काठमाडौंः   नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...

पोखराः निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गर्ने अन्तिम दिन अपरान्हसम्म नेपाली कांग्रेसबाट  पोखरा महानगरपालिकाको उपमेयरमा सुरेन्द्रमान बिजुक्छेको चर्चा चलेको थियो ।    बिजुक्छेको चर्चामात्र चलेन केही अनलाइनले उनी सिफारिश भइसकेको समाचारसमेत छाप्न भ्याए भने नेवार समुदायका बाहुल्यता भएको नगरभित्रका केही स्थानबाट सामुहिकरुपमा जुलुससहित आयोग जाने तयारीसमेत भएको थियो ।     तर स्वयं बिजुक्छे र अनलाइनहरुले सोचेजस्तो भएन । दिउँसो करिब २ बजेपछि एकाएक बिजुक्छेको नभई कोपिला रानाभाटाको नाम फाइनल भयो ।   कोपिला नेपाली कांग्रेस गण्डकी प्रदेशकी सहमहामन्त्री हुन् ।    गठबन्धनमार्फत चुनावी मैदानमा उत्रिएपछि मेयर नेकपा एसको भागमा परेको थियो । त्यसपछि उपमेयरमा कांग्रेसले उम्मेदवार चयन गर्न निकै दिन लगायो ।   यसबीचमा विभिन्न आकांक्षीको नाम चर्चामा आएपनि कांग्रेसका धेरै शुभचिन्तक एवं कार्यकर्ताले बिजुक्छे चयन भएको जानकारी पाएका थिए । तर उनको चर्चा केही घण्टामै सकिएको छ । 

पोखराः स्थानीय निर्वाचनमा उम्मेदवारी दर्ता गर्ने दोस्रो दिन आजपनि गठबन्धनविरुद्ध नेपाली कांग्रेसका अर्का सदस्यले पनि वागी उम्मेदवार दर्ता गरेका छन् ।    नेपाली कांग्रेस कास्कीका पूर्व कोषाध्यक्ष एवं उदीयमान नेताकारुपमा कहलिएका ऋषि काफ्लेले कांग्रेस भएर रुखमा भोट हाल्न नपाएपछि वागी बनेको बताएका छन् ।   ‘गठबन्धनका नाममा कांग्रेसलाई रुख चिन्हमा मतदान गर्नै नपाउने बनाइयो’ काफ्लेले भने ‘पार्टीको सिद्धान्त र नीति विपरित कार्यकर्तालाई जान बाध्य पारिएकोमा उम्मेदवारी दिएको हुँ ।’   यसअघि आइतबार विमलबहादुर कार्कीले पनि मेयरमै वागी उम्मेदवारी दिएका छन् । दुबै उम्मेदवारले नाम फिर्ता नगर्ने बताएका छन् । 

पोखराः सत्तापक्ष गठबन्धनले पोखरा महानगरपालिकामा नेकपा एसबाट धनराज आचार्यलाई मेयरमा अघि सारेपछि असन्तुष्ट बनेका विमलबहादुर कार्कीले वागी उम्मेदवारी दर्ता गराएका छन् । पार्टीमा विद्रोही युवा नेताको छवि बनाएका कार्की कास्की २ का क्षेत्रीय सभापति एवं कांग्रेसको पोखरा नगर समितिका पूर्वसभापति हुन् ।    सभापति शेरबहादुर देउवाले गठबन्धनको नाममा अन्य पार्टीको चुनाव चिन्हमा मतदान गर्न लगाएपछि असन्तुष्टी पोख्दै पोखरा महानगरको मेयरमा वागी उम्मेदवारी दिएको कार्कीको भनाई छ । ‘कालेकाले मिलेर खाउँ भाले शैलीमा पार्टी र गठबन्धन चल्यो’ कार्कीले भने ‘यस्ता प्रवृत्तिविरुद्ध मैले तरुण दलमा हुँदादेखि नै विरोध गर्दै आएको हुँ ।’   सबै मिलेर भागबन्डा गर्ने हो भने किन निर्वाचन गर्ने ? भन्ने प्रश्न गर्र्दै कार्कीले गठबन्धनले मिलेर खाए निर्वाचन गर्ने ६० अर्ब खर्च जोगिने टिप्पणी गरे । ‘म कांग्रेस हुँ तर नेताको मलद्वारलाई हरिद्वार भन्न सक्दिन’ उनले स्पष्ट पारे ।    भरतपुरमा हँसिया हथौडा, पोखरामा कलमलाई मतदान गर्न पार्टीले गरेको अपीललाई आफुले नमान्ने उनले बताए । पार्टीले दबाब दिएपछि उम्मेदवारी फिर्ता त लिनु हुन्न ? भन्ने प्रश्नमा कार्की भन्छन् ‘म गलत प्रवृत्तिविरुद्ध विद्रोह गरेर आएको मान्छे हो, मेरो अडान र मेरो उम्मेदवारी फिर्ता हुनेछैन ।’   निर्वाचन आयोगमा पुगेर उम्मेदवारी दिएका कार्कीको दर्ता नम्बर २ रहेको छ । 

