गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् ।   २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

काठमाडौं: नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सङ्क्रमणकालीन न्यायको मान्यता अनुरुप यो सत्य निरुपण मेलमिलाप आयोगमार्फत  समाधान गर्ने विषय भएको बताउनुभएको छ ।   मङ्गलबार बालुवाटारमा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले अहिले सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयमा जे जस्ता बहस उठेको र छलफल चलिरहेको सन्दर्भमा यसको क्षेत्राधिकार भनेको सङ्क्रमणकालीन न्यायको मान्यता अनुसार सत्य निरुपण मेलमिलाप आयोगमार्फत समाधान गर्नुपर्ने बताउनुभएको हो ।   महासचिव गुरुङले भन्नुभयो, “अहिले सङ्क्रमणकालीन न्याय  सम्बन्धितको विषयमा जे जस्ता बहस उठिरहेका छन्, छलफल चलिरहेका छन् । यसको क्षेत्राधिकार भनेको सङ्क्रमणकालीन न्यायको मान्यता अनुसार सत्य निरुपण मेलमिलाप आयोगमार्फत नै समाधान गर्ने विषय हो । यो विषायन्तर कसैले पनि गर्नुहुँदैन र क्षेत्राधिकारको अन्तर पनि कसैले पनि गरिनुहुँदैन ।”   उहाँले यस विषयमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ सहित माओवादीका अन्य घटक दलहरुसँग पनि छलफल भएको बताउनुभयो । “साथ साथै माओवादी आन्दोलनको सन्दर्भमा दीर्घकालीन रुपमा कसरी जान सकिन्छ भन्ने विषय पनि थियो । मुख्यतः दुइवटा विषयसँग बढी नै सम्बन्धित थियो”, मङ्गलबार बिहान बालुवाटार बैठकमा पनि यी दुई मुख्य विषयमा छलफल भएको उहाँको भनाइ छ ।   राज्यको प्रचलित कानुन अनुसार पनि सङ्क्रमणकालीन न्याय बृहत् शान्ति सम्झौता अन्तर्गत केन्द्रित गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेको प्रचलित कानुनले, राज्यको बृहत् शान्ति सम्झौता र प्रचलित कानुनले चाहिँ सत्य निरुपण मेलमिलाप आयोग अथवा सङ्क्रमणकालीन न्यायको सिद्धान्त र मान्यताअन्तर्गत केन्द्रित गरेको छ । यस कारणले गर्दा ती निकायमा छिटोभन्दा छिटो संयन्त्र परिपूर्ति गरेर त्यसमार्फत नै सबै समस्या सम्बन्धित प्रक्रियाका बाँकी समस्या छिटोभन्दा छिटो हल गरिनुपर्छ ।”

ताप्लेजुङ:  आफू जन्मे–हुर्केको गाउँको माया सबैलाई हुन्छ । त्यही भूगोलसँग बलियो भावनात्मक सम्बन्ध हुन्छ । जहाँ उनीहरूले परिचित र सान्त्वनाको महसुस गर्छन् । गृहनगरको प्रेम शक्तिशाली र स्थायी हुन्छ भन्ने कुरा आफ्नो जन्मिएको, हुर्किएको गाउँमा फर्किएकाहरूले प्रष्टै झल्काउँछन् । “आफू जन्मे–हुर्केको ठाउँको माया सबैलाई लाग्छ, मलाई पनि त्यो मायाले तानेर बेला–बेलामा जन्मेहुर्केको आफ्नो गाउँमा ल्याउँछ”, गृहजिल्ला ताप्लेजुङ आउनुभएका डा सन्दुक रुइतले भने ।    जन्मगाउँ ओलाङ्चुङगोला प्रस्थान गर्नुअघि फक्ताङलुङ गाउँपालिकाको तापेथोकमा आयोजित आँखा शिविरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै जन्मभूमिप्रति आफ्नो छुट्टै दायित्वसमेत रहेको बताए । सानो छँदै मनभरि गाउँको माया र सम्झनाको भारी बोकेर उज्यालो भविष्यका लागि गाउँ छाडेका डा रुइत जिम्मेवारी र दायित्वका भारी बोकेर यतिबेला गृहजिल्ला आइपुगेका हुन् । आँखारोग विशेषज्ञ भएपछि विभिन्न समयमा यहाँ आउनुभएका डा रुइत हालै विश्व प्रतिष्ठित ‘इशा अवार्ड’ प्राप्त गरेपछि पहिलोपटक सोमबार आफ्नो जन्मथलो ओलाङचुङगोलामा पुगेका छन् । उनी लेलेपको इलाडाँडाबाट पैदल हिँडेरै आफ्नो गाउँमा पुगेका हुन् ।   