पोखराः   पोखरा वडा नं. ५ स्थित शान्ति निकेतन स्कूलले नयाँ सुविधासम्पन्न भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउने भएको छ । आगामी शैक्षिक सत्र २०८३ देखि नयाँ व्यवस्थापनका साथ पठनपाठनको बारेमा तथा विद्यालयको भा...

पोखरा:    फागु पूर्णिमा (होली) पर्व पोखरासहित पहाडी जिल्लामा रङ खेलेर मनाइएको छ । फागु पूर्णिमाको दिन सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।  साथी र आफन्तबीच आपसमा रङ दलेर खुशियाली साटासाट समेत गरिएको छ ।    फागु पूर्णिमाको अवसरमा पोखराको लेकसाइड, लेखनाथस्थित बेगनासताल क्षेत्रमा होली विशेष कार्यक्रम समेत आयोजना गरिएको छ ।  लेकसाइड, बेगनासताल लगायतका क्षेत्रमा आयोजना गरिएको होली विशेष कार्यक्रममा स्वदेशी मात्र होइन विदेशीहरु पनि उत्तिकै रमाए ।  सेतो टिसर्ट लगाएर आएका नेपाली र विदेशीहरुको ठूलो समूह रातो, निलो, हरियो, पहेँलोलगायत विभिन्न रङमा रंगिएको छ । लोला र पिचकारीबाट पानी छ्यापाछाप गरेर समेत रमाइलो गरेका छन् ।   तस्बिर: बिबि रोकामगर ​              

पोखरा:     नेपालमा पहिलो पटक पर्यटन राजधानी पोखराको सुन्दर बेगनासतालमा प्रथम राष्ट्रिय ड्रागन डुङ्गा दौड प्रतियोगिता २०८० सुरु भएको छ ।  प्रतियोगितामा ३ महिला र ११ पुरुष गरी १४ समूहको सहभागिता रहेको छ । २ सय र ५ सय मिटर गरी दुई वटा इभेन्टमा प्रतियोगिता सञ्चालन हुनेछ । विजेताले नगद रु २ लाख पुरस्कार हात पार्नेछ । यस्तै २ सय मिटर तर्फको विजेताले नगद रु।१ लाख पुरस्कार पाउने छ भने, उपविजेताहरुले पनि नगद पुरस्कार हात पार्नेछन् । पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल ड्रागन सङ्घ गण्डकी र लेखनाथ होटल तथा रेस्टुरेन्ट एसोसिएसनको संयुक्त आयोजनामा प्रतियोगिता गरिएको हो ।

डोटी:      डोटीमा नयाँ वर्षका लागि घर लिपपोत गर्न माटो खन्ने क्रममा ढिस्कोले पुरिएर थप एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले आदर्श गाउँपालिका–२ का ६० वर्षीया भागादेवी ओझाको माटो खन्ने क्रममा ढिस्कोले पुरिएर आज मृत्यु भएको बताए । ओझासँगै ढिस्कोमा पुरिएका ५० वर्षीया पार्वती खड्काको उद्धार गरिएको प्रनाउ श्रीवास्तवले जानकारी दिए ।  खड्काको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ । शनिबार मात्रै माटो खन्ने क्रममा ढिस्कोले पुरिएर शिखर नगरपालिका–९ का २१ वर्षीया निर्मला रोस्याराको मृत्यु भएको थियो । रोस्यारासँगै माटो लिन गएका अन्य तीन महिलालाई उद्धार गरिएको बताइएको छ । स्थानीयवासी नयाँ वर्ष नजिकिएसँगै घर लिपपोतका लागि रातो तथा कमेरो माटो वढी मात्रामा प्रयोग गर्दछन् ।

