पोखरा: कास्कीको भदौरेमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जीप दुर्घटनामा १० जना घाइते भएका छन् । पोखराबाट कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरेमा आइतबार दिउँसो ग १ ज ५५४७ नम्बरको जीप दुर्घटना भएको थियो । यो पनि पढ्नुहोस पोखराबाट भदौरे जाँदै गरेको जीप दुर्घटना, १२ जना घाइते जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते १० जना मध्य ५ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र ५ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
पोखरा: पोखराबाट भदौरे जाँदै गरेको जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । आइतबार दिउँसो पोखराबाट कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरे जाँदै गरेको ग १ ज ५५४७ नम्बरको जीप दुर्घटना भएको हो । जीप दुर्र्घटना हुँदा १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घाइते मध्य ५ जनालाई उद्धार गरी अस्पताल ल्याउँदै गरेको स्थानीय विश्वदल गुरुङले जाननकारी दिए । दुर्घटना सम्बन्धि थप विवरण आउन बाँकि रहेको प्रहरीले जनाएको छ ।
पोखरा: आठौँ संस्करणको ‘पोखरा स्पोर्ट्स’अवार्ड २०८०’ को तयारीमा तीव्रता दिइएको छ । आगामी बैशाख २१ गते हुने तय भएको अवार्ड कार्यक्रमको तयारी स्वरुप आइतबार आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीमा आवद्ध सदस्यहरुको भेला आयोजना गरिएको हो । मञ्चको कार्यालय पोखरा रंगशालाको मिडिया सेन्टरमा आयोजित भेलाका सहभागीले अवार्ड कार्यक्रमलाई व्यस्थित बनाउदै विगतका वर्षहरुको भन्दा थप आर्कषक बनाउनुपर्ने सुझाब दिएका छन् । उनीहरुले अवार्ड कार्यक्रमलाई ‘ब्राण्ड’को रुपमा स्थापित गर्न सक्नुपर्नेमा जोड दिए । अवार्ड कार्यक्रमको लोकप्रियता बढाउन विगतका कमीकमजोरीलाई सुधार गर्दै सबैले अपनत्व लिन सक्ने खालको कार्यक्रम बनाउनुपर्ने बताए । सबैजनाले आ–आफ्नो ठाउँमा योगदान गर्ने हो भने कार्यक्रमको रौनकता बढ्ने र स्थापित कार्यक्रमको रुपमा यसको उचाइ थप बढ्ने उनीहरुको विश्वास थियो । सोही भेलाले मञ्चका अध्यक्ष दीननाथ बराल संयोजक रहेको मुल आयोजक समिति तथा विभिन्न ११ वटा उपसमितिका संयोजक र सह–संयोजक समेत चयन गरेको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । जस अनुसार आर्थिक संकलन उपसमितिको संयोजक कविता घर्ती मगर र सह–संयोजक शशी कुमार पौडेललाई जिम्मेवारी दिइएको छ । प्रचार प्रसार उपसमितिको संयोजकमा राजाराम पौडेल, सह–संयोजकमा विजय नेपाल र सदस्यहरुमा रिखिराम जिसी, धन बहादुर गुरुङ सुमन, विजय नेपाली रहेका छन् । अन्तराष्ट्रिय समन्वय उपसमितिको संयोजकमा केशव पाठक र सह–संयोजकमा सुर्दशन रन्जित, स्वागत सत्कार उपसमितिको संयोजकमा एकराज गिरी र सह–संयोजकमा फडिन्द्र अकिञ्चन रहेका छन् । स्वयंसेवक परिचालन उपसमितिको संयोजकमा मान बहादुर घर्ती र सह संयोजकमा राम गुरुङ, फोटोग्राफी तथा भिडियोग्राफि उपसमितिको संयोजकमा उमेश पुन र सह–संयोजकमा बसन्त शेर्पा रहेका छन् । मञ्च व्यवस्थापन समितिको संयोजकमा सन्देश श्रेष्ठ र