हजारौँको आँखामा ज्योति दिएका डा रुइतलाई राज्यको नजर आफ्नो जिल्लाको भिरपाखा, दूरदराजका गाउँमा नपुग्दा भने दुःख लागेको छ । सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा उनले भने, “सुदूरपूर्वी यस क्षेत्रका नागरिकलाई धेरै दुःख छ, यो ठाउँमा राज्यको पनि आँखा पुगेको छैन, विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल, तमोर काबेलीजस्ता नदीनाला, प्रसिद्ध तीर्थस्थल पाथीभरा, करिब चार सय वर्ष पुरानो दिकिछ्योलिङ गुम्बा रहेको यो जिल्ला जैविक विविधताले भरिपूर्ण छ, यसको प्रवद्र्धन हुनुपर्छ, नागरिकको जीवनस्तर उकास्नुपर्छ ।”   यहाँका नागरिकमा उसबेला देखिएको कठिनाइ आज पनि झण्डै उस्तै देखिएको भन्दै उनीहरूको जीवनस्तरलाई कसरी उकास्न सकिन्छ भन्ने आफूलाई चिन्ता भएको उनले भनाइ थियो । हरेक हिसाबले सम्भावना बोकेको जिल्ला भएकाले यहाँको विकास र समृद्धिका लागि सबै जना मिलेर अघि बढ्नुपर्ने आवश्यकतामा उनले जोड दिए । ओलाङचुङगोलाप्रति मात्रै नभई समग्र जिल्लाप्रति नै आफ्नो केही दायित्व भएकाले भित्रैबाट केही गरौँ–गरौँ लाग्ने उनले भनाइ थियो ।   यस्तै संसारभरका पर्यटकको मुख्य आकर्षण र गन्तव्यका रूपमा यस जिल्लालाई चिनाउने र विकसित गर्ने आफ्नो इच्छा रहेको समेत बताए । यसले यहाँको आर्थिक गतिविधि बढ्नुका साथै नागरिकहरू गुणस्तरीय स्वास्थ्य, शिक्षाको पहुँचमा पुग्ने र आत्मनिर्भर हुने बाटो खुल्ने उनले भनाइ छ । यसका लागि पर्यटन र अन्तरदेशीय व्यापार प्रवद्र्धनका लागि मुख्यरूपमा तमोर करिडोरको चाँडो निर्माण सम्पन्न हुनुपर्ने उनले प्रष्ट पारे । यस सडक संरचना छिटो सम्पन्न भएमा टिपताला नाका हुँदै आयात–निर्यात हुने र यसले यहाँका जनतालाई फाइदा पुग्ने उनले बताए । तमोर करिडोर ओलाङचुङगोलासँग जोडिन करिब तीन किलोमिटर बाँकी रहेको छ । उता टिपतालाबाट ओलाङचुङगोला बस्ती तीन वर्षअघि नै सडक सञ्जालले जोडिएको छ ।    कुनै समय उत्तरी चीनसँगका विभिन्न नाकाहरूलाई तिब्बतसँग जोडिएको टिपताला नाकाले लिड गर्ने गरेको तर हाल बन्द अवस्थामा रहेको सुनाउँदै उनले यसलाई खोल्न सरकारले कूटनीतिकरूपमा पहल गर्नुपर्ने बताए । निर्माणाधीन तमोर करिडोरले छिमेकी मुलुक चीन र भारतलाई सबैभन्दा छोटो मार्गबाट जोड्ने भएकाले सडक पूर्वाधारको निर्माण चाँडो सम्पन्न गरेर टिपताला नाका सञ्चालनमा ल्याउन आवश्यक भएको बताए । छिमेकी मुलुक चीनसँग व्यापारिक सम्बन्ध राखेर मुलुक र जनताको आर्थिक समृद्धिका लागि सरकारले कूटनीतिक पहलकदमी चाल्नुपर्ने उनले भनाइ छ ।    टिपताला नाका हाल बन्द रहेको छ । कोभिड सङ्क्रमणकालमा चीनले बन्द गराएको नाका हालसम्म नखुल्दा सीमावर्ती क्षेत्रका नागरिकलाई समस्या छ । झण्डै तीन वर्षदेखि नाका बन्द रहँदा टिपताला नाका हुँदै आयात–निर्यात पनि ठप्प छ । सीमावर्ती गाउँ ओलाङ्चुङगोला, घुन्सा, याङ्माका बासिन्दाले तिब्बतबाट खाद्यान्नलगायतका सामान आयात गर्ने गर्थे भने यहाँ उत्पादित गलैँचा, घ्यू, छुर्पी र जडीबुटी निर्यात गर्थे ।    