पोखरा:  गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संघीयतालाई बलियो बनाउन प्रदेश बलियो बनाउन आवश्यक रहेकोमा जोड दिनुभएको छ ।   गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा आयोजित समारोहमा प्रमुख अतिथ...

पोखरा:   पोखरा उद्योग वाणिज्य संघको ३५ र्आं महाधिवनशनमा अध्यक्ष पदका उम्मेदवारी दिएका गोकर्ण कार्कीले आर्थिक चुनौतिले व्यवसायिहरु मारमा परिरहेको बताएका छन् ।    संघको अधिवेशन नजिकिदै गर्दा यतिबेला बजारमा चुनावी माहोल बढिरहेको छ । अस्वस्थका कारण घरदैलो अभियानमा हिड्न नसकेका कार्कीले आर्थिक चुनौतिको सामना गर्दै व्यवसाय प्रर्वद्धनका लागि एक अर्कासँग हातेमालो गर्न अत्यावश्यक रहेको बताएका हुन् ।  आफुले यी सबै पिर मर्का बुझेको र सुत्केरी हुँदाको व्यथा जसरी सुत्केरी हुनेलाई मात्र थाहा हुने बताउँदै बाँकीले बिचरा भन्ने बाहेक अन्य व्यथा थाहा नहुने उनले सुनाए । अहिले संघमा समेत आफु उद्योगी, व्यवसायी भएकाले सबै व्यथा थाहा भएको उनले बताए ।  ‘आर्थिक चुनौतिहरुको सामना गरिरहेको बेलामा नयाँ–नयाँ अवसरहरुको खोजी गर्दै व्यवसायी सदस्यहरुको मनोभाव बुझेर तालिम, सेमिनार, प्रशिक्षण, व्यावसायिक प्रवद्र्धन र नेटवर्किङको फ्रेममा रहने वातावतरण बनाउने छु’ कार्कीले भने, ‘एउटा सुत्केरीको व्यथा सुत्केरी भएका महिलालाई मात्रै थाहा हुन्छ ।  अरुलाई त्यो बारेमा थाहा हुँदैन । अहिले संघमा पनि त्यस्तै भएको छ । उद्योगी, व्यवसायी, व्यापारीको कुरा बुझ्ने भनेकै हामी उद्योगी, व्यापारी र व्यवसायीले नै हो । हिजो जसरी मलाई यो स्थानसम्म पु¥याउनुभयो अब एक पटक अवसर दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।’  हालका वरिष्ठ उपाध्यक्ष समेत रहेका कार्कीले पोउवा संघ उद्योग व्यावसायीहरुको छाता संगठन भएकाले नेतृत्व तहमा बसेर काम गर्ने चाहानाका साथै हालको आर्थिक चुनौतिका लागि के कस्ता रणनीति अपनाउनुपर्छ भन्ने बारेमा भिजन तयार गरि गरेको बताए ।  देशमा कोरोना कहरपश्चात आर्थिक समस्या धेरै आएको र आफु पनि एक उद्यमी भएकाले यसबारेमा सबै कुरा थाहा भएकाले त्यसको समाधान गर्नका लागि अध्यक्षमा उम्मेदवारी दिएको बताए । कोरोनापश्चात देशको अर्थतन्त्र उकासिन सकिरहेको छैन ।  युवाहरु विदेशीने र देशमा लगानी गर्ने वातावरण नहुँदा देश उधोँ गतिमा गइरहेको बताउँदै कार्कीले यसको समाधानका लागि समग्र उद्योग, व्यापारी, व्यवसायि, पर्यटन, कृषिको क्षेत्रमा काम गर्न आवश्यक रहेको सुनाए ।   

पोखरा:   पोखरा उद्योग वाणिज्यको ३५ औं महाधिवेशनमा उपमहासचिव पदका उम्मेदवार बालकृष्ण कोइरालाले पोखरा र पोखराको व्यवसायीहरुको लागि केही गर्न पर्छ भन्ने उद्धेश्यसहित आएको बताएका छन् ।  पोखरा उद्योग वाणिज्य संघको ७ पदाधिकारी मध्ये २ पदाधिकारीमा मात्र निर्वाचन हुने पक्का छ । ७ पदाधिकारी मध्ये अध्यक्ष र उपमहासचिव पदमा मात्र निर्वाचन हुनेछ भने, बाँकी तीन उपाध्यक्ष, महासचिव र कोषाध्यक्षमा पदमा निर्विरोध भएका छन् ।  अर्जुन पोखरेल प्यानलबाट उपमहासचिव पदका उम्मेदवार कोइरालाले आगमी दिनमा पोखरा उद्योग वाणिज्य संघमा व्यवसायीहरुको आवज बुलन्द गर्ने गरी टिमसहित आएको बताए ।  ‘पोखरा उद्योग वाणिज्य संघमा हिजो के भयो भएन भनेर अग्रजहरुले बाटो र कोरेका चिजहरु हेरी सकेका छौं, उम्मेदवार कोइरालाले भने, ‘यो संस्थाले पोखराको गरिमालाई बचाएको छ, त्यसैले संघमा व्यवसायीहरुको आवाज बुलन्द गर्न, समस्याको समाधानमा ध्यान दिन, पोखराको विकास र व्यवसायीहरुमा केही गर्न पर्छ हामीले नगरे कसले गर्छ भनेर नै टिम सहित आएका छौं ।’ उनले पर्यटकीय नगरीको अस्तित्व जोगाउने जिम्मेवारी समेत पोखरा उद्योग वाणिज्य संघमा समेत रहेको बताए ।  ‘पर्यटकीय नगरीमा हामीले गर्नुपर्ने र आफ्नो पोखराको अस्तित्व जोगाउन हाम्रो पनि काम कर्तव्य, अधिकार र जिम्मेवारी छ, उनले भने, ‘हामी केही गर्न पर्छ भनेर बजार झरेका छौं, पेशा र व्यवसायलाई कसरी सफल बनाउने भनेर चुनौती हामीमा छ, त्यो चुनौतीसँगै नेतृत्वदायी भुमिकामा बसेर व्यवसायलाई सहज र सुलभ गर्न सकिन्छ भन्ने विश्वास, भरोसाको साथ अर्जुन पोखरेल प्यानलबाट टिमसहित आएका छौं ।’

पोखरा:   पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेवाताल र जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि प्रभावकारी समन्वयमा जोड दिनुभएको छ।  महानगरपालिकाको समन्वयमा अनुसन्धानात्मक संस्था इनोभेटिभ भिजन प्रा।लिले आयोजना गरेको ‘फेवाताल र त्यसको जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि पारिस्थिततिकीय सेवा शुल्क भुक्तानी संयन्त्र स्थापनाको लागि सरोकारवाालाहरुको कार्यशाला’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।  ‘अनियन्त्रित मानवीय क्रियाकलापका कारण फेवाताल गेग्रयानहरुले भरिँदै गएको छ, माथिल्लो तटीय क्षेत्र र यसका जलाधार क्षेत्रहरूबाट बगेर आउने गेग्र्यान तालमा थुप्रिएका छन्, नगर प्रमुख आचार्यले भन्नुभयो, यी अनियन्त्रित मानवीय क्रियाकलापका परिणामहरू हुन्, यसलाई समयमा नै रोक्न सकिएन र सबै सरोकारवालाहरू बिच आवश्यक समन्वय हुन सकेन भने भविष्यमा आउन सक्ने गम्भीर वातावरणीय जोखिमको सामना गर्नु पर्ने हुन्छ।’ फेवातालको संरक्षण भविष्यको पुस्ताका लागि पनि महत्त्वपूर्ण हुने भन्दै उहाँले यसमा चनाखो बन्न सबै पक्षलाई आह्वान समेत गर्नुभयो ।  फेवातालको संरक्षणका लागि तल्लो तटीय क्षेत्रले माथिल्लो तटीय क्षेत्रको समग्र वातावरण संरक्षण र जीविकोपार्जन लगायत क्षेत्रमा योगदान गर्नु पर्ने उहाँले बताउनुभयो ।  ‘फेवाताल देखाएर माथिल्लो जलाधार क्षेत्रमा बसोबास गरिरहेका बासिन्दाहरूलाई विभिन्न किसिमका अङ्कुशहरू लगाउने अनि त्यसको फाइदा सधैभरी तल्लो तटीय क्षेत्रले मात्र लिने कुरा प्राकृतिक न्यायको सिद्धान्तका हिसाबले पनि मिलेको छैन, उहाँले भन्नुभयो, अव यसको व्यवस्थापनका लागि पारिस्थितिकीय सेवा शुल्क भुक्तानीको बलियो संयन्त्र स्थापना गरी सन्तुलन कायम गर्नै पर्दछ।’ यसो गर्न सके मात्र फेवातालको संरक्षण र विकासको दायित्व सवैपक्षमा बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो।   फेवातालमा बर्सेनि बगेर आउने ठुलो मात्राको गेग्र्यान रोक्नका लागि तालको माथिल्लो क्षेत्रमा मड ड्याम निर्माण गर्ने योजनामा महानगरपालिका रहेको उहाँले बताउनुभयो । यसअघि फेवातालमा मिसिने विभिन्न खोलाहरूमा निर्माण गरिएका शिल्टेसन तथा चेक ड्यामहरूले समेत फेवातालमा आउने गेग्रयानहरुलाई रोक्न मद्दत गरेको उहाँले बताउनुभयो।  