काठमाडौं:     वैशाख १५ गते इलाम २ मा हुने उपनिर्वाचनमा एमालेले  सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने भएको छ । इलाम२ मा उपनिर्वाचनमा नेकपा एमालेले उम्मेदवार टुङ्गो लगाएको हो । आइतबार बसेको पार्टीको सचिवालय बैठकले सुहाङ नेम्वाङलाई उम्मेदवार चयन गरेको हो । २०७९ को निर्वाचनमा निर्वाचित सुवासचन्द्र नेम्वाङको हृदयाघातका कारण गत भदौ २६ गते मृत्यु भएपछि यहाँ उपनिर्वाचनको हुने भएको हो । एमालेले यो स्थानमा नेम्वाङकै छोरालाई उठाएको हो । प्रतिनिधि सभा निर्वाचन २०७९ मा एमाले भर्सेस गठबन्धनले चुनावी प्रतिस्पर्धा गरेका थिए । त्यस बेला एमालेका उम्मेदवार नेम्बाङले ३० हजार २० मत ल्याएका थिए भने गठबन्धनका तर्फबाट कांग्रेस नेता खड्काले २९ हजार ९०६ मत पाएका थिए । इलामका दुई वटै क्षेत्रमा गठबन्धनलाई हराउँदै एमाले उम्मेदवारहरू विजयी बनेका थिए । गत निर्वाचनको तथ्यांकलाई आधार मान्ने हो भने इलाम–२ मा एमाले एक्लैको मत ३० हजार छ ।

पोखरा:      बिष्णु पादुका क्लब पोखरा २५ हेमजाको आयोजनामा हुन लागेको १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०८० को तयारी तीब्र पारिएको छ ।  चैतको २५ गतेदेखि बैशाख ५ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी तीब्र पारिएको आइतबार  मुल आयोजक समिति तथा उपसमिति सँग बसेको बैठकमा जनाइएको छ । बैठकमा टिकट, स्थानीय पास तथा एक दिने पासको बारेमा छलफल गरिएको छ । यही चैत १५ गतेदेखि स्थानीय पास वितरण गरिने महोत्सव मुल आयोजक समितिका महासचिव बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवको तयारी स्वरुप आमा समूह तथा केही संघ संस्थासँग प्रारम्भिक चरणको छलफल सकिएको छ । साथै विभिन्न स्थानमा गेट बनाउने काम भइरहेको छ।त्यसै गरि सार्वजनिक बसमा ब्यानर राखिएको छ। महोत्सवलाई कृषि, पर्यटन तथा व्यापार मेलाको रुपमा विकास गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको हो । ‘सुन्दर ठाउँ हेमजा जाउँः आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मुल नाराका साथ महोत्सव गर्न लागिएको हो ।  महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यङग्य एवम् लाइभ पप कन्सर्ट लगायत रहनेछन् । कोरोना भाइसरका कारण बीचमा ३ वर्ष रोकिएको महोत्सवलाई गत वर्षदेखि क्लबले निरन्तरता दिएको हो ।यस वर्ष महोत्सवमा करिब ५० टन आलु बिक्री हुने आयोजकको अपेक्षा छ ।