सपनाझैँ लाग्छन् गाउँघरका पहाड र विगत   सात वर्षको हुँदा उनका बुवाले डा सन्दुकलाई पढाउन १५ दिन लगाएर दार्जिलिङ पुर्‍याएका । उनलाई त्यो बेला लेलेप, तापेथोक, मित्लुङ, ताप्लेजुङ बजार, पाँचथर हुँदै दार्जिलिङ जाँदाको क्षण अलिअलि याद छ । बाटोमा हिँड्दै गर्दा उनका बुवाले माथि–माथिका डाँडा हेर्दै विभिन्न नाम लिएर देखाएका गाउँ सम्झिँदा मनमनै सपनामा बसेका ठाउँहरूजस्तो लाग्ने उनले सुनाए ।   आँखा शिविरमा आँखा जाँच गराउन तापेथोकमा आएकाहरूलाई घर गाउँ सोधीसोधी जाँच गरिरहेको देखिन्थ्यो । “आँखा उपचारमा आएकाले आफ्नो गाउँको नाम सुनाउँदा सानैमा आफ्ना बुवाले सुनाएको गाउँको नाम याद आयो, पहिले ती ठाउँहरू विकट थिए, मुस्किलले हिँड्नपथ्र्यो, अहिले केही ठाउँमा गाडी गुड्ने सडक पुगेको छ, कतिपय बिरामी मुस्किलले हिँडेर टाढा–टाढाबाट आउनुभएको पाएँ”, डा रुइतले भने ।   उसबेला गाउँमा जाने पैदल बाटो पनि त्यति सहज थिएन । गाउँमा बिजुली, टेलिफोन कुरै भएन । याक, चौँरीपालन, जडीबुटी सङ्कलन मुख्य पेसा थियो । गोलावासीले तिब्बतमा आफ्ना उत्पादन बेचेर नुन, तेल र खाद्यान्नलगायत अन्य सामान ल्याउने गर्थे । त्यो बेला यहाँका नागरिकको दुःख सम्झिँदा गाउँमा अझै पनि त्यति सहज र सुविधा नहोला भन्ने उनलाई लाग्ने गरेको छ । त्यसैले पनि आफू जहाँ पुगे पनि आफ्नो गाउँघर, आफन्त र यहाँका बासिन्दाको सम्झना उनलाई आइरहन्छ ।    गाउँका अग्ला पहाड र भिरपाखामा बसोबास गरिरहेका नागरिकको दुःखमा राज्यको नजर पुगोस् भन्ने उनलाई लाग्छ । अझै पनि यहाँका दूरदराजका गाउँका नागरिक गुणस्तरीय शिक्षा स्वास्थ्यको पहुँचमा छैनन् । राम्रो पठनपाठन, स्वास्थ्योपचारका लागि कम्तीमा सदरमुकाम फुङलिङसम्म नै आउनुपर्छ । ओलाङचुङगोला, याङ्मा, घुन्साजस्ता गाउँबाट दुई–तीन दिनको समय लगाएर सदरमुकाम आउनुपर्छ ।    डा रुइत जन्मे–हुर्केको गाउँ ओलाङचुङगोला पुग्न सदरमुकाम फुङलिङबाट अहिले दुई दिनको समय लाग्छ । यहाँबाट १५ दिनको समय लगाएर सात वर्षको उमेरमा पढाइका लागि दार्जिलिङ पुगेर शिक्षा आर्जन सुरु गर्नुभएका डा रुइतले विस्तारै आफूलाई चिकित्सा विज्ञानमा समर्पित गर्नुभयो । विभिन्न ठाउँमा अध्ययन र सेवासँगै पछिल्लोपटक अष्ट्रेलियामा रहेर एक वर्षको अध्ययनपछि नेपाल फर्किएर काठमाडौँमा आँखा चिकित्सालयको स्थापना गरे । उनी अहिले तिलगङ्गा आँखा प्रतिष्ठानको संस्थापक एवं नेत्ररोग विशेषज्ञका रूपमा विश्वभर परिचित छन् ।    उनलाई विश्वका गरिबहरूका लागि आँखाका देवताका रूपमा लिने गर्दछन् । उनले एक लाखभन्दा बढी मानिसको आँखाको ज्योति पुनःस्थापित गरेको बताइन्छ । विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय पुरस्कारबाट पुरस्कृत उनी पछिल्लोपटक प्रतिष्ठित इशा अवार्डबाट सम्मानित भएका छन् । झण्डै तीन दशकदेखि मानवताका लागि सेवा गरेवापत बहराइन सरकारका तर्फबाट राजा हमादबिन इसा अल खालिफाले सो पुरस्कार प्रदान गरेका थिए ।    यसैबीच सोमबार गाउँमा पुग्दा उनलाई आफ्नो भूगोल र समुदायको शिर उच्च राखेकामा खुसी व्यक्त गर्दै आफन्त तथा गाउँलेले भव्य स्वागत गरेका छन् । विश्वमाझ आफ्नो छुट्टै पहिचान बनाउनुभएका डा रुइतलाई लामो समयपछि जन्मेको गाउँमा पुग्दा जति खुसी र उत्साह थियो उति नै आफन्तलाई पनि । उनलाई स्वागत गर्न गाउँभरका आफन्त एकै ठाउँमा जम्मा भएका थिए ।    