काठमाडौंः ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको बताउनुभएको छ । आज यहाँ आयोजित ‘विश्व जल नेतृत्व कार्यक्रमअन्तर्गत जलस्रोत व्यवस्थापन विषयक अध्ययन प्रतिवेदन’ सार्वजनिक समारोहलाई सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनको असर कम गर्न पानीको सहज व्यवस्थापन, उपयोग, संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । ठूलो पानीको सहज व्यवस्थापनका सन्दर्भमा भएको अध्ययन प्रतिवेदनलाई राजनीतिकर्मीले स्वीकार गरी नीतिगत कार्यान्वयनमा लैजानुपर्ने मन्त्री बस्नेतको भनाइ छ । पानीको सहज व्यवस्थापनका लागि थप गम्भीर बन्नुपर्ने, समस्याको पहिचान गरेर अगाडि बढ्नु आजको प्रमुख कार्यभार भएको उहाँले स्पष्ट पार्नुभयो । जलस्रोतको व्यवस्थापनलाई एकीकृत दृष्टिकोणका साथ हेर्नुपर्ने विषयमा यस अध्ययनले विशेष जोड दिएकोमा मन्त्री बस्नेतले प्रसन्नता व्यक्त गर्नुभयो । उहाँले जलवायुसँग जोडिएका अधिकांश कानुनी व्यवस्था एकीकृतरुपमा अगाडि बढाउनुपर्ने बताउनुभयो । नदी बेसिनको बहुपक्षीय प्रयोगलाई विशेष ध्यान दिँदै अगाडि बढ्नुपर्ने अवस्था रहेको र कानुनी एवं संरचनागत विषयलाई ध्यान दिँदै बजेटको विनियोजनलाई प्राथमिकतामा राखिएको उहाँको भनाइ छ । जलवायु उत्थानशील जलस्रोत व्यवस्थापनका लागि विश्व जल नेतृत्व कार्यक्रमअन्तर्गत जलस्रोत व्यवस्थापनमा परेका बाधा अड्चन लगायतका विषय अध्ययन प्रतिवेदनमा सार्वजनिक गरिएको छ ।
मकवानपुरः बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले १९ चैतमा विश्वासको मत लिने भएका छन् । शुक्रबार मुख्यमन्त्रीको दल नेकपा माओवादी केन्द्रका सचेतक रत्नप्रसाद ढकालले जम्कट्टेलले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका छन् । २३ फागुनमा नेपाली कांग्रेसले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले २२ चैतभित्र विश्वासको मत लिनुपर्नेछ । ११० सदस्यीय प्रदेशसभामा उनले ५६ मत जुटाएमा उनी मुख्यमन्त्रीमा कायम रहनेछन् । बिहीबार नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबीच सहमति भएपछि मुख्यमन्त्रीले आवश्यक बहुमत जुटाएका छन् । बागमतीमा एमालेको २७, माओवादी केन्द्रको २१, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको दुई सिट छ ।
चितवनः अनुचित लेनदेन (मिटर ब्याज) का मुद्दा जिल्ला प्रहरी कार्यालयबाट हेर्न थालेसँगै चार निवेदनमा मिलापत्र गराइएको छ । जिल्ला प्रशासन कार्यालयबाट गत माघ ११ गते प्रहरी कार्यालयमा आएका ६३ निवेदनमध्ये चार र सोही मितिपछि परेका दुई मुद्दामध्ये एउटाको मिलापत्र भएको हो । अन्य मुद्दामाथिसमेत दुई पक्षलाई बोलाएर छलफल भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार माघ ११ गतेदेखि गृह मन्त्रालयको निर्देशनअनुसार अनुचित लेनदेनका निवेदन प्रहरीले हेर्न थालेको हो । सो क्रममा १६ लाख बराबरका निवेदनमा मिलापत्र भएको उहाँले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयमा ८६ निवेदनमध्ये २३ निवेदन कार्यालयले प्रहरीमा नआउँदै मिलापत्र गरेको थियो । भण्डारीका अनुसार अहिले प्रहरीले अनुचित लेनदेनका निवेदन नियमित लिने गरेको छ । निवेदनमाथि छलफल गराउँदा अनुचित ठहरिए सोहीअनुसार अघि बढ्ने र छलफलका क्रममा मिलापत्र भए मिलापत्र गर्ने गरेको उहाँले बताउनुभयो । प्रहरीमा निवेदन आएसँगै अहिलेसम्म कुनै पनि मुद्दा अदालतमा नगएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी छलफलबाट समस्या समाधानका लागि लाग्छौँ, नमिलेको खण्डमा मात्रै मुद्दा दर्ता प्रक्रियामा अघि बढाउँछौँ ।” बाँकी रहेका निवेदनमासमेत वादी र प्रतिवादी बोलाएर छलफल गराउने क्रम जारी रहेको उहाँले बताउनुभयो ।
पर्वत: सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको हुने गरेको पाइन्छ । पर्वतमा भने १२ वर्षीय एक छात्र बिहीबारदेखि सञ्चालित एसइई परीक्षामा सहभागी भएका छन् । दक्षिण पर्वतको पैंयुँ गाउँपालिका–४ मा रहेको जनसेवा संस्कृत माध्यमिक विद्यालय केन्द्रबाट १२ वर्षीय शक्ति अधिकारीले एसइई दिनुभएको हो । उहाँ सोही गाउँपालिका–६ सरौखोलास्थित विनु माविमा अध्ययनरत विद्यार्थी हुनुहुन्छ । अधिकारी पर्वतबाट एसइई दिने विद्यार्थीमध्ये सबैभन्दा कम उमेरको रहेका जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख उद्धिमराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार २०७८ सालभन्दा अघि एसइई दिने पाउने उमेरको हद १५ वर्ष थियो । वि.सं.२०७८ मा शिक्षा नियमावलीअनुसार एसइई दिने परीक्षार्थीको उमेर हदबन्दीमा उक्त व्यवस्था परिवर्तन गरिएपछि कम उमेरका विद्यार्थीले पनि दिन पाउने भएको पौडेलले बताउनुभयो । विनु मावि सरौखोलाका प्रधानाध्यापक खगेन्द्र तिवारीले एसइईको फारम भर्दा पनि सोही जन्ममिति रहेकाले विद्यार्थीले सानै उमेरदेखि पढेका बताउनुभयो । कम उमेरदेखि नै विद्यालय गएकाले अधिकारीले १२ वर्षमै एसइई दिन सफल भएका उहाँको भनाइ छ । तिवारीका अनुसार अधिकारीले पहिला निजी विद्यालयमा पढ्नुभएको थियो । यहाँ पढ्न आउँदा उहाँ कक्षा कक्षा ८ मा भर्ना हुनुभएको उहाँले बताउनुभयो । निजी विद्यालयबाट सामुदायिक विद्यालयमा आउँदा कक्षा परिवर्तन गरेकाले पनि चाँडो एसइई दिएको हुनसक्ने तिवारीको भनाइ छ । सोही विद्यालयबाट जिल्लामै सबैभन्दा बढी उमेरका अर्का परीक्षार्थी पनि एसइई परीक्षामा सहभागी हुनुभएको छ । विद्यालयका नियमित छात्र ४० वर्षीय दुर्गाप्रसाद भुर्तेलले जनसेवा संस्कृत मावि केन्द्रबाट परीक्षा दिनुभएको हो । कक्षा सातसम्म पैंयुँ५ क्यामुनेभन्ज्याङ माविमा अध्ययन गर्नुभएका भुर्तेल कक्षा ८ मा विनु माविमा भर्ना हुनुभएको थियो । उहाँ नियमित विद्यालयमा हाजिर भएरै कक्षा लिइरहने विद्यार्थी रहेको विद्यालयका प्रअ तिवारीले बताउनुभयो । कक्षा ७ सम्म अध्ययन गरेपछि बीचमा छुटेर पुनः विद्यालय भर्ना भएकाले जिल्लामै सबैभन्दा बढी उमेरको विद्यार्थीमा भुर्तेल देखिनुभएको तिवारीले बताउनुभयो । पर्वतमा १७ परीक्षाकेन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । जिल्लाभर शान्तिपूर्वक परीक्षा भइरहेको भन्दै विगतका वर्षभन्दा यस वर्ष थप मर्यादित रहेको पाइएको कार्यालय प्रमुख उद्धिमराज पौडेलले बताउनुभयो ।
