पोखरा: पोखरा महानगरपालिका वडा नं. ३२ लामेआहालमा सञ्चालित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयका लागि अद्वैत ज्ञान मार्ग शुक्लागण्डकी नगरपालिका वडा नं ४ दुलेगौडा तनहुँले एक लाख पाँच रुपैयाँ अक्षयकोष रकम सहयोग गरेको छ । राधाकृष्ण मन्दिर शान्ति आश्रममा आयोजित एक कार्यक्रमका बीच संस्थाका तर्फबाट उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि राधाकृष्ण मन्दिर शान्ति आश्रमका महन्त प्राज्ञ मुकुन्दशरण उपाध्यायले यस्ता सहयोगले गुरुकुलको सञ्चालनमा महत्वपूर्ण सहयोग पुग्ने बताउँदै सहयोगका प्रति आभार व्यक्त गर्नुभयो । सहयोगी एवम् सहभागीलाई स्वागत गर्दै राधाकृष्ण मन्दिर शान्ति आश्रमका सचिव एवम् विद्यालय व्यवस्थापन समितिका सदस्य घनश्याम खनालले गुरुकुलको सुव्यवस्थित एवम् दीगो सञ्चालनका लागि यस्ता सहयोगहरू आवश्यक भएको धारणा राख्नुभयो । कार्यक्रममा अद्वैत संस्थाका तर्फबाट अद्वैत ज्ञान मार्ग नेपालका बरिष्ठ सल्लाहकार सोमप्रसाद पौडेल, संरक्षक ठाकुरप्रसाद वाग्ले शास्त्री, अध्यक्ष सुवेदार डिलकुमार श्रेष्ठ, वेलचौतारा शाखा प्रमुख भगवती लामिछाने, कल्पवृक्ष शाखा सचिव कान्ता भट्टराईको उपस्थिति थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र रेग्मीको सभापत्वि एवम् विद्यालयका प्रधानाध्यापक प्रकाश उपाध्याय रेग्मीद्वारा सञ्चालित कार्यक्रममा अक्षयकोष सहयोगका लागि विद्यालय व्यवस्थापन समितिका सदस्य माधवशरण उपाध्यायले समन्वय गर्नुभएको थियो । उक्त अवसरमा विद्यालय व्यवस्थापन समितिका सदस्य विष्णुबहादुर बस्नेत, हरिराज घिमिरे लगायतको उपस्थिति थियो ।
पोखरा । पोखरा महोत्सवलाई सफल बनाउन पोखराका विभिन्न संघ संस्थाहरुले साथ दिने भएका छन् । आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने १३ औं पोखरा महोत्सवलाई सफल बनाउनका लागि आयोजना गरिएको संघ संस्थाहरुको बैठकले पोखरा महोत्सवलाई सफल बनाउनका लागि आ आफ्नो ठाँउबाट साथ र सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । पोखरा महोत्सवको उद्घाटन पूर्व पोखराको रंगशाला गेटदेखि आयोजना गरिने झांकी तथा र्यालीमा पोखरामा रहेका संघ संस्थाहरुले स्व स्फुर्त रुपमा सहभागी भइ महोत्सवको सोभा बढाउने समेत निर्णय गरेका छन् । सो अवसरमा वोल्दै सुमार्ग टोल बिकास संस्थाका अध्यक्ष तारा प्रसाद तिवारीले पोखरा महोत्सवको आयोजना गरि युनाईटेड क्लबले सामाजिक काम गरेकै कारण विगतका महोत्सवहरुमा समेत आफुहरुले साथ र सहयोग प्रदान गर्दै आइरहेको बताए । तेह्रौं संस्करणको पोखरा महोत्सवमा समेत आफ्नो टोल बिकास संस्थाबाट सहयोग गर्ने समेत तिवारीले प्रतिवद्धता ब्यक्त गरे । त्यस्तै हिमाल आमा समुहकी अध्यक्ष तारा सापकोटाले पोखरा महोत्सवमा आफुहरुको उल्लेख्य सहभागीता रहने बताइन् । पाटन बेसीका सम्झना गुरुङले महोत्सवलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न