तिलगङ्गा आँखा प्रतिष्ठान र फक्ताङ्लुङ गाउँपालिकाको आयोजनामा फक्ताङ्लुङ गाउँपालिकामा सञ्चालित शिविर सम्पन्नपछि उनी आफ्नो गाउँमा पुगेका हुन् । शिविरमा उनले आफ्ना गाउँठाउँका ७० जना मोतियाबिन्दुको समस्यामा परेका बिरामीको शल्यक्रिया गरेका छन् ।    गाउँमा फर्किएर ज्योति दिएकामा उनीप्रति गाउँलेले खुसी व्यक्त गरे । यस्तै शिविरमा दुई हजार चार सय बढीले आँखाको जाँच तथा उपचार सेवा लिएका थिए । चार जनाको भने जटिल समस्या देखिएकाले तिलगङ्गा आँखा अस्पतालमा उपचारका लागि सिफारिस गरिएको बताइएको छ । बिरामीलाई शल्यक्रिया गरिने स्थान तापेथोकसम्म आउन–जान गाडीको व्यवस्था गाउँपालिकाले मिलाएको थियो ।    आफ्नै गाउँठाउँमा जन्मे–हुर्केको छोराकै हातबाट उपचार गर्न पाउँदा स्थानीयवासी हर्षित देखिन्छन् । दूरदराजका गाउँमा निःशुल्क नेत्र शिविर सञ्चालन हुँदा यहाँका धेरै नागरिकले आँखा देख्न पाउँदा नयाँ जीवन पाएको बताएका छन् । 

काठमाडौँ:  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्चमा दायर गरिएको रिट दर्ता भएको छ । मुद्दाको फागुन २५ गतेलाई पेसी तोकिएका सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।  अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकी लगायतले प्रचण्डविरुद्ध रिट हालेका थिए ।   २०७६ माघ १ मा माघीको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्दकालमा मारिएका ५ हजारको जिम्मा मात्र आफूले लिएर अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्ति विरुद्ध फौजदारी अभियोगमा छानबिन र कारबाही हुनुपर्ने आदेशको माग गरिएको छ ।   सर्वोच्च प्रसाशनले यसअघि दरपिठ (दर्ता नहुने) आदेश गरेको थियो । सो निर्णय विरुद्ध रिट निवेदकले पुनः सर्वोच्चमा निवेदन दिएका थिए । निवेदनमा अधिवक्ता कीर्तिनाथ शर्मा पौडेल लगायतका कानुन व्यवसायीले बहस गरेका थिए । सर्वोच्च प्रशासनको आदेशविरुद्धको निवेदनमा सुनुवाई गर्दै न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र हरि फुयाँलले निवेदन दर्ता गर्न आदेश गरेका हुन् ।     प्रचण्डको अभिव्यक्तिलाई लिएर सशस्त्र द्वन्दका पीडित पक्षले उनीमाथि कारबाहीको माग गरेर प्रहरी प्रधान कार्यालय र राष्ट्रिय मानव अधिकार आयोग लगायतमा उजुरी दिएका थिए । तर, सो उजुरीउपर प्रक्रिया अघि नबढेको भन्दै उनीहरू सर्वोच्चमा पुगेका हुन् । सार्वजनिक रूपमा नै जिम्मेवारी लिएपछि प्रचण्डको अभिव्यक्ति छानबिनको माग गरिएको छ । 

काठमाडौँ: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले मुद्दा दायर गर्न दिनु आफूलाई मात्रै प्रहार नभएर सिङ्गो माओवादी आन्दोलनमाथि नै प्रहार भएको टिप्पणी गरेका छन् । माओवादी धाराका ८ दलको बैठकमा प्रचण्डले सङ्क्रमणकालीन मुद्दालाई साझा एजेन्डा बनाएर जानुपर्ने बताए ।   