कास्कीः गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपाली जनताको स्वतन्त्रता एवं हितका लागि विसं २००७ यता विभिन्न समयमा भएका आन्दोलनका उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभएको छ । गण्डकी प्रदेश प्रमुखको कार्यालयद्वारा नव वर्ष २०७९ का अवसरमा आयोजित शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उहाँले बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त लोकतन्त्रको रक्षा एवं संविधानको कार्यान्वयन सबैको साझा कर्तव्य भएको बताउनुभयो । नव वर्ष २०७९ ले सबैमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना गर्दै प्रदेश प्रमुख गुरुङले नयाँ वर्षमा नेपाली समाजको विविधताबीचको एकता कायम हुने धारणा पनि व्यक्त गर्नुभयो । यसैगरी मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नयाँ वर्ष २०७९ उत्साहको वर्ष हुने अपेक्षा गर्दै आसन्न निर्वाचन भयरहितरूपमा सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयोे । उहाँले दलहरूबीचको एकता आगामी वर्षमा अझै बलियो बन्ने विश्वास व्यक्त गर्नुभयो । शुभकामना आदानप्रदानले सत्तपक्ष तथा प्रतिपक्ष सबैलाई एक ठाउँमा ल्याउने र आपसी सद्भाव एवं भाइचारा अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो ।प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले नयाँ वर्ष राजनीतिक उत्सवको वर्ष बन्ने र संविधानप्रदत्त अधिकारको कार्यान्वयनका लागि पनि यो वर्ष सफल हुने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा प्रदेश सरकारमा मन्त्रीहरू तथा प्रदेशसभा सदस्यले नयाँ वर्षले सबैमा उमङ्ग ल्याउने अपेक्षा गर्नुभयो ।
काठमाण्डाैः राष्ट्रपति विद्यादेवी भण्डारीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा गोविन्दप्रसाद शर्मा कोइरालालाई नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा, ७८ को उपाधारा (१) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई मन्त्री नियुक्त गर्नुभएको हो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सम्हाल्दै आउनुभएका मन्त्री दिलेन्द्रप्रसाद बडूलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हाल्ने गरी नियुक्ति एवं कार्यभार तोक्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