आफुहरुको तर्फबाट साथ र सहयोग रहने प्रतिवद्धता जनाइन् । सो अवसरमा वोल्दै युनाईटेड क्लबका संस्थापक अध्यक्ष तथा तेह्रौं पोखरा महोत्सव अतिथि ब्यवस्थापन उपसमिति संयोजक हिमालय बख्रेलले युनाईटेड क्लबले पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र पोखरामा खुल्ला चिडियाखाना निर्माणमा पहलकदमी सहित स्थापना कालदेखी पोखरा महोत्सवको आयोजना गर्दै १३ औं संस्करणमा आइपुग्दा चिडियाखाना निर्माणमा हाल सम्म ५८ लाख ८५ हजार चिडियाखाना निर्माणमा खर्च गरिएको बताए । हाल चिडियाखाना निर्माणको काम प्रदेश सरकार मातहतमा रहेको र सम्पूर्णले खबरदारी सहित खुल्ला चिडियाखाना निर्माणका लागि आवाज बुलंद गर्नुपर्नेमा जोड दिए । युनाईटेड क्लबले खुल्ला चिडियाखानाको अवधारणा सहित अगाडी बढेको भएतापनि हाल उक्त स्थानमा बन्यजन्तु उद्धार केन्द्रको रुपमा बिकसित भइरहेकाले उक्त कार्यप्रति खबरदारी आवश्यक रहेको उनको भनाइ छ । सो अवसरमा वोल्दै पोखरा महोत्सव झांकी र्याली तथा संघ संस्था ब्यवस्थापन उपसमिति संयोजक विष्णु कुमार गुरुङले पोखरा महोत्सवलाई सफल बनाउनका लागि पोखरामा रहेका विभिन्न संघ संस्था, टोल बिकास, आमा समुह, महिला समुह लगायतको महत्वपूर्ण भुमिका रहेको बताए । युनाईटेड क्लबका अध्यक्ष तथा तेह्रौं पोखरा महोत्सव मुल आयोजक समितिका संयोजक लोक बहादुर थापाले पोखरा महोत्सव पोखरेलीको महोत्सव भएकाले सम्पूर्ण पोखरेलीको साथ र सहयोग आवश्यक रहेको बताए । पोखरामा रहेका संघ संस्था, आमा समुह, युवा समुह, टोल बिकास संस्थाहरुको साथ र सहयोगले पोखरा महोत्सव आजको दिन सम्म आइपुगेको बताउदै अध्यक्ष थापाले तेह्राैं संस्करणको पोखरा महोत्सवलाई भब्य र सभ्य रुपमा सफल बनाउनका लागि समेत सम्पुर्ण पोखरेलीहरु समक्ष आग्रह गरे । युनाईटेड क्लबका महासचिव तथा तेह्रौं पोखरा महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा तेह्रौं पोखरा महोत्सव झांकी र्याली तथा संघ संस्था ब्यवस्थापन उपसमितिका सदस्यहरु उत्तम जोशी र गिता भण्डारी, प्रगतिशिल टोल बिकास संस्थाको अध्यक्ष अग्नि कुमार श्रेष्ठ, संगम टोल बिकास संस्थाका अध्यक्ष धनराज पौडेल लगायतले बोलेका थिए ।
पोखरा: पोखरामा क्रियाशिल बुद्धटोल युवा (बिटी) क्लबले आठौं विरेन स्मृति १८ औं बिटी कप खुल्ला फुटबल प्रतियोगिताको मिति घोषणा गरेको छ । क्लबका अध्यक्ष असिम थापाले पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आगामी माघ २२ गतेदेखि खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गर्ने गरी तयारी थालिएको जानकारी दिए । उनका अनुसार फुटबलको विकास गर्ने उद्देश्यसहित विगत लामो समयदेखि क्लबले फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । ‘पोखरामा निरन्तर हुने सेभेन ए साइड फुटबल प्रतियोगिताको लिस्टमा हाम्रो प्रतियोगिता पनि पर्छ । त्यसैले हामी १८ औं संस्करणसम्म निरन्तर आइपुगेका छौ, अध्यक्ष थापाले भने, ‘यस प्रतियोगिताले फुटलबको विकासमा थप सघाउ पुग्ने विश्वास लिएका छौं ।’ अध्यक्ष थापाले माघ २२ गतेदेखि प्रतियोगिता सुरु गर्ने बताउदै पुरस्कार राशी र समापन मिति तय गरिने बताए । ‘हाम्रो प्रतियोगिता पोखराको चर्चित र लोकप्रिय प्रतियोगिता हो, अध्यक्ष थापाले भने, ‘त्यसैले यसमा सहभागि हुन धेरै टिमहरु इच्छुक हुनुहुन्छ । उहाँहरुको सहभागिताकै आधारमा समापन मिति पनि तय हुनेछ । र पुरस्कार राशी पनि पहिलेकोमा केही बढाएर पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्छौ ।’ गत वर्ष भएको प्रतियोगिताको विजेतालाई नगद १ लाख ७१ हजार १ सय ११ रुपैयाँ र उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिएको थियो । यसअघिको संस्करणको उपाधि लामागाउँ गुम्बाले जितेको थियो ।
पोखरा: तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८/९ स्थित घलेलमा जारी २६ औं घलेल ल्होछार उत्सवमा आयोजित घोडा दौडमा हितमान गुरुङ च्याम्पियन बनेका छन् । लुम्रेको पाउँखोलादेखि घलेलसम्मको दुरी घान्द्रुकका गुरुङले ८ मिनेट २७.७४ सेकेन्डमा पार गर्दै च्याम्पियन बनेका हुन् । यस्तै गरीका विवेक पुन (८ मिनेट ३१.५७ सेकेन्ड) द्वित्तिय बने । भने, घान्द्रुकका विनोद थापा (८ मिनेट ५०.५० सेकेन्ड) तृतीय बने । प्रथम, द्वित्तिय र तृतीय बनेका उनीहरुले क्रमश नगद रु ४० हजार, २० हजार र १० हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । उनीहरुलाई २३ गते उत्सवको समापनका दिन पुरस्कृत गरिने क्लबका अध्यक्ष विराज गुरुङले जानकारी दिए । घोडा दौडमा कुल २३ टिमको सहभागिता रहेको थियो । यस्तै जारी उत्सवमा पुरुषतर्फको भलिबल प्रतियोगिता अन्तरगत दोस्रो चरणका खेलहरु जारी रहेको क्लबका सचिव अमृत गुरुङले जानकारी दिए । उनका अनुसार पुरुष भलिबलतर्फ कुल ३४ टिमको सहभागिता रहेको छ । यसअघि भएको महिलातर्फ एलिट भलिबल प्रशिक्षण केन्द्र नदीपुर र हर्स राइडर समूह छोम्रोङ फाइनलमा प्रवेश गरिसकेको छ । भने, प्रौढतर्फ युनाइटेड किङ्स क्लब र छारमेन्दो तक्रो फाइनलमा पुगेको भलिबल खेल संयोजक गणेश बिसीले बताए । उनका अनुसार फाइनल खेल आगामी २३ गते हुने छ ।
पोखरा: प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले खेल संघहरुले दर्ता, नविकरण, अध्यावधिक र साधारण सभा नगर्ने संघहरुलाई कार्वाही गर्ने चेतावनी दिएका छन् । गण्डकी प्रदेश तेक्वान्दो संघको वार्षिक साधारण सभाको शनिबार उद्घाटन गर्दै उनले निर्धारित मिति यही पुष २० गते भित्र दर्ता, नविकरण, अध्यावधिक र साधारण सभा नगर्ने संघहरुलाई कार्वाही गर्ने चेतावनी दिएका हुन् । समय भित्र दर्ता, नविकरण, अध्यावधिक र साधारण सभा नगर्ने संघका प्रतिनिधिहरुले खेल संघको लेटर प्याड तथा छाप समेत प्रयोग गर्न नपाउने उनले जनाए । यदि कसैले कानूनको पालना नगरेको खण्डमा सरकारी छाप कृते दस्तखत अन्र्तगत मुद्धा समेत हाल्ने