काठमाडौं: नेकपा (एमाले)का तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बन्नुभएका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन आवश्यक रहेको बताउनुभएको छ । राज्य प्रमुखमा आफ्नो उम्मेदवारीका सन्दर्भमा पूर्वसभामुखले आफू निर्वाचित भएमा सडकमा निस्कदा जनताले जाम भोग्नु नपर्ने र उडानमा रहँदा आकाश अवरुद्ध नहुने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, “अघिल्ला अप्ठ्यारालाई अनुभवका रूपमा ग्रहण गर्दै जनभावना बुझेर साँच्चिकै जनताको राष्ट्रपति बन्ने मेरो प्रयास हुनेछ ।” संविधानसभाका अध्यक्ष नेम्वाङले अर्को प्रसङ्गमा विगतमा सभामुख र संविधानसभाको जिम्मेवारीमा रहँदै पटक–पटक निष्पक्ष र तटस्थताको परीक्षा उत्तीर्ण भइरहेको जिकिर गर्दै राष्ट्राध्यक्षको पद र गरिमाप्रति पनि आफू सचेत रहेको स्पष्ट गर्नुभयो । प्रस्तुत छ मुलुकको संसदीय अभ्यास र प्रक्रियामा अनुभवी र परिपक्व राजनीतिकर्मीको छवि बनाउनुभएका एमाले नेता नेम्वाङसँग राष्ट्रिय समाचार समिति (रासस)का उपप्रमुख समाचारदाता नारायणप्रसाद न्यौपाने र भीष्मराज ओझाले मुलुकको सर्वोच्च राजकीय पदको निर्वाचन, उम्मेदवारी र राष्ट्राध्यक्षको भूमिकालगायत विषयमा लिएको अन्तर्वार्ताको सम्पादित अंश : आगामी नयाँ राष्ट्रपतिको उम्मेदवार भइरहँदा मतदातासमक्ष यहाँ के–कस्ता कार्यसूची लिएर जाँदै हुनुहुन्छ ? मुलुकको संसदीय प्रक्रिया, आन्दोलन र लोकतान्त्रिक अभ्यासमा मैले जसरी काम गरेँ, जे भूमिका रह्यो, जनता र देशसमक्ष प्रस्ट छ । मनमोहन अधिकारी नेतृत्वको सरकारमा कानुन तथा संसदीय व्यवस्थामन्त्री, प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको सभापतिदेखि विसं २०६२/६३ को आन्दोलनपछि सर्वसम्मतिले सभामुख र संविधानसभाका अध्यक्ष चयन भई निर्वाह गरेको भूमिका अवगत नै छ । मैले सबै राजनीतिक दलको विश्वास जितेर त्यस ठाउँमा पुगेर निर्वाह गरेको भूमिकाले एक प्रकारले म परीक्षणमा समेत सफल भएको अतीत छ । यी सबै सन्दर्भलाई सामुन्नेमा राखेर मैले राष्ट्रपतिमा उम्मेदवारी दिएको छु । मेरो पार्टीले यसपटक मलाई राष्ट्रपतिको उम्मेदवारमा अघि सारेको छ । म सबै दल र सांसदसँग पुगेको छु । उहाँहरूसँगको भेटघाटबाट म अत्यन्त उत्साहित छु । एमालेभित्र अरू धेरै वरिष्ठ नेताहरू पनि हुनुहुन्छ, तर तपाईंलाई नै किन यस पदका लागि सर्वसम्मत छानियो होला ? राष्ट्रपति भनेको देशको राष्ट्राध्यक्ष र अभिभावक हो । यो संस्था मेची–महाकाली, तराईदेखि हिमालसम्म सबै जाति, भाषा, संस्कृतिका जनताको साझा अभिभावक हो । उसले राष्ट्रिय एकताको संवद्र्धन तथा संविधानको संरक्षण र पालना गर्नुपर्छ । मेरो अध्यक्षतामा ३१ राजनीतिक दलको विश्वास जितेर संविधान निर्माण गरेको इतिहास छ । यस अवस्थामा सबैभन्दा उपयुक्त पात्र म नै हुन्छ भनी ठानेर होला अध्यक्षको प्रस्तावलाई छलफल गरी पार्टीले सर्वसम्मतिले पारित गर्यो । त्यसपछि देश, जनता र सांसदबीचमा जुन माहोल देखियो । त्यसबाट मेरो मनोबल एकदम बढेको छ । राष्ट्रपति आलङ्कारिक पद हो, यहाँ एमालेको सक्रिय नेता र उपाध्यक्ष हुनुहुन्छ, पदको गरिमा जोगाउन कसरी सन्तुलन कायम गर्नुहुन्छ ? त्यो मेरा लागि यो अप्ठेरो कुरा छैन । सभामुख र संविधानसभाका अध्यक्ष हुँदा नै म यस्तो परीक्षामा उत्तीर्ण