पोखरा:    गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले लोक सेवा आयोग राष्ट्रका सेवा गर्न चाहने आम नागरिकको आशा एवम् भरोसाको केन्द्रको रुपमा रहेको बताएका छन् ।  उनले निश्पक्षता र गुणस्तरीयतामा कुनै सम्झौता नगरी स्वतन्त्र निकायको रुपमा आफ्नो गरिमालाई अक्षुण राख्नु आयोगका लागि चुनौतीपूर्ण रहेको पनि उल्लेख गरे ।  प्रदेश लोकसेवा आयोग, गण्डकी प्रदेश, पोखराको तेस्रो वार्षिकोत्सव समारोहमा प्रदेश प्रमुख भट्टले आयोगले गरेको काम र भूमिकाको प्रशंसा समेत गरे ।  उनले भने, ‘देश संघीय संरचनामा रूपान्तरण भएसँगै जारी हुनुपर्ने संघीय निजामती सेवा ऐन जारी नभएको विषम परिस्थितिमा पनि प्रदेश सरकार र प्रदेश लोकसेवा आयोगबाट प्रदेश कानून बमोजिम प्रदेश र स्थानीय तहका कर्मचारीको भर्ना, छनौट र सिफारिसको जिम्मेवारी सफलतापूर्वक निर्वाह हुँदै आएको छ ।’ पाठ्यक्रमलाई आवधिक रुपमा परिमार्जन एवम् अध्यावधिक गर्ने, परीक्षा प्रणालीमा सामयीक सुधार गर्ने जस्ता विधि र प्रक्रिया अवलम्बन गरी उम्मेदवारको परीक्षण र छनौट प्रणालीको गुणस्तरीयता कायम गर्दै योग्यता प्रणालीको संरक्षण गर्नमा प्रदेश लोक सेवा आयोग निरन्तर क्रियाशील रहनेछ भन्नेमा आफू विश्वस्त रहेको उनको भनाई छ । प्रदेश प्रमुख भट्टले संविधान र प्रचलित कानूनले निर्दिष्ट गरे बमोजिमका कार्यहरुको अलावा स्मारिका प्रकाशन जस्ता रचनात्मक कार्यहरु समेत गरेकोमा बधाई ज्ञापन गर्दै आगामी दिनहरुमा पनि नियमित कार्यहरुको प्रभावकारिता अभिवृद्धि गर्दै थप रचनात्मक कार्यहरु गर्न उत्प्रेरणा र सफलता मिलोस् भन्ने कामना गरे ।  उक्त अवसरमा उत्कृष्ट कर्मचारीबाट आयोगले अधिकृत छैटौं गोविन्द पौडेललाई नगद र सम्मानपत्रसहित प्रदेश प्रमुखबाट पुरस्कृत गरिएको थियो । प्रदेश प्रमुख भट्टले लोक सेवा आयोग गण्डकी प्रदेशले प्रकाशित गरेको स्मारिका समेत लोकार्पण गरे।  

काठमाडौं:    आयरल्यान्डसँग खेल्ने टी–२० र एक दिवसीय सिरिजका लागि नेपाल ‘ए’ टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइतबार विनोद भण्डारीको कप्तानीमा दुवै खेलका लागि टोलीको घोषणा गरेको हो । नेपाल ‘ए’ ले कीर्तिपुरस्थित त्रिवि मैदानमा आयरल्यान्डसँग यही मार्च २८, २९ र ३० तारिख टी–२० र अप्रिल ३, ५ र ७ तारिख एक दिवसीय सिरिज खेल्दैछ ।  क्यानले घोषणा गरेको नेपाल ‘ए’ टी–२० को टोलीमा विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, राशिद खान, सागर ढकाल, विपिन खत्री, कमलसिंह ऐरी, हेमन्त धामी र विकास अग्री रहेका छन् ।   यस्तै एक दिवसीयमा विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरी, साहब आलम,  रञ्जित कुमार, रुपेश सिंह, रिजन ढकाल, विकास अग्री र मौसम ढकाल रहेका छन् ।   

स्याङ्जा:    स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका ६ भिडाबारीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर स्थानीय ५४ वर्षीय हर्कबहादुर गोदरको मृत्यु भएको स्थानीय ऋषि तिवारी(राजु)ले बताए । गोदार घर नजिकैको गोरेटो बाटो हिँड्ने क्रममा हाइटेन्सन लाइन चुटेर घाटीमा छोइँदा घटनास्थलमै मृत्यु भएको हो । प्रहरी घटना स्थलमा पुगेको र अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

काठमाडौं:    उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज एक साता लामो चीन भ्रमणमा जाँदैछन् । श्रेष्ठ परराष्ट्रमन्त्री भएपछि पहिलो पटक विदेश भ्रमणमा जान लागेका हुन् ।  चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री श्रेष्ठ सहितको टोली चीन भ्रमण जान लागेको हो ।  उनको सचिवालयका अनुसार मन्त्री श्रेष्ठ आज राति ११ बजे चीनको भ्रमणका लागि प्रस्थान गर्ने कार्यसूची छ । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङसँग चैत १३ गते द्विपक्षीय भेटवार्ता गर्नेछन् ।