फेवाताल र त्यसको जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि पारिस्थिततिकीय सेवा शुल्क भुक्तानी संयन्त्र स्थापनाको औचित्यका विषयमा अध्ययन टोलीका नेता केशव खनाल, फेवातालमा पारिस्थिततिकीय सेवा शुल्क भुक्तानीका क्षेत्रमा यसअघि भएका प्रयासहरूको बारेमा दिल बहादुर भट्टराईले आफ्नो प्रस्तुति राख्नु भएको थियो । कार्यक्रममा रुपातालमा तयार पारिएको पारिस्थिततिकीय सेवा शुल्क भुक्तानी संयन्त्रको बारेमा समेत प्रस्तुत गरिएको थियो। कार्यक्रमका सहभागीहरूले फेवातालको संरक्षणका लागि प्रभावकारी पारिस्थिततिकीय सेवा शुल्क भुक्तानी संयन्त्र स्थापनामा जोड दिएका छन्। सरोकारवाला पक्षहरूले यस प्रकार संयन्त्रको स्थापना भए पारिस्थिततिकीय प्रणालीको सन्तुलन कायम गर्न सकिने बताएका छन् । पर्यावरणको संरक्षण र वातावरणीय सन्तुलनले मात्र फेवातालको भविष्यलाई दिगो बनाउन सकिने उनीहरूको तर्क छ । वातावरण जोखिम विश्लेषण विना निर्माण गरिएका ग्रामीण सडकहरू, परम्परागत कृषि प्रणाली, अव्यवस्थित विकास निर्माण, बढ्दो प्रदूषण, जलकुम्भी लगायतका मिचाहा प्रजातिको विकास, जलाधार क्षेत्रको संरक्षण अभाव लगायत कारण फेवाताल पुरिँदै गएको विभिन्न अध्ययनहरूले देखाएका छन् ।

पोखरा:  पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले संघको अध्यक्ष हुने पालो आफ्नै रहेको बताएका छन् । प्राकृतिक न्यायको सिद्धान्तअनुसार आफ्नै पालो रहेकाले सबैको साथ र सहयोग चाहिएको बताएका छन् ।  संघको आगामी ३५ औं महाधिवेशनमा आफुले अध्यक्ष पाउनुपर्ने भएपनि अध्यक्षमा अर्का प्रतिद्धन्द्धी समेत रहेका कारण वरिष्ठ उपाध्यक्ष भएकाले आफ्नो पालो अब अध्यक्ष बन्ने रहेको उनको भनाइ छ ।  ‘प्राकृतिक न्यायको सिद्धान्त तथा पालो पनि मेरो नै भएकोले अध्यक्ष पदमा उम्मेदवारी प्रस्तुत गरेको छु’ कार्कीले भने, ‘ पोखराको जेठो संस्था पोखरा उद्योग वाणिज्य संघसँगका मेरो अनुभवलाई नेतृत्वमा बसेर कार्यन्वयन गर्ने पुनीत मनसाय एवम् व्यवसायिक हक हितका लागि क्रियाशिल मेरो अभियानलाई यहाँहरूको अमुल्य मत प्रदान गरी व्यावहारीक कार्यान्वयनको लागी मलाई आगामी कार्यकालको नेतृत्व गर्ने सुअवसर प्रदान गर्नुहुनेछ भन्ने पूर्ण आशा र विश्वास लिएको छ ।’  कार्की २०५५ सालमा संघमा साधारण सदस्यको रूपमा प्रवेश गरी कार्यसमितिमा उद्योग उपाध्यक्ष २ कार्यकाल देखि वरिष्ठ उपाध्यक्षसम्मको भूमिका निर्वाह गरेका छन् ।  यो स्थानसम्म आम उद्योगी, व्यवसायीले पु¥याएको भन्दै कार्कीले भदौ २८ र २९ गते संघको ३५ औं अधिवेशनमा पुुनः आफुलाई मत दिई विजयी गराइदिन अनुरोध समेत गरे । कार्की अहिले डेंगीका कारण घरमै आराम गरिरहेका छन । केही समय फिस्टेल अस्पतालमा उपचार गराएका उनी विस्तारै निको हुँदैछन् ।

