मोरङ: मोरङको बेलबारी १ भेडाटोल बस्ने ६० वर्षीय बमबहादुर लिम्बूले श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहालका अनुसार मङ्गबार राति १ः४५ बजे बमबहादुरले ४५ वर्षीया श्रीमती गीता लिम्बूलाई धारिलो हतियार (दाउ)प्रयोग गरी हत्या गरेका हुन् । बेलबारी–१ कि शर्मिला राईको घरमा विगत चार वर्षदेखि भाडामा बस्दै आएका लिम्बूले श्रीमतीमाथि दाउ प्रहार गरेपछि स्थानीयले प्रहरीलाई सूचना गरेका थिए । नजिकै रहेको प्रहरी पुग्दा गीताको मृत्यु भइसकेको थियो । प्रहरीका अनुसार श्रीमतीको हत्यापछि सोही खुकुरीले आफ्नो घाँटीमा रेटेका बमबहादुर लिम्बु गम्भीर अवस्थामा घटनास्थलमा भेटिएका थिए । प्रहरीले तत्काल उद्धार गरी बमबहादुरलाई उपाचारका लागि नोबेल अस्पताल मेडिकल कलेज विराटनगर पठाइएको थियो । घाँटीमा गहिरो चोट लागेका लिम्बू घटनास्थलमा नै बोल्न नसक्ने अवस्थामा थिए । लिम्बूको उपचारका क्रममा बुधबार बिहान ३ः२० बजे मृत्यु भएको प्रहरीको भनाइ छ । स्थानीयका अनुसार श्रीमान श्रीमती बिच मनमुटाव भइरहने गरेको थियो । श्रीमतीलाई दाउ प्रहार गरेपछि बमबहादुरले छोरा योन्जन लिम्बूलाई दाउ प्रहार गरेका थिए । तर उनी भागेर बाँचेका थिए । दुबै शव पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगरमा राखिएको छ ।
पोखरा: पाेखरामा तेस्रो संस्करणको ‘स्टार्स समर क्याम्प २०८०’ हुने भएको छ । वार्षिक परीक्षापश्चात फूर्सदमा रहेका बालबालिकालाई लक्षित गरेर स्टार्स स्टुडियो नेपाल र स्टार्स फाउन्डेसन नेपालको संयुक्त आयोजनामा यो कार्यक्रम हुन लागेको हो । यही चैत्र १९ गतेदेखि चैत्र २८ गतेसम्म पोखरामा सञ्चालन हुने क्याम्पले बालबालिकाको व्यक्तित्व तथा नेतृत्व विकास गर्ने अवसरका साथै नयाँ साथीहरुसँग घुलमिल हुने र रमाउने अवसर प्राप्त गर्ने कार्यक्रम संयोजक जसमाया गुरुङ जसुले बताइन् । ‘समर क्याम्पमा बालबालिकाले व्यक्तिगत एवं सिर्जनात्मक सिकाईको बारेमा बुझन् पाउनेछन्, यसका अलावा शिक्षामुलक ज्ञान लिदैँ साथीहरुबीच आत्मियता तथा आत्मविश्वास बढाउदै आत्मनिर्भर बन्न सिक्नेछन्’ उनले भनिन् । बालबालिकामा सामाजिक सीप हस्तान्तरण गरि उनीहरुमा व्यक्तित्व एवं नेतृत्व विकास गराउने उद्धेश्यले आयोजना गरिएको कार्यक्रममा सिट सिमित हुने भएकोले सहभागी बन्न इच्छुकले नाम टिपाउन सक्ने आयोजक संस्थाकी अध्यक्ष समेत रहेकी गुरुङले जनाइन् । क्याम्पमा हुने नयाँ प्रतिभा पहिचान, सामुहिक कार्य, रमाइलो वातावरण तथा बाहिरी अनुभव लगायतले उनीहरुलाई आगामी दिनमा सफलता प्राप्त गर्न मद्दत गर्ने उनको विश्वास छ । क्याम्पमा सहभागी बालबालिकाले फेस पेन्टिङ, योगा, नाटक, गायन, नृत्य, संगीत, सेल्फ डिफेन्सको लागि तेक्वान्दो, कँराते, स्विमिङ सहित अन्य रमाइला इन्डोर तथा आउट डोर गेम खेल्न पाउनेछन् । स्टोरी टेलिङ, पब्लिक स्पिकिङ, कल्चरल फोटोसुट, बिबिक्यु नाइट, आर्ट काफ्ट ड्रइङ, मोमो बनाउने सिप मात्र नभएर विभिन्न पर्यटकिय ठाउँ घुम्न अवसर समेत उनीहरुलाई मिल्नेछ । १० दिने कार्यक्रममा आयोजकले यातायात, होस्टेल, खानाखाजा, स्वास्थ्यकर्मी