सह–संयोजकमा धन बहादुर गुरुङ सुमन, सांस्कृतिक कार्यक्रम उपसमितिको संयोजकमा मन क्षेत्री र सह–संयोजकमा सुशिल नेपाली छन् । संघ संस्था समन्वय उपसमिति संयोजकमा रोहितराज पराजुली र सह–संयोजकमा कृष्ण दवाडी, मुल्याकंन तथा अनुगमन उपसमिति संयोजकमा रामकृष्ण ज्ञवाली र सह–संयोजकमा गणेश बराल ढाकामोहन, क्विक रेसपोन्स उपसमिति संयोजकमा राजु गिरी र सह–संयोजकमा अर्जुन गाहा सुशान्त रहेका छन् । उपसमितिमा आवश्यकताको आधारमा सदस्य थप गर्ने अधिकार संयोजकलाई दिइएको महासचिव पौडेलले खुलाए । यसरी थप गरिएको सदस्यको बारेमा उपसमिति संयोजकले मुल आयोजक समितिको संयोजक अथवा मञ्चको कार्यसमितिलाई जानकारी गराउनुपर्नेछ । प्रतिभा छनोट समिति र उत्कृष्ट खेल पत्रकार छनोट समिति पछि चयन गर्ने मञ्चले जनाएको छ । अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिनेछ । अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने पोखरा महानगरपालिकाले र राष्ट्रिय खेलकुद परिषदले समेत अवार्ड कार्यक्रममा सघाउनेछ । प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको भने साहस स्पोर्ट्सले सहयोग गर्नेछन् । थप सहयोगी व्यक्ति तथा संस्था जोडिने क्रम जारी रहेको मञ्चले जनाएको छ । खेलाडी तथा खेल क्षेत्रमा क्रियाशिललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको हो । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भेला सम्पन्न भएको हो ।
पोखरा: पोखरा महानरपालिका ११ की युवती एक महिनादेखि बेपत्ता भएकी छिन् । बेपत्ता हुनेमा पोखरा महानगरपालिका ११ फूलबारीकी १७ वर्षीया मिल्का पुर्जा रहेकी छिन् । कास्की प्रहरीका अनुसार मिल्का गत फागुन ११ गतेदेखि पारिवारिक सम्पर्क बाहिर छिन् । उनी घर परिवार तथा आफन्तलाई जानकारी नगराई सम्पर्क बाहिर पुगेपछि परिवारले जिल्ला प्रहरी कार्यालय कास्कीमा खोजिदिन भन्दै निवेदन दिएका थिए । सोही निवेदनमा उल्लेखीत हुलियाका आधारमा प्रहरीले खोजिकार्य तिब्र पारेको जनाएको छ । उनलाई भेटिएको खण्डमा नजिकैको प्रहरी कार्यालय वा ९८५६०१००३३ मा सम्पर्क गर्न कास्की प्रहरीले बताएको छ ।
कपिलवस्तुः कपिलवस्तु जिल्ला महाराजगन्ज नगरपालिका–२ का अध्यक्ष उजेर अलि घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले आइतबार उनलाई वडा कार्यालयबाट नियन्त्रणमा लिएको हो । अख्तियारको टोलीले कार्यकक्षबाट घुस सहित पक्राउ गरेको आयोगको कार्यालय बुटवलका सूचना अधिकारी तथा उप सचिव भेषराज रिजालले जानकारी दिनुभयो । अलिले सेवाग्राहीसँग घर बाटो सिफारिस गर्ने नाममा घुस लिएको अवस्थामै उनी पक्राउ परेका हुन्। उजेरबाट घुस वापत लिएको १५ हजार रकम समेत बरामद गरिएको छ ।