ताप्लेजुङः ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा निर्माणाधीन कुल १२ मेगावाट क्षमता भएको सुपर काबेली ‘ए’ जलविद्युत आयोजनाको एचआरटी सुरुङ निर्माण सम्पन्न भएको छ । आयोजनाका प्रतिनिधि मेघनाथ ढुङ्गानाका अनुसार गत २०७९ साल पुस अन्तिम सातादेखि सुरुङ निर्माणको काम सुरु गरिएको थियो । उहाँका अनुसार एक हजार ८३७ मिटर दूरी भएको सुरुङ निर्माण बिहीबार पूरा भएको हो । उक्त एचआरटी सुरुङ निर्माण सम्पन्न भएसँगै अब आयोजनाको ७५ प्रतिशत काम पूरा भएको छ । जिल्लाको सिरिजङ्घा गाउँपालिका–७ खेबाङ र वडा ८ याम्फुदिन भई बग्ने काबेली खोलाबाट विद्युत उत्पादन गर्ने गरी सुपर काबेली ‘ए’ क्यासकेट आयोजना सुरु गरिएको हो। आयोजनाको मुख्य प्रवर्द्धक हिलटन इनर्जी लिमिटेड रहेको छ । यो आयोजनाबाट उत्पादन हुने विद्युत पाँचथरको अमरपुरस्थित १३२ केभीए क्षमताको सव–स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जडान हुने छ ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चीनले अघि सारेको वैश्विक विकास प्रयास (जिडिआइ) का लाागि चिनियाँ नेतृत्वको प्रशंसा गर्दै यसबाट नेपालले पनि प्रशस्त मात्रामा लाभ लिन सक्ने बताउनुभएको छ । चीनको हाइनान प्रान्तमा जारी बोआओ फोरम फर एसिया (बिएफए) लाई बिहीबार नेपालका तर्फबाट सम्बोधन गर्दै उहाँले चीनले गरिबी न्यूनीकरण, खाद्य सुरक्षा, जलवायु परिवर्तन, डिजिटल विकासजस्ता प्राथमिकताका साथ (ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ, जिडिआइ) अवधारणा ल्याएको र यसबाट नेपालले पनि लाभ लिनसक्ने बताउनुभएको उहाँको सचिवालयले जनाएको छ । उपाध्यक्ष पौडेलले नेपालको आफ्नै विकास प्राथमिकतासँग मिल्दोजुल्दो यस अवधारणाको उद्देश्यलाई समर्थन गर्ने देशहरूको बढ्दो सङ्ख्यामा नेपाल पनि सामेल रहेको र यसप्रतिको प्रतिबद्धता कायम गर्दै नेपाल सरकारले हालै जिडिआइ समूहमा सामेल हुने निर्णय गरेको जानकारी दिनुभयो । जिडिआइको मूल सिद्धान्त चिनियाँ राष्ट्रपति सि चिनफिङको मानवजातिको साझा भविष्यको दृष्टिकोणसँग मिल्दोजुल्दो रहेको र यसले विश्व शान्ति र अन्तर–सम्बन्धलाई जोड दिएको प्रसङ्ग उल्लेख गर्दै उहाँले भन्नुभयो, “एक साँच्चै साझा भविष्य तब मात्र साकार हुनसक्छ जब सबै विकसित र विकासशील राष्ट्रहरूले प्रगति र समृद्धिका लागि समान अवसर प्राप्त गर्दछन् ।” पूर्वअर्थमन्त्री पौडेलले भन्नुभयो, “चीनको नजिकको छिमेकी नेपालले पनि जिडिआइको सफलताबाट उल्लेखनीय लाभ उठाउन सक्छ । पूर्वाधार विकास, प्रविधि हस्तान्तरण र क्षमता विकासजस्ता क्षेत्रमा बढ्दो सहयोगले नेपालको राष्ट्रिय विकास प्रयासलाई गति दिनेमा