सुर्खेत: नेकपा (एमाले) का नेता भीमबहादुर रावलले नेपालको राजनीति नेपाली जनताको भलाई र हितमा चल्नुपर्ने बताउनुभएको छ । पछिल्लो समय नेपालको राजनीति विदेशीको इसारामा चलेको छनक मिलेकोभन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । शुक्रबार वीरेन्द्रनगरमा पत्रकारसँग कुरा गर्दै रावलले राष्ट्रपतिको निर्वाचनलाई लिएर विदेशी शक्तिहरूको समेत हस्तक्षेप बढिरहेको चर्चा गर्नुभयो । ‘देशको राष्ट्रपतिजस्तो पदमा विदेशी हस्तक्षेप हुनु राम्रो होइन, राजनीतिक दलका नेताहरु यसमै रमाइलो मानेर बस्नु झन विडम्बनापूर्ण हो’ उहाँले भन्नुभयो । रावलले राष्ट्रपतिको विषयमा जे–जस्ता गतिविधिहरू भइरहेका छन्, त्यो विषयमा नेपालप्रति चासो र रुचि राख्ने कैयौँ मान्छेहरू चकित भएको समेत उहाँले चर्चा गर्नुभयो । देशको राजनीति राष्ट्रपतिको निर्वाचनमाजस्तो विकासका लागि तातेको भए देशमा ठूलो आर्थिक परिवर्तन आउँथ्यो उहाँले भन्नुभयो । कम्युनिस्ट पार्टीहरू एक ठाउँमा उभिनु नै देशको हितमा रहेको उहाँको भनाइ छ । तर अहिले सबै नेताहरु आफ्नो स्वार्थमा केन्द्रित देखिएको उहाँले टिप्पणी गर्नुभयो ।
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरी र स्वीट्जरल्याण्डका राष्ट्रपति एलेन विरसेटबीच भेटवार्ता भएको छ । बिरामी सुरक्षासम्बन्धी मन्त्रिस्तरीय कार्यशालामा भाग लिन स्वीट्जरल्याण्ड पुग्नुभएका गिरीले आज (शुक्रबार) त्यहाँका राष्ट्रपतिसँग भेट गर्नुभएको हो । मन्त्री गिरीको सचिवालयलका अनुसार भेटमा मन्त्री गिरीले बिरामी सुरक्षासम्बन्धी मन्त्रिस्तरीय कार्यशालामा नेपाललाई आमन्त्रण गरेकोमा धन्यवाद ज्ञापन गर्नुभएको छ । त्यसैगरी, दुई देशबीच बिरामीको सुरक्षाका विषयमा सहकार्य गरेर अगाडि बढ्न प्रतिबद्धता व्यक्त गरेको मन्त्री गिरीको सचिवालयले जानाएको छ ।
काठमाडौं: नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले सरकारले सरकारी कार्यालयहरु बेवारिसे रुपमा राखिएका स्राेत, साधनहरुको सदुपयोग गर्न आग्रह गर्नुभएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा सांसद सिंहले यस्तो आग्रह गर्नुभएको हो । उहाँले देशभरकै नेपाल सरकारको कार्यालय र प्रहरी कार्यालय परिसरभित्र साधनस्राेत, मोटरसाइकलदेखि गाडीहरु पनि थुपारेर राखेको भन्दै आपत्ति जनाउनुभयो । सांसद सिंहले करोडौं मूल्य पर्ने साधनस्राेत कौडीको मूल्यमा बेच्न राखिएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘‘देशभरकै नेपाल सरकारको कार्यालय र प्रहरी कार्यालय परिसरभित्र थुपारिएर राखिएका साधन स्राेत, मोटरसाइकलदेखि गाडीहरु बेवारिसे रुपमा राखिएको छ । नियम नमिलेको हो भने नियम मिलाएर करोडौं मूल्य जाने सवारीसाधनहरु कार्यालयको परिसरमा कौडीको मूल्यमा बेच्नुको लागि राखिएको छ, यसले राम्रो भएन ।’’ सांसद सिंहले साधनस्राेतको सही सदुपयोका लागि ऐन, नियममा समस्या भए सच्याएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
काठमाडौं: राष्ट्रपतिबारे चार दलको बैठक सकारात्मक भएको नेताहरुले बताएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीका नेताहरुबीच शुक्रबार विहान बालुवाटारमा छलफल भएको थियो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस महामन्त्री गगनकुमार थापाले विभिन्न विकल्पबारे छलफल भएको बताए । आ-आफ्नो दलमा छलफल गरेर फेरि ५ बजे बैठक बस्ने भन्दै उनले भने, ‘हामी एउटै निर्णय गर्छौं, एकैठाउँमा उभिन्छौं ।’