भइसकेको व्यक्ति हुँ । त्यतिबेला अन्य दलहरूले मलाई अर्को दलको भनी कहिल्यै प्रश्न उठाएनन् । बरु मेरै दलभित्र अलि–अलि उठाइयो होला तर आफूले गरेको काम ठीक रहेछ भनेर म निरन्तर लागेँ । त्यसैले दाबीका साथ भनिरहेको छु “म अलरेडी टेस्टेड व्यक्ति हुँ ।” मेरो अध्यक्षतामा रहेको संविधानसभाबाट संविधान जारी भयो, मीठो संयोग भन्नुस्, संविधानको संरक्षण र पालना गर्ने जिम्मेवारीमा रहेको राष्ट्रपति पदमा नै म अहिले उम्मेदवार छु । मेरो उम्मेदवारी उपयुक्त छ, त्यही ठानेर अघि बढाइएको हो भन्ने बुझाइ र विश्वास छ । पछिल्लोपटक राष्ट्रपतिमा दलको आकर्षण बढेको देखिन्छ, यसलाई यहाँले कसरी नियाल्नुभएको छ ? राष्ट्रपति पदमा पहिलेदेखि नै आकर्षण हो । यसलाई सबैले सम्मानका रूपमा लिएका छन् । अहिलेसम्म दुई जना राष्ट्रपति भइसक्नुभएको छ । उहाँहरूको अनुभवलाई ध्यानमा राखी आउने दिनमा काम गर्नुपर्छ । राष्ट्राध्यक्ष आलङ्कारिक हुँदाहुँदै पनि उसले सिङ्गो देशलाई एकताबद्ध बनाई संविधानको संरक्षण र पालना गर्न महत्वपूर्ण भूमिका खेल्छ, यसको महत्व स्वयंमा प्रस्ट छ । आफ्नो परीक्षण विगतमा भइसकेको छ त भन्नुभयो, निर्वाचन हो, प्रतिस्पर्धामा हुनुहुन्छ, चुनाव जित्ने आधार के छ त ? सर्वप्रथम त उम्मेदवारी घोषणा भइसकेपछि दलहरूको प्रतिक्रियालाई पनि हेरौँ । जनताको पनि सकारात्मक प्रतिक्रिया छ, यसबीचमा म आफैँ ठाउँ–ठाउँमा पुगेको छु । दोस्रो, राष्ट्रपति भनेको सिङ्गो देशको राष्ट्रिय एकताको संवद्र्धन गर्ने पद हो । सबै धर्मावलम्बी, जाति र भाषाका जनताको एकताको प्रतीकका रूपमा यसलाई लिइन्छ । मेरो क्रियाशीलताको लामो जीवनमा यस सन्दर्भमा कहिले पनि अन्यथा व्यवहार र टिप्पणी गरेको छैन । मैले संविधानसभा निर्वाचनमा आफ्नो चिह्नमा नभई संविधानसभाका पक्षमा मात्र मत मागेँ । त्यतिबेला आममतदाताले मलाई यो कस्तोखाले निर्वाचन भनी जिज्ञासा राख्दै प्रशंसा गर्नुभयो । मेरो अध्यक्षताको संविधानसभाले ‘जनताले जनताका लागि पहिलोपटक संविधान’ भन्ने मान्यताका साथ निर्माण गरी जारी ग¥यो । यो संविधानको संरक्षक र पालना गर्न मेरो उम्मेदवारी उपयुक्त छ, यही आधारमा मलाई विजय प्राप्त हुन्छ भन्ने विश्वास छ । विगतमा शीतलनिवास र सरकारबीच यदाकदा केही महत्वपूर्ण विषयमा पनि मतैक्यता नभएका घटना बाहिर आएको देखियो, त्यसलाई यहाँले कसरी लिनुहन्छ ? यसअघिका दुवै राष्ट्रपतिको राम्रो अनुभव छ । उहाँहरूले सामना गरेको चुनौती र अनुभव हाम्रा पनि हुन् । चुनौती सहजतापूर्वक सामना गर्न सक्छौँ भन्ने मेरो विश्वास छ । संविधान जारी गर्दा मैले भनेको थिएँ, “हामीले राम्रो संविधान बनायौँ, कार्यान्वयन पनि राम्रोसँग गर्छौँ, मलाई दल र दलका साथीमाथि विश्वास छ, तर जतिसुकै राम्रो संविधान लेखिए पनि बुद्धि, विवेक र क्षमता भने दिँदैन, त्यो हामीले नै देखाउनुपर्छ ।” कहिलेकाहीँ त्यस्तो क्षमता नपुगेर देखापरेका चुनौतीलाई अनुभवका आधारमा सम्बोधन गर्नुपर्छ । त्यसो भएमा समस्या आउँदैनन् । आगामी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने अवसर मिल्यो भने विगतभन्दा फरक अनुभूति र सन्देश जनताले के प्राप्त गर्लान् ? अहिलेसम्म भएका दुईवटै राष्ट्रपतिले मेहनतका साथ काम गरिसक्नुभएको छ । यसअघि निश्चित कुलमा जन्मिएको जेठो छोरालाई राजाका