हामी विश्वस्त छौँ । हामी पनि हाम्रो अर्थतन्त्रमा परिवर्तन ल्याउने र नेपालको विशिष्ट विकास आवश्यकतालाई सम्बोधन गर्नेगरी परियोजनाहरू अघि बढाउन तत्पर छौँ ।” जिडिआइको दिगो र समतामूलक विकासका लक्ष्य हासिल भएको सुनिश्चित गर्न, यसका चुनौतीहरु स्वीकार गर्न र सम्बोधन गर्न आवश्यक रहेको चर्चा गर्दै उहाँले यसको पारदर्शिता र ऋण दिगोपनका चिन्तलाई भने दूर गर्न जरुरी रहेको बताउनुभयो । त्यसैगरी, सहुलियतपूर्ण वित्तीय सहायता, ज्ञान आदानप्रदान र विकासोन्मुख देशहरूको विशेष आवश्यकता अनुरूप निर्माण हुने परियोजनाहरूले जिडिआइको उद्देश्य, आपसी विश्वास र समावेशीतालाई थप बलियो बनाउने उहाँको धारणा थियो । नेपालले बहुपक्षीयतालाई महत्व दिने र जिडिआई ढाँचा र अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा हुने छलफलमा सक्रियरूपमा योगदान गर्न प्रतिबद्ध रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “हामी सार्वभौमिक र सबैका लागि लाभदायक विकास एजेन्डालाई थप प्रवर्धन गर्न चीन र समान विचारधाराका साझेदारहरूसँग काम गर्न इच्छुक छौँ । विश्वमा थप समृद्धि, शान्ति र दिगो भविष्य निर्माण गर्न जिडिआइ एक शक्तिशाली माध्यम बन्न सक्छ भन्ने कुरामा नेपाल विश्वस्त छ ।” बोआओ फोरमले एसिया र समग्र विश्वको विकासका लागि आवश्यक मुद्दाहरूमा संवादका लागि महत्वपूर्ण अवसर दिएको उहाँको भनाइ छ । यस वर्षको विषयवस्तु ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभः प्रमोटिङ वल्र्ड पिस’ समयसापेक्ष रहेको र यसले विश्वको विकास र शान्तिको आगामी मार्गका लागि सहयोग पुग्ने पनि उहाँले बताउनुभयो ।
डोटी: वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । बिहीबार अपराह्न जङ्गलमा लागेको आगोले घाइते हुनुभएकी शिखर नगरपालिका–४ सेलबुङ्गाकी ४१ वर्षीय चन्द्रादेवी भण्डारीको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । पातालीसैन सामुदायिक वनमा सिँचाइका निम्ति कुलो खन्न जानुभएकी भण्डारी वनमा लागेको आगोले जलेर घाइते हुनुभएको थियो । कुलो खन्न २५ जनाको समूह उक्त वनमा गएको थियो । उहाँलाई सुजङ्ग अस्पताल राजपुरमा सामान्य उपचारपछि धनगढी रिफर गरिएको थियो । उहाँको निसर्ग अस्पतालमा आज बिहान एक बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब निरीक्षक नारायणसिंह नेगीले बताउनुभयो ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सबलीकरण भएको बताएका छन् । महिला उद्यमी महासङ्घद्वारा आयोजित सातौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको शुक्रबार बिहान ललितपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्रीले भने, ‘विगतको तुलनामा नेपाली महिलाको अवस्था क्रमशः सुदृढ हुँदै गएको छ। तर आधा धर्तीका मालिक महिलाको यही प्रगतिमा सन्तुष्ट हुन भने सकिन्नँ। त्यसैले महिला सशक्तिकरणको लागि सबैको हातेमालो आवश्यक छ। त्यसैले आजको दुनियाँमा महिला सशक्तीकरणका लागि सबैभन्दा पहिले आर्थिक पहुँच दरिलो हुनैपर्छ।’ सशक्तिकरणको सवाल आजको दुनियाँमा शक्तिसँग जोडिएकोमा प्रधानमन्त्रीको भनाइ छ । उनले अगाडि भने, ‘सशक्तीकरण आजको दुनियाँमा शक्तिसँग जोडिएको छ। शक्ति अर्थसँग जोडिएको छ। आर्थिकरूपमा सशक्त नभई साँचो सशक्तीकरण हुन सक्दैन। यसलाई सरकारले उच्च प्राथमिकता दिएको छ।’ सो अवसरमा प्रधानमन्त्रीले महिलाहरूद्वारा सञ्चालित उद्योग र व्यवसायहरूमा करछूट र सहुलियतका कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी दिँदै भविष्यमा त्यसलाई बढाउँदै लगिनेसमेत बताएका छन । ‘महिला उद्यमशीलता विकासको माध्यमबाट नेपाली महिलाको सामाजिक तथा आर्थिक सशक्तीकरण गरी राष्ट्र निर्माणमा सहयोग गर्ने परिकल्पनालाई सार्थक तुल्याउन महिला उद्यमी कोष स्थापना गर्ने कुरा महत्वपूर्ण छ। सरकारले महिला उद्यमीको नेतृत्वमा सञ्चालन भइरहेका उद्योगहरूलाई प्रबर्द्धन गर्न कर छूटदेखि अन्य सहुलियतपूर्ण प्रबन्धहरू गरेको छ, आगामी दिनमा त्यसलाई बढाउँदै लगिने छ,’ प्रधानमन्त्रीले भने ।
काठमाडौँ: फिल्म ‘महाजात्रा’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । गत शुक्रबार प्रदर्शनमा आएको फिल्म पहिलो साता राम्रो व्यवसाय गर्दै दोस्रो सातामा प्रवेश गरेको हो । आज शुक्रबारबाट प्रदर्शनमा आउने भरिएको एनिमेसन फिल्म ‘सलिना’को प्रदर्शन स्थगित भएपछि ‘महाजात्रा’ले देशभरकै स्टेशनमा निरन्तरता पाएको हो । दर्शकबाट प्राप्त प्रतिक्रिया र ब्रान्डले निर्माण गरेको हाइपको आधारमा फिल्मलाई देशभरका हलले उच्च शो दिएका छन् । फिल्ममा फडिन्द्र (विपिन कार्की), जोयश (रवीन्द्रसिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा) बिचको मित्रतालाई देखाइएको छ । फिल्मले पहिलो सातामा पाएको दर्शकले दोस्रो साताका लागि प्रचार गरिदिएको निर्देशक तथा लेखक प्रदीप भट्टराईले बताए । ‘पहिलो सातामा काठमाडौँ उपत्यकाका हलहरूमा दर्शकसँग साक्षात्कार गर्दा हामीले पाएको प्रतिक्रियाले थप हौसला मिलेको छ । उहाँहरूले मध्यान्तर अगाडि मनोरञ्जन लिनुका साथै मध्यान्तरपछि देखाइएको देशको समसामयिक विषयलाई रुचाउनुभएको छ । हामीले मनोरञ्जनसँगै दिनु खोजेको सन्देशलाई दर्शकले ग्रहण गर्नुभएको छ’, भट्टराईले भने । फिल्मले नेपालमा मात्र नभई विदेशमा पनि व्यापार गरिरहेको छ । पहिलो साता अस्ट्रेलिया, युरोपका विभिन्न देशमा आयोजित शोहरू ‘सोल्ड आउट’ भएका छन् भने संयुक्त राज्य अमेरिका र बेलायतमा नियमित बक्सअफिसमै प्रदर्शन भइरहेको छ । अन्तर्राष्ट्रिय वितरण कम्पनी एमएसएम इन्टरटेनमेन्ट्सका अनुसार आयोजित शो ‘सोल्ड आउट’ हुनु र दर्शकबाट सकारात्मक ‘वर्ड अफ माउथ’ पाउनुले फिल्म दोस्रो सातामा पनि नियमित प्रदर्शनमा छ । यस्तै, चैत १५ (मार्च २८) देखि मध्यपूर्वका देशहरूमा समेत ‘महाजात्रा’ को प्रदर्शनको सुरुआत गरेको छ । नेपालकै ठुलो सिनेमा हलको चेन क्युएफएक्सले ‘महाजात्रा’ लाई ‘सुपरहिट’ ट्याग दिएको छ ।