पोखरा:     मौलिक संस्कृतिको जगेर्ना एवं पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखराको फेवातालस्थित वाराहीघाटमा आयोजना गरिएको तीज गीत महोत्सव तथा प्रतियोगितामा पोखरा महानगरपालिका–६ बैदामको सञ्जीवनी दिदीबहिनी समूह पहिलो भएको छ । उक्त प्रतियोगितामा सहभागी भएका २२ समूहबीच प्रतिस्पर्धा गराइएको थियो ।  आयोजक संस्था पर्यटन व्यवसायी महिला सङ्घ (टेवान) पोखराका अध्यक्ष कमला गिरीका अनुसार विजयी सञ्जीवनी दिदीबहिनी समूहलाई रु ३० हजारसहित पुरस्कृत गरिएको छ ।  यस्तै प्रतियोगितामा द्वितीय भएको सहनशील दिदीबहिनी समूह पोखराले रु २० हजार तथा तृतीय भएको अमरसिंह दृष्टिविहीन समूह पोखराले रु १५ हजार पुरस्कार प्राप्त गरेको छ । सहभागी २२ समूहमध्ये १२ समूहलाई रु पाँच हजारका दरले सान्त्वना पुरस्कार प्रदान गरिएको अध्यक्ष गिरीले बताउनुभयो ।  टेवानद्वारा आयोजना गरिएको दोस्रो संस्करणको उक्त तीज गीत महोत्सवको उद्घाटन शुक्रबार गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले गर्नुभएको थियो । त्यस्तै प्रतियोगिताअन्तर्गत रस्साकस्सीमा समावेशी आमा समूह विजयी भएको छ भने दुई दिनसम्म निरन्तर आफ्नो नाच प्रस्तुत गर्ने इन्दिरा अधिकारी पुरस्कृत हुनुभएको छ ।  पोखरालाई पर्यटन राजधानी घोषणा गरेसँगै यहाँको पर्यटन प्रवर्द्धन गर्न पर्यटन व्यवसायी महिला सङ्घ ९टेवान० पोखराले यस्तो महोत्सव सुरु गरेको हो । टेवानका अध्यक्ष गिरीले मौलिक संस्कृतिको जगेर्नाका साथै पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यस वर्ष दोस्रो संस्करणको तीज गीत महोत्सव आयोजना गरिएको बताउनुभयो ।

पोखरा:   पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पदका उम्मेदवार गोकर्ण कार्कीले देशमा अहिले व्यापार÷व्यवसाय गर्ने अवस्था नभएको बताएका छन् ।  अधिकांश युवा विदेशीने र स्वदेशमै केही गरौं भन्ने युवा समेत बैंक र वित्तीय क्षेत्रमा आएको समस्याका कारण व्यवसाय छाडेर जानुपर्ने स्थिति आएको र यसको अन्त्य गर्नुअत्यावश्कय रहेको बताएका छन् ।   ‘बैंक, वित्तीय क्षेत्रका समीयाहरुको उचित निकासको लागि नियामक निकायहरुसँग प्रतिफल आउने गरी काम गर्छु’ कार्कीले भने, ‘हिजो बैंकको चर्को ब्याजरदका कारण आम उद्योगी, व्यापारी, व्यवसायीले निकै कष्ट भोग्नुपरेको छ । मेरै नेतृत्वमा बैंक ब्याजदरको विरुद्धमा विभिन्न ध्यानाकषर्ण गर्ने काम भयो अब नेतृत्वमा बसेर अझ सशक्त हुने चाहाना छ ।’ पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन निर्वाचन समितिको आयोजनामा भएको उम्मेदवार परिचय कार्यक्रममा बोल्दै अध्यक्ष पदका उम्मेदवार कार्कीले सो कुरा बताउँदै आफुले उम्मेदवारी दिएपछि डेंगी लागेको र आराम गर्ने स्थितिमा रहेपनि जिम्मेवारी छाड्न नसकेर मैदानमा होम्मिएको बताए ।  देशमा भएका ठुला राजनैतिक घटनाक्रममा समेत संघ विचलित नभई आफ्नो उदेश्यमा अडिग रहेको सुनाउँदै उनले संघ उद्योगी र व्यवसायी हितका लागि मात्रै नभइ सामाजिक सेवामा समेत हरेक क्षण तल्लिन भएको स्पष्ट पारे ।  बरिष्ठ उपाध्यक्ष समेत रहेका कार्कीले २०५५ सालमा पोखरा उद्योग वाणिज्य संघमा साधारण सदस्यको रुपमा प्रवेश गरेका कार्कीले कार्यसमितिमा उद्योग उपाध्यक्षमा दुई कार्यकाल बिताउँदै हाल वरिष्ठ उपाध्यक्षको भूमिका निर्वाह गर्दै गर्दा आम उद्योग, व्यवसायीहरुको विश्वास र साथले नै सफल भएको बताए ।  