पोखराः अटेरी अभियानका प्रवर्तक पोखरा १४ निवासी गनेस पौडेलले आज पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।   प्रस्तावक अप्सरा अधिकारी र समर्थक सरोज जिसीसहित निर्वाचन आयोगको कार्यालय पुगेर पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् ।    आयोगका अनुसार पौडेलमा सबैभन्दा पहिला उम्मेदवारी दर्ता गराएका हुन् । दर्ता नम्बर १ रहेको अटेरीले शुभसाइत पनि १ अंकलाई नै रोजेको छ । पौडेलका अनुसार दर्ता समय पूर्वान्ह ठिक ११ः११ बजे रहेको छ ।     

वालिङ, वैशाख ९ गते । स्याङ्जाका ७३ मतदान केन्द्र सुरक्षाका दृष्टिले अतिसंवेदनशील केन्द्रको सूचीमा परेका छन् । स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा जिल्लास्थित सुरक्षा समिति स्याङ्जाले जिल्लाका मतदान केन्द्रको वर्गीकरण गरेको हो ।   अतिसंवेदनशील, संवेदनशील र सामान्य संवेदनशील मतदान केन्द्रका रूपमा जिल्लाका मतदान केन्द्रलाई वर्गीकरण गरिएको छ । जिल्लाका १९९ मतदान केन्द्रमध्ये ७३ मतदान केन्द्र अतिसंवेदनशील सूचीमा परेका छन् । त्यस्तै, ७३ मतदान केन्द्र संवेदनशील र ५३ मतदान केन्द्र सामान्य रहेका छन् ।   २०७४ को स्थानीय तह निर्वाचनको अवस्था हेरेर मतदान केन्द्रको वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिनुभयो ।    “भौगोलिक विकटता, मतदान केन्द्रको सुरक्षा चुनौती र यातायातको सहज पहुँचका आधारमा मतदान केन्द्रलाई अतिसंवेदनशील केन्द्रका रूपमा वर्गिकरण गरिएको छ ।” पौडेलको भनाइ छ ।    जिल्लामा स्थानीयतहको निर्वाचन सम्पन्न गर्न आवश्यक सुरक्षा जनशक्ति अभाव छ । स्याङ्जामा एक हजार ६२४ म्यादी प्रहरी भर्ना गरिएको छ । म्यादी प्रहरीलाई १० दिनको तालिम दिएर परिचालन गर्ने अन्तिम तयारी गरिएको छ ।   सबै मतदान केन्द्रमा प्रमुख जिल्ला अधिकारी संयोजकत्वमा रहेको सुरक्षा समितिको टोली पुगेर सुरक्षा चुनौतीको अनुगमन गरिरहेकोको प्रशासनले जनाएको छ ।    निर्वाचनलाई स्वतन्त्र, भयरहित र शान्तिपूर्ण रूपमा अघि बढाउन जिल्ला सुरक्षा समितिले हरेक विकल्प अपनाउँदै आएको प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । कार्यालयका अनुसार संवेदनशीलतालाई आधार बनाएर सुरक्षाकर्मी खटाउने काम अन्तिम चरणमा पुगेको छ । ५ नगरपालिका र ६ गाँउपालिका गरी ११ पालिका रहेको स्याङ्जामा सबैभन्दा धेरै मतदानस्थल र मतदाता वालिङमा रहेका छन् । 