माओवादी धाराका सबै नेताहरूले सङ्क्रमणकालीन मुद्दालाई साझा एजेन्डा बनाएर जाने निर्णय भएको नेकपा बहुमतका प्रवक्ता हेमन्तप्रकाश ओलीले बताए । ‘आठ पार्टीहरू छलफल भयो । सङ्क्रमणकालीनमुद्दाहरु साझा विषय बनाएर जाने विषयमा समझदारी भयो । सबैको जोड सङ्क्रमणकालीन न्यायका काम छिटो टंगो लगाउनु पर्छ भन्ने भयो’ रातोपाटीसँग कुरा गर्दै ओलीले भने, ‘सङ्क्रमणकालीन न्यायकाविरुद्ध जाने विषय सह्य हुने छैन । त्यसका विरुद्ध एक जुट भएर प्रतिवाद गर्ने छौँ । '   अहिले नै माओवादी धाराहरू एकता गरेर जाने अवस्था भने नरहेको प्रचण्डले बताएका छन् । ‘अहिले नै एकता गरेर जाने विषयमा कुरा नगरौँ । सयुक्त मोर्चा कार्यगत एकता गरेर जानुपर्छ’ प्रचण्डको भनाई उदृढ गर्दै ओलीले भने । प्रधानमन्त्री प्रचण्डले सङ्क्रमणकालीन न्यायलाई तत्काल टुङ्गो लगाएर जान सबैले सहयोग गर्नुपर्ने बताएको ओलीले बताए ।

काठमाडौँ:  माओवादी धारका नेताहरूको संयुक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।    माओवादी (केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सहित नेकपा क्रान्तिकारी माओवादीका सीपी गजुरेल, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा माओवादीका खड्गबहादुर विश्वकर्मा, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल (आहुति), नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्ण जित बुढाथोकी लगायत सहभागी हुनुहुन्छ ।   भेलाले समसामयिक राजनीतिक घटना क्रम बारे छलफल गर्ने बुझिएको छ । 

पोखरा:  नेपाल ट्रेड युनियन काँग्रेसको ७७ औं स्थापना दिवसका अवसरमा नेपाल ट्रेड युनियन काँग्रेस कास्कीद्वारा आज पोखरामा आयोजित कार्यक्रममा श्रमिक वर्गले भोग्दै आएका समस्याको दीर्घकालीन समाधान हुनुपर्नेमा जोड दिइएको छ । नेपालका परिवर्तनका आन्दोलनमा श्रमिक वर्गले अतुलनीय योगदान गरे पनि उनीहरूका समस्या समाधानलाई प्राथमिकतामा नराखिएको बताउँदै वक्ताहरूले उनीहरूका सामाजिक सुरक्षाका विषयलाई निष्कर्षमा पु¥याउनुपर्ने बताए । नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले संघर्ष स्वरुप प्राप्त परिवर्तनलाई व्यवस्थापन गर्न समय समयमा चुक्दा समस्या आउने गरेको बताउनुभयो । हामीसँग पर्याप्त प्राकृतिक सम्पदा रहेपनि उपयोग हुन नसकेको वास्तविकतामा क्षमतालाई भरपुर उपयोग हुने वातावरण सिर्जना हुनुपर्नेमा जोड दिनुभयो । श्रमिक क्षेत्रका समस्याको समाधानका लागि काँग्रेस प्रतिवद्ध भएको बताउँदै उहाँले सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय उपमहासचिव राजेश पालिखेले श्रमिक वर्गले भोग्दै आएका सामाजिक सुरक्षा लगायत समस्याको दीर्घकालीन समाधानका लागि नीतिगत व्यवस्थासँगै कानुनहरूको कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । नेपाली काँग्रेस कास्कीका शुभेच्छुक संस्था संस्था संयोजक गंगाधर पराजुलीले नेपालका सबै किसिमका आन्दोलनमा दलहरूले मजदुर बर्गलाई प्रयोग गर्दै आए पनि उनीहरूका समस्या समाधानलाई प्राथमिकतामा नराखेको बताउनुभयो । कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय सदस्य जीतबहादुर गुरुङ, निवर्तमान कास्की जिल्ला अध्यक्ष कुलदेवी बराल, उपाध्यक्ष कमलबहादुर सापकोटा, सचिव रुद्र तिमल्सिना लगायतले मजदुरका समस्यालाई दीर्घकालीन समाधान गर्ने तर्फ लाग्नु जरुरी रहेको बताउनुभयो ।   