सदस्य सचिव शर्माले बताए । करिब २८ वटा खेलसंघहरु प्रदेशमा आबद्ध भएको उनले बताए । खेलकुद प्रबद्र्धन र खेलाडी उत्पादनमा खेल संघ, क्लवहरु सहित केही संस्थाहरु रहेको उल्लेख गर्दै उनले खेलकुदको विकासको लागि संघहरुसंगै बसेर जिम्मेवारी दिने बताए । खेलकुद क्षेत्रमा बजेट कम भएको दाबी गर्दै उनले जनप्रतिनिधिहरुले यस बिषयमा खासै आवाज उठाउन नसकेको गुनासो गरे । नेपाली खेलकुदमा न्यून बजेटको कारणले नै सोचे अनुरुप विकास हुन नसकेको सदस्य सचिब शर्माले बताए । खेलकुदमा विशेष गरी मार्शल आर्ट खेलका केही संघहरुमा आर्थिक परादर्शिता नभएको र ग्रेडिङमा समेत मनपरी रुपमा प्रशिक्षार्थी खेलाडीहरु संग रकम उठाएको विषयमा परिषदको गम्भिर ध्यानाकर्षण भएको उनले बताए । सदस्य सचिब शर्माले अबको सम्पूर्ण तयारी १० औं राष्ट्रिय खेलकुदका लागि अघि बढ्नु पर्ने जनाउँदै गण्डकीले पदक प्राप्त गर्ने गरी तेक्वान्दोलाई आफ्नो तयारी सुरू गर्न आग्रह गरे । कार्यक्रममा नेपाल तेक्वान्दो संघका उपाध्यक्ष हरिश्वर पोख्रेलले तेक्वान्दो खेलको विकासका लागि डोजाङहरुको स्थापना हुनुपर्नेमा जोड दिए । स्वस्थ नागरिक उत्पादन संगै घर–घरमा तेक्वान्दो पु¥याउन डोजाङहरुको स्थापना आवश्यक रहेको उनको भनाई थियो । गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संघका उपाध्यक्ष लक्ष्मी पाण्डे, महासचिब रमेश पौडेल, कोषाध्यक्ष माइकल कर्माचार्यले बोलेका थिए । कोषाध्यक्ष कर्माचार्यले आर्थिक वर्ष २०८०÷०८१ मा आम्दानीतर्फ २९ लाख ६२ हजार ९ सय २८ र खर्चतर्फ २५ लाख २३ हजार ८ सय ६४ रहेको जानकारी दिए । बाँकी रहेको ४ लाख ३९ हजार ६४ रुपैसा यस बर्ष भुक्तानी गर्न बाँकी रहेको सेवा प्रदायकहरुलाई भुक्तानी गरिने भएको कोषाध्यक्ष कर्माचार्यले बताए । संघका अध्यक्ष गुरूङले पोखरा रंगशालामा निर्माण हुन लागेको तेक्वान्दो प्रशिक्षण हल निर्माण सम्पन्न गर्न सबैको सहयोगको अपेक्षा गरे ।
पोखरा: ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने नाराका साथ सुरु भएको २० औं संस्करणको लेखनाथ महोत्सवमा शनिबार दर्शकहरुको उत्साहजनक उपस्थिति रहेको थियो । शनिबार बिदाको दिन समेत परेकाले महोत्सवमा अवलोकन गर्ने दर्शकहरुको संख्यामा वृद्धि भएको हो । महोत्सवको तेस्रो दिन शनिबार २५ हजार दर्शकहरुले अवलोकन गरेको र १ करोड बराबरको कारोबार भएको महासचिव एवं महोत्सव प्रचार प्रसार समितिकी संयोजक जानुका पराजुली अधिकारीले जानकारी दिईन । महोत्सवमा शनिबार लोकदोहोरीतर्फ बालचन्द्र बराल, शान्तीश्री परियार, ध्रुव जिसी, तुलसा जिसी, नेत्र खड्का, सरिता लगायतले प्रस्तुती दिएका थिए भने हाँस्यव्यङ्ग्य तर्फ पवन खतिवडा ‘म्याकुरी’को प्रस्तुतीले दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेको थियो । यस्तै बेलुकापख लाईभ कन्सर्टमा रचना रिमाल र सुनिल गिरीको प्रस्तुतीले स्टेज तताएको थियो । शुक्रबार विद्यालयस्तरीय