काठमाडौँ, वैशाख ४ गते । निर्वाचन आयोग र राजनीतिक दलका गतिविधि स्थानीय तह निर्वाचन केन्द्रित रहेकाले मुलुकको वातावरण निर्वाचनमय बनेको निर्वाचन आयोगको भनाई छ । राजनीतिक दलका पछिल्ला प्रत्येक बैठक, छलफल, अन्तरक्रिया र भेला निर्वाचनसम्बन्धी विषयमा केन्द्रित छ भने आयोगले निर्वाचनका लागि  आवश्यक सामग्रीको व्यवस्थापन र तालिम प्रशिक्षण करिब पूरा गरेको जनाएको छ । निर्वाचनसम्बन्धी गतिविधि र कार्यक्रम अब केन्द्रबाट प्रदेश हुँदै स्थानीय तहतर्फ उन्मुख भइसकेको आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले बताउनुभयो । राजनीतिक दलहरू उम्मेदवार सिफारिशको अन्तिम तयारीमा जुटेका छन् । केही दलले केही ठाउँमा उम्मेदवारबारे निर्णय गरिसकेका छन् भने केही दलले उम्मेदवार तय गर्न आन्तरिक छलफलमा व्यस्त छन् । आयोगले मुख्य निर्वाचन अधिकृत, निर्वाचत अधिकृत र जिल्ला निर्वाचन अधिकारीका लागि मुलुकका ८ स्थानमा निर्वाचन  सञ्चालन तथा व्यवस्थापन प्रशिक्षक प्रशिक्षण सम्पन्न गरिसकेको छ । आयोगले यसअघि विराटनगर, धुलिखेल, पोखरा र नेपालगञ्जमा गत चैत ३० गते र  जनकपुर, हेटौडा, बुटवल र धनगढीमा वैशाख २ गते प्रशिक्षण सम्पन्न गरिसकेको छ । राजनीतिक दलले पनि यसबीचमा स्थानीय तहमा भेला र प्रशिक्षणका अधिकांश कार्यक्रम पूरा गरिसकेका छन् । वैशाख ३० गते शुक्रबार देशका सबै स्थानीय तहमा एकै चरणमा हुने निर्वाचनका लागि निर्वाचन अधिकृतलाई गत चैत २९ गतेदेखि लागू हुनेगरी आयोगले नियुक्ति दिइसकेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । निर्वाचन सम्पन्न गर्न आयोगले आफ्ना सबै संयन्त्र परिचालन गरिसकेको उहाँको भनाई छ । निर्वाचन अधिकृतहरु कार्यक्षेत्रतर्फ प्रस्थान गरी पूर्वतयारीको काममा जुट्ने कार्य शुरु भइसकेको छ । दुर्गम जिल्लामा खटिएका कतिपय अधिकृत केन्द्रबाट त्यसतर्फ प्रस्थान गरिसकेको आयोगले जनाएको छ । तालिम प्रशिक्षण लिएका निर्वाचन अधिकृतले मुलुकका सबै स्थानीय तहमा वैशाख ८ गते विधिवतरुपमा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याउने कार्यक्रम रहेको छ ।  स्थानीय तह निर्वाचनका लागि  निर्वाचन अधिकृतको कार्यालयमा कम्तिमा नौ जनाका दरले मुलुकभर करिब २ लाखको संख्यामा कर्मचारी खटिएका छन् । आयोग, प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघको समन्वय र सहकार्यमा यसबीचमा सञ्चारकर्मीका लागि निर्वाचन आचारसंहितासम्वन्धी प्रदेशस्तरीय प्रशिक्षण सम्पन्न भएका छन् । निर्वाचन सफल बनाउन मिडियाको भूमिका महत्वपूर्ण रहने आयोगको बुझाई छ ।