रूपमा अभिभावक स्वीकारेका थियौँ । त्यो शासन प्रणाली परिवर्तनपछि जुनसुकै कुलमा जन्मिएको छोरा वा छोरी राष्ट्रपति उम्मेदवार हुने व्यवस्था अपनाएका छौं । अघिल्ला अप्ठ्यारालाई अनुभवका रूपमा ग्रहण गर्दै जनताको भावना बुझेर साँच्चिकै तिनको राष्ट्रपति बन्ने मेरो प्रयास हुनेछ । नेपाल संवेदनशील भू–राजनीतिक अवस्थामा छ, दुवै छिमेकी र वैदेशिक सम्बन्धलाई ठीक ढङ्गबाट अघि लैजान राष्ट्रपतिको के–कस्तो भूमिका हुनसक्छ ? राष्ट्रपतिले सबै काम संविधान र कानुनबमोजिम गर्छ । संविधानमा प्रस्ट लेखिएको छ– निश्चित निकाय वा संस्थाले सिफारिस गरेबमोजिम गर्ने भनेकामा त्यहीबमोजिम गर्ने, नभनेकामा मन्त्रिपरिषद्को परामर्शमा राष्ट्रपतिले गर्ने र त्यस्तो सिफारिस प्रधानमन्त्रीले गर्ने । वैदेशिक सम्बन्धलगायत कतिपय विषय राष्ट्रपतिलाई जानकारी गराइने वा राष्ट्रपतिबाट जानकारी माग्ने भन्ने कुराभित्र पर्छ । संविधान र कानुनबमोजिम चल्दै देशको अभिभावक, संविधानको संरक्षक र एकताको प्रतीकका रूपमा काम गरेर राष्ट्रपतिले सरकार र देशलाई सहयोग गर्न सक्ने ठाउँ छ । त्यसअनुसार म क्रियाशील बन्नेछु । अन्त्यमा, निर्वाचनमा विजयी भएमा राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनतालाई शीतलनिवासबाट कस्तो शीतलता दिनु हुनेछ ? उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्नुपर्छ, तिनले आफ्नो अभिभावक आफूबीचमा आएको अनुभूति गर्नुपर्छ । हाम्रो कुरा उहाँमार्फत सरकारसमक्ष पुग्छ भन्ने हुुनुपर्छ । यी सबै कुरा जनताको राष्ट्रपतिले गर्न सक्छ भन्ने मलाई विश्वास छ । त्यही गर्ने प्रयास मेरातर्फबाट हुनेछ ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवालाई उद्यमशील र स्वरोजगार बनाउनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय युवा परिषद् आठौँ वर्षमा प्रवेश गरेका अवसरमा आज (शुक्रबार) शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले युवा आत्मनिर्भर र स्वावलम्बी भएमा आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भन्नुभयो । राजनीतिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक परिवर्तनको संवाहक मानिने युवाको शक्तिलाई सकारात्मक रुपमा परिचालन गर्न परिषद्ले युवा केन्द्रित नीति तथा कार्यक्रम निर्माण र कार्यान्वयन गर्दै अगाडि बढ्न आवश्यक रहेको उहाँले बताउनुभयो । प्रधामन्त्री प्रचण्डले भन्नुभएको छ, “परिषद्ले सरकारका विभिन्न निकायलाई आवश्यक नीति तथा कार्यक्रमको नमुना विकास गरी हस्तान्तरण गर्दै आएको छ ।” उहाँले शुभकामना सन्देशमा सीमित बजेट र स्रोतसाधनका बाबजुद स्थापना भएको परिषद्ले छोटो अवधिमा युवाको जागरण, सशक्तीकरण र नेतृत्व विकासका क्षेत्रमा सकारात्मक अगुवाइ गरिरहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले युवाको बृहत्तर विकासका लागि परिषद्ले गरिरहेको सकारात्मक पहलको उच्च प्रशंसा गर्नुभएको छ । “परिषद् सबै युवाको अभिभावकीय सरकारी संस्थाका युवाको बृहत्तर हित र राष्ट्र निर्माणको कार्यभारमा अझ प्रभावकारिताका साथ अगाडि बढ्नेछ”, उहाँले शुभाकामना सन्देशमा भन्नुभएको छ । यसैगरी, परिषद्का अध्यक्ष सुरेन्द्र बस्नेतले समृद्ध राष्ट्र निर्माणको मेरुदण्डका रुपमा रहेका लागि युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउनुपर्ने बताउनुभयो । उहाँले शिक्षालाई श्रमसँग, श्रमलाई सीपसँग, सीपलाई उत्पादन, रोजगारी र उद्यमशीलतासँगै जोड्दै युवाशक्तिलाई विकास र समृद्धिको अभिन्न अङ्ग बनाएर समाजवादोन्मुख राज्य प्रणाली निर्माण गर्नु आवश्यक छ भन्नुभयो । युवाको हकहित, युवा नेतृत्वको विकास गर्नका लागि सरकारले २०७२ फागुन १९ गते परिषद् स्थापना गरेको हो । अहिले परिषद्को प्रदेश, जिल्ला र स्थानीय तहमा संरचना छ ।