विभिन्न संघ संस्थामा रहँदाको अनुभव र देश विदेशको भ्रमणबाट सिकेका कुरालाई नेतृत्व तहमा बसेर आम पोखराको उद्योग, व्यवसायी संगै आर्थिक चलायमान बनाउने ध्येय आफ्नो रहेको उनी सुनाउछन् ।  ‘उद्योगीहरुको रक्षा, हकहित र सुख दुखमा साथ अनि औद्योगिक र व्यवसायिहरुको उत्थानका साथै सहज र शान्तिपूर्ण व्यवसाय गर्न सक्ने वातावरण बनाउनुनै मेरो लक्ष्य रहेको छ’ उनले भने, ‘कुनैपनि तहबाट राज्यको कानुनमा रहेर उद्योग–व्यवसायिहरुलाई यो वा त्यो वहानामा हतोतसाहित बनाइनु हुँदैन भन्नेमा म सचेत छु ।’ संघमा अबको पालो आफ्नै भएकाले पनि अध्यक्षमा उम्मेदवारी दिएको उनले सुनाए ।  २०११ सालमा स्थापित संघ उद्योगि र व्यवसायिको आस्थाको धरोहर मात्र नभई पोखरोको संवृद्धिको सम्वाहक रहेको उनको भनाइ छ ।  संघको वर्तमान प्रतिष्ठा, स्वरुप र क्रियाशिलताका लागि अग्रजहरुले गरेको आर्थिक नैतिक र भावानात्मक रुपले पु¥याएको ठुलो योगदानको चर्चा गर्दै संस्थागत असल कार्यलाई निरन्तरता दिदैँ शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, औद्योगिकरण र उत्पादनलाई प्रवद्र्धन गर्दै बजार व्यवस्थापन गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।   

पोखरा:    पोखराको जेठो संस्था पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन यही भदौ २८ र २९ गते हुँदैछ । यस महाधिवेशनबाट नयाँ कार्यसमिति चयन हुने भएकाले नेतृत्वका लागि अर्जुन पोखरेल प्यानलसहित चुनावी प्रचारप्रसार लागेका छन् । अध्यक्षका प्रत्यासी अर्जुन पोखरेल वर्तमान समितिका पदाधिकारी र सदस्यहरुलाई समेटेर प्यानल बनाएर व्यवसायीहरुको घरदैलोमा पुगिरहेका छन् । पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन निर्वाचन समितिले शनिबार पोखरामा उम्मेदवार परिचयात्मक कार्यक्रम समेत आयोजना गरेको थियो ।  उक्त उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्षका उमेदवार अर्जुन पोखरेलले हारबाट विचलित नभई आफ्नो प्रतिवद्धताहरु पुनः लिएर व्यवसायी माँझ आएको बताए ।  ‘मलाई स्मरण छ, ३४ औं महाधिवेशनबाट निर्वाचन परिणाम घोषणा हुँदै गर्दा मैले यही फोरमबाट भनेको थिए’, उमेदवार पोखरेलले भने, ‘म हारबाट बिचलित हुँदिन, पुनः एकचोटी आफ्नो अनुभवलाई संघमा नेतृत्व गर्छु भन्ने प्रतिवद्धता लिएको थिए त्यसै अनुरुप आज तपाईहरु समक्ष उभिएको छु ।’ उनले संघलाई राम्रो बनाउन टीम चाहिने भएकाले त्यो टिम आफुहरुले लिएर आएको समेत बताए ।‘हिजो ३४ औं महाधिवेशनमा प्रतिस्पर्धामा रहेका साथीहरु म सँगै लामो समय सहकार्य गरेका साथीहरु थिए’, उनले भने, ‘विगतको हारको अनुभवलाई हेर्दै गर्दा निर्वाचनमा विजयी हुन र संघलाई राम्रो टीम चाहिने भएकाले वर्तमान समितिका पदाधिकारी र सदस्यहरुलाई लिएर निर्वाचनमा होमिएको छु, आशा छ सबै व्यवसायीहरुले हाम्रो टीमलाई विश्वास गर्नुहुनेछ ।’ उनले पोखरा उद्योग वाणिज्य संघ र स्थानीय सरकार पोखरा महानगरपालिकाबीच सहकार्य र समन्वय नहुँदा त्यसको असर व्यवसायीहरुले भोग्न परेको समेत बताए ।  ‘हिजोका दिनमा पोखरा उद्योग वाणिज्य संघ पोखराको विकासका निम्ति छलफलको थलो बनेको थियो, तर अहिले तीनै तहको सरकारसँग सहकार्य र समन्वय हुन सकेको छैन’, उनले भने, ‘सरकारसँगको सहकार्य र समन्वय नहुँदा पोखराको विकाससँगै व्यवसायीहरु धरापमा परेका छन्, त्यसैले थलिएको पर्यटन र व्यवसायलाई माथि उठाउन हामी टिमसहित आएका छौं ।’ भदौं २८ र २९ गते हुने पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशनमा अर्जुन पोखरेल प्यानलसहित १६ बुँदे प्रतिवद्धतापत्रसहित व्यवसायीहरुको घरदैलोमा पुगिरहेका छन् ।  अर्जुन पोखरेल प्यानलबाट उत्तममान बुद्धाचार्य (वरिष्ठ उपाध्यक्ष), दिनेशचन्द्र बास्तोला (उद्योग उपाध्यक्ष), बलराम आचार्य (उपाध्यक्ष वाणिज्य), शोभा गौतम (महासचिव), मनोजकुमार श्रेष्ठ (कोषाध्यक्ष) पदमा निर्विरोध भएका छन् ।  यस्तै कार्यसमिति सदस्यहरुमा बन्दना केसी (कर्पोरेट सदस्य), एकनारायण गौतम (औद्योगिक सदस्य), राम कँडेल (कर्पोरेट सदस्य) मा निर्विरोध भएका छन् । उनीहरुलाई निर्वाचन समितिले निर्विरोध घोषणा गर्न बाँकी छ । अर्जुन पोखरेल प्यानलबाट निर्विरोध भएका पदाधिकारीहरुले व्यवसायीहरुको समस्या समाधान र सुस्ताउँदै जान थालेको पर्यटन र व्यवसायलाई चलायन बनाउन आफुहरु लागि पर्ने बताउँदै एकल रुपमा नभएर टीमबाट नै समस्याको समाधान हुने भएकाले प्यानलबाट १६ बुँदे प्रतिवद्धता पत्र लिएर आएको बताएका छन् । अर्जुन पोखरेल प्यानलबाट अध्यक्षमा अर्जुन पोखरेल, उपमहासचिवमा बालकृष्ण कोइराला रहेका छन् । यस्तै कार्यसमिति सदस्यहरुमा जीवन प्रकाश श्रेष्ठ, टिकाराम सुवेदी (माधव), दुधमान गुरुङ (आशिष), देवेन्द्र प्रजु, प्रेम प्रसाद सुवेदी, भीम गौतम, यादव प्रसाद पोखरेल, ललित बहादुर कुँवर, लेखनाथ सुवेदी र सौगात थापाको उम्मेदवारी छ ।

पोखरा:   तीज अवसरमा नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा भएको २६ औं संस्करणको लामाचौर तीज महोत्सव भव्यरुपमा सम्पन्न भएको छ । संस्थाको २८ औं वार्षिक समारोहबीच लामाचौरको इन्द्रराज्यलक्ष्मी मावि प्रांगणमा तीन दिनसम्म भएको महोत्सवको अन्तिम दिन शुक्रबार हजारौं दर्शकको भीड लागेको थियो । महिलाहरुको महान् पर्व हरितालिका तीज पनि भएको शुक्रबार गाउँगाउँबाट मानिसहरु महोत्सवस्थलमा ओइरिएको आयोजकले जनाएको छ । राष्ट्रिय कलाकार सम्झना भण्डारी, दुर्गेश थापा र एलिना रायमाझीले विभिन्न प्रस्तुतिमा स्टेज तताए । दुर्गेश थापाले ‘हामी पनि नाँच्नुपर्छ बीच्चबीच्चमा’ गाउँदा होस् वा सम्झना ‘बत्ती बाल्नै पर्दैन यो गाउँमा’ गाउँदा दर्शक छमछमी नाचेर साथ दिए । २० टिमले भाग लिएको अन्तरमहिला समूहगत खुला तीज गीत प्रतियोगितामा सक्षम अभियान नेपाल प्रथम भयो । लामाचौरको शिवालय तमु समाज दोस्रो, महिला स्वास्थ्य स्वयंसेविका समाज तेस्रो र महिला समाज कल्याण आमा समूह सान्त्वना भए । प्रथमलाई ५० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई २० हजार र सान्त्वनालाई १० हजार प्रदान गरिएको संस्थाका पूर्व अध्यक्ष बुद्धिबहादुर खत्री क्षत्रीले जानकारी दिए । अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगितामा मेरिगोल्ड बोर्डिङ स्कुल प्रथम भएको छ । प्रगति इङ्लिस बोर्डिङ दोस्रो तथा सरस्वती विद्याश्रम तेस्रो भयो । रिभरडेल बोर्डिङ, बेसलाइन एकेडेमी र अल्फा इङ्लिस बोर्डिङ स्कुल सान्त्वना भए । गुरुकुल विद्यासदनले उत्कृष्ट भेषभूषाको पुरस्कार जितेको छ ।  