एम्बुलेन्स तथा अवधिभर चाहिने सम्पूर्ण सामाग्रीको व्यवस्था मिलाएको आयोजकले जनाए । नेपाली तथा विदेशी प्रशिक्षकले बाबुनानीलाई रमाइलो माहोलमा ज्ञान हस्तान्तरण गर्ने उनीहरुको भनाई छ । यो कार्यक्रम यसअगाडि पोखरामा दुईपटक आयोजना भैसकेको छ । स्टार्स स्टुडियो नेपाल नेपाली मौलिक लोकसंस्कृति र सांस्कृतिक नृत्यहरुको संरक्षण र प्रर्वद्धनका लागि क्रियाशिल संस्था हो । यसको कार्यालय न्युरोड पोखरामा रहेको छ । लोक नृत्यको प्रशिक्षणका साथै विभिन्न जातजातीको मौलिक भेषभुषाको संरक्षण, फिल्म निर्माण, इभेन्ट मेनेजमेन्ट लगायतको क्षेत्रमा यसले काम गरिरहेको छ । यस्तै स्टार्स फाउन्डेसन नेपालले विभिन्न सामाजिक कार्य गर्दै आएको छ । क्याम्प पोखरा लेकसाइड खहरेको स्ट्रिट नम्बर ‘२१ ए’ मा रहेको प्यासन नेपालमा सञ्चालन हुनेछ ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ समीकरण प्रधानमन्त्रीका रूपमा आफ्नो पदका कारणले नबनेको स्पष्ट पारेका छन्। सरकारमा सहभागी पाँच राजनीतिक दलको ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प’ सार्वजनिक गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले समृद्धिको यात्रामा जानुपर्छ भन्ने उद्देश्यका साथ नयाँ समीकरण बनेको स्पष्ट पारे । ‘जनतामा सुशासन र समृद्धिको आकाङ्क्षालाई तीव्रताका साथ गुणात्मक तवरले सम्बोधन गर्ने ऐतिहासिक आवश्यकतासँग यो समीकरण बनेको छ’, उनले भने, ‘नयाँ काम सुरु भएका छन्, जनताको आवाजलाई सम्बोधन गर्नेगरी काम गर्नुपर्छ ।’ उनले जनतामा नयाँ आशा जगाउने र राष्ट्रको बृहत्तर हितलाई केन्द्रमा राखेर नयाँ समीकरण बनेको स्पष्ट पारे । प्रधानमन्त्री दाहालले सबै मन्त्री, सचिव एवं कर्मचारीलाई पछिल्लो परिस्थितिअनुसार काम गर्न निर्देशन दिए ।
काठमाडौं : पाँच दलीय सत्ता गठबन्धनले सरकारको न्यूनतम नीतिगत प्राथमिकता तथा साझा संकल्प सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट मंगलबार अपरान्ह सरकारको न्यूनतम साझा संकल्प सार्वजनिक गरिएको हो। न्यूनतम नीतिगत प्राथमिकता तथा साझा संकल्पमा आर्थिक शिथिलता अन्त्य गर्ने, संघीयता पूर्ण कार्यान्वयनका लागि कानुन तथा सुशासनमा सुधार गर्नेगायतका विषयलाई प्राथमिकतामा राखिएको छ। यस्तै, यस्तै शिक्षा, स्वास्थ्य र रोजगारीको विषय पनि मुख्य रुपमा समेटिएको छ। शान्ति प्रक्रियाका बाँकी काम सहमतिका आधारमा टुंग्याउने भनिएको छ। न्यूनतम नीतिगत प्राथमिकता तथा साझा संकल्प तयार गर्न सत्ता गठबन्धनले १० सदस्यीय कार्यदल बनाएको थियो। उक्त कार्यदलले गत शनिबार नै मस्यौदा शीर्ष नेताहरूलाई बुझाएको थियो। यो पनि पढ्नुहोस निराशालाई चिर्दै जनतामा आशा र भरोसा पैदा गर्ने प्रतिबद्धता(पूर्ण पाठसहित)