दमौली: तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ३४ प्रतिशत पुगेको छ ।   तीन चरणमा काम भइरहेको आयोजनाको हालसम्म ३१ दशमलव ८२ प्रतिशत वित्तीय प्रगति हासिल गरेको आयोजनाको प्रवर्द्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिनुभयो ।   श्रेष्ठका अनुसार यस अवधिमा रु १३ अर्ब ७५ करोड ६७ लाख ५० हजार खर्च भएको छ । केही दिन अगाडि मात्रै आयोजनाको प्रवेश सुरुङको ‘ब्रेक थ्रु’ भएको थियो । सेती नदीको बायाँ किनारतर्फबाट प्रस्तावित बाँधको माथिल्लो भागतर्फ जाने चार सय ३६ मिटर लम्बाइ र सात मिटर चौडाइको प्रवेश सुरुङमा ‘ब्रेक थ्रु’ भएको हो ।   आयोजना निर्माण सम्पन्न भएपछि व्यास नगरपालिका–५ बेतेनी हुँदै बाँधतर्फ जान यही सुरुङ प्रयोग गर्न सकिनेछ । प्रवेश सुरुङ ‘ब्रेक थ्रु’ भएपछि सेती नदीको बायाँतर्फबाट हुने निर्माणका लागि आवश्यक सामग्री तथा उपकरण लैजान र आवतजावत गर्न सहज भएको बताइएको छ ।   आयोजनाको पहिलो चरणअन्तर्गत प्रवेश सुरुङ निर्माण गर्न विसं २०७८ फागुन २८ मा पहिलो विस्फोट गराइएको थियो । सुरुङ निर्माणका लागि आवश्यक विस्फोटक पदार्थको अभावका कारण करिब ४८ दिन काम रोकिएको थियो । सुरुङ निर्माणका लागि अन्तिम विस्फोट मङ्गलबार गरिएको हो ।   आयोजनाको चरण–१ अन्तर्गत हेडवक्र्स निर्माणका लागि सोङ दा कर्पोरेसन, भियतनाथ कालिका कन्स्ट्रक्सन प्रालि, नेपाल जेभीसँग विसं २०७७ चैत ९ गते रु २१ अर्ब ६६ करोड ४० लाख ४१ हजार आठ सय ७८ मा खरिद सम्झौता भएको थियो ।   यो चरणअन्तर्गत मुख्य बाँध निर्माणका लागि नदी फर्काउन आवश्यक पर्ने डाइभर्सन सुरुङ १ र २ को निर्माण जारी रहेको आयोजनाले जनाएको छ । दुवै डाइभर्सन सुरुङको इनलेट र आउटलेटबाट खन्ने काम भइरहेको प्रबन्ध सञ्चालक श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “डाइभर्सन सुरुङ–१ अन्तर्गत हाल इनलेट र आउलेट दुवैतर्फबाट सुरुङ खन्ने कार्य भइरहेको छ भने मङ्सिर मसान्तसम्म ३४१ मिटर खन्ने काम सकिएको थियो ।”   डाइभर्सन सुरुङ–२ को इनलेट र आउटलेटको निर्माण भइरहेको र यस सुरुङको लम्बाइ ६२९ मिटर रहेकामा मङ्सिर मसान्तसम्म ३६० मिटर खन्ने काम सकिएको छ । बाँधको माथिल्लो भागको स्लोपअन्तर्गत हालसम्म इलिभेसन तह पाँच सय ४४ मिटरबाट चार सय ८० मिटरसम्म खन्ने काम सम्पन्न भइसकेको छ ।   यसैगरी, बाँधको दायाँ किनारातर्फबाट माथिल्लो भागको स्लोप खन्नका लागि पहुँच सडक निर्माण सुरु गरिएकामा वर्षाका कारण प्रभावित भएको थियो । हालसम्म इलिभेसन तह चार सय ७० मिटरसम्म खन्ने काम सकिएको आयोजनाले जनाएको छ ।   चरण–१ अन्तर्गतको काम विसं २०८३ जेठ १७ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हालसम्म रु दुई अर्ब २३ करोड ६८ लाख ४३ हजार खर्च भई समग्र भौतिक र वित्तीय प्रगति क्रमशः १२ दशमलव ६८ र ११ दशमलव ६७ प्रतिशत रहेको आयोजनाले जनाएको छ । आयोजनाको चरण–२ को निर्माणका लागि सिनो हाइड्रो कर्पोरेसनसँग विसं २०७५ असोज १५ गते युएस डलर एक अर्ब १४ करोड एक लाख ८८ हजार नौ सय ५८ अर्थात् रु तीन अर्ब ८३ करोड १३ लाख ६० हजार तीन सय ६१ मा खरिद सम्झौता भएको थियो ।   