पोखरा: नेकपा एमाले पोखरा महानगर कमिटिका आयोजनामा ग्रासरुट अभियान अन्तर्गत ३३ वटै वडाको वडा कमिटिका पदाधिकारी र महानगर सदस्यहरु बिचको पार्टी सुदृढीकरण बिस्तार अभियान २०७९ सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय कमिटि सदस्य मायानाथ अधिकारीले नेकपा एमालेले सञ्चालन गरेको ग्रासरुट अभियानले एमालेका कार्यकर्ताहरुलाई संगठित गर्दै पार्टी सञ्चालनलाई सुदृढ गर्न तर्फ लागिरहेकाले सम्पूर्ण पोखरा महानगर अन्तरगतका ३३ वटै वडाका पदाधिकारीहरुले यसवारेमा विशेष ध्यान दिनु पर्नेमा जोड दिए । एमालेले पार्टी निर्माणका लागी देशैभर अभियान सञ्चालन जारी राखेकाले यसतर्फ सम्पूर्ण सदस्यहरु आ आफ्नो ठाउबाट एकवद्ध भएर लाग्न समेत उनले आग्रह गरे । महानगर कमिटि अध्यक्ष दिलिप न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश कमिटि सचिवालय सदस्य पुण्य पौडेल, प्रदेश कमिटि सचिवालय सदस्य शिव पौडेल लगायतले आ आफ्नो धारणा राखेका थिए । कमिटिको उपाध्यक्ष मोहन गुरुङले स्वागत गरेको कार्यक्रमको सञ्चालन कमिटिका सचिव जीवन आचार्यले गरेका थिए । कार्यक्रममा नेकपा एमाले कास्की जिल्ला कमिटीका उपाध्यक्ष तेजनारायण अधिकारीको समेत उपस्थिती रहेको थियो ।
काठमाडौं: नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल र काठमाडौं महानगरका प्रमुख बालेन साहबीच भेटवार्ता भएको छ । भेटमा काठमाडौं–५ को विकासका लागि सङ्घ र स्थानीय सरकारबीच आपसी समन्वय, सहयोग र सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको सांसद पौडेलले बताउनुभयो । सांसद पौडेलले प्रमुख साहसँग सात विषयमा केन्द्रित रहेर छलफल भएको जानकारी दिनुभयो । कलङ्कीदेखि धोबी खोलासम्म रिङ्गरोड विस्तारलाई तीव्रता दिन आवश्यक पहल र सहकार्य गर्ने, सामाखुसी करिडोर निर्माण गर्न समन्वय गर्ने र व्यवस्थित ढङ्गले निर्माणकार्य अघि बढाउने र मेलम्ची खानेपानी विस्तारलाई महानगरभित्रका सबै घरमा पुर्याउन छिटो सञ्जाल विस्तार गर्न आवश्यक सहयोग तथा सहकार्य गर्ने विषयमा कुराकानी भएको सांसद पौडेलले बताउनुभयो । त्यस्तै, हाँडी गाउँलाई सांस्कृतिक सहरका रुपमा विकास गर्ने, यस क्षेत्रमा रहेको कला संस्कृतिको रक्षा गर्दै निर्माण हुने विकास कार्यमा अनिवार्य रूपमा मौलिक पहिचान झल्किने गरेर मात्रै भौतिक विकास गर्ने, धुम्बाराही क्षेत्रमा वर्षाको समयमा बाढी र पानी जमेर वर्षेनी हुने समस्यालाई समाधान गर्न तत्कालै उचित निकास खोज्ने विषयमा छलफल भएको छ । साथै, टुकुचा खोलाको पानी ओभर फ्लो भएर तथा ढलको समस्या रहेका लाजिम्पाट लगायतका क्षेत्रमा ढल निकासीका लागि उचित व्यवस्थापन गर्ने र सार्वजनिक रूपमा रहेका जमिन अतिक्रमणलाई फिर्ता ल्याउन र सुरक्षाका लागि सामूहिक पहल गरिनेछ । सांसद पौडेलले भन्नुभयो, ‘‘आज भएको छलफल अत्यन्तै सकारात्मक रह्यो साथै काठमाडौं महानगर प्रमुखले महानगर सुधारका निम्ति देखाउनुभएको तत्परता र ऊर्जाले उहाँसँग निरन्तर सहकार्य हुने विश्वास लिएको छु ।’’
