगायतका खेल कार्यक्रम पनि राखिएको छ । यो बाहेक महोत्सवमा सडक दौड, साइक्लिङ प्रतियोगिता पनि छ । यस्तै महोत्सवमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको सहकार्यमा सगरमाथा आधार शिविर व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रमको पनि आयोजना भएको छ ।
पोखरा: गायक नविन गुरुङको म्युजिक भिडियो ‘नुबई दरबार’ सार्वजनिक भएको छ । गुरुङ भाषामा रचना गरिएको नुबई दरबार मंगलवार साँझ ‘गुरुङ स्टुडियो’ नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । नविन गुरुङ कै शब्द रचना रहेको गीतमा गायिका उषा गुरुङले साथ दिएकी छिन् भने धन बहादुर गुरुङले संगीतबद्ध गरेका छन् । म्युजिक भिडियो गुरुङ समुदायमा प्रचलित रोधीं संस्कृतिको दृस्टीगत गर्दै निर्माण भएको गुरुङले बताए । ‘लोप हुदैँ गएको गुरुङ भाषा, संस्कार, संस्कृति बचाउने अनि रोधींमा नाचिने थियटर गीतलाई पुनर्जीवित तुल्याउने हेतुले भिडियो निर्माण गरेका हौँ’ उनले भने, ‘यस अभियानमा हामीलाई देश विदेशमा रहेका गुरुङ समुदाय विभिन्न व्यक्तित्वहरुले साथ दिनु भएको छ । उहाँहरुप्रति आभारी छु।’ भिडियोमा गुरुङ सिनेमाका नायक ओम प्रकाश गुरुङ, दल बहादुर गुरुङ, विपना गुरुङ र मोनिका गुरुङको अभिनय रहेको छ भने विपना गुरुङले नृत्य निर्देशन गरेकी छिन् । तमु धिं नेपालको प्राङ्गणमा छायांकन गरिएको म्युजिक भिडियो सन्दिप तिवारीले निर्देशन गरेका छन् । त्यस्तै छायांकन र सम्पादन पनि तिवारी कै रहेको छ भने अर्जुन बास्तोलाले क्यामरामा सघाएका छन् । VIDEO LINK: https://www.youtube.com/watch?v=7AvjF67cQxw&t;=118s
पोखराः पोखरा महानगरपालिका ४ चिप्लेढुङ्गास्थित रुपाहिल दोहोरी साँझमा आज देखि ‘टुबोर्ग विशेष सांगीतिक साँझ’ आजदेखि सुरु हुने भएको छ । आज देखि सुरु हुने ‘टुबोर्ग विशेष सांगीतिक साँझ’ मंसिर २२ गतेसम्म सञ्चालन हुने रुपाहिल दोहोरी साँझका सञ्चालक अमृत गुरुङले जानकारी दिए । सञ्चालक गुरुङका अनुसारमा ‘टुबोर्ग विशेष सांगीतिक साँझ’मा राष्ट्रिय कलाकार रामजी खाँड, प्रिती आले, दोहोरी गायक श्याम राना, जालुमाया गुरुङ, भिमु गुरुङसँगै दोहोरी साँझका नियमित कलाकारहरुको विशेष सांगीतिक कार्यक्रम हुनेछ । ‘लोकसंगीतलाई जगेर्ना गर्ने उद्धेश्य सहित व्यवसायलाई निरन्तरता दिन दोहोरी साँझमा राष्ट्रिय कलाकारहरुलाई भित्राइरहेका छौै ।, उनले भने, ‘देशमा नै रोजगारी सिर्जना गर्दै ३५ देखि ४० जना दोहोरीमा नै रोजगार दिन सफल भएका छौं ’
पोखराः गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दु कुमार थापाले नीजि क्षेत्रलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताएका छन् । पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेका समृद्धि स्टिल्स् राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ को उत्घाटन समारोहलाई सम्बोधन गर्दै बोल्दै मन्त्री थापाले यस्तो अभिव्यक्ति दिएका हुन् । मन्त्री थापाले गण्डकी प्रदेशलाई देशकै उत्कृष्ट प्रदेश बनाउन नीजि क्षेत्रका उद्योग व्यवसायीहरुलाई प्रोत्साहन गर्नुपर्ने धारणा राखे । ‘अहिले युवाहरु दैनिक रुपमा रोजगारका लागि विदेशीएका छन्, उनले भने, ‘समृद्ध प्रदेश, युवा स्वरोजगार कार्यक्रमलाई अगाडी बढाउन नीजि क्षेत्रलाई अगाडी बढाउनु आजको आवश्यकता हो ।’ मन्त्री थापाले पोखरा उद्योग वाणिज्य संघलाई चारैतिरबाट चुनौती थपिदै गएकाले मेला महोत्सवलाई परिवर्तन गरेर सञ्चालन गर्न सझाव दिए । ‘व्यापार व्यवसायलाई लक्षित गरेर सञ्चालन गर्ने मेला महोत्सवमा चुनौती थपिदै गएको छ । मेला महोत्सव अन्य संघ–संस्थाहरुले गर्दै आएका छन् । अब यसलाई परिमार्जन गर्दै उद्योग वाणिज्य संघले प्रविधियुक्त हिसाबमा कार्यक्रम सञ्चालन गर्नुपर्छ ।’ उनले भने । यसैगरि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगर र नीजि क्षेत्र मिलेर समृद्ध पोखराको यात्रामा जुट्नुपर्ने बताए । ‘पोखराको मात्र नभएर समग्र कास्कीको विकासको लागि निजि क्षेत्रसँगको साझेदारी अनिवार्य छ । त्यसैले निजि क्षेत्र र महानगरको समन्वय हुन आवश्यक छ ।’ उनले भने । प्रमुख आचार्यले पोखरा अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालनको पूर्वसर्त ल्याण्डफिल्ड साइट रहेको बताउदै ल्याण्डफिल्ड साइट स्थानान्तरणका लागि नीजि क्षेत्र, राजनीतिक दल, स्थानीयले समन्वय गर्न आग्रह गरे । ‘पुष १७ ( जनवरी १ तारिख) देखि विमानस्थल सञ्चालन गर्ने तयारी छ, उनले भने, ‘विमानस्थल सञ्चालन गर्न प्रयोग गरिरहको ल्याण्डफिल्ड साइट बन्द गर्दै छौं । २० गते देखि फोहोरलाई वर्गिकरण गरेर उठाउने तयारी हुदैछ । फोहोर कहाँ फाल्ने अहिले नै घोषणा गरेका छैनौ । त्यसैले ल्याण्डफिल्ड साइट स्थानान्तरण गर्न नीजि क्षेत्र, राजनीतिक दल र स्थानीयको समन्वय हुन आवश्यक छ ।’ यसैगरि आजदेखि सुरु भएको समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला मंसिर २५ गतेसम्म सञ्चालन हुने पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले जानकारी दिए । उनका अनुसार मेलामा २५० व्यापारिक स्थलहरु निर्माण गरिएको छ । साथै रमाइलो मेला, बालउद्यान मेलादेखि राष्ट्रिय कलकारहरुको सांगितीक कार्यक्रमलाई समावेश गरिएको छ । कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघको पूर्व अध्यक्ष, आनन्दराज मुल्मी, नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष संजिव कोइराला लगायतले बोलेका थिए ।