काठमाडौं: सरकारमा सहभागी पाँच राजनीतिक दलले ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ सार्वजनिक गरेको छ । प्रधानमन्त्री कार्यालयमा मङ्गलबार आयोजित कार्यक्रममा ‘निराशा चिर्दै, भरोसा जगाउँदै’ लैजाने प्रतिबद्धतासहित न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो । फागुन २९ गते पाँच राजनीतिक दलबीच नयाँ राजनीतिक समीकरण भएसँगै न्यूनतम कार्यक्रम तयार गर्न कार्यदल बनाएको थियो । पाँच दलबीच भएको सात बुँदे सहमतिका आधारमा कार्यदलले ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ तयार गरेको हो । नीति तथा कार्यक्रममा संविधानको मर्म र भावनाविपरीत राज्यसञ्चालनमा देखिएका विचलन रोकी सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न विद्यमान आर्थिक शिथिलता, दण्डहीनता एवम् व्यावसायिक निराशालाई चिर्दै जनतामा राज्यप्रति आशा र भरोसा पैदा गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । विभिन्न १३ मुख्य क्षेत्रलाई प्राथमिकता राखिएको छ । सरकारले आर्थिक शिथिलता अन्त्य गर्ने, वित्तीय संस्थालाई विसङ्गती मुक्त बनाउने, सार्वजनिक संरचना सुधार गर्ने, छरितो सेवा प्रवाहसँगै सुशासन कायम गर्ने, काम–रोजगारी–उद्यमशीलता र स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षालाई व्यवस्थित गर्ने, भौतिक पूर्वाधार विकास र अन्तर–निकाय समन्वयलाई प्रभावकारी तुल्याउने, ऊर्जा विकास एवम् सूचना र सञ्चार नीतिगत व्यवस्था गर्ने विषय न्यूनतम कार्यक्रममा उल्लेख गरिएको छ । त्यसैगरी भूमि व्यवस्था, वन–वातारण, जलवायु अनुकूलन र विपद् व्यवस्थापन, युवा र खेलकुद, पर्यटन, संस्कृति तथा सामाजिक सद्भाव, महिला सहभागिता, सशक्तिकरण र सामाजिक समावेशीता, सङ्क्रमणकालीन न्याय र दिगो शान्ति र राष्ट्रिय हितको रक्षा र स्वतन्त्र तथा असंलग्न परराष्ट्र नीतिलगायत विषय समेटिएको छ । कार्यक्रममा पाँच राजनीतिक दलका शीर्ष नेताहरू प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको उपस्थिती रहेको छ ।
काठमाडौ: क्यास एपलगायतका एप्लिकेसन मार्फत हारजीत हुने गरी अनलाइन क्यासिनो खेलाएको अभियोगमा प्रहरीले तीन महिला र एक पुरुष गरी चारजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–७ चाबहिल बस्ने काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० घर भएकी २६ वर्षीया सरिता लामा, सिन्धुपाल्चोकको थाङपाल गाउँपालिका–८ घर भएकी २५ वर्षीया सारङगा गुरुङ, काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ बेसीगाउँ बस्ने खोटाङको बाहुनीडाँडा गाउँपालिका–६ घर भएकी २३ वर्षीया पुर्णीमा राई र काठमाडौँको गोकर्णेश्वर–४ नामगेल बस्ने नुवाकोटको शिवपुर गाउँपालिका–१ घर भएका २८ वर्षीय तेम्बा लामा रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न खेलमा अनलाइनमार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको बाजी राख्न लगाई सट्टाबाजी गराई खेल खेलाउने गरेको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरिएको हो । पक्राउ परेकाहरुका साथबाट अनलाइन ‘गेम’ खेलाउन प्रयोग भएका ल्यापटप पाँच र मोबाइल ११ सहित उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । चारै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रवक्ता रेग्मीले बताउनुभयो ।