काठमाडौँ: पाँच दलीय गठबन्धनले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाहरुका प्रमुख र उपप्रमुख पदमा उम्मेदवारको सिट बाँडफाँट टुङ्ग्याएका छन् ।   प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको गठबन्धनका शीर्षनेताको बैठकले सो सहमति गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गठबन्धन दलबीच कांग्रेसले काठमाडौँ, ललितपुर र विराटनगर महानगरपालिकाको प्रमुखमा तथा वीरगञ्ज, भरतपुर र पोखराको उपप्रमुखमा उम्मेदवारी दिने सहमति भएको छ ।   यसैगरी कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिकाको प्रमुखमा तथा जितपुर–सिमरा, घोराही र हेटौँडा उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिने बैठकको सहमति छ । नेकपा (माओवादी केन्द्र)का तर्फबाट भरतपुर महानगरपालिकाको प्रमुखमा र ललितपुर महानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिने सहमति भएको छ । यस्तै माओवादी केन्द्रले जितपुर–सिमरा र घोराही उपमहानगरपालिकाको प्रमुख तथा धरान र धनगढी उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिनेछ ।   गठबन्धनको अर्काे घटक नेकपा (एकीकृत समाजवादी)ले पोखरा महानगरपालिकाको प्रमुख तथा काठमाडौँ महानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिनेछ । एकीकृत समाजवादीले हेटाँैडा उपमहानगरपालिकाको प्रमुख तथा इटहरी, बुटवल र तुलसीपुर उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिने सहमति भएको छ ।   यस्तै जनता समाजवादी पार्टी नेपालले वीरगञ्ज महानगरपालिकाको प्रमुखमा र विराटनगर महानगरपालिकाको उपप्रमुखमा तथा जनकपुर उपमहानगरपालिकाको प्रमुख तथा कलैया र नेपालगञ्ज उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिने सहमति भएको छ । पाँचदलीय गठबन्धनले यसअघि जारी गरेको मापदण्ड, सहमतिको मर्म र भावनाअनुरुप सम्बन्धित समितिहरुको बैठक बसी अविलम्ब सिट बाँडफाँट तथा उम्मेदवारहरुको चयन गर्न निर्देश गरेको छ । साथै, सहमति बन्न नसकेको अवस्थामा पाँच दलीय गठबन्धन भित्रै मित्रवत् प्रतिस्पर्धा गर्न सकिनेसमेत समझदारी भएको छ ।   सो सहमतिमा प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचन्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गर्नुभएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्धारित मितिमै स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन हुने बताउनुभएको छ । जनकपुरधाममा आज आयोजित स्थानीय तह निर्वाचन–२०७९ ‘मिडिया अभिमुखीकरण’ कार्यक्रममा उहाँले अब निर्वाचनको मिति सार्न सक्ने अवस्था नरहेकाले निर्धारित समयमै निर्वाचन आयोगले स्वच्छ र निष्पक्ष निर्वाचन गराउने बताउनुभएको हो । । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनको मितिलाई तलमाथि वा अन्य तरिकाले सारेमा मुलुकमा दुर्घटना निम्त्याउन सकिने उल्लेख गर्दै निर्धारित समय वैशाख ३० गते नै निर्वाचन हुने र निर्वाचनबाट कसैले डराउन नहुने बताउनुभयो । निर्वाचनको क्रम भङ्ग गर्ने अवस्था नरहेको बताउँदै उहाँले स्थानीय तहको निर्वाचनसँगै यसै वर्ष प्रतिनिधिसभा, प्रदेशसभा, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसमेत सम्पन्न हुने दाबी गर्नुभयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनलाई लोकतन्त्रको सबैभन्दा ठूलो गहना भनिने गरेको उल्लेख गर्दै पछिल्लो समय निर्वाचन विपरित हुने खालको अभिव्यक्ति आइरहनु दुःखद् भएको जिकिर गर्नुभयो । निर्वाचन आचारसंहितालाई सामान्यरुपमा नलिन आग्रह गर्दै यसको उल्लङ्घन गरे कारबाही हुने र केही सँग स्पष्टीकरणसमेत सोधिसकेको जानकारी दिनुभयो ।