लोकनृत्यमा प्रथम, दोस्रो, तेस्रो र सान्त्वनाले क्रमशः ४०, २५, १५ र ५ हजार पाए । उत्कृष्ट भेषभूषा प्रस्तुत गर्ने गुरुकुलले ५ हजार जितेको प्रचार संयोजक दिनेश भण्डारीले बताए । महोत्सवमा राखिएका औद्योगिक तथा व्यापार प्रदर्शनीका स्टलमा पनि किनमेलको उस्तै भीड थियो । आयोजकले तीजसँग सम्बन्धित विभिन्न गतिविधि गर्ने भएकोले दर्शकको आकर्षण बढेको आयोजकको दाबी छ । आयोजकले ख्यातिप्राप्त राष्ट्रिय कलाकार सम्झना भण्डारी, अस्मिता डल्लाकोटी, दुर्गेश थापा, दीपक खड्का, वसन्त विश्वकर्मा, सरस्वती लामिछाने, प्रकाश पराजुलीलगायतलाई उतारेको हो । यस्तै, शिक्षा, युवा उद्यमशीलता विकास र खेलकुद क्षेत्रमा योगदान दिनेलाई सम्मानित भए । सम्मानित हुनेमा सामुदायिक विद्यालयको विकासमा अतुलनीय योगदान दिएकोमा मिलन केसी (शिक्षातर्फ), कञ्चन क्यापिटलका संचालक विमल गुमाजू (युवा उद्यमशीलतातर्फ) र महिला राष्ट्रिय भलिबल टिम कप्तान अरुणा शाही (खेलकुदतर्फ) छन् । उनीहरुलाई गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापालगायतले सम्मानित गरे । समापन समारोहमा स्वागत प्रथम उपाध्यक्ष एवं प्रचार संयोजक दिनेश भण्डारीले गरे । संचालन सचिव हरिबहादुर थापा र सहसचिव शोभा बानियाँले गरे । अध्यक्षको आसनबाट संस्थाका अध्यक्ष स्वागतसिंह भण्डारीले संस्कृतिको जगेर्ना एवं खेलकुदको विकास गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको बताए । महोत्सवको मुख्य आकर्षण राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता थियो । महिलातर्फ न्यू डायमण्डलाई ३–१ सेटमा हराउँदै एफिएफले उपाधि जितेको छ । पुरुषतर्फ विभागीय एपिएफल र नेपाल पुलिसबीचको खेल लाइट प्रोटेस्टका कारण स्थगित भयो । शनिबार बिहान ११ बजे उक्त खेल हुनेछ । महिलातर्फ विजेताले १ लाख ५० हजार, उपविजेतालाई १ लाख, तेस्रोलाई ५० हजार नगद पुरस्कार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।  एपिएफकी जस्ना महतो बेस्ट सेटर, कविता भट्ट सर्भर, यमुना बराइली डिफेन्डर बने । डायमण्डकी सुमित्रा रेग्मी ब्लकर र सलिना बुढामगर स्पाइकर घोषित भए । एपिएफकी पुजा चौधरीले मस्ट भ्यालुयबल प्लेयरको उपाधि चुमिन् । पुरुषतर्फ भोलि ११ बजे फाइनल हुने  पुरुषतर्फ विभागीय एपिएफल र नेपाल पुलिसबीचको खेल लाइट प्रोटेस्टका कारण स्थगित भयो । शनिबार बिहान ११ बजे उक्त खेल हुनेछ ।  यस्तै पुुरुषतर्फ तेस्रो स्थानका लागि भएको खेलमा ट्राभल इन्क्वाईरी गलकोटले गण्डकी प्रदेशलाई सोझो सेटमै हराउँदै तेस्रो स्थान हासिल गरेको छ । यस अघि लिग चरणको खेलमा गण्डकीले गलकोटमाथि ३–२ सेटमा हराएको थियो । गलकोटले २७–२५, २५–२२ र २५–२२ ले हराउँदै ५० हजार एक सय ११ रुपैयाँ प्राप्त ग¥यो ।   