तनहुँः ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ को सिमाना भएर बग्ने सेती नदीको पानीलाई प्रयोग गरी निर्माणाधीन एक सय ४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ (छिचोलिएको) भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव गोपालप्रसाद सिग्देल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं तनहुँ हाइड्रोपावरका सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङले आज संयुक्तरुपमा स्वीच थिचेर विस्फोट गराएपछि मुख्य सुरुङ ‘ब्रेक थ्रु’ भएको हो । आयोजनाको प्याकेज–२ अन्तर्गत जलाशयको मुहान (इनटेक)बाट सुरु भई पेनस्टक पाइप रहने स्थानसम्मको एक हजार ४९३ मि लामो सुरुङ ‘ब्रेक थ्रु’ छ । मुख्य सुरुङको व्यास सात दशमलव चार मिटर रहनेछ । अब मुख्य सुरुङको कङ्क्रिट लाइनिङ गरिनेछ । मुख्य सुरुङबाट गएको पानीलाई दुई सय १३ मिटर लामो पेनस्टक पाइपमार्फत भूमिगत विद्युत्गृहमा खसाली विद्युत् उत्पादन गरिनेछ । सुरुङ ‘ब्रेक थ्रु’ गर्न आयोजित समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सिग्देलले धेरै समयको अन्तरालपछि बन्न लागिरहेको जलाशययुक्त आयोजनाको हालको प्रगति आफूले सोचेभन्दा राम्रो रहेको र मुख्य बाँध निर्माण समयमै सम्पन्न गर्न सम्बन्धित सबैलाई आग्रह गर्नुभयो । “कुलेखानीपछि बन्न लागेको जलाशययुक्त आयोजनाको अनुभवले दूधकोसी, नलगाढ, बूढीगण्डकीजस्ता जलाशययुक्त आयोजना विकास गर्न निर्देशित र थप विश्वास दिलाउँछ, आयोजना तोकिएकै समयमा सम्पन्न हुनुपर्छ”, उहाँले भन्नुभयो । सुक्खायामको विद्युत् माग र आपूर्तिको असन्तुल हटाउन जलाशययुक्त प्रकृतिको तनहुँ आयोजनाको ठूलो योगदान र सहयोग रहने उल्लेख गर्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले तोकिएकै समयमा सम्पन्न गर्न सबैपक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो । “मुख्य बाँध निर्माणका लागि नदी फर्काउने र मुख्य सुरुङ ब्रेक थु्र गरी आयोजनाका मुख्य माइलस्टोनहरु पूरा भएका छन्, निर्माणाधीन ठूलो जलाशययुक्त आयोजना तोकिएकै समयमा सम्पन्न गर्न बाँध निर्माणलाई तीव्रता दिन आयोजना व्यवस्थापन, परामर्शदाता निर्माण व्यवसायी सबै जिम्मेवार भएर लाग्नुपर्छ”, उहाँले भन्नुभयो । उहाँले आयोजनाबाट विद्युत् उत्पादनपछि प्राप्त हुने बहाव र मादी नदीको पानीलाई प्रयोग गरी तल्लो तटीय क्षेत्रमा विकास गर्न लागिको १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजनाको निर्माण चाँडै अगाडि बढाइने बताउनुभयो । आयोजनाको प्रवर्द्धक तनहुँ हाइड्रोपावरका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठ र आयोजनाका निमित्त प्रमुख श्यामजी भण्डारीले निर्माण प्रगति, बेहोरिरहेका समस्यालगायतका विषयमा जानकारी गराउनुभएको थियो । मुख्य संरचनालाई तीन प्याकेजमा विभाजन गरिएको छ । निर्माणाधीन आयोजनाको समग्र भौतिक प्रगति ५४ प्रतिशत छ । समग्र निर्माण वि.सं २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । प्याकेज–१ अन्तर्गत मुख्य बाँध निर्माणका लागि जग खन्ने र बाँध निर्माण अवधिसम्म नदी फर्काउनका लागि करिब ४० मिटर अग्लो अस्थायी कङ्क्रिट बाँध निर्माण धमाधम भइरहेको छ । आगामी असार दोस्रो साताभित्र जग खन्ने काम सम्पन्न गरी त्यसपछि मुख्य बाँधको जग निर्माण सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको छ । प्याकेज–१को समग्र भौतिक प्रगति २९ प्रतिशत छ । प्याकेज–१ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्दा