खरिद सम्झौता बमोजिम निर्माण सुरु गर्न कार्यादेश जारी गरेपश्चात् सिनोले विसं २०७५ माघ ६ गतेबाट आयोजनास्थलमा परिचालित भई निर्माण जारी राखेको छ । यो चरणअन्तर्गत ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाइ भएको भूमिगत विद्युत्गृह खन्ने काम विसं २०७९ असार १० गते सम्पन्न भएको आयोजनाले जनाएको छ । यसका अतिरिक्त मुख्य पहुँच सुरुङ, केबल सुरुङ र सेती नदीको दायाँतर्फबाट बाँधस्थलतिर जाने तथा सर्ज ट्याङ्कतर्फको पहुँच सुरुङ निर्माण सम्पन्न भएको प्रबन्ध सञ्चालक श्रेष्ठले बताउनुभयो ।   आयोजनाको एक हजार चार सय ५६ दशमलव नौ मिटर लामो मुख्य सुरुङ विसं २०७८ कात्तिकदेखि खन्न सुरु गरिएकामा मङ्सिर मसान्तसम्म छ सय ८० मिटर काम सकिएको छ । “कमजोर भौगर्भिक अवस्थाका कारण मुख्य सुरुङ खन्ने काम प्रभावित भएको छ, यसका अतिरिक्त कमजोर भौगर्भिक अवस्थाका कारण सर्जट्याङ्कको निर्माण रोकिएको छ,” श्रेष्ठले भन्नुभयो । आयोजनाको दुई सय १० दशमलव नौ मिटर टेलरेस सुरुङ विसं २०७७ फागुन २९ गतेदेखि खन्न सुरु गरिएकामा उक्त काम सम्पन्न भइसकेको छ ।   हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिल कार्य अन्तर्गत पेनस्टक जडानका लागि खन्ने काम ६४ मिटर रहेकोमा सम्पूर्ण पेनस्टक खन्ने काम सकिएको छ । श्रेष्ठका अनुसार पेनस्टक आयात भई वर्कसपमा फ्रेविकेसनको कार्य भइरहेको छ । चरण तीनअन्तर्गत प्रसारण लाइन निर्माणका लागि ४८ टावरको जग हालिसकिएको आयोजनाले जनाएको छ । २६ टावर जडान कार्य सम्पन्न भएको र आठ स्थानमा टावर प्रोटेक्सन कार्य गरिएको छ ।   ३४ दशमलव सात किलोटिरम प्रसारण लाइनमा ९४ टावर राखिनेछ । प्रसारण लाइन निर्माण सन् २०२२ मेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएकोमा कोभिड–१९ को महामारी र वन क्षेत्रमा रुख कटानको स्वीकृति वन मन्त्रालयबाट प्राप्त हुन ढिलाइ हुँदा सम्झौताको म्याद सन् २०२४ डिसेम्बर १९ सम्म थप गरिएको छ । 

बागलुङ:  सरकारी तथा सामुदायिक क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको चहलपहल बढेको छ। विभिन्न पार्टीका भ्रातृ विद्यार्थी सङ्घ तथा सङ्गठनहरू स्ववियु चुनावमा होमिएका छन्।    आगामी चैत ५ गतेलाई निर्धारित स्ववियु निर्वाचनलाई लक्षित गरी धौलागिरि बहुमुखी क्याम्पस बागलुङमा १० वटा विद्यार्थी सङ्गठन दर्ता भएका छन्। स्ववियु निर्वाचन कार्यतालिकाअनुसार राजनीतिक दलसँग सम्बन्धित र स्वतन्त्र नामका विद्यार्थी सङ्गठन चुनावी प्रयोजनका लागि दर्ता भएका हुन्।    स्ववियु निर्वाचन संयोजक भक्तिप्रसाद न्यौपानेका अनुसार नेकपा (एमाले) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ), नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल विद्यार्थी सङ्घ (अखिल क्रान्तिकारी) दर्ता भएका छन्।    राष्ट्रिय जनमोर्चा निकट अनेरास्ववियु (छैटौँ), अनेरास्ववियु, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन, संयुक्त विद्यार्थी समूह, अखिल संयुक्त प्यानल, अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियु क्रान्तिकारी ‘विप्लव’ दर्ता भएको निर्वाचन संयोजक न्यौपानेले बताउनुभयो।    गत पुस २२ गते त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले आगामी चैत ५ गते स्ववियु निर्वाचनको घोषणा गरेपछि धौलागिरि क्याम्पसमा पनि चुनावी सरगर्मी सुरु भएको हो। निर्वाचनको मिति नजिकिँदै गर्दा क्याम्पसमा विद्यार्थी सङ्ठनको चुनावी चहलपहल बढेको छ।    