पोखरा: पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई मातृ शोक परेको छ। मेयर आचार्यकी आमा जमुना आचार्यको मंगलबार निधन भएको हो । मंगलबार बिहान उपचारको क्रममा चरक मेमोरियल अस्पतालमा ७२ वर्षको उमेरमा आचार्यको निधन भएको मेयरको सचिवालयले जनाएको छ । आचार्यको पार्थिव शरिरलाई मंगलबार नै अन्तिम दाहासंस्कार गरिने सचिवालयले जनाएको छ ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादीको १०औँ केन्द्रीय महाधिवेशन केन्द्रित महाधिवेशन मस्यौदा समितिको बैठक सुरु भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा सुरु भएको बैठकमा राजनीतिक प्रतिवदेन, विधान प्रतिवेदन, समाजवादी कार्यक्रम र साङ्गठनिक प्रतिवदेनमाथि छलफल हुने सो पार्टीका सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभयो । यही चैत ९ गतेसम्म चल्ने बैठकमा पछिल्लो विकसित राजनीतिक अवस्था, समसामयिक विषयवस्तु, अन्तरराष्ट्रिय घटनाक्रमको समेत समीक्षा गरिने छ । पार्टी अध्यक्ष नेपाललाई राजनीतिक प्रतिवेदन, सम्मानित नेता झलनाथ खनालले समाजवादी कार्यक्रम, उपाध्यक्ष डा बेदुराम भुसालले पार्टी विधान र महासचिव घनश्याम भुसालले तयार पारेको सङ्गठनात्मक प्रस्तावमाथि छलफल गरी निर्माणाधीन दस्तावेजलाई पूर्णता दिइने छ । ती चारवटा प्रतिवेदनको छलफलपछि मुलुकको समसामयिक परिस्थिति, राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, पार्टीको आगामी रणनीतिक योजना बनाई सबै पक्षलाई समेटेर तयार गरिने दस्तावेजलाई महाधिवेशनमा लैजाने जनाइएको छ । आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौँमा पार्टीको महाधिवेशन गर्न लागिएको छ।
ढोरपाटन: “सोमबार दिउँसो १२ बजेतिर रुकुम पश्चिमबाट काठमाडौँका लागि छुट्नुपर्ने बस करिब एक घण्टा ढिला गरी छुट्यो । साँझ पाँच बजेतिर निसीखोला आइपुग्दासम्म गाडीको गति तीव्र भइसकेको थियो । पहाडी बाटोमा तीव्र गतिकै कारण बस दुर्घटनामा पर्यो”, धौलागिरी अस्पतालको आकस्मिक कक्षमा उपचाररत घाइते दशरथ नेपालीले सुनाए। उनका अनुसार यात्रु कुर्दा रुकुममै ढिला भएपछि चालकले रानीकोटमा जाम छल्ने भन्दै गाडीको गति बढाएका थिए । “रुकुम र बागलुङको सीमाना पातीहाल्ने आइपुग्दा पनि गाडीको गति कम भएको थिएन । गाडी हुँइकिएपछि मैले सिट समातेर आफूलाई सम्हालिरहेको थिएँ”, उनले भने, “पातीहाल्नेबाट निसीखोलातर्फ लाग्ने सडक निकै घुमाउरो र ओरालो छ । यात्रुहरुले ओरालोमा अलिक सुस्त चलाउनु भन्दा पनि चालक अटेर गर्दै अघि बढेका थिए । ड्राइभरले घुम्तीमा मोड्न नसक्दा गाडी खस्यो ।” घाइते दशरथको नाक, मुख र टाउकोमा चोट लागेको छ । उहाँ अन्य घाइतेहरुसँगै अस्पतालको आकस्मिक कक्षमा उपचाररत छन् । आकस्मिक कक्षमा केही घाइतेहरु पीडाले कराइरहेका छन् भने कही मलिन अनुहारमा शोक मनाइरहेका छन् । उनीहरुको उपचारमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटिएको छ । रुकुम पश्चिम मुसीकोट नगरपालिका–१ का नेपालीले आफू पसलका लागि सामान लिन र त्यही मेसोमा आफन्त भेट गर्न काठमाडौँका लागि गाडी चढेको बताए । उनले गाडी अनियन्त्रित भएपछि केही यात्रुले हामफाल्न खोजे