धनगढी: आफ्नो निर्वाचन क्षेत्रको जनताका समस्या बुझ्न प्रतिनिधि सभा सदस्य गङ्गाराम चौधरीले घरदैलो अभियान थाल्नु भएको छ । कैलाली क्षेत्र ३ बाट निर्वाचित उहाँले प्रतिनिधि सभाको बैठक नभएका बेला निर्वाचन क्षेत्र फर्केर जनताको घरदैलोमा पुगिरहनु भएको हो । सो क्रममा उहाँले जनताको समस्या बुझ्ने, उनीहरूको माग, मुद्दा सुन्ने कार्य गरिरहनु भएको छ । उहाँले दुई दिनसम्म भजनी र कैलारी गाउँपालिकाको केही गाउँमा पुगेर जनतासँग भलाकुसारी गर्नुभयो । सुगम जिल्लाको दुर्गम गाउँ मानिने कैलारी गाउँपालिका –७ को हौसलपुर र वडा ३ को मोहनपुर गाउँमा पनि पुगेर जनताको समस्या बुझ्ने कार्य गरेको चौधरीले बताउनुभयो । मोहना नदी पारी रहेको दुवै गाउँवासीले कटान र बाटोघाटोको समस्या भोग्दैआएका छन् । हौसलपुरमा शिक्षा र स्वास्थ्यको ठूलो समस्या रहेको उल्लेख गर्नुहुँदै सांसद चौधरीले त्यो गाउँमा एउटा बाल विकास कक्षा र गाउँघर क्लिनिकसम्म सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । २९ घरपरिवार रहेको हौसलपुर गाउँका सबै बालबालिकाको शिक्षा भारतमा निर्भर छ । आफ्नो देशमा शिक्षाआर्जन गर्न नपाएका हौसलपुरका सबै बालबालिका भारतका विद्यालयमा पढ्न बाध्य छन् । विद्यालय सञ्चालन गर्दा मापदण्ड नपुग्ने भएकाले बाल विकास कक्षासम्म सञ्चालन गर्न उचित हुने चौधरीले बताउनुभयो । ‘बाटोको समस्या र टाढा भएको कारणले ती गाउँका बालबालिका आफ्नो देशको विद्यालयमा पठनपाठन गर्न आउन सकेका छैनन्’ उहाँले भन्नुभयो, ‘कम्तीमा एउटा बाल विकास कक्षा सञ्चालन गर्न आवश्यक देखियो ।’ बाल विकास कक्षा र गाउँघर क्लिनिक सञ्चालनका लागि आफूले पहल गर्ने उहाँले बताउनुभयो । यसैगरी, सांसद चौधरीले हौसलपुरवासीका लागि मोहना नदीमा निर्माण भइरहेको झोलुङ्गे पुल निर्माण कार्य तदारुकताका साथ अगाडि बढाउन ठेकेदारलाई निर्देशन दिनुभएको छ । ‘अबको एक महिनाभित्रै पुल निर्माण कार्य सम्पन्न गर्ने ठेकेदारले बताउनुभएको छ’ उहाँले भन्नुभयो । यस्तै, चौधरीले नदी कटान, विभिन्न अधुरा योजना, निर्माणाधीन आयोजनाको पनि अवलोकन गर्नु भएको छ । दुवै पालिकाका स्थानीयले नदीको कटान समस्या भोग्दै आएकाले कटान नियन्त्रणका लागि आफूले पहल गर्ने उहाँको भनाइ छ ।
काठमाडौं: नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेपाली आठ दलीय गठबन्धनमा कांग्रेसका तर्फबाट राष्ट्रपतिमा उम्मेदवार दिनुभएका वरिष्ठ नेता रामचन्द्र पौडेलको जित सुनिश्चित भएको दाबी गर्नुभएको छ । बिहीबार काठमाडौंमा भएको आठ दलीय गठबन्धनका सांसदहरुको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै सांसद पौडेलले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्नुभएका पौडेलको पक्षमा मत मागनका लागि यो कार्यक्रम गरिएको पनि उल्लेख गर्नुभयो । सांसद पौडेलले भन्नुभयो, ‘‘राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्नुभएका रामचन्द्र पौडेलको पक्षमा मत माग्ने, विशेष गरी आठ दलसँग सम्बन्धित प्रतिनिधि सभामा सांसदहरु र प्रदेश भित्रका सांसदहरुलाई बोलाएर अभिमुखीकरण कार्यक्रममा सहभागी गराएर आठ दलको तर्फबाट उम्मेदवार बन्नुभएका पौडेललाई जिताएर सबै एकै ठाउँमा बसेर मत माग्न यो कार्यक्रम गरिएको हो । आठ दलका नेताहरु आफ्नो उम्मेदवारलाई मत मागिरहनुभएको छ ।’’ उहाँले अभिमुखीकरण कार्यक्रममा आठ दलका शीर्ष नेताहरुले आफ्ना सांसदहरुलाई उम्मेदवार पौडेलका लागि मत मागिरहेको उल्लेख गर्नुभयो । उम्मेवार पौडेल राष्ट्रपति भइसकेपछि राष्ट्रपति पदको मर्यादा कायम राख्ने र संविधानलाई अक्षुण्ड राख्दै संविधानको संरक्षकका रुपमा काम गर्ने, राष्ट्रियता राष्ट्रिय स्वाभिमानका साथ अघि बढ्नेमा विश्वस्त रहेको बताउनुभयो । सांसद पौडेलले भन्नुभयो, ‘‘राष्ट्रपति पदको मर्यादा कायम राख्ने र संविधानलाई अक्षुण्ड राख्दै संविधानको संरक्षकका रुपमा काम गर्ने, राष्ट्रियता राष्ट्रिय स्वाभिमानका साथ अघि बढ्ने प्रतिवद्धता रामचन्द्र पौडेलले गर्नुभएको छ । मतका हिसावले उहाँले निर्वाचन जित्ने निश्चित छ ।’’ सांसद पौडेलले राष्ट्रपति पद देशको अभिभावकको रुपमा र संविधानको संरक्षकको रुपमा राष्ट्रपति रहनुपर्ने भन्दै राष्ट्रपतिले हस्तक्षेपकारी भुमिका खेल्नु नहुने बताउनुभयो ।
काठमाडौं : राष्ट्रपति निर्वाचनबारे छलफल गर्न एमाले नेताहरूले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन् । नेपाललाई भेट्न एमाले नेताहरू बिहीबार बिहान आलोकनगरस्थित एकीकृत समाजवादीको पार्टी कार्यालय पुगेका थिए। राष्ट्रपति पदका उम्मेदवार एमाले उपाध्यक्ष सुवास नेम्बाङ,उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरूङ,रघुविर महासेठ र विमला राईले अध्यक्ष नेपाललाई भेटेका हुन् । सो क्रममा राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको थियो । भेटमा नेताहरूले राष्ट्रपतिमा नेम्वाङलाई सहयोग गर्न आग्रह गरेका थिए । छलफलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित उपाध्यक्ष प्रमेश हमाल, महासचिव डा. वेदुराम भुसाल,उपमहासचिव प्रकाश ज्वालालगायत नेताहरू सहभागी थिए। राष्ट्रपति निर्वाचन यही फागुन २५ गते हुँदैछ। नयाँ गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट सुवास चन्द्र नेम्बाङले राष्ट्रपतिमा उम्मेदवारी दिएका छन्। एकीकृत समाजवादीले भने कांग्रेस नेता पौडेललाई राष्ट्रपतिमा समर्थन गरेको छ।
पोखरा: ८ दलीय गठबन्धनको तर्फबाट राष्ट्रपतिमा उम्मेद्वारी दिएका कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेललाई जिताउनका लागि पोखरामा कांग्रेस र माओवादीको संयुक्त बैठक बसेको छ । राष्ट्रपतिमा प्रदेश सांसदहरु पनि मतदाता हुन् । त्यसैले प्रदेश सभामा रहेका कांग्रेसका सांसद र माओवादीका सांसदहरुलाई पौडेलको पक्षमा मतदान गर्ने गरी बैठकको आयोजना गरिएको हो । कांग्रेस संसदीय दलको कार्यालयमा भएको बैठकमा दुवै पार्टीका प्रदेश प्रमुखहरु पनि उपस्थित थिए । कांग्रेस सभापति शुक्रराज शर्मा र माओवादीको गण्डकी अध्यक्ष गायत्री गुरुङ समेतको उपस्थितिमा पौडेललाई विजयी गराउनका लागि ऐक्यवद्धता जनाइएको छ । संसदीय दलका नेता सुरेन्द्र राज पाण्डेको सक्रियतामा बैठक आह्वान गरिएको हो । ‘राष्ट्रपति निर्वाचनका लागि ८ दलको नयाँ गठबन्धन बनेको छ । सोही गठबन्धनको साझा उम्मेद्वार रामचन्द्र पौडेल हुनुहुन्छ,’ पाण्डेले भने, ‘उहाँलाई निर्वाचित गराउन हामी सबै एकजुट भएका हौं ।’ गठबन्धनका सबै सांसदहरु समेतको उपस्थितिमा १९ गते बृहत बैठक डाक्ने निर्णय समेत भएको पाण्डेले बताए । ‘अब १९ गते सबै सांसदहरु समेतको उपस्थितिमा बैठक हुन्छ । पोखरामा नै बैठक गरेर मतदानका लागि जाने योजना छ,’ पाण्डेले अघि भने, ‘दलका नेताहरुबीच औपचारिक भेटघाट गरिएको हो । सांसद ज्यूहरुसँग पुनः बस्छौं ।’ बैठकमा सहभागी माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले सांसदहरुसँगको बैठकको तयारी भैरहेको बताए । ‘यो बैठक अर्को बैठकको तयारी हो । सबै माननीय ज्यूहरुलाई एकै ठाउँमा राखेर बैठक बस्ने तयारी भैरहेको छ,’ उनी भन्छन् ।
काठमाडौं: त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति नजिकिँदै गर्दा विद्यार्थी सङ्गठन घोषणापत्रको अन्तिम तयारीमा लागेका छन् । चौध वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन यस पटक निर्धारित मितिमा नै हुने भएपछि विद्यार्थी सङ्गठनहरू घोषणापत्रसहित निर्वाचनको तयारीमा जुटेका छन् । विद्यार्थी सङ्गठनले आगामी स्ववियु निर्वाचनमा वेरोजगार शिक्षाको अन्त्य गरी रोजगारमूलक शिक्षा र त्रिवि सुधारलाई आफ्नो मुख्य मुख्य एजेण्डाका रूपमा अगाडि सारेका छन् । आगामी चैत ५ गते हुने निर्वाचनका लागि विद्यार्थी सङ्गठनले स्ववियुलाई युवा संसद्का रूपमा विकास गर्ने, शैक्षिक गुणस्तर सुधार, त्रिविको शैक्षिक क्यालेण्डर सुधार गर्ने, त्रिविका पदाधिकारी नियुक्ति खुला प्रतिस्पर्धा नियुक्ति, पाठ्यक्रम परिमार्जनलगायतका मुख्य एजेण्डा अघि सारेर निर्वाचनमा होमिँदै छन् । अनेरास्ववियुका अध्यक्ष समिक बडालले राजनीतिक परिवर्तन भइसकेकपछि मूलतः त्रिविको शैक्षिक गुणस्तर र त्रिविलाई सुधार्ने एजेण्डासहित स्ववियु निर्वाचनमा होमिने बताउनुभयो । उहाँले स्ववियु मुलुकको नेतृत्व गर्ने थलो रहेकाले युवा संसद्का रूपमा स्ववियुलाई विकास गर्नुपर्ने बताउनुभयो । “विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन यसपटक हुन थालेको छ”, उहाँले भन्नुभयो, “यसपटक हामीले शैक्षिक एजेण्डासहित नेतृत्व विकास गर्ने थलोका रूपमा रहेको स्ववियुलाई युवा संसद्का रूपमा लैजान पर्दछ भन्ने रहेको छ ।” नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को स्ववियु निर्वाचन घोषणापत्रका संयोजक पुजन गन्र्धवले घोषणापत्र तयारी गरिसकेको बताउनुभयो । उहाँले आफ्नो सङ्गठनको मुख्य एजेण्डा शैक्षिक सुधार नै रहेको बताउनुभयो । नेविसङ्घले शिक्षासँगै उद्यमशीलता र शैक्षिक प्रमाणपत्रसँगै रोजगार अभियान सञ्चालन गर्ने, शिक्षा क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्दै शिक्षा क्षेत्रमा भएको निजी लगानीलाई नियमन र व्यवस्थापन गरी सेवामूलक बनाउने एजेण्डा अघि सारेको छ । यस्तै, सबै क्याम्पसमा स्ववियुलाई भ्रष्टाचाररहित बनाई सक्षम नेतृत्व उत्पादन गर्ने थलोका रूपमा विकास गर्ने र स्ववियु र क्याम्पसको बजेटको वार्षिक लेखापरीक्षण गरी आर्थिक पारदर्शिता गराउने एजेण्डा पनि बनाएको छ । यस्तै, वैज्ञानिक, व्यावहारिक, प्राविधिक र अनुसन्धानात्मक शिक्षामा जोड, माध्यमिक शिक्षा सबै नेपालीका लागि अनिवार्य र निःशुल्क बनाउन र उच्च शिक्षा सबैको पहुँचमा, गुणस्तरीय र सर्वसुलभ बनाउँदै क्रमशः निःशुल्क बनाउने आफूहरूको एजेण्डा रहेको