निर्वाचनमा भाग लिएका विद्यार्थी    सङ्गठनहरूले क्याम्पसभित्र सङ्गठन विस्तार तथा विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गरी आआफ्नो सङ्गठनमा विद्यार्थीलाई आकर्षण गर्ने काम गरेका छन्।    चुनाव नजिकिँदै गर्दा राजनीतिक दलका केन्द्रदेखि जिल्ला तहका नेता, कार्यकर्ता, पूर्वस्ववियु सभापतिको क्याम्पसहरूमा उपस्थिति बाक्लो हुन थालेको धौलागिरि बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक डा. रामप्रसाद उपाध्यायले बताउनुभयो।    यस क्याम्पसमा स्ववियु निर्वाचनमा करिब एक हजार चार सय जना विद्यार्थीले भाग लिनेछन्। शुक्रबार साँझ ५ बजेसम्म स्नातकोत्तर तहको भर्ना बाँकी रहेको हुँदा विद्यार्थी सङ्ख्या यकिन नभएको क्याम्पस प्रमुख उपाध्यायको भनाइ छ।    निर्वाचन घोषणले आफूहरू उत्साहित भएको अनेरास्ववियु धौलागिरि बहुमुखी क्याम्पसका अध्यक्ष अनिल शर्माले बताउनुभयो। निर्वाचनका लागि आफ्नो सङ्गठन पूर्ण रूपले तयारी अवस्थामा रहेको अध्यक्ष शर्माले बताउनुभयो।    विद्यार्थी सङ्गठनहरूले निर्वाचनमा हुन सक्ने सम्भावित गठनबन्धनलाई पनि प्राथमिकतामा राखेका छन्। संयुक्त प्यानलको नाममा सङ्गठन दर्ता गरेको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य जीवन शर्माले बताउनुभयो।    धौलागिरि क्याम्पसका विगतका निर्वाचनका विशेष गरी अनेरास्ववियु र नेविसङ्घबीच मुख्य प्रतिस्पर्धा हुँदै आएको छ। “विद्यार्थीको हक अधिकार स्थापित गर्न निर्वाचन आवश्यक थियो,” उहाँले भन्नुभयो, “निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित ढङ्गले सम्पन्न गर्न हामी लागिपरेका छौँ।”   प्रत्येक दुईरदुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालयता नियमित हुन सकेको छैन। त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस छन्। बागलुङको धौलागिरि बहुमुखी क्याम्पस, गलकोट बहुमुखी क्याम्पस, सर्वाेदय बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन हुनेछ। 

काठमाडौं: नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पूर्वप्रधानमन्त्रीले आफ्नो क्षमता र सिपलाई देशको विकासका लागि खर्चिनुपर्ने बताएका छन्। पार्टी निकट नेपाल दलित मुक्ति संगठनको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा नेता नेपालले आफूले पूर्वप्रधानमन्त्रीको संगठन बनाएर काम गर्न सकिने योजना बनाएको बताएका छन्।    पूर्वप्रधानमन्त्रीको संगठनले ६ कुरामा फोकस गरेर काम गर्नुपर्ने आफ्नो सुझाव रहेको पनि उनले बताए। उनले भने, 'अनुभव प्राप्त गरेका देशका पूर्वप्रधानमन्त्रीहरू देशका सम्पत्ति हुन्। अनुभवका खानी पनि हुन्। उनीहरूको व्यक्तित्व पनि छ। मैले सम्झिएको थिए, यी पूर्वप्रधानमन्त्रीहरू ६ कुरामा फोकस भए सरकार र समाजलाई फाइदा हुने थियो।'   नेपालले पूर्वप्रधानमन्त्रीले देशको विकासका लागि काम गर्ने ६ एजेण्डामा आर्थिक विकास, सुशासन, छुवाछुत मुक्त अभियान तथा महिला हिंसा न्यूनीकरण, भ्रष्टाचार नियन्त्रण, देशको समृद्धि र असलग्न राष्ट्रका पक्षमा काम गर्ने छन्।    पूर्वप्रधानमन्त्री एक ठाउँमा भेला भएर यी कदम चाले सामाजिक रुपान्तरणमा टेवा पुग्ने उनको भनाइ छ।