काठमाडौं: उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल भारत प्रस्थान गर्नु भएको छ । जी २० का अर्थमन्त्रीको सम्मेलनमा भाग लिन उहाँ भारत जानु भएको हो। जी २० अर्थमन्त्रीको सम्मेलन फागुन १२ र १३ गते भारतकाे बैङ्लोरमा हुँदैछ। सम्मेलनका अतिरिक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारत लगायत विभिन्न देशका समकक्षीसँग छलफल गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ। उपप्रधान तथा अर्थमन्त्री पौडेलसँगै अर्थमन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपालसमेत भारत जानु भएको छ। नेपाल जी २० को सदस्य नरहे पनि भारतले अध्यक्षता लिएको बेला सम्मेलनमा भाग लिन नेपाललाई निमन्त्रणा गरेको थियो। जी २० मा भारत, चीन, जापान, अमेरिका, बेलायत लगायतका राष्ट्र छन्। उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल फागुन १३ गते स्वदेश फर्कनु हुनेछ।
काठमाडौं: राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअन्तर्गत मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम म्यादसम्म पाँच वटा निवेदन परेको छ । ती निवेदनमा चार वटा नाम सच्याउने र एउटा नाम समावेश गर्ने विषय रहेको सहायक निर्वाचन अधिकृत अमृता शर्माले जानकारी दिनुभयो । मतदाता नामावलीमा दाबी विरोधका लागि आज (बिहीबार) अपराह्न १२ बजेसम्मको समय तोकिएको थियो । कैलाली जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरीको नाम मतदाता नामावलीमा समावेश गर्न निवेदन परेको छ । यसैगरी, अन्य चारवटा निवेदन भने नाम सच्याउने विषयमा रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदाता नामावलीको दाबी विरोधमा भने कुनै निवेदन दर्ता नभएको बताइएको छ । प्राप्त निवेदनका सम्बन्धमा छलफल गरी निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार अपराह्न १२ बजे राष्ट्रपतिको निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ । मतदानमा सङ्घीय संसद्का सांसद र प्रदेश सभा सदस्यले मतदान गर्न पाउने छन् । मतदान फागुन २५ गते संसद् भवन नयाँबानेश्वरमा हुने जनाइएको छ ।
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले युवाहरू माथि सिंगो राष्ट्रको आशा र भरोसा रहेको बताए। बिहीबार काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजित राष्ट्रिय सेवा दलको १७ औँ व्याच सिनियर डिभिजन तालिमको दीक्षान्त कवाजलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आजको अवस्थामा अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको र युवाहरूमाथि सिंगो राष्ट्रको आशा र भरोसा रहेको बताए। सरकारको उच्च प्राथमिकतामा परेको यस कार्यक्रमले युवाहरूलाई मुलुकप्रति समर्पित र राज्यका संस्थाहरूप्रति सम्मान गर्ने संस्कारयुक्त नागरिक बनाउनुका साथै विपद्को समयमा परिचालन गर्न सकिने तालिमप्राप्त स्वयंसेवक जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको उनको बताए। प्रधानमन्त्री प्रचण्डले देशभित्र विद्यमान