नृत्यतर्फ त्रिवेणी पब्लिक मावि पोखरा–२७, एपेक्स प्रि स्कुल पोखरा–३० र लेकसिटी एकेडेमी मण्टेश्वरी पोखरा–२६ ले नृत्य प्रस्तुत गरेका थिए । महोत्सवमा आइतबार लोकदोहोरी कलाकारहरु श्याम राना, भुमिका गिरी, शंकर विरही गुरुङ, बिन्दा परियार, टेक क्षेत्री, कमला गैह्रे, शिवहरी ढुंगाना र उमादेवी खनालको प्रस्तुती रहनेछ भने बेलुका लाईभ कन्सर्टमा सहिमा श्रेष्ठ, सन्तोष बस्याल र र्यापर शुसिलले प्रस्तुती दिनेछन । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने महोत्सवको सह–आयोजकमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश रहेका छन भने प्रवद्र्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेका छन ।
पोखरा: पोखरा महानगरपालिका वडा नम्बर १३ ले आयोजना गरेको साहित्य पर्व २०८१ विभिन्न साहित्यिक गतिविधि गर्दै सकिएको छ । पोखरा महानगरपालिकामा नै पहिलो पटक साहित्य र संस्कृतिलाई प्रोत्साहन गर्न आयोजना गरिएको कार्यक्रममा साहित्य संवाद, कविता, गीत, चित्रकला प्रदर्शनी गर्दैै सकिएको हो । ३३ वटा वडा रहेको पोखरा महानगरपालिकामा १३ नम्बर वडाले यो प्रयास थालेको हो । डा. अभि सुवेदीले वर्तमानले देखेको र भविष्यले खोजेको शीर्षकमा विद्वत् प्रवचन दिएर सुरु भएको ‘साहित्य पर्व २०८१’ बाबा राणाको गीतसँगै सकिएको थियो । ‘जब शब्दहरु जीवनका रंगहरु बन्छन्...’ नारासहित सुरु भएको कार्यक्रममा प्रमुख वक्ता डा. अभि सुवेदीले पोखरा १३ मा जन्मिएका लोककवि स्व. अलि मियाँ र कास्कीका पहिलो पत्रकार जगन्नाथ सिग्देललगायतलाई सम्बोधनमै सम्झिएका थिए । डा. सुवेदीले राणाकालिन समयको साहित्य र भविष्यमा हुन सक्ने आर्टिफिसियल ईन्टेलिजेन्ससम्मका विषय उठान गरे । पछिल्लो समय साहित्य र नेपाली राजनीतिको कुनै आकार नभएको विषय पनि डा. सुवेदीले उठाएका थिए । राजनीतिक भविष्यले पनि साहित्यलाई सिधैं असर पार्ने उनको तर्क थियो । भविष्यले चूनौति र समस्या दिने भएकाले त्यसलाई चिरेर अघि बढनु अर्को चूनौति रहेको उनले बताए । ‘राजनीतिज्ञहरुमा साहित्य प्रतिको चाख बढि भयो भने त्यो खतरनाक हुन्छ,’ उनले भने । कार्यक्रमको पहिलो सेसनमा ‘समाज रुपान्तरणमा साहित्यको भूमिका’ विषयमा साहित्यकार सरुभक्तसँग पत्रकार भरत कोइरालाले भलाकुसारी गरेका थिए । उनीहरुले समाज परिवर्तनका लागि गीतm गजल, कविता, कथा जस्ता साहित्यका विधाले खेल्ने भूमिकाका बारेमा चर्चा गरेका थिए । ‘वडा नम्बर १३ इतिहास, वर्तमान र भविष्य’ विषयमा पत्रकार प्रकाश ढकाल र विश्व सिग्देलले छलफल गरेका थिए । नारी स्वरहरुको सेसन साहित्यकार सरस्वती श्रेष्ठले सञ्चालन गरेकी थिइन् । जसमा काजल पराजुली, रजनी परियारलगायतले कविता वाचन र गायिका सलोमी गुरुङले गीत प्रस्तुत गरेकी थिइन् । ‘लोककवि अलिमियाँका लोकगीत तथा तीर्थ श्रेष्ठका केही कविता’ शिर्षकमा पत्रकार शोभाकान्त सिग्देलले तीर्थ श्रेष्ठसँग बसेर