कर्पोरेशन, भियतनाम–कालिका कन्स्ट्रक्सनले काम गरिरहेको छ । आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका प्याकेज–२ को निर्माणको काम सिनो हाइड्रो कर्पोरेशन, चीनले गरिरहेको छ । भूमिगत विद्युत्गृह खन्ने काम सम्पन्न गरी कङ्क्रिटिङ स्वीचयार्ड निर्माण, पेनस्टक तथा विद्युत्गृहमा रहने उपकरण जडानलगायतका काम भइरहेका छन् । टेलरेस निर्माण सम्पन्न भएको छ । यस प्याकेजको समग्र भौतिक प्रगति करिब ५५ प्रतिशत छ । प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका केइसी इन्टरनेशनल लिमिटेड, भारतले गरिरहेको छ । ३४ दशमलव सात किमी प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये ७६ वटा टावरको जग हालिएको छ भने ६२ वटा टावर खडा गरिएको छ । यस प्याकेजको समग्र निर्माण प्रगति ७२ प्रतिशत छ । आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत तनहुँ जिल्लामा विद्युतीकरण गर्नका लागि नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना सम्पन्न भएको छ । यसअन्तर्गत स्थानीयरुपमा विद्युत् आपूर्तिका लागि घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३र११ केभीका दुई वटा सवस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । उक्त सवस्टेसनसम्म विद्युत् पु¥याउनका लागि ३३ केभी लाइन निर्माण गरिएको छ । तनहुँ जिल्लाको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न ठाउँमा विभिन्न क्षमताका वितरण ट्रान्सफर्मर जडान र ११ केभी लाइन निर्माण गरिएको छ । सामुदायिक विकास कार्यक्रमअन्तर्गत आयोजना प्रभावित क्षेत्रमा हालसम्म शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, नदी तटबन्ध निर्माणलगायतका गरी ५६ वटा परियोजना सम्पन्न भएका छन् । सात वटा परियोजना निर्माणाधीन छन् । आयोजना प्रभावितको जीविकोपार्जन तथा आयआर्जन वृद्धिका लागि विभिन्न सीपमूलक तालिम सञ्चालन गरिएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडिबिले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकाररनेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।
पोखरा: सेती नदीमा हाम फालेर बेपत्ता भएका पोखरा–१६का सुगम बास्तोलाको खोजतलाजको लागि दोस्रो पटक ड्याम खोलिने भएको छ । गत फागुन १८ गते सेती नदीमा हाम फालेर बेपत्ता भएका बास्तोला नभेटिपछि कास्की प्रहरीले भोलि (सोमबार) ड्याम खोलेर खोज्ने तयारी गरेको हो । पोखरा महानगरपालिका–३ नदीपुरस्थित सेती नदी माथि बनाइएको पुलबाट हाम फालेर बेपत्ता भएका बास्तोलाको खोजतलाजको लागि दोस्रो पटक ड्याम खोल्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पोखरा महानगरपालिका–१६ दिपस्थित सेती नदीमा बनाईएको ड्याम भोलि खोलेर पानीको बहाव बढाई बास्तोलाको खोजतलाज गर्ने कास्की प्रहरीले जनाएको छ । गत फागुन १८ गते सेती नदीमा हाम फालेर बेपत्ता भएका बास्तोलालाई प्रहरीले परिवारको आग्रहपछि फागुन २२ गतेपनि ड्याम खोलेर खोजतलाज गरेको थियो । बास्तोलाको परिवारले पुनः दोस्रो ड्याम खोलेर पटक खोजतलाजको लागि आग्रह गरेपछि ड्याम खोलेर खोजतलाज गर्न लागिएको कास्की प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले चैत १५ गते ड्याम खोलेर नदीमा बेपत्ता बास्तोलाको खोजतलाज गर्ने तयारी गरेपनि मौसममा आएको परिवर्तनका कारण ड्याम खोल्न सूचना स्थगित गरेको थियो ।