विविध भाषा,संस्कृति,भेषभुषा एवं विशेषताहरूको जानकारीले युवाहरूलाई आफ्नो देशप्रतिको गौरव बढाउनुका साथै राष्ट्रिय एकताको भावनामा थप प्रतिवद्धताको विकास हुने विश्वास व्यक्त गरे। राष्ट्रिय सेवा दलको प्रमुख संरक्षक समेत रहेका प्रधानमन्त्री प्रचण्डले हाल विद्यमान ७७०० को संख्या बढाएर आगामी दिनमा तालिममा सहभागीको संख्या विस्तार गर्नुपर्ने आवश्यकताप्रति सरकार गम्भीर रहेको धारणा राखे। दीक्षान्त समारोहमा विभिन्न कवाज,कला प्रस्तुत गरिएको थियो । युवाहरूको व्यक्तित्व विकास गर्ने उद्देश्यले विसं २०२२ सालमा राष्ट्रिय सेवा दल स्थापना भएको थियो । यस वर्ष जुनियर डिभिजनअन्तर्गत ५,९७६ जना र सिनियर डिभिजनअन्तर्गत १७२८ जना गरी कुल जम्मा ७,५६८ जना छात्रछात्राहरूले राष्ट्रिय सेवा दलको तालिम गरेका छन् ।
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बिहीबार बिहान सिंहदरबारमा भएको भेटवार्तामा राष्ट्रपति उम्मेदवारबारे छलफल भएको हो। भेटका क्रममा नेपालले प्रचण्डलाई निर्वाचनपछि एकीकृत समाजवादीलाई तत्कालीन गठबन्धनले राष्ट्रपति दिने सहमतिबारे स्मरण गराएका थिए। नेपालले प्रधानमन्त्री प्रचण्डलाई आफूलाई राष्ट्रपतिमा सघाउने कि नसघाउनेबारे जिज्ञासा राखेका थिए। जवाफमा प्रचण्डले यसबारे पार्टीमा थप छलफल गर्ने बताए। प्रचण्डले सबै दलको सहमति लिएर राष्ट्रपति उम्मेदवार तय गर्नुपर्नेमा जोड दिए। नेपालले पावर सेयरिङको विषयसमेत उठाएको बालुवाटार स्रोतले जनाएको छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा नेपाल र सुवास नेम्बाङको नाम अघि सारेका छन्। ओलीले राष्ट्रपतिमा आफ्नो नाम अघि सारेपछि नेपाल अन्य दलसँग छलफलमा जुटेका हुन्। नेपालसँगको भेटअघि प्रचण्डले राष्ट्रपतिको विषयमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन्। बिहीबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न सभापति देउवा बालुवाटार पुगेका थिए। भेटमा राष्ट्रपति निर्वाचनको बारेमा छलफल भएको छ। भेटका क्रममा कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार बन्ने संभावित व्यक्तिको बारेमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ। नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाम अघि सारेको छ। बुधबार बेलुका पनि प्रधानमन्त्रीसँग सभापति देउवासहितका कांग्रेसका नेताहरूले राष्ट्रपति चयनका विषयमा छलफल गरेका थिए। दलहरूका आ-आफ्नै अडानले राष्ट्रपति उम्मेवारबारे अझैं टुंगो लागेको छैन्। शनिबार राष्ट्रपति उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका छ।
काठमाडौं: नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । कोटेश्वरस्थित अध्यक्ष नेपालको निवासमा आज (बुधबार) दिउँसो भएको भेटमा अध्यक्ष नेपालले राजदूत सङलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिनुभयो । उहाँहरूबीच नेपाल–चीन सम्बन्ध र द्विपक्षीय हितका विविध पक्ष, दुई देशबीचको दौत्य सम्बन्धका साथै एकापसमा पारस्परिक सहयोग, विकासबारे छलफल भएको अध्यक्ष नेपालको निजी सचिवालयले जनाएको छ । राजदूत सङले नेपालमा राजदूतका रूपमा आउन पाएकामा खुसी व्यक्त गर्दै आफ्नो कार्यकालमा सबैबाट सहयोगको अपेक्षा गर्नुभयो ।