नेविसङ्घका पूर्वकेन्द्रीय सदस्यसमेत रहनुभएका गन्र्धवले जानकारी दिनुभयो । अनेरास्ववियु (क्रान्तिकारी)का महासचिव दिपेश पुनले स्ववियु निर्वाचनका लागि घोषणापत्र तयार पारिएको जानकारी दिनुभयो । उहाँले आगामी स्ववियु निर्वाचनका लागि त्रिविलाई बेरोजगार जनशक्ति नभई स्वरोजगार जनशक्ति उत्पादन गर्ने मुख्य एजेण्डा रहेको बताउनुभयो । उहाँले त्रिविका पदाधिकारी भागबन्डा नभई खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्नुपर्ने, शैक्षिक क्यालेण्डर समयमैत्री हुनुपर्ने, उत्पादित जनशक्तिलाई निरन्तर अनुसन्धान, उद्यम, रोजगार बनाउन पहले गर्ने, त्रिविबाट उत्पादित जनशक्ति र बजारबीच सम्बन्ध स्थापित गर्ने एजेण्डा रहेको जानकारी दिनुभयो । यस्तै, वार्षिकमा तीन महिना र सेमेष्टर प्रणालीमा एक महिनाभित्र परीक्षाफल प्रकाशित गर्ने, भौतिक र डिजिटल पूर्वाधार सम्पन्न आधुनिक पाठ्यक्रम अध्ययन अध्यापन गर्ने विश्वविद्यालय निर्माण गर्ने, स्नातकमा १० प्रतिशत, स्नातकोत्तरमा २० प्रतिशत र एमफिलमा २५ प्रतिशत पाठ्यक्रम विदेशी आगन्तुक प्राध्यापकबाट अध्यापन गर्ने व्यवस्था मिलाउने पनि एजेण्डा क्रान्तिकारी रहेको छ । अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले शिक्षाको निजीकरण अन्त्य, विश्वविद्यालय बेरोजगार उत्पादनका कारखाना रहेकोले बौद्धिक पलायन रोक्न लागि आपत्कालीन शैक्षिक सुधार कार्यक्रम, सेमेष्टर र वार्षिक दुई किसिमको शिक्षा अन्त्य गरी एकै खालको शिक्षा, आङ्गिक क्याम्पस सुधार गर्नुपर्ने एजेण्डा रहेको बताउनुभयो । नेविसङ्घका त्रिवि क्याम्पस नेता विष्णु बडैलाले त्रिविमा देखिएका विकृति विसङ्गति सुधार आवश्यक रहेको बताउनुभयो । उहाँले स्ववियु निर्वाचन नहुँदा त्रिवि नै अस्तव्यस्त रहेकाले आगामी स्ववियु निर्वाचनबाट त्रिविमा सुधार आउने बताउनुभयो । उहाँले त्रिविमा रहेका परीक्षा नियन्त्रण कार्यालयलाई पूर्ण डिजिटल बनाउने, त्रिविलाई केन्द्रीय अनुसन्धानको केन्द्र बनाउने, छात्रालाई सेनिटेरी प्याडको सुलभ व्यवस्था गर्ने आफ्नो एजेण्डा रहेको बताउनुभयो । उहाँले त्रिवि सेवा आयोग प्रत्येक छरछ महिनामा विज्ञापन खोलेर योग्य दक्षजनशक्ति ल्याउन जरुरी रहेको बताउनुभयो । त्रिवि केन्द्रीय क्याम्पसका नेता तथा अखिलका केन्द्रीय सदस्य प्रशान्त भण्डारीले रोजगारमूलक शैक्षिक जनशक्ति उत्पादन, अनुसन्धानमूलक र सूचना प्रविधि शिक्षा आफ्नो एजेण्डा रहेको बताउनुभयो । त्यस्तै, उहाँले अन्तर्राष्ट्रिय शैक्षिक अध्ययन र सीप त्रिविमा र विद्वानको पलायन रोक्दै समुन्नत नेपाल निर्माण रहेको बताउनुभयो । आगामी चैत ५ गते देशभरका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा हुने स्ववियु निर्वाचनका लागि कार्यतालिकासमेत सार्वजनिक भइसकेको छ । कार्यतालिकाअनुसार यही फागुन १९ गते विद्यार्थी सङ्घ÷सङ्गठन दर्ता, फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता तोकिएको छ । यस्तै कार्यतालिकाअनुसार मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको तोकिएको छ । प्रत्येक दुईदुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालदेखियता नियमित हुनसकेको छैन् । विसं २०६५ साल चैत ६ गते भएको स्ववियु निर्वाचन एकै पटक आठ वर्षमा २०७३ चैत १५ गते भएको थियो ।