बाजुराः नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै जिल्लाका स्थानीय तहका विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् । हरेक वर्ष पाठ्यपुस्तक अभाव खेप्दै आएका यहाँका सामुदायिक विद्यालयले यस वर्ष शैक्षिकसत्र सुरु हुनु एक महिनाअगावै पाठ्यपुस्तक पाएका हुन् । जिल्लाको तल्लो क्षेत्रका बूढीगङ्गा, त्रिवेणी र बडीमालिका नगरपालिकाका साथै खप्तड छेडेदह र गौमूल गाउँपालिकाका सामुदायिक विद्यालयमा जनकशिक्षा सामग्री केन्द्रको आधिकारिक बिक्रेता करुणा पुस्तक पसलले पाठ्यपुस्तक खरिद गरी पु¥याएको हो । पूर्वी उत्तरी भेगका चार पालिकाका सामुदायिक विद्यालयमा पनि पाठ्यपुस्तक वितरण गर्न थालिएको छ । यहाँका बूढीनन्दा नगरपालिका तथा हिमाली, स्वामीकार्तिक र जगन्नाथ गाउँपालिकामा रारा कर्णाली पुस्तक पसल कोल्टीले जिम्मेवारी लिएसँगै वितरण सुरु गरिएको जनाइएको छ । प्रत्येक वर्ष सामुदायिक विद्यालयले पाठ्यपुस्तक अभावका कारण पठनपाठनमा समस्या हुने गरेकामा यस वर्ष शैक्षिकसत्र सुरु हुनु एक महिनाअगावै पुस्तक पाइएको पशुपति माविका प्रधानाध्यापक दयाराम जोशीले बताउनुभयो । शैक्षिकसत्र सुरु हुनुभन्दाअगावै पाठ्यपुस्तक पुगेको भन्दै केही अपुग भएमा विद्यार्थी भर्नापश्चात् सोहीअनुसार पुनः माग गर्न सकिने प्रअ जोशीले बताउनुभयो । समयमै पुस्तक पुगेसँगै शैक्षिकसत्र सहजरुपमा सञ्चालन गर्न सकिने उहाँको भनाइ छ । विगतका वर्षमा शैक्षिकसत्र सुरु भएको महिनौँ बितिसक्दा पनि विद्यालयमा पुस्तक अभाव हुने गरेको थियो । आगामी शैक्षिकसत्र २०८१ का लागि भने विद्यालयमा चैत १५ गते नै पुस्तक पुगिसकेको प्रअ जोशीले जानकारी दिनुभयो । जनकशिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय धनगढीले यही चैत १३ गते सुदूरपश्चिम प्रदेशको बाजुराबाट वितरण सुरु गरेको जनाएको छ । जिल्लामा एक लाख १० हजार ३७ थान पाठ्यपुस्तक पुगिसकेको कार्यालयका प्रमुख रामबहादुर कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार बाजुरामा आठ बिक्रेतामध्ये सात जनाले पुस्तक लिइसकेका छन् भने एक जना लिने क्रममा छन् । बाजुरामा विसं २०८१ का लागि अनुमानित एक लाख २७ हजार आठ सय छ थान पाठ्यपुस्तक रहेको कार्यालयका प्रमुख कुँवरले बताउनुभयो । सोमध्ये ८६ प्रतिशत पुस्तक जिल्लामा पुगिसकेका भन्दै बाँकी केही दिनमा पुग्ने उहाँले जानकारी दिनुभयो । करुणा पुस्तक तथा डेल्टा स्टोरका सञ्चालन नृप खातीका अनुसार पहिलो पटक बाजुराका विद्यालयमा चैत महिनामै पाठ्यपुस्तक पुगेका बताउनुभयो । “आफूले वितरण गर्ने कार्यक्षेत्रमा ९५ प्रतिशत विद्यालयमा पुस्तक पुगिसकेको छ”, उहाँले भन्नुभयो, “बाँकी रहेका विद्यालयमा केही दिनमा पु¥याउने छौँ ।” केन्द्रले प्रदेशका विकट तथ दुर्गम