पोखरा:   सातौं संस्करणको मिस मगर नेपाल–२०२४ को अफिसियल एयरलाइन्स पार्टनरमा यति एयरलाइन्स र ट्राभल पार्टनरमा लिटिल पोखरा ट्राभल्स रहने भएको छ ।  एसटी क्रियसन म्यानेजमेन्टको आयोजना तथा नेपाल मगर संघ कास्कीको संरक्षकत्वमा आयोजना हुने मिस मगर नेपालको अफिसियल एयरलाइन्समा यति एयरलाइन्स र ट्राभल पार्टनरमा लिटिल पोखरा ट्राभल्स रहने भएको हो ।  निट डेन्टल केयर प्रिजेन्ट्स सातौ संस्करणको मिस मगर नेपालको अफिसियल एयरलाइन्स पार्टनरको रुपमा यति एयरलाइन्सका प्रतिनिधि राम लामिछाने र मिस मगर नेपालका अध्यक्ष एमबी आस्था मगरले सम्झौता पत्रमा हस्ताक्षर गरे ।  यस्तै मिस मगर नेपालको ट्राभल पार्टनरमा लिटिल पोखरा ट्राभल्स एण्ड ट्रेकिङ प्रालि रहने भएको छ ।  मिस मगर नेपालको अफिसियल ट्राभल पार्टनरमा लिटिल पोखरा ट्राभल्स एण्ड ट्रेकिङ प्रालिका निर्देशक फरेन्द्र थापामगर र मिस मगर नेपालका अध्यक्ष एमबी आस्था मगरले सम्झौता पत्रमा हस्ताक्षर गरे ।  पोखरा–१७ स्थित होटल ग्राण्डमा भोलि (शनिबार) फिनाले हुने टिम संयोजक प्रियंका गर्बुजामगरले जानकारी दिईन् ।  टिम संयोजक गर्बुजामगरका अनुसार निट डेन्टल केयर प्रिजेन्ट्स सातौ संस्करणको मिस मगर नेपालको फिनालेका लागि अन्तिम ११ प्रतिस्पर्धीहरुले प्रशिक्षण लिइरहेका छन् । उनका अनुसार भोलि हुने मिस मगर नेपालको सातौं संस्करणको फिनालेमा खुस्माका नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरीको समेत सहभागिता हुनेछ ।  असोक थापा मगरले निर्माण गरेको चलचित्र खुस्मा असोज ३ गतेदेखि प्रर्दशनमा ल्याउने तयारी अनुसार भोलि हुने मिस मगर नेपालको फिनालेमा उनीहरुले रुकुम मैकोटमा निर्माण भएको चलचित्र खुस्माको प्रचारप्रसार गर्नेछन् ।  एसटी क्रियसन म्यानेजमेन्टको आयोजना तथा नेपाल मगर संघ कास्कीको संरक्षकत्वमा आयोजना हुने कार्यक्रम तयारी अन्तिम चरणमा पुगेको निर्देशक सुरज थापामगरले जानकारी दिए ।  मिस मगर नेपालका टिम संयोजक गर्बुजामगरका अनुसार अन्तिम प्रतिस्पर्धीहरुले करिब १ महिनासम्म सिकेका कुराहरुलाई ग्राण्ड फिनालेमा प्रस्तुत गर्दैछन् । त्यसैको आधारमा मिस मगर नेपाल चुनिनेछ ।   सुस्मिता पुनमगर, विनु रानामगर, दिवा पाइजामगर, कविता थापामगर, दिक्षा थापामगर र उमा पुनमगरको कोरियोग्राफी रहने मिस मगर नेपाल २०२४ को अन्तिम प्रतिस्पर्धीका रुपमा दिपिका आलेमगर (रामेछाप) आशिका गर्बुजामगर (बेगखोला, म्याग्दी), अनुजा पुनमगर (तंग्राम, बाग्लुङ) नरिशा पुनमगर (मुदी, म्याग्दी), सरिता थापामगर (मन्थली, रामेछाप), माया दर्लामीमगर (वालिङ, स्याङ्जा), रश्मि आलेमगर (गौशाला, महोत्तरी), जानकी राजकोटीमगर (बर्दीबास, महोत्तरी), अश्मिता बुढामगर (जेल्बाङ, रोल्पा), कृष्टीना पुनमगर (दग्नाम, म्याग्दी) र जेरुशा सारुमगर (काठमाण्डौं) रहेका छन् । उक्त कार्यक्रमलाई सफल बनाउन विभिन्न संघ तथा संस्थाहरुले साथ दिएका छन् । सो संस्थाहरुमा निट डेन्टल केयर प्रा.लि, आइवा एजुकेशन कन्सलटेन्सी, लिटल पोखरा ट्राभल्स एण्ड ट्रेकिङ्ग प्रा.लि, युमे जापानिज ल्याङव्येज , सोल फेशन, परिचय एड्भटाईजिङ्ग, त्रिपुरा लाउन्च, मुग्लान रेण्टुरेन्ट लगायतको सहयोग रहेको छ । यस्तै मिडिया पार्टनरमा सुनगाभा न्यूज, फेवा टेलिभिजन र सोसल मिडिया पार्टनरमा मगर संसार फोटो ग्यालरी रहेको छ । सातौ संस्करणको मिस मगर नेपाल–२०२४ को फिनाले ग्राण्ड होटलमा भोलि शनिबार दिउँसो २ बजेबाट शुभारम्भ हुनेछ ।