स्व. मियाँलाई सम्झेका थिए । भने, अन्तिम सेसनमा पत्रकार दुर्गा अधिकारीले बाबा राणासँग ‘बाबा राणाको सांगितिक जीवनको यात्राँसँगको संवाद गरेका गरेकी थिइन् । कार्यक्रममा साहित्यिक गतिविधिसँगै ¥याप गीत, लोकगीतसमेत समेटिएको थियो । कार्यक्रमस्थल नजिकै वडाभित्रका कलाकारहरुको चित्रकला प्रदर्शनी पनि गरिएको थियो । पोखरा १३ का वडाध्यक्ष किरण बरालले आफ्नो पूर्ववत घोषणा र प्रतिवद्धता अनुरुप साहित्य पर्व गर्न गरिएको सुनाए । अर्को वर्ष यस कार्यक्रमलाई अझ राम्रो ढंगबाट निरन्तरता दिने उनले बताए । कार्यक्रम संयोजक राजेन्द्र भण्डारीले पोखरा १३ को कार्यक्रमको सिको अरु वडाले पनि गर्नुपर्ने बताएका थिए । आगामी दिनमा अन्य वडामा पनि यस किसिमको साहित्यिक कार्यक्रम गर्दै जानुपर्नेमा उनको जोड थियो ।
पोखरा: सहनशील महिला समूह पोखरा ५, राधाकृष्ण टोलमा शनिबार भएको निशुल्क रक्त परीक्षण शिविरमा १ सय २४ जनाको सित्तैमा जाँच गरिएको छ । पोखराको गिरी कम्प्लेक्समा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी)सम्बन्धी निशुल्क जाँच गरिएको हो । कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारीले मधुमेह र टिजीका समस्या हुने कारण, निदान र उपचार पद्धतिबारे प्रकाश पारे । उनले उचित खानपान, नियमित व्यायम, बेला बेलामा चेकजाँच गरे यी रोग लाग्ने सम्भावना कम हुने र लागि हाले पनि बेलैमा उपचार गर्दा अनेक कठिनाइबाट बच्न सकिने उल्लेख गरे । पोखरा ५ का कार्यवाहक वडाध्यक्ष गोविन्दप्रसाद पराजुलीले यस खालका शिविरले नागरिकलाई स्वास्थ्यको महत्व बुझाउँदै टोल टोलमै गुणस्तरीय स्वास्थ्य सेवासमेत पु¥याउने उल्लेख गरे । गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणित रेफरेन्स ल्याब युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थले स्थापना कालदेखि नै सेवासँगै सामाजिक उत्तरदायित्व निर्वाहसमेत गर्दै आएको उल्लेख गरे । युआरएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले अहिले प्रदेशका १५ शाखाबाट सेवा प्रदान गरिरहेको जनाउँदै चाँडै केही जाँचहरु थप्ने योजनासमेत सुनाए । युआरएलले विभिन्न संघ, संस्थाको सहकार्यका आयोजना गरेको यो एक सय ८७ औ शिविर हो । यी शिविरमा अहिलेसम्म दुई लाखभन्दा बढीले सित्तैमा सेवा लिइसकेका छन् । सहनशील महिला समूहकी अध्यक्ष विजयलक्ष्मी कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष रमा कोइराला, लक्ष्मणप्रसाद कोइराला, पूर्वअध्यक्ष सुमित्रा कोइराला, सचिव सुनिता लामिछाने कोइराला लगायतले बोलेका थिए ।