गाउँलाई पहिलो प्राथमिकतामा राखेर पुस्तक बिक्री तथा वितरण सुरु गरिएको जनाएको छ । बाजुरापछि दार्चुला र बझाङमा पनि वितरण भइसकेको प्रादेशिक कार्यालयका प्रमुख कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार दार्चुलामा ९१ हजार चार सय ८६ थान र बझाङमा २६ हजार ५१ थान पुस्तक पठाइसकिएको छ । सबै जिल्लामा चैत महिनाभित्रमा पुस्तक पठाइसक्ने जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ । आगामी शैक्षिकसत्र २०८१ का लागि सुदूरपश्चिममा १९ लाख १५ हजार एक सय ८५ थान पुस्तक आवश्यकपर्ने अनुमान गरिएको छ । बाजुरामा ढुवानीबापत १६ प्रतिशत खर्च जनकशिक्षाले दिनेछ । चैत महिनाभित्रै १९ लाख १५ हजारभन्दा बढी थान पुस्तक बिक्री भइसक्ने शिक्षा सामग्री केन्द्र धनगढीले दाबी गरेको छ । केन्द्रले चालु शैक्षिकसत्रमा १७ लाख ४१ हजार ७८ थान पुस्तक बिक्री गरेको थियो । पाठ्यपुस्तक खरिद गर्न सुदूरपश्चिमका अधिकांश स्थानीय तहमा बजेट निकासा भएको छैन् । नेपालको संविधान २०७२ मा माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय तहलाई छ । प्रदेशका स्थानीय तहले पुस्तक खरिदका लागिसमेत बजेट विनियोजन र निकासा नगरेको पाइएको छ । ८८ स्थानीय तहमध्ये अधिकांशले बजेट विनियोजन र निकासा गरेका छैनन् । सामुदायिक विद्यालयमा पुस्तक खरिदका लागि बजेट नभएकाले समस्या हुने देखिएको केन्द्रको प्रादेशिक कार्यालयका प्रमुख कुँवरले बताउनुभयो । पाठ्यपुस्तकका लागि रकम निकासा नहुँदा समस्या हुनसक्ने उहाँको भनाइ छ । “स्थानीय तहहरुले विद्यालयलाई रकम दिने हो । सम्बन्धित विद्यालयले व्यवसायीलाई दिने हो । रकम निकासा नभएको भन्ने आएको छ । यसले गर्दा केही समस्या पर्छ कि भन्ने आशङ्का गरेका छौँ”, प्रमुख कुँवरले भन्नुभयो । उहाँका अनुसार पाठ्यपुस्तक बिक्रेताले भने केन्द्रबाट खरिद गरेर विद्यालयमा पठाइरहेका छन् । स्थानीय तहले पनि समयमै बजेट निकासा दिए वितरण गर्न बाँकी रहेका पुस्तक पनि समयमै विद्यालय पुग्ने उहाँको भनाइ छ ।
सोलुखुम्बु: एक हप्तादेखि सोलुखुम्बुको लुक्ला विमानस्थलमा भएको खराब मौसमका कारण उड्न नसकेका जहाजको आज बिहानबाट मौसम खुलेपछि मन्थली–लुक्ला उडान सुरु भएको छ । यसअघि लुक्लामा भएको खराब मौसमका कारण सीता, तारा र समिट एयरका जहाज मन्थलीमै एक हप्तादेखि ‘होल्डिङ’ भएका थिए । सो समयमा खराब मौसमका कारण जहाज नउडेपछि निर्धारित समयमा अनिवार्य लुक्ला पुग्नैपर्ने विदेशी पर्यटकलाई हेलिमार्फत सोलुकै सुर्केमा पु¥याइएको थियो भने सडकमार्गबाट सोलुको फाप्लुसम्म लैजाने गरिएको थियो । आज बिहान ६ बजेदेखि जहाजका लागि लुक्लामा राम्रो मौसम भएका कारण उडान सुरु भएको तारा एयर रामेछापका इन्चार्ज प्रवीण सुवेदीले राससलाई बताउनुभयो । मौसम खुलेपछि बिहानैदेखि काठमाडौँबाट सडकमार्ग हुँदै विदेशी पर्यटक मन्थली ल्याउने क्रम जारी छ । लुक्लाको मौसमले साथ दिएसम्म आज दिनभर जहाज आलोपालो प्रणालीद्वारा मन्थलीबाट लुक्ला उडान भरिरहने नागरिक उड्डयन प्राधिकरण रामेछापका वरिष्ठ अधिकृत प्रज्ज्वल गुरागाईँले बताउनुभयो ।