पनि सफल नभएको सुनाए । “केही यात्रु गाडी पल्टिन्छ भन्ने लागेर हामफाल्ने प्रयास गरेका थिए । तर गाडी सडकबाट तल खसिहाल्यो”, उनले भने। बस खसेपछिको केही समयसम्म आफूले केही थाहा नपाएको उनले सुनाउनुभयो । “केही बेरपछि होस आउँदा वरिपरी यात्रुका शव र घाइते मात्रै थिए । एकैछिन हातै चलेन । जसोतसो उठेर रुख र ढुङ्गाले च्यापिएका घाइतेलाई निकाल्न सहयोग गरेँ ।” उनीसहितका घाइतेलाई प्रहरीले उद्धार गरी बुर्तिबाङमा सामान्य उपचारपछि रातिनै बागलुङ ल्याएको थियो । उनका अनुसार गाडीको अघिल्लो पट्टि बसेको धेरैको मृत्यु भएको छ । यो पनि पढ्नुहोस बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु, २५ जना घाइते दुर्घटनाका घाइतेको उपचार गर्न सरकारलाई ओलीको आग्रह दशरथसँगै आकस्मिक कक्षमा उपचार गराइरहेका रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–१ का हेमराज केसीको टाउको र नाकमा चोट लागेको छ भने बाँया हात राम्रोसँग चलेको छैन । उनी पनि चालकको लापरबाहीले दुर्घटना भएको बताउछन् । “म गाडीको पछिल्लो सिटमा थिएँ । गाडी अनियन्त्रित भएपछि म हालफाल्न ढोकासम्म पुगेको थिए । तर ढोका खोल्न नपाउँदै बस खस्यो”, नले सुनाए । उनले बस पल्टिएपछि आफूले केही थाहा नपाएको बताए । “म होसमा आउँदा शरीर रुखले च्यापिको थियो । साथीले उद्धार नगरेको भए सायद त्यहीँ मर्थे हुँला”, उनले भने । उनका अनुसार होस्मा आउँदा केही काल्नामा अड्किएका थिए त केही घाइतेहरु चिच्चाइरहेका थिए । दुर्घटनामा परी घाइते भएकाहरुले धौलागिरी अस्पतालले विपद् व्यवस्थापन टिममार्फत उपचार गराइरहेको छ । सो अस्पतालका सूचना अधिकारी शान्ति भण्डारीले अहिले अस्पतालमा दुर्घटनाका २१ घाइतेको उपचार भइरहेको बताए । उनका अनुसार सात जनालाई भने पोखरा रेफर गरिएको छ । घाइतेमध्येका धेरैको स्वास्थ्यमा सुधार हुँदै गएको उनको भनाइ छ । पोखरा पठाइएका घाइतेहरुको अवस्था भने गम्भीर रहेको भण्डारीले बताए। बागमती प्रदेश ०१–००६ ख ३८७९ बस दुर्घटनामा परी मृत्यु हुनेमा दाङका १८ वर्षीय लक्की पुन मगर, रुकुम पश्चिम मुसिकोट–१ का २७ वर्षिया बिनिता केसी, रुकुम पश्चिम मुसिकोट नगरपालिका–२ रातामाटाका सवारी धनी बबिददेल नेपाली, मुसिकोट नगरपालिका–४ सोलाबाङका ३५ वर्षीया टिका केसी, मुसिकोट नगरपालिका–३ साँखकी कल्पना केसी, रोल्पा घर भएका गाडी चालक सुवाष गौतम भनिने मानसिंह विक, गोरखा घर भएकी गीता थापा, ललितपुरका सुजन महर्जन र रुकुमपूर्व सिस्ने गाउँपालिका–५ रुमालबाराका २५ वर्षीय विक्रम परियार रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए । बस सडकदेखि अन्दाजी एक सय ५० मिटर तल खसेको थियो । सात जनाको घटनास्थलमै मृत्यु भएको र दुई जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको थियो । मृत्यु हुने अधिकांश रुकुमका छन् । घटनास्थलमै मृत्यु भएका सात जनाको शव सङ्कलन गरी सोमबार रातिनै रुकुम पठाइएको उहाँको भनाइ छ । दुई जनाको शव भने बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमै राखिएको छ । बसमा ३७ जना यात्रु सवार थिए ।