पोखरा: पोखरा महानगर भित्र सञ्चालन हुने कक्षा ८ को परीक्षालाई थप व्यवस्थित गरिने भएको छ । होम सेन्टरका रूपमा विद्यार्थीहरूले शैक्षिक सत्रको अन्तिममा दिने वार्षिक परीक्षा आफ्नै विद्यालयमा दिने व्यवस्थालाई परिमार्जन गरी परीक्षा केन्द्रहरू नै तोकेर परीक्षा सञ्चालन गरिने भएको हो । शुक्रवार बसेको सरोकारवाला सहित महानगर शिक्षा समितिको बैठकले यस्तो निर्णय गरेको महानगर शिक्षा समितिका अध्यक्ष समेत रहनुभएका नगर प्रमुख धनराज आचार्यले बताउनुभयो । उहाँका अनुसार महानगर क्षेत्रमा सञ्चालन गरिने कक्षा ८ को विद्यमान परीक्षा प्रणालीलाई परिमार्जन गरी थप व्यवस्थित बनाउन लागिएको हो । यसले विद्यार्थीहरूलाई एसइई परीक्षाका लागि समेत मार्गदर्शन प्रदान गर्ने उहाँको विश्वास छ । ‘हालको परीक्षा सञ्चालन प्रणालीले विद्यार्थीहरूलाई परीक्षाका सम्बन्धमा कुनै प्रकारको नयाँ अनुभूति मिल्ने अवस्था रहेन, यो आफ्नै विद्यालयमा तल्लो तहका नियमित परीक्षाका रूपमा जस्तै सीमित भयो, उहाँले भन्नुभयो, अव यसलाई उनीहरूको निकट भविष्यमा हुने विद्यालय तहको निकै महत्त्वपूर्ण मानिने एसइई परीक्षाको पूर्व अभ्यासका रूपमा विकास गर्नु पर्दछ ।, ताकी विद्यार्थी मानसिक रूपमा पनि त्यसका लागि तयार होस् ।’ यसो गर्दा कक्षा ८ का विद्यार्थीहरूलाई परीक्षाका सम्बन्धमा नयाँ अनुभूति पनि हुने र, यो एसइई परीक्षाको पूर्व अभ्यासका रूपमा समेत महत्त्वपूर्ण हुने नगर प्रमुख आचार्यले बताउनुभयो । यसले अन्तर विद्यालय विद्यार्थी घुलमिल, नयाँ साथीहरूसँग उनीहरूको भेटघाट, नवीन वातावरणमा सामञ्जस्ययता, आफ्नो विद्यालय र अन्य विद्यालयको शैक्षिक तथा भौतिक अवस्थाको अनुभूति लगायतमा विद्यार्थीहरूलाई नयाँ सिकाइ प्रदान गर्ने विश्वास गरिएको महानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले बताउनुभयो । उहाँका अनुसार महानगरपालिकाले विद्यार्थीहरूको सिकाइ प्रवर्द्धनका लागि विभिन्न किसिमका रचनात्मक उपायहरू अवलम्बन गर्दै आइरहेको । सोही अनुसार आधारभूत तहको परीक्षा प्रणालीमा सुधार सहित यसलाई समयानुकूल बनाउन लागिएको उहाँले बताउनुभयो । शिक्षा समितिको बैठकले परीक्षा सञ्चालनका लागि विद्यार्थीहरूलाई पायक पर्ने गरी ३३ वटा परीक्षा केन्द्रहरू उपयुक्त हुने प्रस्ताव समेत गरेको छ । तर, विद्यालय शिक्षाका सरोकारवाला (प्याव्सन, एन प्याव्सन, युनिप्स र पेसागत संघसंगठन) हरूसँग आवश्यक छलफल तथा परामर्श गरी यसलाई टुङ्ग्याइने छ । परीक्षा केन्द्र तोक्दा सामान्यतया परीक्षा सञ्चालन प्रणालीको मापदण्डका आधारमा विद्यार्थीहरूलाई पायक पर्ने गरी नै तोकिएको समितिले जनाएको छ । यस वर्ष पोखरामा १० हजार ५२२ जना विद्यार्थीहरू कक्षा ८ को परीक्षामा सहभागी हुनेछन् । जसमा ६ हजार ५ सय संस्थागत विद्यालयका रहेका छन् भने, ४ हजार २२ जना विद्यार्थी सामुदायिक विद्यालयका रहेका छन् । महानगरपालिकामा ८ हजार बढी विद्यार्थीहरू सामुदायिक विद्यालयहरूमा थपिएका छन् भने, यसलाई व्यवस्थित गर्न हरेक सामुदायिक विद्यालयहरूमा बाल विकासका कक्षाहरू अनिवार्य गरिएको छ । यसले महानगरपालिका भित्रको शिक्षालाई व्यवस्थित गर्न र आधारभूत तहको शिक्षाको पहुँचमा सबै विद्यार्थीहरूको सहभागिता सुनिश्चित गर्न मद्दत पुगेको छ ।

